विश्व जित्ने सिकन्दर, सिकन्दरलाई पनि जित्ने डायोजिनिज !
फकीर दार्शनिक डायोजिनिज: जो दिउँसै लालटिन बालेर इमान्दार मानिसको खोजीमा हिँड्थे !
ग्रीक दार्शनिक डायोजिनिज (Diogenes) बारेको एउटा प्रसङ्ग अति चर्चित छ ।
भनिन्छ, विश्व विजयको यात्रामा निक्लने क्रममा त्यसबेलाका चर्चित दार्शनिक डायोजिनिजलाई भेट्न अलेक्ज्याण्डर द ग्रेट (सिकन्दर) ग्रीसको एक अत्यन्त महत्वपूर्ण सहर–राज्य कोरिन्थ पुगे । उनी आफ्ना सेनापति तथा सैनिकहरुको लावालस्करका साथ उनीभए ठाउँ पुगे ।
डायोजिनिज अत्यन्तै विचित्र र स्वतन्त्र जीवनशैलीका कारण प्रसिद्ध थिए । एउटा ठूला घ्याम्पो (barrel) भित्र बस्ने, धनीहरू र सत्ताधारीहरूका गलत र उत्पीडक व्यवहारविरुद्ध कठोर व्यङ्ग्य गर्ने, अनि सडेगलेका सामाजिक परम्पराहरूको खिल्ली उडाउन सक्ने किसिमका व्यक्ति थिए डायोजिनिज।
त्यो बेला उनी घाम तापिरहेका थिए । विश्वविजयका अहंकारले चुर सिकन्दरले गर्वका साथ भने, “म तिमीलाई जे चाहिन्छ त्यो दिन सक्छु। केही माग।”
सिकन्दरको विश्वविजेताको अहंकारलाई धूलोपीठो पार्दै डायोजिनिजले सपाट स्वरमा उत्तर दिए– “साँच्चै नै तिमी दिन सक्छौ भने अलिकति पर सरिदेऊ, मेरो घाम नछेकिदेऊ ।” (“Stand out of my sunlight.”)
यो उत्तरले सिकन्दरको अहङ्कारमाथिको गहिरो चोट पुग्यो । यो कुनै चानचुने जवाफ थिएन, यो गहिरो दार्शनिक जवाफ थियो। डायोजिनिजका लागि स्वतन्त्रता र आत्मसन्तुष्टि नै सर्वोच्च थिए; शक्तिशाली राजा वा भौतिक सम्पत्तिको कुनै अर्थ र महत्त्व थिएन।
https://www.thevintagenews.com
“साँच्चै नै तिमी दिन सक्छौ भने अलिकति पर सरिदेऊ, मेरो घाम नछेकिदेऊ ।” (“Stand out of my sunlight.”)
भनिन्छ, उनको त्यो वेवाक जवाफबाट सिकन्दर अत्यन्तै प्रभावित बनेका थिए । उनले भनेका थिए, “म सिकन्दर नभएको भए, म डायोजिनिज हुन चाहन्थेँ।”
आउनुहोस्, हामी तिनै विचित्रका दार्शनिकको जीवनचरित्र एवं उनको दर्शनको रहस्य बुझ्ने कोशिस गरौं ।
भौतिक सुखसुविधा र वैभवलाई सम्पन्नताको प्रतीक मान्ने सांसारिक मान्यताभन्दा बाहिर निस्केर हेर्ने हो भने संसारको सबैभन्दा स्वतन्त्र र शायद सबैभन्दा धनी मानिस त्यो पनि हुन सक्छ, जसको आफ्नै घर छैन, जससँग लगाउने लुगा पनि ढंगका छैनन्, र जसलाई समाजको नजरमा एक फकिर वा पागल मानिन्छ।
दार्शनिक डायोजिनिज त्यस्ता व्यक्ति थिए, जो माटोको ठूलो घ्याम्पोभित्र बस्दथे । उनीसँग भौतिक सम्पत्तिको नाममा एक लठ्ठी र एउटा बटुको बाहेक अरू केही थिएन। तर सम्भवत: उनी संसारकै सबैभन्दा धनी र सुखी मानिस थिए । त्यही भएर नै उनले संसारका सबैभन्दा महान सम्राट सिकन्दर महानलाई पनि भन्न सकेका थिए – “मेरो अगाडिबाट हटिदेऊ, तिमीले मेरो घाम छेक्दैछौं।”
एक धनी व्यक्ति जब विद्रोही बने: सुनको सिक्काबाट माटोको भाँडासम्मको यात्रा
आज डायोजिनिजलाई हामी एक विद्रोही, एक सन्त, र समाजका सबै बन्धन एवं नियमहरू तोड्ने दार्शनिकका रूपमा चिन्छौं । तर जीवनको शुरुवातकालमा उनी त्यस्ता थिएनन् । उनको जन्म एक धनी र सम्मानित परिवारमा भएको थियो । उक्त परिवारले समयक्रममा परिस्थितिका कारणले सबै कुरा गुमाउन बाध्य भएको थियो । त्यसपछि डायोजिनिज एउटा नयाँ यात्रामा निस्कन्छन् । त्यस्तो यात्रा, जसले संसारलाई सधैंका लागि परिवर्तन गरिदिन्छ।
डायोजिनिजको बाल्यकाल ऐश्वर्य र आराममा बितेको थियो । उनीसँग धन थियो, सम्मान थियो, र सुनौलो भविष्य थियो। उनलाई कुनै कुराको कमी थिएन।
डायोजिनिजको जन्म चौथो शताब्दी ईसा पूर्वमा सिनोप (Sinope) नामको शहरमा भएको थियो । उक्त शहर आजको टर्कीमा पर्दछ। त्यो बेला सिनोप ग्रीक संस्कृतिको एक महत्वपूर्ण केन्द्र थियो र निकै समृद्ध शहर मानिन्थ्यो। डायोजिनिजका पिता हिसेसियस (Hicesias) एक प्रमुख बैंक पदाधिकारी थिए। उनको काम शहरका लागि सिक्का बनाउने र पैसाको कारोबार व्यवस्थापन गर्ने थियो।
डायोजिनिजको बाल्यकाल ऐश्वर्य र आराममा बितेको थियो । उनीसँग धन थियो, सम्मान थियो, र सुनौलो भविष्य थियो। उनलाई कुनै कुराको कमी थिएन। उनी आफ्ना पिताको व्यापार सम्हालेर आरामदायक जीवन बाँच्न सक्ने हैसियतमा थिए । तर उनको जीवन फरक ढङ्गले अघि बढ्यो ।
समयक्रममा डायोजनिज र उनका पितामाथि एउटा गम्भीर आरोप लाग्यो, जसले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो। त्यो आरोप सिक्कामा मिलावट गरेको थियो । त्यो समय सिक्काहरू सुन वा चाँदीका हुन्थे, र तिनको मूल्य त्यसमा भएको धातुमाथि आधारित हुन्थ्यो। डायोजनिज र उनका पितामाथि सिक्काका किनाराहरू काटेर त्यसबाट धातु निकालेर फेरि ती सिक्का बजारमा पठाएको गम्भीर आरोप लाग्यो । यो अपराध लगभग देशद्रोहजस्तै अत्यन्त गम्भीर मानिन्थ्यो । यसको सजाय समाजबाट बहिष्कार र देशनिकाला हदसम्मको थियो ।
डायोजनिज र उनका पितामाथि सिक्काका किनाराहरू काटेर त्यसबाट धातु निकालेर फेरि ती सिक्का बजारमा पठाएको गम्भीर आरोप लाग्यो । यो अपराध लगभग देशद्रोहजस्तै अत्यन्त गम्भीर मानिन्थ्यो ।
यो अपराधको आरोपका कारण एकै झट्कामा डायोजिनिज र उनका पिताले सबै कुरा गुमाए– उनीहरूको इज्जत, सम्पत्ति, घर, सबथोक खोसियो। उनीहरूलाई आफ्नै शहर सिनोपबाट अपमानपूर्वक निकालियो।हिजोसम्म महलजस्तो घरमा बस्ने र वैभवशाली जीवनयापन गरिरहेका डायोजनिज अब घरबार र श्रीसम्पत्तिविहीन बने । उसको टाउको माथिको छत खोसियो। हिजो सम्मानका दृष्टिले हेरिने डायोजनिज र उनका परिवारलाई अब चोर र ठग भन्दै दुत्कारिन थालियो ।
यस घटनाले डायोजिनिजलाई पूरै हल्लाइदियो। उनका सामु दुई बाटाहरू थिए – या त अपमानको बोझले थिचिएर जीवन समाप्त गर्ने, वा यसलाई एक पाठको रूपमा लिएर नयाँ सुरुवात गर्ने। डायोजिनिजले दोस्रो बाटो रोजे।
भनिन्छ, यो कठिन समयमा उनी डेल्फी (Delphi) का प्रसिद्ध मन्दिर गए, जहाँ देववाणी (oracle) सुनाइन्थ्यो। उनले त्यहाँका पुजारीसँग सोधे – अब उनले के गर्नु उचित हुन्छ ? जवाफ आयो – “सिक्काको मूल्य परिवर्तन गर।”
सुरुमा डायोजिनिजले सोचे – सायद उनलाई फेरि त्यही काम गर्न भनिएको हो, जसका कारण उनी बर्बाद भएका थिए। तर पछि उनले त्यो भनाइलाई गहिरो अर्थको रुपमा बुझे । उनले ठाने– त्यस भनाइको अन्तर्य हो– “समाजका मूल्यहरू परिवर्तन गर। अर्थात्, समाजले ‘बहुमूल्य’ ठान्दै आएको धन, कीर्ति, शक्तिका अर्थहरू उल्ट्याइदेऊ।मानिसहरूले आँखा चिम्लेर विश्वास गर्दै आएका ती स्थापित मान्यताहरू र परम्पराहरूमा प्रश्न उठाऊ ।”
डायोजिनिजले आफ्नो अतीतलाई पछाडि छोडे र नयाँ यात्रामा निस्किए। उनी त्यो समय ज्ञान र दर्शनको सबैभन्दा प्रमुख केन्द्रको रुपमा चर्चित एथेन्स पुगे। उनी त्यहाँ कुनै विश्वविद्यालयमा पढ्न वा कुनै गुरुबाट शिक्षा लिन आएका थिएनन्। उनी त यहाँ संसारलाई नयाँ पाठ पढाउन आएका थिए।
यो कुरा डायोजिनिजको मनमा गहिरो रूपमा गढ्यो। मानिसहरुले अपहत्ते गर्ने गरेको धन र सम्मानका खोक्रो र अस्थायी हो भन्ने उनलाई बोध भयो । उनीबाट पनि ती कुराहरु सबै एक क्षणमै खोसिएका थिए।त्यो क्षणमा उनले बुझ्दै गए – असली मूल्य ती बाहिरी वस्तुहरूमा होइन, बरु मानवको चरित्रमा, उसको सादापन र उसको भित्री स्वतन्त्रतामा निहित हुन्छ।
यो एक धनी बैंकरको छोराको मृत्यु र एक महान दार्शनिकको जन्म भएको अद्भूत क्षण थियो ।
अब डायोजिनिजले आफ्नो अतीतलाई पछाडि छोडे र नयाँ यात्रामा निस्किए। उनी त्यो समय ज्ञान र दर्शनको सबैभन्दा प्रमुख केन्द्रको रुपमा चर्चित एथेन्स पुगे। उनी त्यहाँ कुनै विश्वविद्यालयमा पढ्न वा कुनै गुरुबाट शिक्षा लिन आएका थिएनन्। उनी त यहाँ संसारलाई नयाँ पाठ पढाउन आएका थिए।
डायोजिनिजले निर्णय गरे – अब उनी कुनै पनि सामाजिक नियम, परम्परा वा देखावटी चलनलाई मान्ने छैनन्। उनी प्रकृतिले मानवलाई बनाएको प्राकृत स्वरुप अर्थात् बिना कुनै लाज र आवरण बाँच्नेछन् । सिनोपबाट निकालिपछि अपमानित र बेघर बनेका डायोजिनिजले कसैले कल्पना पनि नगरेको कार्य गरे । उनले आफ्नै अपमानलाई आफ्नो सबैभन्दा शक्तिशाली हतियार बनाए।
समाजका नियमहरूलाई खुट्टामुनि कुल्चने एथेन्सको आवारा सन्त
डायोजिनिज एथेन्स पुग्दा उनी कुनै हार मानिसकेको मानिस जस्तो थिएनन्। उनीभित्र समाजको पाखण्ड र झूटा मूल्यहरूलाई उजागर गरेर खरानी बनाइदिने आगो दन्किरहेको थियो ।त्यो समय एथेन्स संसारको सबैभन्दा सभ्य र सुसंस्कृत शहर मानिन्थ्यो। त्यहाँ प्लेटो (Plato) जस्ता महान दार्शनिक थिए, जसको एकेडेमीमा टाढा–टाढाबाट विद्यार्थीहरू अध्ययन गर्न आउँथे। चारैतिर ज्ञान, कला र राजनीति बारे छलफल चल्थ्यो।
उनले समाजको प्रमुख प्रतीक – ‘घर’ – त्यागे। उनी कुनै भाडाको घर वा झुपडीमा होइन, बजारको बीचमा राखिएको सेरामिक माटोको विशाल घ्याम्पो (ग्रीक भाषामा Pithos) भित्र बस्न थाले।
तर डायोजिनिजले यो चमकदमकको पछाडि रहेको अँध्यारो स्पष्ट देख्थे। उनले मानिसहरू कसरी धन, कीर्ति, शक्ति र लोभको पछि पागल भइरहेका छन् भनेर देखे। मानिसहरू ज्ञानका कुरा त गर्छन्, तर उनीहरूको जीवनमा न सादापन छ, न सत्यताको नामोनिशान।तिनीहरू एकथरि बोल्छन् तर गर्नेबेलामा अरु थोक नै गर्छन् – यही पाखण्ड डायोजिनिजलाई सह्य भएन। उनले निश्चय गरे – यी मानिसहरूलाई उनी ऐना देखाउनेछन्, तर शब्दले होइन, आफ्नै जीवनशैलीले।
सबैभन्दा पहिले उनले समाजको प्रमुख प्रतीक – ‘घर’ – त्यागे। उनी कुनै भाडाको घर वा झुपडीमा होइन, बजारको बीचमा राखिएको माटोको विशाल घ्याम्पो (ग्रीक भाषामा Pithos) भित्र बस्न थाले।यो साधारण घ्याम्पो थिएन – यो यति ठूलो थियो कि एउटा मानिस सजिलै त्यसभित्र सुतेर बस्न सक्थ्यो। यही उनको महल थियो, यही उनको संसार।
एकदिन उनले एउटा बालकलाई आफ्ना हातको अञ्जुली बनाएर पानी पिउँदै गरेको देखे।यो देखेर डायोजिनिजलाई आत्मग्लानि भयो। उनले सोचे – “यो बच्चा मभन्दा अझ सरल रूपमा बाँच्दैछ। यसलाई पानी पिउन कटोराको पनि आवश्यकता छैन। म व्यर्थै यो कटोराको बोझ बोक्दै छु।”
उनले वस्त्रका रूपमा केवल एउटा बाक्लो ‘लबेदा’ लगाउन थाले । त्यसले उनलाई हिउँद, गर्मी र वर्षा सबै मौसममा बचाउँथ्यो। उनीसँग सम्पत्तिका नाममा केवल दुई वस्तु थिए– एउटा काठको लठ्ठी, जसले उनलाई हिँड्न सहारा दिन्थ्यो र कुकुरहरूबाट बचाउँथ्यो; अनि एउटा काठको कटोरा, जसमा उनी खाना खान्थे र पानी पिउथे। त्यो नै उनको सम्पूर्ण सम्पत्ति थियो। उनी पूर्ण रूपमा आत्मनिर्भर थिए – कसैको सहायतामा निर्भर रहनुपर्ने कुनै कारण थिएन !
एकदिन उनले एउटा बालकलाई आफ्ना हातको अञ्जुली बनाएर पानी पिउँदै गरेको देखे।यो देखेर डायोजिनिजलाई आत्मग्लानि भयो। उनले सोचे – “यो बच्चा मभन्दा अझ सरल रूपमा बाँच्दैछ। यसलाई पानी पिउन कटोराको पनि आवश्यकता छैन। म व्यर्थै यो कटोराको बोझ बोक्दै छु।” त्यो क्षणमै उनले आफ्नो प्रिय काठको कटोरा पनि फ्याँके। अब उनका साथमा केवल एउटा चोघा र एउटा लठ्ठी मात्र बाँकी रह्यो। यही उनको पूरा संसार थियो।
डायोजिनिजको यो जीवनशैलीले मानिसहरूलाई स्तब्ध पार्थ्यो। उनी सार्वजनिक रूपमा बजारमै खान्थे, सुत्थे र आफ्ना सबै काम गर्थे। त्यो समयको सभ्य समाजका लागि यो दृश्य झट्का जस्तै थियो। मानिसहरूले उनलाई पागल, निर्लज्ज र आवारा भन्थे। बालबालिकाहरू उनलाई हेरेर ढुंगा हान्थे, अरूले उनको व्यंग्य गर्थे।
तर डायोजिनिजलाई यसले कुनै फरक पार्दैनथ्यो। उनी भन्थे – “कुकुरहरूले पनि त सबै कुरा खुला ठाउँमै गर्छन्, म किन गर्न सक्दिनँ? म त केवल प्रकृतिको नियमपालन गर्दैछु।” यहीँबाट उनको दर्शन निन्दकवाद (Cynicism) को जन्म भयो। Cynic शब्द ग्रीक शब्द Kynikos बाट आएको हो, जसको अर्थ हुन्छ – ‘कुकुर जस्तो’।

डायोजिनिज आफैंलाई गर्वका साथ “Diogenes the Dog” अर्थात् “कुकुर डायोजिनिज” भन्थे।उनका लागि कुकुर एक आदर्श प्राणी थियो – किनभने कुकुर सादगीपूर्वक बाँच्दछ, उसलाई धन-दौलतको लोभ हुँदैन, ऊ वफादार हुन्छ, र उसले मन नपराएको कुरामा भुक्न डराउँदैन।
डायोजिनिज पनि त्यही गर्थे – उनी समाजको पाखण्डमाथि भुकिरहेका थिए, मानिसहरूलाई उनीहरूको झूठो शोभा–प्रतिष्ठाको अनुभूति गराइरहेका थिए।
उनी जानाजान त्यस्ता कार्यहरू गर्थे, जसले मानिसहरूलाई असहज बनाओस् – ताकि उनीहरू सोच्न बाध्य हुन्।
जस्तै, उनी कहिलेकाहीँ दिउँसो उज्यालोमा पनि बालिएको लालटिन लिएर बजारमा घुम्थे। जब मानिसहरूले सोध्थे – “तिमी के गर्दैछौ?” उनी जवाफ दिन्थे – “म एक ईमानदार मानिस खोज्दैछु।” यो कथन सम्पूर्ण एथेन्स समाजको मुखमा तमाचा थियो। यसको अर्थ थियो – यस भीडमा, यस तथाकथित सभ्य समाजमा, उनलाई एक जना पनि साँचो र ईमानदार व्यक्ति भेटिएन।

उनी कहिलेकाहीँ दिउँसो उज्यालोमा पनि बालिएको लालटिन लिएर बजारमा घुम्थे। जब मानिसहरूले सोध्थे – “तिमी के गर्दैछौ?” उनी जवाफ दिन्थे – “म एक ईमानदार मानिस खोज्दैछु।”
उनीहरूले आफ्नो जीवनशैलीलाई नै आफ्नो दर्शन बनाएका थिए। तर यो दर्शन केवल प्रदर्शन थिएन – यसको पछाडि गहिरो र क्रान्तिकारी विचार थियो।
कुकुरको जस्तो जीवन र डायोजिनिजको दर्शनको वास्तविक अर्थ
डायोजिनिजको जीवन, जसलाई मानिसहरूले पागलपन ठान्थे, वास्तवमा उनको गहिरो दर्शनको जीवित उदाहरण थियो। उनको दर्शनलाई Cynicism (सिनिसिज्म) वा नेपालीमा “निन्दकवाद” भनिन्छ। तर यसको आजको अर्थ – जसले सबै कुरामा दोष खोज्छ – त्यससँग कुनै सम्बन्ध छैन।
डायोजिनिजका लागि Cynic हुनुको अर्थ थियो – प्रकृतिअनुसार जीवनयापन गर्नु, र समाजले बनाएका सबै झूटा नियम, परम्परा र मूल्यहरूलाई अस्वीकार गर्नु।
उनको दर्शनको मूल मन्त्र थियो – सादगी, आत्मनिर्भरता र निर्लज्जता।
अब ती तीनवटै कुरा एक–एक गरेर बुझौं। पहिलो र सबैभन्दा महत्वपूर्ण सिद्धान्त थियो – प्रकृतिअनुसार जीवन। डायोजिनिज (Diogenes) को विश्वास थियो कि मानिस त्यतिखेरमात्र खुशी र स्वतन्त्र रहन सक्छ, जब ऊ समाजका होइन, प्रकृतिले बनाएका नियमहरूअनुसार चल्छ। समाजले हामीलाई के सिकाउँछ? राम्रो घर बनाऊ, धेरै पैसा कमाऊ, महँगा वस्त्र पहिर, ठूला सवारी किन, समाजमा उच्च पद प्राप्त गर। डायोजिनिजका अनुसार यी सबै कुरा अप्राकृतिक हुन् र यीले मानिसलाई दुःख र चिन्ताको जालमा फसाउँछन्।
उसका आधारभूत आवश्यकता अर्थात् रोटी, वस्त्र र बासस्थान (उनको मामिलामा एउटा घ्याम्पो) पूरा गर, अनि बाँकी सबै मोह–माया त्याग।
तपाईं स्वयं सोच्नुहोस् – जब तपाईंको ठूलो घर हुन्छ, तब तपाईंलाई त्यसको सुरक्षाको चिन्ता हुन्छ। जब तपाईंसँग धेरै पैसा हुन्छ, तब त्यसलाई गुमाउने डर सताउँछ। जब तपाईं उच्च पदमा हुनुहुन्छ, तब त्यसलाई जोगाइराख्ने तनाव रहन्छ। डायोजिनिज भन्थे – यी सबै वस्तुहरूको इच्छा नै दुःखको मूल हो। प्रकृतिलाई हेर, जनावरहरूलाई हेर। के कुनै चरालाई ऐश्वर्यपूर्ण गुँडको चिन्ता हुन्छ? के कुनै सिंहलाई सुनको सिंहासनको इच्छा हुन्छ? हुँदैन। उनीहरू केवल आफ्ना आवश्यकताहरू पूरा गर्छन् र सन्तुष्ट रहन्छन्। डायोजिनिजको विचार थियो – मानिसले पनि ठीक त्यस्तै गरी बाँच्नुपर्छ।
उसका आधारभूत आवश्यकता अर्थात् रोटी, वस्त्र र बासस्थान (उनको मामिलामा एउटा घ्याम्पो) पूरा गर, अनि बाँकी सबै मोह–माया त्याग। उनको भनाइमा समाजले हामीलाई लाज, संकोच, लोभ र अहंकारजस्ता भावनाहरू सिकाएको छ, जसले हामीलाई प्रकृतिबाट टाढा पुर्याउँछ।
डायोजिनिजलाई सिकन्दरजस्ता सम्राटको पनि पर्वाह थिएन, न त सर्वसाधारणका व्यङ्ग्यहरूको। उनी आफ्नै खुशीका लागि पूर्णतः आत्मनिर्भर थिए। उनको आनन्दको स्रोत बाहिरको संसारमा होइन, आफ्नै भित्र थियो।
उनको दर्शनको दोस्रो स्तम्भ थियो आत्मनिर्भरता । युनानी भाषामा यसलाई ओन्टार्की (Autarkeia) भनिन्छ। यसको अर्थ हो – आफ्नै भित्र पूर्ण हुनु, कुनै बाह्य वस्तु वा व्यक्तिमा आफ्नो खुशीका लागि निर्भर नहुनु। डायोजिनिजको मान्यतामा जबसम्म तपाईं आफ्नो खुशीका लागि अरूको प्रशंसा, समाजको स्वीकृति, धन–दौलत वा सम्बन्धमा निर्भर रहनुहुन्छ, तबसम्म तपाईं दास हुनुहुन्छ। वास्तविक स्वतन्त्रता त्यतिखेर आउँछ, जब यी सबै कुराहरूको तपाईंमा कुनै प्रभाव पर्न छोड्छ। कसैले तपाईंको प्रशंसा गर्यो वा निन्दा, सम्मान दियो वा अपमान – कुनै पनि अवस्थाले तपाईंको आन्तरिक शान्ति विचलित हुनु हुँदैन।
डायोजिनिजले यो सिद्धान्त आफ्नो जीवनमा पूर्णरूपमा उतारेका थिए। उनलाई सिकन्दरजस्ता सम्राटको पनि पर्वाह थिएन, न त सर्वसाधारणका व्यङ्ग्यहरूको। उनी आफ्नै खुशीका लागि पूर्णतः आत्मनिर्भर थिए। उनको आनन्दको स्रोत बाहिरको संसारमा होइन, आफ्नै भित्र थियो। यो अत्यन्त कठिन र गहिरो साधना हो। हामी सबै कतै न कतै अरूको रायका गुलाम हौं। हामी कपडा पनि यसै सोचेर लगाउँछौं – “मानिसहरुले के भन्न्छन्?” हामी काम पनि यही सोचेर गर्छौं – “समाज के सोच्ला?” डायोजिनिज हामीलाई यही मानसिक दासत्वबाट मुक्त हुनको बाटो देखाउँछन्।
डायोजिनिजको मान्यतामा लाज भन्ने कुरा समाजले सिर्जना गरेको एउटा झूटा भावना हो, जसले मानिसलाई आफ्नो नियममा बाँधिराख्छ। उनी भन्थे – जुन काम एक्लै गर्दा गलत होइन, त्यो सबैको अगाडि गर्दा पनि गलत होइन।
उनको दर्शनको तेस्रो र सबैभन्दा विवादास्पद पक्ष थियो निर्लज्जता – अर्थात् अनाइडिया (Anaideia)। यसको अर्थ थियो – सामाजिक लाज र संकोचका नियमहरूलाई जानाजान तोड्नु। डायोजिनिजको मान्यतामा लाज भन्ने कुरा समाजले सिर्जना गरेको एउटा झूटा भावना हो, जसले मानिसलाई आफ्नो नियममा बाँधिराख्छ। उनी भन्थे – जुन काम एक्लै गर्दा गलत होइन, त्यो सबैको अगाडि गर्दा पनि गलत होइन।
त्यसैले उनी सार्वजनिक रूपमा बजारमा खान्थे – जुन त्यो समय अत्यन्तै अनुचित ठानिन्थ्यो। उनी मानिसहरूका व्याख्यानबीच पुगेर खान थाल्थे, ताकि मानिसहरूको ध्यान यसतर्फ जाओस् – कि ज्ञानभन्दा पनि पहिले पेट भरिनु जरुरी छ। उनका यस्ता कामहरूले मानिसहरूलाई स्तब्ध र आक्रोशित पार्थे। तर डायोजिनिजको उद्देश्य कसैको अपमान गर्नु थिएन। उनको उद्देश्य मानिसहरूलाई उनीहरूको गहिरो निद्राबाट जगाउनु थियो।
डायोजिनिजको दर्शन केवल किताबी ज्ञान मात्र होइन, एक जीवनशैली थियो – एक क्रान्ति थियो। उनले संसारलाई देखाए कि धन–दौलत र सामाजिक सम्मान बिना पनि मानिस पूर्ण रूपमा खुशी, स्वतन्त्र र शक्तिशाली हुन सक्छ।
उनी एक किसिमको आघात उपचार (shock therapy) प्रयोग गरिरहेका थिए – ताकि मानिसहरूले सोचून्, “हामी जस नियम र परम्पराहरूलाई नसोची–सम्झी मान्दै आएका छौं, के ती साँच्चिकै आवश्यक हुन्? कि ती केवल हामीलाई बाँध्ने जञ्जीरहरू मात्र हुन्?”
डायोजिनिजको दर्शन केवल किताबी ज्ञान मात्र होइन, एक जीवनशैली थियो – एक क्रान्ति थियो। उनले संसारलाई देखाए कि धन–दौलत र सामाजिक सम्मान बिना पनि मानिस पूर्ण रूपमा खुशी, स्वतन्त्र र शक्तिशाली हुन सक्छ। तर केवल कुरा गर्नु र त्यसमा व्यवहारमा उतार्नु दुई बिल्कुल फरक कुरा हुन्। डायोजिनिजले आफ्नो यो कठिन दर्शनलाई आफ्नो दैनिक जीवनमा कसरी उतारे?
घ्याम्पोवाला सन्त – संसारको सबैभन्दा अजीब घरको कथा !
डायोजिनिजको दर्शन बुझ्नका लागि उनको जीवन बुझ्न अत्यावश्यक छ – विशेषतः त्यो घर, जो वस्तुतः घर नै थिएन। उनी एथेंसको एगोरा (Agora) अर्थात् मुख्य बजार नजिकै एउटा सेरेमिकको ठुलो घ्याम्पोमा बस्थे। त्यो नै उनको ठेगाना थियो, त्यो नै उनको महल थियो। कल्पना गर्नुहोस् त्यो दृश्यको – एकपट्टि एथेंसका भव्य भवनहरू, बजारको भीडभाड, सिँगारिएका मानिसहरू, र तिनकै बीचमा एउटा मानिस, जो माटोको एउटा ठुलो भाँडोमा बसिरहेको छ। यो दृश्य आफैंमा समाजको अनुहारमा एक झापड थियो।

कल्पना गर्नुहोस् त्यो दृश्यको – एकपट्टि एथेंसका भव्य भवनहरू, बजारको भीडभाड, सिँगारिएका मानिसहरू, र तिनकै बीचमा एउटा मानिस, जो माटोको एउटा विशाल भाँडोमा बसिरहेको छ।
त्यो घ्याम्पो एक प्रतीक थियो – कि मानिसलाई बाँच्नका लागि वास्तवमा कति थोरै कुराको आवश्यकता हुन्छ। हामी आफ्नो सारा जीवन एउटा विशाल घर बनाउने र सिङ्गार्ने सपनामा बिताउँछौं, तर उनी त्यो घ्याम्पोमै पनि हामीभन्दा धेरै सन्तुष्ट र खुशी थिए। त्यो घ्याम्पो उनलाई घाम, पानी र जाडोबाट जोगाउन पर्याप्त थियो। गर्मीमा उनी त्यसलाई चिसो बालुवामा गुड्काउँथे, जाडोमा उनी त्यसलाई घाम लाग्ने ठाउँमा सार्थे।
उनको भीख माग्ने तरिका पनि विलक्षण थियो। उनी प्रायः मूर्तिहरू अगाडि हात फैलाएर भीख माग्थ्यो। जब मानिसहरूले सोध्थे, “तिमी यस्तो किन गर्छौ?” ऊ उत्तर दिन्थ्यो – “म अस्वीकार गरिनुको अभ्यास गरिरहेको छु।”
उनको दिनचर्या पनि ठीक त्यस्तै सरल र प्राकृतिक थियो। ऊ बिहान सूर्योदयसँगै उठ्थे र आफ्नो आवश्यकता पूरा गर्न भीख माग्थे। तर उनको भीख माग्ने तरिका पनि विलक्षण थियो। उनी प्रायः मूर्तिहरू अगाडि हात फैलाएर भीख माग्थे। जब मानिसहरूले सोध्थे, “तिमी यस्तो किन गर्छौ?” ऊ उत्तर दिन्थ्यो – “म अस्वीकार गरिनुको अभ्यास गरिरहेको छु।” यसको अर्थ – उनी आफ्ना भावनाहरूलाई त्यति बलियो बनाइरहेको थियो कि कसैले ‘इन्कार गर्यो’ भन्यो भने पनि उनलाई कुनै फरक नपरोस्।
जब उनी मानिसहरूसँग भीख माग्थे, उनी कहिल्यै “भगवानको नाममा केही देऊ।” भन्दैनथिए । त्यसको सट्टामा उनी “तिमी कसैलाई दिइरहेका छौ भने मलाई पनि देऊ, नत्र मबाट सुरु गर” भन्थे । उनको तर्क सिधा र तार्किक हुन्थ्यो। जे पाउँथे, त्यहीँ बसेर खान्थे, र उनलाई अरू मानिसहरूले के सोच्ने छन् भन्ने कुराको कुनै पर्वाह थिएन ।
डायोजिनिजको जीवन कुनै तपस्वीभन्दा कम थिएन। उनी जानाजान आफूलाई कठिन परिस्थितिमा हेल्थे ताकि उसको शरीर र मन दुवै सशक्त बनोस्। कठ्याङ्ग्रिने चिसोमा उनी जाडो सहने क्षमता बढोस् भनेर बरफजस्ता मूर्तिहरूमा टाँसिन्थे । दिउँसोको प्रचण्ड घाममा उनी तातो बालुवामा पल्टन्थे। यो उनको Askesis अर्थात् आत्म–अनुशासनको अभ्यास थियो। उनी खेलाडीले आफ्नो शरीर बलियो बनाउन अभ्यास गरे जस्तै दार्शनिकले आफ्नो आत्मा र मन बलियो बनाउन अभ्यास गर्नुपर्छ भन्ने गर्थे ।
उनको मान्यता थियो – सुख र दुःख दुवै मनको अवस्था हुन्, र अभ्यासद्वारा मानिसले दुवै माथि विजय प्राप्त गर्न सक्छ। हामीले आफूलाई स–साना कठिनाइका लागि तयार पार्न सक्यौं भने ठूलोभन्दा ठूलो संकट पनि हामीलाई हल्लाउन सक्दैन।
बजारमा रहेको त्यो घ्याम्पो उसको घर मात्र थिएन, त्यो उनको मञ्च पनि थियो। त्यहीँबाट उनी संसारको नाटक हेर्थे र मानिसहरूलाई जीवनका पाठ सिकाउँथे। मानिसहरू उनको वरिपरि आउँथे, प्रश्न गर्थे, उनीप्रति व्यङ्ग्य गर्दै हाँस्थे । तर डायोजिनिज सधैं आफ्नो हाजिरजवाबी र गहिरो ज्ञानले सबैलाई मौन तुल्याइदिन्थे ।
भोजको बीचमा खाँदै गर्दा उनी थुक्न चाहन्थे, तर चारैतिर हेर्दा महँगा कालीन, मूर्तिहरू र सजावटका सामानहरू थिए। उनले थुक्नका लागि कुनै ‘फोहोर’ ठाउँ भेटेनन् । अन्ततः उनले सो धनी मानिसको अनुहारमै थुकिदिए।
एकपटक एउटा धनी मानिसले उनलाई आफ्नो वैभवले भरिपूर्ण घरमा भोजमा बोलायो, तर सर्त राख्यो – “तिमीले घरभित्र कतै पनि थुक्न पाउने छैनौ।” डायोजिनिजले त्यो शर्त स्वीकार्यो ।भोजको बीचमा खाँदै गर्दा उनी थुक्न चाहन्थे, तर चारैतिर हेर्दा महँगा कालीन, मूर्तिहरू र सजावटका सामानहरू थिए। उनले थुक्नका लागि कुनै ‘फोहोर’ ठाउँ भेटेनन्। अन्ततः उनले सो धनी मानिसको अनुहारमै थुकिदिए।
त्यस मानिसले क्रोधपूर्वक “तिमीले यस्तो किन गर्यौ?” भनेर डायोजिनिजलाई हकारे । डायोजिनिजले पूर्ण सरलताका साथ जवाफ दिए – “तिम्रो सम्पूर्ण घरमा तिम्रो अनुहारभन्दा बढी फोहोर ठाउँ मैले भेटिनँ, त्यसैले मैले तिम्रो अनुहारमा थुकेको हुँ।” यस्तो थियो डायोजिनिजको तरिका – कठोर तर सत्य। ऊ मानिसहरूलाई उनीहरूको वास्तविक अनुहार देखाउँथ्यो, चाहे त्यो कति नै कठोर किन नहोस्।
उसको जीवन यस कुराको प्रमाण थियो – साँचो सम्पत्ति धन–वैभवमा होइन, आवश्यकतालाई घटाउन सक्ने क्षमतामा हो। ऊ केवल घ्याम्पोमा बस्ने मात्र थिएन, ऊ सक्रिय रूपमा समाजलाई चुनौती दिइरहेको थियो। कहिलेकाहीँ ऊ दिउँसै हातमा लालटेन लिएर केही खोज्न निस्कन्थ्यो।
दिउँसै लालटेन लिएर हिँड्ने त्यो ‘सन्की’ – एक इमानदार मानिसको खोज
डायोजिनिजसँग सम्बन्धित सबैभन्दा प्रसिद्ध कथाहरू मध्ये एक हो – ऊ दिनको उज्यालोमा बलिरहेको लालटेन लिएर एथेंसका सडकमा घुम्थ्यो। त्यो दृश्य देखेर सबैजना अचम्मित हुन्थे । मानिसहरू उनलाई रोकेर सोध्थे – “डायोजिनिज, के गर्दैछौ तिमी? दिउँसोको उज्यालोमा लालटेन किन?” डायोजिनिज गम्भीर भएर जवाफ दिन्थ्यो – “म एउटा मानिसको खोजमा छु।”
जब मानिसहरू भन्थे – “यहाँ त चारैतिर मानिसहरू नै छन्!” ऊ भन्थ्यो – “होइन, यी सबै त मुकुण्डो मात्र हुन्। म एउटा साँचो, इमानदार र वास्तविक मानिस खोज्दैछु।” अनि ऊ भीडभित्र लालटेनको प्रकाश मानिसहरूको अनुहारमा पार्थ्यो, मानौं उनी मानिसहरूको आत्माभित्र चियाउने प्रयास गर्दैछ।
मानिसहरू उनलाई रोकेर सोध्थे – “डायोजिनिज, के गर्दैछौ तिमी? दिउँसोको उज्यालोमा लालटेन किन?” डायोजिनिज गम्भीर भएर जवाफ दिन्थ्यो – “म एउटा मानिसको खोजमा छु।”
डायोजिनिजको यो काम कुनै पागलपन थिएन, बरु यो एक अत्यन्त गहिरो दार्शनिक कार्य थियो। यो एथेन्स (Athens) को समाजमाथि र वास्तवमा सम्पूर्ण मानव जातिमाथि एक तीखो व्यङ्ग थियो। उनी यो भीड जसलाई हामीले देखिरहेको यो भीडमा आफूलाई सभ्य र ज्ञानी भन्ने मानिसहरुमध्ये कोही पनि वास्तवमा “मानव” भनिन लायक छैनन् भन्न चाहन्थे । डायोजिनिजको मान्यतामा तिनीहरू सबै समाजले बनाएका नियमहरू, इच्छाहरू र आकांक्षाहरूका गुलाम छन्। कोही पैसाको पछि दौडिरहेको छ, कोही प्रसिद्धिको पछि, त कोही शक्तिको पछि। कोही पनि आफ्नो वास्तविक प्रकृतिमा बाँचिरहेको छैन। सबैले आफ्नो असली अनुहारमा एउटा मुकुण्डो लगाएका छन् – राम्रोपनको, ज्ञानको, धनवैभवको, अनि सभ्यताको।
डायोजिनिज त्यो मुकुण्डोलाई उतारेर असली मानवलाई देख्न चाहन्थे। उनका लागि “इमानदार” मानिसको परिभाषा बिल्कुल फरक थियो। उनका दृष्टिमा चोरी नगर्ने वा झूटो नबोल्ने मानिस इमानदार होइन, बरु त्यो हो जो आफैंप्रति ईमानदार हुन्छ – जो त्यही गर्छ जसमा ऊ विश्वास गर्छ, न कि त्यो कुरा जुन समाजले उसबाट गर्न–गराउन चाहन्छ। अरूको रायले कुनै प्रभाव नपार्ने, जो आफ्नो सादापनमा सन्तुष्ट हुने र कुनै पनि किसिमको डर नहुने मानिस वास्तविक मानिस हो। डायोजिनिजका लागि त्यस्तो व्यक्ति पाउनु लगभग असम्भव थियो।
अहिलेको युगमा हरेक व्यक्ति आफ्नो जीवनको एउटा “उत्तम, खुसी र सफल” संस्करण संसारलाई देखाउन व्यस्त छ। हामी आफ्ना तस्बिरहरू फिल्टर गर्छौं, आफ्ना उपलब्धिहरूलाई बढाइचढाइ गरेर बताउँछौं, र आफ्ना दुःखहरू लुकाउँछौं। हामी सबै मुकुण्डो लगाएर बाँचिरहेका छौं।
उनको यो खोज प्रतीक थियो कि समाजले मानिसलाई उसको वास्तविकता (authenticity) बाट कति टाढा पुर्याइदिएको छ। हामी सबै एक स्वतन्त्र र प्राकृतिक प्राणीका रूपमा जन्मिन्छौं तर विस्तारै समाज हामीलाई आफ्ना इच्छाहरू, अपेक्षाहरू र नियमहरूको जञ्जिरमा बाँधिदिन्छ। त्यसपछि हामी त्यस्तो बन्ने प्रयास गर्न थाल्छौं जुन हामी वास्तविक रूपमा होइनौं।
आज हामी सोशल मिडिया (social media) को युगमा बाँचिरहेको बेला यो कथा अझ बढी प्रासंगिक छ। अहिलेको युगमा हरेक व्यक्ति आफ्नो जीवनको एउटा “उत्तम, खुसी र सफल” संस्करण संसारलाई देखाउन व्यस्त छ। हामी आफ्ना तस्बिरहरू फिल्टर गर्छौं, आफ्ना उपलब्धिहरूलाई बढाइचढाइ गरेर बताउँछौं, र आफ्ना दुःखहरू लुकाउँछौं। हामी सबै मुकुण्डो लगाएर बाँचिरहेका छौं।
आज डायोजिनिज हातमा लालटेन लिएर निस्कन्थे भने सायद आज पनि उनले कुनै इमानदार व्यक्ति भेट्ने थिएन। के तपाईं आफूलाई ईमानदार व्यक्ति ठान्नुहुन्छ? डायोजिनिजको परिभाषा अनुसार, के तपाईं त्यही जीवन बाँचिरहनुभएको छ जुन तपाईं वास्तवमा बाँच्न चाहनुहुन्छ, वा त्यो जुन तपाईंबाट समाजले अपेक्षा गरेको छ? यो प्रश्न आफैंलाई सोध्न लायक छ।
डायोजिनिजको यो खोज कहिल्यै पूरा भएन। उनले कहिल्यै त्यो व्यक्ति भेटाएनन्, जसको उनी खोजमा थिए। तर यस प्रक्रियामा उनले संसारलाई एउटा अत्यन्त महत्वपूर्ण पाठ सिकाए। उनले सिकाए– बाह्य संसारमा कुनै आदर्श खोज्नुको सट्टा, हामीले आफै भित्र त्यो आदर्श जगाउने प्रयास गर्नुपर्छ। हामीले आफूलाई सोध्नुपर्छ – के हामी सत्यवान् हौं? के हामी स्वतन्त्र हौं? के हामी ईमानदार हौं?
उनले लालटेन लिएर घुम्ने कुरा प्रत्येक मानिसले आफ्नै भित्र गर्नुपर्ने एक निरन्तर खोजको प्रतीक थियो । उनको यो खोज र उनको निर्भीक स्वभावले उनलाई त्यतिबेलाका महान ज्ञानीहरू र यहाँसम्म कि संसारका सबैभन्दा शक्तिशाली शासकसमक्ष पुर्यायो । त्यस भेटको बेला त्यहाँ जे भयो, त्यसले इतिहास रचिदियो।
सिकन्दर, प्लेटो र डायोजिनिज – जब फकीरीले बादशाहीलाई ऐना देखायो !
डायोजिनिज कसैसँग डराउँदैनथे। उनका लागि राजा र भिखारीबीच कुनै भिन्नता थिएन। उनी सबैसँग सत्य बोल्थे । सत्य सधैं कटु हुन्छ।
त्यो समयमा एथेन्समा दर्शनशास्त्रका सबैभन्दा महान गुरु थिए प्लेटो ।प्लेटोको एउटा विशाल एकेडेमी थियो, र उनी आफ्नो ज्ञान र भव्य जीवनशैलीका लागि प्रसिद्ध थिए। डायोजिनिजलाई प्लेटोको यो देखावटीपन पटक्कै मन पर्दैनथ्यो। उनी प्रायः प्लेटोको एकेडेमीमा बिना निम्तो पुग्थे र उनका दर्शनहरूलाई व्यङ्ग्यपूर्वक चुनौती दिन्थे।
एकपटक प्लेटो आफ्ना विद्यार्थीहरूलाई “मानव” को परिभाषा सिकाइरहेका थिए। उनले भने – “मानव पखेटाबिनाको दुई खुट्टे जनावर हो।” यो सुनेर सबै विद्यार्थीहरूले ताली बजाए। अर्को दिन डायोजिनिजले एउटा जिउँदो कुखुराका सबै पखेटा उखेलेर प्लेटोको एकेडेमीमा लगे र बीचमा राखेर चिच्याए – “यहाँ हेर, प्लेटोले भनेको मानव यही हो !”
यो घटनाबाट प्लेटो अत्यन्त लज्जित भए र पछि आफ्नो परिभाषालाई परिमार्जन गरेका थिए । डायोजिनिजको तरिका त्यही थियो – उनी लामो तर्क वा बहस गर्दैनथे, बरु एउटै झट्कामा आफ्नो विचारलाई प्रमाणित गरिदिन्थे।

सिकन्दरजस्तो विश्वविजेता शासक आफूतिर आइरहेको देखेर पनि उनले कुनै वास्ता गरेनन् । उनी उठेनन्, पल्टेर घाम तापिरहे । सिकन्दर उनको नजिक पुगेर भन्यो, “म हुँ सिकन्दर, महान सम्राट।” डायोजिनिजले त्यहीँ लम्पसार परेर उत्तर दिए, “र म हुँ डायोजिनिज – कुकुर।”
तर डायोजिनिजको जीवनको सबैभन्दा प्रसिद्ध र अविश्वसनीय घटना थियो उनको सिकन्दर महानसँगको भेट। पूरै संसार जित्ने अभियानमा निस्केका सिकन्दर जब ग्रीस (Greece) आइपुगे, उनले डायोजिनिजलाई भेट्न चाहे । उनले डायोजिनिजका बारेमा धेरै विचित्रका कुराहरु सुनेका थिए । त्यसैले उनी स्वयं यस विचित्रका दार्शनिकसँग भेट्न चाहन्थे। एक बिहान सिकन्दर आफ्ना सबै सेनापति र सैनिकहरूसँग डायोजिनिजलाई भेट्न पुगे। त्यस समयमा डायोजिनिज आफ्नो घ्याम्पो बाहिर पल्टेर घाम तापिरहेका थिए । सिकन्दरजस्तो विश्वविजेता शासक आफूतिर आइरहेको देखेर पनि उनले कुनै वास्ता गरेनन् । उनी उठेनन्, पल्टेर घाम तापिरहे । सिकन्दर उनको नजिक पुगेर भने, “म हुँ सिकन्दर, महान सम्राट।” डायोजिनिजले त्यहीँ लम्पसार परेर उत्तर दिए, “र म हुँ डायोजिनिज – कुकुर।”
बिहानको घाम लागेको थियो, डायोजिनिज नाङ्गो शरीरसहित घाम ताप्दै थियो। सिकन्दर उसको नजिक उभिँदा उसको छायाँ डायोजिनिजमाथि पर्यो। सिकन्दरको उपस्थितिले डायोजिनिजलाई कुनै फरक पारेन । उनी घाम तापिरहे । त्यो देखेर सिकन्दरले मुख खोले, “सायद तपाईंलाई थाहा छैन, म महान सिकन्दर हुँ–अलेक्ज्यान्डर दि ग्रेट! तपाईंलाई भेट्न आएको।”
त्यो सुनेर डायोजिनिज अट्टहास गरेर हाँसे । उनले आफ्नो कुकुरलाई बोलायो, “ए, आउ त, सुन्यौ तिमीले? यहाँ एउटा मानिस आएको छ, जसले आफ्नै मुखले आफूलाई महान भन्छ! कुकुरले पनि यस्तो मूर्खता गर्दैन।”
डायोजिनिजको निडर र वेवाक कुराले सिकन्दर अचम्भित बने । शरीर ढाक्ने राम्रो कपडा समेत नभएको, देख्दैमा माग्ने जस्तो लाग्ने मानिसको यत्रो हिम्मत ? विश्वविजेता बन्ने अभियानमा निक्लेका सिकन्दरलाई कुकुरसँग दाँज्दैछन्, कुकुरभन्दा पनि तल्लो दर्जाको ठान्दैछन् ! अनायश सिकन्दरको हात तलवारतिर गयो।सबैजना भयभीत भए– अब डायोजिनिजको टाउको गिँडिने भयो !
तर डायोजिनिज रत्तिभर पनि डराएनन् । उनले शान्त स्वरमा भने, “तपाईं आफ्नो तलवार झिक्ने बेकारको कोशिस नगर्नुहोस् । यो तलवार त तिनीहरूका लागि हो, जो मृत्युबाट डराउँछन्। म त्यहाँ पुगिसकेको छु, जहाँ मृत्युको डर रहँदैन। मैले मृत्युप्रतिको भय जन्माउने सबै सपनाहरू त्यागिसकेको छु, त्यसको भ्रमबाट मुक्त भइसकेको छु । त्यसैले तिमीले तलवार निकाल्नुको कुनै अर्थ छैन।”
सिकन्दर जस्तो वीरको सामु अरु कसैले यस्तो भन्ने हिम्मत विपनामा त के, सपनामा पनि गर्दैन थिए । तर डायोजिनिजले निडर र निर्धक्क बनेर त्यो कुरा गरिरहेका थिए । त्यस्तो भन्नेको टाउको शरीरबाट अलग्गिइसकेको हुन्थ्यो ! तर अचम्मै ! डायोजिनिजको कुराले सिकन्दरको नौनाडी गल्यो । उनी चुपचाप, मौन भएर उभिइरहे । संसार र आफू अनि मृत्युलाई यस्तो मानिसको सामु तलवारको अर्थ र भय नै के रहन्छ र ! यस्तो मनुष्यका सामु हथियार लिएर उभिएका मानिसहरू बच्चाहरू जस्तै लाग्छन्, खेलौनासँग खेलिरहेझैँ।
सिकन्दरको क्रोध हावामा उड्यो । उनी डायोजिनिजको जवाफबाट अत्यन्त प्रभावित भए। उनले भने, “मैले तपाईंको बारेमा धेरै सुनेको छु। म तपाईंको सादापन र ज्ञानबाट धेरै प्रभावित छु। तपाईंले मसँग चाहेको कुरा माग्नुहोस्, म ती सबै कुराहरु पूरा गर्नेछु।” सोच्नुहोस्, त्यो फकिरको सामु संसारको सबैभन्दा शक्तिशाली व्यक्ति उपस्थित थियो – जसले उनलाई धन, दौलत, महल, जागिर, जे पनि दिन सक्थ्यो। कुनै साधारण मानिसले सायद यिनै कुरा माग्थ्यो, तर डायोजिनिज साधारण मानिस थिएनन्।
उनले सिकन्दरतिर हेरेर भने, “साँच्चै नै तपाईंलाई मलाई केही दिने इच्छा नै छ भने – अलि पर सरिदिनुहोस्, तपाईंको शरीरले मेरो घाम छेकिरहेको छ ।” यो सुनेर सिकन्दरका सबै सेनापति स्तब्ध भए। उनीहरूलाई लाग्यो यो फकिर पागल भइसकेको छ, अब सिकन्दरले यसको टाउको गिँड्न लगाउने छन्। तर सिकन्दर क्रोधित बनेनन्। बरु ऊ डायोजिनिजको उत्तरबाट यति प्रभावित भए, मज्जाले मुस्कुराए र अलि पर सर्दै भने, “अहिले आएर परमात्माले तँ सिकन्दर नभएको भए के हुन चाहन्थिस् भनेर सोध्यो भने मेरो उत्तर ‘म त डायोजिनिजबाहेक अरू केही बन्न चाहन्नँ’ भन्ने हुन्थ्यो ।’’
तर डायोजिनिजले सिकन्दरलाई जवाफ दिँदै भने, “परमात्माले मसँग ‘तिमी सिकन्दर बन्न चाहन्छौ कि डायोजिनिज?’ भनेर सोध्थ्यो भने मेरो जवाफ
‘म त डायोजिनिजबाहेक अरू केही बन्ने कल्पनै गर्न सक्दिनँ।
झन् सिकन्दर बन्ने त कल्पना पनि गर्न सक्दिनँ’ हुन्थ्यो ।”
डायोजिनिजको कुराले सिकन्दर अवाक बने । उनले सोधे, “सिकन्दर बन्नुमा त्यस्तो के खराबी छ?”
डायोजिनिजले गम्भीर भएर भन्यो, “सिकन्दर बन्नु भनेको पराजित बन्नु हो। जो मानिस अरूलाई जित्न निस्कन्छ, ऊ वास्तवमा आफैं पराजित व्यक्ति हो । ऊ आफ्नै असफलता, आफ्नै आत्मासँगको पराजयलाई ढाक्न खोजिरहेको हुन्छ। यो कुरा फेरि सुन्नुहोस्, सिकन्दर ! जो अरूलाई जित्न खोज्छ, ऊ आफैंलाई जित्न नसकेको आफ्नो मनको पीडा भुलाउने प्रयत्न गरिरहेको हुन्छ । अरुलाई जित्न खोज्नेले अरुलाई त परै छाडौं, स्वयंलाई पनि जित्नबाट बञ्चित हुने गर्छ ।
डायोजिनिज भन्न चाहन्थे कि प्रकृतिले हामीलाई निःशुल्क दिएको घाम, हावा, पानी जस्ता कुरा संसारको सम्पूर्ण सम्पत्तिभन्दा अमूल्य छ। साँचो मानिस त्यो हो जसलाई सांसारिक वस्तुहरूको कुनै इच्छा छैन र जो आफ्नो प्राकृतिक अवस्थामै परम सुखी हुन्छ।
यो केवल एउटा कथा होइन, यो दर्शनको अत्यन्त गहिरो अंश हो। “मेरो घाम नछेकिदेऊ” भन्ने एक वाक्यमै डायोजिनिजले संसारलाई वास्तविक स्वतन्त्रता र धनीपन के हो भन्ने कुरा सिकाए । सिकन्दरसँग संसारको सम्पूर्ण सम्पत्ति थियो, तर उससँग त्यो सन्तुष्टि प्रदान गर्ने धामको किरण थिएन – जुन डायोजिनिजलाई निःशुल्क प्राप्त भइरहेको थियो। डायोजिनिज भन्न चाहन्थे कि प्रकृतिले हामीलाई निःशुल्क दिएको घाम, हावा, पानी जस्ता कुरा संसारको सम्पूर्ण सम्पत्तिभन्दा अमूल्य छ। साँचो मानिस त्यो हो जसलाई सांसारिक वस्तुहरूको कुनै इच्छा छैन र जो आफ्नो प्राकृतिक अवस्थामै परम सुखी हुन्छ।
सिकन्दरले संसार जितिरहेको थियो, तर डायोजिनिजले त्यो मानिसलाई जिते जसले संसार जितेको थियो। उनले देखाए कि जसकोसँग गुमाउने केही छैन, त्यही संसारको सबैभन्दा शक्तिशाली व्यक्ति हो। सिकन्दर विश्वविजेता सम्राट थिए तर त्यो क्षणमा साँचो सम्राट डायोजिनिज थिए – किनभने उनी पूर्ण रूपमा स्वतन्त्र थिए, आफ्ना इच्छाहरूबाट पनि र अरूका अपेक्षाबाट पनि।
उनको यो निर्भीकता केवल राजाहरूको सामु मात्र हैन सबै सामु समान रुपमा हुने गर्थे । उनको जिब्रो यति धारिलो थियो जसले जो–कसैलाई घाइते पार्न सक्थ्यो।
हाजिरजवाबीको उस्ताद: जब शब्दका तीरले महलहरू छेडे
डायोजिनिजको सबैभन्दा ठूलो शक्ति नै उनको जिब्रो र हाजिरजवाबी थियो। उनी कुनै पनि सवाललाई सामुने व्यक्ति निरुत्तर हुने शैलीमा उत्तर दिन्थे । उनका शब्दहरू प्रायः बिझ्ने, अपमानजनक र अचम्म पार्ने खालका हुन्थे, तर ती सबैको पछाडि सधैं एउटा गहिरो सत्य र दार्शनिक सन्देश लुकेको हुन्थ्यो।
उनको यस कलालाई यूनानी भाषामा “पैरहेसिया (Parrhesia)” भनिन्थ्यो – जसको अर्थ हो “नडराइकन सत्य बोल्ने कला।” डायोजिनिज यस कलाका उस्ताद थिए। उनको जीवनसँग सम्बन्धित अनगिन्ती घटनाहरूले उनको यो अद्भुत क्षमता प्रमाणित गर्छन्।
डायोजिनिजले चराझैँ आवाज निकाल्न थाले। यो अनौठो आवाज सुनेर सबै मानिसहरू चुप भए र उनीतिर हेरे। त्यसपछि डायोजिनिजले चिच्याउँदै भने, “तिमी मूर्खहरूलाई हेर, ज्ञानका कुरा सुन्न तिमीसँग समय छैन, तर एक बेवकूफीपूर्ण आवाजले तिम्रो ध्यान तान्यो।”
एकपटक उनी सार्वजनिक सभामा भाषण दिइरहेका थिए, तर कसैले पनि उनको कुरा सुनिरहेका थिएनन्। सबै मानिसहरू आपसमा गफ गरिरहेका थिए। अचानक डायोजिनिजले चराझैँ आवाज निकाल्न थाले। यो अनौठो आवाज सुनेर सबै मानिसहरू चुप भए र उनीतिर हेरे। त्यसपछि डायोजिनिजले चिच्याउँदै भने, “तिमी मूर्खहरूलाई हेर, ज्ञानका कुरा सुन्न तिमीसँग समय छैन, तर एक बेवकूफीपूर्ण आवाजले तिम्रो ध्यान तान्यो।”
अर्को घटना यस्तो थियो – केही मानिसहरूले उनलाई जिस्क्याउँदै भने, “सिनोप (Sinope) का मानिसहरूले तिमीलाई देशनिकाला गरेका छन्।” डायोजिनिजले तुरुन्तै जवाफ दिए, “हो, उनीहरूले मलाई देशनिकाला दिएका छन्, तर मैले तिनीहरूलाई त्यहीँ बस्ने सजायँ दिएको छु।”
यो एक वाक्यमै कति गहिरो अर्थ लुकेको छ। उनी भन्न चाहन्थे – “तिमीहरूले मलाई त्यो सानो ठाउँबाट त निकाल्यौ, तर अब म सम्पूर्ण संसारमा स्वतन्त्र रूपमा घुमिरहेको छु, जबकि तिमीहरू आज पनि त्यहीँ सानो सोच र सानो शहरभित्र कैद छौ। वास्तविक सजाय त तिमीहरूले पाएको हो, मैले होइन।”
उनका दृष्टिमा असली जेल शहरका पर्खालहरू होइनन्, बरु मानिसको मनका पर्खालहरू हुन्।
त्यो मानिस अचम्मित हुँदै सोध्यो, “एउटा लाशलाई लठ्ठीको के काम?” डायोजिनिज मुस्कुराउँदै भने, “त्यसो भए तिमीलाई के लाग्छ – एउटा प्राणविहीन शरीरलाई जनावरले खानु–नखानुमा केही फरक पर्छ?”
उनको हास्यबोध (sense of humor) पनि अद्भुत थियो। एकपटक कसैले उनलाई सोध्यो, “डायोजिनिज, मरेपछि तिम्रो शरीरलाई के गरियोस् भन्ने चाहन्छौ ?” डायोजिनिजले सहजतापूर्वक उत्तर दिए, “त्यत्तिकै फ्याँकिदेऊ।” प्रश्न सोध्ने व्यक्तिले अचम्म मानेर सोध्यो, “के तिमी जंगली जनावर र गिद्धहरूले तिम्रो शरीर खाओस् भन्ने चाहन्छौ?” डायोजिनिजले उत्तर दिए, “होइन, मेरो छेउमा एउटा लठ्ठी राखिदेऊ।”
त्यो मानिस अचम्मित हुँदै सोध्यो, “एउटा लाशलाई लठ्ठीको के काम?” डायोजिनिज मुस्कुराउँदै भने, “त्यसो भए तिमीलाई के लाग्छ – एउटा प्राणविहीन शरीरलाई जनावरले खानु–नखानुमा केही फरक पर्छ?” यस उत्तरमार्फत् उनी अन्त्येष्टि र मृत्युपछि हुने धार्मिक कर्मकाण्डहरूको पाखण्डमाथि तीखो प्रहार गरिरहेका थिए । उनको भनाइ थियो – “मरिसकेपछि यो शरीरको के मूल्य? यसको चिन्ता किन गर्ने?”
एकपटक उनले एउटा अत्यन्त कमजोर तीरन्दाजलाई अभ्यास गर्दै देखे – त्यो तीरन्दाज हरेकचोटि निशानाबाट चुक्थ्यो र उसका तीर लक्ष्यदेखि टाढा खसिरहन्थे। डायोजिनिज चुपचाप उठे र गएर त्यही लक्ष्यको ठीक तल बसे। मानिसहरूले सोधे, “के तिमी पागल हौ? तिमीलाई तीर लाग्छ।” डायोजिनिजले उत्तर दिए, “होइन, यो संसारको सबैभन्दा सुरक्षित ठाउँ हो।”
उनको यो व्यङ्ग त्यो तीरन्दाजको अयोग्यतामाथि प्रहार थियो। उनका शब्दहरू तीखा, सिधा र सधैं निशानामा लाग्ने खालका हुन्थे। उनले आफ्ना शब्दहरूलाई हतियारको रूपमा प्रयोग गर्थे, जसले समाजको पाखण्ड, अज्ञानता र झूटा परम्पराहरूमाथि प्रहार गर्थ्यो।
उनको यही बेबाकी र निडरताले उनलाई परिभाषित गर्थ्यो। तर कहिलेकाहीँ परिस्थितिहरू यस्ता बने कि उनको यो निडरता पनि कमजोर पर्न गयो, र उनलाई जीवनको सबैभन्दा अप्रत्याशित र खतरनाक अवस्थाको सामना गर्नुपर्यो।
जब एउटा दासले मालिक किन्यो !
डायोजिनिजको जीवन सधैं एथेन्सका गल्लीहरूमै बितेन। उनको जीवनमा एक यस्तो मोड आयो जब परिस्थितिले उनलाई एकदमै फरक र जोखिमपूर्ण यात्रामा डोर्यायो। एक पटक जब उनी समुद्री बाटो हुँदै एगीना (Aegina) नामक स्थानतर्फ जाँदै थिए, तब उनको जहाजमाथि समुद्री डाकूहरूले आक्रमण गरे। डाकूहरूले जहाजमा रहेका सबै मानिसहरूलाई पक्रे, जसमा डायोजिनिज पनि परे। त्यो समयमा डाकूहरूले पक्रिएका मानिसहरूलाई दास बजारमा लगेर बेच्ने चलन थियो।
लिलामी गर्ने व्यक्तिले सोध्यो, “तिमी के काम गर्न सक्छौ?” डायोजिनिजले अत्यन्त आत्मविश्वासका साथ जवाफ दिए – “म मानिसहरूमाथि शासन गर्न सक्छु। हेर, के यहाँ कसैलाई मालिक चाहिएको छ?” उनी दासको रूपमा होइन, बरु राजाको रूपमा व्यवहार गर्दै थिए।
डायोजिनिजलाई पनि पक्रेर क्रेट (Crete) का एक दास बजारमा लगियो। आफ्नो सारा जीवन स्वतन्त्रताको पाठ सिकाउने मानिस आज आफैं दास बनेको थियो। उसको शारीरिक स्वतन्त्रता पूर्ण रूपमा खोसिएको थियो। कुनै पनि साधारण मानिस यस्ता परिस्थितिमा टुट्थ्यो – रुन्थ्यो, बिन्ती गर्थ्यो। तर डायोजिनिज त डायोजिनिज थिए।
जब लिलामी गर्ने व्यक्तिले सोध्यो, “तिमी के काम गर्न सक्छौ?” डायोजिनिजले अत्यन्त आत्मविश्वासका साथ जवाफ दिए – “म मानिसहरूमाथि शासन गर्न सक्छु। हेर, के यहाँ कसैलाई मालिक चाहिएको छ?” उनी दासको रूपमा होइन, बरु राजाको रूपमा व्यवहार गर्दै थिए। उनको आत्मविश्वास र निर्भीकता देखेर त्यहाँ उपस्थित सबै मानिस अचम्मित भए।
उनको नजर एक धनी व्यक्तिमा गयो, जसको नाम थियो जेनीयाडेस (Xeniades)। डायोजिनिजले लिलामीकर्तालाई भने – “मलाई त्यो मानिसलाई बेचिदेऊ, उसलाई एक मालिकको आवश्यकता छ।” जेनीयाडेस उनको यो अद्भुत व्यवहारबाट गहिरो प्रभावित भए र उनले डायोजिनिजलाई किने। उनले डायोजिनिजलाई आफ्नो घर कोरिन्थ (Corinth) लगे र आफ्ना दुवै छोराहरूका शिक्षक नियुक्त गरे।
अब कथा पूर्ण रूपमा उल्टिएको थियो। कागजमा डायोजिनिज दास थिए, तर वास्तवमा उनी त्यो घरका मालिक बनिसकेका थिए। उनले जेनीयाडेसको घरको सम्पूर्ण व्यवस्थापन आफ्नो हातमा लिए र उनका छोराहरूलाई केवल किताबको ज्ञान मात्र होइन, जीवन जिउने कला पनि सिकाए।
जेनीयाडेस डायोजिनिजको ज्ञान र उनका शिक्षण विधिबाट यति प्रसन्न भए कि उनी प्रायः आफ्ना मित्रहरूलाई भन्थे – “मेरो घरमा एक महान देवता पसेको छ।”
उनीहरूले ती बालकहरूलाई साधारण जीवनयापन गर्न, मेहनत गर्न, घोडा सवारी गर्न, तीर चलाउन, र सबैभन्दा मुख्य कुरा अनुशासित र नैतिक जीवन जिउन सिकाए। उनीहरूलाई दर्शनशास्त्रका गहिरा पाठहरू पढाउँथे। जेनीयाडेस डायोजिनिजको ज्ञान र उनका शिक्षण विधिबाट यति प्रसन्न भए कि उनी प्रायः आफ्ना मित्रहरूलाई भन्थे – “मेरो घरमा एक महान देवता पसेको छ।”
डायोजिनिजले सिद्ध गरिदिए कि वास्तविक गुलामी शरीरको होइन, मनको हुन्छ। कोहीले तिमीलाई साङ्ग्लोले बाँध्न सक्छ, तर तिम्रो विचार र तिम्रो आत्मालाई दास बनाउन सक्दैन। डायोजिनिजले आफ्नो बाँकी जीवन जेनीयाडेसको परिवारसँग कोरिन्थमै बिताए। उनले गुलामीको अर्थ नै परिवर्तन गरिदिए – उनी त्यस्ता दास थिए जो आफ्ना मालिकलाई आदेश दिन्थे; त्यस्ता दास जो राजकुमारहरूलाई शिक्षा दिन्थे।
डायोजिनिजले सिद्ध गरिदिए कि वास्तविक गुलामी शरीरको होइन, मनको हुन्छ। कोहीले तिमीलाई साङ्ग्लोले बाँध्न सक्छ, तर तिम्रो विचार र तिम्रो आत्मालाई दास बनाउन सक्दैन।
यो घटना उनको दर्शनको सबैभन्दा ठोस प्रमाण हो। उनी केवल भन्थे मात्र होइन, त्यही जीवन जिउँथे पनि। उनले संसारलाई देखाए – परिस्थितिहरू चाहे जति कठिन किन नहोस्, यदि तिम्रो मन स्वतन्त्र छ भने तिमीलाई कोही पनि गुलाम बनाउन सक्दैन।
डायोजिनिजले आफ्नो जीवनका हरेक क्षण – चाहे त्यो फकीरको होस् वा दासको – एक दार्शनिक सन्देशमा रूपान्तरण गरे। उनले यस्तो जीवन जिए जुन कुनै पनि कथाभन्दा बढी रोमाञ्चक र कुनै पनि उपदेशभन्दा बढी शिक्षाप्रद थियो।
कहिल्यै नमरेको एउटा सोच: डायोजिनिजको विरासत र आजको संसार
डायोजिनिजको मृत्यु पनि उनको जीवनझैँ रहस्यमय र कथाहरूले भरिएको छ। कतिपय भन्छन् उनले आफ्नै सास रोकेर आत्महत्या गरे, किनभने उनी अत्यन्त बुढो भइसकेका थिए र अब बाँच्न चाहँदैनथे। केही मिथकहरू अनुसार उनी एक संक्रमित कुकुरको टोकाइका कारण मरे। अर्को कथामा भनिन्छ, उनी काँचो अक्टोपस खाँदा अड्किएर मरेका थिए।
सत्य जे भए पनि, एक कुरा निश्चित छ – उनले एक समृद्ध र असाधारण जीवन बिताए। उनको मृत्युपछि कोरिन्थका नागरिकहरूले उनको सम्मानमा एक संगमरमरको स्तम्भ बनाए, जसको माथि एउटा कुकुरको मूर्ति थियो । त्यस मूर्तिले उनको जीवन र दर्शनको प्रतीक प्रस्तुत गर्थ्यो।
डायोजिनिजले आफ्नो पछि कुनै किताब वा लिखित ग्रन्थ छोडेनन्। उनको जीवन नै उनको सन्देश थियो। तर उनका विचार यति शक्तिशाली थिए कि उनी मरेपछि पनि ती विचारहरू जीवित रहे र आगामी धेरै दार्शनिक आन्दोलनहरूलाई गहिरो प्रभाव पारे।
सिनिसिज्म (Cynicism) अर्थात् डायोजिनिजको दर्शन पछि गएर स्टोइसिज्म (Stoicism) वा वैराग्यवादको दर्शनको आधार बन्यो।
स्टोइसिज्म (Stoicism) का संस्थापक जेनों (Zeno) डायोजिनिजका एक शिष्यका पनि शिष्य थिए। स्टोइसिज्म पनि सादापन, आत्म–नियन्त्रण र प्रकृतिअनुसार जीवन जिउनमा जोड दिन्छ। यद्यपि उनको तरिका डायोजिनिजको जस्तो विद्रोही र चकित पार्ने खालको थिएन, तर पनि स्टोइसिज्मको मूलमा डायोजिनिजका विचारहरूको झल्को स्पष्ट रूपमा देखिन्छ।
हामी सामाजिक सञ्जालमा अरूको जीवन हेरेर लगातार दबाबमा बाँचिरहेका छौं। हामी सधैं अझ बढी र अझ राम्रोको खोजमा रहन्छौं, र यस खोजमा हामी आफ्नो मानसिक शान्ति र खुशी गुमाउँछौं।
डायोजिनिजको विरासत केवल दर्शनशास्त्रका किताबहरूसम्म सीमित छैन, बरु त्यो आजको हाम्रो अति व्यस्ताले भरिएको उपभोक्तावादी संसारका लागि एउटा ऐनाको रूपमा उपस्थित छ। आज हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ हाम्रो सफलता हाम्रो घर कति ठूलो छ, हाम्रो सवारी कति महँगो छ, वा हाम्रो बैंकमा कति पैसा छ जस्ता कुराले मापन गरिन्छ ।
हामी सामाजिक सञ्जाल (social media) मा अरूको जीवन हेरेर लगातार दबाबमा बाँचिरहेका छौं। हामी सधैं अझ बढी र अझ राम्रोको खोजमा रहन्छौं, र यस खोजमा हामी आफ्नो मानसिक शान्ति र खुशी गुमाउँछौं। यस्ता परिस्थितिमा डायोजिनिजको जीवन र दर्शनले हामीलाई एउटा वैकल्पिक बाटो देखाउँछ।त्यसले हामीलाई साँचो खुशी वस्तुहरू जम्मा गर्नमा होइन, इच्छाहरू घटाउनमा निहित छ भन्ने कुरा स्मरण गराउँछ। उनको जीवनदर्शनले हामीलाई समाजले बनाएका सफलताको मापदण्डहरू आँखा बन्द गरेर स्वीकार गर्न आवश्यक छैन, हामी आफ्ना मूल्यहरू आफैं निर्माण गर्न सक्छौं भन्ने सिकाउँछन् ।
आज जब हामी जलवायु परिवर्तन र वातावरणीय संकटसँग जुधिरहेका छौं, तब डायोजिनिजको सादगी र न्यूनतममा जीवन गुजार्ने दर्शन झन् अर्थपूर्ण बन्छ। उनी हामीलाई एक दिगो (sustainable) जीवनशैलीको प्रेरणा दिन्छन्।जब हामी मानसिक तनाव, चिन्ता र डिप्रेशन (depression) जस्ता समस्याहरूसँग सामना गरिरहेका हुन्छौं, तब डायोजिनिजको आत्मनिर्भरता र बाह्य वस्तुहरूमा आफ्नो खुशी निर्भर नगर्ने शिक्षा औषधिजस्तो काम गर्न सक्छ। उनी हामीलाई आफ्नै भित्र खुशी खोज्न सिकाउँछन्।
डायोजिनिज हामीलाई ती सबै कुराहरूमा प्रश्न उठाउन सिकाउँछन्, जसलाई हामी कुनै सोचविचारबिना नै सत्य मानेर अघि बढिरहेका छौं। उनी हामीलाई एक आलोचकको दृष्टिबाट संसार हेर्न प्रेरित गर्छन्। उनी हामीलाई भीडको हिस्सा बन्नुको सट्टा प्रश्न गर्ने मानिस बन्न र आफ्नो बाटो आफैं बनाउन प्रोत्साहित गर्छन्।
उनको कथाले हामीलाई यो साहस दिन्छ – यदि कुनै कुरा गलत लाग्छ भने त्यसका विरुद्ध आवाज उठाउनुपर्छ, चाहे सारा संसार हाम्रो विरोधमा किन नहोस्। उनी एक व्यक्तिको रूपमै एउटा क्रान्ति थिए। यही उनको साँचो विरासत हो – प्रश्न सोध्ने साहस, सत्य बोल्ने निडरता, र आफ्नै सर्तमा जीवन जिउने स्वतन्त्रता।
एथेन्सका त्यो ‘पागल’: डायोजिनिजको जीवनको सार
डायोजिनिजका जीवनका सारबाट हामी धेरै कुराहरु सिक्न सक्छौं र आफ्नो दैनन्दिन जीवनमा लागू गर्न सक्ने प्रयास गर्न सक्छौं। यी ती पाठ हुन्, जो आज पनि उति नै प्रासंगिक छन्, जति दुई हजार पाँच सय वर्षअघि थिए।
पहिलो र सबैभन्दा महत्वपूर्ण शिक्षा हो – सादापनमा सुख। डायोजिनिजले हामीलाई साँचो सम्पत्ति धेरैभन्दा धेरै वस्तुहरू हासिल गर्नमा होइन, कमसँग सन्तुष्ट रहनमा निहित छ भन्ने देखाए । हाम्रो अधिकांश चिन्ता र तनाव हाम्रो बढ्दो इच्छाहरूको परिणाम हो। जब हामी आफ्ना आवश्यकताहरू घटाउँछौं, तब हामी स्वाभाविक रूपमा बढी शान्त, बढी खुशी र बढी स्वतन्त्र महसुस गर्छौं।
दोस्रो शिक्षा हो – मानसिक स्वतन्त्रता। डायोजिनिजको विश्वासमा असली स्वतन्त्रता बाह्य परिस्थितिहरूमा होइन, हाम्रो मनमा हुन्छ। हामी अरूको रायका गुलाम बन्नु हुँदैन। मानिसहरूले हाम्रो बारेमा के सोच्छन्? त्यो उनीहरूको समस्या हो, हाम्रो होइन। जब हामी आफ्नो खुशीको “रिमोट कन्ट्रोल” अरूको हातमा दिन बन्द गर्छौं, त्यतिबेलामात्र हामी वास्तवमा स्वतन्त्र हुन्छौं। हामीले प्रशंसा सुन्दा अत्यधिक खुसी र आलोचना सुन्दा अत्यधिक दुःखी हुनु हुँदैन। आफ्नो मूल्य हामीले आफैं निर्धारण गर्नुपर्छ – अरूलाई त्यो अधिकार दिनु हुँदैन।
तेस्रो महत्वपूर्ण शिक्षा हो – प्रकृतिसँग सम्बन्ध जोड्नु। डायोजिनिजले हामीलाई सम्झाउँछन् कि हामी प्रकृतिको एक हिस्सा हौं। हामीले समाजले बनाएका कृत्रिम र जटिल नियमहरूबाट बाहिर निस्केर प्रकृतिको सरलता अंगाल्नुपर्छ। कहिलेकाहीँ खुला हावामा सास लिने, घाममा तताउने, वा वर्षामा भिज्ने अनुभवले मात्रै पनि हामीलाई त्यस्तो खुशी दिन सक्छ, जुन संसारको कुनै पनि महँगो वस्तुले दिन सक्दैन। हामीले आफ्नो मूलतिर फर्कनु पर्छ र बढी प्राकृतिक र सन्तुलित जीवन जिउने प्रयास गर्नुपर्छ।
चौथो शिक्षा हो – सत्य बोल्ने साहस। डायोजिनिजले हामीले सत्य बोल्न कहिल्यै डराउनु हुँदैन, चाहे त्यो सत्य कति नै कटु किन नहोस् भन्ने कुरा सिकाए। उनको मान्यतामा हामीले पाखण्ड र अन्यायका विरुद्ध आवाज उठाउनुपर्छ। यो आवश्यक छैन कि हामी उनीजस्तै विद्रोही बनौं, तर हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो कार्यस्थलमा – जहाँ जहाँ केही गलत देखिन्छ, त्यहाँ मौन बस्नु हुँदैन। इमानदार र साँचो जीवन जिउन साहस चाहिन्छ, र डायोजिनिज त्यो साहसका महानतम प्रतीक हुन्।
र पाँचौं तथा अन्तिम शिक्षा हो – हरेक कुरामा प्रश्न उठाउनु। हामीले कुनै पनि नियम, परम्परा वा मान्यतालाई सबैले त्यसलाई मान्दै आएका छन् भनेर आँखा चिम्लेर स्वीकार गर्नु हुँदैन । हामीले आफ्नो बुद्धि र विवेक प्रयोग गर्नुपर्छ। हामीले सोध्नुपर्छ – किन? यस्तो किन छ? के यो ठीक छ? के यसलाई परिवर्तन गर्न आवश्यक छ? जब हामी प्रश्न गर्न थाल्छौं, तबमात्र अज्ञानताको अँध्यारोबाट निस्केर ज्ञानको प्रकाशतर्फ अघि बढ्छौं।
डायोजिनिजको कथा केवल कुनै पुरानो दार्शनिकको जीवनी होइन – यो एउटा जीवनशैली हो, एउटा चुनौती हो, एउटा प्रेरणा हो। यसले हामीलाई आफ्नो जीवनलाई फरक दृष्टिकोणबाट हेर्न बाध्य बनाउँछ। उनले हामीलाई सिकाएका छन्–असली वैभव र सन्तुष्टि बाहिरी वैभव र चमक–दमकमा होइन, बरु मनको फकीरीमा छ।
डायोजिनिजको कथा त्यस्तो अद्भूत व्यक्तिको समग्र जीवनदर्शन झल्काउने पाठ हो, जसलाई संसारले “पागल” ठान्यो, तर सम्भवतः जो हामी सबैभन्दा बढी “समझदार” थिए ।
स्रोत: अडियो बुक लिजेन्ड
पुनर्लेखन, सम्पादन र प्रस्तुति: चन्द्र खाकी
लोकरिझ्याँइको अपहरणमा परेको नेपाली राजनीति
होसे कार्लोस मारियातेगी: ल्याटिन अमेरिकी मार्क्सवादका प्रवर्तक
भाद्र २३ र २४ को घटना सन् १९७४ को खम्पा सशस्त्र विद्रोहको दोस्रो संस्करण हो
कविता जस्ता देवकोटा
जब समाज बिरामी हुन्छ, राज्यहरूको पतन शुरु हुन्छ !
ला हिगुएराको अन्तिम बिहान: क्रान्तिनायक चे ग्वेभाराको विभत्स हत्या
प्रत्यक्ष कार्यकारी: माओवादीहरु भ्रम मुक्त हौ

प्रतिक्रिया