पोशाक, औपनिवेशिक सोच र पहिचानको द्वन्द्व

नेपालमा औपचारिक पोशाकबारे थरिथरिको बुझाइ छ । ‘पहाडे राष्ट्रवाद’ वा ‘महेन्द्रीय राष्ट्रवाद’ पनि भनिने सोच र चिन्तनले दौरा सुरुवालबाहेक अरु पोशाकहरुलाई हत्तपत्त औपचारिक पोशाक नै ठान्दैन, मान्दैन । अझ पनि उच्च शासकहरुको प्रत्यक्ष उपस्थिति हुने वा उनीहरुको कार्यालयले आयोजना गर्ने कार्यक्रमहरुमा औपचारिक पोशाक भनेको दौरा सुरुवाल मात्रै औपचारिक पोशाक हो भन्ने चिन्तन जबरजस्त रुपमा हावी छ ।
त्यसबाहेक, औपचारिक पोशाक भनेको कोट–सुट पाइन्ट अनि घाँटीमा दाम्लो बाँधेजस्तो गरी बाँधिने टाइसमेतको पहिरन हो भन्ने बुझाइ पनि जबरजस्त रुपमा हावी छ । खासगरी, विदेशी प्रतिनिधिहरुको उपस्थिति हुने वा उनीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा टाइसहितको कोटसुट पाइन्टको पहिरनलाई उच्च प्राथमिकता दिइने गरिन्छ । त्यसबाहेक, आफूलाई आधुनिक र सभ्य देखाउने लोभमा कतिपयले यस पोशाकलाई उच्च प्राथमिकताका साथ आत्मसात गर्ने गरेको देखिन्छ । यो बेग्लै कुरा हो कि त्यो पोशाक पनि कतिखेर लगाउँदा उचित हुन्छ र त्यसले त्यो पहिरन लगाएको बेलामा लगाउने व्यक्तिलाई साँच्चै सभ्य र राम्रो देखाएको छ कि छैन वा उसलाई जोकर जस्तो पो देखाइरहेको छ भन्ने कुराको हेक्का कमैले राख्ने गर्छ ।
जे होस्, औपचारिक पोशाक भनेको टाइसहितको कोट–प्यान्ट सर्ट हो र त्यो लगाइदाँ मात्रै अत्याधुनिक र सभ्य देखिन्छ भन्ने ‘दरिद्र चिन्तन’ले धेरैको मस्तिष्कलाई कब्जा गरेको देखिन्छ ।
औपचारिकताको परिभाषा र यसको उत्पत्ति
आजको दुनियाँमा ‘औपचारिक पोशाक’ भनेर बुझिने कोट, सुट, टाइको शैली विशेषगरी अठारौं शताब्दीतिर उत्तर युरोपेली बुर्जुवा संस्कृतिबाट उदय भएको हो । यो बुर्जुवा संस्कृति विशेषतः औद्योगिक क्रान्तिपछि उदाएको मध्यवर्गीय जीवनशैली हो। यसले उद्योगपति, कर्मचारी, पेशेवर वर्ग आदिको जीवनशैलीलाई प्रतिनिधित्व गर्छ। यस वर्गले आफूलाई "सभ्य", "संयमी", र "समाजका कर्तव्यशील अंग" को रूपमा प्रस्तुत गर्न चाहन्थ्यो। टाइ, सुट, र कोट यसैको पहिरनात्मक अभिव्यक्ति थियो—जुन संस्कृति बेलायती साम्राज्यको प्रसारसँगै विश्वभर फैलियो। यस शैलीको सौन्दर्यशास्त्र, अनुशासन, र सामाजिक पदअनुसार लुगाको प्रयोगजस्ता मूल्यहरू तिनै ऐतिहासिक युरोपेली सामाजिक संरचनाबाट उत्पन्न भएका हुन्।
तर जब कुनै शैली एक कालखण्डमा त्यो लागू गरिएको समाजको जलवायु, उत्पादन प्रणाली, शारीरिक बनावट, र सांस्कृतिक विरासतसँग मेल खाँदैन, त्यस्तो शैलीलाई ‘विश्वव्यापी’ बनाएर थोपर्नु एक किसिमको सांस्कृतिक आत्म-उपेक्षा हो। अझ त्यसलाई अन्धअनुकरण गरेर अपनाउनु त साँस्कृतिक दासताकै द्योतक हो ।
नेपालको जलवायुमा सुट कति उपयुक्त ?
नेपालको भौगोलिक विविधता अनुसार पोशाकको आवश्यकता पनि विविध हुन्छ। त्यसमाथि थप, जातीय–साँस्कृतिक विविधता भएको मुलुक नेपालमा त फरक फरक खालका पोशाकहरु परम्परागत रुपमा प्रचलित रहेका छन् । ती पोशाकहरु फगत साँस्कृतिक पहिचानका कुरा मात्रै होइन, ती त लामो कालखण्डमा ती जातजातिहरुले दैनिक जीवनमा अनुभव/अभ्यास गरेका सहजता र अनुकूलनका आधारमा आत्मसात गरिएका पोशाकहरु पनि हुन् । यस्तो अवस्थामा तर तराईको हप्हप्ती गर्मीमा वा काठमाडौंको सामान्य पोशाक लगाउँदा पनि तर्तर्ती पसिना चुहिने गर्मी मौसममा पनि भारी कोट, टाइ, जुत्ता-मोजा लगाएर पसिना चुहाउँदै ‘औपचारिकता’ प्रदर्शन गर्नु, स्वाभाविकभन्दा बनावटी लाग्छ। अझ बिचित्र कुरा त के छ भने, त्यही पसिनाले भिजेको अनुहार र घाँटी कस्सिने गरी लगाइएको टाइ नै सभ्यताको प्रतीक ठहरिन्छ।
यो लुगा लगाउने शैलीको कुरा मात्र होइन, यो त सोचको कुरा पनि हो । के हामी हाम्रो वातावरण, हाम्रो सामाजिक संरचना, र हाम्रो सांस्कृतिक सन्दर्भ अनुसार लगाइनुपर्ने औपचारिक पोशाक कुन हो भनेर आफैंले तय गर्न सक्दैनौं ?
सांस्कृतिक औपनिवेशिकता र ‘सभ्यता’को आयात
टाइसहितको कोटप्यान्ट सुटलाई औपचारिक पोशाक ठान्ने र त्यो लगाइँदा मात्रै सभ्य–आधुनिक ठान्ने सोचको जरामा रहेको छ– सांस्कृतिक औपनिवेशिकता । यो मानसिकताले विदेशी मूल्य, शैली र आचरणलाई ‘उन्नत’ र ‘आधुनिक’ मानेर आत्मसात् गर्नुपर्ने दबाब सिर्जना गर्छ। यसको अर्थ के हो भने हामीले ‘सभ्यता’ र ‘आधुनिकता’को परिभाषा अझै पनि पाश्चात्य मापदण्ड अनुसारै गरिरहेका छौं। यही कारण हो– हामीले आफ्ना रहनसहन र संस्कृति अनुकूलको पोशाक लगाएर औपचारिक समारोहमा जान खोजे पनि त्यति ‘ड्रेस अप’ भएको ठानिँदैन; तर कुनैले टाइसुट लगाएको भए तुरुन्तै ‘ग्लोबल स्ट्यान्डर्ड’ को पहिरन ठान्ने गरिन्छ ।
खडेरी आत्मविश्वासको !
कुनै पनि सभ्यताले आफ्नो जलवायु, आर्थिक संरचना, सामाजिक आवश्यकताअनुसार पोशाक विकास गर्छ। त्यसलाई औपचारिक पोशाकको रुपमा आत्मसात पनि गर्छ । उदाहरणको लागि, जापानमा ‘किमोनो’, अरब मुलुकमा ‘थोब’, भारतमा ‘धोती-कुर्ता’, भुटानमा ‘घो’, अफ्रिकामा ‘कान्टाङ्गा’ वा ‘डाशिकी’—यी सबै औपचारिक पोशाक हुन्। तर ती देशहरूले आफ्ना पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि आत्मविश्वासका साथ प्रस्तुत गर्ने क्षमता विकास गरेका छन्। नेपालले पनि यस्तै सांस्कृतिक आत्मनिर्भरता विकास गर्न सकेको भए, दौरा-सुरुवाल वा अन्य स्थानीय सँस्कृति अनुसारका पोशाकहरूलाई औपचारिक मान्यता दिन सक्थ्यो।
निष्कर्ष
सुट–कोट–टाइ कुनै ‘गलत’ पोशाक होइन, न त यसलाई लगाउने सबै मानिसहरू सांस्कृतिक परतन्त्रताको शिकार नै छन्। तर यसको प्रयोगमा विवेक, मौसमअनुसारको निर्णय, र सांस्कृतिक सन्दर्भको सम्मान हुनुपर्छ। कुनै पनि पोशाक ‘सभ्यता’को एक मात्र मापदण्ड होइन। नेपालजस्ता मुलुकहरूले आफ्ना सांस्कृतिक मूल्य र आवश्यकताअनुसार औपचारिकताको नयाँ परिभाषा गढ्नुपर्छ—जसले स्थानीयता, आराम, र स्वाभिमानलाई सँगै अँगाल्छ।

पूर्व राष्ट्रपति–उपराष्ट्रपतिको राजनीतिक सक्रियताले सिर्जना गरेको बहस

किन थलिँदैछ नेपालमा वामशक्ति ?

बहुसँस्कृतिवादको भण्डाफोर

विश्वका किसानहरूले बीउको नियन्त्रणमाथि बढ्दो कर्पोरेटरूको आक्रमणको विरुद्धमा एक…

कसको निर्देशनमा चलेको हो यो बेथिति ?

उत्तर कोरिया - पर्दा पछाडिको दृश्य

३२ वर्ष नपाएको शिक्षा, केही घण्टामा पाएँ

प्रतिक्रिया