नाजी बर्बरता र अन्धता झल्काउने मार्मिक चलचित्र ‘बिफोर द फल’

‘बिफोर द फल’ २००४ मा आएको एक जर्मन फिल्म हो, जसका लेखक र निर्देशक डेन्निस ग्यान्सेल हुन्। फिल्म जर्मनीमा नाजी सरकारद्वारा स्थापित National Political Institutes of Education वा "NaPoLa" स्कूलहरूमा आधारित छ। हिटलरले यी सैन्य एकेडेमीहरू भविष्यका नाजी अभिजात वर्गका लागि युवाहरूको प्रशिक्षण गर्ने उद्देश्यले स्थापना गराएका थिए। फिल्ममा स्कूलका निर्देशकले नयाँ विद्यार्थीहरूको स्वागत गर्दै ‘यहाँ हामीले तिनलाई तयार गर्नुपर्छ जो १००० वर्षसम्म चल्ने जर्मन साम्राज्यलाई सम्हाल्नेछन् – केवल जर्मनीमै होइन, तर मास्को, वाशिंगटन, लन्डन र केपटाउनका लागि पनि हामीले प्रशासक तयार गर्नुपर्छ!’ भन्छन् ।

Die Welle (द वेभ), ‘द फोर्थ स्टेट’ र ‘बर्लिन, आई लभ यू’ जस्ता फिल्महरूका निर्देशक डेन्निस ग्यान्सेलको यो फिल्मले ‘फासिस्ट संस्कृति र “अनुशासन” कस्ता साँचा–खाँचा भित्र युवाहरूलाई ढाल्ने प्रयास गर्छन्’ भन्ने कुरालाई धेरै प्रभावकारी ढंगले देखाउँछ । साथै यस फिल्लमले  कसरी ठूलो संख्यामा नौजवान तात्तिएको भाषण, तमाशा, राष्ट्रवादी जोश र थर्ड राइखको प्रोपेगान्डाको असरमा बग्दछन् भन्ने कुरालाई अत्यन्तै प्रभावशाली ढङ्गले चित्रण गर्दछ। यस सतही रोमाञ्चको तल लुकेका मानवद्रोही मूल्य कस्ता हुन्छन् जसले आक्रामक र अनैतिक व्यवहारलाई महिमामण्डित गर्छन् अनि सत्ता हासिल गर्ने नाजी अभियान कस्ता बर्बरताबाट गुज्रिन्छ भन्ने कुरालाई फिल्मले जबरजस्त ढङ्गले उजागर गर्दछ ।

युवा फ्रेडरिक मुक्केबाजीको प्रतिभाको बलमा एक ‘नेपोला’ एकेडेमीमा छात्रवृत्तिमा भर्ना हुन्छ। राजनीति–विमुख भए पनि, उसले यस एकेडेमीमा प्रवेशलाई आफ्नो मजदुर पिताजस्तै कठोर जीवनबाट बच्ने उपायको रूपमा देख्छ। उसलाई यसको परिणामबारे उसको मित्रता  अल्ब्रेच्ट नभएसम्म केही थाहा हुँदैन ।

युवा फ्रेडरिक वाइमरलाई मुक्केबाजी कौशलका कारण ‘नेशनल पॉलिटिकल एजुकेशन इन्स्टिच्युट’ (NaPolA) मा प्रवेश पाएको घटनाबाट फिल्म १९४२ मा सुरु हुन्छ । यी ती विद्यालय थिए जसलाई नाजी अभिजात वर्गमा प्रवेशको एक माध्यम मानिन्थ्यो। फ्रेडरिकका पिता हिटलरका विरोधी फ्याक्ट्री मजदुर हुन्छन् । उनी वाइमरलाई त्यहाँ पठाउन इन्कार गर्छन् । तर फ्रेडरिकले अनुमति पत्रमा पिताको नक्कली हस्ताक्षर गरेर घरबाट भागेर विद्यालय पुग्छ। उसलाई गरिबीबाट निस्कने र अघि बढ्ने यही बाटो हो भन्ने विश्वास रहेको हुन्छ।

विद्यालयमा नाजी पार्टीको रासेनलेहरे अर्थात आर्यन श्रेष्ठता र नस्लवादको सिद्धान्त पढाइन्छ। कक्षाहरूमा हिटलर र अन्य राष्ट्रवादी नेताहरूका भाषणहरूको विश्लेषण गराइन्छ। “सर्भाइवल अफ द फिटेस्ट” लाई समाजको प्राकृतिक तरिका बताइन्छ र यहूदीहरू तथा “राज्यका शत्रुहरू” लाई हीन र विश्वासघाती साबित गरिन्छ। कमजोरहरूको विनाशले मात्र बलियोहरूको अस्तित्व सुनिश्चित गर्छ भन्ने कुरा सिकाइन्छ र “गौरवशाली अतीत” को महिमामण्डन गरिन्छ।

फ्रेडरिकका प्रशिक्षक उनलाई प्रतियोगिताहरूमा निर्मम बन्न सिकाउँछ र घाइते तथा लाचार प्रतिद्वन्द्वीप्रति दयालाई “बेकारको कुरा” भन्दै खारेज गर्छ। फ्रेडरिक पनि बिस्तारै त्यही साँचोमा ढलिदै गएको छ, तर नयाँ रूममेट अल्ब्रेच्टसँगको मित्रताले उसलाई बदल्न थाल्छ। अल्ब्रेच्टका पिता नाजी पार्टीका उच्च अधिकारी र त्यही क्षेत्रका गभर्नर हुन्, तर अल्ब्रेच्टको स्वभाव पूर्ण रूपमा भिन्न छ। उनी दयालु, साहित्यिक स्वभाव भएको युवा हुन् । उनलाई उनीहरूको विरासत अघि बढाउने उद्देशयले उनका पिता जबरजस्ती सैनिक अफिसर बनाउन चाहन्छन्  । तर अल्ब्रेच्टलाई लेखन र कलासँग गहिरो लगाव छ, जबकि उसका पिता यिनलाई “पुरुषहरूका लागि अनुपयुक्त” ठान्छन्।

फिल्मले नाजीहरूको पाखण्डमाथि पनि कडा प्रहार गर्छ ।  विद्यालयमा ग्रेनेड फाल्ने तालिमका क्रममा एकजना विद्यार्थी डराएर ग्रेनेड साथीहरूकै नजिक खसालिदिन्छ । त्यो देखेर लौह अनुशासन र वीरताको कुरा गर्ने प्रशिक्षक तालिमे विद्यार्थीहरुलाई मर्न छोडेर खाडलमा लुक्न जान्छ। ओछ्यानमै पिसाब गरेको कारण कठोर अपमान गरिएको केटाले साथीहरुको ज्यान बचाउन ग्रेनेडमाथि हाम फालेर आफ्नो ज्यान दिन्छ । पछि त्यही “कमजोर” विद्यार्थीलाई महान शहीद भन्दै प्रशंसा गरिन्छ। त्यसबेला डराएको विद्यार्थीलाई अपमान गरेर विद्यालयबाट निकालिन्छ तर आफ्ना विद्यार्थीहरूलाई छोडेर भाग्ने प्रशिक्षकलाई भने सम्मानित गरिन्छ।

एक अर्को घटनाले अल्ब्रेच्ट र फ्रेडरिकलाई गहिरो प्रभाव पार्छ। एक रात विद्यालयका विद्यार्थीहरूलाई राइफल दिइेर जंगलमा एक मिशनमा पठाइन्छ। उनीहरूलाई केही सोभियत युद्धबन्दी कैदबाट भागेका छन् र उनीहरू सशस्त्र छन् भनिएको हुन्छ। जंगलमा उनीहरूले भागिरहेका केही छायाहरू देख्छन् र गोली चलाइदिन्छन्। नजिक गएर हेर्दा उनीहरू स्तब्ध हुन्छन् किनकि मर्नेहरू ११–१२ वर्षका बालबालिका हुन्छन्। अल्ब्रेच्टले घाइते एउटा बालकलाई बचाउने प्रयास गर्छ तर उसका पिताले उसलाई रोक्छ। अल्ब्रेच्टले यस घटनाबारे कक्षामा लेख पढेर आफ्नो पिताको आलोचना गर्छ, तर पछि उसले निर्देशकको गाली सहनुपर्छ। अब उसलाई पूर्वी मोर्चामा लड्न पठाइने पिताको निर्णय पनि सुनाइन्छ ।

यी घटनाहरूले गम्भीर रूपमा विचलित र असहाय महसुस गरिरहेको अल्ब्रेच्ट हिउँ जमेको तालमा पौडी खेल्ने अभ्यासको क्रममा जानाजान डुबेर ज्यान दिन्छ। शोकमा डुबेको फ्रेडरिकले आफ्नो साथीका लागि शोक सन्देश लेखेर विद्यालयको पत्रिकामा छापिदिन अनुरोध गर्छ। तर निर्देशक उसको माग अस्वीकार गर्दै भन्छ, “फ्युहरर, मातृभूमि र राष्ट्रका लागि ज्यान दिनेहरूबीच आत्महत्या गर्नेहरूको स्थान छैन।” ऊ यो पनि भन्छ कि तिम्रो शरीरमाथि तिम्रो अधिकार छैन। त्यसमाथि राष्ट्रको र सबैभन्दा ठूलो फ्युहररको अधिकार छ।

प्रतिष्ठित अन्तर–स्कूल टूर्नामेन्टमा फ्रेडरिक आफ्नो प्रतिद्वन्द्वीमाथि हाबी भइसकेको हुन्छ, तर दर्शकदीर्घामा अल्ब्रेच्टका पितालाई देखेपछि ऊ अन्तिम प्रहार गर्न अस्वीकार गर्छ। संस्थान र यसको विचारधाराप्रति उसको मोहभंग भइसकेको छ र ऊ चुपचाप उभिएर प्रतिद्वन्द्वीका मुक्का सहिरहन्छ र अन्ततः बेहोस हुन्छ।

फ्रेडरिकलाई विद्यालयबाट निकालिन्छ, उसलाई अपमानित गर्न उसका सबै लुगा युनिफर्मसहित फुकालेर कोठासम्म नाङ्गै हिँडाइन्छ। कक्षाका सहपाठीहरूसँग कुरा समेत गर्न नदिइएको अवस्थामै उसले चुपचाप आफ्नो सामान समेट्छ र उसका प्रशिक्षकले उसलाई तानेर विद्यालयबाट बाहिर निकालिदिन्छ।

हिउँ परिरहेको बीच झुकेर फर्कँदै गरेको फ्रेडरिकसँगै फिल्म समाप्त हुन्छ र पर्दामा तलको वाक्य देखिन्छ –

“१९४५ सम्म जर्मन राइखमा करिब ४० राष्ट्रिय राजनीतिक प्रशिक्षण संस्थान थिए, जहाँ १५००० भन्दा बढी विद्यार्थी पढ्थे। अन्ततः युद्ध हारेको स्वीकारिएपछि समेत, तिनीहरुलाई "अन्तिम संघर्ष" का लागि पठाइयो। अत्यन्तै कम हतियार हुँदाहुँदै पनि, सिकाइएका उन्मादमा अन्धा भएर उनीहरूले डटेर लडे। तीमध्ये आधा मारिए...”

स्रोत: Lucknow Cinephiles. Image: https://i.ytimg.com