महाश्वेता देवी: कलमबाट विद्रोह ओकल्ने एक अथक योद्धाको कथा

साहित्य र संघर्षको समागम : महाश्वेता देवीको जीवन र विचारको प्रेरणादायी यात्रा

धेरैजसो लेखकको लागि साहित्यको उद्देश्य केवल सौन्दर्यको आराधना बन्छ । कतिपयले शासक र सत्ताको स्तुतिगान/भक्तिगानमा आफ्ना कलमका मसीहरुलाई सुकाउने गर्छन् । तर कतिपयको लेखनी भने भुइँतहका मानिसहरुमाथि भइरहेको शोषणको प्रतिरोध र सीमान्तकृत पारिएका जनताको पक्षमा बोल्ने शक्ति बन्छ । त्यस्तो लेखन साँचो अर्थमा क्रान्तिकारी बन्छ, जनताको मन मस्तिष्कमा बास गर्छ र कालजयी बन्न पुग्छ । भारतीय उपमहाद्वीपमा त्यस्ता थुप्रै क्रान्तिकारी लेखकहरु पैदा भए, जसले आफ्नो लेखनीको माध्यमबाट शोषणको प्रतिरोध गरे र भुइँतहमा पिल्सिएर रहेका जनताको पक्षमा आफ्नो आवाजलाई बुलन्द गरे । त्यस्ता लेखकहरुको सूचीमा अग्रपंक्तिमा पर्ने एउटा अत्यन्तै सम्मानित नाम हो - महाश्वेता देवी।

यो नाम सुन्दैमा एउटा दृढ, नझुक्ने र अन्यायको विरुद्ध कलम चलाउने व्यक्तित्वको तस्बिर आउँछ। उनले शब्दमार्फत् विद्रोह गरे, र किताबमा मात्र सीमित नभई मैदानमै उत्रिएर हुँकार गर्ने प्रतिरोधको एक सशक्त आवाज बन्न पुगिन्। उनी साहित्यकार मात्र थिइनन्–त्योभन्दा माथि उठेर उनी एक सामाजिक कार्यकर्ता, आदिवासी अधिकारकी योद्धा र अन्यायको प्रत्यक्ष प्रतिवादी थिइन्। उनी त आन्दोलन थिइन्, हेपिएका र थिचिएकाहरुको मुखर आवाज थिइन्, र वञ्चित तुल्याइएका जनताको सपनालाई जगाइराख्ने एक प्रेरणाकी स्रोत थिइन्।

शुरुआती जीवन

महाश्वेता देवीको जन्म सन् १९२६ जनवरी १४ मा ढाकाको अरमानिटोलामा भएको हो। उनको पारिवारिक पृष्ठभूमि आफैंमा एक सांस्कृतिक आन्दोलनको जस्तो थियो-पिता मनीष घटक बंगालको 'कल्लोल युग'* का चर्चित कवि-लेखक, आमा धरणी देवी पनि कवि, र काका ऋत्विक घटक भारतीय सिनेमा इतिहासका प्रगतिशील निर्देशक। उनका आमाका भाइहरु शंकर चौधुरी र शिन्तु चौधरी थिए– चर्चित पत्रिका Economic and Political Weekly  का संस्थापक । यस्तो पारिवारिक पृष्ठभूमिमा हुर्किएकी महाश्वेताको चेतनामा कलाको सौन्दर्य र सामाजिक अन्यायको क्रूरताबीचको द्वन्द्व बाल्यकालदेखि नै विजारोपण भएको देखिन्छ। संस्कार र शिक्षाको राम्रो सम्मिलन भएको माहोलमा हुर्किएकी महाश्वेता देवीले  कलकत्ताको शान्तिनिकेतन र पछि रविन्द्र भारती विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गरिन्।

साहित्यको गहिरो बुझाइ र समाजप्रतिको संवेदनशीलता उनमा शान्तिनिकेतनको वातावरणले पनि पैदा गरिदियो । सन् १९४६ मा उनले अङ्ग्रेजीमा स्नातक गरेपछि कलकत्तामा स्नातकोत्तर अध्ययनमा लागिन्। तर त्यसै वर्ष चर्किएको साम्प्रदायिक हिंसाले उनको शैक्षिक यात्रा रोकिएको थियो। करिब १७ वर्षपछि, १९६३ मा उनी पुनः एमए पास गर्दै शैक्षिक रुपमा आफूलाई पुनः स्थापित गर्न सफल भइन्।

विजोन भट्टाचार्य । स्रोत: https://www.getbengal.com

महाश्वेता देवी भन्छिन्– ‘त्यो विवाहसँगै मैले गरिबी र सङ्घर्षलाई पनि विवाह गरेँ।त्यसपछि म पहिलो पटक समाजको अर्को पाटोसँग साक्षात्कारमा आएँ।’

उनले २० वर्षको उमेरमा कम्युनिष्ट लेखकका रुपमा चर्चित विजोन भट्टचार्यसँग विवाह गरेका थिए । विजय भट्टाचार्य तिनै हुन् जसले नवाना लेखेका थिए र IPTA (Indian People's Theatre Association) का संस्थापक सदस्यहरूमध्ये एक थिए। सम्पन्न परिवारमा जन्मेका महाश्वेता देवी भन्छिन्– ‘त्यो विवाहसँगै मैले गरिबी र सङ्घर्षलाई पनि विवाह गरेँ।त्यसपछि म पहिलो पटक समाजको अर्को पाटोसँग साक्षात्कारमा आएँ।’

शिक्षकबाट लेखक र पत्रकार हुँदै आन्दोलनकारीसम्मको यात्रा

सन् १९६४ मा विजयगढ ज्योतिष राय कलेजमा अङ्ग्रेजी शिक्षिका बनेकी महाश्वेता, सन् १९८४ मा लेखन र पत्रकारितालाई पूर्ण रूपमा अँगाल्दै अध्यापनबाट स्वेच्छिक अवकाश लिन्छिन्। उनले आफूलाई पारिश्रमिकको खोजीमा सीमित गरिनन्; बरु जनताको आवाज बन्ने यात्रामा आफ्नो जीवन समर्पित गरिन्।

उनी सहजै विश्वविद्यालयकी प्राध्यापक, साहित्यिक आलोचक वा सुललित भाषामा लेख्ने उपन्यासकार बन्न सक्थिन्। तर उनले त्यो बाटो रोजिनन्। उनले खोजिन्–'असली भारत कहाँ छ?' र त्यसको उत्तर उनले फेला पारिन्– झारखण्ड, बिहार, छत्तीसगढ, बंगालका सुदूर आदिवासी बस्तीहरूमा।

कलम जसले केवल कथा होइन, विद्रोह लेख्यो

महाश्वेता देवीका कृति केवल कथा थिएनन्। ती साँचो दस्तावेज थिए– इतिहासबाट ओझेलमा पारिएका समुदायहरूको। उनले लेखनलाई केवल सौन्दर्यको खेल होइन, सामाजिक जिम्मेवारीको अस्त्र बनाइन्। उनका रचनाहरूले आदिवासी, दलित, महिलाहरूको आवाजलाई अभिव्यक्ति दियो। उनी भन्ने गर्थिन्– ‘म प्रतिरोधमा विश्वास गर्छु, म विरोधमा विश्वास गर्छु। म विश्वास गर्छु कि सङ्घर्ष कहिल्यै समाप्त हुँदैन – त्यो निरन्तर चलिरहन्छ।’

“हामी त हरेक दिन कोलकाताको सडकमा लडिरहेका छौँ।हामीमाथि हमला भइरहेको छ, र तपाईंले त्यसबारे केही लेखिरहनु भएको छैन।"

उनको त्यो विश्वास 'हजार चौरासी की माँ' (१९७४) मा प्रतिविम्बित हुन्छ । नक्सलवादी आन्दोलनमा मारिएका छोराको आमाको पीडामार्फत राज्य हिंसाको आलोचना गर्ने  'हजार चौरासी की माँ' उनको सबैभन्दा प्रख्यात कृतिहरुमध्ये अग्रपंक्तिमा पर्छ।

https://feminisminindia.com/

‘हजार चौरासी की माँ’को लेखनको पृष्ठभूमि निक्कै रोचक छ । महाश्वेता देवीका अनुसार, एक दिन नक्सल आन्दोलनमा लागेका तीन–चार जना युवाहरू उनको कोठा बाहिर आए । उनीहरुले महाश्वेता देवीलाई भने,"तपाईं गाउँको सन्दर्भमा, ग्रामीण परिवेशमा लेखिरहनु भएको छ — ठीकै छ, तर हामी त हरेक दिन कोलकाताको सडकमा लडिरहेका छौँ।हामीमाथि हमला भइरहेको छ, र तपाईंले त्यसबारे केही लेखिरहनु भएको छैन।"

त्यसबेला महाश्वेता देवीले प्रतिवादमा केही भनिनन् । उनले तिनीहरुको कुरा धैर्यपूर्वक सुनिन् र अन्त्यमा भनिन्– "ठीक छ, म प्रयास गर्नेछु।"

त्यसपछि नै हजार चौरासी की माँ जन्मिएको हो।

रवीन्द्रनाथ टैगोरलाई धेरै किताब नलेख्न अनुरोध गर्ने बालिका

शान्ति निकेतनमा महाश्वेता देवी अध्ययनरत रहँदाको बेलाको कुरा हो । एकजना सानी बालिकाले निकेतनका संस्थापक, बङ्गाली कवि तथा नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरलाई भनेकी थिइन्, “कृपया अब किताब नलेख्नुहोस्, म यति धेरै किताब पढ्न सक्दिन ।”

ती सानी बालिका अरु कोही होइनन्, भविष्यमै भारतकी चर्चित लेखिका तथा सामाजिक कार्यकर्ता बनेकी महाश्वेता देवी नै थिइन्।

आफ्ना गुरुलाई त्यसरी धेरै नलेख्न बालसुलभ अनुरोध गर्ने महाश्वेता देवी आफैले भने २८ जुलाईका दिन निधन हुँदा कृतिहरुकोह सानो संकलन भने छोडेकी थिइनन्। उनले सयभन्दा बढी पुस्तक लेखेकी थिइन् । ती किताबहरुमा अधिकांशत: भारतका आदिवासी समुदाय, माओवादी विद्रोहीहरू र महिलाहरूको जीवनबारेका कथासहितका काल्पनिक र गैरकाल्पनिक रचनाहरू छन्।

उनको पहिलो जीवनीपरक कृति झाँसीकी रानी (१९५५) ले नै महाश्वेताको दृष्टिकोण प्रस्ट झल्काएको थियो- इतिहास केबल राजा-महाराजाको हुँदैन, यो जनताको पनि हुन्छ। उनले 'झाँसीकी रानी उपन्यास लेख्दा  त्यो ठाउँका प्रचलित आख्यान, लोककथा र लोकगीतहरुलाई श्रोत सामाग्रीको रुपमा प्रयोग गरेकी थिइन्।

कृति झाँसीकी रानी (१९५५) ले नै महाश्वेताको दृष्टिकोण प्रस्ट झल्काएको थियो- इतिहास केबल राजा-महाराजाको हुँदैन, यो जनताको पनि हुन्छ।

उनले यो किताब लेख्ने प्रेरणा ‘झाँसीकी रानी’को इतिहास पढेपछि पाएकी थिइन् । त्यो पढेपछि उनमा झाँसीकी रानी लेख्ने चाहना पागलपनको हदमा तीब्र भएको थियो । त्यसका लागि मुम्बइबाट कोलकत्ता फर्केलगत्तै उनले इतिहासकारहरुसँग तथ्यहरु बटुले । झासीकी रानीको भतिजी मराठीमा लेखिएको झाँसीकी रानीको जीवनीलाई सही ढङ्गले बुझ्न मराठी पढ्न सिकिन्, मराठाहरु बस्नै कोलकत्ताको महाराष्ट्र भवनको चक्कर लगाइन् । उनीहरुको सहयोगमा पुस्तकको अनुवाद गरिन् । रोचक कुरा त के भयो भने लगभग ३०० पृष्ठ लेखिसकेपछि उनले त्यसलाई च्यतिदिइन् । र फेरि नयाँ शिराबाट लेखिन् ।

त्यसपछि उनले ऐतिहासिक आख्यानहरू 'अन्धार मानिक' (१९६६), 'टीटू मीर' (१९८४), 'कैवर्त खा' (१९९४) हरु मार्फत् इतिहासलाई जनजीवनको दृष्टिकोणबाट पुनर्लेखन गर्ने काम गरे।

'टीटू मीर' उपन्यासमा उनले ब्रिटिश र बंगाली सामन्तवादको गठबन्धनविरुद्ध इस्लामिक किसान नेता टीटू मीरको विद्रोहलाई केन्द्रमा राखेकी छन्।

'टीटू मीर' उपन्यास विशेष रूपमा उल्लेखनीय छ, जसमा उनले ब्रिटिश र बंगाली सामन्तवादको गठबन्धनविरुद्ध इस्लामिक किसान नेता टीटू मीरको विद्रोहलाई केन्द्रमा राखेकी छन्। टीटू मीरको जीवन इतिहासमा ओझेलमा राखिएको थियो, तर महाश्वेताले उनको संघर्षलाई साहित्यिक जीवन दिएर वर्गसंघर्षलाई केन्द्रमा ल्याइन्।

'हजार चौरासी की माँ', 'अरण्येर अधिकार', 'जंगल के दावेदार', 'द्रौपदी', 'रुदाली'–यी उनका अत्यधिक प्रसिद्ध र चर्चित कृतिहरू हुन्, जसमा उनले सत्ताविरुद्धको प्रतिरोध, पितृसत्ताको अन्तर्विरोध, र आदिवासी जनजीवनको पीडा र शक्तिको चित्रण गरिन्।

कथा, कविता र विद्रोह

उनी उपन्यासमा मात्र होइन, छोटा कथाहरूमा पनि त्यत्तिकै प्रखर थिइन्। 'द्रौपदी', 'शिकार', 'शिशु', 'सगोना', 'लाइफर फिस', 'बिछान'-यी कथाहरूले राज्यद्वारा भएका हिंसा, जातीय शोषण र लैङ्गिक विभेदको विरुद्धमा प्रतिरोधको कथा लेख्छन्।

वास्तवमा 'द्रौपदी' कथा मात्र होइन, एक साहित्यिक विस्फोट हो। जसमा बलात्कारको शिकार भएकी आदिवासी महिला द्रौपदीले नग्न शरीरमै प्रहरीअगाडि उभिएर प्रश्न गर्छिन्–"अब कहाँ बलात्कार गर्नेछौ?"

'द्रौपदी' कथामा देखाइएको सशस्त्र बलद्वारा गरिएको बलात्कारको घटनालाई महाश्वेताले नारी अस्मिता र विद्रोहको प्रतीक बनाएर प्रस्तुत गर्छिन्। वास्तवमा 'द्रौपदी' कथा मात्र होइन, एक साहित्यिक विस्फोट हो। जसमा बलात्कारको शिकार भएकी आदिवासी महिला द्रौपदीले नग्न शरीरमै प्रहरीअगाडि उभिएर प्रश्न गर्छिन्–"अब कहाँ बलात्कार गर्नेछौ?" यो दृश्य शोषणको चरम स्थितिमा पनि महिलाको असल विद्रोहको प्रतिक बनेको छ।

https://images.firstpost.com/

'गरीबी नै नेताहरूको पूँजी बन्यो !

महाश्वेता देवी

भारतमा निकै धेरै गरीबी र अशिक्षा छ । असंख्य मानिसहरु गरीबीको रेखामुनि छन् । स्वतन्त्रता प्राप्तिको पचासौं वर्षपछाडि पनि गाउँहरुमा पिउने पानीको समेत व्यवस्था हुन सकेको छैन । बाटो बन्न सकेको छैन । स्वास्थ्य सुविधाहरु छैनन् । १९९७ सालमा जे जस्तो खालका दशाहरु देखिरहेकी छु, मलाई लाग्छ, १० प्रतिशत मानिसहरुले मात्रै एक्काइसौं शताब्दीमा प्रवेश गर्न सक्छन् ।

आज गरीबी नै नेताहरुको पूँजी बनेको छ । जुनसुकै सरकार आए पनि उनीहरु गरीबहरुको भोट कै आधारमा टिकिरहेका छन् । हाम्रा राजनेताहरु वस्तुतः गरीबी हटाउनै चाहँदैनन्, किनकि, यही गरीबी उनीहरुको महान अस्त्र हो, जुन अस्त्र देखाएर उनीहरु विदेशी पूँजी यहाँ ल्याउँछन् । त्यसबाट गरीबहरुको जीवनस्तरमा के फरक परेको छ त ?

विकास साउन २०५५ बाट

सिर्जनात्मकता र सामाजिक प्रतिबद्धताको दोहोरो धार

महाश्वेताले साहित्यलाई 'उपभोग' होइन, 'उत्तरदायित्व' को रूपमा बुझिन्। उनी प्रायः लेख्थिन्-"म लेख्छु, किनकि मलाई बोल्नुपर्छ। म बोल्छु, किनकि उनीहरू बोल्न सक्दैनन्।" उनी एकजना 'लेख्ने पत्रकार' थिइन्, जसको कलम आदिवासीहरुको अभिव्यक्तिको माध्यम थियो।

उनी केवल आफ्ना निवासको आरामदायी टेबलमा बसेर लेख्ने लेखक थिइनन्- उनी जंगलमा हिँड्थिन्, आदिवासी बस्तीमा बस्थिन्, उनीहरूको रहनसहन, पीडा र आशा बुझ्थिन्। यो सहभागी लेखन थियो, जसमा साहित्य र संघर्षबीचको सीमाना नै मेटिएको देखिन्थ्यो।

https://www.dailypioneer.com

उनी केवल आफ्ना निवासको आरामदायी टेबलमा बसेर लेख्ने लेखक थिइनन्- उनी जंगलमा हिँड्थिन्, आदिवासी बस्तीमा बस्थिन्, उनीहरूको रहनसहन, पीडा र आशा बुझ्थिन्।

रमाइलो कुरा चाहिँ के रह्यो भने उनी पेशेवर लेखिका थिइन् । पेशवर अर्थात् लेखनलाई नै पेशा बनाएको । लेखनको कमाइबाटै उनी जीवन निर्वाह गर्थिन् । ६० को दशकमा उनको पतिसँग सम्बन्ध विच्छेद, फेरि दोस्रो विवाह र सम्बन्ध विच्छेदका बीच एक्लो जीवन निर्वाह गर्दा पनि उनको जीवन निर्वाहको स्रोत नै लेखन रह्यो ।

लेख्नुपूर्व उनी विषयवस्तुको गहिरो अनुभत गर्न र त्यसलाई बुझ्नका लागि धेरै अध्ययन–अनुसन्धान र स्थलगत भ्रमणहरु गर्थिन् । उदाहरणको लागि, ‘ब्रेस्ट गिभर’ कथा लेख्नका लागि उनले डाक्टरहरुकहाँ भ्रमण गरिन्। थुप्रै बिमारीहरुको ‘केस स्टडीहरु गरिन् ।  उक्त कथाको बारेमा उनको भनाइ यस्तो छ: ‘कथामा एक अत्यन्त प्रतीकात्मक रूपक छ, जहाँ भारत वा खासगरी पश्चिम बंगाललाई स्तनपान गराइरहेकी एउटी महिलाको रूपमा चित्रण गरिएको छ।जुन महिला आफ्नै शरीर निचोरेर अरूलाई दिन्छे, तर जब ऊ स्वयं संकटमा पर्छे, तब कसैले पनि उसको सहायता गर्दैन।’

रोचक कुरा त के छ भने, महाश्वेता देवीले यो कथा दिन रात लेखेर एकै पटकमा लेखिसिध्याएकी थिइन् । पछि त्यो कथालाई गायत्री चक्रवर्ती स्पिवाकले अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन् ।

आदिवासी चेतनाको साहित्यिक आवाज

महाश्वेता देवीको जीवनको सबैभन्दा ठूलो रचनात्मक उपलब्धि भनेको भारतका आदिवासी जनसमुदायलाई साहित्यिक चेतनामा ल्याउनु हो। संथाल, मुंडा, बिरहोर, कोल, लोधा जस्ता जातिहरूलाई उनले केवल पात्रको रूपमा होइन, वैचारिक स्वत्व भएको समाजको रूपमा लेखिन्।

महाश्वेता देवीको जीवनको सबैभन्दा ठूलो रचनात्मक उपलब्धि भनेको भारतका आदिवासी जनसमुदायलाई साहित्यिक चेतनामा ल्याउनु हो।

उनले स्थापना गरेको 'आदिम जाति ऐक्य परिषद्' आदिवासी अधिकारको सशक्त मञ्च बन्यो। उनी बारम्बार भन्थिन्, "असली भारत त्यहाँ छ, जहाँ आदिवासीहरु छन्।" यो कथन केवल भावुक अभिव्यक्ति मात्र थिएन, राजनीतिक र सांस्कृतिक घोषणा समेत थियो।

 

https://images.firstpost.com

कम्युनिष्ट, वाम वा नास्तिक ?

महाश्वेता देवी आफ्नो कुनै धर्म नरहेको बताउँथिन् । उनी आफूलाई अनिश्वरवादी भन्न रुचाउँथिन् । उनी भन्थिन्– ‘म आफूलाई अनीश्वरवादी भन्न सक्छु, तर म कुनै धार्मिक व्यक्तिलाई अपमान गर्दिनँ। कोही पूजापाठ गर्छन्, भक्ति गर्छन् भनेर म न त उनीहरूलाई हाँसो गर्छु, न त तिरस्कार।’

उनका कर्महरु कम्युनिष्टहरुको कर्मसँग निकटता राख्थ्यो । त्यसमाथि थप, उनका पहिलो पति त चिनिएकै कम्युनिष्ट थिए । तर उनी आफ्नो सक्रियता र आदिवासीहरुप्रतिको समर्पित लडाइँको कारण कम्युनिष्ट विचारधारालाई मान्दैनथिइन् । उनी भन्थिन्– ‘म आफैँ निश्चित छैन कि म कहिल्यै साँचो अर्थमा कम्युनिस्ट थिएँ वा होइन। म 'लेफ्ट' सोचमा थिएँ, अझै पनि सायद छु–तर त्यो सोच के हो भने म सँधै जनताको पक्षमा उभिन्छु। म सँधै पीडितको दृष्टिकोणबाट हेर्छु। त्यो मान्छे जसले चामल किन्न सक्दैन, जससँग आफ्नो लाज ढाक्ने कपडा छैन–म त्यसको पक्षमा छु।’

भूमि आन्दोलनदेखि मानवाधिकारकर्मीको रूपसम्म

महाश्वेता देवी साहित्यकार मात्र थिइनन्, उनी आंदोलनकारी पनि थिइन्। उनका  लागि लेखन केवल कोठाभित्रको अभ्यास थिएन। उनी आन्दोलनहरूमा जान्थिन्, आदिवासीहरूसँग बस्थिन्, उनीहरूको मुद्दा लड्थिन्, पत्रकारितामार्फत आवाज उठाउँथिन्।

१९८० को दशकमा उनले बाँध परियोजनाबाट विस्थापित भएका संथाल, मुन्डा, हो आदिवासीहरूको हकमा सडकदेखि सर्वोच्च अदालतसम्म लडाइँ लडिन्। उनले जनजातीय समुदायको पहिचान, भाषा, शिक्षा र भूमिको अधिकार सुनिश्चित गर्न निरन्तर आवाज उठाइरहिन्।

पश्चिम बंगालमा सिंगुर, नन्दीग्राम जस्ता ठाउँहरूमा भूमि अधिग्रहणविरुद्धको आन्दोलनमा उनी अग्रमोर्चामा थिइन्। उनले राज्य सत्ता र निजी पुँजीपतिहरूको गठजोडबाट हुने भूमिहीनिकरणको घोर विरोध गरिन्।

उनी भन्छिन्– म प्रयास त गर्न सक्छु, परिणाम मेरो हातमा हुँदैन।तर प्रयास गर्छु।र मैले देखेँ–केवल ईमानदारीपूर्वक प्रयास गर्दा, सँगै छु भनेर जनाउँदा, "म तिम्रो लागि लड्छु" भनेर भनिदिँदा–पीडितलाई अपार साहस मिल्दो रहेछ।’

यी आन्दोलनहरूमा उनको सहभागिताले स्पष्ट देखायो- कलम र हतियार दुवै समाज रूपान्तरणका अस्त्र हुन सक्छन्। उनले राज्य हिंसा, कारागारमा यातना, न्यायिक उदासीनता-सबैविरुद्ध आवाज उठाइन्।

उनी आफ्नो कर्महरुलाई प्रयास भन्न रुचाउँछिन् । उनी भन्छिन्– म प्रयास त गर्न सक्छु, परिणाम मेरो हातमा हुँदैन।तर प्रयास गर्छु।र मैले देखेँ–केवल ईमानदारीपूर्वक प्रयास गर्दा, सँगै छु भनेर जनाउँदा, "म तिम्रो लागि लड्छु" भनेर भनिदिँदा–पीडितलाई अपार साहस मिल्दो रहेछ।’

https://media.assettype.com/

‘हामीले आदिवासीहरुसँग क्षमा माग्नुपर्छ’

महाश्वेता देवीले देखेकी आदिवासी सभ्यता

महाश्वेता देवी प्रतिबद्ध अभियन्ता/अधिकारकर्मी थिइन् । हेपिएका, थिचिएका तथा कुल्चिएकाहरुको पक्षमा सधैं उनी खडा हुन्थिन्, चाहे त्यो व्यक्ति एकजना मात्रै किन नहोउन् ! उनी भन्छिन्– ‘हामी कहिल्यै बेवास्ता गर्दैनौं–जब कुनै एउटा व्यक्ति पनि समस्यामा पर्छ, जब कसैले विद्यालय जानुपर्ने हुन्छ, वा कुनै व्यक्तिलाई प्रहरीले यातना दिएको हुन्छ, हामी सधैं उपस्थित हुन्छौं। यस्तो देशमा जहाँ अझै पनि यति धेरै शोषण छ, यति धेरै गरिबी छ, त्यहाँ हामी किन चुप बसौं?’

आदिवासीहरुको समस्यातिर उनलाई के कुराले आकर्षित गर्यो होला त ? महाश्वेता देवी भन्छिन् –उनीहरू भारतका सबैभन्दा गलत बुझिएका, सबैभन्दा बढी शोषित गरिएका, र सबैभन्दा बेवास्ता गरिएका नागरिकहरू हुन्। मूलधारको समाजले सधैं उनीहरूलाई पन्छाउँदै आएको छ। प्राचीन कालदेखि नै उनीहरूलाई बदनाम गरिँदै आएको छ। तर मलाई उनीहरूतर्फ तान्ने मुख्य कुरा चाहिँ के थियो भने, मैले उनीहरूको समाजभित्र यस्तो प्रकारको सभ्यता देखेँ, जुन हाम्रो समाजमा कल्पनै गर्न सकिँदैन।

उनले देखेकी आदिवासी समाजभित्रको सभ्यता यस्तो छ–

उनीहरूको समाजमा बेहुली बेच्ने चलन छैन। छोरी जन्मिँदा अति खुशी मानिन्छ। छोरीलाई मनदेखि स्वागत गरिन्छ। दाइजो छैन। सम्बन्धविच्छेदलाई समाजले स्वीकृति दिएको छ। सम्बन्धविच्छेदपछि पुनःविवाहलाई पनि उनीहरूको समाजले स्वीकारेको छ। वास्तवमा, पुनःविवाह निकै सामान्य छ।

र सबैभन्दा अद्भुत कुरा त के हो भने, त्यहाँ कुनै बच्चा अनाथ हुँदैन। यदि कुनै बालक वा बालिकाका आमाबुबा मर्छन् भने पनि समुदायकै जिम्मेवारीमा ती बच्चालाई हुर्काइन्छ। यस्ता कुरा हाम्रो समाजमा सोच्न पनि गाह्रो छ।

मैले तिनीहरूमा जे देखेँ, त्यो अद्भुत थियो। तर तपाईं कुन किसिमको सम्बन्ध देख्नुहुन्छ? एउटा तर्फ आकर्षण हुन्छ – आदिवासीहरूलाई आदर्श मान्ने, तिनलाई सङ्ग्रहालयमा राखेझैं संरक्षण गर्ने। अर्कोतर्फ, तिनको एकीकरण गर्ने कुरा आउँछ – तर के त्यसले तिनलाई बिथोल्ने हो कि सभ्य बनाउने?

हामीले तिनीहरूलाई बिगार्न सकेसम्म प्रयास गरिरहेका छौं। सताब्दीयौँदेखि हामीले हाम्रो फोहोर तिनीहरूमा थुपार्दै आएका छौं। आज होइन, धेरै पहिलेबाट। पूर्वी भारतमा भएका सबै विद्रोहहरू – चाहे सन्थाल विद्रोह होस्, चाहे बिरसा मुण्डाको विद्रोह – ती सबै त्यतिखेर भएका थिए जब साहूकारहरू र अरू बाहिरी मानिसहरू तिनीहरूको भूमिमा पसे, जमिन खोसे, महिलाहरूलाई दुर्व्यवहार गरे। यिनै कुराले तिनीहरूलाई आक्रोशित बनायो।

सबैभन्दा बढी शोषित र सबैभन्दा बढी बुझिन नसकिएको समुदाय यही हो। तर म उनीहरू माझ पुग्दा एक किसिमको गहिरो सभ्यताको बोध पाएँ। मेरो दृष्टिकोण सधैं यस्तो रह्यो – म त्यो समाजको प्रतिनिधि हुँ जसले तिनीहरूलाई असम्भव किसिमको क्षति पुर्‍याएको छ। त्यसैले मेरो काम, मेरो लेखनमार्फत म तिनीहरूबाट क्षमा माग्दैछु। यो कुनै विचारधाराको कुरा होइन। यो मेरो विश्वास हो – मैले तिनीहरूसँग क्षमा माग्नुपर्छ।

पुरस्कार र सम्मानहरू : स्वीकार्यता र विरोधबीचको द्वन्द्व

उनको योगदानको कदर गर्दै उनलाई थुप्रै पुरस्कार दिइए-साहित्य अकादेमी पुरस्कार (१९७९), पद्मश्री (१९८६), ज्ञानपीठ पुरस्कार (१९९६), म्यागसेसे पुरस्कार (१९९७), पद्म भूषण (२००६), सार्क साहित्य पुरस्कार (२००७), इटालीको प्रेमियो नोनीयो सम्मान, फ्रेन्च सरकारबाट 'ऑर्डर अफ आर्ट्स एन्ड लेटर्स' आदि।

उनले एकपटक भनेकी थिइन्-"पुरस्कार मलाई कुनै शक्ति दिन्न। मलाई शक्ति दिन्छ-आदिवासी आमाको हात, जसले मेरो हात समाएर भनिन्: 'तपाईं लेख्नुहुन्छ, त्यसैले हामी बाँच्छौँ।'

तर ती सबै पुरस्कारको सन्दर्भमा पनि उनी सधैं आलोचनात्मक थिइन्। उनले एकपटक भनेकी थिइन्-"पुरस्कार मलाई कुनै शक्ति दिन्न। मलाई शक्ति दिन्छ-आदिवासी आमाको हात, जसले मेरो हात समाएर भनिन्: 'तपाईं लेख्नुहुन्छ, त्यसैले हामी बाँच्छौँ।' उनी सँधै भन्थिन्–"मेरो सम्मान त तब हो जब मेरो आवाज साँचिकै उनीहरूका कानसम्म पुग्छ जसलाई कसैले सुन्दैन।"

एक्लो जीवन, सार्वभौमिक प्रेम

व्यक्तिगत जीवनमा भने महाश्वेताको यात्रा सहज थिएन। रंगकर्मी बिजोन भट्टाचार्यसँगको पहिलो विवाहले केही समय कला र राजनीति दुवैको सहयात्रा जस्तो देखिएको भए पनि पछि सम्बन्ध टुट्यो। दोस्रो विवाह पनि लामो समय टिकेन। त्यसपछि उनले एक्लो जीवन बिताइन् । तर त्यो एक्लोपन समाजबाट टाढिएको होइन, बरु अझै गहिरो रूपमा जनसमुदायसँग जोडिएको थियो।

मृत्यु होइन, प्रेरणाको उत्तराधिकार

सन् २०१६ जुलाई २८ मा ९१ वर्षको उमेरमा उनको निधन भयो । उनको निधनले विश्व साहित्य जगतले, अनि भारतले एक लेखिका होइन, एक आन्दोलन गुमायो। त्यो आन्दोलन, जसले सदैव सीमान्तकृत आवाजविहीनहरुलाई आवाज दिने र उनीहरुको पक्षमा न्यायको लडाइँ लड्ने काम गरिरह्यो । तर महाश्वेता देवी अझै बाँचेकी छन्-हाम्रो सामाजिक चेतनामा, आन्दोलनको स्मृतिमा र साहित्यिक विरासतमा।

उनले लेखेकी थिइन्: "लेखकको पहिलो कर्तव्य हो–समाजको पीडालाई शब्द दिनु। चुप लाग्नु भनेको अत्याचारको पक्षमा उभिनु हो।"

भारतीय राज्यसत्ता पुँजीपतिवर्गको हित साधनाका लागि आदिवासीहरुको थातथलो मासेर उनीहरुको सभ्यता र संस्कृति निमिट्यान्न पार्न कम्मर कसेर लागिपरेको छ । सीमान्तकृत आदिवासीहरुको पक्षमा बोलिने आवाज मधुरो हुँदै गइरहेको यो बेला महाश्वेता देवीको सशक्त लेखनीको अभाव झनै मुख्खर भएर आउँछ ।

अहिले समाजमा विकासका नाममा भइरहेको अन्धकार्यहरुबाट विस्थापन, आदिवासी शोषण, राज्य हिंसा, जातीय असमानता, भूमि अधिग्रहण, कारागार यातना, महिला हिंसा, आदिवासी बेवास्ता जस्ता समस्याहरू अझ तीव्र रूपमा बढिरहेको  छ । भारतीय राज्यसत्ता पुँजीपतिवर्गको हित साधनाका लागि आदिवासीहरुको थातथलो मासेर उनीहरुको सभ्यता र संस्कृति निमिट्यान्न पार्न कम्मर कसेर लागिपरेको छ । आदिवासीको हकहितको लागि आवाज बुलन्द गर्ने र प्रतिरोध गर्ने माओवादीहरुलाई पूरै निमिट्यान्न पार्ने गरी राज्यसत्ताको शिरदेखि पुच्छरसम्मकै स्रोतसाधन झोसेर भयानक दमनमा उत्रिएको छ । यो बेलामा महाश्वेता देवीको साहित्य अझ सजीव र सान्दर्भिक बन्छ।सीमान्तकृत आदिवासीहरुको पक्षमा बोलिने आवाज मधुरो हुँदै गइरहेको यो बेला महाश्वेता देवीको सशक्त लेखनीको अभाव झनै मुख्खर भएर आउँछ ।

 

https://www.newslaundry.com

जिजीविषा: जीवन बदल्ने शब्द

एक पटक कलकत्तामा रिक्सा चढ्न एक जना महिला आइन्। रिक्सा चालक युवाले ती महिलालाई क्याम्पसमा पढाउने प्राध्यापक ठानेर सोधे – “दिदी, जिजीविषा शब्दको अर्थ के हुन्छ?”

एक जना रिक्सा चलाउने मान्छेले यस्तो कठिन शब्दको अर्थ सोधेको देखेर महिला छक्क परिन्। उनले त्यो शब्दको अर्थ बताइन् र सोधिन्, “यो शब्द तिमीले कहाँ फेला पार्‍यौ ?”

रिक्सावालाले भने, “मैले एउटा किताब पढ्दा भेटेको थिएँ।”

महिलाले सोधिन्, “तिमीले कति पढेका छौ?”

रिक्सावालाले जवाफ दिए, “मैले कहिल्यै स्कुल जान पाइनँ।”

 महिला – “त्यसो भए तिमीले पढ्न कसरी सिक्यौ?”

रिक्सावाला – “मैले जसोतसो गरेर पढ्न सिकेँ।”

 महिला – “तिमीले कुन किताब पढेका छौ?”

रिक्सावालाले १०–१२ वटा किताबका नामहरू भने। संयोगवश ती किताबहरूमध्ये ४–५ वटा तिनै महिलाले लेखेका किताबहरू थिए।

महिलाले भनिन् – “म तिमीजस्तै मान्छेहरूको बारेमा एउटा पत्रिका निकाल्ने गर्छु। के तिमी यो पत्रिकामा लेख्छौ?”

रिक्सावालाले जवाफ दिए – “मैले अहिलेसम्म लेखेको छैन, तर म कोशिश गर्छु। तपाईँको ठेगाना दिनुहोस्, मैले लेखेँ भने सम्पर्क गर्नेछु।”

महिलाले एउटा कागजको टुक्रामा आफ्नो नाम र ठेगाना लेखेर दिइन्। त्यो कागज देख्ने बित्तिकै रिक्सावाला छक्क परे। त्यहाँ लेखिएको थियो – महाश्वेता देवी।

 रिक्सावालाले आफ्नो रिक्साको गद्दीमा राखेको तिनै महिलाको एउटा किताब अग्निगर्भ देखाए। महाश्वेता देवी खुसी भइन्। जुन वर्गका लागि किताब लेखिएको हो, ती मानिसहरूको हातमा त्यो किताब पुग्दा लेखकलाई खुसी लाग्नु स्वाभाविकै थियो।

पछि रिक्सावालाले एउटा लेख लेखेर महाश्वेता देवीलाई पठाए। त्यो लेख छापियो। त्यही पत्रिकामा लेख्न सुरु गरेर, कालान्तरमा ती रिक्साचालक पश्चिम बङ्गालका प्रख्यात लेखक बने। ती रिक्साचालकको नाम थियो – मनोरंजन व्यापारी।

–केदार सिटौला

एक सच्चा जनलेखक, जसको कलमले क्रान्ति लेख्यो

महाश्वेता देवीलाई बुझ्न 'लेखक' भन्नु अपुरो हुन्छ। उनी सामाजिक कथाकार थिइन्, उनको हरेक शब्दमा प्रतिरोध थियो, पीडाको यथार्थ थियो, र क्रान्तिको संभावना पनि। उनले साहित्यमा सामाजिक उत्तरदायित्वको नयाँ परिभाषा दिइन्।

आजको युगमा, जहाँ साहित्य धेरैजसो बजारको मागअनुसार लेखिन्छ, जहाँ विचारहरू सजिलै किनबेच हुन्छन्, महाश्वेता देवीको जीवन एउटा चुनौति हो। उनले देखाइन्–साहित्य केवल सौन्दर्य होइन, संघर्ष पनि हो। लेखनी केवल कल्पना होइन, प्रतिरोध पनि हो।

उनी प्रश्न गर्थिन्-"यो देश केबल पुँजीपतिहरूको हो? के यो संविधान मजदुरका लागि होइन?" यसप्रकारका प्रश्नहरू आजको दिनमा झन् महत्वपूर्ण छन्।

त्यसैले, महाश्वेता देवी केवल एक लेखक थिइनन्। उनी एक 'चेतना' थिइन्–जो आज पनि हाम्रा पुस्तकालयहरूमा होइन, चर्को अन्याय भोगिरहेका जनताको मुटुमा बाँचिरहेकी छिन्।

मौनताको संस्कृति तोड्दै गरेकी  लेखिका के भन्छिन् ?

० म नारीवादी लेखिका होइन । म वर्ग विभाजित समाजका विषमताहरू देखाउने लेखिका हुँ । मलाई लाग्छ- हामी अहिले जुन समाजमा बाँचिरहेका छौं त्यस समाजमा विभिन्न थरिका विषमताहरू विद्यमान छन् र कुनै पनि लेखकले यी सबै विषमताहरू माथि ध्यान दिनु पर्दछ । नारीहरूका जुन जुन समस्याहरू छन्, ती सबै समस्याहरू फगत नारीहरूका मात्रै होइनन्, बरू सिंगो समाजका समस्याहरूसंग ती अभिन्न रूपले जोडिएका छन् ।

० १९९२ मा सरकारको तर्फबाट मलाई जेनेभा पठाइएको थियो । म त्यसबेला भारतको प्रतिनिधित्व गरेर गएकी थिएँ । जेनेभा सम्मेलनको मुख्य विषय थियो- तेस्रो विश्वमा कृषि क्षेत्रका महिलाहरूको आर्थिक विकास ।

मैले त्यसबेला भनेकी थिएँ- तपाईंहरू कृषि क्षेत्रमा एउटी केटीलाई रेखांकित गरेर कसरी विकसित गर्नु हुन्छ ? तपाईंहरूलाई थाहा हुनुपर्ने हो - गरीबीको रेखामुनि बाँचिरहेका मानिसहरूबीच महिला-पुरूष - बच्चा सबका सबले बराबर रूपमा गरीबीको पीडा भोगिरहेका छन् । गरीबीका भुक्तभोगीहरू सबैको पूर्ण विकास गर्नुस् । उनीहरूलाई गरीबीको रेखाबाट माथि उठाउनुस् । महिलाहरूलाई मात्रै, उनीहरूका श्रीमान् र बच्चाहरूलाई छाडेर, कसरी विकास गर्नु हुन्छ ? महिलाहरूलाई मात्रै विकास गर्ने अवधारणाले भारतको पारिवारिक ढाँचा नै टुट्नेछ । त्यसैले, अलग्गै ढंगले रेखांकित गरेर महिलाहरूको विकास गर्नु संभव छैन ।

अहिले त बाल श्रमिकहरूको समस्या पनि जल्दोबल्दो रूपमा देखा परेको छ, तपाईं त्यसलाई कसरी रोक्न सक्नु हुन्छ ? जबसम्म उनीहरूका आमा- बुबालाई गरीबीको रेखाभन्दा माथि उठाइँदैन, तबसम्म बाल श्रमिकहरूको बाडीलाई रोक्नु संभव नै हुँदैन ।

‍० म जहाँ उभिएँ, त्यही भूमिलाई रणक्षेत्र बनाएँ । रणक्षेत्रको चयन म आफैँले गरेकी हुँ ।

० आफ्नो लेखनमा जीवनका अनुभव र चिन्तन दुवै प्रतिविम्वित हुन्छन् । शोषितहरू र आदिवासीहरूसंग जोडिएका जुन अनुभवहरू छन्, ती त प्रतिविम्बित हुन्छन् नै । उनीहरूसंगको मेरो जोडाइ र सामिप्यता पनि केही अलि भिन्नै किसिमको छ । मेरो जिन्दगी नदी झैं छ, जुन निरन्तर बगिरहेको छ ।

० म अचेल कम पढ्छु । किनकि, म किताबहरूबाट भन्दा बेसी आदिवासीहरूबाट पाठ सिक्छु । आदिवासीहरूको जीवन, उनीहरूको कानून, भूमि सुधार कानून आदिको बारेमा बेसी पढ्ने गर्दछु । जासूसी सम्बन्धी किताबहरू पनि किताबहरू पनि पढ्छु ।

० म कुनै आदिवासी क्षेत्रमै अन्तिम स्वास लिन चाहन्छु । उनीहरूसंगै काम गर्दा गर्दै जीवनको अन्तिम यात्रा गर्न चाहन्छु ।

मैले मृत्युको रहस्यबारे कहिले पनि सोचेकी छुइनँ, न त म मृत्युदेखि नै डराउँछु । त्यसो त म कहिले पनि मर्दिनँ । म आदिवासीहरूबीच हर हमेशा जीवित हुनेछु । उनीहरू जति दिन बाँच्छन्, त्यति दिन म पनि बाँच्नेछु । म आदिवासीहरूभन्दा अलग छुइनँ । म यश या कीर्तिको कारणले बाँचिरहन्न होला, बरू आदिवासीहरूको जीवनसंग जोडिएको कारणले, उनीहरू जति समयसम्म बाँचिरहन्छन्, त्यति समयसम्म म पनि बाँचिरहनेछु ।

–राजेन्द्र महर्जन

विकास साउन २०५५


 

* "कल्लोल युग" भन्नाले १९२० को दशकमा बंगाली साहित्यमा आएको एक क्रान्तिकारी साहित्यिक आन्दोलनलाई जनाउँछ । यस आन्दोलनले परम्परागत बौद्धिक र आदर्शवादी लेखनको बिरुद्धमा एक नयाँ धारा प्रस्तुत गर्यो।

 महाश्वेता देवीका पिता मनीष घटक कल्लोल युगका प्रतिनिधि कवि र कथाकार हुन् । उनीबाहेक, समरेश बसु, प्रभातकुमार मुखोपाध्याय, प्रेमेन्द्र मित्र, सुधीन्द्रनाथ दत्त यस युगका प्रमुख नायकहरु हुन् जसले कवितादेखि कथा, उपन्याससम्ममा नयाँ मोड ल्याए ।

परम्परावादी बौद्धिक वर्गले कल्लोल युगको लेखनलाई "नीचता", "यौन उत्तेजक", "अनैतिक" ठान्थे। तर रमाइलो कुरा के रह्यो भने तिनैले पाठकहरूलाई परम्परागत साहित्य लेखन–अध्ययनलाई नयाँ ढङ्गले हेर्न बाध्य बनाएका थिए।

‘कल्लोल युग’लाई बंगाली साहित्यमा आत्मसमीक्षा र पुनर्जागरण को एउटा खुड्किलो मानिन्छ। यो आन्दोलनले समाजको जटिल यथार्थलाई कलाका माध्यमबाट व्यक्त गर्न सिद्धहस्तता हासिल गरेका महाश्वेता देवी, ऋत्विक घटकजस्ता व्यक्तित्वहरूलाई गहिरो प्रभाव पारेको पाइन्छ ।