रेडियो सिलोन स्थापनाको १०० वर्ष

 

श्रीलंकाको रेडियो सिलोन स्थापना भएको १०० वर्ष पुगेको छ।

रेडियो सिलोनले सन् २०२५ डिसेम्बर १६ मा आफ्नो १००औँ वार्षिकोत्सव मनायो। रेडियो सिलोन श्रीलंकाको रास्ट्रिय रेडियो स्टेसन भएपनि यस्को महत्व र लोकप्रियता पूरै दक्षिण एसिया र विश्वभर थियो।

यसको पछाडि एउटा निकै रोचक कथा छ। दोश्रो विश्वयुद्धताका मित्रराष्ट्रहरुले श्रीलंकामा शक्तिशाली सर्टवेभ ट्रान्समिटरहरू सहितको रेडियो स्टेसन स्थापना गरेका थिए। त्यो स्टेशनको नाम थियो Allied South East Asia Command (SEAC) जस्लाई छोटकरीमा रेडियो SEAC भनिन्थियो। यसले एसियामा रहेका मित्रराष्ट्रका फौज र दक्षिण एसिया र भारतका जनताहरुलाई सूचना प्रसारण गर्ने गर्थ्यो। दोस्रो विश्वयुद्ध यो रेडियो स्टेसन बेलायतको उपनिवेश सरकारलाई हस्तान्तरण गर्‍यो। पछि यही सर्टवेभ ट्रान्समिटरहरू श्रीलंका सरकारले प्राप्त गर्‍यो। यी सर्टवेभ ट्रान्समिटरहरू यति शक्तिशाली थिए कि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा आरोहण गर्दा, शिखरबाट स्पष्ट रूपमा सुन्न सक्ने एउटै रेडियो स्टेशन रेडियो सिलोन नै थियो।

नेपालका कुनै पनि संगीतप्रेमीहरु ‘बिनाका गीतमाला’बाट अपरिचित छैनन् होला। कमसेकम पुराना पुस्ताका संगीतप्रेमीहरु। त्यसबेला बलिउडका संगीतहरु सुन्ने एक मात्र माध्यम बिनाका गीतमाला थियो। यस्को प्रसारण रेडियो सिलोनले गर्ने गर्थियो। यस्को पछाडीको कारण के थियो भने १९५० को दशकको सुरुआतमा, भारतका सूचना तथा प्रसारण मन्त्री बी.भी. केशकरले हिन्दी फिल्मका गीतहरूलाई “अत्यधिक अश्लील” र “पाश्चात्य प्रभावयुक्त” भन्दै अल ईन्डिया रेडियो (AIR) बाट प्रसारण गर्न प्रतिबन्ध लगाए।

यही अवसरलाई रेडियो सिलोनले सदुपयोग गर्‍यो। श्रीलंका संग गतिला सर्टवेभ ट्रान्समिटरहरू छदै थिए। अब रेडियो सिलोनले हिन्दी फिल्म संगीत सिधै भारतीय घर–घरमा प्रसारण गर्न थाल्यो।

इतिहासकै सबैभन्दा चर्चित रेडियो कार्यक्रम ‘बिनाका गीतमाला’ सन् १९५२ मा रेडियो सिलोनबाट सुरु गरियो। अमीन सायानीको सुरवाती अभिवादन—“बहनोँ और भाइयोँ” हरेक बुधबार लाखौँ भारतीय श्रोताहरुको कानमा गुन्जिन पुग्थियो।

विस्तारै भारत सरकारले पनि आफ्नो अनुदार नीति हटायो। भारतको रेडियो बाट पनि बलिउडका गीतहरु बज्न थाले। अल इण्डियो रेडियोको विविध भारती कार्यक्रम लोकप्रिय हुँदै गएपछि बिस्तारै रेडियो सिलोनको प्रभाव धुमिल हुन थाल्यो। तर अझै श्रीलङ्का प्रसारण निगम (SLBC) सँग हिन्दी फिल्म संगीतको संसारकै सबैभन्दा ठूला सङ्ग्रह  छ। दु:खको कुरा हो अचेल रेडियो सिलोनले सर्टवेभ प्रसारण सेवा बन्द गरेको छ। किनकि ऊसंग भएका दोश्रो विश्वयुद्धकालीन पुराना सर्टवेभ ट्रान्समिटरहरू बिग्रिई सकेका छन्। तिनीहरुलाई अब मर्मत गर्न श्रोत र साधन सिलोन रेडियोसंग अब छैन। फेरि अचेल सर्टवेभ रेडियो प्रसारण समेत खर्चिलो र अव्यहारिक ठान्दै बिश्वभर बन्द गरिदैछ। अचेल एएम, एफएम र ईन्टरनेट रेडियोतिर सबैको ध्यान छ।