इजरायलको पराजय र प्यालेस्टिनी स्वायत्तताको पुनर्जन्म

गाजामा अहिले भएको युद्धविरामलाई ‘शान्ति योजना’ को रूपमा गलत अर्थ लगाउन हुँदैन। यो केवल नरसंहारबाट एक क्षणिक विराम मात्र हो, किनकि त्यहाँ निश्चित रूपमा द्वन्द्वको अर्को चरण हुनेछ, जसको प्रकृति आगामी महिना र वर्षहरूमा पश्चिम किनारमा, वास्तवमा सम्पूर्ण क्षेत्रमा के हुन्छ भन्ने कुरामा धेरै निर्भर गर्नेछ।
दशकौँदेखि प्यालेस्टाइनमाथिको इजरायली कब्जाको ‘समाधान’ साथ वार्ता प्रक्रियामार्फत मात्र सम्भव छ भन्ने धारणा हावी थियो । “शान्ति संवादमार्फत मात्र सम्भव छ” भन्ने मन्त्र राजनीतिक वृत्त, शैक्षिक मञ्च, सञ्चार माध्यमहरू र अन्य सार्वजनिक क्षेत्रहरूमा निरन्तर दोहोर्याइँदै आइयो।
त्यही विचारको वरिपरि एउटा विशाल उद्योग फस्टायो, यासिर अराफातको प्यालेस्टाइन मुक्ति संगठन (PLO) र इजरायली सरकारबीच भएको ओस्लो सम्झौतापत्रको हस्ताक्षरअघि र त्यसपछिका वर्षहरूमा त्यसले नाटकीय रूपमा विस्तार पायो।
‘शान्ति’को विघटन
समस्या ‘संवाद’, ‘शान्ति’ वा ‘पीडादायी सम्झौता’को मौलिक सिद्धान्तमा कहिल्यै थिएन । १९९३ देखि २००० को दशकको सुरुवाती वर्षहरूबीच चलेको तथाकथित ‘शान्ति प्रक्रियाको’ अवधिमा यी शब्दहरू बारम्बार प्रयोग गरिए।
बरु, यो संघर्ष ती शब्दहरू र तिनीहरूसँग जोडिएका समान अवधारणाहरू कसरी परिभाषित र कार्यान्वयन गरिए भन्ने कुराले निर्धारण गर्यो। इजरायल र संयुक्त राज्य अमेरिकाका लागि ‘शान्ति’को अर्थ एक अधीनस्थ प्यालेस्टिनी नेतृत्व, जसले सीमित दायराभित्र वार्ता गर्न तयार रहोस् र अन्तर्राष्ट्रिय कानुनका बाध्यकारी सन्दर्भहरू बाहिर रहोस् भन्ने नै थियो ।
त्यसैगरी, प्यालेस्टिनी नेतृत्वले ‘आतंकवाद’ अर्थात् सशस्त्र प्रतिरोध त्याग्ने, निशस्त्र हुने, इजरायललाई यहूदी राज्यका रूपमा अस्तित्वको अधिकार मान्यता दिने, र इजरायल तथा अमेरिकाले तोकेको भाषिक सर्तहरू पालना गर्ने सहमति जनाउँदा मात्र ‘संवाद’ स्वीकार्य थियो ।
वास्तवमा, प्यालेस्टिनी नेतृत्त्वले आधिकारिक रूपमा ‘आतंकवाद’ परित्याग गरेपछि र संयुक्त राष्ट्रसंघका केही प्रस्तावहरूको सीमित व्याख्या स्वीकार गरेपछि मात्र वाशिङ्टनले अराफातसँग ‘संवाद’ गर्न सहमति जनायो। त्यस्ता प्रारम्भिक स्तरका वार्ताहरू ट्युनिसियामा भए, जसमा अमेरिकी परराष्ट्र मन्त्रालयका नजिकका अधिकारी, रोबर्ट पेलेट्रिउ (निकटपूर्व मामिलाका सहायक विदेश सचिव) संलग्न थिए।
इजरायलले कहिल्यै पनि प्यालेस्टिनीहरूसँग बिना कठोर पूर्वसर्तहरू ‘संवाद’ गर्न सहमति जनाएन। त्यसले अराफातलाई आफ्नै जनताको हितविपरीत एकतर्फी सम्झौताहरूको श्रृंखलामा धकेल्यो। अन्ततः, ओस्लो सम्झौताबाट प्यालेस्टिनीहरूले कुनै मौलिक लाभ पाएनन् । इजरायलले केवल मान्यता दियो, त्यो पनि प्यालेस्टाइन वा प्यालेस्टिनी जनतालाई होइन, तर प्यालेस्टाइन प्राधिकरण (PA) लाई, जुन कालान्तरमा भ्रष्टाचारको माध्यम बन्दै गयो। PA को अस्तित्व नै इजरायली कब्जाको निरन्तरतासँग अविच्छिन्न रूपमा गाँसिएको छ।
अर्कोतर्फ, इजरायलले बिना कुनै रोकटोक प्यालेस्टिनी सहरहरूमा छापा मार्ने, मनपरी नरसंहार गर्ने, गाजामाथि विनाशकारी नाकाबन्दी लगाउने, कार्यकर्ता हत्या गर्ने, र महिलादेखि बालबालिकासम्म हजारौँ प्यालेस्टिनीहरूलाई जेलमा थुन्ने जस्ता काम निर्लज्ज रूपमा संचालन गर्यो । वास्तवमा, ‘संवाद’, ‘शान्ति’ र ‘पीडादायी सम्झौता’का नाराहरू पछि सुरु भएको कालखण्डमा, सन् १९६७ मा पूर्वी यरुशलम, पश्चिमी किनारा र गाजामाथिको इजरायली कब्जापछि देखिएको सबैभन्दा ठूलो भूमि विस्तार र विलय भएको थियो।
गाजा : एक अपवादको रूपमा
त्यो अवधिमा, हिंसा अस्वीकार्य ठानियो तर त्यसको अर्थ केवल इजरायली असीमित हिंसाको प्रतिकृयामा भएको प्यालेस्टिनीहरूको सशस्त्र प्रतिरोध थियो । प्यालेस्टाइन प्राधिकरणका महमुद अब्बासले सन् २००८ मा यसलाई ‘निरर्थक’ भनेका थिए । र त्यसपछि इजरायली सेनासँग सहकार्य गर्दै, प्यालेस्टाइन प्राधिकरणको सुरक्षातन्त्रको ठूलो भाग इजरायलविरुद्धको कुनै पनि सशस्त्र वा असशस्त्र प्रतिरोधदबाउनेतर्फ केन्द्रित गरे।
यद्यपि जेनीन, टुल्कारम, नब्लस र पश्चिमी किनाराका अन्य क्षेत्रहरू तथा शरणार्थी शिविरहरूले सशस्त्र प्रतिरोधका लागि केही सीमित स्थानहरू बनाइरहेका थिए । इजरायल र प्यालेस्टाइन प्राधिकरण को संयुक्त प्रयासले यी आन्दोलनहरूलाई बारम्बार कुचल्ने वा कम्तीमा पनि कमजोर बनाउने काम गर्यो।
तर गाजा भने सधैं अपवाद रह्यो। यो क्षेत्रमा १९५० को दशकको सुरुवातदेखि नै सशस्त्र विद्रोहहरू निरन्तर जारी छन् । पहिले फेदायिन आन्दोलनको उदय, त्यसपछि समाजवादी र इस्लामिक प्रतिरोध समूहहरूको श्रृंखला। यो ठाउँ सधैं नियन्त्रणबाहिर रह्यो, पहिले इजरायलका लागि, पछि प्यालेस्टाइन प्राधिकरणका लागि पनि।
सन् २००७ मा फतह र हमासबीचको छोटो तर दुःखद हिंसात्मक संघर्षपछि जब अब्बासका समर्थकहरू पराजित भए, त्यसपछि गाजा क्षेत्र निःसन्देह सशस्त्र प्रतिरोधको केन्द्र बन्यो।
यो घटना इजरायली सेनाले सन् २००५ मा गाजाबाट आफ्नो फौजलाई प्यालेस्टिनी बस्तीहरूबाट हटाई तथाकथित ‘सैन्य बफर जोन’मा पुनःस्थापित गरेको दुई वर्षपछि घटेको थियो । त्यो क्षेत्र ऐतिहासिक रूपमा गाजाको भाग नै थियो। यहीँबाट आजसम्म जारी गाजामाथिको कठोर नाकाबन्दीको सुरुवात भयो।
सन् २००६ मा, हमासले प्यालेस्टिनी विधान परिषद् (Palestinian Legislative Council) मा बहुमत सिट जित्यो । यो अप्रत्याशित परिणामले वाशिङ्टन, तेल अभिभ, रामल्ला र अन्य पश्चिमी तथा अरब सहयोगीहरूलाई एकसाथ आक्रोशित बनायो।
इजरायलका प्यालेस्टिनी प्राधिकरण सहयोगीहरूले गाजा र पश्चिमी किनारामा प्रतिरोधमाथि नियन्त्रण कायम गर्न नसकेमा, ती अधिनस्थ भूभागहरूमा अनिवार्य रूपमा व्यापक विरोध र विद्रोह भड्किने डर थियो।
त्यसैले इजरायलले गाजामाथिको घातक नाकाबन्दीलाई अझै कडा बनायो । त्यो नाकाबन्दीबाट भयावह मानवीय संकट उत्पन्न हुँदाहुँदै पनि गाजावासीहरूले आत्मसमर्पण गर्न अस्वीकार गरे। त्यसपछि, सन् २००८ देखि, इजरायलले नयाँ रणनीति अपनायो– गाजाको प्रतिरोधलाई वास्तविक सैन्य शक्तिका रूपमा व्यवहार गर्ने। परिणामस्वरूप, उसले ठूलो स्तरका युद्धहरू सुरु गर्यो जसमा दसौँ हजार मानिसहरू, प्रायः सर्वसाधारण, मारिए वा घाइते भए।
यी प्रमुख युद्धहरूमा डिसेम्बर २००८–जनवरी २००९, नोभेम्बर २०१२, जुलाई–अगस्ट २०१४, मे २०२१, र अक्टोबर २०२३ मा सुरु भएको हालको नरसंहारात्मक युद्ध समावेश छन्।
अकल्पनीय विनाश, लगातार नाकाबन्दी, र बाह्य अन्तर्राष्ट्रिय तथा अरब दबाब र एक्लोपनाका बाबजुद पनि गाजाले कुनै न कुनै तरिकाले आफूलाई टिकायो र फेरि पुनर्जीवित गर्यो। ध्वस्त घरहरू भग्नावशेषबाटै पुनर्निर्माण गरिए र प्रतिरोधका हतियारहरू पनि प्रायजसो इजरायली सेनाका नफुटेका बम र गोलाबारुदहरू प्रयोग गरेर पुनःसङ्कलन गरिए ।
अक्टोबर ७ को बिस्फोट
अक्टोबर ७ को अल–अक्सा फ्लड भनिने हमास अभियान वर्षौँदेखि कायम रहेको युद्धको ढाँचाबाट एक महत्वपूर्ण विच्छेद थियो।
प्यालेस्टिनीहरूका लागि, यो उनीहरूको सशस्त्र सङ्घर्षको उच्चतम विकास थियो । एक यस्तो प्रक्रियाको पराकाष्ठा, जसको सुरुवात १९५० को दशकमा भयो र जसमा विभिन्न समूह र राजनीतिक विचारधाराहरू संलग्न थिए। यसले इजरायललाई स्पष्ट सन्देश दियो– अब लडाइँका नियमहरू अपरिवर्तनीय रूपमा परिवर्तन भएका छन्, र घेराबन्दीमा परेका प्यालेस्टिनीहरूले आफ्नो “सदासर्वदा पीडित” बन्ने भूमिकालाई अस्वीकार गरेका छन्।
इजरायलका लागि भने, यो घटना भूकम्पसरह विनाशकारी सावित भयो। यसले देशको गर्वको विषय बनेको सैन्य र गुप्तचर संयन्त्रलाई गम्भीर रूपमा त्रुटिपूर्ण रहेको साबित गर्यो, र प्यालेस्टिनीहरूको क्षमताको इजरायली मूल्याङ्कन कति गलत थियो भन्ने कुरा उजागर गर्यो।
यो असफलता अमेरिकाले डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा इजरायलसँग मिलेर केही अरब र मुस्लिम देशहरूसँग ‘सामान्यीकरण अभियान’ सुरु गरेको लगत्तै आयो । त्यसबेला यस्तो देखिन्थ्यो मानौँ प्यालेस्टिनी र उनीहरूको मुद्दा मध्यपूर्वको राजनीतिक परिदृश्यमा अप्रासंगिक भइसकेका छन्। पश्चिमी किनारामा आत्मसमर्पण गरेको प्यालेस्टिनी नेतृत्व र गाजामा घेराबन्दीमा परेको प्रतिरोधबीच, प्यालेस्टाइन अब इजरायलको क्षेत्रीय प्रभुत्वको खोजीमा निर्णायक तत्व रहन सकेको थिएन।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको रणनीतिक केन्द्रबिन्दु र उनको लामो राजनीतिक जीवनलाई क्षेत्रीय विजयसँग समाप्त गर्ने आकांक्षा अचानक ध्वस्त भयो। क्रोधित, भ्रमित तर इजरायलका सबै लाभहरू (ओस्लो सम्झौतापछि प्राप्त) पुनःस्थापित गर्न दृढ संकल्पित नेतन्याहूले सामूहिक हत्या अभियान सुरु गरे । जुन दुई वर्षको अवधिमा मानव इतिहासकै सबैभन्दा भीषण नरसंहारहरू मध्ये एकमा परिणत भयो।
उनको योजनाबद्ध रूपमा प्यालेस्टिनीहरूको संहार गर्ने अभियान र गाजामा बाँचेका मानिसहरूलाई जातीय रूपमा सफाया गर्ने खुला इच्छाले इजरायल र त्यसको जिओनवादी विचारधाराको अन्तर्निहित हिंसात्मक चरित्रलाई पूर्ण रूपमा अनावृत गर्यो। यसले विश्वलाई, विशेषगरी पश्चिमी समाजहरूलाई, इजरायल वास्तवमै के हो र सधैं के रहँदै आएको हो भन्ने कुरा स्पष्ट रूपमा अनुभूत गर्ने मौका दियो।
प्रतिरोध, लचकता र पराजय
तर इजरायल, अमेरिका र केही अरब देशहरूलाई एकीकृत गर्ने वास्तविक डर भनेको प्रतिरोध, विशेषगरी सशस्त्र प्रतिरोध, पुनः प्यालेस्टाइनमा र त्यसको विस्तारमा सम्पूर्ण मध्यपूर्वमा एउटा सशक्त बलको रूपमा उदाउन सक्छ, जसले सबै अधिनायकवादी र गैर-लोकतान्त्रिक शासनहरूलाई चुनौती दिन सक्छ भन्ने भयावह सम्भावना हो ।
यो डर लेबनानमा हिजबुल्लाह र यमनमा अन्सारल्लाह जस्ता गैर- राज्य समूहहरूले गाजाको प्रतिरोधसँग मिलेर एउटा शक्तिशाली गठबन्धन निर्माण गरे, जसले अमेरिकालाई समेत प्रत्यक्ष रूपमा युद्धमा संलग्न हुन बाध्य बनाएपछि झनै तीव्र भयो ।
त्यसबेला पनि, इजरायलले गाजामा आफ्ना कुनै पनि रणनीतिक उद्देश्य हासिल गर्न सकेन । यो प्यालेस्टिनी जनताको अद्भुत लचकता र प्रतिरोध सेनाको अद्वितीय क्षमता दुवैका कारण सम्भव भयो। गाजाको प्रतिरोधले इजरायली सेनाका इजरायली सैन्य उद्योगको गर्वको विषय रहेको सयौँ मेरकाभा ट्याङ्क सहित दुई हजारभन्दा बढी सैन्य सवारीसाधनहरू ध्वस्त गर्न सफल भयो।
लगभग आठ दशक लामो आफ्नो हिंसात्मक इतिहासभर कुनै पनि अरब सेनाले इजरायलमाथि यति व्यापक स्तरको सैन्य, राजनीतिक, र आर्थिक क्षति पुर्याउन सकेको थिएन। यद्यपि इजरायल र अमेरिका र तिनका केही अरब सहयोगीहरू तथा प्यालेस्टिनी प्राधिकरण अझै पनि प्रतिरोधलाई निशस्त्र पार्ने माग गरिरहेका छन्, यस्तो माग व्यवहारिक रूपमा लगभग असम्भव छ।
इजरायलले दुई वर्षको अवधिमा गाजामाथि दुई लाख टनभन्दा बढी बम र विस्फोटक पदार्थ खसालेको छ, तर त्यो एउटै उद्देश्य हासिल गर्न असफल रह्यो। त्यसैले, केवल राजनीतिक वा आर्थिक दबाबमार्फत उक्त लक्ष्य पूरा हुन सक्छ भन्ने कुनै तर्कसंगत कारण छैन।
इजरायल गाजामा असफल मात्र भएन बरु, धेरैजसो इजरायली इतिहासकार र अवकाशप्राप्त सैन्य जनरलहरूका शब्दमा भनौं भने गाजामा निर्णायक रूपमा पराजित भयो।
त्यसैबीच, प्यालेस्टिनीहरूले आफ्नो राजनीतिक स्वायत्तता पुनः स्थापित गर्न सफल भए र सबै प्रकारका प्रतिरोधका रूपहरूलाई वैध र विजयी रणनीतिका रूपमा पुनः मान्यता दिलाए, जसले इजरायली उपनिवेशवाद र अमेरिकी–पश्चिमी साम्राज्यवाद दुवैका विरुद्ध प्रभावकारी मोर्चा खोलेको छ।
यही कारणले सबै पक्षहरूबीच साझा गहिरो डर फैलिएको छ कि गाजामा इजरायलको पराजयले सम्पूर्ण क्षेत्रीय शक्ति सन्तुलनलाई मौलिक रूपमा परिवर्तन गर्न सक्छ।
अमेरिका र उसका पश्चिमी तथा अरब सहयोगीहरूले करिब ९० वर्षीय प्यालेस्टिनी नेता महमुद अब्बास र उनको ओस्लो अवधारणालाई पुनर्जीवित गर्ने प्रयासहरू जारी राख्नेछन् । त्यसलाई उनीहरूले प्यालेस्टिनीहरूको लागि एक मात्र सम्भावित विकल्पका रूपमा प्रस्तुत गर्न खोज्छन्।तर, मध्यम र दीर्घकालीन परिणामहरूले भने पूर्ण रूपमा फरक वास्तविकता देखाउने सम्भावना छ । जहाँ ओस्लो सम्झौता र त्यससँग सम्बन्धित भ्रष्ट पात्रहरू इतिहासको एक अन्तिम अध्यायमा सीमित हुनेछन्।
अन्ततः, हामी गाजामा प्यालेस्टिनी विजयको कुरा गर्छौं भने त्यो प्यालेस्टिनी जनताको, उनीहरूको अदम्य भावना र गहन प्रतिरोधको शानदार विजय हो । जुन गुटबाजी, विचारधारा र राजनीति भन्दा पर छ।
यी सबै कुरा विचार गर्दा, यो पनि स्पष्ट रूपमा भन्नुपर्छ कि गाजामा अहिले भएको युद्धविरामलाई ‘शान्ति योजना’ को रूपमा गलत अर्थ लगाउन हुँदैन। यो केवल नरसंहारबाट एक क्षणिक विराम मात्र हो, किनकि त्यहाँ निश्चित रूपमा द्वन्द्वको अर्को चरण हुनेछ, जसको प्रकृति आगामी महिना र वर्षहरूमा पश्चिम किनारमा, वास्तवमा सम्पूर्ण क्षेत्रमा के हुन्छ भन्ने कुरामा धेरै निर्भर गर्नेछ।
Source: https://www.counterpunch.org

जेनजी आन्दोलन र नवउदारवादको छायाँ: नेपालको संकटको गहिरो कारण के हो ?

भारतीय बैंकहरुले नेपाली निजीक्षेत्रमा लगानी गर्न पाउने भारतीय रिजर्भ बैंकको …

वैश्विक अस्थीरता र अदृश्य शक्तिको चलखेल: चोम्स्कीको ‘हु रुल्स द वर्ल्ड’

सत्ता केन्द्रित संस्कृतिबाट संस्थागत नेतृत्वतर्फको संक्रमण

प्रतिनिधिसभा निर्वाचन २०८२ को राजनीतिक कार्यनीति समाजवादी लोकतान्त्रिक सरकार!

कहाँ चुके नेपालका बामपन्थीहरु ?

डिजिटलाइजेशनको अवसर र पूँजीवादी चुनौती: इम्बोस्ड नम्बर प्लेटको बहस

प्रतिक्रिया