जेनकथा: सायद

एकजना वृद्ध किसान थिए। उनी मेहनती थिए । उनको काममा सघाउने उनको एउटा घोडा थियो ।

एकदिन अचानक उनको घोडा भाग्यो। त्यो थाहा पाएर छिमेकीहरू आए र सान्त्वना दिँदै भने, “कति नराम्रो भयो नि!”

किसानले मुस्कुराउँदै भने, “सायद !”

भोलिपल्ट त्यो घोडा फर्कियो, तर यसपटक त्यसको साथमा चारवटा जंगली घोडा पनि आएको थियो । त्यो थाहा पाएर छिमेकीहरू किसान भएको ठाउँमा आए । उनीहरुले खुसी भएर भने, “कति राम्रो भयो!” किसानले फेरि त्यही शब्द दोहोर्‍याए, “सायद !”

तेस्रो दिन किसानको छोराले ती जंगली घोडामध्ये एउटामा चढ्ने प्रयास गर्‍यो । तर त्यो घोडाले उसलाई चढ्नै दिएन । जबरजस्ती चढ्न खोज्दा त्यसले फ्याँकेर उसको खुट्टा भाँचियो। छिमेकीहरू आए र दुख मान्दै भने, “यो त निक्कै नराम्रो भयो। बेकारमा उसको खुट्टा भाँचियो !”

किसानले फेरि उस्तै शान्त स्वरमा भन्यो, “सायद !”

त्यसबेला युद्ध चलिरहेको थियो । मोर्चामा लड्न पठाउनका लागि देशभरिबाट युवाहरुलाई खोजीखोजी सेनामा जबरजस्ती भर्ना गर्ने काम भइरहेको थियो । त्यही सिलसिलामा केही दिनपछि युवाहरुलाई सेना भर्ती गर्न गाउँमा सैन्य अधिकारीहरू आए। किसानको छोराको खुट्टा भाँचिएको देखेर उनीहरूले उसलाई सेनामा भर्ना लिएनन्। छिमेकीहरूले भने, “गज्जब भयो त ! तिम्रो छोराको खुट्टा भाँच्चिएको कारण सेनामा भर्ना हुन परेन । नत्र त युद्ध मैदानमा मारिन पनि सक्थ्यो । ”

यस पटक पनि किसान पहिले जस्तै हाँस्यो र भन्यो, “सायद !”