चिलीको राष्ट्रपति निर्वाचन: भय र आशाबीच दोधारमा रहेको राजनीतिक भविष्य

सौम्या साहिन

आज चिली राजनीतिक दोबाटोमा उभिएको छ, जहाँ राष्ट्रपति निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र होइन बरु यो भविष्यका सामाजिक परियोजनाहरू र राज्यको अवधारणाबीचको मूलभूत द्वन्द्वको प्रतिबिम्ब पनि हो। हालै सम्पन्न निर्वाचनको पहिलो चरणमा  कम्युनिस्ट उम्मेदवार जीनेट जाराले २६.८५ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा बढी समर्थन जुटाएकी छिन्। उनको पछाडि करिब २३.९२ प्रतिशत मत ल्याएका दक्षिणपन्थी नेता होसे एन्तोनियो कास्ट छन्। अब, डिसेम्बर १४ मा हुने अन्तिम चरणमा, यी दुई विपरीत राजनीतिक विचारधाराहरू आमनेसामने हुनेछन्।

यतिबेला, सुरक्षा, आप्रवासन र आर्थिक अनिश्चितता राजनीतिक छलफलका केन्द्रबिन्दु बनेका छन् । यी त्यस्ता मुद्दाहरू हुन् जसले विगत एक दशकमा धेरै ल्याटिन अमेरिकी राष्ट्रहरूमा जनमत निर्धारणमा महत्वपूर्ण भूमिका खेलेका छन्।

सुरक्षा र आप्रवासन: भयको राजनीति उदय

चिली परम्परागत रूपमा ल्याटिन अमेरिकाका तुलनात्मक रूपमा सुरक्षित मुलुकहरूमध्ये गणिन्थ्यो। तर हालका वर्षहरूमा, ग्याङ्ग संग सम्बन्धित अपराधहरु विशेषगरी भेनेजुएलाको ‘ट्रेन दे अरागुआ’ [1] नामक आपराधिक संगठनका गतिविधिहरुले नागरिकहरूमा गहिरो चिन्ता सिर्जना गरेको छ। अपहरण, जबरजस्ती असुली, आपराधिक हत्या—यस्ता घटनाहरूले मानिसहरूको दैनिक मनोविज्ञानमा प्रभुत्व जमाउन थालेका छन्।

यही भयको वातावरणलाई आधार बनाएर कास्टले आफ्नो चुनावी अभियानको रूपरेखा तयार गरेका छन्। कडा आप्रवासन नीतिहरू, सीमामा पर्खाल-जस्तै संरचना निर्माण, अवैध आप्रवासीको तुरुन्तै निर्वासन यस्ता आश्वासनहरूले उनको पक्षमा समर्थन बढाइरहेको छ। राज्यको शासन क्षमता पुनर्स्थापित गर्ने नाममा उनले कडा कानुन–व्यवस्था भएको केन्द्रीकृत राज्यको परिकल्पना अघि सारिरहेका छन्।

अर्कोतर्फ, जारा (Zara) ले सुरक्षा प्रश्नलाई बेवास्ता गरेकी छैनन्। नयाँ जेल निर्माण, अपराध नियन्त्रण निकायको आधुनिकीकरण, यीसँगै उनी समुदायमुखी नीतिहरूमा जोड दिइरहेकी छन् । स्थानीय समुदायको सहभागिता, युवालाई संरक्षण कार्यक्रमअन्तर्गत ल्याउने, राज्यका सामाजिक जिम्मेवारीहरू विस्तार गर्ने। उनका अनुसार केवल कठोरतामा आधारित अपराध नियन्त्रणले दीर्घकालिन परिणाम दिँदैन; बरु समाजभित्र रहेको असमानताका जरामै प्रहार गर्नुपर्छ।

आप्रवासनको मुद्दा पनि चुनावी बहसमा अत्यन्तै महत्वपूर्ण बनेको छ। भेनेजुएलाको राजनीतिक र आर्थिक पतनबाट भागेर आएका आप्रवासीहरूको विषयमा देशभित्र तीव्र विवाद चलिरहेको छ। विज्ञहरूका अनुसार मुलुकको अपराध परिदृश्य पूर्ण रूपमा आप्रवासनमा आधारित छैन, तर दक्षिणपन्थी प्रचारले यो डरलाई निकै हदसम्म बढाइदिएको छ।

अर्थतन्त्र र मतदाताको मनोविज्ञान: जनमत कुन दिशामा बहिरहेको छ?

अर्थिक संकटले पनि चुनावी मनोविज्ञान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ। मुद्रास्फीति, आम्दानी घट्नु, रोजगारीको अनिश्चितता—यी सबैले मिलेर यस्तो वातावरण बनाएका छन्, जहाँ असुरक्षाको भय राजनीतिक सन्देशमा सजिलै भेटिन्छ।

जाराले यहाँ प्रगतिशील कल्याणकारी राज्यको अवधारणा प्रस्तुत गरिरहेकी छन्—सुलभ आवास, सार्वजनिक स्वास्थ्य सुरक्षा, रोजगारी विस्तार। उनको दृष्टिमा, राज्यको हस्तक्षेपले आर्थिक असमानताको खाडललाई पुर्न सक्छ।

कास्टको उत्तर यसको उल्टो छ । राजस्व संरचना सङ्कुचित गर्दै निजी क्षेत्र–प्रधान अर्थतन्त्र निर्माण गर्ने। कर कटौती, लगानीमैत्री नीतिहरू, र राज्यको भूमिकालाई सीमित गर्ने आश्वासनले मध्यम वर्गको एक हिस्सालाई उनकी तर्फ आकर्षित गरिरहेको छ।

यस निर्वाचनमा अनिवार्य मतदान लागू भएको छ, जसका कारण धेरै नयाँ मतदाता पहिलोपटक मतदान केन्द्रमा आएका छन्। उनीहरूको निर्णय अन्ततः कुन पक्षलाई मजबुत बनाउनेछ  यो प्रश्नको उत्तर अहिले पनि अज्ञात छ।

संभावित परिणाम: चिलीको भविष्य कुन मोडतर्फ जानेछ?

पहिलो चरणका नतिजाको विश्लेषणले देखाउँछ कि दक्षिणपन्थी मतहरू तीव्र रूपमा कास्टतर्फ सर्दै छन्। योहान्स काइजर र इभलिन मातेयी [2] ले पहिले नै उनको समर्थन घोषणा गरिसकेका छन्। यसको परिणामस्वरूप, दोस्रो चरणमा कास्टको स्थित अझ सबल हुन सक्छ।

यदि कास्ट विजयी भए, चिली कडा कानुन–व्यवस्थामा आधारित राज्य संरचनामा प्रवेश गर्न सक्छ, जहाँ आप्रवासन र आन्तरिक सुरक्षा प्राथमिकतामा रहनेछन्। विपरीत रूपमा, यदि जारा विजयी भइन् भने, सामाजिक सुरक्षा विस्तार र सार्वजनिक कल्याणमा आधारित नीतिहरू उनको मुख्य चुनौती बन्नेछन् । संसदसँग सन्तुलन राख्नु, कर प्रणाली सुधार गर्नु, र सामाजिक विभाजन घटाउनु उनका प्रमुख कार्य हुनेछन्।

निष्कर्ष: विभाजित राज्यको निर्वाचन

चिलिको यो निर्वाचन मूलतः दुई भिन्न राजनीतिक परियोजनाबीचको प्रतिस्पर्धा हो। एक पक्षमा भय सिर्जना गर्ने राजनीति, कडा राज्य शासन, र आक्रामक विरोध–आप्रवासन नीतिहरू छन्; अर्को पक्षमा सामाजिक न्याय, समानता, र राज्यको जिम्मेवारी विस्तार गर्ने प्रतिवद्धता।

ल्याटिन अमेरिकाको वर्तमान राजनीतिक वातावरणमा, यो निर्वाचन एक महत्वपूर्ण सूचक बन्न सक्छ। १४ डिसेम्बरमा हुने परिणामले चिलिको भविष्य कुन बाटोमा जानेछ भन्ने निर्धारण गर्नेछ। यो निर्वाचनले केवल देशको आन्तरिक राजनीति मात्र होइन, क्षेत्रीय भू–राजनीतिक समीकरणहरूमा पनि प्रभाव पार्नेछ।

त्यसैले चिलिका मतदाता आज एक प्रकारको विभाजित अवस्थामै उभिएका छन्—जहाँ मूल प्रश्न एउटै छः सुरक्षाको कठोर छायामुनिको राज्य चाहन्छन्, वा न्याय–आधारित, समाजमुखी चिली?

नयाँ भविष्यको नमुनाका रूपमा उनीहरू कुन मार्ग स्वीकार गर्नेछन्?

टिप्पणीहरू

[1] ट्रेन दे अरागुआ भेनेजुएलामा सिर्जना भएको एक अन्तर्राष्ट्रिय आपराधिक संगठन हो, जसले ल्याटिन अमेरिकाका विभिन्न देशमा आफ्नो गतिविधि विस्तार गरेको छ। यसले जबरजस्ती असुली, अपहरण, लागुऔषध तस्करी तथा मानव तस्करीजस्ता अपराधमा संलग्न रहँदै आएको छ।

[2] योहान्स काइजर र  इभलिन मातेयी चिलिका दक्षिणपन्थी राजनीतिक व्यक्तित्व हुन्, जसले राष्ट्रपति चुनावको पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए।

Article Source:- https://europe-solidaire.org

Image source: https://morningstaronline.co.uk