तिहारको मर्म: उज्यालोमाथि मृत्युबोधको दर्शन

प्रसंग र परिवेश जे छ, त्यसबारे नै चर्चा गर्ने हो। अहिले तिहारको बेला छ। भारतको दीपावली पर्वको चमकधमकमा आज धेरैले नेपाली पर्व तिहारलाई धनकी देवी लक्ष्मीको पूजा गरिने पर्वको रुपमा स्वीकारेर  तिहारको मौलिक प्रयोजन र अर्थ नै बिर्सन थालेको जस्तो लागेकोले आज हाम्रो तिहारको पौराणिक विवेचनासहित समाजशास्त्रीय विमर्श गरौं ।

शरद ऋतुको यो उज्यालो पर्व भारतमा दीपावली र नेपालमा तिहार भनेर मनाइन्छ। बाहिरबाट हेर्दा उही समयमा मनाइने यी दुई पर्व उस्तै उस्तै देखिए पनि भित्री सन्देश भने आकास पाताल फरक छन्। भारतको विशाल सभ्यतामा दीपावलीको दर्शन भौतिक प्रचुरता र धनको कामनासँग केन्द्रित छ। भारतमा यो पर्व मूलरुपमा धनकी देवी लक्ष्मीको पूजा गरेर घर, व्यवसाय र व्यापारमा समृद्धि भित्र्याउने र भौतिक उन्नतिलाई उत्सवका रूपमा मनाउने पर्व हो।

नेपालमा तिहारको मर्म भने भारतको जस्तो भौतिक धन आर्जन, आर्थिक समृद्धिको चाहना आदिभन्दा पनि स्वस्थ र लामो जीवन र मृत्युपछिको सहज यात्रासँग जोडिएको छ। नेपालमा तिहार मनाउने प्रयोजन धन कमाउने र आर्थिक समृद्धिको चाहसँग नभएर जीवन र मृत्युसँगको सहज सम्बन्धमा आधारित छ। कागतिहार, कुकुरतिहार, गाईतिहार, भाइतिहार अनि सुरुमै गरिने 'नरके नुहाउने' आदि सबै अनुष्ठान मृत्युलाई स्वीकारेर यसलाई टाढा धकेल्दै र मृत्युपछिको परलोकको यात्रालाई सहज बनाउने कर्मसँग सम्बन्धित छन्।

नेपालमा तिहारको सुरुवात काग-पूजाबाट हुन्छ। कागलाई मृत्युका देवता यमराजको दूत मानिन्छ। यसदिन कागप्रति श्रद्धा व्यक्त गरेर “हामीलाई अनिष्ट(मृत्यु)को सन्देश नल्याउनु” भनेर कागलाई अप्रत्यक्ष अनुरोध गरिन्छ। कागतिहारको प्रयोजन भनेको कागलाई खानेकुरा दिएर मृत्युलाई प्रत्यक्ष रूपले सम्बोधन नगरी, प्रतीकात्मक रूपले जीवनको अन्त्यलाई स्वीकार्ने र सँगसँगै दीर्घायुको कामना गर्ने अनुष्ठान हो।

यसै सन्दर्भमा नरक चतुर्दशी पनि तिहारकै महत्वपूर्ण हिस्सा हो । नेपाली लोकपरम्परा अनुसार गाइतिहारे औंसीको अघिल्लो दिन नरक चतुर्दशीमा धारा पँधेरामा पुगेर  'नरके' नुहाएमा नरक जाने त्रासबाट मुक्ति पाइने र जीवनकालमै पनि कुनै अनिष्टबाट मुक्त भइने विश्वास छ।

धेरैजसो  गाईतिहारे औंसीको अघिल्लो दिन पर्ने र मनाइने कुकुरतिहार नेपाली तिहारको अर्को सन्देशमुलक रमाइलो पक्ष हो। लोक-आस्था अनुसार कुकुर यमराजको दूत र मृत्यु पछिको  मानिसको पथपर्दशक अर्थात् 'गाइड' हो। कुकुरले मानिसको मृत्युपश्चात् प्रेतात्मालाई यमलोकसम्म लैजाने बाटोमा राम्ररी बाटो देखाउने अलौकिक शक्ति राख्दछ। त्यसैले कुकुरको पूजा गर्दा यमराजका दूत कुकुर खुसी हुने र मृत्युपछिको बाटोमा कुकुरको सहयोगले परलोकयात्रा सहज हुने विश्वास गरिन्छ। यसरी कुकुर तिहारको पूजा साधारण प्राणीप्रेम मात्र नभई यो जीवन र मरणबीचको सम्बन्धलाई सामञ्जस्यता दिने एउटा गहन सांस्कृतिक अनुष्ठान हो, जहाँ कुकुरले निष्ठा, चेतना र मृत्युपश्चात्को आत्मिक यात्राको प्रतिनिधित्व गर्दछ।

नेपाली तिहार परम्परामा गाई/गोरुतिहारको निकै गहन र मौलिक अर्थ छ। कतिपयले गाईलाई लक्ष्मीको रुप मानेर पूजा गरिएको भन्ने अर्थ लगाए तापनि यो व्याख्या त्यति सान्दर्भिक र मानवशास्त्रीय एवम् समाजशास्त्रीय दृष्टिकोणले तार्किक छैन। वास्तवमा गाई/गोरुको पूजाको सम्बन्ध पनि परलोकको यात्रासँग नै जोडिन्छ। यमपन्चक भनेर पनि जानिने तिहारका प्रत्येक दिनका प्रसंग, सान्दर्भिकता र प्रकार्य मृत्युकै वरिपरि छ। नरके नुहाउनु, यमदुतको पंक्षी कागलाई खुसी राख्ने चेष्टा गर्नु आदिकै क्रमिकतामा गाईतिहार, गोरुतिहार र भाइतिहारको अर्थ खोज्नु तर्कसंगत र अर्थपूर्ण हुन्छ। हाम्रो कृषिमा आधारित जीविका प्रणालीको आधार गाई/गोरु जीवनको पोषणका लागि मात्र नभएर हाम्रो आस्था अनुसार गाईको महत्त्व मृत्युपछिको यात्रासँग पनि जोडिएको छ। हाम्रो धार्मिक आस्था अनुसार मृत्युपश्चात् परलोकको यात्रामा वैतरणी नदी तर्नका लागि गाईको पुच्छर समाउन सके र गाईले तार्न चाहे मात्र वैतरणी नदी पार गर्न सकिन्छ। जनैपूर्णेमा हातमा बाँधेको रक्षाबन्धन गाईतिहारमा गाईको पुच्छरमा बाँध्ने हाम्रो परम्पराले पनि गाईतिहारको यही महत्वको कुरालाई संकेत गर्छ। सँगसँगै प्रायजसो गाईतिहारको भोलिपल्ट मनाइने गोरुपूजा भनेको मृत्युपछि प्रेतात्मालाई साथ दिने 'वृष'को सम्मान हो। हिन्दुहरुको मृत्युसंस्कार भित्र मृत्युको भय निवारणलागि बहर अर्थात् वृष छोड्ने प्रचलन नै छ।

भारतमा धनकी देवी लक्ष्मीको आराधना हुन्छ र घरमा धन (सुन, चाँदी, धातुका भाँडाकुडा, सुन चाँदीका सिक्का आदि) भित्र्याउने काम भइरहेको बेला हामी नेपालमा भैलो र देउसीमार्फत 'कात्तिके दान' गर्छौँ। यसरी मौलिक हिसाबले हाम्रो तिहार "धन थुपार्ने" र "धन पूजा गर्ने" चाँड हुँदै होइन। बरु बाँड्ने, "धनदान" गर्ने चाड हो। अहिले हामीकोमा देखिएका यस्ता धन थुपार्ने अभ्यास जानी नजानी गरिएका देखासिकी र आडम्बर हुन्।

तिहारको समय  धेरैजसो कात्तिक महिनामा पर्दछ। कात्तिक महिनालाई हिन्दू धर्मग्रन्थमा दानका लागि सबैभन्दा उत्तम मानिएको छ। स्कन्दपुराण, गरुडपुराण, र पद्मपुराण आदिमा उल्लेख भए अनुसार कात्तिक महिनामा दान गरे “सहस्र यज्ञको फल” प्राप्त हुन्छ। यस महिना दीपदान, अन्नदान वा धनदान गरे नरक-भय टर्छ र आयु वृद्धि हुन्छ भन्ने विश्वास छ। यसैले कात्तिके दानलाई “मृत्युभय-निवारण र पुनर्जन्म-मुक्तिको उपाय” मानिन्छ। त्यसैले तिहारका बेला घरघरमा देउसी र भैली समूहले जब “कात्तिके दान देऊ” भनेर गीत गाएर माग्छन्, त्यो मनोरञ्जन मात्र होइन, कात्तिके दान गर्न प्रेरित गरेर, सम्झाएर परिवारमा मृत्युभय टार्ने अभ्यास हो। सँगसँगै भैलोबाट उठेको पैसाले व्यक्तिगत सम्पत्ति जोड्ने काम गरिँदैन। यसबाट सामाजिक काम गर्ने वा सामूहिक वनभोज गर्ने जस्ता सरल र सामूहिक रमाइला काम गरिन्छ।

अन्तिममा भाइटीकाको दिन दिदी-बहिनीले यमराजको पूजा गरेर दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाउँदै दाजुभाइको 'लामो आयु' को कामना गरेर मृत्युलाई टाढा धकेल्न कामना गर्छन्। यसरी नेपाली मौलिक चाड तिहारले स्पष्ट सन्देश दिन्छ: तिहार भौतिक धनको पूजा होइन। मृत्युको भयका सामुन्ने दीर्घायुको आशा गर्ने पर्व हो। भारतको दीपावलीले त्यहाँको बजार-व्यवस्थाको सन्दर्भमा भौतिक प्रचुरताको कामना गर्दै व्यावसायिक चुनौतीलाई स्वीकार्छ भने नेपालको तिहारले सरल कृषि-जीवन, मृत्युको बोध र सामूहिक रमाइलोलाई महत्व दिँदै यहाँको गहिरो मानवीय जीवन-दर्शनलाई मजबुत बनाउँछ।

पर्वहरू रीतिरिवाजको सङ्ग्रह मात्र होइनन्। ती त भूगोलले, अर्थतन्त्रले र समाजले निर्माण गरेको जीवन-दर्शनका ऐना हुन्। शरद ऋतुमा उज्यालो हुने तिहार र दीपावलीको पर्वले यही सत्यलाई प्रमाणित गर्छ। भारतको विशाल बजार-व्यवस्था र नेपालको सरल कृषि-अर्थव्यवस्थाको सांस्कृतिक सापेक्षतावाद (Cultural Relativism) को लेन्सबाट हेर्दा एउटै पर्वले दुई देशमा कसरी फरक-फरक सन्देश बोकेको छ भन्ने कुरा प्रष्ट हुन्छ। दुवैको आफ्नै स्थानमा महत्त्व छ। दुवै परम्पराले आ-आफ्नो परिवेशलाई जीवन दिएका छन्। मात्र के भने पर्व मनाउँदा अन्धानुकरण गरिनुभन्दा मौलिक हुनु र बुझेर मनाए मुनासिव हुन्छ।

मूल तस्विर: https://risingnepaldaily.com