बर्तोल्त ब्रेख्त: बीसौं शताब्दीका महान कवि-नाटककार

के अँध्यारो समयमा पनि
गीतहरू गाइने छन् र ?
हो, गीतहरू गाइने छन् ।
त्यसबेला अध्यारोकै बारेमा
गीतहरू गाइने छन् ।
बर्तोल्त ब्रेख्त
अँध्यारो समय र काला दिनहरूको विरोधमा गीत गाउदै हिंड्ने, दिन र रातका भयावह दृष्यहरूलाई रंगमञ्चमा उतार्ने र सुखद् भविष्यका कथाहरू सुनाउँदै हिंड्ने विश्वविख्यात लेखकको नाम हो- बर्तोल्त ब्रेख्त ।
बीसौं शताब्दीको जर्मन भाषा, साहित्य र शैलीलाई बेस्कन प्रभावित पार्ने जर्मन साहित्यकारको प्रतीक हो- बर्तोल्त ब्रेख्त । उनले जति अरू कुनै पनि लेखक साहित्यकारले त्यति धेरै प्रभावित पार्न नसकेको दावी गर्नेहरूको कुनै कमी छैन । उनले मूलतः कविता, कथा, नाटक, लेखे । साहित्यका सिद्धान्तहरूमाथि हस्तक्षेप गर्ने क्रममा सैद्धान्तिक लेखहरू लेखे । उनको सम्पूर्ण लेखनको मूल सरोकारको विषय थियो– मानिसहरूलाई अन्ध-विश्वासहरूबाट मुक्त पार्न सघाउ पुयाउनु । मानिसहरूमा सन्देह, सवाल र आलोचनात्मकताको विकास गर्नु । समग्रमा भन्ने हो भने वैज्ञानिक समाजवादी चेतनाले लैश पार्नु ।
उनी पटक पटक भन्ने गर्थे- 'आँखा चिम्लेर विश्वास गर्न छोड्नुस् र कुनै पनि कुरा स्वीकार्नुभन्दा अगाडि प्रश्न सोध्नुस्' । उनको मुख्य चिन्ता र चिन्तनको विषय थियो- स्थापित समाजको चिन्तन र रवैयालाई बदल्नु । स्थापित समाज, त्यसका प्रभुहरू र शासकहरूप्रति जनताको मनमा सन्देह र सवाल जन्माउनु उनको लेखनको अभीष्ट थियो । त्यसैले उनी भन्ने गर्थे– आफूलाई शासन गर्नेहरूप्रति शासित वर्गमा अविश्वास उत्पन्न हुनुभन्दा अर्को ठूलो सन्देह के हुनसक्दछ ?
स्थापित समाजको चिन्तन र दिशा फेर्नको लागि उनले आफ्नो कलमको धारले जर्मनीका हिटलरको फासीवाद र अमेरिकी साम्राज्यवादको विरूद्ध तीखो प्रहार गरेका थिए । त्यति मात्र होइन, उनले आफ्ना कविताहरूमा तथाकथित मार्क्सवादीहरू र कम्युनिष्टहरूको यान्त्रिक चिन्तन र कार्यशैलीमाथि पनि तीखो कटाक्ष गरेका थिए । त्यसलाई उनी एक प्रतिवद्ध मार्क्सवादी रचनाकारद्वारा चलाइएको आन्तरिक संघर्षको रूपमा व्याख्या गर्दथे ।
सचेत, आलोचक र विवेकशील मानवको निर्माणका लागि कविता, कथा, नाटकजस्ता 'सफ्टवेयरहरू'- को निर्माणमा क्रियाशील ब्रेख्तलाई स्थापित समाजका प्रभुहरूले कहिले पनि कायल पार्न सकेनन् । आफ्ना विचार र कर्मका कारण उनी नाजीहरूका कट्टर शत्रु भए । जब, हिटलर जर्मनीमा फासीवादको हतियारसहित सत्तासीन भए, तब सबैजसो लेखक, कलाकार र बैज्ञानिकहरू निर्वासित हुन विवश भए । ब्रेख्तले पनि आफ्नो देश छाडेर भाग्नु पर्यो, किनकि नाजी सैनिकहरूको 'हिटलिष्ट' मा उनको नम्वर पाँचौ स्थानमा थियो ।
स्केण्डिनिभियाई देशहरूको लामो प्रवासपछि सन् १९४१ मा अमेरिका पुगेका ब्रेख्तले त्यहाँ पनि अमेरिकी फासीवादको सामना गर्नुपर्यो । १९४७ मा म्याकार्थीको नेतृत्वमा गठित अमेरिकाविरोधी गतिविधिसम्वन्धी हाउस कमिटी अगाडि उनले पनि अभियुक्तको रूपमा प्रस्तुत हुनुपर्यो । चार्ली च्याप्लीन लगायत हलिउडका दशजना सर्वश्रेष्ठ लेखक, कलाकार र निर्देशकहरूसमेत अमेरिकी फासीवादको शिकार भएको बेला प्रतिबद्ध मार्क्सवादी ब्रेख्त कहाँ बच्न सक्थे ! उनी पनि चार्ली च्याप्लीनजस्तै अमेरिका छाडेर यूरोपतिर बसाइँ सरे । त्यसपछि उनले स्वीजरल्याण्ड हुँदै जनवादी पूर्वी जर्मनीलाई आफ्नो वैचारिक र साहित्यिक कार्यथलो बनाए ।
सन् १९५६ मा बर्लिनमा दिवंगत भएका ब्रेख्तले कहिले पनि साहित्यसम्बन्धी परम्परागत सरकारी सिद्धान्तलाई आँखा चिम्लेर स्वीकार गरेनन् । त्यसैले पूर्वी जर्मनी र सोभियत संघका राजनीतिक र सांस्कृतिक नेताहरूबाट उनले कहिले पनि प्रशंसा पाउन सकेनन् । उनी प्रसिद्ध सोभियत लेखक म्याक्सिम गोर्कीको 'समाजवादी यथार्थावाद’लाई कलाको अन्तिम रूप मान्न तयार थिएनन् । उनलाई लागेको थियो- 'समाजवादी यथार्थवादमार्फत् समकालीन संसारको समग्रतालाई पूरै पक्रन गाह्रो छ ।'
उनको यो नयाँ विचारलाई समाजवादी शिविरका राजनैतिक-सांस्कृतिक नेताहरूले सैद्धान्तिक विचलनका रूपमा व्याख्या गरेका थिए । ब्रेख्तले समाजवादी यथार्थवादलाई सम्पूर्ण रूपमा अस्वीकार गरेका भने थिएनन्, अन्यथा उनले गोर्कीको 'आमा' उपन्यासलाई नाट्य रूप दिने थिएनन् । यस्ता आलोचनाका बावजूद उनी आफ्नो सांस्कृतिक कर्ममा प्रतिबद्धताका साथ लागिरहे । उनी भन्ने गर्थे- बदलिँदो विश्वमा सिद्धान्तलाई पनि माझ्नु पर्दछ, फेर्नु पर्दछ, र नयाँ रूपमा उठाउनु जरूरीहुन्छ । यस्तो स्थितिमा नाटकहरूको रूपमा नयाँपन ल्याउनु र लेखनमा नयाँ नयाँ प्रयोगहरू गर्नु जरूरी हुन्छ ।
जर्मनीका प्रसिद्ध कवि तथा नाटककार ब्रेख्त भन्छन्ः आजको परिस्थितिमा कुनै पनि व्यक्तिले मार्क्सवादको ज्ञान र समाजवादी दृष्टिकोणविना न त यथार्थको बोध गर्नसक्छ, न त वर्तमानको जानकारीमा विकास गर्नसक्छ । मेरो विचारमा साहित्यले विशेषरूपले द्वन्दात्मक भौतिकवादको अध्ययन र सामन्यरूपमा जन-समुदायको सामूहिक मेधाको अध्ययनमार्फत् आफ्नो विकास गर्दछ - हामी आफ्नो राज्यको निर्माण केही तथ्यांकहरू र आँकडाहरूका उपलब्धि हासिल गर्नका लागि होइन, बरू ऐतिहासिक प्रक्रियाको निरन्तरताका लागि गर्नेछौं । साहित्यले रूसीहरू, सैनिक र पुलिसहरूको संरक्षण प्राप्त 'आदर्श' क्षेत्रको निर्माणमा सहायकको भूमिका खेल्न सक्दैन - सम्पूर्ण जर्मनीलाई कुनै थोत्रो पुरानो बनीबनाऊ मापदण्डबाट क्रान्तिकारी लक्ष्यसम्म लान सकिँदैन । |
उनी एउटा मानवीय, सुन्दर र स्वस्थ समाजका आकांक्षी लेखक- कलाकार थिए । त्यस्तो समाज, जहाँ कुनै एउटा अल्पसंख्यक वर्गको थिचोमिचो, प्रभुहरूको प्रभुत्व र कुनै एकल वीर नेतृत्वको आवश्यकता नहोओस्, सबै मानिसहरू विवेकशील, आलोचक र नेतृत्व गर्न सक्षम होऊन् भन्ने उनी चाहन्थे । "ग्यालिलियोको जीवन' नामक महत्वपूर्ण नाटकमा उनले सचेत, संगठित, वीर मानिसहरूको देश र संसारको बारेमा लेखेका थिए ।
नाटकमा ग्यालिलियोका प्रिय छात्र आन्द्रेया भन्छन्- 'त्यो मुलुक अभागी देश हो, जहाँ नायकहरूको कमी छ।'
त्यसको जवाफमा ग्यालिलियो भन्छन्- 'अभागी देश भनेको त्यस्तो देश हो, जुन देशमा नायकहरूको आवश्यकता हुन्छ ।'
सबै मानिसहरू वीर हुने, शक्तिशाली र सामर्थ्यवान हुने खालको समाजको स्थापनासम्बन्धी मीठो सपनालाई बीसौं शताब्दीका कुनै पनि हिटलर र म्याकार्थीहरूले मार्न सकेनन् । बीसौं शताब्दी भनेको त्यस्तो समय हो, जुनबेला रूख र जीवनको कविता लेख्नु र सुन्दर समाजको कल्पना गर्नुलाई समेत दण्डनीय अपराध ठानिन्थ्यो । बीसौं शताब्दीको अवशानपछि झुल्किएको एक्काइसौं शताब्दीको समय भनेको सुन्दर, स्वस्थ समाज कुँद्ने बेला हो । ब्रेख्तका कथा, कविता र नाटकहरूले उनको क्रियाशील जीवन र कर्मले सबै श्रमशील जीवनहरूलाई नयाँ प्रेरणा, नयाँ क्षितिज दिनसक्छन्, अँध्यारा रात र काला दिनहरूलाई विदा दिन, सुन्दर भविष्यको गीत गाउन ब्रेख्तले नयाँ धून, नयाँ ताल दिन सक्छन् । त्यसैले यतिखेर भन्नै पर्ने कुरा हो- ब्रेख्तलाई पढौं, गुनौं अनि उनबाट सिकौं ।
मूल्याङ्कन, २०५६ पुसमा प्रकाशित

पुनर्जागरण र त्यसका प्रभाव

वी. एस. अच्युतानंदन: एक अथक योद्धा

नेपाली जनआन्दोलन एक समीक्षा

ट्रोत्स्कीको 'स्थायी क्रान्ति' बारे एक विमर्श

मार्क्सको आर्थिक अस्त्र 'पूँजी' - एक विश्लेषणात्मक अध्ययन

इरान र इजरायलबीच किन चर्किँदैछ युद्ध ? इतिहासले के भन्छ ?

थोमस संकराको पदचाप पछ्याउदै कप्तान इब्राहिम ट्राओरे

प्रतिक्रिया