नागरिकको निष्ठामा भएको धोका: सरकारहरुलाई एक तीतो सन्देश

२१औँ शताब्दीको सरकार र जनताको संसारमा, हामीमध्ये धेरैजना सरकारहरू र तिनका प्रचारद्वारा हाम्रो मस्तिष्कको नैतिकता दोहनमा मात्र जकडिन पुगेका छैनौं, उनीहरूले हाम्रो खल्तीमा समेत हात हालिरहेका छन् र हामीले अन्य राष्ट्रहरूसँग मिलेर बस्ने साझा अस्तित्वमा समेत खतरा उत्पन्न गराइरहेका छन्।

ट्रम्प, खामेनेई, नेतन्याहू, सी जिनपिङ, पुटिन, किम जोङ उन, अर्बान वा यस्ता किसिमका आत्मकेन्द्रित नेताहरूले आफूलाई उच्च स्थानमा राख्दै गर्दा हामीले मानिसका रूपमा जोगाएका उच्चतम आदर्शहरूमाथि नै घात गरिरहेका छन् भन्ने देख्दा वाक्क नलाग्नु मुश्किल छ। राज्य संयन्त्रहरू र राजनीतिज्ञहरू हामीप्रति सम्मानजनक व्यवहार गर्न तथा उनीहरू हामीप्रति निष्ठावान् छन् भन्ने ग्यारेन्टी दिन बाध्य छन्, ताकि हामीले पनि उनीहरूलाई निष्ठा दिन सकौँ। तर निर्लज्ज राजनीतिज्ञ र सरकारहरू धम्की दिँदै, कहिलेकाहीं त हाम्रो मानवीयतालाई नै उल्लङ्घन गर्दै अगाडि बढिरहेका छन्। हाम्रो मानवीयताको केन्द्र नै निष्ठा र विश्वास हो।

जब सरकार र राजनीतिज्ञहरू पथभ्रष्ट हुन्छन्, जनताले सरकारलाई दिएको निष्ठा र विश्वासको त्यो विशेषाधिकार खुकुलो हुन थाल्छ, कहिलेकाहीं पूर्णरूपमा टुट्न पनि सक्छ।

यो कुरा सत्य हो कि  गैर-प्रजातान्त्रिक प्रणालीहरूमा, जनतासँग आफूलाई मन परेको शासन प्रणालीबारे छनोट वा अभिव्यक्ति गर्ने कुनै अवसर हुँदैन। त्यसैले, यस्ता स्थानमा नागरिकको सरकारप्रतिको निष्ठा कति छ भन्ने कुरा प्रश्नयोग्य र परिवर्तनशील हुन्छ। जनताको हातमा शक्ति हुँदैन, र उनीहरूको निष्ठा सरकारको दृष्टिमा खासै अर्थपूर्ण हुँदैन। तर प्रजातान्त्रिक समाजहरूमा भने निष्ठा एउटा विशेषाधिकार हो । त्यसलाई जनताले सरकार र राजनीतिज्ञहरुलाई आपसी विश्वास र साझा अभिप्रायको आधारमा स्वेच्छाले दिन्छन् । तर जब सरकार र राजनीतिज्ञहरू पथभ्रष्ट हुन्छन्, जनताले सरकारलाई दिएको निष्ठा र विश्वासको त्यो विशेषाधिकार खुकुलो हुन थाल्छ, कहिलेकाहीं पूर्णरूपमा टुट्न पनि सक्छ। नागरिक निष्ठा टुटेका उदाहरणहरू अहिलेको समयमा देखिन गाह्रो छैन, तर यसको दीर्घकालीन प्रभावहरू अझै देखिन बाँकी छन्।

हालैका महिनाहरूमा, हामीले आफ्नै सरकारविरुद्ध एउटा ठूलो किसिमको नागरिक निष्ठा उल्लङ्घन देख्यौँ। सयौँ, सायदै हजारौँ इरानी नागरिकहरूले इजरायलको पक्षमा जासुसी गरे, जसले इस्लामिक शासन व्यवस्था भएको आफ्नै देशमाथि घातक र विनाशकारी सैन्य आक्रमण गर्न इजरायललाई सम्भव बनायो।

नांगो बलमा आधारित शासनले यो शासनलाई (अघिल्ला धेरैहरूजस्तै) अन्धो बनाइरहेको छ । यस्ता कठोर नागरिक व्यवहारहरूले देखाउँछ कि यो शासनले आफ्ना नागरिकहरूको सम्मान र निष्ठा कायम राख्नुपर्ने महत्वपूर्ण कुरालाई विगतमा जति बेवास्ता गर्‍यो, अहिले पनि त्यतिकै बेवास्ता गरिरहेको छ। यो एउटा अधिनायकवादी शासनले शक्ति-सङ्कोच (power neurosis) बाट राजनीतिक मानसिक विचलन (political psychosis) तर्फ परिवर्तन गरिरहेको उदाहरण हो। (हेर्नुहोस् मेरो निबन्ध: “Political Psychiatry: from Sanity to Power Neurosis to Political Psychosis” https://secondenlightenment.net/political-psychiatry/) बुद्धिमान् सरकारहरूले आफ्नै गल्तीहरूभित्रको धाँजाहरुलाई चिन्न सक्छन् र नागरिकहरूको सरकारप्रतिको निष्ठा फुट्न थालेको संकेत समयमै बुझ्न सक्छन्  ताकि सम्पूर्ण सत्ताको छाना उनीहरूको टाउकोमाथि ढल्न नपाओस् — त्यो चाहे क्रान्तिको रूपमा होस्, वा शत्रुप्रति धोकेबाजीको रूपमा।

बुद्धिमान् सरकारहरूले आफ्नै गल्तीहरूभित्रको धाँजाहरुलाई चिन्न सक्छन् र नागरिकहरूको सरकारप्रतिको निष्ठा फुट्न थालेको संकेत समयमै बुझ्न सक्छन्  

जर्मन-अमेरिकी राजनीतिक दार्शनिक हाना अरेन्टले अधिनायकवादी शासनहरूबारे यस्तो अवलोकन गरेकी थिइन्: “अधिनायकवादी शासनहरूले पतन हुनुभन्दा ठीक अघिसम्म सामान्यताको आवरण ओढेका हुन्छन्, जसले प्रकट रुपमा भय र अस्थिरतालाई लुकाउने काम गर्छ। यस्ता ‘सामान्यता’ ले जनतामा एक किसिमको निष्क्रियता वा ढुक्कताको भावना ल्याउँछ, जसले गर्दा खतरा चिनिँदासम्म धेरै ढिलो भइसकेको हुन्छ।” इस्लामिक गणराज्य अहिलेको अवस्थामा हाना अरेन्टको यो विचारलाई बोकेर बाँचिरहेको छ।

संयुक्त राज्य अमेरिका पनि चाँडै नागरिक निष्ठा गडबडिँदै गएको देशको रुपमा एउटा अर्को अध्ययनको विषय बन्दैछ । कहिलेकाहीं हामी आफैँ अनौठो रूपमा एउटा यस्तो स्थितिमा फस्छौँ, जहाँ हामी निष्ठा महसुस गर्छौँ तर साथसाथै अपमान पनि सहिरहेका हुन्छौँ। अमेरिकामा सरकार नागरिकहरूको निष्ठालाई स्वतः पाइएको जस्तो व्यवहार गर्छ, तर अपमान भने झनै बढिरहेको देखिन्छ। सरकार आपसी निष्ठाको संरक्षक हुनु पर्ने हो, तर बारम्बार झूट र अपमानले उसले आफ्नै नागरिकहरूलाई व्यवहार गरिरहेको हुन्छ— चाहे त्यो इराक युद्धसम्बन्धी झूट होस्, अथवा अरू धेरै कानुनी धोखाधडीहरू, वा पछिल्लोपटक देखिएको  सरकारी संस्थाहरूमा लामो समय समर्पित भएर काम गरेका कर्मचारीहरूलाई अपमानजनक तरिकाले सामूहिक रूपमा निष्कासन गर्नु। संयुक्त राज्य अमेरिकामा नागरिकहरूको सरकारप्रतिको निष्ठाको समग्र स्तरबारे विशेष तथ्यांक उपलब्ध छैन। तर यस्ता अनेकौँ उदाहरण भेटिन्छन्, जहाँ नागरिकहरूको निष्ठा उपेक्षित भइरहेको छ, प्रश्नमा पारिएको छ, कमजोर बनाइएको छ, वा केवल स्वभाविक रूपमा अपेक्षित मानिएको छ। यस्ता सन्देहहरूको एउटा प्रतीकका रूपमा, सन् २०२५ को जुलाईको मध्यतिर एफ.बी.आई. ले आफ्ना एजेन्टहरूलाई पोलिग्राफ (झूट पत्ता लगाउने) परीक्षण दिन थालेको छ, ताकि उनीहरूको एफ.बी.आई. तथा त्यसका निर्देशकप्रतिको निष्ठा कति छ भनेर मूल्याङ्कन गर्न सकियोस्। (हेर्नुहोस् New York Times को लेख: “The F.B.I. is Using Polygraphs to Test Officials’ Loyalty”, July 11, 2025)

साँचो निष्ठा हुन्छ, र नक्कली वा बनावटी निष्ठा पनि हुन्छ। हामीलाई राम्रोसँग थाहा छ कि सरकारका प्रचार यन्त्रहरूले नक्कली निष्ठाको भावना निर्माण गर्न सक्छन्।

साँचो निष्ठा हुन्छ, र नक्कली वा बनावटी निष्ठा पनि हुन्छ। हामीलाई राम्रोसँग थाहा छ कि सरकारका प्रचार यन्त्रहरूले नक्कली निष्ठाको भावना निर्माण गर्न सक्छन्।

सन् १९२० को दशकमा, सिगमण्ड फ्रायडका भान्जा एड्वार्ड बर्नेज अमेरिका आए। उनले आफ्ना काकाको मनोविश्लेषणात्मक दृष्टिकोणलाई अमेरिकी बजार र विज्ञापनको दुनियाँमा भित्र्याए । यसले उपभोक्तावादी अभियानहरूलाई प्रभाव पारेको थियो — जस्तै महिलाहरूलाई धूम्रपान गर्न प्रेरित गर्ने अभियान।

बर्नेजले जनताको अवचेतन मनमा प्रवेश गरेर ‘जादू’ गरे, किनभने उनी विश्वास गर्थे कि अवचेतनका लोभहरूले तर्कपूर्ण मस्तिष्कलाई पराजित गर्छन्। यो उपाय सफल भयो, र उनको विशेषज्ञता क्रमशः बढ्दै गयो। उनले विज्ञापनलाई राजनीतिक अभियानमा ल्याए र सी.आई.ए., वॉर इन्फर्मेसन अफिसलगायत यस्ता संस्थाहरूका लागि काम गरे, जसको ध्यान जनमत निर्माण र सहमति इन्जिनियर गर्नेमा केन्द्रित थियो (हेर्नुहोस् २००२ को बीबीसी वृत्तचित्र: The Century of the Self)। बर्नेजले चुरोट बेच्नेदेखि लिएर सरकारको प्रचार गर्ने र युद्ध बेच्ने कामसम्म हात हाल्न पुगे। पछि उनलाई ‘पब्लिक रिलेसनको पिता’ भनेर चिनिन थालियो। उनले जनजातीय मानसिकता (tribal thinking) मा हात हालेर राष्ट्रप्रेम र झण्डाप्रतिको अन्धो प्रेम उत्पादन गर्न मनोविश्लेषणात्मक प्रविधिहरू प्रयोग गरे । यहाँसम्म कि सरकारद्वारा उपेक्षा वा दुर्व्यवहार भोगिरहेका ती अमेरिकीहरूमा पनि यस्तो भावना जगाउन सके । यस्ता बनावटी निष्ठा आजको राजनीतिक अभियानहरूमा छुटाउन गाह्रो छैन। ती अभियानहरू देशको हितभन्दा बढी उम्मेदवारहरूको विज्ञापनजस्तै देखिन्छन्। राजनीतिक सन्देशहरूको आदिवासी स्वरूपले नागरिक र सरकारबीचको साँचो र विश्वसनीय समझदारीलाई विस्थापित गर्छ।यद्यपि यो शासन प्रणाली प्रजातान्त्रिक होइन, चीनको पोलिटब्युरोका नेताहरू पनि ‘एउटा कुरा भन्ने, अर्को गर्ने’ प्रवृत्तिका उदाहरण हुन्। एकातिर उनीहरू समानतावाद र साम्यवादको प्रचार गर्छन्, अर्कोतिर १.५ अर्ब जनतालाई आवश्यक स्वतन्त्रता नदिई उनीहरूको  शोषण गर्छन् । जनताको निष्ठा विद्यालय, क्लिनिक, सरसफाइ, र सस्तो उपभोक्ता वस्तुहरूजस्ता आधारभूत आवश्यकताहरूको सट्टा सटही हुन्छ । यसरी चिनियाँ राजनीतिक उच्च वर्गले चुनावी र प्रजातान्त्रिक जवाफदेहिताबाट आफूलाई मुक्त गराउँछन्। चीनको आर्थिक, प्रविधिक चमत्कार र विश्वव्यापी श्रेष्ठताको मोहक राष्ट्रिय प्रचार अन्तर्गत निष्ठा अपेक्षा गरिन्छ, तर त्यो निष्ठा न त साँचो हुन्छ, न त दीगो। मानव सभ्यताको लामो इतिहासमा जनताले निष्ठाको सट्टामा अनुदानहरू स्विकार्दै आएका छन्। तर यस्तो बनावटी र सतही निष्ठा मनबाट आउँदैन। साँचो निष्ठा अनन्तकालसम्म किनेर राख्न सकिँदैन।

बनावटी निष्ठा आजको राजनीतिक अभियानहरूमा छुटाउन गाह्रो छैन। ती अभियानहरू देशको हितभन्दा बढी उम्मेदवारहरूको विज्ञापनजस्तै देखिन्छन्।

बनावटी निष्ठाको अर्को उदाहरण इजरायलको परिस्थिति हो। दोस्रो विश्वयुद्ध र होलोकास्टजस्ता राजनीतिक तथा मानवीय विपत्तिहरूको पृष्ठभूमिमा इजरायली पहिचान र निष्ठा निर्माण गरियो। विभिन्न पश्चिमी र विकसित देशहरूबाट आएका आधुनिक, धनी र शिक्षित यहूदीहरू इजरायलमा बसाइँ सरे र एउटा साझा पहिचान र त्यही भूभागप्रति निष्ठा व्यक्त गरे — जुन भूभाग प्राचीन हिब्रूहरूले ‘आफ्नो’ वाचा गरिएको भूमि मानेका थिए। तर इजरायली विद्वान श्लोमो स्यान्डले आफ्नो पुस्तक The Invention of Jewish People (हिब्रू संस्करण २००८, अङ्ग्रेजी अनुवाद २००९) मा तर्क गर्छन् कि यहूदी पहिचानलाई “एकै जाति” को रूपमा आविष्कार गर्नु यूरोपियनहरूको परियोजना थियो। उनीहरूले विभिन्न मिथकीय स्रोतहरूबाट सामग्री झिकेर सबै यहूदीहरूलाई एउटै “पवित्र” भूमिसँग जोड्ने काम गरे– यद्यपि ती मानिसहरूको पृष्ठभूमि एकआपसमा पृथक र छिन्नभिन्न थियो। यस्तो यहूदी पहिचानको आविष्कारले देश र भूमिप्रति एक किसिमको बाइबलीय निष्ठा निर्माण गर्‍यो। यो कथन महँगो र खतरनाक अथवा तर्क कत्रुटिपूर्ण भए पनि, हरेक नागरिकले यो कथालाई स्वीकार गर्न र त्यसप्रति निष्ठावान् रहनुपर्ने स्थिति रह्यो। आजको युद्ध राजनीति र पुरातन धार्मिक दाबीहरू ती इजरायलीहरूका लागि आकर्षक छैनन्, जो धर्मनिरपेक्ष चिन्तक, नास्तिक, वा रूढीवादी यहूदीहरू हुन्। यस्ता धेरै मानिसहरू छन् जो जियोनिस्ट विचारधारासँग सहमत छैनन्, र अझ त्यस्ता पनि छन् जो इजरायलको प्यालेस्टाइन राज्यसम्बन्धी नीतिको अस्थिरताप्रति प्रतिरोध गर्छन्।

यहूदी पहिचानको आविष्कारले देश र भूमिप्रति एक किसिमको बाइबलीय निष्ठा निर्माण गर्‍यो। यो कथन महँगो र खतरनाक अथवा तर्क कत्रुटिपूर्ण भए पनि, हरेक नागरिकले यो कथालाई स्वीकार गर्न र त्यसप्रति निष्ठावान् रहनुपर्ने स्थिति रह्यो।

सरकारी संयन्त्र आफैँ पनि निश्चित छैन कि हिब्रू परम्परा र बाइबलीय मिथकहरूका ती अस्पष्ट विचारहरूले नयाँ पुस्ताहरूलाई अझै सन्तुष्ट राख्न सक्लान् ! ती पुस्ता जो आफूहरु शान्तिको छातामुनि बाँचिरहेका छन् भन्ने महसुस गर्न चाहन्छन्, क्षेप्यास्त्रहरूको छायाँमुनि होइन। आजको समस्या यहूदी धर्म वा यहूदी जनतामाथिको खतरा होइन। आजको केन्द्रीकरण भूमि, हतियार, प्रभुत्व र विस्तारवादमा छ – जुन एक बनावटी सामूहिक पहिचानप्रति निर्मित निष्ठाद्वारा समर्थित छ। इजरायल र संसार दुवैले त्यस्तो जनसंख्या धान्न सक्दैनन्, जसको निष्ठा एउटा शान्तिपूर्ण राष्ट्रप्रति र अर्को एउटा भ्रमित गर्ने हेरफेर र विस्तारको एजेन्डामा लागिपरेको राष्ट्रप्रति बाँडिएको होस्।

नागरिकहरूको निष्ठा विघटन यति सूक्ष्म र चुपचाप ढंगले हुन्छ कि अन्धा शासकहरू वा सरकारहरूले यसलाई न त पहिचान गर्न सक्छन्, न त बुझ्न।

आफूमै लठिएको, सत्ताका भोकले ग्रस्त शासकहरू र शासनहरूले आफ्ना नागरिकहरूको निष्ठाको सवाललाई बेवास्ता गर्दा त्यो बेवास्ताको मूल्य उनीहरूले स्वयं र देशको स्थायित्व तथा सुरक्षाको क्षतिको मूल्यमा तिर्नुपर्छ। नागरिकहरूको निष्ठा विघटन यति सूक्ष्म र चुपचाप ढंगले हुन्छ कि अन्धा शासकहरू वा सरकारहरूले यसलाई न त पहिचान गर्न सक्छन्, न त बुझ्न। त्यसबेला मात्र उनीहरू चकित हुन्छन्, जब जनताले आक्रोशपूर्वक आफ्नो निष्ठाको विशेषाधिकार फिर्ता लिन्छन् — र त्यसको परिणाम अज्ञात रहन्छ।

२६०० वर्ष पुरानो राजनीतिक र दार्शनिक टिप्पणीहरूको सानो पुस्तिका चिनियाँ ग्रन्थ Dao De Ching को अध्याय १७ मा लेखक लाओजीले शासक र सरकारसँग जनताको निष्ठा सम्बन्ध कस्तो हुन सक्छ भन्ने कुरा चारवटा संक्षिप्त श्रेणीमा विभाजन गरी प्रस्तुत गर्छन्। यी श्रेणीहरू सबैभन्दा उच्च कोटिका शासकबाट शुरू भएर सबैभन्दा तल्लो र निकृष्टसम्म पुग्छन्:

सबैभन्दा सर्वोच्च शासकहरूलाई जनताले प्रायः चिन्दैनन्।

त्यसभन्दा कम श्रेणीका शासकहरूलाई माया गरिन्छ र प्रशंसा गरिन्छ।

अझ तल्लो श्रेणीका शासकहरूबाट डराइन्छन्।

सबैभन्दा तल्लो शासकहरू घृणित मानिन्छन्।

साँचो, वा “सर्वोच्च” सरकारहरू दबाबपूर्ण हुँदैनन्, न त तिनीहरू युद्धको स्थितिमा हुन्छन्। जनता र सरकारबीच आपसी सम्मान, विश्वास र सक्रिय सहकार्यको सम्बन्ध हुन्छ। प्रणाली जतिसुकै अपूर्ण भए पनि, त्यहाँ सक्रिय सहकार्य हुन्छ। नागरिकहरूले सार्वजनिक स्वास्थ्य सेवा, आवास आदि मार्फत सरकारको आम्दानीबाट आफ्नो न्यायोचित हिस्सा पाउँछन्, जसले उनीहरूको समाजमा सभ्य जीवन बाँच्ने क्षमता कायम राख्छ। परिणामस्वरूप, नागरिकहरूले पनि आफूले गर्नु पर्ने भाग निर्वाह गर्छन् । उदाहरणका लागि सरकारलाई छल्न नखोजी  स्वेच्छापूर्वक जस्तै कर तिर्छन् । यसरी परस्पर निष्ठाको भावना विकसित हुन्छ।

“झन् तल्लो स्तरका” तिनीहरू हुन्, जहाँ जनताले प्रहरी, राजनीतिज्ञ, गुप्तचर सेवा र न्याय प्रणालीसँग डर मान्छन् — र झन्डै सधैं एक किसिमको असुरक्षाको अनुभूति हुन्छ।

त्यसभन्दा “कम स्तरको” शासन भने त्यो हो, जहाँ जनताले आफ्ना नेताहरूको पूजा गर्न बाध्य महसुस गर्छन्। तिनीहरूले सधैं माया गर्नुपर्छ, प्रशंसा गर्नुपर्छ, आलोचना गर्नु हुँदैन भन्ने लाग्छ। तिनीहरू राष्ट्रिय झण्डाको पूजा गर्छन्। देशप्रतिको यस्तो प्रेम नदेखाउने जुनसुकै व्यक्तिलाई धम्क्याउँछन् — र कहिलेकाहीं त आफ्नै 'प्रिय' देश र तथाकथित स्वतन्त्रताका लागि हत्या गर्नसम्म पुग्छन्।

“झन् तल्लो स्तरका” तिनीहरू हुन्, जहाँ जनताले प्रहरी, राजनीतिज्ञ, गुप्तचर सेवा र न्याय प्रणालीसँग डर मान्छन् — र झन्डै सधैं एक किसिमको असुरक्षाको अनुभूति हुन्छ। उनीहरूले न त सहज महसुस गर्न सक्छन्, न त सरकारलाई आफ्नो रक्षक वा सहयोगी सम्झन सक्छन् — जुन सरकारले त वास्तवमा तिनै जनताको सुरक्षा र समर्थन गर्नुपर्ने हो।

र “सबैभन्दा तल्लो,” सबैभन्दा निम्न श्रेणीका शासन र तानाशाहहरू तिनीहरू हुन्, जहाँ जनताले न त कुनै निष्ठा महसुस गर्छन्, न त सरकार र शासकहरूलाई सम्मान गर्छन्। बरु, उनीहरूले सरकारलाई घृणा गर्छन्। शासन र जनताबीच यस्ता निष्ठाका फाँटहरू अन्ततः अपरिवर्तनीय परिणाम भोग्न बाध्य हुन्छन् — जस्तै हामीले इरानमा, र हाम्रो आधुनिक तथा प्राचीन सामाजिक-राजनीतिक इतिहासमा अन्यत्र देखेका छौँ वा अहिले देखिरहेका छौँ।

आजका सबै सरकारहरू र शासकहरूलाई हाम्रो सल्लाह छ: आफ्ना नागरिकहरूको निष्ठालाई सानो नठान्नुहोस्।

हामी आफैँलाई अहिले सोध्न सक्छौँ: यीमध्ये कुन श्रेणी हाम्रा आफ्नै सरकारहरूमा लागू हुन्छन्?

आजका सबै सरकारहरू र शासकहरूलाई हाम्रो सल्लाह छ: आफ्ना नागरिकहरूको निष्ठालाई सानो नठान्नुहोस्। सबै मानव अधिकार र मानव जीवनप्रति सम्मान देखाउनुहोस्। जनताले सभ्य, सम्मानजनक र सशक्त जीवन बाँच्न सकून् भन्ने सुनिश्चित गर्नुहोस्। स्वास्थ्य सेवा, आवास र सम्पत्तिको न्यायोचित हिस्सा जनतालाई उपलब्ध गराउनुहोस्।

र, सबैभन्दा महत्वपूर्ण कुरा: ‘सामान्यता’ को मुकुण्डोले धोका नखानुहोस् ।

मोस्तफा भाजिरी

मोस्तफा भाजिरी (एम.डी, पीएचडी) स्वतन्त्र शोधकर्ता हुन् । उनी दर्शनशास्त्रका महान आचार्यहरूको तत्त्वहरू, वैश्विक न्याय, र उत्तर-धर्मनिरपेक्षताको सन्दर्भमा ती विषयहरूलाई प्रयोग गरी विश्लेषण गर्दै दृष्टिकोणमा आमूल परिवर्तन र मनोवृत्तिमा आधारभूत रूपान्तरणका बारेमा लेख्छन्; ।