यो बर्सातमा

योपालीको बर्सातमा

जोसँग गयो मेरो जमीन

उसै सँग गयो मेरो वर्सात ।

 

अब  त

जोसँग गयो  मेरो खेत

उसैका लागि कालो बादल छाउँछ

उसैका लागि कोइली गाउछ

उसैका लागि माटो सुगन्धित  हुन्छ।

 

अब त

मेरा लागि

न हलो रह्यो

न गोरु रह्यो

न खेत जाने बाटो रह्यो

न हरियाली रह्यो

न सुगा  रह्यो

न  ताल रह्यो

न नदी रह्यो

न आद्रता रह्यो

न नक्षत्र रह्यो

न नै मलहार रह्यो

केही पनि त रहेन।

 

जसको आफ्नो  जमीन हुँदैन

उसको आफ्नो  आकाश हुँदैन।

 

आउने बालीमा सबै चुक्ता गर्ने छु भन्ने

झुठो अनुनय  थियो

त्यो पनि  रहेन

त्यो पनि जमीनसँगै  गयो।

 

जो सँग गयो मेरो जमीन

उसैसँग गयो मेरो बर्सात।

प्रसिद्ध भारतीय कवि नरेश सक्सेनाको कविता ‘इस वारिश में’ को भावानुवाद । स्रोत: हिन्दवी