प्याट्रिस लुमुम्बाको कथा र कङ्गोको व्यथा

जब अथाहा प्राकृतिक स्रोतहरु नै कङ्गोको लागि अभिशाप बन्यो !

प्याट्रिस लुमुम्बालाई अफ्रिकामा साम्राज्यवाद र नवउपनिवेशवाद विरोधी आन्दोलन तथा अफ्रिकी एकताको प्रतीकको रूपमा मानिन्छ। उनले आफ्नो छोटो र अत्यन्त आँधीमय जीवनमा शताब्दियौँदेखि  अफ्रिकामाथि लादिएको युरोपेली दासत्वको विरुद्ध लड्दै आफ्नो जीवन आहुति दिए। यस वर्ष प्याट्रिस लुमुम्बाको सयौँ जन्मदिन मनाइँदै छ। यही सन्दर्भमा यहाँ प्याट्रिस लुमुम्बाको जीवनको आँखीझ्यालबाट उनको देश कङ्गोको समकालीन इतिहासलाई चियाउने प्रयास गरिनेछ।

एक शताब्दीअघि जन्मिएको क्रान्तिकारी

प्याट्रिस लुमुम्बाको जन्म आजभन्दा ठीक १०० वर्षअघि, २ जुलाई १९२५ मा बेल्जियम अधीनस्थ अफ्रिकी देश कङ्गोको कसाइ प्रान्तको ओनालुआ गाउँमा भएको थियो। उनी बाटेटेला कबिलाका थिए। उनलाई उनका पिताले पादरी बनाउने उद्देश्यले एउटा क्याथोलिक स्कुलमा भर्ना गरिदिए। त्यसबेला बेल्जियमको औपनिवेशिक सरकारले कङ्गोलीहरूलाई औपचारिक अध्ययनलाई सीमित गरेर व्यवसायिक शिक्षालाई जोड दिन्थ्यो। कुशाग्र बुद्धिका लुमुम्बाले अध्ययनमा ठूलो प्रतिभा देखाए। उनको प्रतिभा देखेर त्यही शहरमा रहेका प्रोटेस्टेन्ट मिसनरीहरू आकर्षित भए, जो त्यही शहरमा चिकित्सा सहायक तालिम स्कुल चलाउँथे। १३ वर्षीय लुमुम्बा त्यो स्कुलमा भर्ना भएर चिकित्साशास्त्र पढ्न थाले।

उनले लेखेका थिए—‘किन केही गोराहरूले आफ्ना कुकुरहरूलाई आफ्ना निग्रो नोकरहरूभन्दा राम्रो व्यवहार गर्छन्?’ उनका लेखहरू प्रगतिशील समूहमाझ चर्चित बन्न थालेका थिए।

लुमुम्बा अत्यन्त जिज्ञासु थिए। उनको जिज्ञासाको दायरा स्कुलको पाठ्यक्रमभन्दा फराकिलो थियो। दुई वर्षपछि उनले आफ्नो औपचारिक अध्ययन पूरा नगरी स्कुल छोडे। अझ, उनले स्कुल छोडेकोमा उनका शिक्षकहरू बढी खुशी थिए।

लुमुम्बाको अध्ययन यात्रा र प्रारम्भिक विद्रोही चेतना

पढाइ छोडेपछि लुमुम्बा किन्डु शहर पुगे। त्यो शहर टिन खानिको लागि प्रख्यात थियो। उनले धेरै मुस्किलले खानिमा क्लर्कको काम पाए। खानीमा उनले किताब र अध्ययनप्रति रुचि राख्ने थुप्रै मानिसहरू भेटे। त्यहाँ ती व्यक्तिहरूको बौद्धिक सर्कल गठन गरियो। उनले आफ्नो स्वाध्याय जारी राखे। किताबको खोजीमा उनी अनेक दुःख व्यहोर्ने गर्थे। उनले आफ्नो खाली समय पुस्तक पढेरै बिताउँथे। लुमुम्बाले भोल्टेयर, रुसो र भिक्टर ह्युगो आदि लेखकका पुस्तकहरूको गहन अध्ययन गर्न थालेका थिए। लुमुम्बा पत्रकारितातर्फ लागे। उनले लेखहरू लेख्न पनि थाले। उनका लेख र रिपोर्टहरू राजधानी लियोपोल्डभिलका अखबारहरूमा छापिन थाले। त्यसै बेला उनले लेखेका थिए—‘किन केही गोराहरूले आफ्ना कुकुरहरूलाई आफ्ना निग्रो नोकरहरूभन्दा राम्रो व्यवहार गर्छन्?’ उनका लेखहरू प्रगतिशील समूहमाझ चर्चित बन्न थालेका थिए।

प्रशासनिक जागिर, जेल सजाय र राजनीतिक उकालो

सन् १९४४ मा लुमुम्बा स्ट्यान्लिभिल (हालको किसाङ्गानी) पुगे र त्यहाँ पोस्ट अफिसमा क्लर्कको काम पाए। उनले त्यहाँ ३ वर्षसम्म त्यो काम गरे। सन् १९४७ मा लुमुम्बा कङ्गोको राजधानी लियोपोल्डभिल (हालको किन्शासा) पोस्ट अफिस तालिम केन्द्रमा पढ्ने मौका पाए। उनले त्यो तालिममा उत्कृष्ट प्रदर्शन गर्दै उत्तीर्ण गरे। त्यसपछि उनलाई तेस्रो श्रेणीको पोस्टल क्लर्कको रूपमा मासिक ५,००० फ्र्याङ तलवमा नियुक्त गरियो। यो औसत कङ्गोलीको आम्दानीभन्दा धेरै थियो, तर उही काम गरिरहेका बेल्जियनको तुलनामा आधा मात्र थियो। लुमुम्बाले पाउलिन ओपङ्गो संग त्यसै बेला बिहा गरेका थिए।

कङ्गोली जनतामाझ उनको बढ्दो लोकप्रियताले उपनिवेश प्रशासनको ध्यान तान्यो, र चाँडै उनलाई पोस्ट अफिसबाट रकम दुरुपयोग गरेको आरोप लगाइयो। लुमुम्बाले आफू निर्दोष रहेको दाबी गरे तापनि उनी दोषी ठहराइयो...

स्ट्यान्लिभिलमा लुमुम्बा समाजसेवामा सक्रिय भए। उनले नजिकको सार्वजनिक पुस्तकालयमा स्वयंसेवकको रूपमा काम गरे, पोस्टल कामदारहरूको क्लब गठन गरे, र अफ्रिकी सरकारी कर्मचारी संघको सचिव र पछि अध्यक्ष भए। उनी बेल्जियन कङ्गोका रैथानेहरूको संघ (Association of Native Personnel of the Belgian Congo) का सभापतिमा चुनिए। उनी बेल्जियम लिबरल पार्टीको सदस्य समेत बने। सन् १९५५ मा बेल्जियमका राजा बाउदोयानले स्ट्यान्लिभिलको भ्रमणमा आउँदा, कङ्गोका प्रबुद्ध व्यक्तिको रूपमा लुमुम्बासँग भेट गराइयो। कङ्गोली जनतामाझ उनको बढ्दो लोकप्रियताले उपनिवेश प्रशासनको ध्यान तान्यो, र चाँडै उनलाई पोस्ट अफिसबाट रकम दुरुपयोग गरेको आरोप लगाइयो। लुमुम्बाले आफू निर्दोष रहेको दाबी गरे तापनि उनी दोषी ठहराइयो र दुई वर्षको जेल सजाय सुनाइयो, जुन पछि घटाएर ११ महिना बनाइयो।

लियोपोल्डभिलबाट राष्ट्रिय राजनीतिमा प्रवेश

जेलबाट छुटेपछि लुमुम्बा लियोपोल्डभिलतर्फ लागे, जहाँ उनले एउटा ठूलो बियर कम्पनीमा जागिर पाए। यस कामले उनलाई राजधानीभरि घुम्न र थुप्रै मानिसहरूसँग भेटघाट गर्ने वातावरण उपलब्ध गरायो। उनको धाराप्रवाह वाक्शक्ति र विद्वत्ताले राजधानीमा उनको लोकप्रियता ठूलो रूपमा फैलियो।

लुमुम्बा र सिएनएमले आफूलाई कङ्गोको मुक्ति संघर्षमा मात्र सीमित राखेनन्। उनीहरूले पुरै अफ्रिकालाई भातृत्वपूर्ण एकबद्धताको लागि आह्वान गरे।

कङ्गोमा उनी राजनीतिमा घनिभूत रूपमा संलग्न हुन थाले। उनी आफ्नो कबीलाको संगठनका अध्यक्ष बने, साथै लिबरल पार्टीको मिटिङमा पनि जान थाले। तर उनी त्यहाँको राजनीतिबाट सन्तुष्ट हुन सकेनन्। उनी कङ्गोमा उपनिवेशवादको अन्त्य र तत्काल स्वतन्त्रता चाहन्थे। त्यस्तै, उनी त्यस्तो पार्टी चाहन्थे, जुन जातीय, क्षेत्रीय र कबीलाई संकीर्णताबाट मुक्त होस्,  जो सबै कङ्गोलीहरूको साझा पार्टी बनोस्।

कङ्गोलिज नेसनल मुभमेन्ट (CNM) को स्थापना र अक्रा सम्मेलन

लुमुम्बाले १९५८ को अक्टोबरमा कङ्गोलिज नेसनल मुभमेन्ट (CNM) पार्टी गठन गरे। लुमुम्बाले लेखेको पार्टीको कार्यक्रममा प्रष्टसँग उल्लेख गरिएको थियो—कङ्गोलाई उपनिवेशवादबाट मुक्त गर्नका लागि सबै साधनको प्रयोग गरिनेछ।

लुमुम्बा र सिएनएमले आफूलाई कङ्गोको मुक्ति संघर्षमा मात्र सीमित राखेनन्। उनीहरूले पुरै अफ्रिकालाई भातृत्वपूर्ण एकबद्धताको लागि आह्वान गरे। सिएनएमले आफूलाई संगठित गर्नेबित्तिकै अफ्रिकाभरिका मुक्ति आन्दोलनहरूसँग सम्पर्क राख्न थाल्यो।

डिसेम्बर १९५८ मा घानाको राजधानी अक्रामा भएको अफ्रिकन पिपल्स कांग्रेसमा लुमुम्बा सहभागी भए। उनी सम्मेलनको स्ट्याण्डिङ कमिटीको सदस्यमा चुनिए।

स्वतन्त्रताको माग र बेल्जियमसँगको टकराव

लुमुम्बा आक्राबाट फर्केपछि कङ्गोमा स्थिति चर्किँदै जान थाल्यो। अफ्रिकी कन्फरेन्सको सन्देश सुनाउन उनले गर्न खोजेको सभामा बेल्जियम सरकारले प्रतिबन्ध लगायो। हजारौं कङ्गोलीहरूले बेल्जियम प्रशासनको प्रतिबन्धको बेवास्ता गर्दै सडकमा ओर्लिए। बेल्जियमका प्रहरीहरूले गोली चलाए। सयौं प्रदर्शनकारीहरूको मृत्यु भएको थियो। कङ्गोलीहरूले आमहड्तालको आह्वान गरे। उनीहरूले राजधानी लियोपोल्डभिलमा रहेका प्रहरी चौकीहरू कब्जा गरे, बेल्जियमका अफिस र पसलहरूमा आगो लगाए।

बेल्जियमले कङ्गोमा अशान्ति फैलाएको आरोपमा लुमुम्बालाई गिरफ्तार गरेर जेलमा हाल्यो। तर यसले पनि स्वतन्त्रता आन्दोलनलाई दबाउन सकेन।

आन्दोलनको राप बढ्दै गएपछि बेल्जियमका राजा बाउदोयानले कङ्गोलाई स्वतन्त्रता प्रदान गर्ने आश्वासन दिए। यसपछि लुमुम्बाले कङ्गोको स्वतन्त्रताको माग गर्दै देशभर आमसभा गर्न थाले। सिएनएम पार्टीले कङ्गोको स्वतन्त्रताको माग गर्दै बेल्जियम र कङ्गोका प्रतिनिधिहरूको सम्मेलनको माग गर्‍यो। बेल्जियमले कङ्गोमा अशान्ति फैलाएको आरोपमा लुमुम्बालाई गिरफ्तार गरेर जेलमा हाल्यो। तर यसले पनि स्वतन्त्रता आन्दोलनलाई दबाउन सकेन। आन्दोलन झन् चर्किँदै गयो।

गोलमेच सम्मेलन र लुमुम्बाको बढ्दो प्रभाव

बाध्य भएर बेल्जियम सरकारले १९६० को जनवरीमा गोलमेच सम्मेलनको मिति तय गर्‍यो। बेल्जियम सरकारले लुमुम्बालाई सहभागी नगराई गोलमेच सम्मेलन गर्ने विचार गरेको थियो। तर त्यो दिवास्वप्न साबित भयो। कङ्गोको भविष्य लुमुम्बाको सहभागिता बिना तय हुन नसक्ने अवस्था बनिसकेको थियो। बाध्यताबस  बेल्जियम सरकारले लुमुम्बालाई जेलबाटै गोलमेच सम्मेलनका लागि ब्रसेल्स पुर्‍यायो।

सम्मेलन सुरु भएको २ दिनपछि त्यसमा सहभागी भएका लुमुम्बाको उपस्थितिले बेल्जियमको सपना चकनाचुर बनायो। गोलमेच सम्मेलन ३० जुन १९६० मा कङ्गोको स्वतन्त्रता घोषणा गर्ने निर्णय गर्दै समाप्त भयो।

बेल्जियममा हुन लागेको गोलमेच सम्मेलनमा कङ्गोको तर्फबाट बहुरंगी प्रतिनिधित्व भएको थियो। बेल्जियमले चलाखी गरेर कङ्गोको प्रतिनिधित्व गर्नेहरूमध्ये बहुमत उदारवादीहरूलाई चयन गरेको थियो। प्रगतिशीलहरूलाई अल्पमतमा पारिएको थियो। बेल्जियमले सम्मेलनलाई आफूले सहजै नियन्त्रण गर्ने सोचेको थियो। तर सम्मेलन सुरु भएको २ दिनपछि त्यसमा सहभागी भएका लुमुम्बाको उपस्थितिले बेल्जियमको सपना चकनाचुर बनायो। गोलमेच सम्मेलन ३० जुन १९६० मा कङ्गोको स्वतन्त्रता घोषणा गर्ने निर्णय गर्दै समाप्त भयो।

सम्मेलनले तय गरेको मिति अनुसार मे १९६० मा कङ्गोमा आम निर्वाचन हुने भयो। लुमुम्बाको पार्टीले व्यापक रूपमा चुनाव प्रचार गर्‍यो। १७–१९ मेमा भएको संसदीय चुनावमा उनको पार्टीले अत्यधिक रूपमा विजय हासिल गर्‍यो। सिएनएम पार्टीले संसदको ३३ सिट जित्यो। तर पनि पूर्ण बहुमत प्राप्त गर्न सकेन। अरू पार्टीहरूसँग गठबन्धन गरेर लुमुम्बाको पार्टीले बहुमत जुटायो। सहमति अनुसार जोसेफ कासाभुवु राष्ट्रपति र लुमुम्बा प्रधानमन्त्री बने।

३० जुन १९६०: स्वतन्त्रता, अपमान र प्रतिवाद

३० जुन १९६० को दिन कङ्गोको राजधानी लियोपोल्डभिलमा स्वतन्त्रता समारोह आयोजना गरियो । सो समारोहका प्रमुख अतिथि थिए उपनिवेशवादी देश बेल्जियमका राजा बोदुवा। उनले आफ्नो भाषणमा बेल्जियमको उपनिवेशवादी शासनको प्रशंसा गरे। अझ उनले आफ्ना हजुरबुवा राजा लियोपाल्ड द्वितीयको पनि प्रशंसा गर्न थाले। राजा बाउदोयानका अनुसार लियोपाल्ड द्वितीयले कङ्गोमा सभ्यता भित्राएको दाबी गरे। उनले लियोपाल्ड कङ्गोको लागि समाज सुधारक रहेको चर्चा गरे। राजा बाउदोयानले कङ्गोको स्वतन्त्रता बेल्जियमले कङ्गोलाई सभ्य बनाउने "मिसन" को परिणति भएको दाबी गरे।

बेल्जियमका राजाको यो भाषण सुनेपछि कङ्गोका नवनियुक्त प्रधानमन्त्री प्याट्रिस लुमुम्बा क्रुद्ध बने। उनले त्यही समारोहमा त्यसको कडा प्रतिवाद गरे। उनले भाषण गर्दै भने—उपनिवेशवाद हामीमाथि बलपूर्वक लादिएको अपमानजनक दासता थियो। त्यसलाई हाम्रो स्मृतिबाट हटाउनु सम्भव छैन, किनकि हाम्रा घाउहरू अझै पनि आलै छन् र दुखिरहेका छन्। उनले अझ थपे—यो स्वतन्त्रता बेल्जियमले दान दिएर प्राप्त भएको होइन। बरु कुनै पनि कङ्गोलीले भुल्ने छैन कि स्वतन्त्रता संघर्षबाट प्राप्त भएको हो। उपनिवेशवादबाट कङ्गोको मुक्तिमा बेल्जियमको भूमिका यत्ति मात्र थियो कि उसले अन्ततः इतिहासको दिशा बुझे र हाम्रो स्वतन्त्रताको बाटोमा अवरोध बन्ने प्रयास गरेन।

बेल्जियमका राजाको भाषण सुनेपछि क्रुद्ध बनेका नवनियुक्त प्रधानमन्त्री प्याट्रिस लुमुम्बाले कडा प्रतिवाद गर्दै भने—उपनिवेशवाद हामीमाथि बलपूर्वक लादिएको अपमानजनक दासता थियो। त्यसलाई हाम्रो स्मृतिबाट हटाउनु सम्भव छैन, किनकि हाम्रा घाउहरू अझै पनि आलै छन् र दुखिरहेका छन्।

बेल्जियमका राजा लुमुम्बाको यो भाषण सुनेर स्तब्ध बने। यसअघि कुनै पनि अफ्रिकी अस्वेतले युरोपेलीहरूको सामु यति प्रष्टसँग बोल्ने हिम्मत गरेको थिएन। अझ लुमुम्बा, जसलाई बेल्जियमका पत्रिकाहरूले औँठाछाप चोर ठान्थे, उसैले बेल्जियमका राजालाई खुलेआम अपमानित गरेका थिए। कालान्तरमा यो भाषण लुमुम्बाका लागि मृत्युपत्रमा आफैले हस्ताक्षर गरेसरह बन्यो।

लियोपाल्ड द्वितीयको क्रूरताको ऐतिहासिक पृष्ठभूमि

प्याट्रिस लुमुम्बाको आक्रोश नाजायज पनि थिएन। १८८५ मा भएको बर्लिन कन्फरेन्सले अफ्रिकालाई युरोपका साम्राज्यवादीहरूबीच केक काटेजस्तै गरी बाँडेको थियो। बेल्जियमको भागमा अफ्रिकाको मध्य भागमा रहेको ठूलो क्षेत्र परेको थियो, जसलाई त्यसबेला "फ्री कङ्गो" भनिन्थ्यो। कङ्गो खनिज सम्पदाले भरिपूर्ण देश थियो। यसको क्षेत्रफल लगभग पश्चिम युरोप बराबर थियो। अझ, बेल्जियमभन्दा करिब ८० गुणा ठूलो देश थियो।

Image: https://www.britannica.com

राजा लियोपाल्ड द्वितीयको शासनकालमा हत्या, भोकमरी र महामारीका कारण कङ्गोमा करिब १ करोड मानिसको मृत्यु भएको थियो।

राजा लियोपाल्डले कङ्गोलाई बेल्जियमको उपनिवेशभन्दा पनि आफ्नो व्यक्तिगत बिर्ताको रूपमा शासन गर्न थाले। त्यसबेला कङ्गोमा रबरको खेती र हात्ती दाँतको संकलन आम्दानीको ठूलो स्रोत बनेका थिए। उनले अत्यन्तै क्रूरताका साथ शासन गर्न थाले। कङ्गोलीहरूलाई उनको व्यक्तिगत सम्पत्ति आर्जनमा काम गर्न बाध्य बनाइएको थियो। जसले तोकिएको मात्रामा रबर संकलन गर्न सक्दैनथ्यो, उसको हात काटिन्थ्यो।

राजा लियोपाल्ड द्वितीयको शासनकालमा हत्या, भोकमरी र महामारीका कारण कङ्गोमा करिब १ करोड मानिसको मृत्यु भएको थियो। राजा लियोपाल्डको क्रूर शासनको चर्चा युरोपमा समेत हुन थाल्यो। युरोप र अमेरिकाका विद्वान तथा लेखकहरू यसविरुद्ध बोल्न थालेपछि सन् १९०८ मा राजा लियोपाल्ड "फ्री कङ्गो" लाई बेल्जियम सरकारलाई फिर्ता गर्न सहमत भए। त्यसपछि यस देशलाई "बेल्जियन कङ्गो" भनिन थालियो।

स्वतन्त्रता पछि तुरुन्तै सुरु भएको सङ्कट

कङ्गोले स्वतन्त्रताको मधुमास धेरै दिनसम्म मनाउन पाएन। स्वतन्त्रता प्राप्त गरेको एक हप्ता पनि नबित्दै सैनिक विद्रोह भयो। कङ्गोली सैनिकहरूले तलब बढाउने र बेल्जियन अफिसरहरूलाई निष्कासन गर्नु पर्ने माग राख्दै विद्रोह गरे। कङ्गोमा अशान्ति भएको र आफ्ना नागरिकहरूको जिउज्यानमा खतरा भएको निउमा बेल्जियमले आफ्ना सैनिकहरू परिचालन गर्‍यो। त्यस्तै, १२ दिनमै लुमुम्बाका विरोधी नेता मोसे चोम्बेले खनिज पदार्थले सम्पन्न कटाङ्गा प्रान्त कङ्गोबाट स्वतन्त्र भएको घोषणा गरे। यसको पछाडि बेल्जियमको हात थियो। त्यसैगरी, दक्षिणमा रहेको कसाई प्रान्तले पनि स्वतन्त्र भएको घोषणा गर्‍यो।

लुमुम्बाको सरकार यी विद्रोहहरू नियन्त्रण गर्न असमर्थ बन्न थाल्यो। स्वतन्त्रता प्राप्त गरेको एक महिना नपुग्दै फेरि बेल्जियन सैनिकहरूले देशभरिका हवाईअड्डाहरू कब्जा गरे। उनीहरू राजधानी लियोपोल्डभिलतर्फ अगाडि बढ्न थाले। बेल्जियन सैनिकहरूले लुमुम्बालाई कहाँ जान पाइन्छ र कहाँ पाइँदैन भनेर अनुमति दिन थाले।

अमेरिका, राष्ट्रसंघ र सोभियत सङ्घबीचको शक्ति खेल

विद्रोह दबाउन र बेल्जियन सैनिकहरूलाई आफ्नो देशबाट फिर्ता गराउन लुमुम्बाले अमेरिका र संयुक्त राष्ट्र सङ्घको मद्दत मागे। विद्रोह दबाउन र बेल्जियमको हस्तक्षेपलाई नियन्त्रण गर्न सहयोगको याचना लिएर लुमुम्बा अमेरिका पुगे। अमेरिकाले विद्रोह दबाउन र बेल्जियमविरुद्ध सहयोग गर्न अस्वीकार गर्‍यो। अमेरिकाले राष्ट्र सङ्घमार्फत मात्र आफूले सहयोग गर्न सक्ने बतायो।

कतैबाट कुनै सहयोग नपाएपछि लुमुम्बाले सोभियत सङ्घसँग सहयोग मागे। सोभियत सङ्घसँग सैनिकहरूलाई ढुवानी गर्ने प्लेनहरूको सहयोग मागे। यसले पश्चिमी जगत लुमुम्बासँग झन् सशंकित बनायो।

उता, राष्ट्र सङ्घको शान्ति सेनाले कटाङ्गा प्रान्तमा चलिरहेको विद्रोह दबाउन आफूले कुनै सहयोग गर्न नसक्ने बतायो। कतैबाट कुनै सहयोग नपाएपछि लुमुम्बाले सोभियत सङ्घसँग सहयोग मागे। सोभियत सङ्घसँग सैनिकहरूलाई ढुवानी गर्ने प्लेनहरूको सहयोग मागे। यसले पश्चिमी जगत लुमुम्बासँग झन् सशंकित बनायो।

लुमुम्बाको राष्ट्रवादी विचार र प्रगतिशील चिन्तनले पश्चिमी राष्ट्रहरू क्रुद्ध बन्न थालेका थिए। उनको विरुद्ध छिट्टै षड्यन्त्र सुरु भयो। १९६० मा कङ्गो स्वतन्त्र भएपछि पनि बेल्जियमले सैनिक र आर्थिक हस्तक्षेप कायम राख्न खोजेको थियो, तर लुमुम्बाले यस्तो सतही सार्वभौमिकता अस्वीकार गरे। लुमुम्बाले कङ्गोका खनिज स्रोतहरूलाई राष्ट्रियकरण गर्ने योजना बनाएका थिए। यसले बेल्जियमको माथिल्लो कटाङ्गा खनन युनियन (Union Minière du Haut Katanga) जस्ता निगमहरूको अपार मुनाफालाई खतरा पुर्‍याउने थियो। उनको नीति अफ्रिकामा पश्चिमको नवऔपनिवेशवादलाई ठाडो चुनौती थियो।

लुमुम्बा र युरेनियम: खनिज राजनीतिमा साम्राज्यको खेल

कङ्गोमा खनिज पदार्थहरूको प्रचुरता थियो। अझ त्यसमाथि कङ्गोमा युरेनियमको ठूलो खानी थियो। सन् १९१५ मा कङ्गोको कटाङ्गा प्रान्तमा रहेको शिंकोलोवे खानीमा युरेनियम रहेको पत्ता लागेको थियो। तर त्यस बेला यो खनिजको कुनै उपयोगिता थिएन। १९३८ मा जर्मनीका वैज्ञानिकहरू अटो हानले आणविक विखण्डन (Nuclear fission) को अवधारणा विकास गरेपछि युरेनियमको महत्व अचानक बढ्यो। अमेरिकाले १९४२ मा परमाणु बम बनाउन म्यानह्याटन प्रोजेक्ट सुरु गरेपछि कङ्गोको शिंकोलोवे खानीको युरेनियम प्रयोगमा ल्याइयो।

अमेरिकाले त्यसबेला कङ्गोबाट करिब ३७०० टन युरेनियम गोप्य रूपमा लगेको थियो। दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बममा कङ्गोको युरेनियम प्रयोग गरिएको थियो।

अमेरिका र क्यानडामा युरेनियम खानी नभएका होइनन्। तर कङ्गोको कच्चा युरेनियममा ६६% युरेनियम अक्साइड हुन्छ भने, अमेरिकी र क्यानाडाली युरेनियममा १% भन्दा कम मात्र हुन्छ। अमेरिकाले त्यसबेला कङ्गोबाट करिब ३७०० टन युरेनियम गोप्य रूपमा लगेको थियो। दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बममा कङ्गोको युरेनियम प्रयोग गरिएको थियो। तसर्थ, अमेरिका कुनै हालतमा कङ्गोमा रहेको युरेनियममा सोभियत सङ्घको हात पुगोस् भन्ने चाहँदैनथ्यो। त्यसका लागि पनि अमेरिका कङ्गोमा आफ्नो कठपुतली शासक चाहन्थ्यो—प्याट्रिस लुमुम्बा जस्तो राष्ट्रवादी र प्रगतिशील व्यक्ति होइन।

अमेरिकी आदेश, सिआइएको षड्यन्त्र र लुमुम्बाको पतन

प्याट्रिस लुमुम्बा सुरु देखिनै अमेरिकाको आँखामा काँडाझैँ बनेका थिए। उनी अमेरिकाको नजरमा खतरनाक मार्क्सवादी ठहरिएका थिए। अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख एलन डलसले भनेका थिए—"हामीले त्यस्तो व्यक्तिको सामना गरिरहेका छौं जो फिडेल क्यास्ट्रोभन्दा पनि खराब छन्।" त्यस्तै, अमेरिकी राष्ट्रपति ड्वाइट आइज़नहावरले भनेका थिए—"म आशा गर्दछु कि लुमुम्बा गोहीले भरिएको नदीमा खसून्।" आइज़नहावरले लुमुम्बालाई अपदस्थ गर्न आदेश दिए।

कङ्गोमा रहेको सिआइएले पनि लुमुम्बाविरुद्ध कारवाही थाल्यो। उनलाई मार्नका लागि टूथपेस्टमा विष हाल्ने योजना समेत सिआइएले बनाएको थियो।

सो आदेश अनुसार सिआइएका प्रमुख एलन डलसले कङ्गोमा तैनाथ आफ्ना स्टेसन प्रमुखलाई निर्देशन दिए—"लुमुम्बालाई हटाउनु हाम्रो जरूरी र प्रमुख उद्देश्य हुनुपर्छ।" कङ्गोमा रहेको सिआइएले पनि लुमुम्बाविरुद्ध कारवाही थाल्यो। उनलाई मार्नका लागि टूथपेस्टमा विष हाल्ने योजना समेत सिआइएले बनाएको थियो। लुमुम्बालाई मार्ने षड्यन्त्रमा सिआइए मात्र संलग्न थिएन। बेलायतको गुप्तचर निकाय एमआइ–६ र बेल्जियमले पनि त्यसमा सहयोग गरेका थिए।

प्रधानमन्त्रीबाट अपदस्थ र नजरबन्द

५ सेप्टेम्बर १९६० मा अमेरिकी र बेल्जियनहरूको प्रत्यक्ष तथा परोक्ष आदेशमा राष्ट्रपति कासाभुवुले लुमुम्बालाई प्रधानमन्त्री पदबाट बर्खास्त गरे। उनले लुमुम्बामाथि कसाई विद्रोह दबाउने क्रममा नरसंहार मच्चाएको र सोभियत सङ्घलाई कङ्गोमा सहभागी गराएको आरोप लगाएका थिए। लुमुम्बाले यो कदम कङ्गोको संविधानविपरीत भएको भन्दै उल्टै राष्ट्रपतिलाई नै बर्खास्त गरिदिए। कङ्गोमा दुईवटा समानान्तर सरकार काम गर्न थाले। त्यसबेला कङ्गोका सेनाप्रमुख जोसेफ मोबुतुले राष्ट्रपतिलाई समर्थन जनाउँदै लुमुम्बालाई घरमै नजरबन्द गरे।

गिरफ्तारी, यातना र अन्ततः हत्या

२७ नोभेम्बरमा लुमुम्बा आफ्नो परिवारसहित नजरबन्दबाट भागेर आफ्ना समर्थकहरूको सबैभन्दा बलियो गढ स्ट्यान्लिभिलतर्फ जाने कोसिस गरे। तर बाटैमा मोबुतुको सेनाको कब्जामा परे। उनलाई अपमानित गर्दै र यातना दिँदै अर्को दिन राजधानी ल्याइयो। डिसेम्बर ३ मा लुमुम्बा र उनका दुई सहयोगीहरू—मोरिस एमपोलो र जोसेफ ओकिटो—लाई राजधानीभन्दा करिब १५० किलोमिटर टाढा रहेको सैनिक ब्यारेकमा बन्धक बनाएर राखियो। जनवरी १३ मा त्यहाँ रहेका सैनिकहरूले तलबको माग गर्दै विद्रोह गरे। राष्ट्रपति र सेनाप्रमुख स्वयं आएर सो विद्रोहलाई वार्तामार्फत समाधान गरे। लुमुम्बालाई त्यहाँ राख्नु खतरा हुन सक्ने ठानिँदै बेल्जियमको उपनिवेश सम्बन्धी मन्त्रीले विद्रोही नियन्त्रित कटाङ्गा प्रान्तमा लाने आदेश दिए।

शवमाथिको अमानवीय व्यवहार र रहस्योद्घाटन

प्लेनमा चढाएर लुमुम्बा र उनका साथीहरूलाई पिट्दै कटाङ्गाको राजधानी एलिजाबेथभिलको एयरपोर्टमा पुर्याइयो। त्यहाँ पुगेपछि उनलाई कटाङ्गाका अफिसरहरूले चरम यातना दिए। त्यसै रात, लुमुम्बा र उनका दुई साथीहरूलाई बेल्जियमका सैनिक अफिसरको देखरेखमा गोली हानी हत्या गरियो। हत्या गरेपछि लुमुम्बाको शवलाई माटो खोस्रेर कम गहिरो खाल्डो खनी गाडियो। त्यो खाल्डोबाट तीनै जना मृतकका खुट्टाहरू बाहिरै निस्किरहेको थियो। केही दिनपछि बेल्जियन पुलिस सुपरिटेन्डेन्ट गेरार्ड सोइटले त्यो चिहानबाट लुमुम्बाको शव निकालेर शवहरूलाई टुक्रा टुक्रा पारेर काटे। शवका टुक्राहरूलाई सल्फ्युरिक एसिडको ड्रममा हालेर गलाए। प्याट्रिस लुमुम्बा जम्मा ३६ वर्षका मात्र थिए।

केही दिनपछि बेल्जियन पुलिस सुपरिटेन्डेन्ट गेरार्ड सोइटले त्यो चिहानबाट लुमुम्बाको शव निकालेर शवहरूलाई टुक्रा टुक्रा पारेर काटे। शवका टुक्राहरूलाई सल्फ्युरिक एसिडको ड्रममा हालेर गलाए।

बेल्जियन पुलिस सुपरिटेन्डेन्ट गेरार्ड सोइटले घटना घटेको करिब ४० वर्षपछि, सन् २००० मा, यो रहस्य खोलेका थिए। उनका अनुसार उनले लुमुम्बाका दुईवटा दाँतहरू निकालेर आफूसँग राखेका थिए, जस मध्ये एउटा दाँत सुनले मोरिएको थियो। लुमुम्बाको मृत्युको कुरा धेरै दिनसम्म लुकाएर राखियो। उनको मृत्यु भएको तीन हप्ता पछि मात्र कटाङ्गा रेडियोले लुमुम्बा जेलबाट भाग्ने क्रममा गाउँलेहरूले कुटेर मारेको भनी जानकारी दियो। विश्वका धेरै ठाउँमा लुमुम्बाको हत्याको विरोधमा प्रदर्शन गरियो।

शिम्बा विद्रोह: लुमुम्बाको विचारको पुनरागमन

लुमुम्बाको मृत्युपछि उनका समर्थकहरूले विद्रोह सुरु गरे। लुमुम्बा समर्थकहरूको विद्रोहलाई शिम्बा विद्रोह  भनियो। स्वाहिली भाषामा शिम्बा को अर्थ हुन्छ सिंह। सन् १९६३ बाट शिम्बा विद्रोह सुरु भयो। सन् १९६३ को अक्टोबरमा नेसनल लिबरेसन काउन्सिल को गठन भयो, जसका नेता थिए क्रिस्टोफर गिबेने, ग्यास्टोन सौमियालोट, र लरेन्ट कविला आदि। शिम्बाहरूलाई सोभियत संघ, पूर्वी युरोपका देशहरू र चीनले समर्थन गरेका थिए। उता, अर्का लुमुम्बा समर्थक नेता पिएरे मुलेले पनि चीनबाट तालिम लिएर फर्केपछि कुइलु प्रान्तमा विद्रोह सुरु गरे।

शिम्बाहरूलाई सोभियत संघ, पूर्वी युरोपका देशहरू र चीनले समर्थन गरेका थिए। उता, अर्का लुमुम्बा समर्थक नेता पिएरे मुलेले पनि चीनबाट तालिम लिएर फर्केपछि कुइलु प्रान्तमा विद्रोह सुरु गरे।

शिम्बाहरूले चाँडै नै पूर्वी कङ्गोको अधिकांश भूभागहरू कब्जा गरे। १९६४ मा शिम्बाहरूले स्ट्यान्लिभिल कब्जा गरेर जनवादी गणतन्त्र कङ्गो को घोषणा गरे। शिम्बाहरूको यो अप्रत्याशित सफलताबाट आत्तिएर राष्ट्रपति कासावुबुले कटाङ्गा प्रान्तका विद्रोही नेता मोसे शोम्बेलाई प्रधानमन्त्री नियुक्त गरे। शोम्बेले कटाङ्गाका बेल्जियम सेनाले प्रशिक्षण दिएका पूर्व विद्रोहीहरूलाई सरकारको तर्फबाट लड्न उतारे। त्यस्तै, दक्षिण अफ्रिका र क्युबाका कम्युनिस्ट विरोधी लडाकुहरूलाई भाडाका सैनिकको रूपमा ल्याए। अमेरिका र बेल्जियमले पनि शिम्बाविरुद्ध हवाई सेना प्रयोग गर्न थाले। विस्तारै शिम्बा विद्रोहीहरू पराजित हुन थाले।

चे ग्वेभाराको कङ्गो यात्रा: क्रान्तिको निराशा

शिम्बाहरूलाई तालिम दिन सन् १९६५ को अप्रिल महिनामा १०० जना क्युबालीहरूको समूहको नेतृत्व गर्दै प्रख्यात क्रान्तिकारी चे ग्वेभारा आफैँ कङ्गो पुगे। उनको टोलीले शिम्बाहरूलाई युद्धकला सम्बन्धी तालिम दिन थाल्यो। तर चे कङ्गोलीहरूको लड्ने क्षमता र विद्रोही नेताहरूको व्यवहारबाट चाँडै नै आजित हुन थाले। उनका अनुसार विद्रोहीहरूमा अनुशासनहिनता थियो।

चेले कङ्गोली विद्रोहीहरू माझ एक केन्द्रीय गुरिल्ला तालिम केन्द्र स्थापना गर्ने र एउटा अनुशासित गुरिल्ला सेना तयार पार्ने प्रयास गरे। तर कङ्गोलीहरूबाट आवश्यक सहयोग प्राप्त नभएपछि यो योजना सफल हुन सकेन।

त्यस्तै, उनीहरूका नेताहरू मध्ये लरेन्ट कविलामा मात्र नेता बन्ने क्षमता थियो। तर कविलामा पनि क्रान्तिकारी गम्भीरताको ठूलो अभाव थियो। उनमा समयनिष्ठताको अभाव थियो—भनिएको समयमा कहिल्यै आइपुग्दैनथे। कविला अग्र मोर्चामा बसेर लड्नेभन्दा पनि तान्जानियामा बसेर वक्तव्यबाजी गर्न, र रक्सी भट्टी र वेश्यालयमा समय बिताउन रुचाउँथे।

चेले कङ्गोली विद्रोहीहरू माझ एक केन्द्रीय गुरिल्ला तालिम केन्द्र स्थापना गर्ने र एउटा अनुशासित गुरिल्ला सेना तयार पार्ने प्रयास गरे। तर कङ्गोलीहरूबाट आवश्यक सहयोग प्राप्त नभएपछि यो योजना सफल हुन सकेन। ७ महिनासम्म कङ्गोमा बसेपछि, त्यहाँ क्रान्तिको कुनै सम्भावना नदेखेर चे त्यहाँबाट फर्किए। चेको कङ्गो डायरीमा लेखिएको पहिलो वाक्य थियो— “यो एक असफलताको कथा हो।” यही एउटा वाक्यले चेको कङ्गो अभियानको सारा वृत्तान्त बताउँछ।

मोबुतुको अधिनायकवाद र भ्रष्टाचारको कालो युग

शिम्बा बिद्रोहीहरूलाई पराजित गरेपछि, सन् १९६५ मा मोबुतुले राष्ट्रपति कासभुवु र प्रधानमन्त्री सोम्बेलाई सैनिक बिद्रोहमार्फत अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिए। उनले कङ्गोको नाम बदलेर जायर राखे। जायरमा उनले ३० वर्षभन्दा बढी शासन गरे। आफूलाई कम्युनिस्ट विरोधी भएको दावी गर्दै उनले अमेरिका र युरोपेली देशहरूको खुला सहयोग र समर्थनमा जायरमा निर्धक्क शासन गरे। मोबुतु भ्रस्टाचारका लागि कुख्यात थिए। उनले देशमा केहि पनि बाँकी नराखी पूरै लुटेका थिए। उनको सम्पत्ति ५ बिलियन डलर जति रहेको अनुमान गरिन्छ, जुन जायरको कुल वैदेशिक ऋण बराबर थियो।

रुवाण्डा नरसंहार, कविलाको उदय र नयाँ संघर्ष

सन् १९९४ मा रुवान्डामा ठूलो नरसंहार भएको थियो, जसमा हुतु समुदायका लडाकुहरूले करिब १० लाख तुत्सी र उदारवादी हुतुहरूलाई मारेका थिए। गृहयुद्धमा पराजित भएपछि हुतु बिद्रोहीहरू जायरमा लुकेर बसेका थिए। उनीहरूले जायरमा बसेर रुवाण्डाको तुत्सी सरकार विरुद्ध सैन्य कारवाही गर्न थालेका थिए।

लरेन्ट कविला तिनै व्यक्ति थिए, जसलाई चे ग्वेभाराले ३५ वर्ष अघि राजनीतिक सम्भावना भएको व्यक्तिको रूपमा पहिचान गरेका थिए। रुवान्डाले हातहतियार र तालिम उपलब्ध गराएर यो समूहलाई सहयोग गर्‍यो।

रुवान्डा सरकारले ती हुतु बिद्रोहीहरूलाई नियन्त्रण गर्न र शरणार्थीहरूलाई आफ्नो सीमा भन्दा पर राख्न अनुरोध गर्दा मोबुतु सरकारले अनिच्छा देखायो। त्यसपछि रुवान्डाले लरेन्ट कविलाको नेतृत्वमा ‘एलाइन्स फर डेमोक्र्याटिक फोर्स फर लिबरेसन अफ कङ्गो’ (AFDL) गठन गर्‍यो। लरेन्ट कविला तिनै व्यक्ति थिए, जसलाई चे ग्वेभाराले ३५ वर्ष अघि राजनीतिक सम्भावना भएको व्यक्तिको रूपमा पहिचान गरेका थिए। रुवान्डाले हातहतियार र तालिम उपलब्ध गराएर यो समूहलाई सहयोग गर्‍यो। १९९७ को मध्यसम्ममा एफडिएलले  सहजै मोबुतुको सेनालाई पराजित गर्‍यो। शान्ति वार्ता विफल भएपछि १६ मईमा मोबुतु देश छोडेर भागे। १७ मईमा आफ्नो गढ लुमुम्बासिमा कविलाले जितको घोषणा गरे। साथै, जायरको नाम परिवर्तन गरेर फेरि कङ्गो राखिएको घोषणा गरे। केही दिनपछि राजधानी किन्शासामा उनले राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरे।

अफ्रिकी विश्वयुद्ध: महादेशस्तरीय युद्धको आगो

लरेन्ट कविलाबाट सोचेअनुसारको परिणाम प्राप्त नभएपछि रुवान्डाले कङ्गोमा फेरि अर्को बिद्रोही समूह सिर्जना गर्‍यो, जसको नाम थियो ‘र्याली फर कङ्गोलिज डेमोक्रेसी’ (RCD)। १९९८ मा रुवान्डा, युगान्डा र बुरुण्डीको प्रत्यक्ष र परोक्ष समर्थन पाएको यो समूहले छिट्टै कङ्गोको ठूलो भूभाग कब्जा गर्दै राजधानी किन्शासा तर्फ अघि बढ्न थाल्यो।

करिब ८ वटा अफ्रिकी देशहरू यो युद्धमा सहभागी भएका थिए। यसलाई ‘अफ्रिकी विश्वयुद्ध’ पनि भनिन्थ्यो।

कविलाले बिद्रोहीहरूको आक्रमणबाट राजधानीलाई जोगाउनका लागि अफ्रिकी देशहरू संग सहयोग मागे। अङ्गोला, जिम्बाब्वे र नामिबियाका सैनिकहरू कविलाको रक्षार्थ कङ्गोमा आए। पछि सुडान र चाड पनि कविलाको पक्षमा लड्न आए। यसरी करिब ८ वटा अफ्रिकी देशहरू यो युद्धमा सहभागी भएका थिए। यसलाई ‘अफ्रिकी विश्वयुद्ध’ पनि भनिन्थ्यो। मित्र अफ्रिकी देशहरूको सहयोगमा कविलाको सत्ता त जोगियो, तर १६ जनवरी २००१ मा आफ्नै सैनिकहरूले गोली हानी लरेन्ट कविलाको हत्या गरे। उनका छोरा जोसेफ कविला कङ्गोका राष्ट्रपति बने।

दक्षिण अफ्रिकाको मध्यस्थतामा २००० मा कङ्गोका युद्धरत पक्षहरू बीच शान्ति सम्झौता भयो। त्यस्तै, दक्षिण अफ्रिकामै २००२ मा कङ्गो र रुवान्डा बीच शान्ति सम्झौता भयो। कङ्गोको यो युद्धमा त्यसबेलासम्म हिंसा, अनिकाल र रोगव्याधिका कारण करिब ५४ लाख मानिसहरूको मृत्यु भएको थियो। अझ, युद्धमा बलात्कारलाई हतियारको रूपमा प्रयोग गरिएको थियो।

एम–२३ विद्रोह र अमेरिकी स्वार्थ

कङ्गोमा शान्तिको अवधि लामो समयसम्म टिक्न सकेन। २०१२ मा रुवान्डा समर्थित अर्को बिद्रोही संगठनले फेरि बिद्रोह सुरु गर्‍यो। यो समूह थियो एम-२३। सुरुवातमा केही सफलता पाएको यो समूह २०१३ मा पराजित भयो। तर फेरि २०२१ देखि कङ्गोमा ठूलो शक्तिशाली आक्रमणहरू गर्दै आएको छ। २०२५ मा एम-२३ को बिद्रोह झन् उग्र बन्दै गयो। यसले कङ्गोका महत्वपूर्ण सहरहरूमा कब्जा गर्न थाल्यो।

ट्रम्पले एउटा महत्वपूर्ण कुरा भनेका थिए। उनले भनेका थिए – अमेरिकाले यो शान्ति सम्झौता बापत कङ्गोको खनिज पदार्थको ठूलो हिस्सा प्राप्त गर्नेछ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्गो र रुवान्डा बीचको लामो द्वन्द्व समाधान गर्ने शान्ति सम्झौता गराए। उनको उपस्थितिमा रुवान्डा र कङ्गोका मन्त्रीहरूले यो सम्झौतामा हस्ताक्षर गरे। त्यो दिन ट्रम्पले एउटा महत्वपूर्ण कुरा भनेका थिए। उनले भनेका थिए – अमेरिकाले यो शान्ति सम्झौता बापत कङ्गोको खनिज पदार्थको ठूलो हिस्सा प्राप्त गर्नेछ।

कोल्टान र कोबाल्ट: खनिज पदार्थको अभिशाप

कङ्गोमा भइरहेको द्वन्द्वको मूल चुरो पनि यही नै हो। कङ्गो महत्वपूर्ण खनिज पदार्थ कोल्टानको सबैभन्दा ठूलो उत्पादक देश हो। मोबाइल फोन र कम्प्युटरमा कोल्टान अत्यावश्यक हुन्छ।

त्यस्तै, अर्को महत्वपूर्ण खनिज पदार्थ कोबाल्टको प्रमुख उत्पादक देश पनि कङ्गो नै हो। विश्वमा जति कोबाल्ट उत्पादन हुन्छ, त्यसको दुई तिहाइ हिस्सा कङ्गोको नै हुन्छ।

यिनै दुर्लभ खनिज पदार्थका कारण कङ्गोमा निरन्तर द्वन्द्व जारी रहेको छ। कङ्गोको प्राकृतिक सम्पदा उसैको लागि अभिशाप बनेको छ।

सबै इलेक्ट्रोनिक्स सामान, चाहे त्यो मोबाइल फोन होस् या इलेक्ट्रिक गाडी होस्, त्यसमा प्रयोग हुने ब्याट्रीमा कोबाल्ट नभई हुँदैन। यिनै दुर्लभ खनिज पदार्थका कारण कङ्गोमा निरन्तर द्वन्द्व जारी रहेको छ। कङ्गोको प्राकृतिक सम्पदा उसैको लागि अभिशाप बनेको छ। यिनै प्राकृतिक सम्पदाका कारण कङ्गो बेल्जियमका राजा लियोपाल्ड द्वितीयदेखि वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपसम्मको गिद्धे नजरमा परेको छ।

लुमुम्बाको अन्तिम फिर्ती: मृत्युपछि न्यायको सुरुवात?

प्याट्रिस लुमुम्बाको मृत्यु भएको करिब ४० वर्ष पछि, उनको शवलाई तह लगाउने काममा संलग्न बेल्जियन प्रहरी गेरार्ड सोइटले आफ्नो भूमिकाको बारेमा स्वीकारोक्ति दिए। १९९९ मा एउटा अन्तर्वार्ताको क्रममा उनले आफूले कसरी लुमुम्बाको शव तह लगाएको भन्ने कुरा बताउँदै, उनका दुईवटा दाँत उखेलेर विजयी चिन्हको रूपमा राखेको बताएका थिए। साथै, उनले एउटा दाँत पनि देखाए।

लुमुम्बाको परिवारले उनका दाँत आफूहरूलाई फिर्ता गर्न माग गरेपछि, बेल्जियम सरकारले २०२२ मा फिर्ता गर्‍यो।

लुमुम्बाको परिवारले उनका दाँत आफूहरूलाई फिर्ता गर्न माग गरेपछि, बेल्जियम सरकारले २०२२ मा फिर्ता गर्‍यो। सो समारोहमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डि क्रुले लुमुम्बाको हत्यामा बेल्जियमको संलग्नताका लागि माफी समेत मागे।

लुमुम्बाको दाँतलाई उनको हत्या भएको ६० वर्ष पछि कङ्गोमा राष्ट्रिय सम्मानका साथ विशेष रूपमा बनाइएको समाधिमा समाधिस्थ गरियो।

आफ्नो हत्या भएको ६० वर्षपछि बल्ल प्याट्रिस लुमुम्बाले अन्तिम विश्राम पाएका छन्। तर साम्राज्यवाद र नव–उपनिवेशवादको निरन्तर आक्रमणले जर्जर बनेको उनको देश कङ्गोले कहिले यो पीडा र दुःखबाट मुक्ति पाउने हो, थाहा छैन। कङ्गो कहिल्यै निको नहुने घाउझैं निरन्तर बल्झिरहेकै छ।

 

सम्बन्धित

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र