कार्ल मार्क्सको कालजयी कृति ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा  योगदान’

वस्तुवादी इतिहास दृष्टि र मुक्ति-प्रक्रियाको राजनीति

१८५९ मा प्रकाशित कार्ल मार्क्सको ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा  योगदान’ ( A Contribution to the Critique of Political Economy) उनको विचार-यात्राको एउटा निर्णायक मोड हो। यही ग्रन्थमार्फत उनले भौतिकवादी इतिहास-दृष्टिको रूपरेखा कोरे, वस्तु र मूल्यको रहस्य खोले, पैसाको चरित्र उजागर गरे, उत्पादन र विनिमयको गतिशीलता व्याख्या गरे, र अन्ततः-पूँजीवादी समाजको अन्तर्निहित अन्तरविरोधलाई वैज्ञानिक ढंगले प्रस्तुत गरे।

मार्क्सको यो कृति उनको सर्वाधिक चर्चित एवं महान् कृति ‘दास क्यापिटल’का लागि आधारशिला बनेको मात्र होइन, पूँजीवादको आलोचनात्मक अध्ययन गर्न चाहनेहरुका लागि एउटा गम्भीर बौद्धिक प्रयासको प्रारम्भिक श्रोत हो।

मार्क्सद्वारा लिखित ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा  योगदान’ कुनै साधारण बौद्धिक विलासको पुस्तक होइन।यो त एउटा वैकल्पिक सिद्धान्तहरुको जगमा खडा त्यो गम्भीर वैचारिक ढाँचा हो, जसले हामीलाई मूल्य, श्रम र पूँजीको वास्तविक स्वरूप पुनर्विचार गर्न बाध्य बनाउँछ।

मार्क्सले देखाउँछन्- पूँजीवाद केवल शोषणको प्रणाली मात्र होइन, यसैको भित्रमा आफ्नै पतनको बीउ लुकेको छ। यसलाई बुझ्नु भनेको केवल सिद्धान्तलाई बुझ्नु होइन । यो त वास्तविक परिवर्तनको दिशामा चालिने पहिलो पाइला हो।

मार्क्स रचित यो कृति पढ्दै जाँदा एउटा जब्बर प्रश्न हाम्रो सामु खडा हुन्छ- के हामी सामाजिक रूपान्तरणका लागि तयार छौं? के हामीले भौतिक अवस्थाको जरोमा पुगेर चेतना, राजनीति र संस्कृतिको पुनर्निर्माण गर्न सक्नेछौं?

मार्क्सको विचारले युग-युगान्तरसम्म यही प्रश्न खडा गरिरहन्छ- सामाजिक न्याय, समानता र स्वतन्त्रताको सम्भावना केवल विचारमा होइन, बरु श्रम र उत्पादनका वास्तविक सम्बन्धमा ल्याइने परिवर्तनमा निहित छ।

ऐतिहासिक भौतिकवाद र समाजको संरचना

मार्क्स ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा  योगदान’मा आफ्नो विशिष्ट दृष्टिकोण-ऐतिहासिक भौतिकवाद-पेश गर्छन्। उनी यस विशिष्ट दृष्टिकोणको आलोकमा समाजका भौतिक अवस्था, उत्पादनका साधन र उत्पादन सम्बन्धलाई आधार बनाएर सामाजिक संरचना र इतिहासको गतिलाई बुझ्न खोज्छन्।

उनी भन्छन्- उत्पादनका साधन (औजार, मेसिन, प्रविधि, कच्चा पदार्थ) र उत्पादनका सम्बन्ध (वर्गीय सम्बन्ध, स्वामित्वको संरचना, श्रम र स्रोतको संगठन) समावेश हुने  आर्थिक आधार नै समाजको राजनीतिक, कानुनी र सांस्कृतिक अधिरचना निर्माण गर्ने मूल शक्ति हो।

मार्क्स लेख्छन्- मानिसहरू आफ्नो जीवनको सामाजिक उत्पादनमा निश्चित र अपरिहार्य सम्बन्धमा प्रवेश गर्छन् । मुख्य कुरा के हो भने त्यो  सम्बन्ध उनीहरूको व्यक्तिगत इच्छाद्वारा होइन, समाजको संरचनाद्वारा निर्धारित हुन्छ।

हेगेलजस्ता दार्शनिकहरूले विचारलाई वास्तविकताको मूल आधार मानेका थिए। तर त्यसको विपरीत मार्क्स "मानिसहरूको चेतनाले उनीहरूको अस्तित्व निर्धारण गर्दैन, बरु उनीहरूको सामाजिक अस्तित्वले चेतना निर्धारण गर्छ।" भन्ने अवधारणा अघि सार्छन् ।

यसै आधारमा उनी देखाउँछन् कि जब आर्थिक आधार परिवर्तनसँगै  अधिरचना पनि रूपान्तरित हुन्छ र त्यसले कानून, राजनीति, धर्म, संस्कृति सबैलाई नयाँ रूप दिन्छ। त्यसैले भौतिक अवस्थाको विश्लेषण नगरी गरिएका सामाजिक परिवर्तनलाई बुझ्ने प्रयास सधैं अधुरो रहन्छ।

यही ठाउँमा मार्क्सले आदर्शवादी चिन्तकहरूलाई चुनौती दिन्छन्। हेगेलजस्ता दार्शनिकहरूले विचारलाई वास्तविकताको मूल आधार मानेका थिए। तर त्यसको विपरीत मार्क्स "मानिसहरूको चेतनाले उनीहरूको अस्तित्व निर्धारण गर्दैन, बरु उनीहरूको सामाजिक अस्तित्वले चेतना निर्धारण गर्छ।" भन्ने अवधारणा अघि सार्छन् । यही दृष्टिकोणमार्फत उनी इतिहास र समाजको अध्ययनलाई एक वैज्ञानिक आधार दिन खोज्छन्।

तर मार्क्सको भौतिकवाद स्थिर होइन, यो संघर्षको भौतिकवाद हो, वर्ग संघर्षको इतिहास हो। मार्क्सको व्याख्यामा उत्पादन शक्तिहरूको विकास र उत्पादन सम्बन्धहरूको तनावले नयाँ सामाजिक रूपहरूको जन्म गराउँछ, अनि अन्ततः क्रान्तिकारी रूपान्तरण ल्याउँछ। संघर्ष र समाधानको यो द्वन्द्वात्मक प्रक्रिया नै ऐतिहासिक प्रगतिको सार हो।

मार्क्सले यस कृतिमा आफ्नो विशिष्ट दृष्टिकोण—ऐतिहासिक भौतिकवाद—पेश गर्छन्, जसले समाजको संरचनालाई बुझ्न भौतिक अवस्था, उत्पादनका साधन र उत्पादन सम्बन्धलाई आधार बनाउँछ।

अवधारणा

व्याख्या र मुख्य तर्क

आधार

उत्पादनका साधन (मेसिन, प्रविधि) र उत्पादनका सम्बन्ध (वर्गीय सम्बन्ध, स्वामित्व) समावेश हुने आर्थिक जग। उत्पादन नै समाजको वास्तविक आधार हो।

अधिरचना (Superstructure)

आर्थिक आधारले निर्माण गर्ने राजनीतिक, कानुनी, धार्मिक, र सांस्कृतिक संस्थाहरू। आर्थिक आधार परिवर्तन भएपछि अधिरचना रूपान्तरित हुन्छ।

चेतना निर्धारण

मानिसहरूको चेतनाले उनीहरूको अस्तित्व निर्धारण गर्दैन, बरु उनीहरूको सामाजिक अस्तित्वले चेतना निर्धारण गर्छ।

इतिहासको गति

आजसम्म अस्तित्वमा रहेका सबै समाजहरूको इतिहास वर्गसंघर्षको इतिहास हो। उत्पादन शक्ति र उत्पादन सम्बन्धबीचको तनावले क्रान्तिकारी रूपान्तरण ल्याउँछ।

 

वस्तु र मूल्य-सिद्धान्त

मार्क्सको समालोचनाको अर्को केन्द्रबिन्दु हो- वस्तुको विश्लेषण र मूल्य-सिद्धान्त। उनी भन्छन्, वस्तु भनेको मानव आवश्यकता पूरा गर्ने र विनिमय (साटफेर) मार्फत मूल्य पाउने कुनै पनि वस्तु वा रूप हो। तर वस्तु सधैं दुई तहमा बाँधिएको हुन्छ-प्रयोग मूल्य र विनिमय मूल्य।

प्रयोग मूल्य भन्नाले मानवीय आवश्यकतालाई पूरा गर्ने वस्तुको उपयोगिता बुझिन्छ । तर विनिमय मूल्य भन्नाले वस्तुको बजारमा अन्य वस्तुसँगको सम्बन्धगत मूल्य बुझिन्छ।

मार्क्सको भनाइमा वस्तुको वास्तविक मूल्य त्यसलाई उत्पादन गर्न आवश्यक "सामाजिक रूपले आवश्यक श्रम-समय" द्वारा निर्धारण हुन्छ । उनले स्पष्ट भनेका छन्-"वस्तुको मूल्य उत्पादनमा खर्च गरिएको श्रमको परिमाणले निर्धारण गर्छ।"

श्रम-मूल्य सिद्धान्त र पूँजीवादको अन्तरविरोध

मार्क्सको श्रम-मूल्य सिद्धान्तले परम्परागत राजनीतिक अर्थशास्त्रमा हावी रहेको "मूल्यको आधार आपूर्ति र माग" भन्ने धारणालाई चुनौती दिन्छ।उनको दृष्टिमा मूल्यको वास्तविक स्रोत श्रम नै हो। यही श्रममार्फत पूँजीवादी प्रणालीको शोषणकारी चरित्र उजागर हुन्छ।

प्रयोग-मूल्य र विनिमय-मूल्यबीचको भिन्नता पूँजीवादका अन्तरविरोधहरू बुझ्न अत्यन्तै महत्वपूर्ण छ।प्रयोग-मूल्य वस्तुको भौतिक गुण अर्थात् यसको उपयोगितामा आधारित हुन्छ । तर विनिमय-मूल्य भने बजारको सम्बन्धद्वारा निर्धारित अमूर्त हुन्छ ।यस द्वैत स्थितिले वस्तु उत्पादन गर्ने ठोस श्रम र मूल्य सिर्जना गर्ने अमूर्त श्रम बीचको तनाव प्रकट गर्दछ।

अतिरिक्त मूल्य भनेको श्रमिकले उत्पादन गरेको मूल्य र उसले प्राप्त गर्ने ज्यालाबीचको भिन्नता हो। यो भिन्नता, श्रमिकको श्रमबाट निस्केको अधिशेष, पूँजीपतिले नाफा स्वरूप हरण गर्छ।यही प्रक्रिया पूँजी संचयको आधार हो।

मार्क्स देखाउँछन्-यही अमूर्तिकरण वस्तु-पूजा (commodity fetishism) मा परिणत हुन्छ। यहाँ उत्पादकहरूको आपसी सामाजिक सम्बन्ध अदृश्य हुन्छ, र वस्तुहरूले मानव श्रमबिना नै आफैं कुनै "स्वतन्त्र मूल्य" बोकेको जस्तो देखिन्छन्।

यसै सन्दर्भमा मार्क्स "अतिरिक्त मूल्य" (surplus value) को अवधारणा विकास गर्छन्। अतिरिक्त मूल्य भनेको श्रमिकले उत्पादन गरेको मूल्य र उसले प्राप्त गर्ने ज्यालाबीचको भिन्नता हो। यो भिन्नता, श्रमिकको श्रमबाट निस्केको अधिशेष, पूँजीपतिले नाफा स्वरूप हरण गर्छ।यही प्रक्रिया पूँजी संचयको आधार हो। मार्क्स भन्छन्-"अतिरिक्त मूल्य नै पूँजीवादी उत्पादन प्रणालीको आधारशिला हो।"

तर यही शोषण पूँजीवादको गहिरो अन्तरविरोध हो। यसले सम्पत्ति र शक्ति सीमित व्यक्तिहरुको हातमा केन्द्रित गराउँछ । त्यसको विपरीत विशाल श्रमजीवी वर्ग दीनहीन अवस्थामा बाँच्न बाध्य हुन्छन् । मार्क्सेली दृष्टिकोणमा पूँजीवादको विनाशको बीउ यही अन्तर्विरोधमा लुकेको छ।

मार्क्सको समालोचनाको अर्को केन्द्रबिन्दु वस्तुको विश्लेषण र मूल्य-सिद्धान्त हो।

मूल्यका प्रकार

परिभाषा

निर्धारणको आधार

प्रयोग मूल्य

मानवीय आवश्यकतालाई पूरा गर्ने वस्तुको उपयोगिता (भौतिक गुणमा आधारित)।

वस्तुको उपयोगिता

विनिमय मूल्य

वस्तुको बजारमा अन्य वस्तुसँगको सम्बन्धगत अमूर्त मूल्य।

सामाजिक रूपले आवश्यक श्रम-समय।

वस्तु-पूजा

वस्तुहरूले मानव श्रमबिना नै आफैं कुनै "स्वतन्त्र मूल्य" बोकेको जस्तो देखिनु।

अमूर्तिकरण।

अतिरिक्त मूल्य

श्रमिकले उत्पादन गरेको मूल्य र उसले प्राप्त गर्ने ज्यालाबीचको भिन्नता हो। यो नै पूँजी संचयको आधारशिला हो।

श्रमिकको नि:शुल्क श्रम (Unpaid Labour)।

 

पैसा र परिसंचार

राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदानमा मार्क्सले पैसाको भूमिकालाई गहिरो रूपमा विश्लेषण गर्छन्। उनका अनुसार पैसा सबै वस्तुहरूको विनिमय सम्भव गराउने साझा मापदण्ड हो । मूल्यको मापन, विनिमयको माध्यम र मूल्यको भण्डार-यी तीनै भूमिकामा पैसाले कार्य गर्छ। मार्क्स लेख्छन्-"पैसा त्यो सार्वभौम तुल्याङ्क हो, जससँग तुलना गरेर सबै वस्तुहरूको साटासाट हुन्छ।"

मार्क्सका अनुसार श्रम-शक्ति र उत्पादनका साधन किन्न प्रयोग हुन थालेपछि अनि त्यसबाट अतिरिक्त मूल्य उत्पादन गर्ने उद्देश्य राखिएपछि पैसा पूँजीमा परिणत हुन्छ।

पैसाको आगमनले साटासाट प्रक्रियालाई पूर्णरूपले रूपान्तरित गर्यो। यसले वस्तुहरूको मूल्यलाई मानकीकृत गर्यो र बजारलाई विस्तार योग्य बनायो। पैसा वस्तुहरूको परस्पर तुलना र मूल्यांकनबाट जन्मिन्छ ।यो कुनै बाह्य शक्ति होइन, साटासाट प्रक्रियाकै आन्तरिक विकास हो।तर एकपटक जन्मेपछि, पैसाले बजार विस्तार र पूँजी संचयलाई नयाँ गति दिन्छ।

मार्क्सका अनुसार श्रम-शक्ति र उत्पादनका साधन किन्न प्रयोग हुन थालेपछि अनि त्यसबाट अतिरिक्त मूल्य उत्पादन गर्ने उद्देश्य राखिएपछि पैसा पूँजीमा परिणत हुन्छ। त्यसैबेला परिसंचार र संचयको प्रक्रिया पूँजी विस्तार र शोषणको तीव्रतामा बदलिन्छ। मार्क्स भन्छन्-"पूँजी भनेको त्यस्तो पैसा हो, जसले श्रमको शोषणमार्फत अझ बढी पैसा जन्माउँछ।"

परिसंचार, संकट र पूँजीवादको अस्थिरता

मार्क्सले पूँजीवादी प्रणालीभित्र परिसंचार (स्थिर भएर नबसी सधैं बजारभित्र वस्तु र सेवाको किनबेचसँगै घुमिरहने प्रक्रिया) को गतिको विश्लेषण गर्दै देखाउँछन्- पैसा र वस्तुको आवागमन कहिल्यै सीधा र स्थिर हुँदैन। यसको भित्रैमा विरोधाभासहरू लुकेका हुन्छन्, जसले अस्थिरता र आर्थिक संकट जन्माउँछ।

यी संकटहरू कहाँबाट जन्मिन्छन्?

मार्क्सका अनुसार, वस्तुको अति-उत्पादन, सम्पत्तिको असमान वितरण, र पूँजीवादी बजारको अटकलबाजीपूर्ण (speculative) स्वभाव नै यसको मुख्य कारण हुन्। यसरी, परिसंचार र पैसाको विश्लेषणमार्फत उनले पूँजीवादी अर्थतन्त्रको अन्तर्निहित अस्थिरता र विरोधाभासलाई वैज्ञानिक आधारमा उद्घाटित गर्छन्।

पैसा र पूँजीको प्रकृति

अवधारणा

प्रकृति

पूँजीमा रूपान्तरण

पैसा

सबै वस्तुहरूको विनिमय सम्भव गराउने साझा मापदण्ड। यो सार्वभौम तुल्याङ्क हो।

पूँजी

त्यस्तो पैसा, जसले श्रमको शोषणमार्फत अझ बढी पैसा जन्माउँछ।

श्रम-शक्ति र उत्पादनका साधन किन्न प्रयोग हुन थालेपछि र अतिरिक्त मूल्य उत्पादन गर्ने उद्देश्य राखिएपछि।

 

उत्पादन र विनिमयको भूमिका

मार्क्सका लागि उत्पादन मात्र आर्थिक प्रक्रिया होइन, यो समाजको वास्तविक आधार हो।मानव आवश्यकता पूरा गर्ने र सामाजिक सम्बन्धहरू निर्माण गर्ने मूल प्रक्रिया उत्पादन नै हो।मार्क्स भन्छन्-"उत्पादन नै त्यो वास्तविक आधार हो, जसको टेवा लिएर सम्पूर्ण समाजको संरचना खडा हुन्छ।"

नाफाको मोहले श्रमको तीव्रता बढाउँछ, कामको अवस्था बिगार्छ, र श्रमिकलाई आफ्नै श्रमफलबाट टाढा र विच्छिन्न बनाउँछ। यही नै अलगाव (alienation) हो । यसलाई मार्क्स पूँजीवादको गहिरो घाउ मान्छन्।

तर पूँजीवादी समाजमा उत्पादनको धुरी नाफा हो, आवश्यकताको पूर्ति होइन। यसैले उत्पादन श्रमशोषणमा आधारित हुन्छ । अनि पूँजी संचयमा अभिमुख हुन्छ। मार्क्स पूँजीवादी उत्पादन प्रणालीलाई ‘श्रमिकको कल्याणलाई बेवास्ता गर्दै अतिरिक्त मूल्य अधिकतम बनाउन मात्र केन्द्रित हुने प्रणाली’ भनेर कठोर शब्दमा आलोचना गर्छन्।

यस नाफाको मोहले श्रमको तीव्रता बढाउँछ, कामको अवस्था बिगार्छ, र श्रमिकलाई आफ्नै श्रमफलबाट टाढा र विच्छिन्न बनाउँछ। यही नै अलगाव (alienation) हो । यसलाई मार्क्स पूँजीवादको गहिरो घाउ मान्छन्। मार्क्सका अनुसार अलगावका विभिन्न प्रकारहरू हुन्छन - उत्पादन बाट अलगाव, श्रम प्रक्रिया बाट अलगाव, सहकर्मी मजदुरहरु बाट  अलगाव, र अन्य व्यक्तिहरू बाट अलगाव।

प्रतिस्पर्धात्मक अराजकताले बजारलाई कहिले अत्यधिक उत्पादनतिर धकेल्छ, कहिले अपूरणीय उपभोगतिर, र त्यसैबाट आवधिक आर्थिक संकटहरू जन्मिन्छन्।

विनिमय अर्को महत्त्वपूर्ण पक्ष हो।विनिमयकै माध्यमले वस्तुहरू वितरण हुन्छन् र मूल्य साकार हुन्छ। तर पूँजीवादी बजारमा विनिमयको गतिको नियमन प्रतिस्पर्धा र मूल्यको कानुन (law of value) द्वारा हुन्छ।यही प्रतिस्पर्धात्मक अराजकताले बजारलाई कहिले अत्यधिक उत्पादनतिर धकेल्छ, कहिले अपूरणीय उपभोगतिर, र त्यसैबाट आवधिक आर्थिक संकटहरू जन्मिन्छन्। मार्क्स लेख्छन्-"पूँजीवादी उत्पादनका विरोधाभासहरू बजारको अराजकतामा प्रकट हुन्छन्।"

उत्पादन र विनिमयबीचको सम्बन्धलाई मार्क्स परस्परावलम्बी देखाउँछन्।तर यही अन्तरक्रियाबाट विरोधाभास पनि गहिरिन्छ।बजारको विस्तार, विश्वव्यापी व्यापारको विकास- यी सबैले पूँजीवादका अन्तरविरोधलाई अझ चर्को, अझ व्यापक बनाउँछन्।यसरी संकटहरूले अब स्थानीय मात्र रहँदैनन्, वैश्विक स्वरूप धारण गर्छन्।

यही विश्लेषणले पूँजीवादको शोषणको वैश्विक प्रकृति र त्यसलाई उखेल्न अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनको ऐतिहासिक आवश्यकता उजागर गर्छ।

पूँजीवादको अन्तरविरोध र संकट

मार्क्सका अनुसार, पूँजीवाद शोषणको प्रणाली मात्र होइन, यसैको भित्रमा आफ्नै पतनको बीउ लुकेको छ।

पूँजीवादी उत्पादनको धुरी: नाफा हो, आवश्यकताको पूर्ति होइन।

अन्तरविरोधका मुख्य अभिव्यक्तिहरू

पक्ष

व्याख्या

उत्पादनमा अलगाव (Alienation)

नाफाको मोहले श्रमिकलाई आफ्नै श्रमफलबाट टाढा र विच्छिन्न बनाउँछ।

परिसंचारको अस्थिरता

पैसा र वस्तुको आवागमन कहिल्यै सीधा र स्थिर हुँदैन; यसमा विरोधाभासहरू लुकेका हुन्छन्।

बजारको अराजकता

बजारमा विनिमयको नियमन प्रतिस्पर्धा र मूल्यको कानुनद्वारा हुन्छ। पूँजीवादी उत्पादनका विरोधाभासहरू बजारको अराजकतामा प्रकट हुन्छन्।

संकटको कारण

वस्तुको अति-उत्पादन, सम्पत्तिको असमान वितरण, र पूँजीवादी बजारको अटकलबाजीपूर्ण (speculative) स्वभाव। संकटहरू अब स्थानीय मात्र नरहेर वैश्विक स्वरूप धारण गर्छन्।

 

भूमिका र ऐतिहासिक विकास

‘राजनीतिक अर्थशास्त्रको आलोचनामा  योगदान’को भूमिका (Preface) मार्क्सका सबैभन्दा प्रसिद्ध लेखमध्ये एक हो।यहीं उनले ऐतिहासिक विकासको आफ्नो सिद्धान्त, आर्थिक आधार र अधिरचनाबीचको सम्बन्धलाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। मार्क्स लेख्छन्-"भौतिक जीवनको उत्पादनको तरिका नै सामाजिक, राजनीतिक र बौद्धिक जीवनको समग्र प्रक्रियालाई सर्तबद्ध गर्छ।"

आधार र अधिरचना

यस भूमिकामा मार्क्सले आधार (base) र अधिरचना (superstructure) को अवधारणा प्रस्तुत गर्छन्।उनको तर्क छ- समाजको आर्थिक आधार नै यसको विचारधारात्मक र संस्थागत अधिरचना निर्धारण गर्छ।आधार भन्नाले उत्पादनका शक्ति र उत्पादनका सम्बन्ध बुझिन्छ, अधिरचनाभित्र कानुनी, राजनीतिक र सांस्कृतिक संस्थाहरू पर्छन्।

मार्क्स वर्गसंघर्षलाई ऐतिहासिक परिवर्तनको प्राण-शक्ति ठान्छन्।इतिहास भनेको भिन्न-भिन्न वर्गबीचको द्वन्द्व हो,जहाँ तिनीहरूको चासो र हित मौलिक रूपमा परस्पर विरोधी हुन्छन्।यही संघर्षले नयाँ उत्पादन-प्रणाली, नयाँ सामाजिक सम्बन्ध र नयाँ युगहरूको जन्म गराउँछ।

मार्क्स जोड दिन्छन्- आर्थिक आधारमा हुने परिवर्तनले अधिरचनालाई रूपान्तरित गर्छ, र त्यसले समाजको विकासलाई दिशा दिन्छ।

त्यसैगरी, उनी वर्गसंघर्षलाई ऐतिहासिक परिवर्तनको प्राण-शक्ति ठान्छन्।इतिहास भनेको भिन्न-भिन्न वर्गबीचको द्वन्द्व हो,जहाँ तिनीहरूको चासो र हित मौलिक रूपमा परस्पर विरोधी हुन्छन्।यही संघर्षले नयाँ उत्पादन-प्रणाली, नयाँ सामाजिक सम्बन्ध र नयाँ युगहरूको जन्म गराउँछ। मार्क्सको अमर वाक्य हो- "आजसम्म अस्तित्वमा रहेका सबै समाजहरूको इतिहास वर्गसंघर्षको इतिहास हो।"

भौतिकवादी इतिहास-दृष्टि

मार्क्सले आफ्नो "भौतिकवादी इतिहास-दृष्टि" यसै भूमिकामा संक्षेपमा प्रस्तुत गर्छन्। मानव चेतना वा विचारलाई होइन, भौतिक अवस्था र आर्थिक क्रियाकलापलाई समाज र इतिहासको आधार ठान्ने दृष्टिकोण। उत्पादनशक्ति विकास, उत्पादन सम्बन्धको परिवर्तन- यी सबैले नयाँ सामाजिक संगठनका सम्भावना जन्माउँछन्।अन्ततः यिनै द्वन्द्वहरूले समाजलाई क्रान्तिकारी रूपान्तरणतिर धकेल्छ।

संघर्ष र समाधानको यो द्वन्द्वात्मक प्रक्रिया नै मार्क्सको इतिहास-बोधको केन्द्रबिन्दु हो। त्यसैले ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा  योगदान’को भूमिका मार्क्सवादी सैद्धान्तिक संरचनाको एउटा गहन र शक्तिशाली सारांश बनेको छ। यही भूमिकाले उनको पछि आएको ‘ पुँजी’ (Das Capital) जस्ता विराट ग्रन्थका लागि भूमिकास्वरूप काम गर्छ।

मार्क्सको आर्थिक सिद्धान्त र पूँजीवादी समाजको गतिशीलता बुझ्न आधारभूत ग्रन्थ

कार्ल मार्क्सको ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा  योगदान’ उनको आर्थिक सिद्धान्त र पूँजीवादी समाजको गतिशीलता बुझ्न आधारभूत ग्रन्थ हो। मार्क्सका विचारलाई भरखरै आत्मसात गरेकाहरुका लागि यो पुस्तक ऐतिहासिक भौतिकवाद, वस्तु र मूल्य-सिद्धान्त, पैसाको भूमिका, परिसंचार, उत्पादन र विनिमयको गतिशीलता, आधार र अधिरचनाबीचको अन्तरसम्बन्ध जस्ता प्रमुख अवधारणाहरु बुझ्न र थाहा पाउनका लागि एउटा उत्तम प्रवेशद्वार हो। अनि  पहिले नै मार्क्सवादी चिन्तनबारे परिचित भएकाहरूका लागि पनि  यो मार्क्सवादी अर्थशास्त्रको वैचारिक आधार र यसको क्रान्तिकारी निहितार्थहरू बुझ्न अझ गहिरो अन्तर्दृष्टि दिने महत्त्वपूर्ण कृति हो ।

यस कृति मार्फत् मार्क्स हामीलाई मूल्य, श्रम र पूँजीको स्वभाव पुनर्विचार गर्न सचेत गराउँछन्। उनले यसमा पूँजीवादी उत्पादन प्रणालीको शोषणकारी गतिशीलता, र यसैभित्र लुकेको क्रान्तिकारी सम्भावनालाई देखाएका छन् । उनको विश्लेषणले यो सत्य प्रकट गर्छ- मानव अस्तित्वलाई आकार दिने भौतिक अवस्था र सामाजिक सम्बन्धलाई नबुझी इतिहास परिवर्तन बुझ्न सम्भव छैन।