एक व्यक्तिको संयमता जसले आणविक युद्ध रोकेको थियो !

वासिली अर्किपोभ: एक कम चर्चा गरिएका नायक जसको संयमताले विश्वलाई आणविक युद्धबाट बचायो !

आधुनिक विश्वको सबैभन्दा ठूलो त्रासदी भनेको आणविक युद्धको सम्भावना पनि हो । कदाचित कुनै पनि कारणले आणविक युद्ध भयो भने, विश्वको संहार निश्चित छ । यस प्रसङ्गमा अप्रामाणिक तर चर्चित रहेको आइन्स्टाइनको यो भनाइ मननीय छ: तेस्रो विश्वयुद्ध भयो भने के कस्तो हतियारले लडिन्छ भन्न मलाई थाहा छैन तर चौथो विश्वयुद्ध चाहिँ अवश्य पनि ढुङ्गा–भालाहरुले लडिनेछ !’ यसले आणविक युद्धको विभीषिकालाई राम्ररी चित्रण गर्छ ।

विश्वमा आणविक युद्धको खतरा निक्कै डरलाग्दो गरी विद्यमान छ । अझ शीतयुद्धकालमा त झन्डै आणविक युद्ध नै छेडिने अवस्था पैदा भएका थुप्रै प्रसङ्गहरु छन् । त्यसमध्येका सबैभन्दा चर्चित प्रसङ्ग ‘क्युबा मिसाइल संकट’को बेलाको एउटा घटना पनि हो ।

शीतयुद्धको कालखण्डमा विश्व धेरैपटक पूर्ण विनाशको नजिक पुगेको थियो। तर तीमध्ये एउटा क्षण यस्तो पनि थियो, जहाँ एक व्यक्तिको संयम र विवेकपूर्ण निर्णयले करोडौँको ज्यान बचाउने वा सम्पूर्ण सभ्यताको अन्त्य गर्न सक्ने खतरनाक अवस्थालाई टारिदिएको थियो । ती व्यक्तित्व थिए - वासिली अलेक्जान्द्रोभिच अर्किपोभ (Vasili Aleksandrovich Arkhipov)  । उनी एक सोभियत नौसेना अधिकारी थिए । १९६२ को क्यूबन मिसाइल संकटको बेला अत्यन्तै संवेदनशील क्षणमा उनले देखाएको संयमताले सम्भावित आणविक विनाशलाई घटित हुनबाट रोकिदिएको थियो ।

क्यूबन संकट र आणविक द्वन्द्वको नजिकको क्षण

अक्टोबर १९६२ मा संयुक्त राज्य अमेरिका र सोभियत संघबीच क्यूबामा सोभियत आणविक मिसाइल राख्ने कदमले गर्दा द्वन्द्व चरम बिन्दुमा पुगेको थियो। अमेरिकाले क्यूबामा नौसैनिक नाकाबन्दी गर्यो र सोभियत जहाजहरूलाई रोक्न थाल्यो। त्यसको प्रतिकार स्वरुप B-59 नामक सोभियत पनडुब्बी अमेरिकाको नाकाबन्दी क्षेत्रमा प्रवेश गर्यो । त्यो पनडुब्बी सामान्य खालको थिएन । त्यसमा एउटा nuclear-tipped torpedo (आणविक टार्पेडो) लोड गरिएको थियो।

सोभियत कदमबाट उत्तेजित बनेको अमेरिकाले पनि नाकाबन्दीलाई लागू गरिछाड्ने हठ लियो । अमेरिकी नौसेनाले नाकाबन्दी लागू गर्दै गहिराइ बम (depth charges) प्रयोग गर्न थाल्यो । यस घटनालाई लिएर B-59 भित्र रहेका सोभियत अधिकृतहरूले आफूहरुविरुद्ध आक्रमण सुरु भएको ठाने। त्यतिबेला पनडुब्बीको विद्युत् प्रणाली काम नगरेको कारणले बाहिरी संचार पूर्णरूपमा अवरुद्ध थियो। त्यसैले, जहाज भित्रको अवस्था अत्यन्त तनावपूर्ण बन्यो। त्यसबेला पनडुब्बीमा वरिष्ठ अधिकारी थिए: कप्तान भ्यालेन्टिन साभित्स्की, राजनीतिक अफिसर इभान मास्लेनिकोभ, र चीफ अफ स्टाफ वासिली अलेक्जान्द्रोभिच अर्किपोभ ।

पनडुब्बीको प्रोटोकल अनुसार आणविक हतियार प्रयोग गर्न तीनै जनाको सर्वसम्मति आवश्यक थियो। आफूहरुमाथि आक्रमण भएको ठानेर साभित्स्की र मास्लेनिकोभ प्रतिकार गर्न तत्पर भए। तर अर्किपोभले त्यसमा तीव्र असहमति जनाए। उनले मास्कोबाट स्पष्ट निर्देशन नआउन्जेल टार्पेडो प्रहार गरिनु नहुने अडान लिए। अन्ततः उनका तर्कले कप्तान झुके र पनडुब्बीलाई सतहमा ल्याइयो। वास्तवमा अर्किपोभले लिएको त्यही एउटा संवेदनशील निर्णयले आणविक युद्धको खतरालाई रोकेको थियो।

अर्किपोभको पूर्व अनुभव र मनोवैज्ञानिक तयारी

१९६१ मा अर्किपोभ K-19 नामक आणविक पनडुब्बीमा कार्यरत थिए । त्यस पनडुब्बीमा रेडिएसन लिक भएर कैयौँ सहकर्मीले ज्यान गुमाएका थिए। उनी स्वयं पनि विकिरणबाट प्रभावित भएका थिए। यो भयानक अनुभवका कारण उनले आणविक दुर्घटनाको भयावहता सजीव रूपमा बुझेका थिए । वास्तवमा त्यही यही चेतनाले उनलाई B-59 घटनामा संयमित भएर निर्णय लिन प्रेरित गरेको थियो ।

यसरी खुल्यो घटना

शुरुमा यो घटना चर्चा र प्रकाशमा आएन । यसलाई दुवै पक्षले गोप्य राखेको थियो । तर सन् १९९० को दशकमा सोभियतसंघको विघटन भएपछि थुप्रै सोभियतकालीन घटनाहरु सार्वजनिक हुन थाले । त्यही क्रममा यो घटना पनि उजागर भयो । घटनाको सत्यतालाई पुष्टि गर्दै सन् २००२ मा अमेरिकाको जर्ज वाशिङ्गटन विश्वविद्यालयअन्तर्गतको अनुसन्धान केन्द्रले अमेरिकी र सोभियत अभिलेखहरु सार्वजनिक गर्ने क्रममा B-59 को घटना पनि उजागर भयो ।

सोभियत अफिसर भादिम ओरलोभको एउटा लेख Naval History Magazine मा सन् १९९७ मा प्रकाशित भयो ।  त्यसमा B-59 भित्रको संवादको विवरण समेटिएको थियो ।

सोही घटनालाई लिएर वृत्तचित्रहरु बने । त्यसमा Secrets of the Dead: The Man Who Saved the World (2002) चर्चित छ । त्यसैगरी अमेरिकी नौसैनिक अफिसर पीटर हुख़टौजन (Peter Huchthausen) ले सोही साल   October Fury नामक पुस्तक लेखे ।  त्यसमा B-59 घटनाक्रमको अन्तरङ्ग विवरण दिइएको छ।

घटनाको महत्त्व !

वासिली अर्किपोभले त्यसबेला त्यो सही निर्णय गरेर लागू गराउन नसकेको भए सोभियत पनडुब्बीले अमेरिकामाथि आणविक आक्रमण गर्न सक्थ्यो । त्यसको परिणाम स्वरूप अमेरिका, क्युबा र सोभियत संघबीच full-scale nuclear war सुरु हुने खतरा थियो।त्यसले करोडौं मानिसको मृत्यु, युरोप र उत्तर अमेरिका भरि आणविक ध्वंस, तथा मानव सभ्यताको सम्भावित अन्त्य निम्त्याउन सक्थ्यो। वास्तवमा अर्किपोभको संयमता शीतयुद्धको इतिहासमा नै एक "निर्णायक र उल्लेख्य घटना" बन्यो।

अर्किपोभको निर्णय केवल ऐतिहासिक घटनामात्र होइन, यो आधुनिक अन्तर्राष्ट्रिय सुरक्षा नीतिमा मानव संयमता र व्यक्तिगत नैतिक साहस कति निर्णायक हुन सक्छ भन्ने गम्भीर सन्देश पनि हो। आज, आणविक हतियार भएका राष्ट्रहरूबीच तनाव फेरि बढेको छ। यस्ता संवेदनशील परिस्थितिमा निर्णय लिने व्यक्तिहरूको मानसिकता, अनुभव र नैतिक दायित्वको स्तर कति महत्वपूर्ण छ भन्ने उदाहरण अर्किपोभ हुन्। त्यसैले तत्कालीन समयमा उनले देखाएको संयम र विवेकको सही मूल्याङ्कन त भएन, उनले त्यसवापत कुनै पदक र सम्मानहरु पनि पाएनन् । तर जब घटना उजागर भयो, विश्वले उनलाई विश्वलाई आणविक विभीषिकाबाट बचाउने महानायकको रुपमा चिने । त्यस्तो महानायक जसले भयानक आणविक युद्धको सम्भावनालाई टारेर समग्र मानवताको भविष्य सुरक्षित गरिदिएको थियो ।

Image: https://www.warhistoryonline.com