छद्म परिवर्तन

जब हरेक पटक देशले नयाँ शासक बदल्छ

सिंह दरबारले पुरानै अनुहार र इतिहास

नयाँ आवृत्तिमा अनुमोदन गर्छ ।

 

बद्लिन्छ

अखबारको शीर्ष स्थानहरूबाट

पात्र , शैली र अनुहार बद्लिन्छ ।

 

कलाकारहरूको व्यङ्ग बद्लिन्छ

कार्टुनिष्टहरूको चित्र बद्लिन्छ

समाचारहरूको हेडलाइन बद्लिन्छ

कवि लेखकहरूको लेखन बद्लिन्छ ।

 

विरोधहरू उस्तै रहन्छन्

तर प्रतिवादी पात्र बद्लिन्छ ।

 

देशको राजनीति बद्लिन्छ

जिन्दाबाद भन्नेहरू मुर्दावाद

मुर्दावाद भन्नेहरू जिन्दाबाद

फेरि जिन्दाबाद र मुर्दावादको नारा बद्लिन्छ

पक्षी विपक्षी समर्थन र पक्षधर ता बद्लिन्छ

गुट उपगुट बद्लिन्छ ।

 

दीप प्रज्वलन खुसी र उमङ्गका बहाना बद्लिन्छ

नयाँ आशा र निराशाको खेल बद्लिन्छ ।

 

जब देशले नयाँ शासक बदल्छ

यहाँ धेरै थोक बद्लिन्छ ।

 

शासन बद्लिन्छ

दमन बेथिति अन्याय र अत्याचारको शैली बद्लिन्छ ।

 

उस्तै रहन्छ लुट दलाली महँगी र कालोबजारी

उस्तै गरी बजारिन्छन्

शासकका निर्दयी जुत्ता

भुइँमान्छेहरूका दैनिकी माथि ।

 

उस्तै गरी बजारिन्छन् सत्ताका कठोर लाठी

जनजीवनका आकांक्षामाथि ।

 

फेरि उस्तै गरी आहत र मर्माहत हुन्छन्

दिन–दु:खी आशातीत निमुखा जनता ।

 

फेरि पुनरावृत्ति हुन्छ उस्तै सिलसिला

त्यही सडक, त्यही बाटो, त्यही गेट

तिनै प्रदर्शनकारी

सुरु हुन्छ धर्ना विरोध र र्‍याली ।

 

उस्तै प्ले कार्ड उस्तै ब्यानर

हडताल प्रदर्शन र आन्दोलन

उस्तै मुठभेट दमन गिरफ्तार र धरपकड ।

 

सधैँ भइरहने विरोध,

आन्दोलन र पात्र बहिष्कारका नाराहरूमा

कोही किन बुझ्दैन ?

"विषाक्त रुखबाट विषादी नै प्रवाहित हुन्छ"

सधैँ पात्र बदलेर कहाँ हुन्छ ?

यो व्यवस्थाको कुर्चीमा जो गए पनि कुरूपै हुन्छ !