टेम्केमा किरात गणराज्य टावर

प्रथम संविधानसभाको पृष्ठभूमिमा हामीले भन्ने गरेका थियौं: गाउँ खाली हुँदै जाने, शहरमा टेक्ने ठाउँ नपाइँने जटिलतामाझ कसरी बन्छ, नयाँ नेपाल ? किनभने, वस्तु विनिमयलाई मुद्राले निषेध गर्यो, मुद्रालाई फेरि विद्युतीय कारोबारले निषेध गर्दैछ, ठिक त्यसरी नै गाउँलाई शहरले निषेध गरिआएको इतिहास भयानक छ। अत: स्वस्थानमा गाउँले समाजलाई दीर्घ जीवन दिने र देशव्यापी बसोवास सन्तुलन कायम राख्ने हो भने गाउँको शहरीकरण अपरिहार्यता सूचिमा पर्दछ। जसका निमित्त खड्किन्छ- राजकीय चिन्तन, योजना र पहकदमी। हो, यसकारण अघि बढाइएको थियो, आठ सय जिल्लाको नयाँ नेपाल प्रस्ताव संगसंगै टेम्केमा किरात गणराज्य टावर परियोजना। जुन, अत्याधुनिक तथा भव्यतम् साँस्कृतिक सम्पदा निर्माण परियोजना हो। पूर्वी नेपालस्थित टेम्के एउटा पहाडी स्थान हो। परन्तु, यहाँबाट नेपालभरका गाउँ ईलाकामा शहरीकरणसहित नयाँ राष्ट्रिय एकीकरण जमर्को गरियोस्।
प्रस्तुत सन्दर्भमा यो आलेख केन्द्रित छ। उप्रान्त अपेक्षित बजेट जुटाउन नसक्नुको परिणाम तत्कालमा परियोजना सम्पन्न गर्न सकिएन। जसले गर्दा विभिन्न पक्षबाट हामीमाथि अनेक प्रश्न र आशङ्काहरु खडा भइरहेका छन्। दु:खको कारण ज्ञात भएका मित्रहरुले सम्भव प्रष्टीकरणका लागि अगावैदेखि आग्रह गरेका हुन्। वस्तुतः यस आलेखबाट सार्वजानिक प्रष्टीकरण प्रयास गरिन्छ।
टेम्केवारे जानकारी तथा अध्ययन
निर्दलीय पञ्चायतको अन्ततिर राजधानीस्थित जाउलाखेलमा "टेम्के कोल्डस्टोर" देखिएको थियो। जुन, कोटगाउँ भोजपुरका राजवहादुर राईले संचालन गरेका थिए। सोताङ-कुलुङको मानिसलाई टेम्के नाम अनौठो प्रतीत हुन्थ्यो र त्यसैले स्मरणीय पनि रहिरह्यो। यसरी हामीले टेम्केवारे पहिलो जानकारी प्राप्त गरेका थियौं।
पूर्वतिर फर्केर हेर्दा ठिक माथि आकर्षक डाँडा रहेछ, निक्कै पर विशाल मैदान जस्तो। यो माथिको डाँडा र परको मैदान के हो, भनी जिज्ञासा राख्दा सुरेशजीले बताए- यही त हो टेम्के र परको मैयुङखर्क। हामीले भन्यौं, लौ यहाँ त शहर बसाउनु पर्छ!
असोज २०४७ मा आङ्तेपका जगन किरात र होर्लुङ्छाका सुरेश चाम्लिङसंग हामी तीन जना भोजपुर बजारबाट खोटाङतिर लाग्यौं। बोखिम- दाँवाको बाटो हुँदै खावा केराबारी उकालो चढेको, वादुङ्ला शिरान रमितेबाट बल्ल तेर्सो बाटो हिंड्न पाइयो। तर, झरी बादल चर्को परिरहेथ्यो। परिणाम केही देखिन्नथ्यो। पान्धारे कटेर सेल्मेतिर लाग्न आँटिएको रहेछ, त्यहाँस्थित धर्मशालाकै अगाडि पुग्नासाथ बादल हट्यो, छ्याङग ऊज्यालो भयो। पूर्वतिर फर्केर हेर्दा ठिक माथि आकर्षक डाँडा रहेछ, निक्कै पर विशाल मैदान जस्तो। यो माथिको डाँडा र परको मैदान के हो, भनी जिज्ञासा राख्दा सुरेशजीले बताए- यही त हो टेम्के र परको मैयुङखर्क। हामीले भन्यौं, लौ यहाँ त शहर बसाउनु पर्छ!
प्रारम्भिक जीवनमा लाग्थ्यो, शहर बन्नलाईसम्म परेको मैदानी भूभाग चाहिन्छ। तर, नाम्चे बजार र दार्जीलिङ सदरको भूगोल देखेपछि त्यो चेतना भङ्ग भयो र पहाड पर्वतमा पनि शहर बन्न सक्छ, भन्नेमा पुगियो। यसरी टेम्के क्षेत्रमा शहरीकरणको सोंच व्यक्त गरिएको थियो।
मंसीर २०५३ मा प्रथम पटक हामी टेम्केमाथि पुग्यौं। भोजपुर हुँदै हामी खोटाङतर्फ लाग्दै थियौं। गोगने गाउँका शिक्षक रामप्रसाद राईको घरमा बास बसेका थियौं- भाउजूले विहानको पनि सबेरै खाना दिनु भयो। खाएर उकालो चढ्न लागियो। तलबाट हेर्दा टेम्के प्रष्ट देखिन्थ्यो। अलिक माथि निस्केपछि एक जना काका उमेरको गोठाला भेटिनु भयो। उहाँलाई सोध्यौं, यसैगरी बारीको काल्लै काल्ला उकालो गएर टेम्के पुगिन्छ? काकाको जवाफ थियो, पुगिन्छ।
३१ बर्षको उमेर थियो, ठाडै उकालो निस्किइयो। पहिला बारीको काल्लै काल्ला, त्यसपछि घनाघोर झाडी-जंगल छिचोल्दै डाँडामाथि पुगियो। अनपेक्षित उपलब्धि, पाँच जना भाइबहिनीहरु घोचाघारा गर्दै रहेछन्। मेला आउदै रहेछ र होटल थाप्न पूर्व तयारीमा रहेछन्। हामी चाहिँ सिधै उत्तरपट्टि गएर बस्यौं। शिरानीमा झोला राखेर दृश्यपान गरिरह्यौं- चोमोलुङमाको। नियालेर हेर्दा सोलुखुम्बूका धेरै भाग देखिँदो रहेछ, त्यसमध्ये सोताङ-पावैको रातमाटे डाँडा पनि प्रष्टै चिनियो। आफू जन्मेको गाउँ ठाउँ, मौका मिल्नासाथ मन र आँखा त्यतै त डोरिने भयो!
दिनको २ बज्दैथ्यो, बादलले अचानक घाम छेक्यो। यत्ति तगडा हावाहुरी चल्यो कि झन्नै झन्नै उडाइ लान खोज्ने। भाइबहिनीका नजिकतिर हामी पुग्यौं। उनीहरुमध्येका ज्येष्ठ सुवाश साङपाङले भने,- दाजू यो भित्तामा आउनुस्! एक घण्टा बढि शक्तिशाली हुरी चलिरह्यो।
कोदोको सक्कली जाँड जत्ति पियो, अझ पिउनुस भन्ने, अझ अझ गर्दै किरातीशैलीको आग्रह स्वीकार गर्दा ग्यालेन रित्याइयो। दुई ग्यालेनको जोडेर ल्याउदा जम्माजम्मी चार लिटर भन्दा कम त पिइएन पक्कै पनि। टेम्केमा पहिलो पटक पुग्दा जुन स्वागत मिल्यो, त्यो कहिं कतै सोंचिएकै थिएन।
अर्को आश्चार्य, ती भाइबहिनीले खाजाका लागि जाँड बोकेका रहेछन्। एउटा पाँच लिटर र अर्को तीन लिटरका ग्यालेन थिए। उनीहरुले केही पिएका रहेछन्, बाँकी हामीलाई पिउन दिए। कोदोको सक्कली जाँड जत्ति पियो, अझ पिउनुस भन्ने, अझ अझ गर्दै किरातीशैलीको आग्रह स्वीकार गर्दा ग्यालेन रित्याइयो। दुई ग्यालेनको जोडेर ल्याउदा जम्माजम्मी चार लिटर भन्दा कम त पिइएन पक्कै पनि। टेम्केमा पहिलो पटक पुग्दा जुन स्वागत मिल्यो, त्यो कहिं कतै सोंचिएकै थिएन।
भाइ सुवाश साङ्पाङहरुले आफ्नो घर जोगनागी बताउथे।
अध्ययनक्रममा टेम्के क्षेत्रलाई किरात राज्यको राजधानी प्रस्ताव गरियो।
दर्जन स्कंस्कृति केन्द्रको योजना र बजेट
शस्त्रबलमा क्रान्ति जित्न पाइएको भए किरात गणराज्य र टेम्के क्षेत्रमा प्रादेशिक राजधानी सुनिश्चित थियो। किनभने, त्यसको अन्तिम निर्णय क्रान्तिकारीहरुले नै गरिन्थ्यो। परन्तु, तत्कालीन वस्तुगत तथा आत्मगत शक्तिसन्तुलनको दबावले सम्झौतामा आउनु पर्यो। यद्यपि, शान्तिसम्झौतामा हामीहरुको दृढ समर्थन रहिआएको छ।
शान्तिसम्झौता गर्दा जनसरकारहरु विघटन गर्नु पर्यो। किनभने, जनसरकार अनुमोदन गराउने तहमा क्रान्तिकारीहरुको शक्ति पुगेन। खासगरी एमाले र कांग्रेस नै ती विघटनकारी तत्व हुन्, जसले गर्दा जनसरकार विघट्न गर्नु पर्यो। त्यस अन्तर्गत किरात गणराज्य सरकार पनि विघटन गर्नु पर्यो। उप्रान्त संविधानसभाबाट स्वायत्त गणराज्यहरुलाई अनुमोदन गराइछाड्ने आन्तरिक संकल्प गरियो।
२०६४ बर्षातमा बालाजुमा पार्टीको छैठौं विस्तारित बैठक बसियो। विस्तारित बैठकपछिको केन्द्रीय समितिमा हाम्रै सुझाव र जोडमा तत्कालीन नेकपा माओवादीले आफ्नो पार्टी संगठनलाई १३ राज्य समितिमा पुनर्गठन गर्यो। जस अन्तर्गत किरात राज्य समिति ईन्चार्जको जिम्मेवारी हामीलाई तोकियो।
पार्टीपंक्तिका सबैले कठोर मेहेनत गरियो। किरात राज्य समितिको १२ मध्ये १० स्थान संविधानसभा सदस्य हासिल गरियो। जसले, संविधानसभाको राजनीतिक प्रतिस्पर्धामा जनताद्वारा किरात गणराज्यलाई भारी अनुमोदन मिलेको हो।
साधनस्रोत र क्षेत्राधिकार बुझ्दा संस्कृति मन्त्रालय श्रमिकवर्ग, लिङग एवं जातजातिका जनताको मन्त्रालय होइन रहेछ। छक्क परियो, जनताको सेवा कसरी गरौं?
गणतन्त्र घोषणा गर्दै प्रचण्ड सरकारमा पार्टीले हामीलाई संस्कृति तथा राज्य पुनसंरचना मन्त्रालयको जिम्मा दियो। साधनस्रोत र क्षेत्राधिकार बुझ्दा संस्कृति मन्त्रालय श्रमिकवर्ग, लिङग एवं जातजातिका जनताको मन्त्रालय होइन रहेछ। छक्क परियो, जनताको सेवा कसरी गरौं?
सीमाहरु छिचोल्दै देशमा दर्जन संस्कृति केन्द्र स्थापनाको धारणा विकास गरियो। जसका आधारमा नेपाल सरकारको संस्कृति मन्त्रालयलाई कमसेकम् त्यहाँसम्म पुर्याउन सकियोस्। जुन निम्न थिए:
• थारु संस्कृति केन्द्र, दाङ
• मधेसी संस्कृति केन्द्र, धनुषा
• कोच संस्कृति केन्द्र, झापा
• लिम्बू संस्कृति केन्द्र, पान्थर
• किराती संस्कृति केन्द्र, टेम्के
• शेर्पा संस्कृति केन्द्र, फाप्लु
• तामाङ संस्कृति केन्द्र, तिमाल
• नेवा: संस्कृति केन्द्र, ललितपुर
• तमु संस्कृति केन्द्र, पोखरा
• मगर संस्कृति केन्द्र, रोल्पा
• भोटेलामा संस्कृति केन्द्र, हुम्ला र
• खस संस्कृति केन्द्र, डोटी।
उपरोक्त योजना अन्तर्गत प्रत्येकलाई पाँच-पाँच करोडका दरले बजेट व्यवस्था गरिदिन तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराई कहाँ गयौं। हार्दिक समर्थनसहित उहाँबाट ६० करोड बजेट छुट्याइदिने प्रतिबद्वता भयो।
त्यस कामका निमित्त गम्भीर तयारीमा लागियो कि बजेट स्वीकृत हुनासाथ ६ महिनाभित्र तदतद् स्थानमा दर्जन सस्कृति केन्द्र भवन निर्माण गरिसक्ने । त्यस भवनमा सीमित कर्मचारी खटाएर साँस्कृतिक तालिम, संग्रहालय इत्यादि संचालन गर्ने र संघीय स्वायत्तता कार्यान्वयन गर्दा तदतद् भवनमा तदतद् स्वायत्त गणराज्य सरकारको अन्तरिम प्रधान कार्यालय राख्ने लक्ष्य तोकिएका थिए।
किनकि, नेपाल सरकारको तर्फबाट भावी स्वायत्त राज्यहरुको व्यवस्थापकीय दायित्व संस्कृति तथा राज्य पुनसंरचना मन्त्रालयमा थियो।
प्रधानसेनापति प्रकरण आइलाग्यो। साझेदार दलहरु सबै सरकारबाट बाहिरिए। माओवादी दल अल्पमतमा पर्यो। पार्टीले सरकारबाट राजिनामा गर्यो। दर्जन संस्कृति केन्द्रको योजना-बजेट गर्भमै तुहियो।
टेम्केमा भ्यू टावरको धारणा र शिलान्यास
अब के गर्ने भनी गम्भीर सोंच विचारमा लाग्नै पर्यो। देशव्यापी संस्कृति केन्द्रको भार उठाउन मिल्ने सन्दर्भ नै रहेन। टेम्केको पान्धारेमा प्रस्तावित संस्कृति केन्द्रका लागि जनस्तरबाट पाँच करोड संकलन होला त? विभिन्न साथीहरुसंग परामर्श गर्दा निस्कर्ष आइरह्यो, सम्भव छैन। किनकि, संस्कृति केन्द्रले त्यस स्तरमा जनताको ध्यानाकर्षण गर्न सक्दैन, भन्ने ठानियो।
असार २०६६ को कुरा हो, चीनको साङ्घाई दक्षिणस्थित लिङ्सान बुद्व प्यालेस सम्झिने काम भयो। (जहाँ आयोजित विश्व बौद्वसभामा हामी सहभागी रहिसकेका थियौं।) त्यहाँ विशाल ताइफु ताल भएको र ताल वरपर किनारामाथि नेपालको चुरे जस्तै डाँडाहरु रहेको तथा लिङ्सान प्यालेस मास्तिर ८८ मिटर अग्लो बुद्व मूर्ति खडा गरिएको रहेछ। त्यो सोंच्दै गर्दा टेम्केमा पनि कुनै त्यस्तै भव्यतम् संरचना कसो होला?
साथसाथै, जब हामी शान्तिसम्झौतामा आयौं, सपरिवार एक दिन नगरकोट गयौं। डाँडामाथि भ्यू टावर लेखिएको फलामे संरचना रहेछ। रुख चढे झैं उक्लनु पर्ने, हामी पनि चढि हेर्यौं।
हो, लिङ्सान बुद्व र नगरकोटको सामान्य फलामे संरचनाकै एकीकृत सोंच थियो, टेम्केमा भ्यू टावर अवधारणाको जग। लगत्तै इन्जीनियर तेम्बा शेर्पा सम्पर्क गर्यौं। तेम्बाजी लुम्बिनीमा योजना प्रमुख हुनुहुन्थ्यो। प्राविधिक तर्फ छलफलमा भेटेर कुरा गर्दा उहाँले टेम्के डाँडामा भव्यतम् भ्यू टावर सम्भव तथा आफुले सक्ने सहयोग पुर्याउने बचन दिनु भयो।
भदौ २०६६ धरानमा पार्टी राज्य समितिको बैठक बसियो। जहाँ अध्यक्ष मात्र रहेको किरात गणराज्य टावर निर्माण समिति प्रस्ताव गरियो। किनभने, निकट जनाधार जरुरी हुन्थ्यो। जिल्ला सेक्रेटरी दिपेशजीसंग भोजपुर निस्कियौं। उहाँसंग सम्भव भएसम्म टेम्के क्षेत्र बुझेको एक जना साथी चाहियो, भनी आग्रह गर्दा श्री सन्तोष सुनारलाई सिफारिस गर्नु भयो। सन्तोषजीसंग बैसाख २०६२ महाकुलुङको सात्दीमा भेट भएको थियो। उहाँ त्यस बखत सोलुखुम्बूसहितको विशेष जिल्लामा दलित मोर्चाको नेता हुनुहुन्थ्यो। टेम्के मुनि पान्धारेमा जन्म घर हुनाले सन्तोषजीसंगको सहकार्य सुखद रह्यो।
भदौ २२ गते तेम्बाजी पान्धारे आइपुग्नु भयो। २३ गते विहान गाउँले जनतासहित टेम्के निस्कियौं। तेम्बाजीले वरपर नापजाँच गर्नु भयो। संगसंगै स्थानीय शिक्षिका कृष्णा राईको हातबाट टेम्केमा किरात गणराज्य टावर शिलान्यास गरियो।
तलबाट बोकेर लगेको खाजा नास्ता गरेपछि तेम्बाजीसंग हामी वादुङ्लातर्फ झर्यौं।
हेलिकप्टर चढेर टेम्के पुग्ने पहिलो पर्यटक
खोटाङपट्टि खासै बिमति सुनिएन। तर, भोजपुरपट्टि आफ्नै पार्टीका साथीहरुको कचकच् उग्र बन्यो। साथीहरुको भनाइ थियो, टेम्केमा टावर बन्नै सक्दैन। राज्य ईन्चार्ज किरातीले पार्टीलाई संकटमा पार्दैछ!
गम्भीर विचार गर्दा टेम्केमा बाबुराम भट्टराईलाई लिएर जाने सोंच बन्यो। किनकि, उहाँ आफ्नो पार्टीको उपाध्यक्ष हुनुका साथसाथै आर्किटेक्ट प्राज्ञिक पनि हो। डा. बाबुरामलाई हामीले के भन्यौं भने ईन्जीनियर तेम्बा शेर्पाले सम्भव भनेर शिलान्यास गरियो। तर, पार्टीका साथीहरु सम्भव छैन, भनेर उग्र विरोध बोलिरहेका छन्। तपाइँले हेर्दिनु पर्यो। सम्भव भए काम अघि बढाओँ, नभए ठिकै छ, छोड्दिउँ।
भोजपुरपट्टि आफ्नै पार्टीका साथीहरुको कचकच् उग्र बन्यो। साथीहरुको भनाइ थियो, टेम्केमा टावर बन्नै सक्दैन। राज्य ईन्चार्ज किरातीले पार्टीलाई संकटमा पार्दैछ!
बाबुराम भट्टराई टेम्के जान सहमत बन्नु भयो।
उप्रान्त हेलिकप्टर भाडा खोज्न लागियो। नेपाली सेनाका मेजर रवीन्द्र बस्नेतको उडानमा धेरै यात्रा गरिसकिएको थियो। उहाँकै नेतृत्वको, सैनिक हेलिकप्टरमा डा. बाबुराम भट्टराईसहित हामीहरु टेम्के पुग्यौं। मौसम सफा थियो। काठमाडौंबाट हामीले बोकेको पाउरोटी बाँड्चुड गरेर खायौं। रोटी खाँदै बाबुराम बोल्नु भयो- हेलिकप्टर चढेर टेम्के आउने पहिलो पर्यटक हामी भयौं!
त्यो २०६६ असोज २९ गतेको दिन थियो।
फर्कदा दिक्तेलमा ओर्लियौं। भेटघाट सभामा बाबुरामले भन्नू भयो- टेम्केमा किरात गणराज्य टावर एक्दम सम्भव छ। जसरी ताजमहलले भारतको, ग्रेटवालले चीनको, आइफिल टावरले फ्रान्सको विकासमा योगदान गरेको छ, टेम्केमा भव्यतम् भ्यू टावरले किरात गणराज्यको विकासमा विशेष योगदान गर्नेछ।
त्यस उप्रान्त पार्टीमा कचकच् मूलतः घट्यो।
नक्साङ्कन अथवा डिजाईन र बजेट खोजी
डिजाईनको जिम्मा स्वत: तेम्बा शेर्पालाई हुने भयो। हामीले टेम्केमा टावरको आधारभूत मार्गचित्र अघि सार्यौं। जुन, निम्न अनुसार थिए:
१. टेम्केमा किरात गणराज्य टावरको आयू हजार बर्षको हुनु पर्नेछ,
२. टावरको स्वरुप चिण्डो प्रकारको हुनुपर्छ। जस अन्तर्गत टावरले दस किरात संस्कृति र दस बर्षे जनयुद्वको प्रतीमा-स्मारक अभिव्यक्त गरोस्,
३. अत्याधुनिक तथा भव्यतम् साँस्कृतिक सम्पदाको टावर बन्नु पर्छ,
४. टावरको एक उपल्लो तलामा मुन्धुम संचार केन्द्र रहने छ। जस मार्फत अत्याधुनिक प्रविधि संयोजनद्वारा दर्शक र अध्येताहरुलाई विश्व ब्रम्हाण्डको जानकारी तथा खोज अनुसन्धान कार्य गरियोस्,
५. टावरको अन्तिम तलामा विशाल आकारको चम्किलो विध्युतीय बल्ब राखियोस्। जहाँबाट दिउँसो भ्यू मार्फत पर एवं रातमा परबाट टेम्केतर्फ दृश्यावलोकन गरिने छ र
६. नेपाली रुपैया एक अर्बसम्मको लागत मूल्य जुटाउन सकिन्छ।
उपरोक्त आधारमा तेम्बाजीले परियोजनाको प्राविधिक विस्तार गर्नु भयो। जुन, निम्न थिए:
१. टेम्केमा टावर २४ डाया मिटर क्षेत्रफलको हुनेछ,
२. टावर दशभूजा (डेकागन) ढाँचाको हुनेछ,
३. टावर ३३ तलाको हुनेछ, जसको दशौं तलामा बेशिक भ्यू र बिशौं तलामा रिभोल्बिङ भ्यू रहने छ। रिभोल्बिङ भन्दा माथि प्राविधिक बाहेक अरु जान मिल्दैन,
४. बेसमेन्ट अन्तर्गत भूमिगत दुई तलामध्ये एकमा टावर व्यवस्थापन कार्यालय र अर्कोमा रेडियो तथा टेलिभिजन स्टेशन रहने छन्,
५. भूगतमाथिको सोह्रौं तलामा साँस्कृतिक तालिम केन्द्र, सत्रौं तलामा संग्रहालय, अठारौं तलामा ८८ जना क्षेमताको बैठक कक्ष, उन्नाइशौं तलामा मुन्धुम संचार केन्द्र र रिभोल्बिङ भ्यूतलामा चिया-कफी पसल रहने छ। (३० मिनेटमा एक फन्को घुम्ने रिभोल्बिङ तलामा कफी पिउदै पर्यटकहरु दृश्यपान गर्नेछन्।) उप्रान्त तलाहरु ब्यापारिक प्रयोजनका हुनेछन्,
६. टावरको व्यवस्थित संचालनमा न्युनतम २ मेघावाटसम्म ऊर्जा खपत हुनेछ। पिखुवाको शीरबाट नाला मार्फत खानेपानी आपूर्ति गर्न सकिन्छ,
७. हजार बर्ष आयूको टावर निर्माण गर्न भू- सतहबाट ४० मिटर गहिराइसम्मको माटो परिक्षण तथा ४० मिटर गहिराइबाट खम्बा गाडिनु पर्छ र
८. २०६८ को मूल्यमा टावरको बेसमेन्ट (फाउण्डेशन) मा ३५ करोड, संरचना निर्माणमा ३५ करोड र अन्य समग्र तयारीका लागि २९ करोड बढि रुपैयाँ लागत लाग्ने छ।
उल्लेखित परियोजना प्रस्ताव लिएर अघि बढ्यौं। व्यापक प्रचार, समर्थन, टिप्पणी जस्ता अनेक प्रतिक्रिया सुरु भए।
अबको चुनौति बजेट व्यवस्थापन कसरी गरौं?
तेम्बाजीलाई विदाई गर्न भोजपुर विमानस्थल झर्यौं। मैदानमा बसेर जहाज पर्खिरहँदा हामीले प्रश्न गर्यौं। सन्तोष सुनारद्वारा उपाय सुझाइयो- गाविसमा बजेट माग गरौं!
ठिक हो, जसले प्रारम्भिक खर्चको काम गर्नेछ।
२०६५ मा माओवादी सरकारले गाविस (गाउँ विकास समिति) प्रत्येकलाई न्युनतम् २५ लाखसम्म बार्षिक अनुदान विनियोजन गरेको थियो। यसरी एक अर्थमा गाविस धनी बनेको थियो। ठानियो, माओवादी केन्द्रीय नेता हुनुको नातामा टेम्केका लागि केही बजेट आग्रह गर्नु अन्यथा हुने छैन।
जहाँसम्म सम्झना छ, त्यसरी गाविसबाट जुटाइएको बजेट ३४ लाख थियो।
त्यो ५० लाख ऋण तत्कालीन पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जमानी राखेर लिइएको थियो।
उप्रान्त खोटाङ-भोजपुरका पार्टी सभासदहरु केहीको विकास बजेट, समानुपातिकतर्फका अरु जिल्लाका समेत माओवादी सभासदहरुको विकास बजेट, २०६९ मा अर्थमन्त्री बर्षमान पुन मार्फत प्राप्त २० लाख तथा असार २०६८ मा सोलुका एक शेर्पाजीसंग हामीले लिइएको निर्ब्याजी ऋण ५० लाख गरी जम्मा १ करोड ७४ लाख रुपैया टावर परियोजना पूर्वाधारमा संकलन र खर्च गरियो।
स्मरण जरुरी छ कि त्यो ५० लाख ऋण तत्कालीन पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जमानी राखेर लिइएको थियो। कारण, गाविस र सभासद कोषबाट प्राप्त बजेट भूगत (बाहिर देखिने) काममा मात्र खर्चनु पर्ने अन्यथा योजना फर्स्योट नहुने, यता माटो परिक्षण नगरी संरचना डिजाईन गर्न नमिल्ने, माटो परिक्षणका लागि गाविस र सभासद कोष खर्च गर्न नपाइँने (किनभने माटो परिक्षण भूमिगत तहको काम पर्थ्यो) इत्यादि जटिलताबाट गुज्रनु पर्यो। यसरी माटो परिक्षणका लागि त्यो ऋण खोज्नु परेको थियो।
ईन्जीनियर तेम्बा शेर्पा माध्यम चितवन जिविसको शक्तिशाली जेनरेटर खरिद गरेर बेसक्याम्प पुर्याइयो। बेसक्याम्पबाट ४०० मिटर माथि टेम्के डाँडामा तार-विजुली पुर्याएर माटो खनियो। बर्षायाममा दश स्थानबाट ४० मिटर गहिराइको माटो निकाल्न कम्पनीका कर्मचारीलाई तीन महिना लाग्यो।
सम्झना छ, काठमाडौंको माटो परिक्षण कम्पनीलाई ३१ लाख रकम भुक्तान गरियो।
वस्तुतः ३ हजार १० मिटर उच्चाइको टेम्केमा हजार बर्ष आयूको किरात गणराज्य टावर संरचना डिजाईन गरियो।
निम्न काम समेतमा १ करोड ७४ लाख बजेट खर्च गरियो। ती थिए:
° १४ कोठाको दुई तले बेसक्याम्प भवन निर्माण गर्दा ६२ लाख रुपैया लाग्यो। जुन, भवन निर्माण सामग्री भण्डारण तथा कामदार ठहर्नका लागि बनाइएको हो।
°चखेवा-पान्धारे सडकदेखि टेम्केसम्म साँढे ७ किलोमिटर कच्ची सडक निर्माण गरियो, जहाँबाट सामग्री ढुवानी गर्न सकियोस् र
° टावरको भूमिगत दुई तले संरचना निर्माण गर्नलाई जग (फाउण्डेशन खाल्डो) खनियो।
समग्र खर्च विवरण खोटाङ-भोजपुर जिल्ला विकास समितिमा दाखिल लेखा परिक्षण प्रतिवेदनमा मौजुद छन्।
अन्त्यमा, माओवादीभित्रको वाम विसर्जनवाद र बाहिर कांग्रेस-एमालेवाला यथास्थितिवादी अपराधका कारण प्रथम संविधानसभाबाट प्रगतिशील संविधान जारी गर्न पाइएन। कमरेड मोहन बैद्यद्वारा औचित्यहीन पार्टी विभाजन गरियो। देशको राजनीति अचाक्ली बिग्य्रो। भने जस्तो एक अर्ब बजेट जुटाउने परिस्थिति बन्नै सकेन। परिणाममा, तत्काल टेम्केमा किरात गणराज्य टावर परियोजना सम्पन्न गर्न सकिएन।
माओवादीभित्रको वाम विसर्जनवाद र बाहिर कांग्रेस-एमालेवाला यथास्थितिवादी अपराधका कारण प्रथम संविधानसभाबाट प्रगतिशील संविधान जारी गर्न पाइएन।
विदेशस्थित शुभेच्छुक मित्रहरुले चन्दा संकलन जमर्को पटक-पटक गरेका हुन्। तर, हामीले स्वीकृति गरेनौं। किनभने, भू-सतहको ४० मिटर तलदेखि माथि दुई तलासम्मको निर्माण कार्यमा ३५ करोड लाग्दथ्यो। चन्दा उठाउदा कति समयभित्र कति रकम जुट्न सक्छ, बोल्न सकिन्नथ्यो। ३५ करोड बिना भू-सतह माथि अथवा बाहिर देखिने संरचना बन्दैनथ्यो। त्यसवीच, बाहिर देखिने काम नहुँदा फलानाले खायो, भनेर उत्पात मच्चाउने महानुभावहरुको कमी थिएन। त्यस परिस्थितिमा हामीहरुको सोंच के रह्यो भने कम्तिमा ५० करोड भन्दा माथि नेपाल सरकार मार्फत अनुदान जुटाउने र उप्रान्त श्वैक्षिक चन्दा अपील गर्ने। त्यसरी मात्र फाउण्डेशन बन्ने पक्कासहित सार्वजानिक चन्दा अपील सदुपयोग हुन् सक्दथ्यो।
२०६८ मा पार्टीको तर्फबाट बाबुराम भट्टराई प्रधानमन्त्री बन्नु भयो। हामी स्वयं त्यस सरकारमा दोस्रो पटक मन्त्री थियौं। टेम्के परियोजना खातिर अनेक पटक बजेट आग्रह गरियो। किन हो, प्रमं बाबुरामले पटक्कै कान थाप्नु भएन।
त्यस्तै, २०७३ मा दोस्रो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा ५०/६० करोड बजेट मिलाइदिन सम्पूर्ण जोड गरियो। जबकि त्यस साल प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले कार्यक्रम बनाई खर्च गर्ने भइपरि बजेट ९० अर्बको थियो। प्रचण्ड पनि मौन रहनु भयो। किन त्यस्तो भयो, कारण जान्न पाइएको छैन।
राजनीतिक बिग्रहका साँढे दुई कारकतत्व
त्यसवीच प्रचण्ड र बाबुराम भटराईले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई घिसारेर सहमतिको संविधानमा ल्याउने सफलता मिलेको हो। सो बमोजिम २०६९ वैसाख २२ गते राती संविधानको अन्तर्वस्तुमा सहमतिसहित संविधान जारी गर्नलाई तीन दलवीच राष्ट्रिय एकताको सरकार गठन निर्णय भएको हो। हामीलाई सम्झना भए अनुसार त्यस अन्तर्वस्तु सहमतिका केही बुँदा निम्न थिए:
° लिम्बुवान-मेची, किरात-कोशी, ताम्सालिङ -ईन्द्रावती, नेवा-बागमती, तमुवान-गण्डकी, मगरात-राप्ती, तराईमा थरुवान-मधेशका दुई र पश्चिम पहाडतर्फ दुईसहित १० जोड ११ प्रदेशको संघीयता,
° प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसद निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरुप एवं
° दलित समुदायको अधिकारमा यत्ति सशक्त सहमति थियो कि जुन वैज्ञानिक समाजवादमा मात्र सम्भव लाग्दथ्यो।
आध्य-प्रतिक्रान्ति त्यही विन्दूबाट सुरु भयो, जहाँबाट बैद्य-विप्लवले वाम विसर्जनवाद प्रदर्शन गर्न थाले।
२०६९ वैसाख २२ गते राती बनेको उपरोक्त सहमति कार्यान्वयनका लागि २३ गते दिउँसो कांग्रेसबाट कृष्ण सिटौला र एमालेबाट इश्वर पोख्रेलले मन्त्रीमण्डलमा सपथ-ग्रहण लिए। ठूलो पार्टीको हैसियतमा बाबुराम भट्टराई प्रधानमन्त्री यथावत कायम थिए।
आध्य-प्रतिक्रान्ति त्यही विन्दूबाट सुरु भयो, जहाँबाट बैद्य-विप्लवले वाम विसर्जनवाद प्रदर्शन गर्न थाले। उहाँहरु पार्टी (माओवादी) भित्र जनवादी संविधान चाहियो भन्ने, उता कांग्रेस-एमालेसंग भेटेर किन सहमति गरिस् भन्दै भड्काउनेमा जोड्तोडले लागेका समाचार पढ्नु पर्यो। कांग्रेस-एमाले नेतृत्वपंक्तिलाई, अन्तरिम संविधानको कार्यादेशमा नयाँ संविधान मनपरिरहेको थिएन। केही दिनमा "माओवादीभित्रको अन्तरकलहले संविधान नबन्ने भयो, संविधान जारी नगर्ने सरकारमा बसिरहनुको औचित्य रहेन" भन्दै कृष्ण सिटौला र इश्वर पोख्रेलले राजिनामा गरे। अब सरकारमा माओवादी मात्र रह्यो। प्रथम संविधानसभा बिना संविधान मर्यो।
जनमुक्ति सेनाको प्रश्नमा लडाकु समायोजनपछि मात्र संविधान भनेर कांग्रेस-एमाले अड्डि कसाइमा थिए। सेना समायोजन त २०६३ कै पार्टी निर्णय थियो। तर, बैध्य-विप्लवले जनसेनामा पनि भड्काउ बाँकी राख्नु भएन। अन्यथा ६ हजार ५ सय जना जनसेना समायोजनको दलीय सहमति बनेको हो। तर, आन्तरिक भड्काउका कारण जम्मा १४ सय जना मात्र साथीहरु समायोजनमा पुग्नु पर्यो। त्यस्तो आन्तरिक भड्काउ नभइदिदो हो त अरु ५१ सय जना साथीहरुले स्वदेश सेवाको रोजगारी हासिल गर्थे।
६ हजार ५ सय जना जनसेना समायोजनको दलीय सहमति बनेको हो। तर, आन्तरिक भड्काउका कारण जम्मा १४ सय जना मात्र साथीहरु समायोजनमा पुग्नु पर्यो।
प्रथम, तत्कालीन माओवादीभित्रको वाम विसर्जनवाद र दोस्रो, कांग्रेस-एमालेको यथास्थितिवाद नै राजनीतिक बिग्रहको मूल कारकतत्व बन्यो। जसले गर्दा प्रथम संविधानसभाबाट अधिकतम् प्रगतिशील संविधानको ठोस परिस्थिति नराम्ररी भाँडियो। दोस्रो संविधानसभामा क्रान्तिकारी माओवादीको स्थान ज्यादै कमजोर बन्न पुग्यो। परिणामस्वरुप न्युनतम् प्रगतिशील संविधान स्वीकार गर्नु पर्यो। त्यसयता त्यसरी थोपरियो, नेपाली राजनीतिमा अवान्छित दु:खको कारण।
प्रचण्ड-बाबुरामतर्फको समस्या निम्न घटनाबाट प्रकट गर्न सकिन्छ:
पहिलो, शान्तिसम्झौतायता एक पनि मार्क्सवादी स्कुलिङ संचालन नगर्नु,
दोस्रो, लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीतिवारे पार्टी नेतृत्वपंक्तिमा समझदारी कायम गर्न नसक्नु,
तेस्रो, कार्यकर्ता व्यवस्थापनको संस्थागत नीति निर्माण नगर्नु,
चौथो, पार्टी हैसियत दुरुपयोग गरेर सम्पति लुटपाट गर्ने नेताहरुलाई खुलेआम छुट दिनु र
पाँचौं, क्रमश: रक्तसम्बन्ध प्राथमिकता।
अन्ततः २०७४ मा आइपुग्दा माओवादको विचार र पहिचान मुद्दा त्यागेर प्रचण्डहरु पनि नाम फेरिएको एमालेतर्फ विलयमा हाम्फाल्नु भयो। जुन, दक्षिणपन्थी विसर्जन थियो। वाम विसर्जनबाट सुरु भएको माओवादी विघटन दक्षिणपन्थी विसर्जनमा पुगेर समापन भयो। प्रकारान्तरले मुख्यतः दक्षिणपन्थी विसर्जनवादले माओवादी आन्दोलनको प्राण उडायो।
२०७४ मा आइपुग्दा माओवादको विचार र पहिचान मुद्दा त्यागेर प्रचण्डहरु पनि नाम फेरिएको एमालेतर्फ विलयमा हाम्फाल्नु भयो। जुन, दक्षिणपन्थी विसर्जन थियो।
२०७७ मा सर्वोच्च अदालतको राजनीतिक फैसलाले प्रचण्डहरुलाई माओवादी केन्द्र बोकाइदिएको त छ, तर त्यो क्रान्तिकारी आत्मा घोटेर मारिएको आवरण-औपचातिकता झैं प्रतीत छ। अत: माओवादी पार्टी र देशको राजनीति भाँडिनुमा आधा कारकतत्व प्रचण्ड-बाबुराम देखिन्छन। गणतन्त्रयता नेपालमा अर्थराजनीतिक विग्रहका साँढे दुई कारकतत्वमध्ये आधा प्रचण्डवादी ठहर्छन।
टेम्के परियोजनाका विस्तारित शाखाहरु
किरात गणराज्य टावर निर्नाणसंग आवद्व विभिन्न विस्तारित कार्ययोजनामध्ये निम्न उल्लेखनीय छन्:
एक, भ्यू टावरको अन्तिम प्रवेशद्वारमा एकापट्टि सुम्निमा र अर्कापट्टि पारुहाङ्को चरमोत्तेजक यौनाकृतिमा ह्यमान ढुंगे मूर्ति राख्ने। टावरको दक्षिण विन्दूमा १० मिटर अग्लो यलम्बरको मूर्ति स्थापना गर्ने।
दुई, पान्धारे-टेम्के, चिमलटार-टेम्के, चखेवा- टेम्केसम्मको तीनवटा मिनी ग्रेटवाल निर्माण गर्ने। जुन, १२ मिटर उच्चाइ ४ मिटर चौडाइको होस्।
तीन, सम्पदा गाउँ (हेरिटेज भिलेज) प्रबन्धगरी आदिवासीको प्रागैतिहासिक तथा ऐतिहासिक जीवनचर्या प्रदर्शन गर्ने।
चार, होटल व्यवसाय र व्यापारबन्दका लागि मुस्ताङबाट थकाली, भक्तपुरबाट नेवार, धनुषाबाट मधेसी, विराटनगरबाट मारवाडी तथा पान्थरबाट लिम्बूको दुई-दुई परिवारलाई टेम्केमा बसोबास आमन्त्रण गर्ने।
पाँच, राज्य तथा गैरराज्य सम्बद्व निकायलाई आग्रह गरि स्थानीय जनतामाझ घरबास पर्यटन (होमस्टे) तालिमहरु संचालन गर्ने।
छ, दक्षिणतर्फ सेल्मे डांडामा अन्तर्राष्ट्रिय मूर्तिपार्क। जसमा, शाक्यमुनी बुद्वसहितका १०८ मूर्ति स्थापना गर्ने।
सात, टेम्के र सेल्मेवीच तावाभन्ज्याङमा विशाल तावा पोखरी एवं सम्बद्व जंगल क्षेत्रमा चिडियाखाना।
आठ, उपयुक्त स्थानमा मेडिकल कलेजसहित किरात विश्वविध्यालय स्थापना,
नौ, गुणात्मक परिवर्तनको राजनीतिक आन्दोलनमा जीवन समर्पित गर्दा सर्वश्व गुमाउने योद्वाहरुका निम्ति १०० परिवारलाई आवास व्यवस्था,
दश, टेम्के/चिमलटार- हलेसी केवलकार संचालन एवं
एघार, टेम्के वरिपरि अरु जे सम्भव र आवश्यक छ, सो काम गर्ने।
टेम्के परियोजनाको मूल अपेक्षा
टेम्केमा भव्यतम् साँस्कृतिक सम्पदा निर्माणको प्रमुख अपेक्षा पूर्वी पहाडस्थित विशाल शहरीकरण योजना हो। भनिसकियो, प्रकारान्तरले शहरीकरण अभावमा गाउँले जातिको अस्तित्व संकटग्रस्त बन्दछ। त्यसैले बृहत् पहाडी शहर निर्माण सोंच टेम्के परियोजनामा अन्तर्निहित रह्यो।
जस्तो कि यलम्बर बंशले ३२ पुस्ता राज्य गरेको नेपाल उपत्यकामा राईकिराती बाहुल्य शहर अब सम्भव छैन। धरानमा राईहरुको ठूलो उपस्थिति छ, तर धरानलाई विशुद्व राईकिराती शहर दावी व्यवहारिक लाग्दैन। गाईघाटको प्रश्नमा त्यहाँको नदी ईलाका दनुवार र थारुले आवाद गरेका हुन्।
हामीले अवधारणा प्रस्तावित गरेका हौं, तायजोङ शहरीकरण आयोजना। जहाँ दुधकोशीको रावादेखि अरुणको ईर्खुवा नदीसम्म शहरीकरण स्वत: सम्भव छ।
यसरी हेर्दा आगत नेपालमा विभिन्नमध्ये एक समुदाय- राईकिरातीको मौलिक राष्ट्रिय जीवनदशा चुनौतिपूर्ण लाग्दछ। परिणामस्वरुप आफ्नो सामुदायिक चरित्रमा राष्ट्रिय प्रतिस्पर्धाको जीवन बाँच्न कठिन हुन् सक्दछ। त्यसैले हामीले अवधारणा प्रस्तावित गरेका हौं, तायजोङ शहरीकरण आयोजना। जहाँ दुधकोशीको रावादेखि अरुणको ईर्खुवा नदीसम्म शहरीकरण स्वत: सम्भव छ। जसले, सर्वप्रथम खोटाङ-भोजपुरको समाजलाई जोड्दार एकीकृत गर्दछ। जसको परिणाम उदयपुर, संखुवासभा, सोलुखुम्बू र ओखलढुंगावीच आदिवासी तथा प्रगतिशीलजनको राजकीय नाता सुदृढ हुनेछ। अत: टेम्केलाई केन्द्र मानेर किरात गणराज्य पुनर्थापना रणनीति अख्तियार गरिएको हो, भनी बुझ्न स्वत: सकिन्छ।
तायजोङ (Tayjong) शहरमा राईकिराती मात्र बसोबास गर्ने भन्ने होइन। निजी बसोबास त जहाँ जसले पनि गर्न सकिन्छ। मुख्यतः यहाँ सामुदायिक राष्ट्रिय जीवनको प्रश्न उठान हो। यसर्थ राईकिराती बाहुल्य शहरीकरण हुनुपर्छ, भन्न खोजिएकोवारे प्रष्ट होस। प्रथम संविधानसभा राज्य पुनसंरचना समितिले पहिचानको पाँच आधारमा राज्य पुनसंरचना गर्ने सैद्वान्तिक आधार प्रस्तुत गरियो। जसमा जातीय पहिचान, भाषिक पहिचान, साँस्कृतिक पहिचान, ऐतिहासिक पृष्ठभूमि र भौगोलिक सम्बद्वता थिए। त्यस आधारमा प्रस्तावित विभिन्नमध्ये एक किरात गणराज्य अथवा प्रदेश हो।
जहाँ, लेनिन अनुसार सम्बन्धित जातिका संसारभारिका मानिसहरु आकर्षित होउन र उनीहरुले चाहेको राष्ट्रिय सामुदायिक जीवन बाँच्न सकुन! यध्यपि, नेपालको सन्दर्भमा देश बाहिर बसोबास गर्ने सम्बन्धित जातिका नागरिकलाई विध्यमान कानूनमा साँस्कृतिक अधिकार मात्र उपलब्ध छ।
नयाँ राष्ट्रिय एकीकरण सपना
जसरी टेम्केको भ्यू टावरमा विशाल आकार तथा क्षेमताको विध्युतीय बल्ब राखिने छ र रातमा परबाट हेरिने छ, ठिक त्यसरी नै ईलामको मिक्लाजोङ र पान्थर सिलौटीमा भ्यूटावर या त्यस्तै सम्पदा निर्माणद्वारा विशाल विध्युतीय बल्ब राख्ने सोंच हो। उदयपुरको रौतापोखरी या भालेबास, ओखलढुंगाको चुप्लुभन्ज्याङ, सिन्धुली, ललितपुर, चितवन, तनहु, घनपोखरा, तान्सेन, अर्घाखाँची, प्युठान , रोल्पा, सल्यान, सुर्खेत, कालिकोट-जुम्ला, अछाम-डोटी, डडेलधुरा हुँदै बैतडीसम्मका निर्धारित उच्च डाँडाहरुमा विशाल आकारका चम्किलो विध्युतीय बल्ब राखियोस्। जसलाई, तराई-पहाड-हिमाल सबैतिरबाट देख्न सकियोस्। जसबाट एक-एक गर्दै बैतडीदेखि ईलाम देखेको अनुभूत गर्न पाइयोस्।
जसले, एकातिर नेपालमा नयाँ राष्ट्रिय एकीकरणको मनोविज्ञान वस्तुतः निर्माण गरिन्छ भने संगसंगै ती विध्युतीय बल्बयुक्त स्थलहरुमा अनेक बजार तथा शहरीकरण अनिवार्य बढाइने हुन्छ।
साथसाथै, हामीले के अवधारणा पनि अघि सारेका हौं भने हिमाल-तराईवीच द्रूत गतिको दशवटा सुरुङ रेकमार्ग निर्माण गरिनु पर्छ। ती निम्न थिए-
° कन्चनजंगा- झापा,
° मकालु- सुनसरी,
° चोमोलुङमा- सिरहा
° गौरीशंकर- महोत्तरी,
°गणेश हिमाल- चितवन,
°मनास्लु- नवलपरासी,
°धौलागिरी- रुपन्देही,
°सिस्ने हिमाल- दाङ,
° कान्जिरोवा- कोहलपुर,
°हुम्ला/दार्चुला- कैलाली।
उपरोक्त रेलमार्गका उपलब्धी निम्न हुनेछन्:
पहिलो, यत्ति द्रूत गतिको रेल कि १ घण्टामा हिमालबाट तराई र १ घण्टामा तराईबाट हिमाल पुग्न सकियोस्। जसले गर्दा तराईमा आफ्नो खेतीपाती, व्यापार व्यवसाय या सरकारी सेवा सकेर मानिस बेलुका हिमालको बासस्थान पुग्न सकोस्। त्यसरी नै हिमालबाट विहान तराई पुग्न सकियोस्।
रेलमार्गको वीचवीच आवश्यकता र सम्भाव्यता अनुसार पहाडमा सब-स्टेशनहरु राख्न सकिन्छ।
दोस्रो, रेलमार्ग अन्तर्गत नाला (पाइप) द्वारा हिमालको पानी सिधै तपाईमा झार्न सकिन्छ। जसलाई, प्राकृतिक पिउने पानीमा सर्वत्र उपभोग गर्न सकिन्छ र
तेस्रो, उपरोक्त रेलमार्ग परियोजना मार्फत पनि हरसभव नयाँ राष्ट्रिय एकीकरण भावना बढाउन सकिन्छ।
दशवटा सुरुङ रेलमार्ग निर्माणको त्यत्रो सम्भवतः खर्बौं बजेट कहाँबाट ल्याउने? अर्थशास्त्रको सिद्वान्त हो, आवश्यकता। जसले, राज्यशासन गर्ला, उसले नेपाल र नेपाली जनताको आवश्यकता संबोधन गर्ला। मात्र के भने नेपालको राष्ट्रिय स्वाधीनता र सामुदायिक जनहीवनमा आँच पुग्ने हर्कत गर्न पाइँदैन।
यो पनि बिर्सन सकिन्न कि माथिको रेलमार्ग सपनावारे कमरेड बादलको हार्दिक सहमति थियो।
अन्ततः ध्यान रहोस, भारतीय वैज्ञानिक अब्दुल कलामले भनेका रहेछन्- सपना त्यो हो, जसले मानिसलाई निदाउन दिँदैन।
टेम्के बेसक्याम्पको बसाई
बजेट जुट्न नसक्दा टावर निर्माण कार्य अवरुद्व हुने नै भयो। कैयन मिथ्या आरोपका मुद्दाहरुले दिक्कै पार्न खोजे। चैत २०७१ देखि कमरेड पासाङसंग बेसक्याम्पमा आलोपालो बस्न थालियो। शुभेच्छुकहरुसंग सरसापटी मागेर पाँडाबाछा किनेर पालियो। मोटामोटी चैतदेखि कात्तिकसम्म वस्तुभाऊ आफै चरेर अघाउने ठाउँ। तर, घाँसपातको जोहो असम्भव हुँदा हिउँदको चार महिना ज्यादै कष्टकर।
कैयन मिथ्या आरोपका मुद्दाहरुले दिक्कै पार्न खोजे। चैत २०७१ देखि कमरेड पासाङसंग बेसक्याम्पमा आलोपालो बस्न थालियो।
थप सानो पाँडाबाछा बाघले खाइदिने। भालु त्यत्तिकै उग्र। एक पटक गतिलो भइसकेको ठूलो राँगाले बुलुघाँस खाएछ, झन्नै मर्यो। तर, बाँचे पनि त्यसले जीऊ फेर्नै सकेन। हामीलाई यस्तो किन गाह्रो पर्यो भने हामी पार्टी केन्द्रको स्थायी समिति सदस्य थियौं। पार्टी काम र बेसक्याम्पमा गर्दा विगत छापामार तालिम भन्दा कम मुस्किल परेन। फेरि पनि स्थानीय गोठवाला धनकुमारेम्पा- धनकुमारेम्मा र बमवहादुर बस्नेतको अमूल्य सहयोग बिर्सन सकिन्न। बेसक्याम्प निम्ति पर्याप्त जमीन दिनु हुने नन्दमणी राई, दिल्पाका मित्र बिष्णु राई परिवार तथा बाँझेगाउँका मिलन राई परिवारलगायत असंख्य साथीहरु धन्यवादको अमर पात्र हुनुहुन्छ।
धान्न नसकेर राँगाहरु क्रमश: बेचि पठायौं। के कत्ति हो, पासाङजीले रकम राख्नु भएको थियो। वस्तुभाऊ बिना नै पनि बेसक्याम्प रेखदेखमा आउने जाने गरिराखेका थियौं।
मंसीर २०७४ मा बेसक्याम्प पुग्दा साह्रै अमिलो लाग्यो। कारण, त्यहाँका हाम्रा सामानहरु सबै चोरिएछन्। ढोकाको ताला नराम्ररी फुटाइएका थिए। भाँडा वर्तन र अन्न केही बाँकी थिएन। २०६८ टेम्के महोत्सवमा पुग्दा बाँझेगाउँका गुरुङ चेलीहरुले उपहार दिनु भएको लम्पट-राडी, बौद्वस्थित कार्यक्रममा शेर्पा मोर्चाले दिएको हिमाली टोपी, जनकपुरका मुस्लिम मित्रले दिनु भएको गान्धी खादिवाला गहकिलो हाफ्कोट, सन्तोषजीले दिनु भएको सिरुपाते खुकुरी र भाइ कपील राईले खर्च भनी छोडिजानु भएको सय-सयका ३६ नोट, जो हाम्रो कोठामा राखिएका थिए, ती केही बाँकी थिएनन्।
त्यहाँका हाम्रा सामानहरु सबै चोरिएछन्। ढोकाको ताला नराम्ररी फुटाइएका थिए। भाँडा वर्तन र अन्न केही बाँकी थिएन।
त्यसपछि, हामीले भन्दै आएका हौं- भावना बिनाको मानिस क्रान्तिकारी हुँदैन। फेरि भावनाले मात्र पनि क्रान्ति हुँदैन। हामी समवेदनशील भावनासहितका क्रान्तिकारी हौं। ती उपहारहरु, जुन अत्यन्त सम्मान र जतनसाथ राखिएका थिए। चोरी हुँदा हामीहरुको भावनामा अगणित चोट पुग्ने नै भयो। उप्रान्त टेम्के बेसक्याम्पमा बस्न छाडियो।
किनभने, आफू चाहिँ टेम्के परियोजना खातिर असार २०६८ मा ५० लाख ऋण लिएर, त्यसमा एक रुपैया नखाइकन लगानी जुटाउने, तर ती चोरहरु भने हाम्रा उपहार, मूल्यवान पुस्तक, काठमाडौं डेराबाट परिवारसंग अंश लिएको भाँडा वर्तन, केही पाथी चामल, आलु, प्याजलगायतका खानेकुरा, धरानका रमेश राईले पठाइदिनु भएको तीन केजी रुवावाला सिरक-डसना, विर्तामोडका भीम राईले ल्याइदिनु भएको स्लिपिङ्ब्यागसहित हाम्रो एक सरो लत्ताकपडा चोर्ने? त्यहाँदेखि यहाँसम्मको डेढ दशक बित्दै गर्दा ऋण दिने शेर्पाजी के भन्दै हुनुहुन्छ? ती चोरहरुलाई ज्ञान छ?
तदनुरुप परिस्थिति, व्यवहारिक कठिनाइ तथा भावनात्मक समवेदनशीलता समेतका कारण एक जना देशभक्त सर्वहारा बेसक्याम्पमा बस्न मिल्ने स्थिति रहेन।
सार्वजानिक प्रष्टीकरण
पाठकले अब त बुझ्नु भयो होला, सर्वोत्तम् राष्ट्रिय आकाङ्क्षाले टेम्केमा किरात गणराज्य टावर निर्माण प्रारम्भ गरिएको हो, भनेर। यसका सबल र दुर्बल पक्ष निम्न हुन् सक्दछन्:
एक, तत्कालमा भने जस्तो परियोजना सम्पन्न गरिहाल्न सकिएन। जसका कारणवारे यस अघि विस्तृतमा बताइसकिएको छ। जुन, आजको मितिसम्म दुर्बल पक्ष रह्यो।
दुई, इतिहास बखान्ने गरिन्छ, चार हजार बर्ष अघिका यलम्बरदेखि। तर, चौधौं शताब्दीमा लेखिएको गोपाल राजबंशावली बाहेक नेपालमा किरात राज्यकालको अपेक्षाकृत पुरातात्विक प्रमाण पाउन सकिन्न। अटलसिं खम्बूदेखि जननायक रामप्रसाद राईसम्मको बेजोड बखान गर्ने पुस्ताका अगुवा हामी नै हौं। फेरि पनि थुथुरी बेद भनिने मौखिक इतिहासका भरमा २१औं शताब्दीमा राजकीय पहिचान र अधिकार खोज्नु छ। यसैले त होला, कष्टसाध्ये कठिनाइको भार वहन गर्नु परिरहेछ।
किरात गणराज्यको सशस्त्र आन्दोलन तयारी र कार्यान्वयनका बखत कस्तो पीडा हुथ्यो भने अग्रजहरुले कुनै न कुनै भौतिक अथवा पुरातात्विक महत्वको कार्यारम्भ मात्र गर्दिएको भए आज हामीले समीक्षा गर्ने कार्यसूचि प्राप्त गर्दथ्यौं। किन सम्पन्न भएछ हँ? अनि समीक्षा गर्दै नयाँ पुस्ता अघि बढ्न पाउथ्यो।
परन्तु, पूर्खालाई दोषभागी बताएर केही हात लाग्दैनथ्यो र नै आफ्नो पुस्ताले जे सक्यो, पहल गर्नुपर्छ, भन्ठानियो। किनभने, भोलिको पुस्ताका निमित्त हामीहरु पनि पूर्खा बन्नै त पर्यो, गतिलो होस या अगतिलो नै किन नहोस्।
हामीलाई दृढ विस्वास छ, समाजवादी लोकतन्त्रको अर्थराजनीतिक कार्यदिशामा संविधानको समाजवादी कार्यान्वयन परिस्थिले टेम्केमा किरात गणराज्य टावर निर्धारण गर्छ।
यसर्थ टेम्केमा भ्यूटावरको सबल पक्ष यो हो कि सुन्दरतम् राष्ट्रिय सोंच अभिव्यक्त गरियो। किन बनेन र बन्नु पर्छ पर्दैन? सर्वाधिकार जनसमुदायमाझ निहित छ। जुन, विहङगम समीक्षाको कार्यसूचि स्वत: बनिरहेछ। जसले, पहाड खन्ने मूर्ख बुढाको रणनीतिक कथा स्मरण गराइरहन सक्छ।
भन्नू हुन्छ भने हामीलाई दृढ विस्वास छ, समाजवादी लोकतन्त्रको अर्थराजनीतिक कार्यदिशामा संविधानको समाजवादी कार्यान्वयन परिस्थिले टेम्केमा किरात गणराज्य टावर निर्धारण गर्छ। यसको अर्थ देशीय राजनीति सुल्झिनासाथ भ्यूटावर निर्माण गरिछाडिन्छ।
यो पनि कि कतिपय मानिस प्रश्न गर्छन- अग्लो ठाउँमा फेरि अग्लो भ्यूटावर किन? किनभने, दुनियाँको ध्यानाकर्षण गर्नुछ, टेम्के क्षेत्रको साँस्कृतिक गुरुत्व बढाउनु छ। जसको बलमा रावादेखि ईर्खुवासम्म र आम्चोकदेखि पत्करु हुँदै अझ पूर्व-पश्चिम, अझ उत्तर-दक्षिणसम्मको किरात गणराज्यमा बृहत् शहरीकरण साक्षात बनोस्। अत: अग्लो चुचुरामाथि अझ अग्लो भ्यूटावर परियोजना सधैं भुइँमा लडिरहने खुम्लेकिरा होइन, युरेशियन आकाशमाथि कावा खाँदै साकेला नाच्ने कर्याङ्कुरुङ चिन्तन बन्यो।
भ्यूटावर नै किन? किनभने, किरात गणराज्यमा शहरीकरण निमित्त बाहेक उपाय प्रभावकारी देखिएन।
त्यस्तै, आठ सय जिल्लाको नयाँ नेपाल विचार ७५३ स्थानीय तहमा संस्थागत भएर गाउँ क्षेत्रमा राहत सामान्यतः मिले पनि त्यसले राष्ट्र-राज्यको हैसियत अभिव्यक्त गर्दैन। अत: विभिन्नमध्ये एक किरात गणराज्यको आन्दोलन जारी छ, लक्ष्य हासिल नभएसम्म यो जारी रहन्छ।
अन्त्यमा, हामीले भन्ने गरेका छौं, सामान्यतः हाम्रो देशका सबै ठाउँ, गाउँ शहर मनपर्छ, विशेषत: हामीलाई टेम्के मनपर्छ। किनभने, टेम्केबाट दक्षिणतर्फ कोचिला र मधेशसहित पश्चिमतर्फ सिधै आधा नेपाल देखिन्छ। पूर्वको कन्चनजंगादेखि चोमोलुङमा हुँदै पश्चिमतर्फ मनास्लु हिमालसम्म देखिनु भनेको आधा नेपाल देखिनु हो। हाम्रो देशमा अरु त्यस्तो कुनै स्थान छैन, जहाँबाट आधा नेपाल देख्न सकियोस्। त्यो टेम्केबाट मात्र सम्भव छ। अत: हामीलाई टेम्के ज्यादै मनपर्छ।
भदौ २०८२, भक्तपुर

भारतले छिमेकीहरुको अस्तित्वलाई सम्मान गर्न जानेन

धर्म, राजनीति र महत्वाकांक्षा: पाकिस्तान र भारतको विभाजनको दु:खान्त

म मरें भने म आफ्नो सिद्धान्तमा अडिग भएर मर्छु

नेपालका 'कम्युनिष्ट' मठाधीशहरू राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु …

दलाल पूँजीवादको बदलिँदो अनुहार

हालसालै उभयगत मोहनविक्रम सिंहसँगका केही रोचक प्रसङ्गहरु

मारिने निश्चयको भूमिगत जीवन

प्रतिक्रिया