लालुप्रसादको जङ्गलराज !

बिहार राज्यको गया शहरमा एक जना ख्यातिप्राप्त डाक्टर थिए। एक पटक उनको जन्मदिनको अवसरमा उनका ज्वाइँ, जो एक आइपीएस अफिसर थिए, उनले मारुती इस्टिम कार उपहार दिए। त्यो समयमा त्यो गाडी एकदम राम्रो मानिन्थ्यो। केही दिनपछि त्यो ठाउँका विधायक डाक्टरलाई भेट्न आए। डाक्टरले सोचे— नेताजी पक्कै पनि कुनै स्वास्थ्य सम्बन्धी परामर्श लिन आएका होलान्। तर विधायकले स्वास्थ्यभन्दा पनि उनको नयाँ गाडीमा रुचि लिएर चर्चा गर्न थाले। चिया पिएपछि उनले डाक्टरसँग गाडी टेस्ट ड्राइभको लागि मागे। डाक्टरले पनि खुशीका साथ दिए। विधायकजीले गाडी लिएर गए। तर निक्कै बेरसम्म गाडी नफर्केपछि उनी आफ्नो पुरानो मारुति ८०० कारमा चढेर क्लिनिक गए। क्लिनिकबाट साँझमा घर फर्किँदा समेत कार फिर्ता नआएपछि डाक्टरले आफ्नो एक जना कम्पाउन्डरलाई विधायकजीको घरमा गाडी बारे बुझ्न पठाए।

विधायकजी डाक्टरको कार चढेर पटना गएका रहेछन्। डाक्टरले विधायकजीको पटना स्थित घरमा फोन गरे, तर उनी एक हप्ताको लागि पूर्णिया र कटिहार तर्फ लागेका रहेछन्। डाक्टरसाहेबलाई शंका लाग्न थाल्यो। उनले आफ्नो ज्वाइँ, जो पुलिसका एसपी थिए, उनलाई यो सबै कथा बताए। ज्वाइँ पनि आफ्ना ससुराको गाडी धुइँपताल गरेर खोज्न थाले। तर जतिसुकै खोजे पनि कार कतै भेटिएन। १० दिनपछि विधायकजी आफ्नो घर फर्के। डाक्टरसाब विधायकजीको घरमा हतारिँदै पुगे र आफ्नो गाडीको बारेमा सोध्न थाले। विधायकजीले छक्क परेर जवाफ दिए— “मैले त त्यही दिन नै गाडीमा तेल भरेर फिर्ता गर्नु भनेर ड्राइभरलाई आदेश दिएको थिएँ। पक्का पनि त्यसैले गाडी चोर्यो होला।” डाक्टरसाब झन् चिन्तित बने। न त गाडी लैजाने मान्छेले फिर्ता गरिरहेको थियो, न पुलिसले भेटाउन सकिरहेको थियो। उनी बिलखबन्दमा परे।

डाक्टरसाबका एक जना आफन्तले उनलाई अब एक पटक मुख्यमन्त्री लालु प्रसाद यादवलाई सिधै भेट्न सल्लाह दिए। मुख्यमन्त्रीसँग भेट्न टाइम लिएर डाक्टरसाब बिहान ९ बजे उनको क्वार्टरमा पुगे। त्यहाँ पुगेर उनी छक्क परे। लालु प्रसाद यादवको बंगला अगाडि एउटा नयाँ सेतो मारुति इस्टिम कार पार्क गरिएको थियो। उनले आफ्नो गाडी नचिन्ने कुरै भएन। डाक्टरसाबले लालु प्रसादलाई आफ्नो कार हराएको कथा सुनाउँदै कार फिर्ता गरिदिन बिन्ति गरे। लालुले आफ्नो चिरपरिचित शैलीमा आदेश दिए— “मेरा केटाहरूलाई तपाईंको कार मन परेर यता ल्याए होलान्। केटाहरूले मेहनत गरेका छन्। अलिकति खर्चपानी गर्नुहोस र आफ्नो कार लैजानुहोस्।” ३ लाख तिरेर डाक्टरसाबले आफ्नो कार फिर्ता पाए ।

लालु प्रसाद यादवको शासन शैलीको यो एउटा नमुना मात्र थियो। लालु प्रसाद यादवको शासन शैली साँच्चिकै अचम्मको थियो। उनी घरभित्रको बाथरूममा टूथपेस्टले दाँत माज्थे, तर जनतालाई देखाउन निमको दतिवन चपाउँदै आफ्नो घरको आगनमा झरेर आफ्ना कार्यकर्तासँग कुरा गर्थे। सबैको सामु खैनी माड्दै ओठमा च्याप्ने गर्थे। त्यस्तै, कहिलेकाहीँ उनी कुर्ता माथि गन्जी (बनियान) लगाउने पनि गर्थे। उनलाई बिहान भेट्न आउने मान्छेको भिडमाथि आफ्नै सुरक्षामा खटिएका पुलिसले जब लाठीचार्ज गर्थे, उनी आफैँ “मेरा मान्छेलाई किन पिटेको?” भनेर आफ्नै सुरक्षाकर्मीमाथि जाइलाग्थे। जनताहरू “लालु यादव जिन्दाबाद” भन्दै नारा लगाउँथे। जब उनलाई भेट्न कोही आएनन् भने उनी आफ्नै सहयोगीलाई “अहिलेसम्म मान्छेहरु किन आएनन्? भन्दै गेटमा कोही कोहि मान्छे आएका छन् कि छैनन्” भनेर हेर्न पठाउँथे।

एक पटक चारा घोटालाका कारण उनले मुख्यमन्त्री पद त्याग्नु पर्‍यो र जेल जानुपर्‍यो। उनले आफ्नो ठाउँमा आफ्नी पत्नी राबडी देवीलाई मुख्यमन्त्री बनाए। जम्मा ५ कक्षा पढेकी राबडी देवी बिहारको मुख्यमन्त्री बनिन्। मुख्यमन्त्री बनेपछि उनलाई सोधिएको थियो— “तपाईंलाई राज्य चलाउने कुनै अनुभव छैन, कसरी चलाउनुहुन्छ?” उनले सहज भावमा जवाफ दिइन्— “जसरि मैले खाना पकाउन, दूध दुहु्न सिकेँ, त्यसरी शासन चलाउन पनि सिकिहाल्छु नि।” तर राबडी देवीलाई आफू मुख्यमन्त्री बनेको अलिकति पनि मन परेको थिएन। उनी भन्थिन्— “समस्या छ। साहेबको आदेश छ, र यो झन्झट व्यहोरिरहेको छु। कहाँ फसाइदिए मलाई।”

अहिले लालु प्रसाद यादव बुढा र बिरामी पनि छन्। उनको किड्नी फेल भएपछि उनकी छोरीले आफ्नो किड्नी दान गरेकी थिइन्। किड्नी ट्रान्सप्लान्ट पछि उनी राजनीतिमा खुलेर सक्रिय पनि छैनन्। अहिले उनको विरासत उनका छोरा तेजस्वी यादवले सम्हालेका छन्। यसपटकको निर्वाचनमा लालु प्रसाद यादवको पार्टीको लगभग सफाया नै भएको छ। बिहारमा लालु यादव उच्च जाति विरुद्ध पिछडिएको र अति पिछडिएको जातिका लागि सामाजिक न्यायको लडाइँ लड्दै सत्तामा पुगेका थिए। तर उनको शासन कुशासनको पर्याय बन्यो। भलै उनको पार्टीको हारका लागि भारतीय जनता पार्टीले आफ्नो सरकारी तन्त्र प्रयोग गरेर मतदाता नामावलीमा ठूलो मात्रामा कटौती गर्योस् वा इलेक्ट्रोनिक भोटिङ मेसिनमा छेडछाड, अथवा वर्तमान मुख्यमन्त्री नितिश कुमारले चुनावको ठिक अगाडि करिब डेढ करोड महिलालाई मुख्यमन्त्री महिला रोजगारी योजना अन्तर्गत भारतीय रूपैयाँ १० हजार बाँडेको आरोप लगाइयोस्। यी आरोपहरू पूर्णतया असत्य पनि छैनन्। तर लालु प्रसाद यादवको पार्टीको नराम्रो हारको मुख्य कारण जनतामा रहेको ‘जंगलराज’ का नामले कुख्यात उनको शासनको स्मृति हो।

लालु प्रसाद यादव नाम मात्र होइन, यो प्रवृत्ति समेत हो। शोषित, पीडित र गरिबको नाममा राजनीति गरेर सत्तामा पुग्ने तर सत्तामा पुगेपछि भ्रष्टाचार गर्ने र कुशासन थोपर्ने सबै ‘लालु’हरूको नियति यस्तै हुन्छ।