राजेन्द्र सुवेदी स्मृति पुरस्कार  प्रदान

राजेन्द्र सुवेदी स्मृति समाजले २०८२ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार र राजेन्द्र सुवेदी कला पुरस्कार प्रदान गरेको छ ।

समाजद्वारा साउन २३ गते सुवेदीको जन्म जयन्तीका अवसरमा सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले पुरस्कृत व्यक्तित्वहरुलाई सम्मानित गरेका थिए ।

स्व. सुवेदीको स्मृतिमा आयोजित सो कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरुमाथि धीरकुमार श्रेष्ठले प्रकाश पारेका थिए । सो अवसरमा शुभकामना मन्तव्य चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले राखेका थिए ।

समारोहमा प्रा.डा. रामप्रसाद ज्ञवालीले राजेन्द्र सुवेदीको समालोचना यात्राबारे बृहत् गोष्ठीपत्र पेश गरेका थिए भने त्यसमाथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले टिप्पणी गरेका थिए ।

स्व. सुवेदीको जन्मदिनको अवसर पारेर आयोजित उक्त पुरस्कार वितरण कार्यक्रमा पुरस्कृत व्यक्तित्वहरुका तर्फबाट मोदनाथ प्रश्रितले मन्तव्य राखेका थिए । डा. हरि सिलवालले स्वागत मन्तव्य व्यक्त गरेको सो समारोहमा वरिष्ठ चलचत्रि निर्देशक लक्ष्मीनाथ शर्मा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के के कर्माचार्य, प्रा.डा. दयाराम श्रेष्ठ सम्भव, समाजसेवी भगवतीदास श्रेष्ठ, प्राज्ञ सञ्जय वान्तवा तथा रमेश खनाल, कलाकार मुकेश मल्ल आदिको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्वेतसदन माध्यमिक विद्यालयका ससाना नानीहरुले स्वागतनृत्य प्रस्तुत गरेका थिए ।