दासता

राजसिंहासनमा सुतिरहेकी बुढी रानीलाई चार जना दास उभिएर पङ्खा हम्किइरहेका थिए र उनी मज्जाले घुरिरहेकी थिइन्। रानीको काखमा एउटा बिरालो बसेर ङ्यार्रङुर्र गरिरहेको थियो र अर्धमुदित आँखाले दासतर्फ टकटकी लगाइरहेको थियो।

एक जना दासले भन्यो, ‘‘यो बुढी महिला निद्रामा कति कुरूप देखिन्छ। यसको झोलिएको अनुहार हेर, यति भद्दा ढङ्गले सास फेर्दैछ, मानौँ कसैले घाँटी थिचिदिएको होस्।’’

त्यसैबेला बिरालोले ङ्यार्र गर्‍यो र आफ्नै भाषामा भन्यो, ‘‘सुतिरहेकी रानी त्यति कुरूप देखिँदैन, जति कि तिमी जागिरहँदा आफ्नै दासतामा देखिन्छौ।’’

त्यसपछि अर्को दासले भन्यो, ‘‘सुतिरहेकी बेला यसको चाउरी कति खुज्मुज्जिएको देखिएका छन्, पक्कै कुनै नराम्रो सपना देखिरहेकी छे।’’

बिरालो फेरि ङ्यार्र गर्‍यो, ‘‘तिमी जागिरहँदा स्वतन्त्रताका सपना कहिले देख्नेछौ?’’

तेस्रोले भन्यो, ‘‘सायद उसले सपनामा ती मानिसहरूलाई जुलुसको स्वरूपमा देखिरहेकी छ, जसलाई यसले निर्दयतापूर्वक हत्या गराएको थियो।’’

बिरालोले आफ्नै भाषामा भन्यो, ‘‘हो, ऊ तिम्रा बाबु बाजेहरू र ठूला हुँदै गरेका बालबालिकाहरूका सपना देखिरहेकी छ।’’

चौथोले भन्यो, ‘‘यसरी यसको बारेमा कुरा गर्दा राम्रो लाग्छ, तर पनि उभिएर पङ्खा हल्लाउँदा लागेको थकानमा भने कुनै फरक परेको छैन।’’

बिरालोले ङ्यार्र गर्‍यो, ‘‘तिमीले अनन्तकालसम्म यसरी नै पङ्खा हम्किइरहनुपर्छ…’’

ठीक यही समयमा रानीले निद्रामै टाउको हल्लाइन्, अनि उनको मुकुट भुइँमा खस्यो।

तीमध्ये एक दासले भन्यो, ‘‘यो त अपशकुन हो।’’

बिरालोले भन्यो, ‘‘कसैका लागि जो अपशकुन हुन्छ, त्यही अर्काका लागि शुभ संकेत हुन्छ।’’

अर्को दासले भन्यो, ‘‘यदि ऊ अहिले नै ब्युँझिएर आफ्नो खसेको मुकुट देखिहाली भने के हुन्छ? निश्चय नै उसले हामीलाई मार्न लगाउनेछ।’’

बिरालोले ङ्यार्र गर्‍यो, ‘‘तिमी जन्मिएको दिनदेखि नै उसले तिमीलाई हत्या गराइरहेकी छ र तिमीलाई थाहा नै छैन।’’

तेस्रो दासले भन्यो, ‘‘हो, उसले हामीलाई मार्न लगाउनेछ र त्यसपछि यसलाई ‘ईश्वरका लागि बलिदान’ भन्ने नाम दिनेछ।’’

बिरालोले ङ्यार्र गर्‍यो, ‘‘केवल कमजोर मानिसहरूकै मात्र बलि चढाइन्छ।’’

चौथो दासले सबैलाई चुप लाग्न लगायो र त्यसपछि सावधानीपूर्वक मुकुट उठाएर फेरि रानीको टाउकोमा राखिदियो। उसले कतै रानीको निद्रामा खलल नपुगोस् भने विशेष ख्याल गर्‍यो ।

बिरालोले ङ्यार्रङुर्र गर्दै भन्यो, ‘‘एउटा दासले नै खसेको मुकुट फेरि राख्छ।’’

केही बेरपछि रानी ब्युँझिइन्। उनले लामो हाइ काढ्दै चारैतिर हेरिन्, अनि भनिन्, ‘‘लाग्छ म सपना देखिरहेकी थिएँ। एउटा अत्यन्तै प्राचीन आँकको रुख… त्यसको चारैतिर दौडिरहेका चार किरा… तिनलाई लखेटिइरहेको एउटा बिच्छी। मलाई त यो सपना राम्रो लागेन।’’

यति भनेपछि उनले फेरि आँखा बन्द गरिन् र घुर्न थालिन्। चारै दास फेरि पङ्खा हम्कन थाले ।

बिरालोले ङ्यार्र गर्‍यो र भन्यो, ‘‘हम्किइरह… पङ्खा हल्लाइरहौ मूर्खहरू ! तिमीहरु आगोलाई हम्किइरह, ताकि त्यसले तिमीहरुलाई जलाएर खरानी बनाइदियोस्।’’

खलिल जिब्रान

खलिल जिब्रान (१८८३–१९३१), लेबाननका महान साहित्यकार