लड, आत्मसमर्पण नगर: कामरेड बसवराजको अमर आह्वान: अजित

कामरेड बसवराजको शहादतको आह्वान

बस्तरमा माओवादी आन्दोलनलाई समाप्त पार्न र त्यहाँको आदिवासी जनतालाई जबर्जस्ती विस्थापित गरी त्यो क्षेत्र भारतीय र विदेशी कम्पनीहरूलाई सुम्पने दीर्घकालीन योजना कार्यान्वयन गर्न भारतीय राज्यले “अपरेशन कागर” नामक क्रूर दमन अभियान सञ्चालन गरिरहेको छ। यसै सिलसिलामा यसले आदिवासी गाउँहरूमा पटक–पटक हवाई बमबारी पनि गरेको छ। पछिल्ला केही महिनाहरूमा भारतीय राज्यद्वारा मारिएका मध्ये करिब आधा आदिवासीहरू हुन्, जसमा बालबालिकासमेत छन्।

धेरै प्रमुख मानवअधिकार कार्यकर्ताहरूले यस परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भारत सरकार र माओवादी पार्टी दुवैलाई युद्धविराम गर्न र वार्ताको पहल गर्न आग्रह गरेका थिए। उक्त पार्टीको नेतृत्वले यस आह्वानको जवाफ दिँदै एकपक्षीय रूपमा युद्धविराम घोषणा गर्‍यो र सरकारलाई पनि त्यसै गर्न, वार्ताका लागि अनुकूल अवस्था सिर्जना गर्न आह्वान गर्‍यो। तर, भारतीय राज्यसत्ताले सकारात्मक रूपमा प्रतिक्रिया जनाउनुको सट्टा सट्टा आफ्नो हत्यारो दमन अभियान निरन्तर जारी राख्यो। उसले भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का सचिव कामरेड बसवराज र उनका साथीसहितलाई घेरेर गोली हानेर मार्यो। सबै मानक तोड्दै, राज्यले यी सहकर्मीहरूको शव यथोचित दाहसंस्कारका लागि उनीहरूको आफन्तलाई दिन अस्वीकार गर्‍यो। त्यसको सट्टामा ती शवहरू लुकीछिपी जलाइयो। यस क्रूरतापूर्ण तरिकाले भारतीय राज्यसत्ताले आफ्नो अमानवीय चरित्र प्रकट गर्‍यो।

यससँगै, सोनु–रूपेश समूहको नेतृत्वमा रहेका केही गद्दारहरुले अहिले कामरेड बसवराजविरुद्ध सबैभन्दा घृणास्पद रूपमा बदनाम अभियान चलाइरहेका छन्। उनीहरूले बसवराज आत्मसमर्पण गर्न र हतियार बिसाउने पक्षमा थिए भन्ने दाबी गर्छन्। यसरी उनीहरूले कामरेड बसवराज र उनका साथीसँग संख्यात्मक रूपमा धेरै कम र अत्यधिक शक्तिशाली शत्रुसामु हुँदाहुँदै पनि देखाएको वीर प्रतिरोधको उपहास गरेका छन्। ती सहकर्मीहरूले अन्तिम क्षणसम्म लड्ने निर्णय गरेका थिए। उनीहरू आत्मसमर्पण गर्नेवाला थिएनन्। बरु, उनीहरूले साँचो कम्युनिष्ट परम्परालाई जारी राख्दै क्रान्तिको ज्वलन्त झन्डा उठाएर लड्दै जीवन अर्पण गरे, यसरी आत्मबलिदानको गौरवपूर्ण उदाहरण स्थापित गरे।

हालै, चर्चित आदिवासी मानवअधिकार कार्यकर्ता सोनी सोरीले आत्मसमर्पण गर्नेहरूलाई केही अत्यन्त सान्दर्भिक प्रश्नहरू राखेकी छिन्: के यसको अर्थ अब आदिवासीहरूले आफ्नो जल, जंगल र जमिनमाथि अधिकार पाउने छन्? के यसको अर्थ सरकारका सशस्त्र शिविरहरू अब त्यो क्षेत्रबाट हटाइने छन्? के यसको अर्थ विदेशी र भारतीय कम्पनीहरूले आफ्नो नाफाका लागि त्यो भूमिलाई लुट्न रोकिने छन्?

यो देशका शासकहरूको नीतिहरू र स्वार्थसँग परिचित जो कोहीलाई यी प्रश्नहरूको जवाफ थाहा छ। त्यस्ता कुनै पनि कुरा हुन गइरहेका छैनन्। बरु, त्यस क्षेत्रको लुटपाट अझ तीव्र हुनेछ। त्यसले उत्पीडित र तिनीहरूको पक्षमा उभिनेहरूका तर्फबाट संघर्षको माग गर्छ, आत्मसमर्पणको होइन। यसले कामरेड बसवराजजस्ता महान् सहिदहरूको गौरवपूर्ण परम्परा अँगाल्न आह्वान गर्छ।

५ नोभेम्बर २०२५

नयाँ दिल्लीमा ३ नोभेम्बर २०२५ मा आयोजित फोरम अगेन्स्ट कर्पोराइजेशन एण्ड मिलिट्रीराइजेशन (एफएसीएएम) को पत्रकार सम्मेलनमा अजित (के मुरली) ले पठाएको सन्देशको अनुवाद । स्रोत: https://maoistroad.blogspot.com