चङ्गा  खेती

प्रभुहरु  !

पुराना चङ्गा गोदाममा

नयाँ चङ्गा आकाशमा

 

प्रभुहरु !

हजुरहरुको लीला अपार

गुड देखाएर पिना चटाउने जादु अपार

 

उहिलेका  प्रभुहरु

भगवानको नाममा भोग खान्थे

अहिलेका प्रभुहरु

 ‘कलर रेभुलेसन’को नाममा भोग खान्छन् ।

 

सातसालले भिमदत्त खायो

छ्यालीसले मदन भण्डारी खायो

बाउन्नले राजा वीरेन्द्र खायो

प्रभुहरु  मान्छे छानीछानी  भोग खान्छन् ।

 

 प्रभुहरुको लीला अपार

गुड देखाएर पिना चटाउने  जादु अपार ।

 

बैसठ्ठी त्रिसठ्ठीले

देश बालेर देशको खरानी खायो

जेनजीको सपनाहरु के हुने हो प्रभु ???

हजुरहरुको लीला अपार

गुड देखाएर पिना चटाउने जादु अपार।

 

प्रभु !

लालाबालाको भोग खाएपछि

देश बालेर खरानी  बनाएपछि

 पुराना चङ्गा गोदाममा थन्काएपछि

नयाँ चङ्गा   आकाशमा  उडाएपछि

 प्रभु अब हजुरहरुको आगामी योजना के छ ?

 

प्रभुहरु !

यो देशमा

चङ्गा हजुरकै

चङ्गा बनाउने  कारखाना हजुरकै

चङ्गा उडाउने हात हजुरकै

चङ्गा थन्काउने गोदाम हजुरकै।

 

तर  प्रभु नित्य के छ जगतमा

फेरि  चङ्गा उडने आकाशमा चरा उडने छ ।

 

उडने चराको

 प्वाँख आफ्नै

पखेटा आफनै

 उडान आफ्नै

गन्तव्य  आफ्नै।

 

प्वाखविहीन चङ्गाको

के नै आफ्नो हुन्छ

उडने धागो त आफ्नो हुँदैन

चङ्गा उडाउ प्रभुहरु चङ्गा

चङ्गा खेतीको एकदिन अन्त्य हुनेछ।