एआइको प्रयोग गर्दै धुलिखेल नगरपालिकाको डिजिटल छलाङ

नेपालको प्रशासनिक ढाँचाबारे कुरा गर्दा, प्रायः हामी सरकारी सेवाप्रणालीलाई ढिलो, कागजी कामको भारले थिचिएको र प्राविधिक नवप्रवर्तनसँग टाढै देख्ने गर्छौं। तर धुलिखेल नगरपालिकाले आर्टिफिसियल इन्टलिजेन्स (एआइ) को माध्यमबाट गरेको एउटा सानो तर ऐतिहासिक कदमले यस धारणालाई बद्लने देखिएको छ ।
यस सहरले आफ्नो करिब ३८,००० नागरिकलाई एउटै डिजिटल छातामुनि ल्याउने प्रयास स्वरूप ‘टिङ टिङ’ नामक एआइ टेलिफोनी प्रणालीको प्रयोग सुरु गरेको छ। यस प्रविधिको प्रयोगले अब अब नगरपालिकाले पठाउने कर तिर्ने म्याद, स्वास्थ्य शिविरको जानकारी लगायतका सबै खाले सूचनाहरु सिधै नागरिकको मोबाइलमा नेपाली भाषामा आवाजसहित पुग्नेछ। यसरी प्राविधिक माध्यम र भाषिक सहजताको संयोजनले सूचना प्रवाहलाई पहिलोपटक सबैका लागि समान र तत्काल पहुँचयोग्य बनाएको छ ।
परम्परागत सूचना प्रवाहको उत्तम विकल्प
नेपालका स्थानीय निकायहरूले सूचना सम्प्रेषणमा लामो समयदेखि चुनौती भोग्दै आएका छन्। सूचना बोर्डमा टाँसिएका नोटिसहरू, सार्वजनिक स्थानमा बजाइने माइक, वा फेसबुक तथा पत्रपत्रिकाहरु लगायतका प्लेटफर्महरू सीमित दायरामा मात्र प्रभावकारी हुन्थे। धुलिखेलले यस अवरोधलाई प्राविधिक दृष्टिकोणले सम्बोधन गर्ने पहल गरेको छ। नेपालको प्रायः प्रत्येक घरमा पहुँच भएको मोबाइलमा आधारित यी सूचना प्रणालीले स्थानीय निकायको नागरिकसँगको दूरीलाई कम गराउने देखिएको छ ।
यो निर्णय वास्तमा प्रविधि अपनाउने विषय मात्र होइन । यसले त ‘सरकार र नागरिकबीचको सम्बन्ध’लाई नयाँ ढङ्गले स्थापित गर्ने सुनिश्चित छ । यसले लोकतन्त्रको वास्तविक आत्मा भनेकै नागरिकलाई पहुँचयोग्य शासन हो भन्ने कुरालाई व्यवहारमा उतार्न सहयोग पुग्ने देखिन्छ ।
धुलिखेलका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठले यस पहललाई एआइ प्रविधि ‘सरकारकै हातमा ल्याउने’ प्रयासको रूपमा वर्णन गरेका छन्। उनको भनाइमा “एआइको दौडमा सरकार पहिलो हुनुपर्छ । यो नारा मात्रै होइन, भविष्यको प्रशासनिक दर्शन पनि हो।”
नेपालको संविधानले स्थानीय तहलाई २२ अधिकार क्षेत्र प्रदान गरेको छ। शिक्षा, स्वास्थ्य, कर, पूर्वाधार, र सामाजिक सुरक्षा जस्ता सेवाहरूलाई प्रभावकारी बनाउने जिम्मा स्थानीय सरकारको काँधमा छ। यस्ता जिम्मेवारी पूरा गर्न ‘टिङ टिङ’ जस्तो प्रविधिलाई प्राथमिकता दिनु स्थानीय तहको व्यावहारिक र अग्रगामी सोच हो।
स्थानीय स्तरमै डिजिटल रूपान्तरण
नेपालको डिजिटल यात्राबारे बहस गर्दा प्रायः ध्यान केन्द्र सरकार वा ठूला शहरहरूको परियोजनामा जान्छ। तर, धुलिखेलले देखाएको दृष्टान्तले स्थानीय सरकारको नवप्रवर्तन क्षमता उजागर गरेको छ। यसले प्राविधिक समाधान केवल ‘बजेट र पहुँच’को कुरा मात्र नभई ‘भिजन र प्राथमिकता’को कुरा पनि हो भन्ने देखाएको छ।
यो कदमले प्राविधिक अपनत्वलाई ‘समावेशी शासन’को माध्यम बनाएको छ। टिङटिङ नेपाली भाषाको प्रविधि भएवले यसमा भाषा बाधक बन्ने छैन । यसमा सबै नागरिकलाई नामसहित सम्बोधन गर्दै फोन गर्ने प्रविधि छ। यसले डिजिटल शासनलाई मात्र होइन, नागरिकको सुविधालाई पनि प्राथमिकता दिएको छ।
सम्भावित चुनौती र भविष्य
तर, यस्ता परियोजनामा चुनौती छैनन् भन्ने होइन। प्राविधिक प्रणालीलाई दिगो बनाउन आवश्यक स्रोत र क्षमता जुटाउनुपर्छ। एआइ प्रविधि सञ्चालनका लागि दक्ष जनशक्ति, डाटा सुरक्षाको ग्यारेन्टी, र नागरिकको गोपनीयताको प्रश्न पनि उठ्छ। यसले प्रशासनिक पारदर्शिता र प्राविधिक दक्षतालाई थप बलियो बनाउने दबाब सिर्जना गर्नेछ।
यद्यपि, धुलिखेलले सुरु गरेको यो प्रयास नेपालको प्रशासनिक इतिहासमै एउटा महत्त्वपूर्ण मोड हो। यसले स्थानीय सरकारहरूलाई डिजिटल अपनत्वको यात्रामा अगाडि बढ्न प्रेरणा दिनेछ।
निचोडमा भन्दा, सारा विश्व एआइ र डिजिटल प्रविधिको दौडमा लागिरहेको बेला नेपालका स्थानीय तहले पनि आफ्नो भूमिका स्पष्ट रूपमा प्रदर्शन गर्न थालेको छ। धुलिखेलको ‘टिङ टिङ’ परियोजना केवल प्रविधि अपनाउने कदम होइन; यो नागरिक-मैत्री शासन र डिजिटल समानताको अभ्यास हो। यसले भविष्यमा नेपालका अन्य नगरपालिका र सरकारी निकायहरूलाई पनि प्राविधिक क्रान्तितर्फ अघि बढ्न उत्प्रेरित गर्नेछ।
प्रतिक्रिया