‘ग्रीनल्याण्ड चाहिन्छ’ भन्ने ट्रम्पको अडानमा झल्किएको शक्ति–राजनीतिक अहंकार

डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथिको दावीलाई पुनरावृत्ति गरेर फेरि एकपटक विश्व राजनीतिलाई असहज बनाएका छन्। डेनमार्कको अधीनमा रहेको तर आंशिक स्वशासन प्राप्त यो आर्कटिक टापु अमेरिकाले “हुनैपर्ने” ठाउँ भएको दाबी गर्दै ट्रम्पले त्यहाँका लागि विशेष दूत नियुक्त गरेका छन्। यो नियुक्ति केवल प्रशासनिक निर्णय मात्र होइन, एक प्रकारको भू–राजनीतिक सन्देश पनि हो।

लुइजियानाका रिपब्लिकन गभर्नर जेफ ल्यान्ड्रीलाई ‘ग्रीनल्याण्डका लागि विशेष दूत’ बनाइनु आफैंमा असामान्य कदम हो। अझ असहज बनाउने कुरा के भने, ट्रम्पले बीबीसीसँगको संवादमा खुलेर भनेका छन्, “हामीलाई ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि चाहिन्छ। हामीले त्यो पाउनै पर्छ।” कूटनीतिक भाषामा विरलै प्रयोग हुने ‘चाहिन्छ’ भन्ने शब्दले इच्छा होइन, अधिकार जस्तो भाव प्रकट गरेको प्रष्टै देखिन्छ ।

ट्रम्पको दावीको प्रतिरोधमा डेनमार्कले कडा प्रतिक्रिया जनाएको छ। कोपेनहेगनले अमेरिकी राजदूतलाई स्पष्टीकरणका लागि बोलाउने बताइसकेको छ। डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले यो नियुक्तिलाई “गहिरो रूपमा विचलित पार्ने” भनेका छन् र डेनमार्क, फारो द्वीप र ग्रीनल्याण्ड मिलेर बनेको राज्यको क्षेत्रीय अखण्डतामाथि कुनै पनि हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारेका छन्।

ग्रीनल्याण्डकै प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले त “हाम्रो भविष्य हामी आफैंले निर्णय गर्छौं,”  भन्दै अमेरिका लगायत सबै देशसँग सहकार्य गर्न तयार रहेको भने पनि त्यसको आधार पारस्परिक सम्मान हुनुपर्ने जोड दिएका छन्।

ट्रम्पको तर्क सुन्दा पहिलो दृष्टिमा यो ‘राष्ट्रिय सुरक्षा’ को बहाना जस्तो लाग्छ। उनले चिनियाँ र रुसी जहाजहरूलाई सम्भावित खतरा भन्दै ग्रीनल्याण्ड नजिकका समुद्रहरू उल्लेख गरेका छन्। तर यहाँ एउटा विरोधाभास देखिन्छ। एकातिर उनले “हामीलाई खनिजका लागि होइन, सुरक्षाका लागि चाहिएको हो” भन्छन् । तर नाङ्गो सत्य के हो भने  ग्रीनल्याण्डको रणनीतिक महत्त्व, दुर्लभ खनिज र पग्लँदै गएको बरफले खोल्दै गरेका नयाँ समुद्री मार्गहरूकै कारण यो क्षेत्र अहिले वैश्विक प्रतिस्पर्धाको केन्द्र बनेको छ ।

ट्रम्पको पछिल्लो राष्ट्रिय सुरक्षा रणनीतिले ‘पश्चिमी गोलार्ध’ लाई अमेरिकी प्रभावक्षेत्रका रूपमा परिभाषित गर्ने संकेत दिएको छ। ग्रीनल्याण्डमा विशेष दूत पठाउनु, भेनेजुएलाप्रति आक्रामक भाषा तथा शक्तिको प्रयोग गर्नु, र गठबन्धन राष्ट्रहरूसँग समेत कठोर व्यवहार गर्नुले उनको हस्तक्षेपकारी तथा ‘जसको शक्ति उसैको भक्ति’ भन्ने खतरनाक अहंकारी सोचलाई प्रदर्शित गर्छ ।

अझ खतरनाक र संवेदनशील कुरा त के छ भने  ट्रम्पले बल प्रयोगको विकल्प अस्वीकार नगर्नु डेनमार्कजस्तो नाटो सहयोगीका लागि मात्र होइन, सम्पूर्ण गठबन्धन राजनीतिका लागि झस्काउने संकेत हो। दोस्रो विश्वयुद्धदेखि ग्रीनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति रहँदै आएको भए पनि, त्यसले टापुको सार्वभौमिकता अमेरिकालाई हस्तान्तरण गरेको छैन। इतिहासलाई आधार बनाएर वर्तमानमा स्वामित्वको दाबी गर्ने ट्रम्प प्रशासनको दावीले त्यहाँ नयाँ खालको संघर्षलाई जन्माउने पक्का छ ।

झनै रोचक कुरा के छ भने, ग्रीनल्याण्डका अधिकांश बासिन्दा दीर्घकालीन रूपमा डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छन् जसले ट्रम्पलाई हौसाएको पनि हुन सक्छ । तर जनमत सर्वेक्षणहरूमा अमेरिकाको हिस्सा बन्ने प्रस्तावप्रति व्यापक असहमति रहेको पनि देखिन्छ।

वास्तवमा ट्रम्पले ग्रीनल्याण्डमाथिको दावी अपहत्ते गरेर प्रसत्तु गर्नुको अन्तर्य  ग्रीनल्याण्डको भविष्यभन्दा बढी विश्व व्यवस्थाको स्वरूप बारे हो। ट्रम्पको दावीले  ठूला शक्तिहरूले अझै पनि रणनीतिक भूगोललाई आफ्नै इच्छाअनुसार शक्तिको आधारमा पुनःपरिभाषित गर्न चाहन्छन् भन्ने झल्काउँछ । कदाचित ट्रम्प सफल भए भने साना तर स्वशासित समाजहरूको इच्छा र अन्तर्राष्ट्रिय कानुन अर्थहीन बन्ने पक्का छ ।

जसरी भए पनि ग्रीनल्याण्डलाई अमेरिकी अधिकारक्षेत्रभित्र ल्याइछाड्ने लिडेढिपीलाई पूरा गर्न ट्रम्पले कस्तो उपाय अपनाउलान्? त्यसबारे यसै भन्न सकिने अवस्था छैन ।

 

यो पनि पढ्नुहोस्

ग्रीनल्याण्ड अधिग्रहणमा संयुक्त राज्य अमेरिकाको चासो : एक रणनीतिक, राजनीतिक र आर्थिक उद्देश्य