महिनावारीप्रति हुने भेदभाव: सामाजिक कलङ्क र लैङ्गिक हिंसाको खतरनाक रुप !
महिलामा महिनावारी किन र कसरी हुन्छ?

दक्षिण एसियाका हिन्दू बाहुलय समाजमा महिनावारीलाई परम्परागत रूपमा अशुद्ध वा कलंक मानिने चलन छ। नेपालका ग्रामीण क्षेत्रमा महिनावारी भएकी महिलाहरूलाई परिवारको मुख्य घरमा बस्न नदिई अलग झुप्रो (छाउपडी)मा बस्न बाध्य पारिन्छ। युनेस्कोको अध्ययनअनुसार नेपालमा करिब ८९% महिलाहरूले महिनावारीका दिन कुनै न कुनै प्रतिबन्ध भोग्ने गरेका छन् । महिनावारीका बेला लगभग ६०% महिला घरमा परिवारसँगै नबसी अलग बस्न बाध्य छन् । यस्ता विभेदको कारण महिलाहरू विद्यालय, कामकाज वा सार्वजनिक ठाउँबाट अलग्गिन्छन्। उदाहरणका लागि, सामाजिक कलंकका कारण पुरुषहरूले महिलालाई छुन नमिल्ने, खाना पकाउन नदिने, मन्दिर जान नदिने जस्ता कडाइ गरिएको पाइन्छ । यी अभ्यासहरूका पछाडि कुनै वैज्ञानिक आधार र कारणहरु छैन । सामाजिक प्रचलन र धार्मिक मान्यताको आडमा थोपरिएको यो कलङ्कले महिलाको आत्मसम्मान र सामाजिक सहभागितामा नकारात्मक प्रभाव पार्दै आएको छ ।
धार्मिक तथा सांस्कृतिक दृष्टिकोण
महिनावारीको सम्बन्धमा धार्मिक विचारधाराहरूमा भिन्नता छ। हिन्दु परम्परामा महिनावारी अशुद्ध मानिने भएकाले, मासिकधर्मका बेला महिलालाई पूजा–आराधना, खानपिन वा खाना पकाउन रोक लगाइन्छ । हिन्दु शास्त्रहरूमा इन्द्रको कथा अनुसार मासिक रजोस्वलालाई पूर्वजन्मको पापको कारण मानिन्छ, र त्यस अवस्थामा महिलालाई ‘पवित्र कार्य’ नगर्न भनिएको छ । महिनावारीको सवालमा बुद्ध धर्म भने वैज्ञानिक देखिन्छ । यस धर्मले र्ममा महिनावारीलाई शारीरिक–जैविक प्रक्रिया मान्छ । त्यसले महिनावारीलाई सामान्य मानव शारीरिक अवस्थाको रूपमा लिएर स्वभाविक रुपमा ग्रहण गर्ने गर्छ। इस्लाम धर्ममा महिलालाई मासिक धर्मका बेला प्रार्थना र रोजा लगाउन निषेध त गर्छ तर यसलाई पाप र अशुद्धता रूपमा लिँदैन । यसरी हेर्दा मूलत: हिन्दू धर्ममा आधारित धार्मिक विश्वास र परम्पराहरूले समाजमा महिनावारी सम्बन्धी कलंक र विभेदको आधार तयार गरेको देखिन्छ ।
कानुनी सन्दर्भ
नेपालमा महिनावारी सम्बन्धी विभेदलाई गैरकानुनी ठहर गरिएको छ। नयाँ मुलुकी फौजदारी संहिता (२०७४) को धारा १६८ अन्तर्गत “महिनावारी वा सुत्केरी अवस्थामा महिलालाई छाउगोठमा राख्नु वा अन्य कुनै विभेद, छुवाछुत वा अमानवीय व्यवहार गर्नु” अपराध मानिएको छ । यसले छाउपडीमा राख्ने वा छुवाछुत गर्ने व्यक्तिलाई तीन महिना कैद वा ३ हजार रुपैयाँ जरिवाना वा दुवै सजायको प्रावधान गरेको छ। नेपालको संविधानले पनि धार्मिक–सामाजिक परम्परा आडपारेर महिलाविरुद्ध हुने विभेद वा हिंसा रोक्ने व्यवस्था गरेको छ। नेपालको सर्वोच्च अदालतले पनि मासिकधर्म विभेदविरुद्ध फैसला गरिसकेको छ। भारतमा पनि महिलालाई महिनावारीको आधारमा गरिने भेदभावलाई गैरसंवैधानिक ठहराइएको पाइन्छ । उदाहरणका लागि, सन् २०१८ मा भारतीय सर्वोच्च अदालतले साबरिमाला मन्दिरमा मासिकधर्मी उमेर समूहका महिलालाई प्रवेशमा रोक लगाउनु असंवैधानिक र लिङ्गीय भेदभाव भएको फैसला गरेको छ। यी कानुनी व्यवस्थाहरूले देखाउँछन् कि मासिकधर्मका आधारमा हुने भेदभाव र अन्यायलाई ‘सामाजिक अपराध’ वा अधिकार उल्लंघनको रूपमा नियालिएको छ।
लैङ्गिक न्याय र मानव अधिकार
महिनावारी विरुद्धका विभेद र व्यवहारले महिला–किशोरीको स्वास्थ्य, शिक्षाको अवसर र सुरक्षामा प्रत्यक्ष असर पुर्याउँछन्। छाउपडी जस्ता अभ्यासले साँघुरो झुप्रोमा बसेको वा आगो तापेपछि धुवाँ लागेर मृत्यु हुने, सर्पले टोक्ने, यौन आक्रमणको शिकार हुने जस्ता घटनाहरूमा बढोत्तरी हुने गरेको देखिएका छन्। विश्व बैंक र UNESCO का अनुसार महिनावारी व्यवस्थापनमा समस्याका कारण विश्वभरिका लाखौं किशोरी विद्यालय छोड्ने गरेका छन् । WHO र मानवअधिकार निकायहरूले पनि मासिकधर्मलाई मानवअधिकारको विषयका रूपमा जोड दिइरहेका छन्। विश्व स्वास्थ्य संगठनको रायअनुसार “महिनावारी केवल स्वास्थ्य विषय मात्र नभई शिक्षा र आर्थिक पक्षसमेत हो, विभेद र असुरक्षित अवस्थाले विद्यालय छोड्ने र उत्पादकत्व घट्ने गर्छ” । मासिकधर्मविरुद्धको विभेदले सीधै लैङ्गिक समानताको अधिकार भंग गर्छ। नेपाल जस्ता देशहरूले संयुक्त राष्ट्रका महिला अधिकार सन्धि (CEDAW) र अन्य मानवअधिकार सन्धिहरूमा हस्ताक्षर गरी प्रत्येक नागरिकलाई स्वास्थ्य र समानता सुनिश्चित गर्ने वाचा गरेका छन्। संविधानले महिलाहरुका लागि शारीरिक र मानसिक हिंसाविरुद्ध सुरक्षा व्यवस्था गरेको र कानुनले विभेदजन्य व्यवहारलाई अपराधमानी दण्डनीय गरेको छ । यसका वावजूद मासिकधर्मका आधारमा विभेद हुनु भनेको सामाजिक कलङ्क हो, यो लैङ्गिक हिंसा हो र महिलाहरुको मानवअधिकारमाथि ठाडो हस्तक्षेप हो ।
गर्ने के ?
महिनावारी स्वाभाविक र स्वस्थ्य जीवनचक्रको अंग हो । यो कुनै कथित पाप वा अपराध होइन । महिनावारीलाई अशुद्ध मानेर महिलाहरूबिच गर्ने विभेद, छुवाछुत र छाउपडीजस्ता पक्षहरू सामाजिक कलंक र लैङ्गिक हिंसाको खतरनाक रुप हुन्। यी व्यवहारलाई “सामाजिक अपराध” को रुपमा लिएर मानिसको मौलिक अधिकार र समानतामा कलंक लगाउने यस कुकृत्यको कडा विरोध गरिनु आवश्यक छ।
त्यसका लागि आधारभूत रुपमा निम्न नीतिहरु लागू गरिनु जरुरी देखिन्छ:
शिक्षा र जनचेतना: विद्यालय तथा समुदायमा मासिकधर्म र महिला स्वास्थ्यबारे सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्छ । । पाठ्यक्रममा महिनावारीबारेका घातक र भ्रामक मिथकहरू हटाउने विषय थप्नु र अभिभावक–शिक्षकहरूलाई तालिम दिनु आवश्यक छ ।
सुबिधा र पहुँच: सार्वजनिक र विद्यालयस्तरमा सफा शौचालय, पानी र सुरक्षित डस्टबिनजस्ता सरसफाइ सुविधा उपलब्ध गराउनु पर्छ। सरकारले निशुल्क वा करमुक्त मासिकधर्मका उत्पादन (प्याड–ट्याम्पन) वितरण कार्यक्रम अघि बढाउनु र त्यसलाई युद्धस्तरमा सञ्चालन गर्नु जरुरी छ । यस्ता कार्यक्रमलाई प्रभावकारी लागू गरी ग्रामीण–सीमान्तका महिलासम्म पुग्ने अभियान चलाउनुपर्छ।
कानुनी कार्यान्वयन: विद्यमान कानुन र आदेशलाई पूर्णरूपमा कार्यान्वयन गरिनुपर्छ। छाउपडी, छुवाछुत र अन्य विभेदजन्य कर्मका विरुद्ध उजुरी दिने च्यानलहरू (जस्तै प्रहरी, मानवअधिकार आयोग) उपलब्ध गराउने र अपराधीलाई दण्डित गर्ने व्यवस्था गर्नु आवश्यक छ ।
मिडिया र सामाजिक माध्यम: सञ्चारमाध्यम र सामाजिक सञ्जालमा खुला बहस र सकारात्मक संदेश प्रवाह गरी महिनावारी विषयक भ्रमहरुलाई तोड्नुपर्छ। सरकारी र गैरसरकारी अभियानमार्फत जेहेन्दार व्यक्ति, महिला अधिकारकर्मी, धार्मिक अगुवाहरूलाई समेटेर समाजमा नयाँ चेतना विकास गर्न सकिन्छ।
अन्तर्राष्ट्रिय सहकार्य: यस क्षेत्रमा चिन्तन र कार्य गरेका अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय र सहकार्यमा मासिकधर्मलाई मानव अधिकार र स्वास्थ्यका दृष्टिले हेर्ने नीति अवलम्बन गर्नुपर्छ। मासिकधर्मलाई सामान्य स्वास्थ्य सेवा अङ्ग बनाएर कामकाज र विद्यालयमा सहभागी गराउने अभ्यासले यससम्बन्धी सामाजिक अन्धविश्वास र कुरीतिहरुलाई तोड्न मद्दत गर्छ ।
उपर्युक्त पहलकदमीहरू र सहायक नीतिहरूले सामाजिक कलङ्कको रुपमा रहेको महीनावारीसँग सम्बन्धित कुरीतिहरू घटाउन सहयोग पुग्ने छन्। लामो समयसम्म चलिरहेको मासिकधर्मप्रतिको विभेदलाई अन्त्य गर्ने सोच र कार्यले मात्रै महिलालाई समान अधिकार र इज्जत दिलाउन सकिन्छ, र यसलाई पूर्ण रूपले सामाजिक कलंक मान्ने विचारलाई तोड्न सकिन्छ। महिनावारी आफैं कुनै अपराध होइन; बरु त्यसैको नाममा हुने विभेद र छोइछिटो चाहिँ अनैतिक र दण्डनीय अपराध हो भन्ने कुरालाई व्यापक रुपमा स्थापित गरिनु जरुरी छ।
महिलामा महिनावारी किन र कसरी हुन्छ? महिनावारी (menstruation) महिलाको शरीरमा चल्ने एउटा अत्यन्तै प्राकृतिक र महत्त्वपूर्ण जैविक प्रक्रिया हो। किशोरावस्थापछि जब युवतीहरू प्रजनन क्षमतामा प्रवेश गर्छन्, शरीरले प्रत्येक महिनामा सम्भावित गर्भधारणको तयारी गर्न थाल्छ। गर्भाशयभित्रको भित्री तह (endometrium) हार्मोनहरूको प्रभावले बाक्लिँदै जान्छ । त्यसो हुनुको कारण चाहिँ गर्भधारण भएमा भ्रूणलाई विकसित हुने सहज वातावरण मिलोस् भन्ने नै हो । तर यदि त्यो महिनामा गर्भधारण भएन भने शरीरलाई त्यो अतिरिक्त तह राखिराख्नु जरुरी हुँदैन । त्यसैल शरीरले त्यसलाई खसालेर योनीको माध्यमबाट रक्तस्रावको रुपमा बाहिर निकालिन्छ। यही प्रक्रिया नै महिनावारी हो। महिनावारी किशोरावस्थापछि प्रायः १० देखि १५ वर्षको उमेरभित्र सुरु हुन्छ। यो प्राकृतिक चक्र सामान्यतया २८ दिनको आसपास चल्छ । केही महिलामा यो चक्र २१ दिनमै सकिन सक्छ वा त्यो ३५ दिनसम्म पनि पुग्न सक्छ। यो अवस्था जीवनको प्रजनन चरणमा मात्र हुन्छ । जब महिलाको उमेर प्रजननका लागि योग्य हुन छाड्छ, यो महिनावारीको चक्र पनि बन्द हुन्छ । यो सामान्यत: करिब ४५ देखि ५५ वर्षको उमेरमा हुन्छ । यस अवस्थालाई रजोनिवृत्ति (menopause) भनिन्छ । महिनावारी नियमित हुनु महिलाको प्रजनन स्वास्थ्य ठीक अवस्थामा रहेको छ भन्ने कुराको एउटा महत्त्वपूर्ण संकेत हो । महिनावारी चक्रलाई बुझ्न सजिलो बनाउन यसलाई चारवटा चरणमा विभाजन गरिन्छ। पहिलो चरण (menstrual phase) मा महिलालाई रक्तस्राव सुरु हुन्छ। यो सामान्यतया ३ देखि ७ दिनसम्म रहन्छ र यस अवधिमा गर्भाशयको भित्री तह, रक्त र अन्य मृतकोषहरु योनिद्वारा बाहिर निस्कन्छ। यसपछि अर्को चरण शुरु हुन्छ जसलाई फोलिक्युलर चरण (follicular phase) भनिन्छ । यो चरण महिनावारी सुरु भएको दिनदेखि नै हुन्छ र करिब १३ दिनसम्म रहन्छ। यस अवधिमा शरीरले अण्डाशयमा रहेको अण्डा राख्ने थैलीलाई परिपक्व पार्छ र गर्भाशयलाई अर्को सम्भावित गर्भधारणका लागि पुन: तयार पार्छ। यस समयमा एस्ट्रोजिन (estrogen) नामक हार्मोन बढ्छ । त्यसको प्रभावले गर्भाशयको भित्री तहफेरि बाक्लो बन्छ। महिनावारी चक्रको तेस्रो चरणलाई ओभुलुसन फेज (ovulation phase) भनिन्छ। यो प्रायः अघिल्लो महिनावारीको १४औं दिनमा हुन्छ। यस समयमा लुटिलिइङ हर्मोन (Luteinizing Hormone) अचानक बढ्छ र अण्डाशयबाट परिपक्व अण्डा निष्काशन हुन्छ। यही समयमा महिला शरीर गर्भधारणको सबैभन्दा बढी सम्भावना भएको अवस्थामा हुन्छ। अण्डा निश्काशन भएपछिको चरणलाई ल्युटियल फेज (luteal phase) भनिन्छ। यो चरणमा अण्डा गर्भाशयतर्फ यात्रा गर्छ र गर्भधारण भए प्रोजेस्टेरोन (progesterone) हार्मोन बढेर गर्भाशयलाई भ्रूणलाई हुर्कने र विकसित गर्न तयार तुल्याइदिन्छ । गर्भधारण नभएको अवस्थामा भने प्रोजेस्टेरोनको स्तर घट्छ र गर्भाशयको भित्री तह फेरि खस्छ । त्यसको परिणामस्वरूप अर्को महिनावारीको चक्र सुरु हुन्छ। महिनावारीमा संलग्न मुख्य हार्मोनहरू महिनावारी प्रक्रियामा यी चार हार्मोनहरूको मुख्य भूमिका हुन्छ: अण्डाणुको विकासमा सहयोग गर्ने FSH (Follicle-Stimulating Hormone); अण्डा निष्काशनको लागि संकेत दिने LH (Luteinizing Hormone); गर्भाशयको भित्री तहलाई तयार पारिदिने estrogen; र गर्भधारण भएको अवस्थामा भ्रूणको विकासका लागि अनुकूल वातावरण बनाइदिने progesterone । यी सबै हार्मोनहरूको सन्तुलित कार्य पद्दितिले नै महिला शरीरमा महिनावारी चक्र सन्तुलित रूपमा चल्छ। महिनावारी केवल जैविक प्रक्रिया मात्र होइन, यो महिला स्वास्थ्यको सूचक पनि हो। नियमित महिनावारी प्रजनन प्रणाली राम्रोसँग काम गरिरहेको छ भन्ने संकेत हो। तर यसको अनुभव भने सबै महिलामा फरक हुन्छ। केही महिलालाई पेट दुख्ने, थकान, मुड स्विङ वा अन्य असुविधा हुन्छन् भने केहीलाई महिनावारी सहज लाग्छ। अनियमित रक्तस्राव वा लामो समयसम्म महिनावारी नहुनु स्वास्थ्य समस्याको संकेत हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनु पर्छ । |

खिरको पोषण तथा ओजस विज्ञानबारे वैदिक चर्चा

के स्वस्थ रहनको लागि १० हजार पाइला हिँड्नु जरुरी छ ?

विरुवाको स्वस्थ विकासका लागि आवश्यक ह्युमिक एसिड

मधुमेह माथि चीनको आक्रमण

स्वादिलो फल लिची खानुका फाइदाहरु !

वर्षा ऋतुमा विरुवाहरुको मुख्य समस्या: फङ्गसको आक्रमण !

सुनाखरीलाई फेरि बन फर्काउँदै

प्रतिक्रिया