किन कफी चिया खाँदा तरोताजापन महसूस हुन्छ ?

क्याफिन (Caffeine) को कुरा गर्दा धेरैलाई लाग्छ—यो त “ऊर्जा दिने” पदार्थ हो। बिहान उठ्नेबित्तिकै एक कप कफी वा चिया पिएपछि हामी किन हर्षित, चनाखो र अलि हल्का महसुस गर्छौं त? के साँच्चिकै यसले शरीरमा थप ऊर्जा भर्छ?
उत्तर हो—होइन। क्याफिनले ऊर्जा दिँदैन।

वास्तवमा क्याफिनले हाम्रो मस्तिष्कमा भइरहेको एउटा सूक्ष्म रसायनिक खेललाई रोक्छ। हामी जब दिनभर काम गर्छौं, शरीरले एडेनोसिन (Adenosine) भन्ने रसायन उत्पादन गर्छ। एडेनोसिन एक किसिमको सन्देशवाहक अणु हो, जसले न्युरोनहरूलाई “अब थाकिएको छ, विश्राम चाहिन्छ” भन्ने सन्देश दिन्छ। यो रसायन मस्तिष्कका एडेनोसिन रिसेप्टर (adenosine receptor) मा बाँधिन्छ । फलत:  हाम्रो शरीर विस्तारै शान्त, सुस्त र निद्रातर्फ लाग्छ।

हाम्रा कामहरु बाँकी छन् । हामी आराम गर्न वा निदाउन चाहन्नौं । त्यसैले तरोताजा हुन, थकान वा निद्रा भगाउन हामी चिया वा कफी पिउँछौं । त्यसको केही बेरमा नै हामीलाई तरोताजापन अनुभव हुन्छ ।

यसको कारण हो– क्याफिन ।

क्याफिनको अणु संरचना एडेनोसिनसँग मिल्दोजुल्दो हुन्छ। यसैले जब हामी कफी वा चिया पिउँछौं, क्याफिन मस्तिष्क भित्र पस्छ र ती एडेनोसिन रिसेप्टरहरूमा गएर “नक्कली” एडेनोसिन जस्तै बस्छ। तर खास सन्देश भने पठाउँदैन। यसको अर्थ—एडेनोसिनलाई रिसेप्टरमा बाँधिन दिँदैन। नतिजा, “थकाइ वा निद्राको संकेत” लाई रोकिदिन्छ । त्यसको नतिजास्वरुप हामी जागा र तरोताजापन महसुस गर्छौं।

मस्तिष्कभित्रको जागरण युद्ध

कल्पना गर्नुहोस्, तपाईंको मस्तिष्क एक व्यस्त शहर हो। दिनभर काम गर्छ, सोच्छ, दौडिन्छ। स्वाभाविक रूपमा थाक्छ पनि। अब यस शहरमा एडेनोसिन नामको एउटा प्रहरी छ। यसको काम हो शरीरलाई सम्झाइरहनु, “अब विश्राम गर, निदाउ, ऊर्जा पुनःभर्नु।” यसले मस्तिष्कका रिसेप्टर गेट हरूमा गएर सूचना टाँस्छ—“थाकिएको छ, स्लो डाउन।”

राततिर एडेनोसिनको सन्देशहरू यत्रतत्र भरिन थाल्छन्। अनि शरीरमा निद्राको भाव आउँछ। यो त स्वाभाविक तालमेल हो।

तर… त्यसैबेला क्याफिन प्रवेश गर्छ। एक कप कफी वा चिया पिएपछि, क्याफिनका हजारौं अणुहरू मस्तिष्कतिर दौडिन्छन्। र यहाँ नाटक सुरु हुन्छ।

एडेनोसिन रिसेप्टरमा एडेनोसिनले टाँस्न लागेको सन्देश क्याफिनले “हाइज्याक” गर्छ। क्याफिन भन्छ, “म एडेनोसिन जस्तै देखिन्छु, तर काम भने गर्दिनँ।” अनि त्यो रिसेप्टरमा कब्जा जमाउँछ।

अब प्रहरी एडेनोसिन अल्मल्लिन्छ—“मलाई प्रवेश गर्न वा मेरो  मेरो सन्देश पनि किन ठिक ठाउँमा पुर्याउँदैन?”

ठ्याक्कै यही हो क्याफिनको रणनीति। थकाइको सन्देश रोकिदिन्छ । अनि मस्तिष्कलाई लाग्छ—“हामी अझै ताजा र फुर्तिला नै छौँ।”

यसबीच अर्को घटना पनि हुन्छ। रिसेप्टरहरू एडेनोसिनले बन्द गर्न नसकेपछि, मस्तिष्कमा डोपामिन र नोरएड्रेनालिन सक्रिय हुन्छन्। त्यसको परिणामस्वरुप मूड हल्का राम्रो बन्छ, ध्यान बढी केन्द्रित हुन्छ, हृदय अलिक चनाखो धड्किन्छ। तपाईंलाई लाग्छ, “वाहा, ऊर्जा आयो।”

तर, साँचो कुरा भने यो हो—ऊर्जा आउँदैन।बरु शरीरले अझै बढी ग्लुकोज र फ्याट जलाएर नै ऊर्जा बनाइरहेको हुन्छ। क्याफिन त केवल प्रहरी एडेनोसिनको मुखमा टेप टाँसिदिन्छ। वास्तविक थकाइ भने मस्तिष्कको कुनामा लुकिरहेको हुन्छ।

केही घण्टा पछि, क्याफिनको प्रभाव मेटिँदै जान्छ। अब एडेनोसिन रिसेप्टरमा पुग्न पाउँछ । त्यहाँ उसले  आफ्नो सन्देश पुर्याउँछ। अनि शरीरले भन्न थाल्छ—“अब साँचै आराम चाहियो।”

यसरी के कुरा प्रष्ट हुन्छ भने थकाइ वा निद्रा लागेको बेला कफी वा चिया पिउँदा प्राप्त हुने स्फूर्ति तथा तरोताजापनलाई “ऊर्जा बढ्यो” भनेर बुझ्नु गलत हो। शरीरमा ऊर्जा बन्ने प्रक्रिया सामान्य रूपमा ग्लुकोज, फ्याट र अन्य पोषण तत्वको मेटाबोलिज्म (metabolism) बाट नै हुन्छ। क्याफिनले त केवल थकानको जानकारी दिने प्रक्रियालाई अस्थायी रूपमा बन्द गरिदिन्छ, जस्तै अलार्म घडीको स्नुज  बटन थिचे जस्तो।

यति मात्र होइन, क्याफिनले अप्रत्यक्ष रूपमा अन्य न्युरोट्रान्समिटरहरूको स्तर पनि असर गर्छ। त्यसले खुशी र प्रेरणासँग सम्बन्धित डोपामिन (Dopamine) को गतिविधि बढाउँछ, त्यसैले कफी पिएपछि मूड पनि हल्का सुधारिन्छ।त्यसै गरी सतर्कता र चनाखोपनसँग जोडिएकोनोरएड्रेनालिन (Norepinephrine) लाई पनि यसले थप सक्रिय तुल्याइदिन्छ । त्यसले हाम्रो ध्यान केन्द्रित गर्न सहयोग गर्छ।यसैले चिया वा कफी पिएपछि हामीलाई चनाखो मात्र होइन, अलि सकारात्मक र उत्पादक महसुस पनि हुन्छ।

तर यो प्रभाव अस्थायी हो। क्याफिनको असर मस्तिष्कमा औसत ४-६ घण्टासम्म रहन्छ। त्यसपछि एडेनोसिन फेरि रिसेप्टरमा बाँधिन थाल्छ, अनि शरीरले वास्तविक थकाइ महसुस गर्छ। धेरै क्याफिन खाँदा त उल्टै हृदयगति बढ्ने, चन्चलता, निद्रा नलाग्ने जस्ता समस्या आउन सक्छन्।

सारसंक्षेपमा भन्नुपर्दा क्याफिनले ऊर्जा उत्पादन गर्दैन।यसले केवल एडेनोसिन रिसेप्टर ब्लक गरेर “थकाइको संकेत”लाई दबाउँछ।परिणामस्वरूप हामीलाई ताजगी, सतर्कता र अस्थायी “झूटो ऊर्जा”को अनुभूति हुन्छ।यही कारणले बिहानको पहिलो कप चिया वा कफी पिउँदा हामीलाई ताजापनको अनुभूति हुन्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।