पूर्वीय शिक्षा पद्धति, त्यसको प्रयोग र सम्भाव्यता

हामीले गुरुलाई भुल्यौं, टिचर मात्र सम्झियौं । हामीले पाठशाला पढेनौं, स्कुल मात्र जान थाल्यौं । हामीले सीप र ज्ञान लिएनौं, किताब मात्र पढ्न थाल्यौं । हामीले आफूलाई चिनेनौं, आफूभित्र पसेनौं तर संसार कण्ठ पार्न लाग्यौं । हामीले गोरा, धनी, अग्ला, निर्दयी पश्चिमाहरुलाई बढी नै पढ्यौं तर प्रकृति, प्रेम, सद्भाव बोक्ने पूर्वलाई पढेनौं, बुझेनौं । नतिजा, आजको आज देखिइरहेको छ ।

जीवन, नमरुञ्जेलसम्म सिक्ने प्रकृया हो । त्यसमा पनि शिक्षक, सिक्ने र सिकाउने व्यक्ति हो । विद्यालय, त्यै सिक्ने र सिकाउने संस्था हो । पढ्ने र पढाउनेहरुको थलो हो, मन्दिर हो । त्यसैले त हरेक बिद्यालयको मूल ढोकामा नै यस्तो बोर्ड राख्नुहोला भनेर उर्दी लगाउँदै आएको छु “सकारात्मक सोच र जाँगर बोकेर मात्र भित्र छिर्नुहोला ।”

यो निरन्तर नसिक्नेहरुको ठाउँ होइन । यो रमाइलो गर्ने आउनेहरुको ठाउँ होइन । यो समय कटाउन वा राजनीतिको बीऊ छर्ने वा जमघट गर्ने थलो होइन । यो धेरै पैसा कमाउने उद्योग पनि होइन । यो त सेवाभाव धेरै र आर्जन कम गर्ने सोच बोकेकाहरुको तीर्थस्थल हो । विद्यार्थी पढाउदैछु होइन, म जीवनहरु बनाउँदैछु अनि देशको नयाँ रेखांकन गर्दैछु भन्ने भाव बोकेर कक्षामा छिर्ने शिक्षकहरुको ठाउँ हो ।

पूर्व र पश्चिमको योग गर्न जरुरी थियो । दुवै शिक्षापद्धतिको बिचमा रहेर सन्तुलित, आफ्नै माटो सुहाउँदोमौलिक शिक्षापद्धतिको खाका कोर्न जरुरी थियो । तर हामीले अग्लाले, गोराले, धनीले जे दियो, त्यसैमा हात फैलायौं । भिख मागेजसरी मगन्ते भयौं र अरुले जे दियो त्यही मुखमा कुप्लुक्क हाल्यौं ।

आफूले प्रेम गर्ने काम खोज्ने वा गरेको कामलाई प्रेम गर्ने – हजुर के गर्दै हो ? कामलाई माया गर्ने र त्यसमा यसरी डुब्ने कि काम र आफू बिचको आकार प्रकार र भावमा कुनै भिन्नता नरहोस् । काम र आफू एक भैयोस् । कामभित्र आफू पस्न सकियोस् अनि आफूभित्र नै काम पसोस् । अनि न कर्म पुजा हुन्छ । बिद्यालय वा संस्था मन्दिर हुन्छ । आफू ध्यानी वा योगी बनिन्छ ।

यसरी पूर्व र पश्चिमको योग गर्न जरुरी थियो । दुवै शिक्षापद्धतिको बिचमा रहेर सन्तुलित, आफ्नै माटो सुहाउँदोमौलिक शिक्षापद्धतिको खाका कोर्न जरुरी थियो । तर हामीले अग्लाले, गोराले, धनीले जे दियो, त्यसैमा हात फैलायौं । भिख मागेजसरी मगन्ते भयौं र अरुले जे दियो त्यही मुखमा कुप्लुक्क हाल्यौं । त्यसलाई पखालेनौं, काटकुट र ताछतुछ पटक्कै गरेनौं । नतिजा, आज देखिएको छ । न घरको न घाटको भैसकेका छौं । मूल जरा उखेलिएको बिरुवा माटोमा त्यसै टाँसेजस्तै भएकाछौं ।

हामी समयसँगै परिवर्तन हुन जरुरी छ । तर त्यसको अर्थ आफ्नो मौलिकपन, आफ्नो माटा,े हावापानी, सार, संस्कार सबै चटक्कै बिर्षनपर्छ भन्ने त होइन । हामीले त्यसरी नै बिर्षदै गयौं । यो आलेख आफ्नो मौलिकपन कोट्याउने कोसिस हो । 

गौतम बुद्ध र उनको शिक्षाको सार

हामीले गौतम बुद्ध पढाएनौं र उनको पञ्चशीलको सिद्धान्त अनि अष्टमार्गलाई जीवनमा प्रयोग गर्न सम्झाएनौं । उनको धम्म शिक्षा र राहुलोवाद सुत्त पनि बुझाएनौं । शील, समाधि र करुणाको मार्गबाट ब्रम्हसम्म पुग्ने बाटो गौतम बुद्धले बताउनु भएको थियो तर त्यसलाई पनि हामीले पछ्याएनौं । उनको अत्त दीप भवः अर्थात् आफ्नो उज्यालो स्वयं बन । कुनै पनि बुद्धले कसैलाई पनि मुक्ति दिन सक्दैन, ज्ञानमार्ग अनुसार कर्म गरेर मात्र मुक्ति सम्भव छ भनेको कुरालाई पालना गर्न बानी बसाएनौं । भनिन्छ उनको धम्ममा बयासी हजार वटा उपदेशहरु  बताइएका थिए । तर हामीले खोई खोजेको, पढेको अनि पढाएको ?

धम्म’ पाली भाषाको शब्द हो जसको अर्थ हुन्छ प्रकृतिको नियम अनुसार जीवन जिउनु । बुद्धलाई तथागत पनि भनिन्छ । त्यसको सन्धिविच्छेद गर्दा, तथ्य + आगत हुन्छ । यसको अर्थ हुन्छ सत्यताको बाटो आउनु अनि जानु । यसरी धम्ममार्गमा दान, शील, समाधि र प्रज्ञा पर्छन् । यी सबैको बोध र अभ्यास हामीले परिवार अनि समाजमा छरेको खै ? बुद्धले गरेका सबै प्रयोगहरु शरीर, चित्त र प्रकृतिको प्रयोगशालामा प्रयोग गरेर निकालेको सार हामीले स्कुलहरुमा सिकेको अनि सिकाएको खै ?

शरीर वास्तवमा अनेक तरंगहरुको समुहमात्र हो र यी तरंगहरु क्षण क्षणमा अरबौं  निस्कन्छन् र बिलाउँदछन् । शरीरमा रहेका अनेकौं कोषहरु मर्दै बन्दै रहेका हुन्छन् । यो संसारमा ठूला साना सबै दृष्य अनि अदृष्य जीव जीवाणुहरुको जीवनसार यै प्रकृया नै हो । उनले ज्ञान सिकाउने कुरा हैन, अनुभूति गर्ने हो भनेर आफैं साक्षात्कार गर्न सहयोग गर्दै रहनु भयो । त्यसैले नै बुद्धले भनेको कुरा प्रमाणित हुन्छ कि यो अस्तित्वमा रहेका सबै चिज अनित्य छन् । बाटो देखाउने बुद्धको काम, तर हिड्नु स्वयं आफैंले पर्दछ । पारमिताको अर्थ हुन्छ पूर्णता । सबैलाई पार लगाउने सद्गुणहरुको पराकाष्ठा नै पारमिताहरुको संगालो हुनपुग्छ । हामीले यसको गहिरो अध्ययन गरेको र गराएको खै

सृष्टिको चक्रमा कतै पुर्णबिराम हुन्न र छैन पनि । हरेक ठाउँमा परिवर्तन छ । त्यसैले आकारभित्र निराकार छ । निराकारभित्र पनि आकार छ । त्यसैले त यसमा सन्तुलन ल्याउन र समभावमा बाँच्न आर्य अष्टाङ्गिक मार्गको शिक्षा गौतम बुद्धले दिनुभयो । यसलाई हामीले पढाएको खै ? मलाई यो स्कुलमा किन पढाइएन ? बुझाइएन ? आत्मानुभुति गर्न बाटो किन देखाइएन ? के हामी आफूभित्रको हिरा नचिनेर अरुले दिएको पित्तललाई सुन भन्दै रमाइरहेका त छैनौं ?

गौतम बुद्धको चार आर्य सत्य उनको शिक्षाको सार पनि हो । यहाँ आर्यको अर्थ निर्मल वा निर्विकार हुन्छ । निर्मल बन्नु भनेको स्वामी बन्नु हो । यसको अर्थ हुन्छ तिमी स्वयम् नै आफ्नो स्वामी हो । यो भवसागरमा हामी निरन्तर परिवर्तनशील छौं । सृष्टिको चक्रमा कतै पुर्णबिराम हुन्न र छैन पनि । हरेक ठाउँमा परिवर्तन छ । त्यसैले आकारभित्र निराकार छ । निराकारभित्र पनि आकार छ । त्यसैले त यसमा सन्तुलन ल्याउन र समभावमा बाँच्न आर्य अष्टाङ्गिक मार्गको शिक्षा गौतम बुद्धले दिनुभयो । यसलाई हामीले पढाएको खै ? मलाई यो स्कुलमा किन पढाइएन ? बुझाइएन ? आत्मानुभुति गर्न बाटो किन देखाइएन ? के हामी आफूभित्रको हिरा नचिनेर अरुले दिएको पित्तललाई सुन भन्दै रमाइरहेका त छैनौं ?

बुद्धको पटिच्चसम्मुपादको नियम निकै बैज्ञानिक आधारमा अडेको छ । यसको आशय केही न केही कारणले गर्दा नै कुनै पनि कुराको उत्पत्ति हुन्छ । यसलाई कार्य र कारण अथवा परस्पर सम्बर्धनको नियम पनि भनिन्छ । मन र शरीरको सम्बन्ध, इन्द्रियहरुको बाहिरका बिषयहरुसँगको टकराव आदिले शरीरमा अनेक रसायनहरु र बिद्युत चुम्बकिय प्रतिकृयाहरु निरन्तर गराइरहन्छन् । त्यसले सुखद् वा दुखद् संवेदनाहरु उत्पन्न गराइरहन्छन् । त्यसैले त उनले भने कि दुखको कारण हुन्छ र त्यसको समाधानको उपाय पनि हुन्छ । उनको विचारमा पुरै रसायनशास्त्र छ, जीवबिज्ञान छ, भौतिकशास्त्र छ । हामीले पढेको खै ? पढाएको खै ?

विपस्यना, ध्यान विधि, भनेर निकै प्रख्यात छ । यो ब्यवहारिक पक्ष हो जसमा साधक स्वयंले आफ्नो प्रत्यक्ष अनुभूतिद्वारा संवेदनाहरुको अनित्य स्वभावलाई अनुभव गर्न सक्छ । यो अभ्यासको प्रयोग स्कुलहरुमा गरेको खै ? यसको मुख्य उद्देश्य भनेको नै चित्तको शुद्धिकरण गर्नु हो । मन, विचार र चित्तलाई नियन्त्रण गरेर कुनै मूल्य मान्यतामा अडिग रहन नसके जस्तै पनि ज्ञान र सीपको काम हुन्न । विपस्यना पाली भाषाको शब्द हो त्यसलाई सन्धिबिच्छेद गर्दा ‘वि’ को अर्थ हुन्छ सुक्ष्मतापूर्वक वा पुर्णतया र ‘पस्यना’को अर्थ हुन्छ हेर्नु, बुझ्नु वा विश्लेषण गर्नु । निर्वाणको अर्थ सुक्ष्मतापुर्वक आत्मविश्लेषण गरेर क्लेशहरुबाट मुक्त हुनु । विपस्यनाद्वारा स्वयंलाइ बोध गर्नु हो । यसरी शिल, सदाचार र विपस्यनाको माध्ययमबाट शरीरभित्र करुणा र मैत्री जगाएर ‘एन्टीभाइरस’ बनाउन सकिन्छ र त्यसले शरीरको पूर्णसुरक्षा गर्न मद्दत गर्दछ ।

विपस्यना ध्यानको दशौं दिनमा गरिने सामुहिक मंगल मैत्रीको कामनाले वरिपरिको वातावरणमा नै मंगलमैत्रीको तरंगहरु भरिदिन्छन् र सम्पुर्ण चराचर जगतको नै भलाइ र शान्तिको कामना गर्दछन् । यस्तो सर्वजनहिताय, सर्वजनसुखाय दर्शनको प्रचार प्रसार गर्न हामी आफैं किन चुकिरहेका छौं ?

यो सबै गर्नको लागि आनापान पहिलो शुरुवात हुन्छ । आन भनेको आउने सास र पान भन्नाले जाने सासलाई सुक्ष्म नियन्त्रण र नियमन गरेर विपस्यनाको थालनी गरिन्छ । यस्तो महान ज्ञानलाई हाम्रो विद्यालयहरुमा किन नसिकाइएको होलाकिनकि हामीले आफूभित्र छिर्न नै जानेनौं । अझै विपस्यना ध्यानको दशौं दिनमा गरिने सामुहिक मंगल मैत्रीको कामनाले वरिपरिको वातावरणमा नै मंगलमैत्रीको तरंगहरु भरिदिन्छन् र सम्पुर्ण चराचर जगतको नै भलाइ र शान्तिको कामना गर्दछन् । यस्तो सर्वजनहिताय, सर्वजनसुखाय दर्शनको प्रचार प्रसार गर्न हामी आफैं किन चुकिरहेका छौं ? मुलतः जिवनोपयोगी शिक्षा दिन्छु भन्ने बिद्यालयहरुले यो कुरो बुझेको खै ? गर्न कोसिस गरेको खै

आज, हरेक धर्म र त्यसका अग्रजहरुले स्वर्ग, नर्क र पापको लालच र भय रोपेर आफ्नो खेती गरिरहेकाछन् । तर बुद्धले भन्नुहुन्थ्यो कि साँचो मार्गदर्शकले आम मानिसहरुलाई उनीहरुको वास्तविक स्वभावसँग परिचित गराइदिन्छन् र सही साँचो मार्ग देखाइदिन्छन् जसमाथि हिँडेर मानिसहरु स्वयं नै निर्वाणको परम् आनन्द प्राप्त गर्न सक्छन्  र जीवनलाई दुखहरुबाट मुक्त गर्न सकुन् । यस्ता महान चिन्तकको शिक्षाको सारलाई विद्यालयको शुरुवाती दिनबाट नै सिकाउन नसकेर हामी के गरिरहेका छौं ? सबै शिक्षाविद् भनाउँदाहरुलाई नाकैमा लगेर प्रश्न तेर्साउन मन लाग्छ । हामी किन अर्काको पित्तलमा मात्र अल्झिएर समय बर्बाद गरिरहेका छौं ?

पूर्वीय दर्शनहरुको शिक्षामा गहिरो महत्व

यहुदीहरुले उनीहरुको अपार कल्पनाशक्तिको श्रेय उनीहरुको शास्त्र तालमुड र हनुक्कालाई दिएका छन् । त्यसको अर्थ उनीहरु आजको प्रविधि र बिज्ञानबाट टाढा छन् भन्ने पक्कै होइन । उनीहरुले सबैको सही सन्तुलन मिलाउन जानेका छन् । आफ्नो बिगत, बर्तमान र भविष्यको सही तान बुन्न उनीहरुलाई राम्रोसँग ज्ञान भएको देखिन्छ । तर हामीले हाम्रो हजारौं वर्षको अनुभव र ज्ञानलाई चटक्कै बिर्सिएका छौं र अधकल्चे र अल्पविद्यावाला बनेका छौं । जरो उखेलिएपछि र मौलिकता गुमाएपछि के नै बाँकी रहला र ?

रामायण, महाभारत, चार वेद, अठार पुराण

वैदिक शिक्षामा ब्याख्या गरिएका १४ बिद्या र ६४ कला आज कता गए ? वेद बिद्या, ब्रह्म विद्या, हठ योग विद्या, स्वर विद्या, नादयोग विद्या, कर्मयोग विद्या, ज्ञानयोग विद्या, विन्दुयोग विद्या, ज्योतिष विद्या, ज्योर्तिविद्या, ब्याकरणविद्या, छन्दविद्या, अंकगणित, बिजगणित,ज्यामिति, आयुर्वेद विद्या, अर्थशास्त्र, नीतिशास्त्र, राजनीतिशास्त्र, रसायनशास्त्र, स्थापत्यकला, चित्रकला, लौहकला, स्वर्णकला, पदार्थविज्ञान, धर्नुवेद, युद्धकला, निरुक्त, उद्भिद् विद्या, पशु पंक्षी विद्या, जीवविद्या, कामशास्त्र, शस्त्रविद्या, वस्त्रनिर्माणकला, रत्नपरिक्षण कला, कृषिविद्या, सामुन्द्रिक शास्त्र, अश्व विद्या, छलविद्या, भू–विद्या, वास्तुशास्त्र, मन्त्रविद्या, भुतप्रेत पिचास विद्या, देवविद्या, गन्धर्भविद्या, मन्त्रणाविद्या, अग्निविद्या, पाकविद्या, सम्मोहनी विद्या, आवविद्या, श्रृगारकला, धूतविद्या, स्वप्नलक्षण विद्या, प्रशासनविद्या, साहित्यकला, रज्जुकला, पुष्पसञ्चयनकला, सन्तानप्रतिपादन कला आदि जस्ता कलाहरुबाट निपुर्ण मानिसलाई नै पुर्ण ज्ञानी ब्यक्ति मानिन्थ्यो । यिनीहरुको परिमार्जित र परिस्कृत ज्ञान हामीले खोतलेको खै ?अहिले  पश्चिमाको हेन्सल र ग्रिटल अनि स्नो ह्वाइटका दन्ते कथा पढेर र पढाएर रमाउने हामी हाम्रा स्वस्थानी, रामायण र महाभारतका कथा पढ्दा चैँ हरेक लाइनमा सार्थकता र समयसापेक्षता खोतल्न पछि पर्दैनौं हामी । अरुले दिएको जे पनि हामीलाई सुन लाग्छ तर आफ्नो नम्बरी सुन चाँही हामी आफैँ पित्तल पनि ठान्दैनौं, मान्दैनौं ।

पश्चिमाको हेन्सल र ग्रिटल अनि स्नो ह्वाइटका दन्ते कथा पढेर र पढाएर रमाउने हामी हाम्रा स्वस्थानी, रामायण र महाभारतका कथा पढ्दा चैँ हरेक लाइनमा सार्थकता र समयसापेक्षता खोतल्न पछि पर्दैनौं हामी । अरुले दिएको जे पनि हामीलाई सुन लाग्छ तर आफ्नो नम्बरी सुन चाहिँ हामी आफैँ पित्तल पनि ठान्दैनौं, मान्दैनौं ।

हामी सही अर्थमा कस्तुरी हौं । हामीले आधुनिक देखिन, बिगत चटक्कै बिर्सन कसरी सकेको होला ?आफ्नो पुस्तक, महाभारतमा के छ ? मा  डा. मतिप्रसाद ढकाल लेख्नुहुन्छ कि महाभारत हिन्दु धर्म र समस्त संस्कृत वाङ्मयको उपजीव्य अर्थात स्रोत ग्रन्थ हो । यसलाई पाँचौं वेद पनि मान्ने गरिन्छ । यसमा सबै वेद, वेदाङ्ग, उपनिषद्, न्याय, शिक्षा, ज्योतिष, युद्धनीति, योगशास्त्र, अर्थशास्त्र, वास्तुशास्त्र, शिल्पशास्त्र, कामशास्त्र, खगोलशास्त्र, धर्मशास्त्र आदि सबै विषयवस्तुहरुको वर्णन गरिएको छ । “यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित् ।” (पुर्ववत् १।६२।५३) अर्थात, जुन जुन विषयवस्तु यस ग्रन्थमा छन् ती ती विषयवस्तु यस संसारमा कहीँ न कहीँ अवश्य प्राप्त हुनेछन् । यो एक लाख भन्दा बढी श्लोक भएको ग्रन्थ पढाएको, सिकाएको र बुझाएको खै ?

२३,००० श्लोकहरु भएको बिष्णुपुराण, २४,००० श्लोक संख्या भएको वायु पुराण, १०,००० श्लोक भएको वराह पुराण, १०,००० श्लोक भएको वामन पुराण, ८१,१०० श्लोकहरु भएको सबैभन्दा लामो स्कन्द पुराण, २४,००० श्लोक भएको शिव पुराण, ५५,००० श्लोक भएको पद्य पुराण, २५,००० श्लोक भएको नारद पुराण, १४,००० श्लोक भएको मत्स्य पुराण, ,००० श्लोक भएको मार्कण्डेय पुराण, ११,००० श्लोक भएको लिंग पुराण, १७,०००  श्लोक भएको कूर्म पुराण, १६,००० श्लोक भएको हरिवंश पुराण, १९,००० श्लोकहरु भएको गरुण पुराण, १८,००० श्लोक भएको ब्रह्रावैवर्त पुराण, १२,१०० श्लोक भएको ब्रम्हाण्ड पुराण, १०,००० श्लोकहरु भएको ब्रम्ह पुराण, १४,५०० श्लोकहरु भएको भविष्य पुराण, १८,००० श्लोकहरु भएको भागवत् पुराण, १५,१२३ श्लोकहरु भएको अग्नि पुराण कता गए ? तिनका कथाहरुले हाम्रो कल्पनाशक्तिलाई नाश गर्ने हुन् त ? के ती सबै कथाहरु ग्रिक र मिश्रका पौराणिक कथाहरु जस्तै छैनन् र ? हामीले सरल र परिष्कृत बनाएर पढेको खै ? पढाएको खै ?

त्रिपिटक भित्रको त्रिनेत्र

त्रिपिटक भित्रका तिनै भागमा रहेका अनेक निकायहरुको वर्णन खोतल्न र बोध गर्न निकै समय लाग्ने खालका छन् । तीन भागमा रहेको त्रिपिटक, विनय पिटक,सुत्र पिटक अनि अभिधर्म पिटकहरुको सामुहिक नाम नै त्रिपिटक हो । त्रिले तिनवटा र पिटक भन्नाले टोकरी वा भाँडो भनेर जनाउँछ । सिद्धार्थले बुद्धत्व प्राप्त गरिसकेपछि ४५ वर्षसम्म आफ्ना ५०० भन्दा बढी रहेका भिक्षुहरुलाई दिनुभएको बुद्धवचनहरुको लिपिबद्ध संग्रह त्रिपिटक हो । सुत्रपिटकमा मात्र २१,००० धर्मस्कन्ध रहेका छन् । विनयपिटकमा पनि २१,००० नै धर्मस्कन्ध रहेका छन् भने अभिधम्मपिटकमा निर्वाण सम्बन्धी ४२,००० धर्मस्कन्ध रहेका छन् । यस्ता अमुल्य बुद्धवचनहरुको संग्रहको रस्वादन हामीले गर्न नसकेको किन ? त्यो भावलाई हामीले बोध र मनन गर्न नखोजेको किन ?

मुन्धुमको महानता

मेरा मित्रहरु सौजन किराँत, चन्दहाङ्ग किराँत र अन्य साथीहरु मुन्धुम र त्यसको गहिराइको बारेमा निकै खोज र अनुसन्धान गरिहनुभएको छ । यो किराँत जातिको धेरै पुरानो धार्मिक तथा लोक ग्रन्थ हो । लिम्बु भाषामा मुन्धुमको अर्थ “ठूलो शक्तिको शक्ति” हुन्छ । यसले यो हिमत्वखण्डमा वैदिक सभ्यताको उदय हुनुअघिदेखि नै यहाँ वसोवास गर्ने किराँतहरुले पालना गरिएको किराँत संस्कृति, रीतिरिवाज र परम्पराका अनेक आयाम  र ज्ञानहरुलाई समेट्छ । राई, याख्या, लिम्बु, सुनुवार जस्ता किराँत समुदायले सदियौं अघि खोज र विकास गरेको दर्शनशास्त्र हो मुन्धुम । यसले सृष्टि संस्कृति, संस्कार, जिवन पद्धति, धर्मसंस्कार र विधिहरुको मिहिन ब्याख्या गरेको छ । यसमा कवितात्मक शैलीमा लयात्मक वाचन गरिन्छ । यसरी मानव सभ्यताको एक इतिहास अनि प्रकृति, संस्कृतिको मुहान, मुन्धुमको बारेमा सरल र सहज बनाउँदै हामीलाई स्कुलमा किन बुझाइएन ? किन सिकाइएन ?

लिम्बु भाषामा मुन्धुमको अर्थ “ठूलो शक्तिको शक्ति” हुन्छ । यसले यो हिमत्वखण्डमा वैदिक सभ्यताको उदय हुनुअघिदेखि नै यहाँ वसोवास गर्ने किराँतहरुले पालना गरिएको किराँत संस्कृति, रीतिरिवाज र परम्पराका अनेक आयाम  र ज्ञानहरुलाई समेट्छ ।

मुन्धुम अध्येता तथा ज्ञाता डिबि आङ्बुङ् लेख्नुहुन्छ कि पहिलो देवता महिलास्वरुपलाई मान्ने, आपसको अस्तित्वलाई स्विकार्ने, सानो ठूलोको भेदभाव रत्तिपनि नभएको, प्रकृतिमा रहेका हरेक जीवजनावर अनि चराचुरुङ्गीहरुको पनि सहअस्तित्वलाई पुजा गर्दै जाने एक विशाल ग्रन्थ मुन्धुम हो । हामीले यसलाई स्कुलहरुमा बेलैदेखि सरल बनाएर पढाएको खै ? बुझाएको खै ? हामी उच्चस्तरको कोदो मिल्काएर अरु कसैले दिएको एक टुक्रा पाउरोटीमा पल्किएर यस्ता हिराहरुको सार नबुझिकन बुढो बन्दैछौं ।

हाम्रो प्राकृतिक र सास्कृतिक विविधता बोकेको देशमा आफैंभित्र अथाह खनिज छ । ज्ञानको, दर्शनको, स्रोतसाधनले भरपुर देश र त्यसका जनताहरु  हिरामाथी सुतेर भिख माग्न बानी परिसकेका छौं । हामीले आफैंलाई खोजेनौं, चिनेनौं, बुझेनौं र खुवी अनुसार गर्न पनि सकेनौं ।

अरु थप पूर्वीय दर्शनहरुमा चिनियाँ, जापानी, तथा दक्षिण एसियामा उत्पत्ति भएका विचारहरु पर्दछन् । हामीले आफूभित्रको मौलिक र असली विचार चिनेर त्यसमा प्रकृति, संस्कृति र प्रविधिको सहि मिश्रण बनाउन अझै सकेका छैनौं । न त चार्वाक, जैन, बौद्ध अर्थात लोकायत दर्शनलाई मनन गर्न सक्यौं न त वैदिकलाई नै । न त लाओत्सुको ताओसँगै बग्न सक्यौं न त कन्फयुसियसको नैतिकताको दर्शनलाई आत्मसात गर्न सक्यौं । हामी र हाम्रा सन्तती न त यताका भए न त उताका । सके त पूर्वीय र पश्चिमा दर्शन र विचारलाई टेको लगाएर पुल बनाउन सक्नु उत्तम हुनेथियो तर सो गर्न हामीले सकेनौं । अझ त्यसमा बिज्ञान र प्रविधिको घोल मिसाउन  सकेको भए सुनमा सुगन्ध आउने थियो । हामी जतै चुकेका छौं ।

अनेक जातजातीहरुका मौलिक दन्ते कथाहरु अनेक छन् । पञ्चतन्त्रका कथाहरु, जातक कथाहरु, हाम्रै बिगतको इतिहास र अनेक किंवदन्तीहरु भेला पारेर सुनाएको, पढाएको र बुझाएको खै

आजको शिक्षामा पूर्व पुरै छुटेको छ । आस्तिक पनि छुट्यो अनि नास्तिक पनि । न्याय दर्शन हरायो, वैशेषिक दर्शन गायब जस्तै भयो, योग दर्शन लखर लखर गर्दैछ, सांख्य, मिमांसा, वेदान्त, शैव पुराना भए र झन् हराउँदै गए । हाम्रो विगत हराउँदै गएपछि हामी पनि धुमिल बन्दै गयौं । जरो उखेलिए पछि ओइलाउने नै त हो । अब अर्को योग गर्ने वेला आएको छ । बिगत, वर्तमान र भविष्यलाई जोड्ने पुलको तयार गर्ने समय आएको छ । आफ्नो आफ्नो विषय र क्षेत्रका विज्ञहरुले आजैदेखि मनन गरेर काम थालिहाल्नुपर्ने बेला आएको छ ।    बिगत, वर्तमान र भविष्यलाई जोड्ने  नयाँ माला उन्ने बेला आएको छ । प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन मिलाएर नयाँ जुस बनाउने वेला आएको छ । एक आपसलाई धकेलौं, ब्युँझाऔं, चिमोटौं  र नयाँ इतिहास बनाउन भरमग्दुर कोसिस गरौं ।