एरिस्टोटलको ‘पोलिटिक्स’: मानव स्वभाव, न्याय, शासन संरचना र आदर्श राज्यको दार्शनिक खोज
प्रत्येक मानिसको एउटा छायाँ भएजस्तै हरेक उत्तम सरकारको पनि एउटा एउटा भ्रष्ट, विकृत रूप हुन्छ

आजभन्दा झण्डै २३०० वर्ष संसार आजभन्दा नितान्त फरक थियो । तर त्यसबेला पनि केही मानिसहरु ‘एउटा राम्रो देश कस्तो हुनुपर्छ। एउटा राम्रो नेता कस्तो हुन्छ? र किन केही देश प्रगतिमा जान्छन् भने केही नष्ट हुन्छन् ?’ भन्ने चिन्तन गरिरहेका थिए ।
त्यसरी चिन्तन गर्ने मानिसहरुको सूचीमा सबैभन्दा अग्रपंक्तिमा महान दार्शनिक एरिस्टोटलको नाम आउँछ । उनले आफ्नो कालजयी कृति ‘पोलिटिक्स’ मा यसबारे विषद् चिन्तन–चर्चा गरेका छन् । वास्तवमा उनको यो कृति एउटा किताब मात्र होइन, यो त राजनीति, समाजलाई उधिन्ने तथा एक राम्रो मानिस बन्ने बाटोको पहिलो सीढी हो।
हरेकतिर राजनीति मात्र छाएर सबै कुरा उल्झिएको जस्तो अनुभूति हुँदा पोलिटिक्समा एरिस्टोटलले प्रकट गरेका विचारहरू प्रकाशझैं प्रतीत हुन्छ। उनी भन्छन्, ‘राजनीतिको वास्तविक उद्देश्य सत्ता पाउनु होइन, बरु यस्तो समाज निर्माण गर्नु हो, जहाँ हरेक मानिस खुशी रहन सकोस् र आफ्नो पूर्ण क्षमता सम्म पुग्न सकोस्।’
मानिस राजनीतिक जनावर
एरिस्टोटलको विचारमा भन्थे कि मानिस एक राजनीतिक जनावर हो । अब यो सुन्दा अचम्म लाग्न सक्छ, जनावर अनि त्यो पनि राजनीतिक? यसको के मतलब? के हामी जनावरझैं संघर्ष गर्छौं? वा हाम्रा भित्र कुनै लुकेको जनावर छ?
एरिस्टोटलको मनशाय यसभन्दा धेरै गहिरो थियो। यसलाई बुझ्न एउटा कथा कल्पना गरौं।
एरिस्टोटलले राजनीतिक जनावर भन्नुको अर्थ नै मानिस स्वभावैले एक सामाजिक प्राणी हो। हाम्रो प्रकृतिले नै हामीलाई एक समाज, एउटा शहर–राज्य बनाउन प्रेरित गर्छ।
कल्पना गर्नुहोस्, एउटा मानिस एकदम एक्लै छ एउटा सुनसान टापुमा। उसको लागि खानपिनको सबै कुरा छ, बस्नको लागि राम्रो ठाउँ छ, उसलाई कुनै कुराको खतरा छैन। तर ऊ एकदमै एक्लै छ। के ऊ खुशी रहन सक्ला? केही दिन, केही महिना त खुसी रहला। तर बिस्तारै उसलाई कोहीसँग कुरा गर्ने, आफ्नो सुख–दुःख बाँड्ने, हाँस्ने–रुनुपर्ने आवश्यकता महसुस हुन थाल्नेछ। उसलाई आफ्नो जीवन अधुरो लाग्न थाल्ने छ। किन? किनभने मानिसको स्वभाव नै त्यस्तो हो कि ऊ एक्लै खुशी रहन सक्दैन। हामी एक–अर्कासँग मिलेर बस्नकै लागि बनेका हौं।
एरिस्टोटल यही कुरा बुझाउन चाहन्थे। उनले राजनीतिक जनावर भन्नुको अर्थ नै मानिस स्वभावैले एक सामाजिक प्राणी हो। हाम्रो प्रकृतिले नै हामीलाई एक समाज, एउटा शहर–राज्य बनाउन प्रेरित गर्छ।
जस्तै एउटा मौरीले एक्लै मह बनाउन सक्दैन, उसलाई पूरा घार चाहिन्छ। त्यसरी नै एक मानिसले एक्लै आफ्नो सम्पूर्ण विकास गर्न सक्दैन। उसलाई समाज चाहिन्छ।
समाजको आवश्यकता हुँदा यसमा राजनीति कहाँबाट आयो? यहीँबाट एरिस्टोटलको असली कुरा सुरु हुन्छ। उनी भन्छन्, धेरै मानिसहरू एकसाथ बस्दा तब तिनका बीच केही नियम–कायदा बनाउनै पर्छ। ककसले कुनु कुन काम गर्ने? विवाद भयो भने त्यसको समाधान कसले गर्ने? सबैको सुरक्षा कसले गर्ने? सबैको भलाइका लागि के काम गर्नुपर्ने? यी सबै प्रश्नहरूको उत्तर नै राजनीति हो।
राजनीति आजभोलि अधिकांश मानिसहरुलाई लाग्ने गरेको जस्तो फोहोरी खेल होइन । एरिस्टोटलका लागि राजनीति समाजलाई सही तरिकाले चलाउन मद्दत गर्ने कला र विज्ञान हो । यही नै हामी सबै मिलेर एकसाथ कसरी बाँच्ने भनी निर्णय गर्ने बाटो हो ।
अब प्रश्न उठ्छ, सबैभन्दा पहिले के बन्यो?
सबैभन्दा पहिले परिवार बन्यो । एक पुरुष र एक स्त्री मिले, उनीहरुबाट बच्चा पैदा भए, परिवार बन्यो। यो सबैभन्दा सानो र सबैभन्दा प्राकृतिक इकाई हो। परिवारमा हरेक सदस्यले आफ्नो आवश्यकता पूरा गर्छ। तर के एउटा परिवारले आफ्नो सम्पूर्ण आवश्यकता आफैं पूरा गर्न सक्छ?के ऊ आफ्नै लागि वस्त्र, औजार, सुरक्षा सबै बनाउन सक्छ?
निश्चितै रुपमा सक्दैन ।
त्यसैले केही परिवारहरू मिले र एउटा गाउँ बनाए। गाउँमा कोही किसान थियो, कोही श्रमिक, कोही व्यापारी। सबैले मिलेर एक–अर्काको आवश्यकता पूरा गर्न थाले। गाउँ परिवारभन्दा एक कदम अगाडि थियो। यहाँ जीवन अझ राम्रो र सुरक्षित भयो।
तर के गाउँमै सबै कुरा थियो? के गाउँले ठूला खतराबाट, जस्तै बाहिरी आक्रमणबाट आफ्नो सुरक्षा आफैं गर्न सक्थ्यो? के त्यहाँ न्याय र व्यवस्थाका लागि ठोस नियम थिए?
सायद थिएन। यहीँबाट अझ ठूलो र संगठित इकाईको आवश्यकता भयो । त्यसलाई एरिस्टोटलले पोलिस वा शहर–राज्य भने।
एरिस्टोटलका अनुसार राज्यको असली उद्देश्य एउटा राम्रो जीवन प्रदान गर्नु हो । त्यस्तो जीवन जहाँ मानिस केवल बाँचेको मात्र नहोस् तर आफ्नो कला, आफ्नो बुद्धि, आफ्नो नैतिकता अर्थात् आफ्नो मानवताको पूरा विकास गर्न सकोस्।
आजको भाषामा हामी यसलाई एउटा देश वा राष्ट्र भन्न सक्छौं। यो देश वा राज्य सुरक्षा वा आवश्यकताहरू पूरा गर्नका लागि मात्र बनेको होइन। एरिस्टोटलका अनुसार राज्यको असली उद्देश्य एउटा राम्रो जीवन प्रदान गर्नु हो । त्यस्तो जीवन जहाँ मानिस केवल बाँचेको मात्र नहोस् तर आफ्नो कला, आफ्नो बुद्धि, आफ्नो नैतिकता अर्थात् आफ्नो मानवताको पूरा विकास गर्न सकोस्।
एक परिवार हामीलाई जन्म दिन्छ। एउटा गाउँ हामीलाई बाँच्न सिकाउँछ। तर एउटा राज्य वा देश मात्र हामीलाई राम्रो र पूर्ण जीवन बाँच्ने अवसर दिन्छ। यही कारण एरिस्टोटलका लागि राज्य सबैभन्दा माथि छ। उनी परिवार वा व्यक्तिभन्दा राज्य अगाडि आउँछ भन्छन् । स्वभाविक रुपमा प्रश्न उठन सक्छ– यो कसरी सम्भव छ? हामी त पहिले जन्मिन्छौं, राज्य त पछि बन्ने कुरा हो। यहाँ एरिस्टोटलको भनाइको अर्थ समयसँग होइन, महत्वसँग हो।
कसैले तपाईलाई राजनीतिबाट टाढा बस भन्छ भने त्यो गलत हो । एरिस्टोटलका अनुसार राजनीति बाट टाढा बस्नुको अर्थ हो आफ्नो मानवताको एक अत्यन्तै महत्वपूर्ण अंशबाट टाढा बस्नु।
उदाहरणको लागि, हाम्रो पूरा शरीर हाम्रो हात वा खुट्टाभन्दा बढी महत्वपूर्ण हुन्छ। किनभने हात वा खुट्टाको अस्तित्व शरीर हुँदा मात्र हुन्छ। त्यस्तै, एउटा व्यक्तिको वास्तविक विकास र अस्तित्व ऊ एउटा राम्रो राज्यको हिस्सा हुँदा मात्र सम्भव हुन्छ । बिना राज्य मानिस या त जनावर जस्तो हुनेछ तर ऊ मानिसको रुपमा रहन सक्दैन। उसलाई या त कुनै नियमको आवश्यकता पर्नेछैन वा ऊ आफ्ना सबै नियम आफैं बनाउन थाल्नेछ। तर हामी मानिस हौं। हामीलाई एक–अर्काको साथसहयोग र सबैलाई स्वीकार्य हुने एउटा व्यवस्था चाहिन्छ।
त्यसैले कसैले तपाईलाई राजनीतिबाट टाढा बस भन्छ भने त्यो गलत हो । एरिस्टोटलका अनुसार राजनीति बाट टाढा बस्नुको अर्थ हो आफ्नो मानवताको एक अत्यन्तै महत्वपूर्ण अंशबाट टाढा बस्नु। हामी सबै स्वभावैले राजनीतिक प्राणी हौं र एउटा राम्रो समाज निर्माण गर्नु हाम्रो प्रमुख जिम्मेवारीमध्ये एक हो।
घरको मुली र देशको मुली: के दुबै एउटै हुन्?
मानिस एक्लै रहन सक्दैन र राम्रो जीवनका लागि उसलाई समाज वा राज्यको आवश्यकता पर्छ। हामीले यो पनि बुझ्यौं कि कसरी परिवारबाट गाउँ र गाउँबाट राज्यको विकास भयो। अब यहाँ एउटा अत्यन्तै महत्वपूर्ण प्रश्न आउँछ, जसले एरिस्टोटलका समकालीन महान दार्शनिकहरूलाई पनि उल्झाएको थियो।
त्यो प्रश्न के एउटा राज्य चलाउनु भनेको एउटा परिवार चलाउने जस्तै हो भन्ने थियो ? के जे गुणहरू एक राम्रो परिवारको मुखियामा हुन्छन्, त्यही गुणहरू एक राम्रो शासकमा पनि हुनुपर्छ? जसमा महान दार्शनिक प्लेटो लगायतका धेरै मानिसहरू, यी दुबैमा खासै फरक छैन भनी मान्थे।
एक शासक पनि त आफ्ना प्रजाका पिता समानै हुन्छ। जस्तै एक पिता आफ्नो परिवारको भलाइका लागि निर्णय गर्छ, त्यसरी नै एक शासकले आफ्नो प्रजाको भलाइका लागि निर्णय गर्छ। तर एरिस्टोटललाई यो कुरा बिल्कुलै मन परेन। उनको मान्यतामा यो यति साधारण कुरा होइन। एउटा घर चलाउनु र एउटा देश चलाउनु यी दुबैमा आकाश–जमिनको फरक छ।
यो भिन्नता बुझ्नका लागि एरिस्टोटल घरभित्रको सम्बन्धबारे चर्चा गर्थे । एउटा परम्परागत युनानी घरमा मुख्यतया तीन किसिमका सम्बन्धहरू हुन्थे।
पहिलो, पति र पत्नीको सम्बन्ध।
दोस्रो, पिता र छोराछोरीको सम्बन्ध।
तेस्रो, मालिक र दासको सम्बन्ध।
एरिस्टोटलका अनुसार यी तीनै सम्बन्धहरूमा अधिकार र शक्तिको सन्तुलन एकदमै फरक हुन्छ।
एउटा पति आफ्नो पत्नीमाथि जुन अधिकार राख्छ, त्यो एक संवैधानिक शासक जस्तै हो। यसको अर्थ ऊ मुखिया त हो तर दुवै करिब बराबरी हुन्छन् र मिलेर निर्णय गर्छन्।
एउटा पिता आफ्नो छोराछोरीमाथि जुन नियन्त्रण राख्छ, त्यो एक राजा जस्तै हो। छोराछोरी पिताको कुरा मान्छन् किनभने उनीहरू साना हुन्छन्, नासमझ हुन्छन् र पिता उनीहरूको भलाइका लागि मात्र सबै गर्छन्। तर यो अधिकार सधैंको लागि होइन। जब छोराछोरी हुर्केर ठूला हुन्छन्, यो सम्बन्ध बदलिन्छ।
तेस्रो, एउटा मालिक आफ्नो दासमाथि जुन अधिकार राख्छ, त्यो एक तानाशाह जस्तो हो। यहाँ दाससँग कुनै अधिकार हुँदैन। उसले मालिकको आदेश खुरुखुरु मान्नु पर्छ। एरिस्टोटलको समयमा दास प्रथा एक सामाजिक वास्तविकता थियो र उनले यसलाई आफ्नै समयको हिसाबले विश्लेषण गरेका थिए।
अब एरिस्टोटल हामीलाई प्रश्न गर्छन्– एउटा शासकको आफ्ना प्रजासँग कस्तो सम्बन्ध हुनुपर्छ? के ऊ एक पति जस्तै आफ्ना प्रजालाई बराबरीको मान्ने? वा एक पिताले जस्तै छोराछोरीहरु नहुर्केसम्म ख्याल राख्ने वा फेरि एक मालिक जस्तै उनीहरूमाथि तानाशाही थोपर्ने?
एरिस्टोटल भन्छन्, एउटा देशको शासक न त मालिक जस्तै तानाशाह हुन सक्छ, न त पिता जस्तै सधैंको लागि राजा। किन? किनभने राज्यमा बस्ने मानिसहरू अर्थात् नागरिकहरू बच्चा होइनन्। उनीहरू स्वतन्त्र र बराबरीका मानिस हुन्। उनीहरू दास पनि होइनन्।
देश चलाउनु घर चलाउनु भन्दा धेरै कठिन र फरक काम हो। घरमा तपाईं प्रेम र अधिकारबाट काम चलाउन सक्नुहुन्छ। तर देश चलाउनका लागि तपाईंलाई कानुन, न्याय र अधिकांशको सहमतिको आवश्यकता पर्छ।
यसकारण एउटा राजनीतिज्ञ वा शासकको शासन यी दुवै कुरासँग बिल्कुल फरक हुन्छ। उसले त्यस्ता मानिसहरूमाथि शासन गर्छ जो स्वतन्त्र छन् र उसको जस्तै बराबरीको हैसियत राख्छन्। त्यसैले देश चलाउनु घर चलाउनु भन्दा धेरै कठिन र फरक काम हो। घरमा तपाईं प्रेम र अधिकारबाट काम चलाउन सक्नुहुन्छ। तर देश चलाउनका लागि तपाईंलाई कानुन, न्याय र अधिकांशको सहमतिको आवश्यकता पर्छ।
यसलाई अझ गहिराईमा बुझाउन एरिस्टोटल अर्को महत्वपूर्ण कुरा भन्छन्। उनी भन्छन्, घरको उद्देश्य दैनिक आवश्यकता पूरा गर्नु र वंशलाई अगाडि बढाउनु हो। तर राज्यको उद्देश्य राम्रो जीवन सुनिश्चित गर्नु हो, जहाँ नैतिकता, न्याय र खुशी हुन्छ। घरको दायरा सानो र निजी हुन्छ। तर राज्यको दायरा विशाल र सार्वजनिक हुन्छ।
एउटा बाबुले आफ्ना बच्चाहरूका लागि गर्ने निर्णय अरू परिवारका बच्चाहरूका लागि ठीक नहुन सक्छ। तर शासकले त्यस्ता कानुन बनाउनुपर्ने हुन्छ, जुन पुरै राज्यका सबै नागरिकका लागि उचित र न्यायपूर्ण होस्। यसैले, जो व्यक्ति उत्कृष्ट व्यवस्थापक वा परिवारको मुखिया हुन्छ, त्यो अनिवार्य रूपमा राम्रो राजनीतिज्ञ बन्न सक्दैन। राजनीतिज्ञ बन्नका लागि फरक प्रकारको बुझाइ र क्षमता चाहिन्छ।
राज्य स्वतन्त्र र बराबरीका मानिसहरूले बनेको हो भने नागरिक आखिर को हुन्? के राज्यमा बस्ने प्रत्येक मानिस नागरिक हो?
बुझ्नुपर्ने कुरा के हो भने, उसले बराबरीका मानिसहरूमा शासन गर्दैछ र उसको काम हुकुम चलाउनु होइन, बरु सबैलाई साथ लिएर अघि बढ्नु हो, ताकि सबै मिलेर एउटा राम्रो र न्यायपूर्ण समाज निर्माण गर्न सकून्। यसरी एरिस्टोटलले प्रष्ट पारे कि राजनीति कुनै घरेलु कुरा होइन। यो एक फरक र गम्भीर विषय हो। यो स्वतन्त्र र बराबरीका नागरिकहरूबीचको सम्बन्ध हो।
तर यहींबाट अर्को महत्वपूर्ण प्रश्न उठ्छ। राज्य स्वतन्त्र र बराबरीका मानिसहरूले बनेको हो भने नागरिक आखिर को हुन्? के राज्यमा बस्ने प्रत्येक मानिस नागरिक हो? के बच्चा नागरिक हो? के बुढो व्यक्ति, जो अब काम गर्न सक्दैन, ऊ नागरिक हो? वा नागरिक हुनुको अरू अर्थ छ?
एरिस्टोटलका लागि नागरिक हुनु भनेको केवल कुनै ठाउँमा जन्मनु मात्र थिएन। उनीहरूको दृष्टिमा सच्चा नागरिक हुनु एउटा ठूलो जिम्मेवारी थियो। अनि त्यो जिम्मेवारी के थियो? एरिस्टोटलको नजरमा आदर्श नागरिक को हो? यही प्रश्नको उत्तरले हामीलाई राजनीतिको वास्तविक तहसम्म पुर्याउँछ।
को हो सच्चा नागरिक? के असल मानिस र असल नागरिक एउटै हुन्?
हामीले घर र राज्यबीचको ठूलो भिन्नता बुझ्यौं। स्वतन्त्र र बराबरीका मानिसहरूको समूह भएकोले राज्य चलाउनु बच्चाहरूको खेल होइन भन्ने हामीले जान्यौं । एरिस्टोटल भन्छन्, यी स्वतन्त्र र बराबरीका मानिसहरूलाई नै नागरिक भनिन्छ। स्वभाविक रुपमा हाम्रो मनमा प्रश्न उठ्छ, यी नागरिक आखिर को हुन्?
आजको समयमा यो सजिलो छ। यदि तपाईं नेपालमा जन्मनु भएको छ वा तपाईंका आमा-बुबा नेपाली हुन् भने तपाईं नेपालको नागरिक हुनुहुन्छ। तपाईंलाई नागरिकता प्राप्त हुन्छ र तपाईं नागरिक कहलिनु हुन्छ । तर एरिस्टोटलका लागि नागरिकताको अर्थ त्यति साधारण थिएन। उनका लागि नागरिक हुनु ठूलो सम्मान मात्र होइन, अझ ठूलो जिम्मेवारी पनि थियो।
एरिस्टोटलले नागरिकलाई परिभाषित गर्नुअघि पहिलो कुरा को नागरिक होइन भन्ने पनि बताउँछन् । उनका अनुसार केवल कुनै राज्यमा बस्तैमा मानिस नागरिक हुँदैन, किनभने राज्यमा त विदेशी पनि बस्छन्, पाहुना पनि बस्छन्। त्यसैले बसोबास मात्र नागरिकताको प्रमाण होइन।
त्यसो भए, नागरिक को? यहाँ एरिस्टोटल आफ्नो वास्तविक र गहिरो परिभाषा दिन्छन्। उनी भन्छन्, सच्चा नागरिक भनेको त्यो हो जसलाई न्याय गर्न र शासनमा भाग लिन अधिकार छ।
उनको मान्यतामा कुनै व्यक्तिलाई कानुनी अधिकार भएको आधारमा पनि नागरिक मान्न सकिँदैन। जस्तै ऊ कसैलाई मुद्दा हाल्न सक्छ वा कसैले उसलाई मुद्दा हाल्न सक्छ। किनभने यस्ता अधिकार सन्धिहरूमार्फत विदेशीसम्मलाई पनि दिन सकिन्छ।
त्यसो भए, नागरिक को? यहाँ एरिस्टोटल आफ्नो वास्तविक र गहिरो परिभाषा दिन्छन्। उनी भन्छन्, सच्चा नागरिक भनेको त्यो हो जसलाई न्याय गर्न र शासनमा भाग लिन अधिकार छ।
यसलाई अलि मिहिन गरेर बुझ्नुपर्छ। नागरिक हुनु भनेको केवल भोट हाल्नु मात्र होइन। यसको अर्थ तपाईंमा त्यति समझ र क्षमता हुनुपर्छ कि तपाईं राज्यका न्यायिक कार्यमा (जस्तै ज्यूरीको सदस्य बन्ने) र विधायकी कार्यमा (जस्तै संसद वा राष्ट्रिय सभाको सदस्य भएर कानुन बनाउने प्रक्रियामा भाग लिने) सकून्।
यो धेरै महत्वपूर्ण कुरा थियो। यसको अर्थ एरिस्टोटलका लागि नागरिकता निष्क्रिय वस्तु होइन, बरु सक्रिय भूमिका हो। नागरिक भनेको खुरुखुरु सरकारका आदेश पालना गर्ने व्यक्ति होइन । बरु त्यो व्यक्ति नागरिक हो जो सरकार बनाउने र चलाउने कार्यमा सक्रिय रूपमा सहभागी हुन्छ।
एरिस्टोटलको भनाइमा जो मानिसहरू केवल आफ्ना निजी कामहरूमा व्यस्त रहन्छन्, जो केवल पैसा कमाउन वा आफ्ना परिवारलाई पाल्नमै तल्लीन रहन्छन् र राज्यका काममा कुनै चासो राख्दैनन्, ती सही अर्थमा नागरिक कहलिन योग्य हुँदैनन्। एरिस्टोटलको बुझाइमा उनीहरू राज्यबाट सुरक्षा, सुविधा, अवसरलगायत सबै कुरा त लिइरहेका हुन्छन् तर राज्यलाई आफ्नो समय र आफ्नो बुद्धिको योगदान दिइरहेका हुँदैनन्।
तपाईं एउटा यस्तो देशमा बस्नुहुन्छ जहाँ तानाशाही छ र त्यहाँको कानुन भन्छ कि तपाईंले आफ्ना छिमेकीको जासुसी गर्नुपर्छ। असल नागरिक हुनुको नाताले तपाईंले कानुन पालन गर्नुपर्ने हुन्छ। तर के यसो गर्नु असल मानिसको चिन्ह हो?
एरिस्टोटलले गहिरो रूपमा सोचविचार गरेको अर्को रोचक प्रश्न थियो - के एक असल मानिस हुनु र एक असल नागरिक हुनु एउटै कुरा हो ? सोचेर हेर्नुहोस्, असल मानिस को हो? सायद ऊ जो इमानदार हो, दयालु हो, सत्य बोल्छ, अरूलाई मद्दत गर्छ। यी गुणहरू त हरेक समाज र हरेक देशमा असल मानिन्छन्। तर असल नागरिक को हो? असल नागरिक त्यो हो, जसले आफ्ना देशको संविधान र कानुनको पालन गर्छ र उसको भलाइका लागि काम गर्छ।
अब यहाँ एक द्वन्द्व आउँछ। मानौं तपाईं एउटा यस्तो देशमा बस्नुहुन्छ जहाँ तानाशाही छ र त्यहाँको कानुन भन्छ कि तपाईंले आफ्ना छिमेकीको जासुसी गर्नुपर्छ। असल नागरिक हुनुको नाताले तपाईंले कानुन पालन गर्नुपर्ने हुन्छ। तर के यसो गर्नु असल मानिसको चिन्ह हो? होइन। त्यसो भए यसको अर्थ के हो भने असल मानिस हुनु र असल नागरिक हुनु सधैं एउटै कुरा हुँदैन। यो कुरा यसमा निर्भर गर्छ कि तपाईं कुन प्रकारको राज्यमा बस्दै हुनुहुन्छ।
एरिस्टोटल भन्छन्, केवल एउटा आदर्श राज्यमा मात्र असल मानिस र असल नागरिक एउटै हुन सक्छन्। किनभने आदर्श राज्यको कानुन सधैं न्याय र नैतिकतामा आधारित हुन्छ। त्यहाँ कानुन पालन गर्नु नै असल मानिसको कर्तव्य पनि हुन्छ। तर तानाशाही वा भ्रष्ट लोकतन्त्र जस्ता शासनमाएक असल नागरिकलाई त्यस्ता काम पनि गर्नुपर्ने हुन सक्छ जुन असल मानिसका सिद्धान्तविरुद्ध जान्छ।
नागरिक अन्धभक्त हुनुहुँदैन, बरु विवेकी र सक्रिय हुनु पर्छ।
एरिस्टोटलका लागि आदर्श नागरिक त्यो थियो जसमा सैनिकझैं आदेश मान्ने गुण पनि होस् र शासकझैं आदेश दिने विवेक पनि। यसको मतलब ऊसलाई थाहा हुनुपर्छ कि कहिले नियम पालन गर्नुपर्छ र जब उसको पालो आउँछ, त्यतिबेला असल र न्यायपूर्ण नियम कसरी बनाउनुपर्छ। यो एकदम सन्तुलित विचार थियो। नागरिक अन्धभक्त हुनुहुँदैन, बरु विवेकी र सक्रिय हुनु पर्छ।
नागरिकहरूले शासनमा भाग लिने हो भने, त्यसपछि शासनका कति रूप हुन सक्छन्? के हरेक प्रकारको सरकार असल हुन्छ? वा के केही सरकारहरू नागरिकलाई गुलाम बनाइदिन्छन्? एरिस्टोटलले संसारभरका सरकारहरूको अध्ययन गरे र तिनलाई असल र खराब श्रेणीमा बाँडे। कुन सरकारलाई उनले सबैभन्दा असल माने र कुनलाई सबैभन्दा खतरनाक? यो निक्कै रोचक छ ।
असल र खराब शासक: सरकारहरूको वास्तविक अनुहार
हामीले असली नागरिकको अर्थ तथा असल मानिस र असल नागरिकमा के भिन्नता हुन्छ भन्ने थाहा पाइसक्यौं। अब हामीसँग राज्यका काममा भाग लिन तयार नागरिक भइसकेपछि अर्को प्रश्न आउँछ– यो राज्य चल्ने कसरी? अर्थात् सरकारको स्वरूप के हुन्छ? यसलाई नै संविधान वा कन्स्टिट्युसन भनिन्छ।
एरिस्टोटल दार्शनिक मात्र थिएनन्, उनी वैज्ञानिक पनि थिए। उनले आफ्ना समयमा झन्डै १५८ विभिन्न शहर र देशका संविधानहरूको अध्ययन गरे। एक डाक्टरले फरक-फरक बिरामीको परीक्षण गरेर रोगको पत्ता लगाएजस्तै गरी एरिस्टोटलले फरक-फरक सरकारहरूको विश्लेषण गरेर कुन सरकार असल र कुन खराब हो, किन हो भन्ने पत्ता लगाए।
उनको विश्लेषण आज पनि त्यत्तिकै सान्दर्भिक छ जति २३०० वर्षअघि थियो। एरिस्टोटलले सरकारलाई वर्गीकृत गर्न दुई सरल तर उत्कृष्ट आधार बनाए। पहिलो आधार थियो—शासन गर्नेहरूको संख्या। अर्थात् के देशलाई एक व्यक्तिले चलाइरहेको छ? के केही व्यक्तिहरू चलाइरहेका छन्? वा धेरै मानिस, अर्थात् बहुसंख्यक जनता मिलेर चलाइरहेका छन्?
के ऊ केवल आफ्ना स्वार्थ र आफ्नो खल्ती भर्नका लागि शासन गरिरहेको छ, वा ऊ सम्पूर्ण समाज र राज्यको भलाइका लागि काम गरिरहेको छ?
दोस्रो र सबैभन्दा महत्वपूर्ण आधार थियो—शासनको उद्देश्य। अर्थात् जो शासन गरिरहेको ठाउँमा चाहे एक व्यक्ति होस् वा धेरै, ऊ कसको भलाइका लागि काम गरिरहेको छ? के ऊ केवल आफ्ना स्वार्थ र आफ्नो खल्ती भर्नका लागि शासन गरिरहेको छ, वा ऊ सम्पूर्ण समाज र राज्यको भलाइका लागि काम गरिरहेको छ?
यी दुई आधारमा एरिस्टोटलले सबै सरकारलाई जम्मा छवटा भागमा बाँडे। तीन उत्तम शासन प्रणालीहरू र तिनकै विकृत रूपका तीन खराब शासन प्रणालीहरू।
पहिले असल शासन प्रणालीहरूको कुरा गरौं।
पहिलो असल सरकार हो—राजतन्त्र अर्थात् मोनार्की। यो त्यस्तो एक व्यक्तिको शासन हो जसमा एउटै व्यक्ति वा राजाले पुरै देशमा शासन गर्छ। तर शर्त के रहन्छ भने त्यो राजा अत्यन्त गुणी, बुद्धिमान र न्यायप्रिय हुनुपर्छ, र ऊ आफ्ना स्वार्थका लागि होइन, सम्पूर्ण प्रजाको भलाइका लागि शासन गर्नुपर्छ। जस्तै एक बुबाले आफ्ना परिवारको हेरचाह गरे जस्तै राजाले पनि आफ्ना प्रजाको हेरचाह गर्नुपर्छ।
एरिस्टोटलको मान्यतामा त्यस्तो गुणी व्यक्ति शासको रुपमा भेटियो भने यो सबैभन्दा राम्रो सरकार हुन सक्छ। किनभने निर्णयहरू चाँडै हुनेछन् र सबै कुरा व्यवस्थित रहनेछ।
दोस्रो असल सरकार हो—कुलीनतन्त्र अर्थात् एरिस्टोक्रेसी। यसमा शासन एक व्यक्तिको हातमा नभई केही चुनिएका व्यक्तिहरूको हातमा हुन्छ।
यी केही मानिस को हुन्? यी त ती मानिस हुन् जो समाजमा सबैभन्दा बढी गुणी, शिक्षित र योग्य छन्। एरिस्टोक्रेसीको अर्थ नै हो उत्कृष्ट मानिसहरूको शासन। यी मानिसहरू पनि आफ्ना निजी फाइदाका लागि होइन, बरु सम्पूर्ण समाजको हितका लागि काम गर्छन्।
एरिस्टोटलले निकै मन पराउने तेस्रो उत्तम सरकार बहुसंख्यकको शासन वा पोलिटी थियो । पोलिटीको अर्थ अनेक व्यक्तिहरुको शासन पनि हुन्छ । अर्थात यसमा शासन कुनै एक वा केही मानिसहरूको हातमा सीमित हुँदैन, बरु त्यो धेरै मानिसहरूको, अर्थात् आम जनताको हातमा हुन्छ। अनि यो जनता कानुनको दायरामा रही शासन गर्छ। यहाँ धनी र गरिब दुवैले मिलेर सबैका लागि राम्रो हुने मध्यम मार्ग निकाल्छन्। यसमा सत्ता दुरुपयोग हुने सम्भावना कम हुन्छ, किनकि शक्ति कुनै एउटै स्थानमा केन्द्रित हुँदैन।
एरिस्टोटल भन्छन् कि प्रत्येक उत्तम सरकारको एउटा भ्रष्ट, विकृत रूप हुन्छ। जस्तै प्रत्येक मानिसको एउटा छायाँ हुन्छ, त्यस्तै हरेक उत्तम सरकारको पनि एउटा खराब छायाँ हुन्छ।
यति भए तीन उत्तम सरकारहरू: राजतन्त्र, कुलीनतन्त्र र पोलिटी। एरिस्टोटलको बुझाइमा यी तीनवटै राम्रो हुनुको कारण तिनको उद्देश्य सम्पूर्ण समाजको भलाइ एउटै हुन्छ। तर एरिस्टोटललाई थाहा थियो कि मानिसको स्वभावमा लोभ र स्वार्थ पनि हुन्छ। जब यही स्वार्थ सत्तामाथि हावी हुन्छ, तब यी उत्तम सरकारहरू आफ्नो रूप बदल्छन् र भयानक तथा खराब बन्छन्। यहीँबाट सुरु हुन्छ वास्तविक खतरा।
एरिस्टोटल भन्छन् कि प्रत्येक उत्तम सरकारको एउटा भ्रष्ट, विकृत रूप हुन्छ। जस्तै प्रत्येक मानिसको एउटा छायाँ हुन्छ, त्यस्तै हरेक उत्तम सरकारको पनि एउटा खराब छायाँ हुन्छ। अनि यी छायाँहरू के हुन्? यी उत्तम सरकारहरू कसरी आफ्नो सबैभन्दा खराब रूपमा बदलिन्छन्? सोच्नुहोस्, के हुन्छ जब त्यो गुणी राजा, जो सबैको भलाइका लागि काम गर्दै थियो, स्वार्थी र अत्याचारी बन्छ। जब ऊ प्रजालाई आफ्ना सन्तान नभई आफ्ना गुलाम ठान्न थाल्छ। तब राजतन्त्र आफ्नो सबैभन्दा निकृष्ट स्वरूप लिन्छ।
र के हुन्छ जब ती केही गुणी र श्रेष्ठ मानिसहरू, जो समाज सेवा गर्न आएका थिए, केवल आफ्ना निजी लोभ र महत्त्वाकांक्षा पूर्तिमै लाग्छन् र गरिबको रगत चुस्न थाल्छन्? तब कुलीनतन्त्रको सबैभन्दा घिनलाग्दो रूप प्रकट हुन्छ।
र सबैभन्दा महत्वपूर्ण प्रश्न—के हुन्छ जब आम जनताको हातमा आएको सत्ता कानुनलाई बेवास्ता गरेर केवल मनपरी गर्न थाल्छ? जब लोकतन्त्र जनसमूहको शासनमा बदलिन्छ। यही हुन् सरकारका ती तीन भयानक रूप, जसलाई एरिस्टोटलले संसारका सामु उजागर गरे। यी कुन रूप हुन् र एउटा उत्तम सरकार कसरी चिप्लँदै ती खराब रूपमा पुग्छ?
सत्ता को विष — कसरी असल सरकारहरू खराब बन्छन्?
हामीले एरिस्टोटलका तीन आदर्श सरकार - राजतन्त्र, कुलीनतन्त्र र पोलिटीबारे जान्यौं । एरिस्टोटलका मान्यतामा सरकारहरूको लक्ष्य घामले जस्तै सम्पूर्ण समाजलाई प्रकाश दिनु, अर्थात् सबैको भलाइ गर्नु हो।
एरिस्टोटल हामीलाई सरकारहरूको अँध्यारो पक्षसँग परिचित गराउँछन्। उनी भन्छन्, हरेक उत्तम सरकार भ्रष्ट हुने खतरा सधैं रहन्छ।
तर सत्ताको नशा टाउकोमा चढ्यो भने के हुन्छ ? अनि शासकले सबैको भलाइ बिर्सेर केवल आफ्नै भलाइबारे सोच्न थाल्यो भने ? यहीँबाट एरिस्टोटल हामीलाई सरकारहरूको अँध्यारो पक्षसँग परिचित गराउँछन्। उनी भन्छन्, हरेक उत्तम सरकार भ्रष्ट हुने खतरा सधैं रहन्छ। र जब यी सरकारहरू भ्रष्ट हुन्छन्, तब तिनीहरू आफ्ना सबैभन्दा खराब र विकृत रूपमा देखा पर्छन्। यी नै उत्तम सरकारहरूको छायाँ हुन्, तिनका शैतानी रूप हुन्।
सबैभन्दा पहिले कुरा गरौं राजतन्त्रको। राजतन्त्र अर्थात् एउटा गुणी राजाको शासन। यसको भ्रष्ट स्वरूप हो—अत्याचारी शासन वा तानाशाही, जसलाई निरंकुशतन्त्र (Tyranny) भनिन्छ।
यो त्यतिबेला हुन्छ जब पहिले प्रजाको पिता समान रहेको राजाले आफ्नो शक्ति प्रयोग गरेर मानिसहरूलाई डराउन, धम्क्याउन र शोषण गर्न थाल्छ। ऊ कानुन मान्दैन। ऊ आफैँलाई कानुनभन्दा माथि ठान्छ। आफ्ना इच्छा, चाहना र बोलीहरुलाई कानूनको रुपमा लागू गर्न खोज्छ । उसको एक मात्र लक्ष्य कुनै पनि मूल्य चुकाएर आफ्नो सत्ता कायम राख्नु हुन्छ । त्यसका लागि उसले जतिसुकै अत्याचार गर्न पनि तयार रहन्छ । प्रजाको खुशीसँग उसलाई कुनै मतलब हुँदैन। उसलाई केवल आफ्नो आदेश पालना गराउनु हुन्छ।
एरिस्टोटलका लागि तानाशाही सबैभन्दा खराब सरकारहरूमध्ये एक थियो, किनकि यसमा एक व्यक्तिको हातमा असीमित शक्ति हुन्छ र उसले कसैप्रति जवाफदेही रहनुपर्दैन। यो व्यक्तिगत शासनको सबैभन्दा भ्रष्ट रूप हो।
अब आउँछौँ दोस्रो उत्तम सरकार, कुलीनतन्त्रतर्फ। कुलीनतन्त्र भनेको केही श्रेष्ठ र गुणी व्यक्तिहरूको शासन हो। यसको भ्रष्ट स्वरूप गुटतन्त्र वा धनिकतन्त्र हो, जसलाई ओलिगार्की (Oligarchy) भनिन्छ। यो जब ती केही श्रेष्ठ व्यक्तिहरू, जो आफ्नो योग्यता कारण सत्तामा आएका थिए, अब केवल आफ्नै वर्ग वा समूहको हित मात्र सोच्न थाल्छन् तब हुन्छ । उनीहरूले धनीहरूको लागि अनुकूल नीतिहरू बनाउँछन् र गरिबलाई बेवास्ता गर्छन्। यहाँ शासन योग्यताका आधारमा होइन, धनदौलतमाथि आधारित हुन थाल्छ। जसको हातमा पैसा हुन्छ, त्यसकै शासनमा जोर चल्छ। सरकार केही धनी परिवारहरूको जागिर बनेर रहन्छ। उनीहरूले देशलाई एउटा कम्पनीजस्तो चलाउन थाल्छन्, जसको एउटै उद्देश्य हुन्छ—जति सकिन्छ नाफा कमाउनु। आम जनताले जे–जस्तो हालतमा बाँचिरहेका भए पनि उनीहरुलाई कुनै मतलब हुँदैन । समाजलाई दुई भागमा विभाजित गरिदिन्छ—एक सानो तर अत्यन्त धनी वर्ग र अर्को विशाल गरिब जनसमूहमा बाँडिदिने खालको यस्तो शासनसत्तालाई पनि एरिस्टोटलले पनि खराब सरकार माने ।
एरिस्टोटलले डेमोक्रेसी संज्ञा दिएको शासन त्यो आजको लोकतन्त्रजस्तो थिएन। उनीहरूको समयमा डेमोक्रेसीको अर्थ थियो अशिक्षित गरिबहरूको जनसमूहद्वारा शासन, जसले कानूनको पर्वाह नगरी मात्र आफ्नो संख्याको बलमा निर्णय गर्थ्यो।
अब आउँछौँ तेस्रो र सबैभन्दा रोचक बहुसंख्यकको शासनतर्फ जसलाई एरिस्टोटलले "पोलिटी" भनेका थिए । यसको भ्रष्ट रूप हो– लोकतन्त्र वा जनसमूहको शासन, जसलाई डेमोक्रेसी (Democracy) भनिन्छ। यो सुन्दा आश्चर्य पनि लाग्न सक्छ—हामीले त आजभोलि लोकतन्त्रलाई सबैभन्दा राम्रो शासन प्रणाली मान्छौं। तर एरिस्टोटलले यसलाई किन खराब शासन भने?
यहाँ बुझ्नुपर्ने कुरा के हो भने, एरिस्टोटलले डेमोक्रेसी संज्ञा दिएको शासन त्यो आजको लोकतन्त्रजस्तो थिएन। उनीहरूको समयमा डेमोक्रेसीको अर्थ थियो अशिक्षित गरिबहरूको जनसमूहद्वारा शासन, जसले कानूनको पर्वाह नगरी मात्र आफ्नो संख्याको बलमा निर्णय गर्थ्यो। त्यो यस्तो शासन थियो जहाँ धनीहरूलाई केवल धनी भएको कारण सताइन्थ्यो। जहाँ भावनाहरू र नारा तर्क र विवेकभन्दा हावी हुन्थे। एरिस्टोटललाई डर थियो, यस्तो डेमोक्रेसीमा जनसमूहले कुनै पनि योग्य र गुणी व्यक्तिलाई ऊ शासकहरु भन्दा फरक वा बढी लोकप्रिय भएकै कारणले पनि त हटाइदिन सक्छ । यो कानूनको शासन होइन, जनसमूहको शासन थियो। यही कारण एरिस्टोटलले यसलाई पोलिटीको भ्रष्ट रूप माने। पोलिटीमा कानून सर्वोच्च हुन्छ, तर जनसमूहको शासनमा जनसमूहको इच्छा नै कानून बन्छ।
अब हाम्रो सामु सरकारहरूको पूरै तस्वीर स्पष्ट छ। एकातिर छन् तीन उत्तम सरकारहरू—राजतन्त्र, कुलीनतन्त्र, पोलिटी। अर्कोतिर छन् तिनकै तीन खराब छायाहरू—तानाशाही, गुटतन्त्र, र जनसमूहको शासन। कानूनको सम्मान गर्ने र सम्पूर्ण समाजको हितमा काम गर्नेहरु उत्तम सरकारहरू हुन् । कानूनलाई बेवास्ता गर्ने र केवल शासक वर्गको स्वार्थका लागि काम गर्ने शासन भने खराब सरकारहरू हुन् ।
एरिस्टोटलको यो विश्लेषण हामीलाई एक धेरै महत्वपूर्ण शिक्षा दिन्छ। सरकारको नाम के हो भन्ने कुरा त्यति महत्वपूर्ण होइन, बरु यसको चरित्र कस्तो छ भन्ने कुरा बढी महत्वपूर्ण हो। कानूनको सम्मान नगरे एक लोकतन्त्र पनि तानाशाहीमा रुपान्तरण हुन सक्छ ।
अब प्रश्न उठ्छ कि यी छ सरकारहरूमध्ये एरिस्टोटलको नजरमा कुन सरकार सबैभन्दा राम्रो र सबैभन्दा व्यवहारिक थियो? जुन न त पूरै धनीहरूको होस् न त पूरै गरीबहरूको। एउटा यस्तो सरकार जसले स्थिरता र न्याय दुवै दिन सकोस्।
सुनौलो मध्यम मार्ग – एरिस्टोटलको सबैभन्दा मनपर्ने सरकार
असल र खराब दुवै शासनको चरचा गरिसकेपछि स्वभाविक रुपमा प्रश्न उठ्छ– एरिस्टोटलले सही ठानेको सर्वोत्तम शासन प्रणाली कुन हो? राजतन्त्र तानाशाहीमा बदलिन सक्छ र लोकतन्त्र जनसमूहको शासनमा भने एउटा देशलाई चलाउने सबैभन्दा सुरक्षित र स्थिर तरिका के हो?
सरल भाषामा भन्नुपर्दा, पॉलिटी भनेको ओलिगार्की (धनीहरूको शासन) र डेमोक्रेसी (जनसमूहको शासन) को एक मिश्रण हो। यो त्यस्तो मिश्रण हो जसले दुवैको राम्रो पक्षलाई लिन्छ र दुवैको खराब पक्षलाई त्याग्छ।
यहाँ एरिस्टोटल हामीलाई कुनै काल्पनिक दुनियाँमा लैजान्नन्। उनी प्लेटो जस्तै कतै फेला नपर्ने कुनै दार्शनिक राजाको कल्पना गर्दैनन्। एरिस्टोटल अत्यन्त व्यावहारिक व्यक्ति थिए। उनी यस्ता सरकारको खोजमा थिए जसले वास्तविक दुनियाँमा काम गरोस्, टिकाऊ होस् र सकेसम्म धेरै मानिसहरूको लागि राम्रो होस्।
र उनको यस खोजको जवाफ थियो पॉलिटी, अर्थात संवैधानिक गणतन्त्र।
पॉलिटी के हो? सरल भाषामा भन्नुपर्दा, पॉलिटी भनेको ओलिगार्की (धनीहरूको शासन) र डेमोक्रेसी (जनसमूहको शासन) को एक मिश्रण हो। यो त्यस्तो मिश्रण हो जसले दुवैको राम्रो पक्षलाई लिन्छ र दुवैको खराब पक्षलाई त्याग्छ।
यसलाई बुझ्नका लागि सोच्नुस्, धनिकतन्त्र कस्को शासन हो? धनीहरूको। र जनसमूहको शासन कस्को शासन हो? गरीबहरूको। अब एरिस्टोटल भन्छन्, यदि केवल धनीहरूको शासन हुन्छ भने उनीहरूले गरीबहरूको शोषण गर्छन्। र यदि केवल गरीबहरूको शासन हुन्छ भने उनीहरूले धनीहरूको सम्पत्ति खोस्ने प्रयास गर्छन्।दुवै अवस्थामा देशमा सधैं एक प्रतिस्पर्धा, एक संघर्षको वातावरण रहिरहन्छ। देश कहिल्यै स्थिर हुन सक्दैन।
अनि यसको समाधान हो – मध्यम वर्ग।
एरिस्टोटल राजनीति शास्त्रमा मध्यम वर्गको महत्वलाई यति गहिराईसँग पहिचान गर्ने पहिलो चिन्तक थिए। एरिस्टोटल भन्छन् कि एउटा स्वस्थ समाज र स्थिर सरकारको मुख्य आधार यसको मध्यम वर्ग हो।
किन?
किनभने मध्यम वर्गका मानिस घमण्डी र सत्ताका भोकालु बन्ने गरी धनी हुन्नन् । त्यसैगरी, यो वर्ग सधैं ईर्ष्या र क्रान्तिको आगोमा पोलिरहने गरी तन्नम गरिब पनि हुँदैन । उनीहरूसँग सम्मानजनक जीवन बाँच्न सक्ने साधन उपलब्ध हुन्छन्। त्यसैले उनीहरू व्यवस्था कायम राख्न चाहन्छन्। उनीहरूले कानुनको सम्मान गर्छन्, किनभने उनीहरूलाई थाहा छ कि कानुन नै उनीहरूको सम्पत्ति र जीवनको रक्षा गर्छ। उनीहरू तर्क र विवेकले सोच्छन्, भावनामा बगेर होइन। उनीहरू धनीहरूको जस्तो अल्छे र चुसीखाने हुँदैनन् र गरिबहरूको जस्तो निराश पनि हुँदैनन्। यसैले जुन देशमा ठूलो र सबल मध्यम वर्ग हुन्छ, त्यो देश सबैभन्दा स्थिर र समृद्ध हुन्छ।
‘पोलिटी’ वास्तवमै यसै मध्यम वर्गको शासन हो। पोलिटीमा सत्ता न त केही धनीहरूको हातमा हुन्छ, न त बहुसंख्यक गरिबहरूको हातमा। बरु यो ती मध्यम वर्गीय नागरिकहरूको हातमा हुन्छ जसले देशको कानुनअनुसार शासन चलाउँछन्। यसमा लोकतन्त्रको त्यो सिद्धान्त लिइन्छ कि शासनमा बढीभन्दा बढी मानिसहरूको सहभागिता होस्, र धनिक तन्त्रको त्यो सिद्धान्त लिइन्छ कि केही पदका लागि योग्यता र सम्पत्ति पनि एक मापदण्ड होस्। यो एक किसिमको सन्तुलन हो।
एरिस्टोटल एउटा उदाहरण दिन्छन्। मान्नुस् कुनै पदमा नियुक्ति गर्नुपर्ने छ। लोकतन्त्र भन्छ, जसलाई पनि छान, चिठ्ठा निकाल। धनिक तन्त्र भन्छ, सबैभन्दा धनी मानिसलाई मात्र छान। तर पोलिटी भन्छ, चुनावमा भाग लिन सबैलाई अधिकार छ तर जो छानिनेछ उसले केही न्यूनतम योग्यताहरू पूरा गर्नुपर्नेछ। यो मध्यम मार्ग हो। यो स्वतन्त्रता र योग्यताबीचको सन्तुलन हो।
एरिस्टोटलको यो विचार आज पनि उत्तिकै सत्य लाग्छ। तपाईं संसारका सबैभन्दा स्थिर र सफल देशहरूलाई हेर्नुस्। तपाईंलाई त्यहाँ ठूलो र समृद्ध मध्यम वर्ग भेटिन्छ। र जस देशमा अत्यधिक धनी र गरिबबीचको खाडल हुन्छ, त्यहाँ तपाईं सधैं अस्थिरता, अपराध र संघर्ष देख्नुहुनेछ।
के यो मध्यम मार्ग सधैं सुरक्षित रहन्छ? के हुन्छ जब धनी र गरिबबीचको खाडल यति बढ्छ कि मध्यम वर्ग नै हराउन थाल्छ? त्यसबेला सरकारहरूको तख्ता पल्ट हुन्छ। क्रान्तिहरू हुन्छन्। किन हुन्छन् यी क्रान्तिहरू?
एरिस्टोटलले हामीलाई सिकाइरहेका थिए कि राम्रो समाज बनाउनका लागि हामीले अतिवादी विचारधाराबाट टाढा रहनुपर्छ। पोलिटी त्यही सुनौलो मध्यम मार्ग हो। यो व्यावहारिक छ। यो स्थिर छ र यो न्यायपूर्ण पनि छ, किनभने यसले कुनै एक वर्गको होइन बरु कानुनको शासन स्थापना गर्छ। यसलाई नै ‘रूल अफ ल’ भनिन्छ, जुन कुनै पनि राम्रो लोकतन्त्रको पहिलो शर्त हो।
तर के यो मध्यम मार्ग सधैं सुरक्षित रहन्छ? के हुन्छ जब धनी र गरिबबीचको खाडल यति बढ्छ कि मध्यम वर्ग नै हराउन थाल्छ? त्यसबेला सरकारहरूको तख्ता पल्ट हुन्छ। क्रान्तिहरू हुन्छन्। किन हुन्छन् यी क्रान्तिहरू? अनि एउटा शासकले कसरी यी क्रान्तिहरू हुनबाट रोक्न सक्छ?
क्रान्तिको आगो: किन पल्टिन्छन् तख्ताहरू र कसरी रोक्ने विद्रोह?
हामीले एरिस्टोटलको मनपर्ने सरकार ‘पोलिटी’का बारेमा थाहा पायौं, जुन उनको मान्यतामा मध्यम वर्गमा आधारित स्थिर र न्यायपूर्ण व्यवस्था हो। तर इतिहास साक्षी छ, कुनै पनि सरकार सधैंका लागि रहँदैन। समय समयमा क्रान्ति हुन्छन्। सत्ताहरू बदलिन्छन्। र कहिलेकाहीं त पूरा देश नै भत्किन्छ।
यस्तो किन हुन्छ? के कारणले मानिसहरू आफ्नै सरकारविरुद्ध हतियार उठाउँछन्?
हरेक क्रान्तिको पछाडि सबैभन्दा महत्वपूर्ण र सबैभन्दा गहिरो कारण असमानता हो। जब समाजको ठूलो भागलाई लाग्न थाल्छ कि उनीहरूसँग अन्याय भइरहेको छ, कि उनीहरूलाई त्यो सम्मान वा अधिकार दिइएको छैन जसका लागि उनी योग्य छन्, तब उनीहरूको मनमा क्रान्तिको बीउ रोपिन्छ।
एरिस्टोटलले यस प्रश्नमा निकै गहिराइसँग विचार गरे। उनी एक डाक्टरजस्तै थिए जसले केवल यो मात्र हेर्दैन कि बिरामीलाई ज्वरो आएको छ, तर यो बुझ्न खोज्छ कि त्यो ज्वरोको वास्तविक कारण के हो। यसरी नै एरिस्टोटलले क्रान्तिहरूका मूल कारणहरूलाई बुझ्न प्रयास गरे ताकि तिनलाई स्थायी रुपमा समाधान गर्न सकियोस् ।
एरिस्टोटल भन्छन् कि हरेक क्रान्तिको पछाडि सबैभन्दा महत्वपूर्ण र सबैभन्दा गहिरो कारण असमानता हो। जब समाजको ठूलो भागलाई लाग्न थाल्छ कि उनीहरूसँग अन्याय भइरहेको छ, कि उनीहरूलाई त्यो सम्मान वा अधिकार दिइएको छैन जसका लागि उनी योग्य छन्, तब उनीहरूको मनमा क्रान्तिको बीउ रोपिन्छ। यो असमानता दुई प्रकारको हुन सक्छ। पहिलो, जब बराबरीका मानिसहरूसँग असमान व्यवहार गरिन्छ। दोस्रो, जब असमान मानिसहरूलाई बराबर मानिन्छ।
यसलाई एउटा उदाहरणले बुझौं। मानौं एउटा अफिसमा दुई जना समान क्षमता र योग्यता भएका व्यक्तिहरु काम गर्छन्। तर एउटा व्यक्तिलाई पदोन्नति हुन्छ र अर्कोलाई हुँदैन, केवल त्यसकारण कि ऊ हाकिमको प्रियपात्र हो। यो पहिलो प्रकारको असमानता हो जसले आक्रोश उत्पन्न गर्छ। अब दोस्रो अवस्था सोचौं। एउटै समूहमा एउटा व्यक्तिले दिनरात मेहनत गर्छ तर अर्कोले कामै गर्दैन। तर वर्षको अन्त्यमा दुवैलाई समान बोनस दिइन्छ। यो दोस्रो प्रकारको असमानता हो जसले मेहनती व्यक्तिलाई निराश पार्छ। एरिस्टोटल भन्छन् कि समाजमा यस्तो अन्याय फैलिँदा मानिसहरू व्यवस्था बदल्न आतुर हुन्छन्।
जब नेताहरू केवल आफ्नो खल्ती भर्नमा लाग्छन् र जनताको पर्वाह गर्दैनन्, तब जनताको क्रोध चुलिन्छ । कहिलेकाहीं कसैलाई अत्यधिक सम्मान वा शक्ति दिइन्छ जसले अरूलाई जलाउँछ र उसविरुद्ध षड्यन्त्र हुन थाल्छ।
यो त मूल कारण भयो। तर यसका अतिरिक्त कतिपय तत्कालीन कारणहरू पनि हुन्छन् जसले यस आगोमा घिउ हाल्ने काम गर्छन्। जस्तै शासकहरूको घमण्ड र लोभ। जब नेताहरू केवल आफ्नो खल्ती भर्नमा लाग्छन् र जनताको पर्वाह गर्दैनन्, तब जनताको क्रोध चुलिन्छ । कहिलेकाहीं कसैलाई अत्यधिक सम्मान वा शक्ति दिइन्छ जसले अरूलाई जलाउँछ र उसविरुद्ध षड्यन्त्र हुन थाल्छ। कहिलेकाहीं समाजमा विदेशीहरूको संख्या यति बढ्छ कि स्थानीय जनतालाई आफ्नो पहिचान र संस्कृतिमा खतरा महसुस हुन्छ। भय, घृणा, अपमान यी सबै चिंगारीहरू हुन् जसले ठूलो क्रान्तिको आगो सल्काउन सक्छन्।
एरिस्टोटल भन्छन् कि फरक-फरक शासनमा क्रान्तिका कारण पनि फरक हुन्छन्। जस्तै, धनिकतन्त्रमा क्रान्ति तब हुन्छ जब गरिबहरू धनीहरूको अत्याचारबाट आजित हुन्छन्। जनसाधारणको शासन भनिने लोकतन्त्रमा धनीहरूलाई गरिबहरूको निर्णयले उनीहरूको सम्पत्तिमा खतरा पैदा गरेको छ भन्ने लाग्न थालेपछि विद्रोह हुन्छ । राजतन्त्रमा भने प्रायः सत्ताका लागि विद्रोह वा विप्लव राजपरिवारभित्रै हुन्छ ।
अब सबैभन्दा महत्वपूर्ण प्रश्न त यी विद्रोहहरूलाई कसरी रोक्ने? एरिस्टोटल केवल समस्या देखाएर बस्दैनन्, उनी यसको समाधान पनि दिन्छन्। उनी शासकहरूलाई आफ्नो सत्ता सुरक्षित राख्न र देशलाई स्थिर राख्न चाहन्छ भने के गर्नुपर्छ भन्ने सल्लाह पनि दिन्छन् ।
उनको पहिलो र सबैभन्दा महत्वपूर्ण सल्लाह हो: कानुनको शासन स्थापना गर। शासकले आफूलाई कानुनभन्दा माथि ठान्नु हुँदैन। उसले ठूला नियमहरूको जस्तै साना नियमहरूको पनि उस्तै सम्मान गर्नुपर्छ । मानिसहरूले साना नियमहरू तोडिँदै गरेको देख्दा तब उनीहरूको सम्पूर्ण व्यवस्थामाथि नै भरोसा हराउँछ ।
दोस्रो सल्लाह हो: आफ्ना प्रजासँग धोका नगर। तिनीहरूलाई झुटा वाचा र झुटा तथ्यांक देखाऊनु हुँदैन। सरकार पारदर्शी हुनुपर्छ।
तेस्रो र अत्यन्तै महत्वपूर्ण सल्लाह हो: देशमा समानताको भावना जगाऊ। एरिस्टोटल भन्छन् कि शासकले जानाजानी धनी र गरिब दुवैलाई नजिक ल्याउनुपर्छ। उनीहरूलाई मिलेर काम गर्ने अवसर दिनुपर्छ। र सबैभन्दा जरुरी, मध्यम वर्गलाई सधैं सबल बनाउनुपर्छ। किनभने मध्यम वर्ग नै त्यो जोड्ने कडी हो जसले समाजलाई एकै ठाउँमा राख्छ।
एउटा शासकले सधैं आफ्ना प्रजाबीच बस्नुपर्छ। उनीहरूको पीडा बुझ्नुपर्छ र देखाउनुपर्छ कि ऊ पनि त्यही समाजको भाग हो। उसले सादा जीवन बाँच्नुपर्छ ताकि जनता उसप्रति आत्मीयता महसुस गर्न सकून्।
एरिस्टोटल शासकहरूलाई कुनै एक व्यक्तिलाई अत्यधिक शक्तिशाली हुन दिन नहुने चेतावनी पनि दिन्छन् । शक्ति सधैं बाँडेर राख्नुपर्छ। अनि आफ्ना प्रजाको मुटुमा देशप्रतिको माया र संविधानप्रतिको सम्मान जगाउनुपर्छ। यो काम दण्डले होइन, शिक्षा र राम्रो व्यवहारले हुन्छ।
एउटा शासकले सधैं आफ्ना प्रजाबीच बस्नुपर्छ। उनीहरूको पीडा बुझ्नुपर्छ र देखाउनुपर्छ कि ऊ पनि त्यही समाजको भाग हो। उसले सादा जीवन बाँच्नुपर्छ ताकि जनता उसप्रति आत्मीयता महसुस गर्न सकून्।
एरिस्टोटलका यी सल्लाहहरू आजका नेताहरूका लागि मार्गदर्शन पुस्तकजस्तै छन्। त्यसमा व्यक्त विचारहरुले सिकाउँछ– विद्रोह तोप र तरबारले होइन, न्याय, समानता र असल शासनले रोकिन्छ।
यसरी हामीले बुझ्यौं कि देशलाई टुक्रिनबाट कसरी सुरक्षित राख्ने। तर हामीले एक बिल्कुल नयाँ, एउटा आदर्श राज्य बनाउनु परे भने त्यसको सुरुवात कसरी हुन्छ? त्यसको आधारभूमि कस्तो हुन्छ? त्यसमा कति मानिस हुनुपर्छ? त्यसको चरित्र कस्तो हुनुपर्छ?
एरिस्टोटलले केवल विद्यमान सरकारहरूको विश्लेषण मात्र गरेनन्, उनले एउटा आदर्श राज्यको कल्पना पनि गरे। त्यो कल्पना के थियो? आदर्श राज्यको जग कसरी राखिन्छ?
एक आदर्श राज्यको सपना: कस्तो देश– कस्ता मानिस?
एरिस्टोटलले एउटा आदर्श राज्यको कल्पना गरेका थिए । एउटा यस्तो राज्य, जो केवल टिकाउ मात्र होइन, जसका नागरिकहरू साँच्चिकै खुशी र समृद्ध हुनेछन्। यो एरिस्टोटलको सपना थियो। यस्तो सपना आफ्नो देशलाई प्रेम गर्ने हरेक मानिसको हुन्छ ।
एक आदर्श राज्य बनाउनका लागि सबैभन्दा पहिले के–के चाहिन्छ? सबैभन्दा पहिलो आवश्यकता हो जनसंख्या। एरिस्टोटलको मान्यतामा एउटा आदर्श राज्यको जनसंख्या न त धेरै बढी हुनुपर्छ न त धेरै कम। जनसंख्या धेरै कम भयो भने राज्य आत्मनिर्भर बन्न सक्दैन। आफ्ना आवश्यकता पूरा गर्न र आफ्नो रक्षा गर्न पर्याप्त मानिसहरू नै हुने छैनन्। तर जनसंख्या धेरै बढी भयो भने त्यसलाई सम्हाल्न कठिन हुनेछ। त्यहाँ अव्यवस्था फैलिनेछ, एकअर्काबीचको परिचय हराउनेछ र शासकका लागि हरेक नागरिकसम्म पुग्न असम्भव हुनेछ।
एरिस्टोटलका लागि आदर्श जनसंख्या त्यति नै हो जुन सजिलै एउटै ठाउँमा भेला गरेर सम्बोधन गर्न सकियोस् र जहाँ मानिसहरूले एकअर्कालाई व्यक्तिगत रूपमा चिन्न सकून्। उनको विश्वास थियो कि मानिसहरूले एकअर्कालाई चिन्ने अवस्थामा तिनीहरूको बीचमा मित्रता र एकताको भावना जन्मिन्छ । यो मित्रता र एकताको भाव जुन कुनै पनि राज्यको मजबूतीका लागि अत्यन्तै जरुरी हुन्छ।
राज्यको जमिन कस्तो हुनुपर्छ? एरिस्टोटल यहाँ पनि मध्यम मार्ग रोज्छन्। उनी भन्छन् कि जमिन त्यति विशाल हुनैपर्छ कि सबै नागरिकको पेट भर्न सकियोस् र उनीहरूलाई राम्रो जीवन दिन सकियोस्। यसको मतलब राज्य आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ। उसले आफ्नो आवश्यकता पूरा गर्न अरूमाथि निर्भर रहनु हुँदैन। साथै राज्यको भौगोलिक स्थिति त्यस्तो हुनुपर्छ जसको रक्षा गर्न सजिलो होस्। जस्तै चारैतिर पर्वत वा समुद्र भएको होस् ताकि दुश्मनले सजिलै आक्रमण गर्न नसकोस्।
एरिस्टोटल भन्छन् कि आदर्श राज्यमा एउटा बन्दरगाह पनि हुनुपर्छ ताकि उसले अरू देशहरूसँग व्यापार गर्न सकोस् र आवश्यक पर्दा नौसेना प्रयोग गर्न सकोस्। तर साथसाथै उनी बाहिरी संसारसँग अत्यधिक सम्पर्क पनि ठीक नहुने चेतावनी दिन्छन् । उनको विचारमा त्यसले विदेशी र खराब बानी राज्यभित्र प्रवेश गर्न सक्छन्। यहाँ पनि कुरा सन्तुलनकै हो।
एउटा आदर्श राज्यका नागरिकहरुमा उत्तरी युरोपका मानिसजस्तै साहस र वीरता हुनुपर्छ ताकि उनीहरूले आफ्नो देशको रक्षा गर्न सकून्। तर त्यस्तै गरी उनीहरूमा एशियाका मानिसजस्तै बुद्धि र कलात्मकता पनि हुनुपर्छ ताकि उनीहरूले शान्त र सुसंस्कृत जीवन बिताउन सकून्।
एरिस्टोटलले विशेष जोड दिएको तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा हो– नागरिकहरूको चरित्र। देशको जमिन उब्जाउ अनि जनसंख्या उपयुक्त भए पनि त्यहाँका मानिसहरू नै असल भएनन् भने त्यो देश कहिल्यै महान् बन्न सक्दैन।
अब प्रश्न उठ्छ, एक आदर्श राज्यका नागरिकमा कस्तो गुण हुनुपर्छ? एरिस्टोटल भन्छन् कि नागरिकहरूमा दुई प्रकारका गुणहरूको मिश्रण हुनुपर्छ। तिनीहरूमा उत्तरी युरोपका मानिसजस्तै साहस र वीरता हुनुपर्छ ताकि उनीहरूले आफ्नो देशको रक्षा गर्न सकून्। तर त्यस्तै गरी उनीहरूमा एशियाका मानिसजस्तै बुद्धि र कलात्मकता पनि हुनुपर्छ ताकि उनीहरूले शान्त र सुसंस्कृत जीवन बिताउन सकून्।
एरिस्टोटलको मान्यता थियो कि उनको आफ्नै देश यूनान (ग्रीस) का मानिसहरूमा यी दुवै गुणहरूको सबैभन्दा राम्रो मिश्रण छ। उनी भन्थे कि आदर्श नागरिक बहादुरसँगै विचारशील पनि हुनुपर्छ। उसलाई लड्न आउनुपर्छ र शान्तिपूर्वक बाँच्न पनि जान्नुपर्छ।
सही जनसंख्या, सही भूभाग र सही चरित्र भएका नागरिक – यी तीन आधारशिलाहरूको जगमाथि एरिस्टोटलले आफ्नो आदर्श राज्यको भवन खडा गर्छन्।
यस राज्यमा कामको पनि बाँडफाँड हुनेछ। केही मानिस अन्न फलाउने किसान हुनेछन् । केही सामान बनाउने कालिगढ हुनेछन् । केही देशको रक्षा गर्ने सैनिक हुनेछन् । केही व्यापारी हुनेछन् र केही पुजारी हुनेछन् जो धार्मिक काम गर्नेछन्। तर शासन गर्ने र न्याय गर्ने अधिकार केवल नागरिकहरूमात्रलाई हुनेछ।
र यी नागरिक को हुनेछन्? यी त्यस्ता मानिस हुनेछन् जसको आफ्नै जमिन हुनेछ र जसलाई युद्ध र शासन दुवैको अनुभव हुनेछ। एरिस्टोटल भन्थे कि जो मानिस दिनभरि मेहनत मजदूरी गर्छन्, तिनसँग सोच्ने, विचार्ने र राज्यका मामिलामा भाग लिने समय र ऊर्जा हुँदैन। यो विचार आज हामीलाई गलत लाग्न सक्छ, तर उनको यो विचारले समकालीन समयको सामाजिक संरचना कस्तो थियो भन्ने झल्को दिन्छ ।
अब राज्यको जग त राखिसकियो। तर यस जगमाथि बन्ने भवन, अर्थात् नागरिकहरूलाई असल र गुणी कसरी बनाउने? के त्यस्तो कुनै उपाय छ जसले गर्दा राज्य आफ्ना बालबालिकालाई सुरुदेखि नै आदर्श नागरिक बन्ने तालिम दिन सकोस्?
एरिस्टोटलसँग यसको पनि जवाफ थियो। र त्यो जवाफ थियो शिक्षा।
जस्तो शिक्षा–त्यस्तै देश: आदर्श नागरिक कसरी बनाउने?
एरिस्टोटलको मान्यतामा कुनै पनि देशको भविष्य उसले आफ्ना बालबालिकालाई कस्तो शिक्षा दिन्छ भन्ने कुरामा निर्भर हुन्छ । उनका लागि शिक्षा, जसलाई आमाबाबुले मन लागे जसरी दिन सकून् भन्ने खालको निजी कुरा थिएन । बरु शिक्षा राज्यका सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये एक थियो। किनभने जस्तो शिक्षा हुन्छ, त्यस्तै नागरिक बन्नेछन् र जस्ता नागरिक हुन्छन्, त्यस्तै देश बन्नेछ।
एरिस्टोटल भन्छन् कि शिक्षा केवल जागिर पाउने वा पैसा कमाउने साधन मात्र हुनु हुँदैन। शिक्षाको वास्तविक उद्देश्य मानिसको सर्वाङ्गीण विकास गर्नु हो, उसको शरीरको पनि र उसको चेतनाको पनि।
एरिस्टोटलले एउटा व्यवस्थित शिक्षा प्रणालीको खाका कोरेका थिए, जुन हरेक बालबालिकालाई जन्मदेखि २१ वर्षसम्म दिनुपर्ने थियो। र यो शिक्षा सबैका लागि समान र अनिवार्य हुनुपर्थ्यो, ताकि सारा देशभर एउटै प्रकारका मूल्य र संस्कार विकास हुन सकून्।
शिक्षाको लक्ष्य मानिसलाई राम्रो जीवन बाँच्न तयार बनाउनु हो। र त्यो राम्रो जीवन भनेको त्यस्तो जीवन हो जसमा मानिसले आफ्नो विवेकको सही प्रयोग गर्न सकोस्, जसमा उसले खुशी र सद्गुण दुवै हासिल गर्न सकोस्।
यसैकारण एरिस्टोटलले एउटा व्यवस्थित शिक्षा प्रणालीको खाका कोरेका थिए, जुन हरेक बालबालिकालाई जन्मदेखि २१ वर्षसम्म दिनुपर्ने थियो। र यो शिक्षा सबैका लागि समान र अनिवार्य हुनुपर्थ्यो, ताकि सारा देशभर एउटै प्रकारका मूल्य र संस्कार विकास हुन सकून्।
एरिस्टोटलको शिक्षा प्रणाली तीन चरणमा बाँडिएको थियो। पहिलो चरण जन्मदेखि सात वर्षसम्म। यस अवधिमा बालबालिकालाई कुनै पुस्तक–ज्ञान दिइनु हुँदैन। यो समय हो उसको शरीरलाई सबल बनाउन। उसलाई पौष्टिक खाना दिनु, खेलकुद गराउनु र कठोर मौसम सहन सक्ने बानी बसाल्नु।
एरिस्टोटलको मान्यता थियो कि स्वस्थ शरीरमा मात्र स्वस्थ मन रहन सक्छ। यस अवधिमा बालबालिकालाई खराब कथाहरू र खराब संगतबाट टाढा राख्नु पनि अत्यन्त आवश्यक छ। किनभने यस उमेरमा उनीहरूको मन खाली कागज जस्तै हुन्छ, जसमा जे लेखिदिन्छौं, त्यही छापिन्छ।
दोस्रो चरण सात वर्षदेखि चौध वर्षसम्म। अब शरीरसँगै मनको विकासमा पनि ध्यान दिइनेछ। यस उमेरमा बालबालिकालाई मुख्य रूपमा चार विषय पढाइने थिए।
पहिलो अध्ययन, लेखन र गणित ताकि उनीहरूले दैनिक जीवनमा काम लाग्ने कुरा सिक्न सकून्।
दोस्रो जिम्नास्टिक वा शारीरिक व्यायाम। यो केवल शरीर बलियो बनाउने मात्र होइन, बालबालिकामा अनुशासन, साहस र टोली भावना विकास गर्न पनि आवश्यक थियो।
तेस्रो विषय चित्रकला । यसले बालबालिकामा सुन्दरताको मूल्यांकन र प्रशंसा गर्ने समझ विकास गर्न मद्दत पुर्याउँछ।
चौथो र सबैभन्दा महत्वपूर्ण विषय संगीत। एरिस्टोटलले संगीतलाई मनोरञ्जन मात्र नठानेर त्यो भन्दा बढी महत्त्वपूर्ण मान्थे। उनका अनुसार संगीतले हाम्रो भावनामा प्रत्यक्ष प्रभाव पार्न सक्छ। विभिन्न प्रकारको संगीतले हामीमा जस्तै शान्ति, वीरता वा करुणा लगायतका विभिन्न भावहरु उत्पन्न गर्न सक्छ। त्यसैले बालबालिकालाई राम्रो र नैतिक संगीत सिकाउनु आवश्यक छ ताकि उनीहरूको चेतना विकास होस् र चरित्र बलियो बनोस्।
तेस्रो र अन्तिम चरण चौध वर्षदेखि एक्काइस वर्षसम्म। यो उच्च शिक्षा अवधि थियो। अब शरीर र चरित्रको जग बलियो भइसकेको हुनेछ । यसचरणमा बालबालिकालाई गम्भीर र बौद्धिक विषयहरू पढाइने छन्। यसमा साहित्य, इतिहास, दर्शन, राजनीति र विज्ञानजस्ता विषय समावेश हुनेछन्।
काम त जनावर पनि गर्छन्, तर मानिसको पहिचान यसमा हुन्छ कि उसले आफ्नो फुर्सदको समय कसरी उपयोग गर्छ। के उसले समय केवल आलस्यमा बर्बाद गर्छ, कि ज्ञान अर्जन, कलाको आनन्द लिन र आफ्नो चेतनालाई उन्नत गर्न प्रयोग गर्छ?
यस शिक्षाको उद्देश्य उनीहरूमा तर्क गर्ने, सही–गलतको निर्णय गर्ने र जिम्मेवार नागरिक बन्ने क्षमता विकास गर्नु हो। यो शिक्षा भविष्यमा उनीहरूलाई राम्रो शासक, सक्षम सैनिक र जिम्मेवार नागरिकको रूपमा तयार पार्नेछ।
एरिस्टोटलको मान्यता थियो कि शिक्षाको अर्को महत्त्वपूर्ण कार्य हो व्यक्तिलाई खाली समयको सदुपयोग गर्न सिकाउनु। उनी भन्थे, काम त जनावर पनि गर्छन्, तर मानिसको पहिचान यसमा हुन्छ कि उसले आफ्नो फुर्सदको समय कसरी उपयोग गर्छ। के उसले समय केवल आलस्यमा बर्बाद गर्छ, कि ज्ञान अर्जन, कलाको आनन्द लिन र आफ्नो चेतनालाई उन्नत गर्न प्रयोग गर्छ? राम्रो शिक्षा यही सिकाउँछ।
अब हामीसँग आदर्श राज्य छ र त्यसका लागि आदर्श शिक्षा प्रणाली पनि छ। तर एउटा कुरा अझ बाँकी छ। राज्यलाई केवल कानून र शिक्षा मात्र होइन, एक सूत्रमा बाँध्ने अर्को कुरा पनि छ, जुन अदृश्य धागो जस्तै पुरै समाजलाई बाँधेर राख्छ। त्यो हो न्याय र मित्रताको सम्बन्ध।
न्यायको तराजु र मित्रताको धागो
एक राज्यलाई के एक सूत्रमा बाँध्छ? हामी हाम्रो यात्राको लगभग अन्त्यतिर आइपुगेका छौं। हामीले एरिस्टोटलसँग मिलेर आदर्श राज्यको नींव राख्यौं। उसको पर्खाललाई शिक्षाबाट मजबुत बनायौं र अब हामी यसको छाना टाँस्न जाँदैछौं।
यो छाना दुई बलियो स्तम्भमा आधारित छ। पहिलो न्याय र दोस्रो मित्रता।
एरिस्टोटलको मान्यतामा जबसम्म नागरिकहरूलाई न्यायप्रतिको विश्वास र उनीहरूको बीचमा आपसी माया र सौहार्दको सम्बन्ध नभएसम्म राज्य सही रूपमा एक हुन सक्दैन । यी दुई कुरा त्यो टाँस्नु गम जस्तो हो जसले अलग-अलग मानिसहरूलाई एकसाथ ल्याएर राष्ट्र बनाउँछन्।
अब न्यायको कुरा गरौं। न्याय के हो? एरिस्टोटलको मान्यतामा न्यायको अर्थ हो हरेक व्यक्तिलाई उसको हक दिनु। न कसैलाई उसको हकभन्दा बढी, न कसैलाई कम।
तर हक कसरी निर्धारण गरिने? यहाँ एरिस्टोटलले न्यायका दुई प्रकार बताउँछन्, जुन आज पनि कानुनको दुनियाँमा महत्त्वपूर्ण मानिन्छन्।
पहिलो हो वितरणात्मक न्याय (डिस्ट्रीब्यूटिव जस्टिस)। यसको सम्बन्ध राज्यद्वारा सम्मान, पद र सम्पत्ति जस्ता चीजहरूको बाँडफाँडसँग हुन्छ।
एरिस्टोटल भन्छन् कि यो बाँडफाँड सबैसँग समान हुनु हुँदैन। बरु हरेक व्यक्तिको योग्यता र योगदानको अनुपातमा हुनु पर्छ। जस्तै, सेनामा सेनापतिले सामान्य सैनिकभन्दा बढी सम्मान र तलब पाउनु स्वाभाविक हुन्छ। किनभने उसको जिम्मेवारी र योग्यता बढी हुन्छ। यदि दुबैलाई बराबर मान्ने हो भने त्यो अन्याय हुनेछ। त्यसैले वितरणात्मक न्यायको सिद्धान्त छ—बराबरका व्यक्तिसँग बराबर व्यवहार र गैरबराबर व्यक्तिसँग गैरबराबर व्यवहार, उनीहरूको योग्यता अनुसार।
कानूनको काम को धनी छ र को गरिब, को योग्य छ र को अयोग्य भनेर यो हेर्नु होइन। कानूनको नजरमा सबै समान छन्। कानूनको काम केवल यो हो कि जसले गलत गरेको छ, उसलाई सजाय दिनु र जसको नोक्सान भएको छ, उसलाई क्षतिपूर्ति गर्नु।
दोस्रो हो सुधारात्मक न्याय (Corrective justive)। यसको सम्बन्ध तब उत्पन्न हुन्छ जब एक व्यक्ति अर्कोको साथ केही गलत गर्छ, जस्तै चोरी, धोखाधड़ी वा हिंसा।
यहाँ कानूनको काम को धनी छ र को गरिब, को योग्य छ र को अयोग्य भनेर यो हेर्नु होइन। कानूनको नजरमा सबै समान छन्। कानूनको काम केवल यो हो कि जसले गलत गरेको छ, उसलाई सजाय दिनु र जसको नोक्सान भएको छ, उसलाई क्षतिपूर्ति गर्नु। यो न्यायको तराजु हो, जसको दुवै पल्ला सधैं बराबर रहन्छ। यसको उद्देश्य समाजमा बिग्रिएको सन्तुलन फेरि सही गर्नु हो।
त्यसैले एक आदर्श राज्यमा यी दुवै प्रकारको न्यायको व्यवस्था हुनु पर्छ। मानिसहरूलाई उनीहरूको योग्यताको समुचित सम्मान हुनेछ र उनीहरूप्रति केही गलत भयो भने कानूनले उनीहरूको रक्षा गर्नेछ भन्ने विश्वास हुनु पर्छ । यही विश्वास मानिसहरूलाई राज्य र यसको कानूनको सम्मान गर्न प्रेरित गर्छ।
तर कानून र न्याय जतिसुकै राम्रो भए पनि, यसले मानिसहरूलाई केवल बाहिरबाट नियन्त्रण गर्न सक्छ। मानिसहरूको मनलाई एकसाथ ल्याउने काम को गर्नेछ? यहाँ एरिस्टोटल आफ्नो सबैभन्दा सुन्दर विचार प्रस्तुत गर्छन्—मित्रता ।
एरिस्टोटलका लागि मित्रता केवल दुई व्यक्तिबीचको व्यक्तिगत सम्बन्ध मात्र थिएन। यो एक राजनीतिक गुण थियो। उनको मान्यता थियो कि मित्रता नै त्यो सिमेन्ट हो जसले राज्यलाई टुक्रिनबाट बचाउँछ। जब नागरिकहरूबीच आपसी स्नेह, सम्मान र एकअर्काको भलाइको भावना हुन्छ, तब उनीहरूलाई न्याय र कानूनको आवश्यकतै कम हुन्छ। मानिसहरू आफैं एकअर्कासँग सही व्यवहार गर्छन्।
एरिस्टोटल भन्छन् कि मित्रता तीन प्रकारको हुन्छ।
पहिलो, जो लाभमा आधारित हुन्छ। जस्तै दुई व्यापारीको मित्रता। यो तबसम्म टिक्छ जबसम्म दुवैलाई एकअर्काबाट लाभ हुन्छ।
दोस्रो, जो आनन्द वा रमाइलोमा आधारित हुन्छ। जस्तै दुई युवाको मित्रता, जो सँगै घुम्छन्। यो पनि तबसम्म टिक्छ जब रमाइलो भइरहेको हुन्छ।
तर तेस्रो र सबैभन्दा साँचो मित्रता त्यो हो, जुन एकअर्काका गुण र असल कर्ममा आधारित हुन्छ। यसमा साथीहरू एकअर्काको भलाइ चाहन्छन्। त्यो लाभ र हानीको सोचाइबाट भन्दा पर एकअर्काप्रतिको सम्मान र आदरभावमा आधारित हुनेछ ।
एरिस्टोटल भन्छन् कि एक राज्यलाई यही तेस्रो प्रकारको मित्रताको आवश्यकता छ। नागरिकहरूबीच नागरिक मित्रता (सिभिक फ्रेंडशिप) हुनु पर्छ। उनीहरूले महसुस गर्नुपर्छ कि सबै एउटै डुङ्गामा छन्। डुङ्गा डुब्यो भने सबै सँगै डुब्छन्, त्यो सकुशल किनारमा पुग्यो भने सबै सँगै पुग्छन्। यही भावना हो—असल मित्रता।
जब मानिसहरू केवल आफ्नो बारेमा मात्र होइन, समग्र समाजको भलाइको बारेमा सोच्न थाल्छन्, तब त्यो राज्य विश्वको सबैभन्दा बलियो र खुसी राज्य बन्न पुग्छ।
एरिस्टोटलका चस्माबाट आजको संसार नियाल्दा !
हामीले एरिस्टोटलको राजनीति संसारमा लामो र गहिरो यात्रा तय गर्यौं। हामीले मानिसलाई राजनीतिक प्राणीको रूपमा बुझ्यौं। घर र राज्यको फरक बुझ्यौं। एक असल नागरिकको पहिचान गर्यौं र राम्रा र नराम्रा सरकारको चरित्र थाहा पायौं । हामीले क्रान्ति वा विद्रोहहरूका कारण खोज्यौं र एक आदर्श राज्यको कल्पना गर्यौं, जुन शिक्षा, न्याय र मित्रताका धागाहरूले बनेको थियो।
एरिस्टोटलका विचारहरुलाई गहन ढङ्गले पढिसकेपछि स्वभाविक रुपमा मनमा प्रश्न उठ्न सक्छ– उनका विचारहरुले आजको सन्दर्भमा के अर्थ राख्छन्? के २३०० वर्ष पुराना यी कुरा हाम्रो जटिल राजनीतिक समस्याहरूको कुनै समाधान दिन सक्छन्?
यसको उत्तर सकारात्मक नै हुनेछ । किनभने एरिस्टोटलले व्यक्त गरेका विचारका सार वा अन्तर्यहरु आज पनि त्यति नै ,वा सायद पहिले भन्दा पनि अझ बढी प्रासंगिक छन्।
एरिस्टोटलले हामीलाई दिएको पहिलो र सबैभन्दा महत्वपूर्ण शिक्षा राजनीति त्यसबाट टाढा भाग्नु पर्ने कुनै खराब कुरा होइन भन्ने हो । उनका अनुसार राजनीतिको वास्तविक उद्देश्य राम्रो जीवन निर्माण गर्नु हो। यो एउटा उन्नत, न्यायपूर्ण र सुखी समाज बनाउनको सामूहिक प्रयास हो। ।
जब हामी भोट दिन जान्छौं, जब हामी कुनै सामाजिक मुद्दामा आफ्नो आवाज उठाउँछौं वा जब हामी केवल आफ्नो नागरिक कर्तव्य पालन गर्छौं, तब हामी सबै राजनीतिको नै हिस्सा बन्ने गर्छौं। एरिस्टोटल हामीलाई सम्झाउँछन् कि एक राम्रो नागरिक हुनु केवल अधिकारको माग गर्नु होइन, जिम्मेवारी निभाउनु पनि हो। आजको युगमा जहाँ मानिसहरू प्रायः प्रणालीको आलोचना गर्छन्, एरिस्टोटल हामीलाई सक्रिय र जिम्मेवार हिस्साको रूपमा प्रणालीको भाग बन्न प्रेरित गर्छन्।
जब हामी देख्छौं कि केही धनी निगमहरूले पूरा सरकार नियन्त्रण गरिरहेका छन्, तब हामी ओलिगार्कीको सिद्धान्त बुझ्छौं। र जब हामी देख्छौं कि कसरी सोशल मिडियामा बिना कुनै तथ्य र आधार जब कसैलाई हीरो वा खलनायक बनाइदिन्छ, तब हामीलाई एरिस्टोटलले भन्ने गरेको जनसमूहको शासनको खतराको असली रुप थाहा पाउँछौं ।
एरिस्टोटलको सरकारको वर्गीकरण आज पनि हामीलाई विश्वका राजनीतिक व्यवस्थाहरूलाई बुझ्न सहयोग गर्छ। जब हामी कुनै देशमा तानाशाहलाई देख्छौं, तब हामीलाई एरिस्टोटलले उल्लेख गरेको निरंकुश शासनको सम्झना आउँछ। जब हामी देख्छौं कि केही धनी निगमहरूले पूरा सरकार नियन्त्रण गरिरहेका छन्, तब हामी ओलिगार्कीको सिद्धान्त बुझ्छौं। र जब हामी देख्छौं कि कसरी सोशल मिडियामा बिना कुनै तथ्य र आधार जब कसैलाई हीरो वा खलनायक बनाइदिन्छ, तब हामीलाई एरिस्टोटलले भन्ने गरेको जनसमूहको शासनको खतराको असली रुप थाहा पाउँछौं ।
एरिस्टोटलले हामीलाई कुनै पनि सरकारको वास्तविक पहिचान यसको नाम, लोकतन्त्र वा साम्यवादमा होइन, तर यसको चरित्रमा हुन्छ भन्ने कुरा सिकाउँछन् । के यसले कानूनको शासन मान्दछ? के यो सम्पूर्ण समाजको भलाइको लागि काम गर्दैछ? यही प्रश्नहरू हामीले आफ्ना सरकारसँग सोध्नुपर्छ।
एरिस्टोटलले मध्यम वर्गमा जोड दिनु आजको विश्वका लागि ठूलो चेतावनी हो। आज जब हामी सम्पूर्ण विश्वमा धनी र गरिबबीचको खाडल बढ्दै गएको पृष्ठभूमिमा एरिस्टोटलले हामीलाई यो कुनै पनि देशको स्थिरताका लागि सबैभन्दा ठूलो खतरा हो भन्ने कुरामा सचेत गराउँछ ।
एरिस्टोटलको विकासको अर्थ केवल केही व्यक्तिहरूको धनी हुनु होइन, तर धेरैभन्दा धेरै मानिसहरूलाई गरिबीबाट उकासेर सम्मानजनक जीवन दिनु हो भन्ने मान्यता आजका अर्थशास्त्री र नीति निर्माताहरूका लागि पनि एउटा सोचनीय पाठ हो ।
एरिस्टोटलको न्याय र मित्रताबारेको विचार आजको सन्दर्भमा झनै प्रासङ्गिक भएर गएको छ । आज समाज धर्म, जाति र विचारधाराको नाममा विभाजित छ। एरिस्टोटल हामीलाई सम्झाउँछन् कि कुनै पनि देश केवल कानूनले मात्र चल्दैन। त्यसलाई एक सूत्रमा बाँध्न आपसी सम्मान र असल मित्रता आवश्यक हुन्छ। एकअर्काका दृष्टिकोण बुझ्ने, एकअर्काको भलाइ चाहने भावनाबिना हामी पशुभन्दा फरक प्राणी त बन्ने छौं, राष्ट्र बन्न सक्दैनौं।
सारमा भन्दा एरिस्टोटलको कृति ‘राजनीति’ एउटा किताब मात्रै हैन, यो त समाजलाई हेर्ने पुरानो ऐना हो, जसमा हामी समकालीन समाजको प्रतिविम्ब पनि देखन् सक्छौं । यो एउटा नक्शा हो, जसले हामीलाई एक राम्रो भविष्यको मार्ग देखाउन सक्छ। यसले हामीलाई सिकाउँछ कि राजनीति को वास्तविक उद्देश्य सत्ता संघर्ष होइन, तर सद्गुणी र सुखी समाजको निर्माण हो। यो कठिन काम हो, तर असम्भव होइन। र यसको शुरुआत हामीमध्ये प्रत्येकले जागरूक र जिम्मेवार नागरिक भएर गर्नु जरुरी छ ।
पुनर्लेखन, सम्पादन र प्रस्तुति: चन्द्र खाकी
सन्दर्भ स्रोतहरु:
Aristotle: Politics. Oxford World Classics
Aristotle: Politics. Penguine Classics

जेनजी आन्दोलन र नवउदारवादको छायाँ: नेपालको संकटको गहिरो कारण के हो ?

भारतीय बैंकहरुले नेपाली निजीक्षेत्रमा लगानी गर्न पाउने भारतीय रिजर्भ बैंकको …

वैश्विक अस्थीरता र अदृश्य शक्तिको चलखेल: चोम्स्कीको ‘हु रुल्स द वर्ल्ड’

सत्ता केन्द्रित संस्कृतिबाट संस्थागत नेतृत्वतर्फको संक्रमण

प्रतिनिधिसभा निर्वाचन २०८२ को राजनीतिक कार्यनीति समाजवादी लोकतान्त्रिक सरकार!

कहाँ चुके नेपालका बामपन्थीहरु ?

डिजिटलाइजेशनको अवसर र पूँजीवादी चुनौती: इम्बोस्ड नम्बर प्लेटको बहस

प्रतिक्रिया