शार्क मानिस हुन्थे भने...

घरपतिकी सानी छोरीले ´क´लाई सोधिन् – " शार्क मानिस हुन्थे भने के उनीहरू साना माछाहरूसँग राम्रो व्यवहार गर्थे?"
उनले भने – "पक्कै, शार्क मानिस हुन्थे भने उनीहरू साना माछाहरूका लागि समुद्रमा निकै ठूलो-ठूलो बाकस बनाउँथे । ती बाकसभित्र हर किसिमको खानेकुरा हुन्थ्यो, तरकारी र मासु दुवै। उनीहरू बाकसमा सफा पानी रहोस् भन्ने कुराको ख्याल गर्थे र सामान्यतया हरेक किसिमको सफाइको व्यवस्था गर्थे।
जस्तै, कुनै सानो माछाको पखेटा घाइते भए तुरुन्तै त्यसमा पट्टी बाँधिन्थ्यो, ताकि त्यो माछा नमरोस् र समयभन्दा पहिले शार्कले उसलाई गुमाउन नपरोस्। साना माछाहरू उदास नहोउन् भनेर समय-समयमा पानीमा ठूलो जमघट हुन्थ्यो; किनकि हर्षित मनका माछा उदास माछाभन्दा बढी स्वादिला हुन्छन्।
पक्कै, ठूला बाकसमा विद्यालय पनि हुन्थे। ती विद्यालयमा साना माछाहरूले शार्कको मुखभित्र कसरी पौडिन सकिन्छ भनेर सिक्थे । उनीहरूका लागि भूगोल जान्नु पनि जरुरी हुन्थ्यो, उनीहरूले कतै सुस्ताइरहेका ठूला शार्कहरूलाई फेला पार्न सकून्।
पक्का कुरा यो हो– मुख्य मुद्दा साना माछाहरूको नैतिक शिक्षा हुन्थ्यो। उनीहरूलाई कुनै सानो माछाले खुशीसाथ आफूलाई बलिदान गर्छ भने संसारमा सबैभन्दा राम्रो र निकै सुन्दर कुरा हुन्छ भन्ने कुरा सिकाइन्थ्यो । र यो पनि सिकाइन्थ्यो कि सबैले शार्कमाथि विश्वास गर्नै पर्छ, विशेषगरी जब शार्कले भन्छन् कि उनीहरू उनीहरूको आउने भोलि सुन्दर बनाउन लागेका छन्।
सानामाछाहरूलाई पढाइन्थ्यो कि उनीहरूको भोलि तब मात्र भरोसायोग्य हुनेछ जब उनीहरूले आज्ञापालक हुन सिक्छन्। साना माछाहरूले सबै घटिया, सांसारिक, स्वार्थी र मार्क्सवादी प्रवृत्तिबाट सतर्क रहनु पर्थ्यो, र तिनीहरूमध्ये कसैले विश्वासघात गरेर यी कुरामा चासो देखायो भने तुरुन्त यसको जानकारी शार्कलाई दिनु पर्थ्यो।
शार्क मानिस हुन्थे भने पक्कै उनीहरू एक–अर्काविरुद्ध युद्ध छेड्थे, ताकि अरू माछा बाकसहरू र अरू साना माछाहरूलाई जित्न सकून्। युद्ध आफ्ना–आफ्ना साना माछाहरूको बलमा लडिन्थ्यो। उनीहरूले आफ्ना साना माछाहरूलाई सिकाउँथे कि उनीहरू र अरू शार्कका साना माछाहरूबीच ठूलो फरक छ। उनीहरूले घोषणा गर्थे कि सानो माछा चुप रहनका लागि प्रख्यात छ, तर उनीहरू एकदमै फरक भाषामा चुप छन् र त्यसैले एक–अर्कालाई बुझ्न उनीहरूका लागि असम्भव हुन्छ।
हरेक सानो माछा, जसले युद्धमा केही अन्य साना र आफ्नै भाषामा चुप माछाहरूको हत्या गर्थे, उसलाई समुद्री शैवाल (seeweed) टाँसिएको तक्मा दिइन्थ्यो र उसलाई साहसीको पदवीले सम्मान गरिन्थ्यो।
यदि शार्क मानिस हुन्थे भने पक्का पनि कलाकार हुन्थे । सुन्दर–सुन्दर चित्रहरू हुन्थे, जसमा शार्कका दाँतहरुलाई शानदार रंगहरूमा देखाइएको हुन्थ्यो र उनका जबडाहरूलाई जो–कोही गर्वका साथ हिँड्न सकिने साँच्चिकै रमाइलो बगैचाको रूपमा देखाइन्थ्यो। समुद्रको पिँधमा थिएटर हुन्थ्यो, जसमा देखाइन्थ्यो कि कसरी बहादुर सानो माछा जोशका साथ शार्कको मुखभित्र पौडिरहेको छ र संगीत यति सुन्दर हुन्थ्यो कि त्यसले आफ्ना सुरमा ताल मिलाउँथ्यो, अर्केस्ट्राले उसको हौसला बढाउँथ्यो र अत्यन्त रोचक कल्पनामा हराएको सानो माछा, सपनामा बग्दै, शार्कको मुखभित्र प्रवेश गर्थी।
शार्क मानिस हुन्थे भने एउटा धर्म पनि हुन्थ्यो। त्यसले सानो माछाको वास्तविक जीवन सही अर्थमा केवल शार्कको पेटभित्रै सुरु हुन्छ भनेर प्रचार पनि गर्थ्यो ।
यसका अतिरिक्त, शार्क मानिस हुन्थे भने सबै साना माछाहरूको समानता अन्त्य हुन्थ्यो, जस्तो अवस्था आजकल छ। केहीलाई विशेष पद दिइन्थ्यो र उनीहरूलाई अरू सबैभन्दा माथि स्थान दिइन्थ्यो। जो अलि ठूला हुन्थे, उनीहरूलाई आफ्नाभन्दा साना माछा खान अनुमति हुन्थ्यो। यसमा शार्कहरूको पूर्ण सहमति हुन्थ्यो, किनकि उनीहरूलाई पनि समय–समयमा अलि ठूलो टुक्रा खाने मौका मिल्थ्यो।
र जो साना माछाहरू अलि ठूलो आकारका हुन्थे, उनीहरू आफ्नो पदमा बसेर अरू साना माछाहरूलाई नियन्त्रणमा राख्थे, उनीहरू शिक्षक, अफिसर, बाकस इन्जिनियर आदि बन्थे।
छोटकरीमा भन्नुपर्दा, शार्क मानिस हुन्थे भने पहिलोपटक समुद्रभित्र सभ्यता भित्र्याइन्थ्यो ।
प्रतिक्रिया