कहाँ चुके नेपालका बामपन्थीहरु ?

वर्तमान नेपालमा  राजनीतिक सतहलाई नियाल्दा बामपन्थी शक्तिको वर्चस्व र बाहुल्य रहेको आम बुझाइ छ ।  वामपन्थी अर्थात् आम सर्वसाधारणको बुझाइमा न्यायपूर्ण, अग्रगामी, प्रगतिशील र समतामूलक विकासका लागि रुपान्तरणकारी संघर्षशील शक्ति हो । नेपालका वामपन्थी शक्तिहरु, जसले ७० बर्षभन्दा बढी समयदेखि यसै उद्देश्यप्राप्तिका लागि निरन्तर संघर्ष गर्दै आएका छन्, जनताको साथ सहयोग र विश्वाससमेत प्राप्त गर्दै पनि आएका छन् र संघर्षका क्रममा हजारौंको बलिदान त भएको छ नै, हजारौ| हजारको पारिवारिक स्थिति बर्वादसमेत भएको छ । यो अवधिमा वामपन्थीहरुले समाज रुपान्तरणका लागि बाधक बनेका देशी सामन्तवाद,भारतीय  विस्तारवाद, अमेरिकी साम्राज्यवाद नेतृत्वको वित्तीय साम्राज्यवादको हितको प्रतिनिधित्व गर्ने  राजतन्त्रको हेडक्वाटर राजा र राजदरवारियाका विरुद्ध संघर्ष गर्नु परेको थियो । यस अवधिमा विभिन्न चरणका वादविवाद, बहस, मतमतान्तर, दरवारभित्र र बाहिरका अन्तर विरोधमा खेल्दै  नेपाली कांग्रेसजस्तो गैरवामपन्थी शक्तिलाईसमेत साथ लिएर  बामपन्थीहरुले अन्ततः २०६५ सालमा आएर तमाम प्रतिगामी जनविरोधी शक्तिको नेतृत्व गर्दै आएको राजतन्त्रलाई नेतृत्वबाट हटेर जान बाध्य पारेका पनि हुन् । त्यस यताका करिव २० बर्षसम्म बाम प्रभुत्वको लोकतात्तिक गणतन्त्रात्मक शासन चलिरहेको छ । वितेका यी करीव दुई दशकमा  बामपन्थीहरुले  विगतमा गरेका संघर्ष, बलिदान, वाचा अनुरुप  समाज रुपान्तरणका काम  जनताले अनुभूत गर्नेगरी सम्पन्न गरे त ? यस कुराको समीक्षा गर्नैपर्ने समय  भैसकेको छ ।

  विगतका संघर्षका दौरानमा वामपन्थीहरुको विश्लेषणअनुसार  नेपालमा अर्धसामन्तवादी र  अर्धउपनिवेशवादी चरित्रको समाज थियो, यसै कारण देश गरीब  र अविकसित पछौटे थियो । यो अवस्थाको मुख्य जिम्मेवार राजाको शासन थियो । त्यसैले राजाको शासन विरुद्ध आन्दोलन, युद्ध र विविधप्रकारका संघर्ष गर्नु परेको थियो । तर २०६३ यता राजतन्त्र शासनमा निर्णायक रहेको छैन । उसले शासन उल्टाउनेगरी  प्रतिगमनको प्रभावकारी गतिविधि पनि गरेको छैन । तर पनि विस्तारवाद र अर्धउपनिवेशवादको  प्रतिनिधित्व गर्ने   दलाल पूँजीवाद र तिनको संरक्षण गर्ने राजतन्त्रको विरासत यो नोकरशाहपूँजीवाद र अवशिष्ट सामन्तवाद अझै सक्रियरहेका छन् । वामपन्थी राजनीतिक पार्टीहरुको विश्लेषणमा अहिले पनि देशका मुख्य दुश्मन यिनै रहेका छन् । जवकि देशमा राजा र राजतन्त्र पनि छैन भने यिनको नेतृत्व  यतिका वर्षसम्म कसले गरिरहेको छ ? यो प्रश्नको उत्तर वामपन्थीहरुले खोजेर जनतालाई बुझाउनुपर्दैन र ?  अव यतिका वर्ष पछि स्वयम् वामपन्थीहरु नै सरकारमा हावी छन् भने ती  दुश्मनशक्तिको नेतृत्व र संरक्षण  पनि वामपन्थीहरुले नै गरेको त आम बुद्धिजीवीमाझ छर्लङ्ग  भैसकेको छ ।

वामपन्थी राजनीतिक शक्तिहरुको सिद्धान्त र सोचको आधार भनेको मार्क्स एङ्गेल्सद्वारा प्रतिपादित ऐतिहासिक  र द्वन्द्वात्मक भौतिकवाद हो । यो वैज्ञानिक भौतिकवाद अनुसार जबसम्म देशको राष्ट्रिय उत्पादक शक्ति र उत्पादनका सम्बन्धमा परिवर्तन आउँदैन अर्थात् परिवर्तन ल्याइँदैन तवसम्म देशमा नयाँ सोच, नयाँ उर्जाशीलता, नयाँ विकास केही हुँदैन । धार्मिक,सांस्कृतिक आर्थिक जुनसुकै कुरामा पनि परम्परागत स्थिति कायम रहिरहन्छ । हामीकहाँ पनि वाम नेताहरुको विश्लेषण अनुसार नै दलालपूँजीवाद नोकरशाही र सामन्तवाद यथावत् रहेको कुरा त उहाँहरुका पार्टी दस्तावेजले बताइरहेकै छन् ।  यसैले परम्परागत सोच, शैली र कार्यप्रणाली पनि यथावत् रहेका पाइन्छन् । यो आश्चर्यको कुरा भएन त ? राजतन्त्र समाप्त भइसक्यो, राजनीतिक परिवर्तन आयो, जनता विजयी भैसके तर दुश्मन यथावत् छ  । त्यो कस्तो विजय हो ? जहाँ कोही पराजित नै भएको छैन ।

वास्तवमा भन्ने हो भने वामपार्टीहरुले भेला र वैठक गरेर दुश्मन  त पहिचान गरेको घोषणा  गरे तर त्यो दुश्मनको चरित्र के हो ? त्यसको प्राण कहाँ अडिएको छ र त्यसलाई निर्मूल पार्ने उपाय के हो ? भन्ने कुराको खोज अनुसन्धान गरेनन्, खोज अनुसन्धान गर्नुपर्छ भन्ने थाहा पाएर पनि पाएको उपलब्धि पनि गुम्ला अथवा जनतालाई यति नै भनेर गुमराह राखे पनि भोट आइहाल्छ, अव कति दुख गरौं, केही दिन त शहरी सुविधा उपभोग गरेर विश्राम गरौं  भन्ने स्वार्थवश  यथार्थ परिस्थिति अनुरुप चल्ने नाममा खोज अनुसन्धान गरेनन् र त्यसलाई जनसमक्ष ल्याउन आवश्यक ठानेनन् । अन्तर्राष्ट्रिय सम्वन्धको डरले पनि यसो गरेको हुनसक्छ । उनीहरुले दलाल पूजीवाद, नोकरशाहपूजीवाद र सामन्तवादी अवशेषवारे  यो विद्यमान छ है भनेर जनतालाई सुनाएपछि आफ्नो जिम्मेवारी सकिएको व्यवहार देखाएका छन्  । उनीहरुको यही गैरजिम्मेवारीपना र मूर्खताले देशमा राजा हुँदा जेजस्तो अवस्था थियो त्यो भन्दा पनि निर्लज्ज तरिकाले दलाल पूँजीपति, नोकारशाह र समन्ती शोषकहरुले जनताको शोषण गरिरहेका छन् । देश केवल विदेशका पूँजीपतिहरुका कामदारको श्रोत बनेको छ । राष्ट्रिय उत्पादन घट्दो छ । कारखाना वन्द भइरहेछन् । मानिसहरु गरीब छन् । वेरोजगार छन् । अन्तर्राष्ट्रिय सम्बन्धको डर, लोभ, राष्ट्रिय गठबन्धनको लोभ र भोट विग्रने डर, राष्ट्रिय आम्दानी तलमाथि हुने भय आदि कारणले होला दलहरुले  दलाल पूँजीपति को हो ? तिनका प्रतिनिधि पात्र को हुन् ? नोकरशाह पूँजीपति को हो ? तिनको प्रतिनिधित्व कसले गरेको छ ? सामन्तवादको अवशेष कहाँ छ ? त्यसले के असर पारेको छ भन्ने कुराको  पहिचान गराउन आवश्यक ठानेनन् ।   राजनीतिक रुपले राजतन्त्र हटाएर विजयी हुने वित्तिकै यी काम  गनुपर्थ्यो र सरकारमा जानासाथ त्यस्ता देश विकास विरोधी तत्वलाई निरुत्साहित र नियन्त्रित गरेर राष्ट्रिय पूँजीपति र देशभक्त शक्तिलाई प्रोत्साहित गर्दै सक्रय तुल्याउने कार्यक्रम ल्याई कार्यान्वयन गनुपर्थ्यो नि त ! ठूला लगानीकर्ता र निजी क्षेत्र भनेर सरकारले उल्टो तिनैलाई प्रोत्साहन दिइरह्यो । कमिशनखोरहरुलाई प्रोत्साहित गर्दै खरीद एन संशोधन गर्दै गयो । कतार र मलेशियातिर विज्ञापन गरेर कामदार मागिँदा नेपालीलाई पठाउँदै गयो तर नेपालका अर्बौंका परियोजनाहरुमा कामदार चाहिँदा नेपालीलाई यति सुविधा दिने भनेर विज्ञापन गरेर काम गर्ने अवसर दिएन । बरु ठेकेदारहरुलाई मनपरी विदेशबाट कामदार ल्याउने  छूट दियो ।  यस्ता काम बामपन्थीहरुले राजतन्त्रमाथि विजय पाउनासाथ गर्नुपर्थ्यो । त्यसो नगरेपछि राजतन्त्र त गयो तर दलाल पूँजीवाद र सामन्ती नोकरशाहीहरु झन् बलिया र निडर भए । मानौं उनीहरु अमेरिका र भारतका प्रतिनिधि पात्र हुँदै गए । यस्तो स्थितिमा अब पनि दलाल पूँजीवाद र नोकरशाही पूँजीवाद भनेर  मात्र समस्या समाधान हुन्छ र ?

 अहिले केही बामपन्थीहरुले समाजवादी मोर्चाको पनि खुब चर्चा गरेर जनताको आँखामा छारो हाल्न बेलाबेलामा प्रेस विज्ञप्ति निकाल्ने गरेका छन् । त्यो समाजवाद के हो ? कस्तो हो ? कसरी आउँछ ? समाजवादी शक्ति कुन हो ? त्यसको लागि राज्यले  उत्पादन पद्दति कसरी कुन उपायले फेर्ने ? त्यो समाजवाद आफैं आउने हो कि ? सरकारले ल्याइदिने हो कि? जनताले फेरि बलिदान गरेर आउने हो कुनै स्पष्ट  छैन । नेताले वोलिदिएपछि समाजवाद आउँछ भनेर भोट ठग्ने उपाय मात्र हो कि भन्ने  शङ्का त हुने नै भयो ।  यी यावत कुरा स्पष्टसँग जनतालाई बुझाएर जनपरिचालन गरी समाजवादको आधार तयार गरेपछि मात्र समाजवाद आउने हो । अर्थात्  उत्पादक शक्तिलाई आधुनिक, विकसित,परिमार्जित पार्ने, उत्पादन सम्बन्धमा वदलाव ल्याउने,राष्ट्रिय उत्पादन बढाउने, विदेशी ऋण होइन देशमा थुप्रिएको पूँजी परिचालन गर्न विश्वासको वातावरण तयार गर्ने आदि काम गरेर आधार तयार गर्नुपर्दछ । देशको शासनमा वित्तीय पूँजी, एनजीओ, राष्ट्रिय अन्तर्राष्ट्रिय ठेकेदार, बैंकर  र पञ्चायत एवं भ्रष्ट बहुदलीय शासनमा प्रशिक्षित उच्चतहका सरकारी अधिकारीको माध्यमबाट सरकारमा हावी दलाल पूँजीपति, नोकरशाह र कमिशनखोरहरुले विधायिकामा पुगेका इमान्दार राजनीतिक कार्यकर्तालाई पनि अब पङ्गु बनाइसकेका छन् । भ्रष्ट कर्मचारीतन्त्रको माध्यमबाट बामपन्थी पार्टीमा घुसपैठ गरेका दलाल पूँजीवादीका दलाल नेताका कार्यकर्ता र गुण्डा भर्ती गरेर देशका  छालाजुत्ता, सिमेण्ट औजार कारखानाहरुलाई घाटामा पुर्‍याई बन्द गराउने र विदेशबाट सामान ल्याई जोडजाम गरेर बेचेर नाफा कमाउने धन्दाको विकास गराउनमा दलाल पूँजीपति र भ्रष्ट नोकर शाह लागेका छन् । यिनैले बामपन्थी नेताहरुको वरपरबसेर प्रशंसा र कमिशनको माध्यमबाट शासनलाई पनि प्रभवित पार्दै आएका छन् । यस्तोमा दलाल पूजीपति र नोकरशाह सामन्तीहरु आफैं परास्त हुन्छन् त ? नेताहरुले यो कुरा बुझेर पनि किन बुझपचाएका होलान् ? यसरी त न दलाल पूँजीवादको अन्त्य हुन्छ न नोकरशाही कमिशनखोरीको ।  न त समाजवाद नै आउँछ ।