भू-राजनीतिक छायामा नेपालको आवाज: अवसर कि जोखिम?
प्रमको चीन भ्रमणले पैदा गरेको ‘लिपुलेक तरङ्ग’

लिपुलेक भएर नेपाल भारतबीच व्यापार गर्ने गरी भएको सम्झौताको विपक्षमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति समक्ष आपत्ति जनाएको कुराले नेपालमा ‘राष्ट्रवादको भीषण तरङ्ग’ पैदा गरेको छ । तर प्रधानमन्त्री ओलीको त्यस आपत्तिले नेपालमा तरङ्ग पैदा गर्नुबाहेक वस्तुस्थितिमा तात्त्विक परिवर्तन आउने सम्भावना भने लगभग शून्य नै छ ।
लिपुलेक भएर भारत–चीनबीच व्यापार गर्नेबारे पछिल्लो पटक भएको सम्झौता कुनै नयाँ र नौलो हैन । सोही प्रकृतिका सम्झौताहरु विगतमा पटक पटक हुँदै आएका छन् । हालसालै चिनियाँ विदेशमन्त्री वाङको भारत भ्रमणको सिलसिलामा भएको सम्झौता कुनै नयाँ सम्झौता नभई दुई देशबीच यसअघि तत्सम्बन्धी भएका सम्झौताहरुको एक किसिमले नवीकरण जस्तै मात्र हो । ऐतिहासिक तथ्य प्रमाणहरुले लिपुलेक समेत समावेश रहेको लिम्पियाधुरासम्मकै कालीनदी पूर्वको भूभागहरु नेपालको सार्वभौमिक अधिकार रहेको क्षेत्र हो । तर विडम्बनाको कुरा के रहँदै आएको छ भने उक्त क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि भारतीय सैन्य आधिपत्य र भोगचलन रहँदै आएको छ । नेपाली शासकहरुले त्यसबारेमा भारत सरकारसमक्ष जबरजस्त रुपमा आवाज उठाउन नसक्दा तथा तत्बारे अन्तर्राष्ट्रिय संस्था मञ्चहरुमा आफ्नो आवाज बुलन्द गर्न नसक्दा नेपाली आवाज अरण्य रोदन जस्तै मात्र सुनिएको छ । त्यसैले ती भूमिहरु नेपाली भूमिभन्दा पनि भारतीय भूमि हो भन्ने भ्रम र मान्यता अन्तर्राष्ट्रिय जगतमा जबरजस्त रुपमा हावी छ । अरुको त कुरै छाडौं, परम्परागत रुपमा नेपालको असल छिमेकीको रुपमा रहँदै आएको चीनले समेत भारत–चीनबीच भएका सीमा लगायत अन्य विभिन्न सम्झौताहरुमा लिपुलेक क्षेत्रलाई भारतीय हकभोगकै क्षेत्रको रुपमा मान्दै र व्यवहार गर्दै आइरहेको देखिन्छ ।
नेपालले चीनका राष्ट्रपति सी जीन पिङ समक्ष नेपाली भूमि भएर व्यापार गर्ने भनी भारत–चीन बीच भएको सम्झौताको विपक्षमा आवाज उठाए पनि चीनले त्यसलाई खासै गम्भीरतापूर्वक लिएको देखिन्न । उसले कुटनीतिक रुपमा जवाफ फर्काउँदै नेपाल–भारत बीचको विवाद दुई पक्ष मिलेर सुल्झाउनु पर्ने ‘अर्ती’ दिएको छ । चीनले दिएको जवाफमा ‘लिपुलेक पास परम्परागत रुपमा भारत–चीनबीच व्यापार नाकाको रुपमा उपयोग हुँदै आएको’ भन्ने पनि रहेको छ । यो कुनै नौलो कुरा पनि होइन । यसबारेमा Sino-Indian Trade Agreement over Tibetan Border (1954) को Article IV को ६ नम्बर बुँदामा उल्लिखित Traders and pilgrims of both countries may travel by the following passes and route भनेर लिपुलेक पास (Lipu Lekh Pass) लाई समेत प्रष्टै उल्लेख गरेको छ । यसको अर्थ के हो भने यस सम्झौतामा चीनले त्यस क्षेत्रलाई भारतीय क्षेत्रको रुपमा मान्यता प्रदान गरेको छ ।
चीनले नेपालको आपत्तिलाई कुटनीतिक रुपमा पन्छाउँदै ‘यस सवालमा चीनले केही नगर्ने, समस्याको समाधानको लागि भारतसँगै पहल गर्नुपर्ने’ भनी पन्छाएको प्रष्टै देखिन्छ । अर्थात्, यस सवालमा नेपालले चीनसँग आपत्ति प्रकट गर्नुभन्दा पनि भारतसँगै बसेर समाधान खोज्नु पर्ने चिनियाँ पक्षको मनशाय देखिन्छ ।
बदिलँदो विश्व भूराजनीतिक परिस्थितिमा चीन र भारतबीचको सम्बन्धमा नाटकीय परिवर्तन आएको छ । एकल ध्रुवीय विश्व बहुध्रुवीय बन्दै जाँदा र अमेरिकी ‘लखेटाइ’का कारण चीन र भारत नजानिँदो किसिमले नजिकिँदै गइरहेको छ । हिजोको शत्रुतापूर्ण र तिक्त सम्बन्धलाई भुलेर चीन र भारत सहकार्य र समन्वयको बाटोमा हिँड्न थालेको छ । चिनियाँ राष्ट्रपतिले यसलाई ‘ड्रागन र हात्तीको मिलन’को उपमा दिएका छन् । यस अवस्थामा चीन, भारत र नेपालबीचको त्रिकोणीय सम्बन्धमा ‘चिनियाँ कार्ड’ वा ‘भारतीय कार्ड’ खेलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई परिचालन गर्ने कुटनीतिक दाउपेच अब ‘आउटडेटेड’ भइसकेको छ । भारतसँग चीनको सम्बन्ध सुमधुर बन्दै जाँदा अब चीनका सामु नेपालको आवाज पहिले जस्तो प्रष्ट र तीक्ष्ण नभई मधुरो गरी मात्रै सुनिँदै जाने खालको बन्ने सम्भावना पैदा भएको छ ।
यस पृष्ठभूमिमा यस्ता भ्रमण वा औपचारिक कार्यक्रमहरुमा जाँदा बोलिने र गरिने व्यवहारहरुले मात्रै अन्तर्राष्ट्रिय सम्बन्धहरुमा नयाँ मोड पैदा भइहाल्ने कुरा दिवास्वप्न मात्रै हो । गर्नुपर्ने चाहिँ आफ्ना मागदावीहरुलाई तथ्य प्रमाणहरुका आधारमा सरोकारवाला पक्षहरुसमक्ष औपचारिक रुपमा प्रस्तुत गर्ने, त्यसमा सहमति कायम गराउने र आवश्यक परेमा मुद्दाको अन्तर्राष्ट्रियकरण समेत गर्ने हो । त्यो भन्दा पहिले सरोकारवाला पक्षहरुबीच नै मुद्दाको समाधानको लागि अन्तिम चरणसम्मै पहल र कोशिसहरु गर्ने नै हो । त्यसबारेमा नेपाली पक्षको विशेष ध्यान जानु जरुरी देखिन्छ । विगतमा सन् २०१५ताका भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणको बेला यही मुद्दा उठ्दा नेपालको भूमिका प्रतिक्रियामुखी मात्रै रहेको थियो । पछि ‘चुच्चे नक्सा प्रकरण’मा पनि नेपालको भूमिका सोही किसिमको रह्यो । गरिनु पर्ने चाहिँ त्यस मुद्दालाई चीन तथा भारत समक्ष औपचारिक रुपमा निरन्तर उठाइरहने तथा आफ्ना मागदावीहरुलाई ठोस रुपमा प्रस्तुत गरेर त्यस कुरामा सम्बद्ध पक्षहरुलाई सहमत गराउने तथा मनाउने नै हो । लिपुलेक पास नेपाली भूमिमा पर्छ भन्ने कुरालाई तथ्य प्रमाणहरुको आधारमा चीन र भारतलाई बुझाउने कुरामा कमी हुँदा अहिले चीनसामु नेपाली आवाज कमजोर र मधुरो सुनिन पुगेको हो ।
यसै प्रसङ्गमा भन्नै पर्ने कुरा के हो भने, नेपाल चीन भारतबीचको त्रिदेशीय सम्बन्धमा चीन र भारत विशाल भूभागसहितको वैश्विक महाशक्ति हो भने नेपाल सानो क्षेत्रफल भएको विकासोन्मुख देश हो । यस अर्थमा नेपालको चिन्ता र चासोप्रति छिमेकी देशहरु भारत र चीनले पनि उदार हृदयका साथ संवेदनशीलता देखाउनु जरुरी छ । तसर्थ, पछिल्लो चरणमा उठेको लिपुलेक विवादका बारेमा भारतले बलमिच्याइ गर्नुको सट्टामा तथ्यप्रमाणहरुका आधारमा विवादलाई सल्टाउने कुरामा ध्यान दिनु नै बुद्धिमत्ता हुनेछ । खासगरी, वैश्विक भूराजनीतिक संवेदनशीलताको पृष्ठभूमिमा चीन र भारत माझ अवस्थित नेपालको संवेदनशीलतालाई विशेष ख्याल गर्न सक्यो भने त्यो नेपालको हितमा त हुने नै छ, त्यसमाथि थप, त्यसले भारत र चीनको समेत हित नै गर्नेछ ।

चर्किएको लिपुलेक विवाद र चीनको बदलिएको रवैया

समाजवादको खोजीमा उत्पादनको सवाल: प्रचण्डको दृष्टि र नेपालको संरचना

बोलिभियाको चुनाव: वामपन्थीको पतन

प्रचण्डले देखाएको ‘नयाँ क्रान्ति’को हसीन सपना

'नो भोट' कि घरमै बस्ने?

भण्डारीको राजनीतिमा फर्कने कुराले सिर्जना गरेको बबण्डर !

गाजामा नरसंहार जारी रहँदा मौन विश्व: के अन्तर्राष्ट्रिय न्याय प्रणाली निष्क्रिय भ…

प्रतिक्रिया