'द पोयट आइडल'‚ 'रियालिटी शो' र बजार : केही चर्चा केही चिन्तन

विषय प्रवेश

“…झोलामा कविता बोकेर बाटो-दोबाटो र भट्टीहरूमा कविता सुनाउँदै कविहरू कहिलेसम्म हिँड्ने? आजको समय कवि क्षेत्रप्रतापको जमानामाजस्तो थिएन। आज पनि कवि र कविता अभावमा कहिलेसम्म बाँच्ने ? के अबका कवि र तिनका कविताले मास नपाउने? कविले स्टेज नचढ्ने। सुकिला/मुकिला हुन नपाउने द पोयट आइडलका निर्देशक अमनप्रताप अधिकारीलाई यस्तै-यस्तै प्रश्नले उद्वेलित[i] रेपछि भदौ २०७९ मा नेपालमा पहिलो पटक कविता केन्द्रित 'रियालिटी शो'‚ द पोयट आइडलको घोषणा भयो र उक्त घोषणा सभामा‚ यसका निर्देशक अमनप्रताप अधिकारीले अन्तर्राष्ट्रिय बजारमा पुग्ने लक्ष्य सहित कविता विधाको 'रियालिटी शो' सुरु गरिएको बताए।[ii] यस 'रियालिटी शो'ले कविता पाठ गर्ने परम्पराबाट कवितालाई अभिनय मार्फत प्रस्तुत गर्ने नविन शैलीको अवस्थामा पुर्याएको छ। यसलाई नविन प्रयोग नै मान्नु पर्छ । नयाँ प्रयोग भएकै कारण यसको समर्थन र विरोध दुबै देखा परेको हो। उदाहरणको लागि[iii]:

“पोयट आइडलको घोषणासँगै अहिले यसको पक्ष-विपक्षमा बजार तातिरहेको छ। कतिपयले यसलाई ‘स्टन्ट’को संज्ञा दिएका छन् भने कतिले कवितालाई व्यवसायिक दुनियाँमा लैजाने प्रयासको रुपमा स्वागत गरेका छन् ।

कतिले कविता लेखनको भाष्य र रुपमा समयअनुसार परिवर्तन हुँदै गएकाले रियालिटी सो सान्दर्भिक रहेको बताइरहेका छन् । स्ल्याम्प पोयट्री (अभिनयसहित कविता भन्ने, सुनाउने) विधा मन पराउने दर्शकले यसको खुलेर प्रशंसा गरिरहेका छन्।”

हालसम्म दुईवटा द पोयट आइडल सम्पन्न भइसकेको छ। भदौ २०७९ मा सुरु भएको पहिलो द पोयट आइडलमा अडिसनका लागि आवेदन दिनेको संख्यामा फरक फरक तथ्याङ्क बाहिर आएको देखिएता पनि अडिसनका लागि २२० भन्दा बढी सहभागी भएका र ती मध्ये ५० भन्दा बढी नेपाल बाहिरका भएको बुझिन्छ। प्रतियोगिताको बिभिन्न चरणहरु पार गर्दै १४ कविहरु दर्शक तथा स्रोताको भोट सहित निर्णायकहरुको निर्णयको आधारमा मुख्य प्रतिष्पर्धाका लागि छानिने चरणमा पुगेका थिए। अन्तिम चरण (ग्राण्ड फिनाले) मा भने चार कविहरु- पल्लविव‚ नाथन रायन‚ मिल्सन राई र नीलम गुरुङ पुगेका थिए र सिक्किमकी नीलम गुरुङ‚ बैशाख २०८० मा भएको अन्तिम प्रतिष्पर्धामा‚ रु १० लाख नगद पुरस्कार सहित द पोयट आइडल को उपाधि जित्न सफल भईन्।[iv]

त्यसैगरी माघ २०८० मा दोस्रो द पोयट आइडल- सिजन २ सुरु भएको थियो। यसको अडिसनका लागि नेपालबाट १५० जना छानिएका र विदेशबाट डिजिटल अडिसन दिनेको संख्या १५० भन्दा बढी रहेको बताइएको छ। यस सिजन-२ मा पनि प्रतियोगिताका विभिन्न चरणहरु पार गर्दै १४ कविहरु र मुक्ता गौतम वाइल्ड कार्ड इन्ट्रि[v]बाट छानिएको देखिन्छ। अन्तिम प्रतिष्पर्धामा भने डा. मुस्कान पोखरेल‚ विजय लुइँटेल सिमियोङ सुकिता राई र मोहित जोशी पुगेका थिए। जेठ २०८१ मा यी कविहरुबिच भएको प्रतिष्पर्धामा यस पटक पनि सिक्किमकै सिमियोङ सुकिता राई द पोयट आइडलको उपाधि सहित रु १० लाखको नगद र अन्य पुरस्कारहरु जित्न सफल भए।[vi]

द पोयट आइडलको सुरुवात भएसँगै कवि र कविता मार्फत नेपाली साहित्यकार र साहित्य पनि‚ सूचना प्रविधिको क्षेत्रमा निरन्तर भइरहेको विकासको उपयोग गर्दै‚ टेलिभिजन कार्यक्रममा मात्र नभएर युट्युबबाट समेत हेर्न सकिने अवस्थामा पुगेको छ। अब कविताले आम श्रोताको मात्र नभएर दर्शकको मन समेत जित्नु पर्ने नयाँ खालको मञ्च पनि खडा भएको छ। यद्यपि यसको सफलता र निरन्तरता तथा यसले साहित्यको एक शशक्त र अग्रणी विधा कविताको गुणस्तर अभिबृद्धिमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा भने हेर्नै पर्ने हुन्छ। यसै परिप्रेक्षमा‚ यस प्रकारको बजार-निर्देशित कार्यक्रम र गुणस्तरीय एवम् जिम्मेवार साहित्य सिर्जनाबिचको सम्बन्ध कस्तो रहला भन्ने विषयमा यस लेख मार्फत केही चर्चा र चिन्तन गर्न खोजिएको छ। यसो गर्नुको मुख्य उद्देश्य चाहिँ यस विषयतर्फ नेपाली साहित्यका विश्लेषक‚ चिन्तक तथा अनुसन्धानकर्ताहरुको ध्यान आकृष्ट होस् र जिम्मेवारपूर्ण वहश तथा छलफलको माध्यमबाट नेपाली साहित्यको गुणात्मक विकासमा सघाउ पुगोस भन्ने नै हो।

'रियालिटी शो'

प्रायः टेलिभिजन च्यानलहरुले कुनै न कुनै प्रकारको 'रियालिटी शो' प्रसारण गर्ने गरेको पाइन्छ। 'रियालिटी शो' लाई सामान्य ढंगबाट परिभाषित गर्दा वास्तविक (रियल) अर्थात् सामान्य व्यक्तिहरुलाई कुनै पटकथा विना प्रस्तुत गरिने एक निर्धारित कार्यक्रमको रुपमा लिन सकिन्छ। ब्रिटानिकाको अनुसार 'रियालिटी टिभि' को लोकप्रियता २१औं शताव्दीमा बढेको भएतापनि‚ यो शैली चाहिँ टेलिभिजन जत्तिकै पुरानो हो र सन् १९४८ मा एबिसि नेटवर्कमार्फत प्रसारित छद्म-क्यामेराको माध्यमबाट गरिएको प्रस्तुती क्यान्डिड क्यामेरालाई नै पहिलो 'रियालिटी टिभी शो' को रुपमा लिने गरिन्छ। यो टिभी कार्यक्रमका विभिन्न संस्करणहरु सन् १९४८ देखि २०१४ सम्म प्रसारण भएको थियो।[vii] हलिवुड रिपोर्टर लेख्छ- सन् १९४८ मा एलेन फन्टले आफ्नो लोकप्रिय रेडियो कार्यक्रम क्यान्डिड माइक्रोफोन लाई क्यान्डिड क्यामेराको रुपमा टेलिभिजनमा ल्याएपछि 'रियालिटी टिभि' को जन्म भएको हो।[viii]

भारतमा 'रियालिटी शो' को सुरुवात सन् १९७२ मा बर्नभिटा क्विज कन्टेस्ट बाट भएको भनिन्छ जुन कार्यक्रम जि टिभी र इण्डियन टेलिभिजनले प्रसारण गरेका थिए।[ix] सा रे ग म प (सन् १९९५ देखि)‚ कौन बनेगा करोडपति (सन् २००० देखि)‚ रोडिज (सन् २००३ देखि)‚ इण्डियन आइडल (सन् २००४ देखि)‚ नाच बलिए (सन् २००५ देखि)‚ बिग बोस (सन् २००६ देखि)‚ झलक दिखला जा (सन् २००६ देखि)‚ इण्डियाज गट ट्यालेन्ट (सन् २००९ देखि) आदि लामो समयदेखि प्रसारणमा रहेका भारतीय 'रियालिटी टिभी शो' हुन्।[x] नेपालको सन्दर्भमा‚ कतै तिम्रो सुर मेरो गीतलाई नेपालको पहिलो 'रियालिटी टिभी शो' भनेको देखिन्छ[xi] भने कतै प्रतिभाको डबलीलाई।[xii] नेपालमा २०४५ देखि यता दर्जनौँ रियालिटी शो भएता पनि त्यसका विजेताहरुको खासै चर्चा नभएको बताउँछन् भोला अधिकारी।[xiii] नेपालको 'रियालिटी टिभी शो'को विषयमा नेपाली पब्लिक लेख्छ[xiv]:

पछिल्लो समय नेपालमा रियालिटी शोको प्रचलन अत्याधिक बढेको छ। नेपाली टेलिभिजनको पर्दामा रियालिटी शोहरुले अहिले राम्रो स्थान बनाइरहेका छन्। अहिले नेपालमा गाउने, नाच्नेदेखि साहासिक रियालिटी शोहरु पनि सुरु भइसकेका छन्। जसले नेपाली युवा पुस्ताहरुको ध्यान खिचिरहेको छ।”

दि भ्वाइस अफ नेपालपल्सर डियर एडभेन्चरहिमालय रोडिजनेपाल आइडल भ्वाइस किड्स‚ कमेडी च्याम्पियनवुगी उगीछमछमीनेपाल/हिमालय लोक स्टारशार्क ट्याङ्कद पोयट आइडलर्‍याप ब्याटलनेपहपको श्रीपेच आदि नेपालमा प्रसारण भएका र चर्चामा रहेका 'रियालिटी शो'हरु हुन्। यसको अतिरिक्त ब्लाइण्ड डेट जस्ता युट्युबबाट सुरु गरिएको 'रियालिटी शो' ले टेलिभिजनमा (हिमालय टेलिभिजन) प्रवेश पाएको पनि बुझिन्छ।[xv] त्यसैगरी पहुँच‚ नेपालको पहिलो 'रियालिटी गेम शो'को रुपमा[xvi] देखिएको छ भने मेरो भ्वाइस यूनिभर्स मेरो डान्स यूनिभर्स लाई नेपालको पहिलो अन्तर्राष्ट्रिय 'रियालिटी शो' भनेर विश्वभरका नेपाली गायन र नृत्यका प्रतिभाहरुको लागि अमेरिकाको ओहायोबाट सुरु गरिएको पनि बुझिन्छ।[xvii] सन् २०१० मा कान्तिपुर टेलिभिजनबाट र सन् २०१९ मा न्यूज २४ बाट नेता छान्ने 'रियालिटी शो' पनि घोषणा गरिएको थियो तर टुङ्गोमा पुग्न सकेन।[xviii] नेपालमा 'रियालिटी शो'को सुरुवात‚ प्रकार र संख्याको बारेमा व्यवस्थित एवम् भरपर्दो अध्ययन भएनभएको भने यो लेख लेख्ने क्रममा यकिन गर्न सकिएन। माथिका विवरणहरुबाट के बुझिन्छ भने नेपाली समाज पनि 'रियालिटी शो'को प्रभावमा राम्रैसंग डुबिसकेको छ। अर्थात् प्रविधिको प्रभाव र उपयोगसँगै नेपाली समाज पनि समयसँगै राम्ररी बदलिन थालिसकेको हुँदा परिवर्तन चाहनेहरुले यो संकेतलाई समयमै बुझेर अघि बढ्नु पर्ने हुन्छ।

'रियालिटी शो' नयाँ शैलीको रुपमा प्रतिभा उत्खननका लागि मात्र वा कला र सिर्जनाको क्षेत्रमा नवप्रवर्तनका हिसाबले मात्र अगाडि आएको नभई यसले प्रविधि र नयाँपनको माध्यमबाट एक विशाल बजारको सृजना गरेको छ र बजारमा बिक्रीका लागि कला‚ सिर्जना र मनोरञ्जनलाई समेत बस्तुको रुपमा जबरजस्त तरिकाले लगिरहेको छ। अतः कला‚ सिर्जना र मनोरञ्जन समेत बस्तुको रुपमा बजारमा बिक्री हुने वा बिक्री गर्नु पर्ने अवस्थाले गर्दा आम सर्जक वा प्रतिभा र सिर्जना वा मनोरञ्जनका उपभोक्ताहरु सचेत नभएको अवस्थामा कमसल अर्थात् न्यून गुणस्तरीय बस्तुको मारमा पर्ने जोखिम समेत सृजना भएको छ। यस विषयमा सम्बन्धित सबै सरोकारवालाहरुले जिम्मेवार भएर सोच्न पर्ने हुन्छ। आजको समयको कला-साहित्यको स्तर‚ प्रकृति‚ प्रवृत्ति र माध्यम के हो ? अनि यी तत्वहरुको मापनको आधार के हो ? भन्नेमा जिम्मेवार वहश तथा छलफल चलाउन पनि आवश्यक भएको छ।

'स्ल्याम पोयट्री' र र्‍याप

'रियालिटी शो'को रुपमा पोयट आइडलको चर्चा गर्दा स्ल्याम पोयट्रीको बारेमा पनि केही चर्चा गर्न पर्ने हुन्छ। कविता पाठ वा समग्रमा कविताले नै आफ्नो वास्तविक आकर्षण गुमाइसकेको हुँदा कवितालाई पुनः जनता समक्ष लैजानको लागि शिकागो‚ अमेरिकाका स्थानीय कवि तथा निर्माण मजदुर‚ मार्क केली स्मिथले सन् १९८० तिर स्ल्याम पोयट्री को नयाँ अवधारणा ल्याएका हुन्। यसका लागि स्मिथले साप्ताहिक पोयट्री स्ल्याम  (धमाका-कविता) को आयोजना गरे जसमा कोही पनि सहभागी हुन पाउथे। उक्त कार्यक्रममा कविहरुले आफ्ना काम अर्थात् कविता प्रदर्शन वा प्रस्तुत गर्थे। अनि त्यहाँ उपस्थित दर्शकहरु मध्ये आकस्मिक तवरबाट छानिएका पाँच जनाले ० देखि १० सम्मको श्रेणिमा कविहरुको मूल्याङ्कन गर्नु पर्थ्यो। यसरी पाँच जनाले गरेको मूल्याङ्नबाट सबभन्दा धेरै र सबभन्दा कम अङ्कलाई हटाइन्थ्यो र प्रत्येकका मूल्याङ्कनमा बाँकी रहेका अङ्कहरुलाई जोडेर सबभन्दा बढी अङ्क प्राप्त गर्ने कविलाई विजयी घोषणा गरिन्थ्यो।[xix]

पोयट्री फाउण्डेसनको अनुसार स्ल्याम पोयट्री अर्थात् स्ल्याम प्रतिष्पर्धामा आधारित कविताको प्रदर्शन हो जसमा छानिएका दर्शकहरुले कविका कलाकारिताको मूल्याङ्कन गर्छन् र दर्शकहरुले गरेको मूल्याङ्कनको आधारमा विजेता घोषणा गरिन्छ। स्ल्याम मिश्रित शैली हो जसमा कविता‚ नाटक‚ प्रदर्शन र कथाकारिताका तत्वहरु विद्यमान हुन्छन्। यो शैलीको विकास शिकागोमा १९८० को सुरुतिर भएको हो र त्यसपछि स्वयंसेवी समूहहरुले संसारका विभिन्न स्थानहरुमा यसको आयोजना गरेका छन्। अमेरिकामा पहिलो राष्ट्रिय पोयट्री स्ल्याम १९९० मा भएको थियो र त्यसपछि वार्षिक रुपमा आयोजना हुने गरेको छ जसमा आयोजक शहरमा अमेरिकाका विभिन्न शहरबाट प्रतिष्पर्धाका लागि समूह समूहमा सहभागीहरु भेला हुने गर्छन्।[xx]   

टेलिभिजन र युट्युब जस्ता माध्यमहरुको अर्थात् अहिलेको समयको प्रविधिको उपयोग गर्दै मनोरञ्जन मार्फत दर्शकहरुलाई बाँध्दै वास्तविक (भर्चुअल) बजार विस्तार गरी व्यावसायिक प्रायोजन मार्फत व्यवसाय समेत गर्ने गरी क्यामेराको अगाडि अभिनय गराउने 'रियालिटी शो' लाई स्ल्याम पोयट्री (धमाका-कविता) भन्दा भिन्न शैलीको रुपमा नै स्वीकार्नु पर्ने देखिन्छ। नेपालमा पनि सन् २०१० बाटै स्ल्याम पोयट्री सुरु भएको भनिन्छ[xxi] र वर्ड वारियर्सले किहोटे कोभ्स (क्यूसी) संगको सहकार्यमा २८ असार २०७१ मा नेपालमा पहिलो पटक कार्यक्रम गरेको थियो। यसका लागि सहभागीहरुले  अनलाईन माध्यमबाट आफ्नो नाम दर्ता गरेका थिए र त्यसबाट छानिएकाहरुलाई संक्षिप्त कार्यशालामा सहभागी गराई कार्यक्रम गरिएको थियो।[xxii]

स्ल्याम पोयट्री को कुरा गर्दा र्‍यापको बारेमा पनि थोरै चर्चा गर्नु पर्ने देखिन आयो। अवतार राई लेख्छन्- “र्‍यापलाई अधिकांशले बोलीचालीमा ‘रिदम एन्ड पोयट्री’ का रूपमा चर्चा गर्छन् । अर्थात् रिदममा कविता भन्ने शैली। ती कविता कसरी रिदममा र कुन बिटमा गाइएको छ भन्ने कुराले र्‍यापलाई अर्थ्याइन्छ । रमाइलो के छ भने, र्‍याप शास्त्रीय सांगीतिक रागमा गाइरहनु पर्दैन।”[xxiii] र्‍याप गीतको चर्चा गर्दै अनलाइनखबरले उठाएको विषयमा भने प्रगतिवादी कवि लेखकहरुले समीक्षात्मक विमर्श गर्न ढिलो भएको अवस्था छ। अनलाइनखबर लेख्छ :[xxiv]

कतिपय र्‍याप गीतहरु जनवादी गायक जीवन शर्मा र जेबी टुहुरेका सिर्जना भन्दा कम प्रगतिशील देखिँदैनन् । र्‍यापभित्रको प्रगतिशीलतालाई ध्यान दिने हो भने विशेष गरी कम्युनिष्टहरुले र्‍यापलाई कसरी हेर्ने भन्नेमा पनि बहस गर्नैपर्ला अहिलेको युगमा । नेपाली र्‍याप गीतहरुले सामाजिक सवाल उठाएर अग्रगामी सोच राखेको प्रशस्तै देखिन्छ।”  

र्‍यापले स्ल्याम पोयट (धमाका-कविहरु) लाई पनि प्रेरणा दिएको छ र ब्ल्याक आइस‚ साउल विलियम्स र बो सिया जस्ता कलाकारहरु र्‍यापबाटै प्रेरित भएका हुन् पनि भनिन्छ। र्‍याप र कविताको सम्बन्धमा मिनि वाल्टर लेख्छन्[xxv] :

“र्‍याप कविताको रुप हो कि होइन भन्ने विषयमा धेरै वर्षदेखि बहश चलिरहेको छ। के र्‍याप मनोरञ्जनको रुप मात्र हो वा यसलाई कलाको रुपमा पनि लिन सकिन्छ? आधुनिक र्‍यापको संरचनाको सांगीतिक एवम् शाव्दिक जटीलता माथि विमर्श गर्दै र तिनीहरुलाई स्थापित कविहरुसँग तुलना गर्दै अध्येताहरुले विश्लेषण गरेका छन्। यो स्पष्ट छ कि र्‍यापमा कविताका धेरै गुणहरु पाइन्छ यद्यपि सबै कलाकारहरुले त्यसलाई एकै किसिमले प्रयोग गर्दैनन्।”

माथि चर्चा गरिएका सन्दर्भहरु माथि विचार गर्दा कविताको सिर्जना र प्रस्तुतीको सन्दर्भमा थुप्रै कुराहरुमा स्पष्ट हुनु पर्ने र तिनीहरुको उपादेयता र उपयोगका बारेमा समेत व्यापक छलफल तथा बहशहरु हुनु पर्ने देखिन्छ। माथिका चर्चाहरुबाट सिक्नु पर्ने पाठ भनेको साँघुरो र अव्यवस्थित कोठामै केही निर्धारित मानिसहरु बिच नै सुन्ने र सुनाउने परम्परामै सीमित रहेर कविताको विकास तथा विस्तार हुँदैन भन्ने नै हो। यद्यपि नेपालमा पनि एकथरीले साहित्यिक गतिविधिलाई नयाँ ढंगबाट चलायमान बनाउन थालिसकेका छन्। कवितालाई सफा‚ खुला र समयानुकुल राम्रा कोठाहरुमा लैजान थालिसकेका छन् र यस्तो कार्यलाई स्वागत गर्नै पर्छ।

परिवर्तनका लागि, परिवर्तित परिप्रेक्षलाई आत्मसात गर्दै लचकताका साथ, उद्देश्यपरक एवम् गम्भीर साहित्यलाई प्रभावकारी ढंगबाट समाज परिवर्तनका पक्षमा लैजान साहित्य लेखन‚ चिन्तन र अभ्यासको दायरालाई व्यापक बनाउन जरुरी छ भन्ने पनि बुझ्नु पर्ने हुन्छ। अन्यथा विचार र प्रयोजनमूलक (?) कविता अर्थात् साहित्य एकातिर र नयाँ पिँढी लगायत आम पाठक, श्रोता वा दर्शकको भीड अर्कोतिर हुने अवस्था नै मौलाउँदै जाने निश्चित छ। उदाहरणको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा मिति २४ बैशाख २०७९ मा दायित्व वाङ्‍मय प्रतिष्ठानको २३ ‌औं वार्षिकोत्सवको सन्दर्भमा भएको कार्यक्रममा “दायित्व वाङ्‍मय सम्मान २०७९” ग्रहण गरेपश्चात् आफ्नो मन्तव्य राख्ने क्रममा सम्मानित साहित्यकार युवराज मैनालीले अहिलेको नेपाली साहित्यले आफ्नो कुनै प्रभाव छोड्न र कुनै उल्लेखनीय स्थान बनाउन नसकेको भन्ने विचार राख्दै  "लेखक मात्र जन्मिएका छन् अहिले- खै त पाठक ? पाठकलाई पो सम्मान गर्ने हो कि ?"[xxvi]भनि गर्नु भएको प्रश्न यहाँनेर सान्दर्भिक मात्र नभएर बोझिलो बन्दै गएको विषय पनि हो। सम्मान र पुरस्कारको थुप्रो बोकेर बसेका साहित्यको क्षेत्रमा क्रियाशील संस्थाहरुले यसको व्यवहारिक उत्तर आफ्नो कामबाटै दिन पर्छ भन्ने लाग्छ।

बजार र 'रियालिटी शो'

नेपालमा पनि विभिन्न प्रकारका 'रियालिटी शो'हरु भइरहेका र फरक विधाका 'रियालिटी शो'हरु पनि देखा पर्न थालेका छन। कतिपय 'रियालिटी शो'हरु विदेशी ब्राण्डका फ्रेन्चाइज छन् भने केही फ्रेन्चाइज विनाका र मौलिक भनिएकाहरु पनि छन्। नेपाली पब्लिक लेख्छ- “विशेषगरी भारतीय टेलिभिजनहरुमा रियालिटी शोले दर्शकको साथ पाएपछि नेपालका टेलिभिजनमा पनि यस्ता शोहरुको निर्माण बढेको हो। जसले, देशका कुना कुनामा लुकेर बसेका प्रतिभाहरुले गतिलो मञ्च भने पाएका छन्।” नेपाली पब्लिककै भनाईमा- “यस्ता शो हेर्ने दर्शकले गुणस्तर नपुगेको भन्दै प्रतिक्रिया दिने पनि गरेका छन्। थुप्रै समस्या बाबजुद पनि टेलिभिजनमा यस्ता शोहरुको प्रशारण बढ्नु सुखद कुरा हो। त्यसैले नयाँ प्रतिभाहरु दिन प्रतिदिन प्रवेश गरिरहेका छन्।”[xxvii] माथिका भनाईले, नेपालको सन्दर्भमा, 'रियालिटी शो' का निम्न तीन पक्षहरु उजागर गरेको छ :

(१) 'रियालिटी शो' ले गर्दा देशका कुना कुनामा लुकेर बसेका प्रतिभाहरुले गतिलो मञ्च पाएका छन्,

(२) 'रियालिटी शो' को गुणस्तर माथि दर्शकहरुले प्रश्न उठाएका छन्, र

(३) 'रियालिटी शो' का थुप्रै समस्याहरु छन्

यहाँनेर सौन्दर्यको बजारीकरणको सम्बन्धमा ऋषिराज बरालको निम्न भनाईको स्मरण गर्दै माथि उठाइएका पक्षहरुमाथि थप विमर्श गर्न सान्दर्भिक हुने देखिन्छ:[xxviii]

“सुन्दर र सौन्दर्यको सामाजिक सम्बन्धलाई उत्पादनका गतिविधि‚ श्रम र मूल्यबाट पृथक राखी नितान्त‚ व्यक्तिपरक बनाउनु सौन्दर्यसम्बन्धी पुँजीवादी-साम्राज्यवादीहरुको उद्देश्य हो। यिनै मूल्य-मान्यताव्दारा निर्देशित भएर पुँजीवादले आफ्नो नीति निर्माण गर्ने गर्दछ। सुन्दर वस्तुमा निहित मौलिकताको निषेध गरी कृत्रिमताको आवरणमा केन्द्रित गर्नु र सौन्दर्यको बजारीकरण गर्दै नाफा-सँस्कृतिमा फेर्नु साँस्कृतिक  साम्राज्यवादको उद्देश्य हो। सौन्दर्यको बजारीकरणभित्र विभिन्न पक्षहरु पर्दछन्। कला-साहित्य आफैंमा सौन्दर्यका उपज हुन्। यिनलाई बजारीकरण गरेपछि यी मालमा फेरिन्छन्। सुन्दर‚ उपयोगी र जनहितकारी वस्तुलाई बजारीकरण गरी नाफा-सँस्कृति र विज्ञापनको वस्तु बनाउनु साम्राज्यवादको उद्देश्य हो।”

 प्रतिभा र मञ्च

प्रतिभाहरुको लागि मञ्च निर्माण गर्नु‚ तिनीहरुको क्षमतामा कसी लगाउदै दर्शक माझ प्रस्तुत गर्ने कार्य  'रियालिटी शो'को राम्रो पक्ष हो। समाजमा सकारात्मक प्रभाव पार्ने गरी र प्रतियोगितामा सामेल हुनेहरुको पारिवारिक-सामाजिक‚ आर्थिक‚ र व्यक्तित्व विकासमा समेत सकारात्मक परिवर्तन ल्याउने गरी प्रतिभाहरुका लागि मञ्च उपलब्ध गराउने कार्य सह्रानीय नै हुन्छ। यस मानेमा द पोयट आइडल लगायतका विभिन्न कार्यम्रमहरुको स्वागत गर्नु पर्दछ र तिनीहरुको प्रयोजन‚ गुणस्तर र तिनीहरुले समाज तथा सम्बन्धित विधाको विकास तथा विस्तारमा पारेको प्रभावको बारेमा चाहिँ सचेत अनुगमन एवम् आलोचनात्मक दृष्टिकोण सहितको विमर्श गरिरहनु पर्ने हुन्छ। यहाँनेर दर्शनशास्त्रका प्राध्यापक युरी बोरेभको भनाई मननयोग्य देखिन्छ। उनी भन्छन्[xxix] :

“केही मानिसहरु कला विनाको संसार छनौट गर्छन्। र भावी पुस्ता चाहिँ विगतका कलाहरुबाट सन्तुष्ट हुने छैनन्। हरेक समयले आफैँलाई र त्यसको आदर्श-सौन्दर्यलाई बुझ्न जरुरी हुन्छ। निश्चितरुपमा विगतका लोकप्रिय र महान् कार्यहरु यसका लागि सहयोगी हुन्छन्। तर नयाँ र सामयिक दृष्टिले नै नयाँ ऐतिहासिक समयको मानिसलाई व्याख्या गर्न सक्दछ। आधुनिक कलाकार विना नयाँ मानवीय सम्बन्धको अनुभव बुझ्न् सकिदैन। भावि पुस्तालाई आफ्ना जटील र विविध जीवनको कलात्मक व्याख्या आवश्यक हुनेछ। व्यक्ति र विश्वको बारेमा उनीहरुलाई आफ्नै कलात्मक अवधारणाको आवश्यक्ता हुनेछ। भविष्यको कलाले नयाँ चुनौति सामना गर्नेछ र त्यो नै नयाँ कामको लागि उत्प्रेरक हुनेछ।”

नेपालको पहिलो द पोयट आइडलका निर्देशक अमन प्रताप अधिकारीका अनुसार गीत संगीत र नृत्य वा अन्य विशेष प्रतिभाहरुका लागि विभिन्न कार्यक्रमहरु हुने गरेको भएतापनि कविता विधाको भने कुनै कार्यक्रम नभएको र कविलाई कसैले “स्टार” महशुस पनि नगराएकोले‚ कविलाई “स्टार” भएको महशुस गराउन कविका लागि मञ्च सिर्जना गर्न खोजिएको हो[xxx] द पोयट आइडल मार्फत। निर्देशक अधिकारीको यो भनाईले नेपाल प्रज्ञा प्रतिष्ठानजस्तो राष्ट्रिय स्तरको सरकारी संस्थालाई पनि पनि बि. सं. २०२२ सालदेखि आफूले सुरु गरेको राष्ट्रिय कविता महोत्सवको व्यापकता र प्रभावकाररिताको समीक्षा गर्न राम्रैसँग झकझकाएको छ भन्ने पनि बुझ्न पर्ने हुन्छ। साथै कविता महोत्सवबाट उत्पादित कविहरुको सिर्जन कर्मप्रतिको प्रतिवद्धता‚ निरन्तरता र उनीहरुबाट नेपाली साहित्यको विकास एवम् विस्तारमा भएका योगदानहरु मात्र नभएर उनीहरु लेखेरै बाँचेको अवस्था भएनभएको समेत समीक्षा गर्न पर्ने होइन र? अर्को शव्दमा भन्ने हो भने राष्ट्रिय कविता महोत्सवबाट उत्पादित कवि साहित्यकारहरु‚ निर्देशक अधिकारीले भने झैँ नेपाली समाजमा “स्टार” भएर चम्किन सकेका छन् कि छैनन् ? अझै भनौं आफैँले उतपादन गरेका कवि तथा साहित्यकारहरुलाई चिन्ने अवस्थामा नेपाल प्रज्ञा प्रतिष्ठान आफैँ छ कि छैन ? अझै भनौं नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले अग्रणी एवम् नेतृत्वदायी कार्यक्रम मार्फत नविन ढाँचाका मञ्च एवम् साहित्यिक माहौल सृजना गर्न सकेका छन् कि छैनन् ? भन्ने प्रश्नहरु समेत उठाउने समय आएको बुझ्नु पर्ने हुन्छ। यहाँनेर  डिजी शर्मा (यूएई) को निम्न भनाई पनि नेपाली कवि र कविताको सन्दर्भमा महत्वपूर्ण देखिन्छ[xxxi] :

“कवि नवराजपराजुली कविता कन्सर्ट गर्दै विदेश डुलिरहँदा नेपाली साहित्यमा अरु पनि नवराज पराजुलीहरु जन्मिनु पर्छ कि पर्दैन? यदि पर्छ भने अब त्यो जन्माउने काम द पोइट आइडलले गर्नेछ। जसरी कवि पराजुलीले सेलिब्रेटी कविको छवि बनाउन सफल भएका छन्‚ त्यसै गरी द पोइट आइडलले अब अन्य कविहरुलाई पनि सेलिब्रेटी बनाउन मद्दत गर्नेछ।”

यद्यपि नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६६ औं वार्षिकोत्सवका उपलक्षमा ९ असार २०८० का दिन आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवको प्रतियोगितात्मक परम्परालाई बदलेर समावेशी सहभागीतामूलक बनाउने भनेको छ।[xxxii] नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव डा. धनप्रसाद सुवेदीका अनुसार प्रतियोगिता गरेरै प्रथम द्वितीय र तृतीय घोषणा गर्नुको सट्टा महोत्सवकै रुपमा मनाउन समावेशी सहभागीतामूलक बनाइएको हो[xxxiii]। प्रज्ञाको यस निर्णयको पक्ष र विपक्षमा विभिन्न तर्कहरु रहेका छन्। यसको प्रभाव र यसले ल्याउने साहित्यिक लहरलाई भने केही समय पर्खेरै हेर्न पर्ने हुन्छ।

नयाँ समयलाई हाँक्नका लागि नयाँ ढंगले नै काम गर्नु पर्ने हुन्छ। समयानुकुल बुझाई र अनुभवहरुको प्रस्फुटनका लागि नयाँ सर्जकहरु आवश्यक हुन्छन् भने त्यसका लागि सम्बन्धित कालखण्डमा उपलब्ध प्रविधि र अवधारणा सहितका मञ्चहरु पनि आवश्यक हुन्छन्। यस परिप्रेक्षमा नयाँ पुस्ताबाट नयाँ दृष्टि लिन‚ उनीहरुको समाजप्रतिको दृष्टिकोण बुझ्न‚ र उनीहरुलाई समाज परिवर्तनको सही दिशामा डोर्‍याउन आवश्यक समयानुकुल स्थान वा मत्र्च तयार गर्न हाम्रा धेरै जसो साहित्यिक संस्थाहरु पछि पर्दै गएका छन्। आफूलाई प्रगतिशील वा प्रगतिवादी कित्तामा राख्न चाहने साहित्यिक-साँस्कृतिक संस्थाहरु अझ पछि रहेका छन्। यसो हुनुको कारण माथि छुट्टै विमर्श गर्न पर्ने हुन्छ।

कार्यक्रमको गुणस्तर

कला सिर्जनाको गुणस्तरको विषय कतिपय अवस्थामा मूर्तभन्दा बढी अमूर्त हुन सक्छ। त्यसैगरी कतिपय अवस्थामा कला सिर्जनाको गुणस्तर वर्णन गरिने भन्दा बढी बोध गरिने हुन्छ। यस्तो अवस्थामा पहिलो प्रश्न‚ दर्शकको बोध गर्न सक्ने क्षमता र अवस्थाको आधारमा‚ दर्शकको रुचि अनुसार भन्दै‚ बजारमा बेचिने सामग्री उत्पादन तथा प्रसारण गर्दै जाने कि ? भन्ने र दोस्रो चाहिँ‚ दर्शकको बोध गर्न सक्ने क्षमता र अवस्थाको गुणस्तर समेत अभिबृद्धि गर्दै लैजान‚ दर्शकको रुचिमा समेत समाजोपयोगी परिवर्तन गर्दै लैजाने उद्देश्यका साथ सिर्जना र कार्यक्रम गर्ने ? भन्ने प्रश्न महत्वपूर्ण हुन आउँछ। अघिल्लो प्रश्न खुला बजारमा‚ बजार अनुसारको कला सिर्जना पस्केर आर्जन गरिने मुनाफासँग जोडेर कार्यक्रमको सफलताको मूल्याङ्कन गरिने‚ मूलतः आर्थिक पक्षसँग सम्बन्धित हुन्छ। कार्यक्रमबाट हुने आम्दानी (मुनाफा) ले‚ कार्यक्रम सञ्चालकलाई‚ कार्यक्रमको निरन्तरताको लागि हौस्याइ रहेको हुन्छ। यही मुनाफालाई हेर्दै कार्यक्रम सञ्चालकले पनि कार्यक्रमको भौतिक पक्षमाथि लगानी गरिरहेको हुन्छ र प्रतियोगी एवम् दर्शकहरुलाई तानि राख्नका लागि विभिन्न नयाँ अवधारणाहरु ल्याइरहेका हुन्छन्।

आम्दानी र मुनाफाले आकर्षक भौतिक सुविधा एवम् नयाँ प्रविधिहरुको उपयोग गर्न प्रोत्साहित गरिरहेको हुन्छ र सर्जक कलाकार वा प्रतियोगीहरुलाई पनि सोही बमोजिम सुविधा र अन्य आकर्षणहरु थपिरहेको हुन्छ। यस्तोमा आम्दानी र मुनाफाको लागि प्रायोजकहरुलाई आकर्षण गर्न जरुरी हुने नै भयो। त्यसैले सफलता र निरन्तरताको लागि मुनाफा कमाउनै पर्ने हुन्छ अर्थात् खुला बजार अर्थतन्त्रमा यस्ता कार्यक्रमले बजारमुखि सामग्री नै उत्पादन गर्ने हुन्। पुँजीवादी आर्थिक-सामाजिक व्यवस्थाको यो एक जटिल पक्ष पनि हो। यही जटिल परिस्थितिले नाम‚ दाम र प्रशिद्धिको एक रोमाञ्चक चक्र सृजना गर्दछ र त्यस्मा सर्जक कलाकारहरु फस्ने पनि गर्दछन्। तुलनात्मक रुपले असफल वा सफल हुन नसकेका कतिपय सर्जक कलाकारहरु निराशा (डिप्रेशन) को शिकार पनि हुने गर्छन्। यो विचारणीय पक्ष हो।

अतः व्यक्ति र समाजको बुझाई अर्थात् स्वीकार र अस्वीकारले यस्ता कार्यक्रमहरुको बजार तय हुन्छ भने  राज्यको नीतिले यस्ता कार्यक्रमहरुको भविष्य निर्धारण गर्दछ। नोभा लाभीका अनुसार 'रियालिटी टिभी' प्रतिका दृष्टिकोणहरुले‚ ड्रामाका श्रृङ्खला जसलाई गुणस्तरीय टिभी जसलाई अझै कलात्मक रुपमा हेर्ने गरिन्थ्यो र 'रियालिटी टिभी' जसलाई रद्दी वा फोहोरको दृष्टिले हेर्ने गरी सामाजिकरुपमा निर्माण भएको भिन्नतालाई बढाएको छ।[xxxiv]

यस्तोमा समाजको सचेतपना र राज्यको नीतिले काम गर्न सकेन भने असामाजिक एवम् निम्न स्तरका सामग्रीहरुको उत्पादनले बाहुल्यता पाउँछ र अरुको तुलनामा महिला तथा बालबालिकाहरु शोषणमा पर्ने जोखिम पनि बढि हुन्छ जसलाई हामी आफ्नै वरिपरी महशुस गरिरहेका पनि हुन्छौं। यस्तोमा समाज र नैतिक आचरणको विषयलाई बजार‚ पैसा र प्रशिद्धिले ढाकेको हुन्छ। यस विषयमाथि गरिने विमर्शले शैद्धान्तिक एवम् वैचारिक वहश तथा छलफलको समेत माग गर्दछ र सर्जक‚ कलाकार एवम् कार्यक्रम सञ्चालकहरुबिच वैचारिक ध्रुविकरणको अवस्था पनि निम्त्याउन सक्छ। जुन स्वभाविक पनि छ। तर त्यस्तो ध्रुविकरण स्वस्थ वहश‚ छलफल एवम् समग्र कला सिर्जनाको विकास तथा विस्तारका लागि हुनु पर्छ। आपसी कटुता र वैमनश्यताको लागि हुनुहुँदैन भन्ने तर्फ पनि सबै सचेत रहनु पर्ने हुन्छ ।

यहाँनेर 'सामाजिक उत्तरदायित्व' र कार्यक्रमको स्थायित्व तथा निरन्तरताको लागि गरिने 'मुनाफा आर्जन' बिच द्विविधाको अवस्था सृजना हुन्छ। नेपालका प्रगतिशील पक्षका सर्जक र संघसंस्थाहरुको निमित्त यो विषय ठूलो चुनौतिको रुपमा रहेको छ। यो चुनौति सामना गर्न सक्ने दृष्टिकोण सहितको नेतृत्व यतिखेरको आवश्यकता हो भन्ने पनि लाग्छ। कला साहित्यको गुणस्तरीयताको कुरा गर्दा कुनै पनि कार्यक्रमले पस्कने सिर्जनाको विषयवस्तु‚ सार र प्रस्तुती (Performance) अर्थात् प्रदर्शन गरिने कलाको निखारपना (Mastery) को अवस्थासँग जोडेर हेर्नु पर्ने हुन्छ।

कार्यक्रमको प्रयोजनमाथिको स्पष्टता एवम् नियमित मूल्याङ्न र अध्ययनको आधारमा निरन्तर सुधार गर्दै लैजान सकिने पक्ष हो- गुणस्तर। यस पृष्ठभूमिमा‚ भर्खरै सुरु भएको र जम्मा दुई संस्करण मात्र पुरा गरेको द पोयट आइडलको गुणस्तरीयतालाई लिएर कुनै टिप्पणी गरिहाल्नु पर्ने बेला भएको छैन। तर पनि पाठकहरुलाई द पोयट आइडल मा प्रस्तुत भएका कविताहरुको बारेमा सामान्य जानकारी नहुँदा यो लेख अलि अपुरै रहने लागेकोले यो लेखको छुट्टै उपखण्डमा द पोयट आइडलका केही कविताहरुको सामान्य विवेचना समेत प्रस्तुत गरिएकोछ।

 

कार्यक्रमका समस्याहरु

विभाजित सामाजिक-राजनैतिक अवस्था एवम् सानो बजार भएको कारण‚ नेपालमा द पोयट आइडल जस्ता साहित्य सिर्जनासँग जोडिएका कार्यक्रमहरु सुरु गर्न सजिलो छैन। मूल कुरा त यस्ता कार्यक्रमका लागि प्रायोजकहरु पाउने संभावना ज्यादै न्यून रहन्छ। फेरी यसका लागि कविहरुको जमात र निर्णायकहरु खोज्न पनि मेहनतै गर्नु पर्ने हुन्छ। द पोयट आइडलका निर्देशक अमन प्रताप अधिकारीकै यस सम्बन्धी केही भनाईहरु सामान्यरुपमा बाहिर आएका छन् तर त्यतिले मात्र यस प्रकारका कार्यक्रमहरुसँग जोडिएका समस्याहरुको बारेमा बढी विमर्श गर्न मिल्ने देखिदैन। नेपालको साहित्यिक एवम् सामाजिक-आर्थिक वातावरणमा आधारित भएर यस्ता कार्यक्रमहरुले जनजीवन र समाजका विभिन्न पक्षहरुमाथि पारेका वा पार्ने प्रभावहरुको बारेमा अध्ययन नभएकै अवस्था छ। अतः द पोयट आइडल लगायत सिर्जनासँग सम्बन्धित विविध विधाका 'रियालिटी शो'का विविध पक्षहरु माथि व्यवस्थितरुपमा अध्ययन गर्न साहित्य सिर्जनासँग सम्बन्धित संघसंस्थाहरुले पहल गर्नु पर्ने भएतापनि त्यसो हुन सकेको छैन।

 'रियालिटी शो'का अन्य पक्षहरु

'रियालिटी शो' कला र सिर्जनासँग मात्र जोडिएको विषय रहेन। यो समाज‚ बजार र विचार पक्षसँग पनि जोडिएको छ। नेपालको 'रियालिटी शो'को विषयमा व्दैपायन रेग्मी भन्छन्- नेपालले अन्तर्राष्ट्रिय स्तरमा कायम गर्नु पर्ने मापदण्ड तयार गर्न 'रियालिटी शो'ले सघाउ पुर्‍याएको छ। नेपाल जस्तो विकासोन्मुख राष्ट्रको लागि यस्ता कार्यक्रमहरु मुनाफा र आर्थिक पक्षसंग जोडिएको विषय मात्र होइन‚ यसलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड कायम गर्नका लागि सिक्ने माध्यमको रुपमा लिनु पर्ने हुन्छ। यसैगरी वहाँ लेख्नुहुन्छ- विज्ञापनहरुलाई हेर्ने हो भने यस्ता कार्यक्रमहरुले प्रशस्त आम्दानी गरेका छन्। प्रायोजक‚ एसएमएस भोटिङ‚ विज्ञापन लगायत युट्युबका दर्शकहरु आम्दानीका श्रोत हुन्। उनका अनुसार यस्ता तथ्याङ्कहरु नेपालमा सार्वजनिक भएका छैनन् तर तिनीहरुले राम्रो आम्दानी गरेका छन् भन्न सजिलै सकिन्छ किनकी कार्यक्रमका नयाँ संस्करणहरु नियमितरुपमा आइरहेका छन्।[xxxv]डन डिरेक्टर नामले परिचित कविताको 'रियालिटी शो' द पोइट आइडलका निर्देशक अमन प्रताप अधिकारी द पोइट आइडलको “पहिलो सिजनको सफलता पछि” “दोश्रो सिजनको तयारीमा लागेका हुन” भन्ने सुरसिनेमाको लेखाई व्दैपायन रेग्मीको विचारसंग मिलेको देखिन्छ भने द पोइट आइडलका निर्माता तथा निर्देशकले दोस्रो सिजनमा युट्युव पार्ट्नर ओएसआर भोटिङ पार्ट्नर ओएसआर कनेक्ट मार्केटिङ पार्टर एडी प्याड एक्युजिसन र एएनएस क्रियसन रहने पनि सुरसिनेमाले उल्लेख गरेको छ।[xxxvi] यसबाट 'रियालिटी शो' समग्रमा र द पोइट आइडल पनि प्रायोजन‚ विज्ञापन र बजारसँगै जोडिएर आएको स्पष्ट हुन्छ। साथै‚ खडानन्द चपाईको 'रियालिटी शो'को उत्पादनसँग जोडिएको प्राविधिक पक्ष र बजारको सीमितताको कारण भविष्यमा आफ्नो लोकप्रियता कायम राख्न सकिन्छ वा सकिदैन भन्नेमा सरोकारवालाहरु आफैँमा निश्चित छैनन्[xxxvii] भन्ने चासो पनि द पोइट आइडलको सन्दर्भमा मात्र नभएर सबै प्रकारका 'रियालिटी शो'हरुका सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ र यो विषयलाई नेपालको वर्तमान सामाजिक-आर्थिक अवस्था र बजारको आकारको पृष्ठभूमिमा अझ विशेषरुपमा हेरिनु पर्ने हुन्छ।

छिमेकी मुलुक भारतको 'रियालिटी शो'को सन्दर्भमा चर्चा गर्दै अभिसेक विजु नायर भन्छन्- आफ्ना चाखलाग्दा अवधारणा र नविन विचारहरुको कारण 'रियालिटी शो'हरु नियमित कार्यक्रमहरु भन्दा अगाडि देखिएका छन्। खासगरी भारतीय 'रियालिटी शो'हरु असल र मौलिक अवधारणाको कारण विश्वभरी नै चिनिएका छन् र हरेक दिन‚ नयाँ 'रियालिटी शो'हरु टेलिभिजनमा देखिन थालेका छन् जसले दर्शकहरुलाई विविध प्रकारका कार्यक्रमहरुबाट छनौटको अवसर प्रदान गरेको छ।[xxxviii] लुण्ड विश्वविद्यालय‚ स्वीडेनको मिडिया विषयकी प्राध्यापक आनेट हिलको भनाई पनि यस्तै छ- सबै 'रियालिटी टिभी'हरु खराब देखिएका छैनन्। कतिपय शोहरु छन् जसले प्रशंसा नै बटुलेका छन्। कतिपय मानिसहरु 'रियालिटी शो' मनपराउछन् र कोही मानिस यसलाई घृणा गर्न मनपराउछन्।[xxxix]

'रियालिटी शो' र यसको प्रभावको बारेमा निर्माता‚ सहभागी र दर्शकभन्दा अलिकति माथि उठेर यसलाई हेर्नेहरु पनि छन्। उदाहरणको लागि शुसान मुरे लेख्छन्[xl]- केको प्रतिनिधित्व गराउने भन्ने छनौटमा निर्माताहरु “धेरै पर” गएका त छैनन् भन्नेमा साँस्कृतिक क्षेत्रका आलोचकहरु विस्मयमा छन् अथवा 'रियालिटी टिभी' र यसले देखाउने विशेष प्रकारको प्रख्याती (कार्दाशियन परिवारसँग जोडिएको) प्रतिको हाम्रो सामुहिक आकर्षणले कतै सहभागीहरु हाम्रो संस्कृति र मूल्यलाई क्षयीकरण र बजारीकरण गर्न‚ सामाजिक र राजनैतिकरुपमा हामीलाई के बढी आवश्यक छ भन्ने कुराबाट हाम्रो ध्यान अन्तै मोड्न वा हामीलाई आत्मप्रशंसामा रमाउन प्रोत्साहित गर्नका लागि उपयोग भएका त छैनन् भनेर चिन्ता व्यक्त गर्नेहरु पनि छन्। यसबाट बुझिन्छ कि- 'रियालिटी शो' जस्ता विषयहरु साहित्यिक-साँस्कृतिक विषय हुँदाहुँदै पनि वैचारिक एवम् अर्थ-राजनैतिक विश्लेषणको दायराभित्र पनि पर्दछन्।

समय‚ प्रविधि‚ बजार र अर्थतन्त्रसँग जोडेर पनि यस्ता विषयहरुको विश्लेषण हुन थालेको पाइन्छ। नेपालको सन्दर्भमा भने यसको अध्ययन एवम् यसले समाजका विविध पक्षहरुमाथि पार्ने वा पारेका प्रभावहरुको अध्ययन अलि पछि नै रहेको अवस्था छ। अध्ययनको अभावमा मुनाफा आर्जन गर्ने र प्रख्यात (सेलिब्रेटी) बन्ने दौडमा हाम्रा  समाजका मानिसहरु कता गईरहेका छन् ? हाम्रो समाज र संस्कृतिलाई डोर्‍याउन कस्तो नीति आवश्यक हुने हो भन्ने विषयहरुमा हाम्रा नीति निर्माताहरु बेखबर नै रहने छन्। अतः यस्ता विषयहरुको अध्ययन तर्फ पनि सरकारी प्रज्ञा प्रतिष्ठानहरु मात्र नभएर विभिन्न नाममा स्थापित साहित्यिक-साँस्कृतिक संघसंस्थाहरुले पनि आफ्ना कार्यक्रमहरुलाई निर्देशित गर्न आवश्यक छ।

कुनै पनि सामाजिक घटना वा कार्यक्रमले समाजमा पार्ने वा पारेका प्रभावहरुबारे छलफल गर्दै तिनमाथि राखिने आलोचनात्मक दृष्टिकोणले नै राम्रा पक्षहरुको संरक्षण गर्दै कुनै पनि विषय वा विधाको विकास तथा विस्तारमा रचनात्मक एवम् सकारात्मक योगदान पुर्‍याउनेछ भन्ने कुरा हामीले विर्सन हुँदैन। त्यसैले स्वस्थ छलफल र आलोचनालाई स्वीकार्दै कुनै पनि कार्यक्रमका राम्रा पक्षहरुलाई उजागर गर्नुलाई कर्तव्यकै रुपमा लिन पर्छ भन्ने लाग्छ। द पोयट आइडलको सम्बन्धमा‚ यसप्रति नकारात्मक टिप्पणी भएको र त्यस्तो टिप्पणीले डिजी शर्माको चित्त दुःखेको देखिन्छ। उनको चित्त दुःखाईको एक अंश[xli] :

हामीलाई एउटा सानोतिनो कविता गोष्ठी आयोजना गर्नुपर्यो भने दाँतबाट पसिना आउँछ । तर कसैले कविताको कार्यक्रमका लागि लाखौँ रुपैयाँको जोखिम उठाएर यस्तो बृहत् स्टेज खडा गरिदिएको छ । त्यसको लागि निर्देशक अधिकारीको प्रशंसा गरिनु पर्ने हो । तर हामी गाली गरेर सामाजिक सञ्जाल रङ्ग्याइरहेका छौँ । कविताको व्यापारीकरण भयो भन्ने आरोप त छँदै छ आइडलमाथि । यो आरोप उनीहरुले नै लगाइरहेका छन जसले आफ्नो कविता सङ्ग्रह झोलामा राखेर बेच्दै हिँडेका छन्।”

डिजी शर्माको उल्लिखित चित्त दुःखाई धरातलीय यथार्थभन्दा बढी भावनात्मक भयो कि भन्ने भान पर्छ। वहाँले छुनु भएको भावनात्मक पक्षलाई कवि‚ कविता‚ कविता सङ्ग्रह र बजार (बिक्री) कै पृष्ठभूमिमा बसेर विवेचना गर्नु पर्ने हुन्छ। नेपालको वर्तमान साहित्यिक माहौलमा‚ उल्लेखनीय सङ्ख्यामा बजारबाटै कविता सङ्ग्रह बेच्न सक्ने “भाग्यमानी” कवि वा कविता सङ्ग्रहको नाम‚ पाठ्यपुस्तकमा राखिएका कवि र कविता सङ्ग्रह बाहेक‚ तथ्य सहित सार्वजनिक भैदिए हुन्थ्यो भन्ने मलाई पनि लागेको छ। यद्यपि यस्ता चित्त दुःखाईहरुलाई पनि स्थापित साहित्यिक संघसंस्थाहरुले असल एवम् उल्लेखनीय काम गरेर सम्बोधन गर्ने आँटका साथै दायित्वबोध समेत गर्नै पर्ने हो। तर हामीलाई “गर्नै पर्ने” आफ्नो “दायित्व” वा “जिम्मेवारी” भित्रका काम वाहेकका अरु सबै कामको चासो र चिन्ता गर्ने बानी परेको देखिन्छ। यो हाम्रो वर्तमानको ठूलो विडम्बना पनि हो। 

नेपालमा सुरु भएको द पोयट आइडलको सन्दर्भमा‚ मूलतः आर्थिक अनि प्राविधिक पक्षको हिसाबले अन्य संस्करणहरु गर्न सकिने अवस्था छ भने‚ निर्माताहरुले कार्यक्रमका केही नकारात्मक टिप्पणी वा प्रतिक्रियाहरु आएको भएतापनि कार्यक्रमको हितका लागि त्यस्ता टिप्पणी वा प्रतिक्रियाहरु माथि सचेत हुँदै अगाडि बढ्नु पर्ने हुन्छ। समाजोपयोगी उद्देश्य सहित समयानुकुल अगाडि बढ्नु प्रसंशनीय नै हो। उदाहरणको लागि चाईनामा 'रियालिटी शो'हरु बढिरहेको समयमा पुराना (Classical) चाईनिज कविताहरुलाई लोकप्रिय बनाउने उद्देश्य सहित गरिएको कार्यक्रम भाइरल भएको समाचार बेइजिङ रिभ्यूमा जि जिङले लेखेका छन्। समाचार अनुसार चाईनाको केन्द्रिय टेलिभिजन (सिसिटिभी) ले प्रसारण गरेको चाईनिज पोयट्री कन्फरेन्सको दोस्रो संस्करणले दर्शकहरुबाट उच्च मूल्याङ्कनका साथै सकारात्मक प्रतिक्रिया पाएको थियो। त्यसैगरी‚ कार्यक्रमको पहिलो र दोस्रो दुबै संस्करणले‚ चाईनाको सबैभन्दा लोकप्रिय 'रिभ्यू साइट' डुवानडटकमको मूल्याङ्कनमा १० अङ्कमा ८ अङ्क प्राप्त गरेको थियो।[xlii] ग्लोबल टाइम्सका अनुसार चाईनाको लोकप्रिय कार्यक्रम चाईनिज पोयट्री कन्फरेन्सले साँस्कृतिक र प्राचीन ज्ञानको कारण मात्र नभई साँस्कृतिक आदानप्रदानका लागि समेत एक माध्यम बनेकोमा उक्त कार्यक्रमले दर्शकहरुबाट न्यायो स्वागत पाएको छ।[xliii] यो समाचारले सोचाईको दायरालाई फरक र फराक बनाएर दर्शकहरु समक्ष पुग्न सकिने रहेछ भन्ने देखाउँछ। यद्यपि चाईनाको मेडिया (प्रचार प्रसारको क्षेत्र) पनि समाजवाद र पुँजीवादको चपेटाभित्रबाट आफ्नो गन्तव्य पहिल्याउन संघर्षरत हो कि जस्तो बुझिन्छ। उदाहरणको लागि 'रियालिटी शो'को बारेमा वोई दोङ् लेख्छन्- व्यवसायीकरणको प्रक्रियामा मेडियाको परम्परागत प्रचार शैली समाप्त भएको छैन। राजनैतिक चेतना तथा राजनीति र पुँजीबिचको अन्तरसम्बन्धको प्रभावले गर्दा सही राजनैतिक ढाँचा कायम राख्दै कार्यक्रमको उच्च मूल्याङ्कन (रेटिङ्) प्राप्त गर्नका लागि टेलिभिजन-निर्माताहरु विशेष प्रकृतिको रणनीति प्रयोग गर्न प्रेरित भएका छन् (पे ४५)। उनी भन्छिन- बजार र राज्यबिच सङ्घर्षरत चाईनिज रियालिट शो दुई प्रतिष्पर्धी विचारधारा- नव-उदारवादको विश्वव्यापी प्रभुत्व र समाजवाद बिचको युद्धक्षेत्र बनेको छ (पे १८६)।[xliv] वोई दोङ्को अध्ययनले औंल्याएका विषयमाथि‚ खासगरी नेपालका प्रगतिवादीहरुले गम्भीर वैचारिक छलफल र विमर्श गर्न पर्ने देखिन्छ। सरकारको सहयोग नभएको वा नहुने अवस्थामा कुनै पनि कार्यक्रम गर्दा त्यसको आर्थिक एवम् व्यावसायिक पक्ष प्रमुख भएर आउनु स्वभाविकै हो। सरकारले प्रभावकारी ढँगबाट नियन्त्रण वा नियमन नगरेको अवस्थामा बजारमुखी सामग्रीहरु उत्पादन र प्रशारण हुने‚ सामाजिक मूल्य र मान्यतामा ह्रास आउने र सर्जक कलाकारहरु शोषणमा पर्ने तथा मानसिकरुपमा विचलित हुने संभावना प्रवल रहने र त्यस्तो अवस्थाले समाजलाई समेत असर पार्ने हुँदा त्यस्ता विषयहरु माथि पनि ध्यान दिन पर्ने हुन्छ‚ पन्छाउन मिल्दैन।  

वास्टियन वानाकर भन्छन्- 'रियालिटी टिभी' निर्माताहरुको दुइटा कर्तव्य मध्ये एउटा चाहिँ आर्थिक पक्षसँग सम्बन्धित भएर आउछ र त्यो नाफा कमाउनु हो। अर्को चाहिँ नाफा कमाउने कर्तव्यसँग जोडिएका कार्यहरुलाई नैतिक कर्तव्यसँग मिलाउन सकिन्छ कि सकिदैन भन्ने कुराको अन्वेषण गर्नु हो।[xlv] अतः कार्यक्रम संचालकहरुले आफ्नो नैतिक दायित्व माथि पनि ध्यान पुर्‍याउन पर्ने हुन्छ। किनभने‚ 'रियालिटी शो'को व्यवसायिकता वाहेकका पनि अन्य सामाजिक-साँस्कृतिक आयामहरु हुन्छन् र त्यसमाथि पनि समग्ररुपमा कसै न कसैले ध्यान पुर्‍याउनै पर्ने हुन्छ। उदाहरणको लागी‚ सहभागी प्रतियोगी एवम् विजेताहरुको अवस्थाको बारेमा पनि केही कुराहरु सतहमा आएका छन् र त्यस्ता विषयहरुमाथि पनि तथ्य र तथ्याङ्कमा आधारित भएर अध्ययन गरिनु पर्ने हुन्छ।

नेपाल तारा‚ नेपाल स्टार‚ नेपाल आइडल‚ द भ्वाइस अफ नेपाल‚ लोकस्टार जस्ता 'रियालिटी शो'का विजेताहरुको प्रसंग उल्लेख गर्दै नेपाल लाइभ लेख्छ[xlvi]- “नेपालमा रियालिटी शोलाई लिएर आम दर्शकमा निकै चासो रहन्छ” र “नेपालमा कार्यक्रम प्रशारण भइरहेको अवस्थामा उनीहरु निकै चर्चामा रहन्छन्” तर “कार्यक्रममा विजेता भएपछि भने धेरैजसो रियालिटी शो जित्नेहरु आफ्नो क्षेत्रमा राम्रो प्रगति गर्न सक्दैनन्” र “सीमित समयका लागि चर्चामा रहेपनि कालान्तरमा उनीहरु वेपत्ता जस्तै हुन्छन्।” “रियालिटी शोले प्रतिभाशालीहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गरेर दर्शक तथा स्रोतामाझ पहिचान बनाउन मद्दत गर्ने” भनिएतापनि खासै त्यस्तो अवस्था नदेखिएको र “नेपालमा प्रसारणको समय र प्रतियोगिता हुँदाको समयमा चर्चामा रहेपनि” विजेता प्रतियोगीहरुकै निमित्त पनि यस्ता कार्यक्रमहरु खासै उपलब्धिमुलक देखिएका छैनन्” भन्ने नेपाल लाइभको कार्यक्रमहरुको अवलोकन सहितको टिप्पणी र “गाउनेनाच्ने र हँसाउनेसम्मका रियालिटी शोमा टेलिभिजनहरूबिच प्रतिस्पर्धा नै चलेको देखिन्छ। तर लुकेको प्रतिभालाई बाहिर ल्याउने भन्दै गरिने यस्ता रियालिटी शोहरुमा विजेता बनेका प्रतिभा भने गुमनाम जस्तै भएका छन्[xlvii] भन्ने भोला अधिकारीको बुझाई पनि उस्तै देखिन्छ। 'रियालिटी शो'हरुमा भागलिन चाहने प्रतियोगीहरुका लागि भने यो विषय विचारणीय छ। 'रियालिटी शो'को वास्तविकता यदि यहि हो भने र द पोयट आइडलले पनि मुनाफाको लागि वा व्यवसायिक सफलताको लागि मात्र कार्यक्रम गर्ने हो भने कुरा अर्कै हो तर नेपाली साहित्यलाई साँच्चै नै विश्वस्तरमा पुर्‍याउनका लागि समेत द पोयट आइडल गरेको हो भने सुरुदेखि नै कविताको आधारभूत तत्वहरुमाथि र सहभागीहरुको समग्र व्यक्तित्व स्थापनाकालागि ध्यान पुर्‍याउन पर्ने हुन्छ। “देशको हितका निम्ति केही योगदान पुग्ने चीजको सिर्जना गरौँ। जसको चर्चा नेपालमा मात्रै होइनभारत पाकिस्तानसम्म पुगोस् भन्ने उद्देश्यले'रियालिटी शो'को रुपमा द पोइट आइडल शो[xlviii]मा हात हालेका अमनप्रताप अधिकारीका लागि पनि मननीय छ भन्ने लाग्छ।

समर्पण श्रीले नेपालमा सञ्चालित 'रियालिटी शो'को कारण प्रतिष्पर्धीहरुमा मानसिक तनावदेखि डिप्रेशनसम्मको अवस्था सृजना भएको विषयमाथि उदाहरण सहित चर्चा गरेका छन्।[xlix] प्रतिष्पर्धीप्रतिको सामाजिक जिम्मेवारीको हिसाबले कार्यक्रम सञ्चालकको र नीतिगत विषयको हिसाबले राज्यको ध्यान यस विषयतर्फ जानु पर्ने हुन्छ। उदाहरणको लागि‚ समर्पण श्री लेख्छन्- “नेपालमा भइरहेका फ्रेन्चाइज वा मौलिकजुनसुकै रियालिटी शोको उद्देश्य नै भोटिङ हो । 'रियालिटी शो'ले खुलेआम भोटका लागि मूल्य तोकेका हुन्छन्। हाल भइरहेको ‘सारेगमप लिटिल च्याम्प्स’मा पनि भोट गर्ने प्रावधानहरू छन् । १ हजार भोटका लागि ५ हजार तिर्न हाकाहाकी अफर गरिएका छन्।” यो विषय के हो ? र यसको नियमन हुनु पर्छ कि पर्दैन ? यहाँनेर राज्यको बुझाई र बुझाई बमोजिमको जिम्मेवार उपस्थिति आवश्यक हुन्छ कि हुँदैन? समर्पण श्री आफैँ भन्छन्- “रियालिटी शोमा भइरहेको अव्यवस्थित भोटिङ प्रक्रियाविरुद्ध सांसद तथा नेताहरूले आवाज उठाउनुपर्ने हो । तर उनीहरूकै [नै] यस प्रक्रियामा सहभागी भई कलाको व्यापारीकरणमाथि सहयोग पुर्‍याइरहेका छन्।” 'रियालिटी शो' भोटिङको कारण खर्चिलो भएको आयोजकले पनि स्वीकारेको उल्लेख गर्दै समर्पण श्री भन्छन् इमेज लोक कलाकारको पहिलो र दोस्रो संस्करणमा भोटलाई पहिलो प्राथमिकतामा राखिएको थिएन र निर्णायकको निर्णयलाई नै अन्तिमसम्म आधार बनाइएको थियो। यी चर्चाहरुबाट त्यस्ता शोहरुको भविष्य कस्तो रह्यो र व्यवसायिक सफलताको पक्ष कस्तो रह्यो भन्ने विषयमा अध्ययन हुन पनि जरुरी छ। किनभने संगीतकार बसन्त सापकोटाले “‘रियालिटी-शो’को फर्म्याट पनि ठीक छैन” भनिरहँदा ‘रियालिटी-शो’का निर्णायक रहेका कालीप्रसाद बाँस्कोटा “चिन्दै नचिनेको प्रतिभालाई आम-जनातासामु चिनाइदिनु ठूलो उपलब्धि भएको” विचार राख्छन् र नेपालका ‘रियालिटी-शो’का विजेताहरूले राम्रै प्रगति गरिरहेको बताउदै कसैले अवार्ड जितेकाकतिले पार्श्व गायनमा अवसर पाएकाकतिले उनीसँगै युगल गाएकाकेहीले उनीहरुसँगै स्टेजमा गाइरहेको उल्लेख गर्दै यसलाई सफलता मान्नु पर्ने विचार राखेको पनि पाइन्छ।[l]

बच्चाहरुको 'रियालिटी शो'को विषयमा त प्रतियोगिता समाप्त भएपछि‚ दर्शक र निर्णायकहरुबाट पाउने ताली र प्रशंसा बाहेक‚ प्रतिभावान बच्चाहरुको भविष्य के हुन्छ भन्ने खालको प्रश्न समेत उठेको पाइन्छ।[li]  नेपालमै भएका 'रियालिटी शो'ले प्रतिष्पर्धी बालबालिकामाथि पारेको प्रभावबारे समर्पण श्री लेख्छन्[lii] :

'रियालिटी शो'मा भाग लिएकै कारण बालबालिका र अभिभावक अत्यासलाग्दो मनस्थितिमा पुग्नुपरेका घटना छन्। प्रतिभा मूल्यांकनको आधार ‘भोटिङ’लाई बनाउन थालिएपछि अपरिपक्व उमेरका किशोर-किशोरी र उनीहरूका अभिभावक मानसिक दबाबमा छन्”।

 

भारतमा हुने बच्चाहरुको 'रियालिटी शो'को विषयमा पनि प्रतिष्पर्धामा सामेल बालकहरुको अवस्थालाई लिएर चर्चा भएको पाइन्छ। फिल्म निर्देशक शुजित सरकारले 'रियालिटी शो'को कारण बच्चाहरुले आफ्नो बचपन गुमाउछन् भनेका छन् भने मनोचिकित्सक हरिश शेट्टीले 'रियालिटी शो' सकिएपछि बच्चाहरुलाई काउन्सिलिङ आवश्यक हुने बताएका छन्।[liii] बालबालिकामाथि बजार कसरी हावी हुने गर्छ अर्थात् बजारले बालबालिकालाई कसरी प्रभावित गर्दो रहेछ भन्ने उदाहरणको लागि- बालबालिकाहरुमा संङ्क्रमणको रुपमा बढिरहेको मोटोपना र सोससँग सम्बन्धित- उच्च रक्तचाप र 'Type-II' जस्ता रोगहरुको कारण, सन् २००४ मा संयुक्त राज्य अमेरिकामा बालबालिका-लक्षित बजार (मार्केटिङ) को प्रभाव र नैतिकताको विषयले महत्वपूर्ण छलफल निम्त्याएको थियो। बालबालिकाको पक्षमा वकालत गर्नेहरुले अत्याधिक मात्रामा चिनी, चिल्लो र नुन मिसाइएको अस्वस्थकर आहारको बजारीकरण नै यसो हुनुको प्रमुख कारण भएको दावी गर्दै बालबालिकाहरु प्रभावित हुने माध्यमहरु- टेलिभिजन, विद्यालय‚ इन्टरनेट र खुद्रा पसलहरुमार्फत खानेकुराहरुको विज्ञापन र बजारीकरणमा गरिएका अर्बौं डलर खर्चहरुतर्फ इङ्गित गरेका थिए।[liv]  यो घटनाले विज्ञापन र बजारले निम्त्याउन सक्ने समस्या र त्यसले समाजमा पार्ने प्रभावको अवस्थाको चित्रण गर्दछ तर पुँजावादी नाफा-केन्द्रित बजार व्यवस्था भने त्यस्ता समस्या र प्रभावहरुप्रति संवेदनशील हुनसक्ने अवस्था नरहेको देखिन्छ। कतिपय अवस्थामा‚ बजारकै कारण उपभोक्ताहरु दीर्घकालीन मानसिक असर पर्ने अवस्थामा समेत पुग्न जाने कुरा माथि चर्चा गरिसकिएको छ। अतः यी र यस्ता घटनाहरुको अध्ययन तथा मनन गर्दै सचेततापूर्वक समयमै पाठ सिक्दै जाने समाजले नै छिटो प्रगति गर्ने हुन् भन्ने बुझ्न पर्ने हुन्छ। विकाससील राष्ट्रका हामीहरु चाहिँ अध्ययन गर्न कम जाँगर चलाउने, तर बजारबाट भने छिटो प्रभावित हुने भएकोले, हामीलाई आफ्नो स्वभावमा परिवर्तन ल्याउन पनि त्यत्तिकै आवश्यक देखिएको छ। तर यस खालको परिवर्तन आजको भोलि आशा गर्न सकिदैन। शिक्षा प्रणालीमा गरिने महत्वपूर्ण सुधारबाट यस्ता परिवर्तनहरु हासिल गर्न सकिन्छ।

बच्चाहरुको 'रियालिटी शो'सँग जोडिएको भोटिङ् र प्रतिष्पर्धाले बालबालिकामाथि त झन् बढी असर पार्ने भएकोले 'रियालिटी शो'हरुलाई नयाँपन‚ बजार र सहभागी वा अभिभावकको जिम्मेवारीकोरुपमा मात्र हेरिनु उचित हुँदैन। त्यसैले यसलाई सामाजिक विषयको रुपमा हेरी समयानुकुल मापदण्ड बनाई प्रभावकारी नियमन गर्ने व्यवस्था आवश्यक हुन्छ। साथै‚ प्रगतिवादी क्षेत्रका साहित्यिक-साँस्कृतिक संघसंस्था एवम् लेखक-कलाकारका लागि चाहिँ माथि चर्चा गरिएका विषयवस्तु अझ बढि अर्थपूर्ण हुनका साथै चुनौतिपूर्ण समेत रहेको महशुस हुन्छ।

नेपाली कविताको विकासक्रम र द पोयट आइडल

साहित्यका विविध विधाहरु मध्ये सर्वाधिक लेखिने र बढि चहलपहल हुने विधा कविता नै हो। हर्षनाथ शर्मा भट्टराई लेख्नुहुन्छ- “मानव मस्तिष्कले आविष्कार गरेको संसारभरका सबै प्रकारका साहित्यमा कविता वा काव्यको विषयमा जति विचार भएको छ‚ त्यति साहित्यका अरु कुनै अंगमा भएको छैन।”[lv] ब्रिटानिकाको अनुसार “कविता एक विशाल विषय हो‚ इतिहास जत्तिकै पुरानो अझै त्यो भन्दा पुरानो‚ धर्मको उपस्थितिसँगै यसको पनि उपस्थिति देखिन्छ‚ संभवत- केही परिभाषा अनुसार- भाषाको  मौलिक एवम् प्राथमिक रुप।"[lvi]

साहित्यकार एवम् कविताका विज्ञ खगेन्द्रप्रसाद लुइटेलका अनुसार- “हालसम्म उपलब्ध तथ्याङ्कका आधारमा नेपालीमा कविता लेखनको थालनी पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको हाराहारीदेखि भएको पाइए पनि नेपाली कविता लेखनको सुरुआत एक्कासि भएको होइन, यसको पृष्ठभूमिका रूपमा श्रुतिपरम्परामा जीवित रहेको नेपाली लोकसाहित्यलाई लिन सकिन्छ। नेपाली कविता लिखित स्वरूपमा आउनुभन्दा पहिले लोकमानसमा प्रचलित लोकगीत, लोकगाथा र मनोरञ्जनात्मक लोकभाखाले पनि यसको विकासमा प्रशस्त सहयोग पुर्‍याएको देखिन्छ। नेपाली कविता लेखनको प्रारम्भ उन्नाईसौं शताब्दीदेखि भएको पाइए पनि त्यसपूर्व मौखिक परम्परामा व्याप्त लोकगीत, लोकगाथा आदिले यसको प्राचीनतालाई इङ्गित गर्छ।”[lvii]

प्राचिन समयदेखि नै अस्तित्वमा रहेको कविता साहित्यको एक शशक्त र लचिलो विधा भएकोले यो व्यापक छ र यसले समाजलाई छिटै र सहजढंगबाट प्रभाव पार्ने क्षमता पनि राख्दछ। कविताको व्यापकताको बारेमा रविलाल अधिकारीको विचार झनै व्यापक देखिन्छ। उनको भनाईमा[lviii] :

“रचनात्मक क्षमताको दृष्टिमा कविता जस्तो क्षमता भएका मान्छेलाई पनि उपयुक्त विधा ठहर्छ। सामान्य स्तरबाट तुक मिलाएर २/४ पंक्ति कोरे पनि कविता र कविताका गुणहरु परिपूर्ण बनाएर लेखे पनि कविता। यसैले कविताको आकाश व्यापक छ‚ यस व्यापक आकाशमा धेरै खाले कविहरुका कविता चरीहरु उड्छन्। साहित्यमा प्रवेश गर्ने मान्छेको प्रवेश विधा कविता नै हो भने पनि हुन्छ।”

क्रान्ति र परिवर्तनलाई ऊर्जा दिनका लागि समेत कविताहरु बढी प्रभावकारी भएका छन्। बि. सं. २०३६ सालको सडक कविता क्रान्ति परिवर्तनलाई ऊर्जा दिनका लागि गरिएको एक प्रयोगको रुपमा लिन सकिन्छ। राजाव्दारा घोषणा गरिएको जनमत सङ्ग्रहको दौरान बहुदलीय व्यवस्थाले जितेमात्र तत्कालीन निरङ्कुश पञ्चायती शासनबाट मुक्ति पाइने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुन्छ भन्ने विश्वासका साथ बहुदलीय शासन पद्दतीको पक्षमा मतदान गर्न जनतालाई प्रेरित गर्नका लागि सडक कविता क्रान्ति चलाइएको थियो।[lix] सत्ता र शासकको चाकडी गरेर लाभ लिनका लागि पनि कवितालाई माध्यम बनाइएका प्रसंग एवम् कविताहरु पनि भेटिन्छन्।

नेपाली कविताको विकासक्रमको चर्चा गर्दै वनमाली निराकार भन्छन्- “नेपाली साहित्य वर्तमान अवस्थासम्म आइपुग्नुमा करिब तीन शताब्दी लामो यात्रा हजारौँ व्यक्ति, सङ्घसंस्था र समूहको व्यक्तिगत तथा समूहगत प्रयासको फल हो भन्नेमा दुई मत छैन।” सुवानन्ददासबाट सुरु भएको लेखन साहित्य आज यहाँसम्म आइपुग्दा धेरै परिवर्तन भएको बताउँदै तीन शताब्दीको समयावधिमा विभिन्न पर्व, आन्दोलन र अभियानहरूले नेपाली साहित्यलाई यहाँसम्म ल्याई पुर्‍याएको तथ्य देखिन्छ भन्दै वनमाली निराकारले मोती मण्डली (१९३८), हलन्त बहिष्कार (१९६५), मकै पर्व (१९७७), झर्रो आन्दोलन (२०१३), आयामेली आन्दोलन (२०२०), राल्फाली आन्दोलन (२०२३), अस्वीकृत जमात (२०२६), अमलेख (२०२६), यङ्ग राइटर्स फ्रन्ट (२०३१) र बुट पालिस (२०३१) जस्ता आन्दोलन हुँदै २०३६ मा सडक कविता क्रान्ति सम्पन्न भएको उल्लेख गर्दै यो क्रम २०३६ पछि पनि रोकिएको भन्दै सर्वनाम (२०३८), रङ्गकर्मी आरोहण मञ्च (२०३८), लीला लेखन (२०४४), तरलवाद (२०४६), जनआन्दोलन र साहित्य (२०४६), गणतान्त्रिक आन्दोलन र साहित्य (२०६२/६३) आदिको उल्लेख गरेका छन्। साथै, एक लाइने कविता आन्दोलन,[lx] संयुक्त लेखन/प्रकाशन लगायतका नेपाली साहित्यको व्यापक एवम् गतिशील परिवेशभित्र रहेर पहिलो पटक नेपालमा सुरु भएको द पोयट आइडललाई पनि स्वीकार्नु पर्ने हुन्छ र यो नेपाली साहित्य, मूलतः कविताको क्षेत्रमा एक उल्लेखनीय पर्व, आन्दोलन, अभियान, वा प्रयोगको कीर्तिमानी राख्न सफल होला कि व्यावसायिक रुपमा एक मञ्च प्रदान गरेकोमै चित्त बुझाउला, त्यो चाहिँ समयले नै बताउने छ। यद्यपि यी र यस्ता गतिविधिहरुले नेपाली साहित्यलाई गतिशील राख्ने र चलायमान बनाउँदै यसको विकासमा योगदान पुर्‍याउनेछ भन्ने मान्नु पर्दछ। तसर्थ, साहित्यिक क्षेत्रमा देखिने नयाँ प्रयोग, शैली, पद्धति वा माध्यमहरुलाई तिनीहरुको प्रयोजन, प्रभावकारिता र गुणस्तरको आधारमा मात्र अर्थात् तिनीहरुको गुण र दोषको आधारमा मात्र मूल्याङ्कन गर्न पर्ने हुन्छ। पूर्वाग्रह राखेर समर्थन वा विरोध गर्नु उचित हुँदैन र द पोइट आइडल को सन्दर्भमा पनि यही नियम लागू हुन्छ।

नेपाली साहित्य समितिले बि. सं. २०४१ साल फागुन २० गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मशताव्दीको उपलक्ष्यमा तानसेन (पाल्पा) मा आयोजना गरेको कवि गोष्ठीमा कवि भूपि शेरचन प्रमुख अतिथि थिए र उनले त्यतिबेला कविहरुलाई “शोकेसमा सजाएर राखिएका रंगीन वस्तुहरु जस्तै पर्यटकलाई देखाउने वस्तु हुन्छौं कि जीवित प्राणी ?" भनेर प्रश्न गरेका रहेछन्।[lxi] मलाई लाग्छ पोइट आइडल जस्ता आजको समयले बनाएको मञ्च वा कार्यक्रममा सहभागी हुने कवि सर्जकहरुले पनि दर्शकका लागि देखिने वस्तु मात्र बन्ने हो कि जीवित कवि वा सर्जक ? भन्ने प्रश्नको जवाफ केही समयको अन्तरालपछि सिर्जनाप्रतिको आफ्नो प्रतिवद्धता र सिर्जन कार्यबाट दिन पर्ने नै हुन्छ। सहभागी कवि सर्जकहरुका लागि ठूलो चुनौति थपिनेछ र यो चुनौतिको सामना गर्न सक्ने बनाउने कार्यलाई चाहिँ पोइट आइडल जस्ता कार्यक्रमले आफ्नो दायित्व वा जिम्मेवारी ठान्छ कि ठान्दैन भन्ने चाहिँ अर्को अहम् प्रश्न हो। यहाँनेर विभिन्न नाममा स्थापित साहित्यिक संघसंस्थाहरुबाट पनि तिनीहरुले आफ्ना साहित्यिक गतिविधि तथा कार्यक्रमहरुलाई साक्षी राख्दै, सिर्जनाप्रति प्रतिवद्ध र सिर्जन कार्यमा आफ्नो छवि बनाउन सक्षम कतिजना कवि सर्जकहरु स्थापित गराउन सफल भए भन्ने प्रश्नको जवाफको अपेक्षा गर्नु पर्ने हुन्छ। यस अर्थमा पोइट आइडल, अस्तित्वमा रहेका विभिन्न संघसंस्थाहरुका क्रियाकलापका लागि एक ठूलो प्रश्न बनेर आएको छ र हामी सबै मौन बसे पनि समयले त्यसको उत्तर दिने नै छ।

द पोयट आइडलका केही कविताहरु

कविताको पहिलो 'रियालिटी शो' द पोयट आइडलमा कस्ता कविताहरु “पाठ” वा “प्रदर्शन” गरिएछ भन्ने कुराको जानकारीको अभावमा माथि चर्चा गरिएका विषयवस्तु र यो लेख अपुरो हुने महशुस भएकोले, द पोयट आइडलका शीर्ष १४ [१९] कविका उत्कृष्ट कविताहरुमा[lxii] सीमित रहीसामान्य टिप्पणी यस उपखण्डमा प्रस्तुत गरिएको छ। कविको नाम र कविताहरु अनुसूची-१ मा र प्रस्तुतीका लागि विभिन्न चरण (Round) का लागि तय गरिएको विषय र सो चरणबाट छानिएको कविताको संख्या अनुसूची-२ मा समावेश गरिएको छ।

पल्लवीबको कविता 'कागजको पीलेन'ले अहिलेको हाम्रो समाजको “चि…सो” यथार्थलाई बडो मार्मिक ढंगले व्यक्त गरेको छ। एकातिर सामान्य रोजगारीको लागि विदेशिनु पर्ने बाध्यता र अर्को तिर पर्खनेहरुको अवस्थाको मार्मिक चित्रण छ उनको कवितामा :

“आएन है ।।

एक जुनी सुख बोकेर आउँछु भनेर जानेहरु

के लेख्नु‚ यहाँ पर्खनेहरुको कविता ?

 अटेन हरे बाक्सामा रहर र रोटी

के सुनाउनु दर्शक गन गन गन गन गर्दै

तपाईंलाई चि…सो कथा ??” ('कागजको पीलेन'‚ पे. ५१)

पल्लवीबको यो कविता पढ्दै गर्दा “देशमा पेटभरि खान नपाएर हजारौंका संख्यामा बर्षेनी मलाया र भारतका पल्टनमा भर्ना भएर वा पाले‚ चौकिदार र कुल्ली भएर अबहेलित हुन हामी घोक्र्याइँदा छौं तापनि हाम्रो जीवनले आउने बसन्तको रमणीयता देखिसकेको छ” भनेर तानासर्माले गोपाल प्रसाद रिमालको आमा शीर्षकको कविताको चर्चा गरेको[lxiii] चालिस वर्ष वितिसक्दा पनि आजका कविहरु फेरि पनि उस्तै विषयवस्तुमा कविताहरु लेखिरहेका छन्। हाम्रा शासकहरुका लागि यो भन्दा लज्जाको विषय के होला र ? पल्लवीबकै कविता हेरौं :

“पिलित्तै केश कोरेर

बिन्दास… बाक्सामा सुतेर

पि…लेनमा चढेर;

भीलि बिहानै बाबा आउँछ

कागजको डल्लोमा घाम पोको पारेर।” ('कागजको पीलेन'‚ पे. ५२)

उल्लिखित कविता पढ्दै गर्दा‚ गरिब देशको पैसा खर्च गरेर‚ आकाशमा सैनिकको हेलिकप्टर घुमाउँदै‚ आफूलाई भिआईपी भनेर टुँडिखेलमा गणतन्त्र मनाउनेको भीडलाई संझदा टीठ लागेर आउँछ। किन सुन्दैनन्‚ किन बुझ्दैनन् यी तथाकथित शासकहरु :

“एउटा परदेशीले धेरै थोक छुटाउँछ

  • नानीहरुको तातेताते छुटाउँछ
  • रोगी बुबाको दुखिरहने गानो थिच्न छुटाउँछ
  • बुढी आमाको आँखामा निस्किरहने कचेरा पुछेर औषधि हाल्न छुटाउँछ
  • प्रत्येक एक्लोपनमा प्रियसीलाई आत्मियताको कसिलो अङ्गालो हाल्न छुटाउँछ”

(एउटा परदेशीले‚ गगन लिम्बू‚ पे. २१२ र २१३)

हाम्रा तथाकथित नेताहरु अगस्ती झैं भएका छन्- खान्छन् अनि खान्छन् तर खाएर अघाएनन्। अकर्मण्यतामा रमाए त्यसैले यस प्रति क्रुद्ध बनेको देखिन्छ पोइट आइडलको मञ्च पनि। त्यहि मञ्चमा गर्जिए कवि लेकाली कान्छा मुक्कुम लिम्बू : 

“तिमी तोड्ने साहस गर

त्यो बन्धन

म कविताको ह्याम्मर दिन्छु” (कविताको ह्याम्मर‚ पे. १५०)

पिंकी बोहराको साइकलसँगको प्रसँगले पनि विगतलाई रमाईलोसँग वर्तमानमा उभ्याएको छ। अभावभित्र पनि साइकल हुनुको भाव र अभावभित्रैको सन्तुष्टी‚ बाबु छोरी बिचको माया र किफायती जीवनको झल्को दिन्छ पिंकीको कविताले। कविता पढ्दा आफ्नो विगत पनि वर्तमान भएर आउछ। पिंकी लेख्छिन् :

“जसले मलाई बासँग

स्कूल पुर्‍याउँथ्यो

र मसँग कलेज

सँगै जान्थ्यो” (साइकिल‚ पे. ७७)

पोइट आइडलका कविहरुको कविता पढ्दै गर्दा‚ यस्तै मञ्चहरु तयार पारेर प्रगतिवादी साहित्यिक संस्थाहरुले पनि विचार सहितको कवितामा कविहरुलाई डोर्‍याउन सकेको भए‚ कति सार्थक हुन्थ्यो होला समाज बदल्नका लागि भनेर गरिने साहित्यिक साँस्कृतिक अभियान…? पनि भन्ने लाग्यो। यस मानेमा पोइट आइडलका निर्देशक अमन प्रताप अधिकारीले सुरु गरेको पोइट आइडलको प्रशंसा गर्नै पर्छ। किनकी उनले कविका भावनाहरुलाई आवाज र अभिनय मार्फत दर्शकसम्म पुर्‍याउने मञ्च निर्माण गरे। कविलाई उभ्याए र कविता मार्फत देशको परिभाषा गर्न कविहरुलाई सघाए। त्यसैले त गगन लिम्बूले देशको सीमा रक्षार्थ “दशगजामा जङ्गे पिलर” भएर उभिन चाहेको घोषणा गर्न पाए :

“आमा

म त मेरो देशको माटोमा माटै भएर बाँच्न चाहन्छु

म त मेरो देशको टाकुराहरुमा हिमाल भएर हाँस्न चाहन्छु

जस्तै अभाव र विपत्तिहरुको सामना गर्दै भए पनि

म त मेरो देशको सीमानामा पर्खाल बनेर उभिन चाहन्छु

म त मेरो देशको दसगजा [दशगजा]मा जङ्गे पिल्लर भएर

ठडिन चाहन्छु।।” (देश प्रेम‚ पे. २३)

र‚ यहि मञ्चमा आएपछि मुनु अधिकारीले गहिरो प्रश्न- सपनाको होइन‚ मरेका सपनाहरुको‚ गरेकी थिइन् भने अनुप न्यौपानेले जीवन बुझेको अभिनय गरेको देखिन्छ। कवितामा यसरी अभिव्यक्त भएका थिए उनीहरु :

“थाहा छ मरेका सपनाहरु कहाँ जान्छन् ?

शब्द

शब्द बन्छन्

हरफ पनि बन्छन्

शायद कविता बन्छन्

कतै मेरा हरफहरु

मैले बाँच्न नसकेका मेरा सपनाहरु त होइनन् ?” (सपना‚ मुनु अधिकारी‚ पे. २९३)

“बुझ्दै छु सपनाले झस्काउँछ र त मान्छे जिउँदो छ

सपनाले जगाउँछ र त मान्छे उदाउँछ

सपनाले चलाउँछ र त मुहान बगाउँछ” (सपना‚अनुप न्यौपाने‚ पे. २८८)

यहाँनेर लाग्छ अब कविहरुलाई स्पष्टसँग जीवन बुझेर अगाडिको गन्तव्य तय गर्नका लागि कुनै उद्देश्यमूलक सम्मोहनले डोर्‍याउन पर्ने हुन्छ अन्यथा कविहरु “चिया” थप्दै “सुतेर” “सपना”मै हराउने डर हुन्छ र केही गरी‚ सपनाबाट ब्यूँझिएछन् भने “मरेका सपनाहरु कहाँ जान्छन् ?” भन्ने प्रश्नभित्रै रुमल्लिरहने अवस्था हुन सक्छ। त्यसैले‚ उदीयमान सबै सर्जक कविहरुले यो तथ्यलाई पनि कविता‚ मञ्च र दर्शकको प्राप्ति सँगै बुझ्न जरुरी हुन्छ। किनभने पोइट आइडलको मञ्चले कविहरुलाई बजारको भीडबाट पनि जोगाउँदै परैसम्म त डोर्‍याउन सक्दैन नै र त्यो पोइट आइडलजस्ता मञ्चको दायित्वभित्र पर्ने कुरा पनि होइन। भीड र कोलाहलबाट बच्दै सार्थक सिर्जनामा लाग्न सर्जकहरुले सचेत भएर विचारको शहारा लिनै पर्ने हुन्छ। लेखन र व्यवहार बिच तालमेल मिलाउने कोसिस गर्नै पर्ने हुन्छ।

प्रतियोगिताको अन्तिम चरणसम्म आइपुग्दा कविहरुमा परिपक्वता बढ्दै गएको आभाष हुन्छ‚ कविताहरु पढ्दा। अन्तिम चरणको लागि कविताको विषय “राष्ट्रियता ?” दिइएको थियो। अन्तिम चरणका चार जना कविका एक एकवटा कविताहरु सङ्ग्रहमा समाविष्ट छन्। नेपाली गद्य-कविताको प्रारम्भको बारेमा चर्चा गर्दै कवि मोहन कोइराला भन्छन्- “उच्च कविता त त्यही हो जो समाजका दुःख-सुखसँग भिजेर मानसिक ऐना बन्न पुग्छ।”[lxiv] पोइट आइडलका कवि न्याथान रायनले जेठी खोलाको बगरमा पुगेर माझी दाईको डढेको छाला हेरेर आए र त्यसको ऐना पोइट आइडलको मञ्चबाट देखाएका छन्। देशका प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय योजना आयोग वा त्यस्तै सरकारी सेता हात्तीहरुले देख्न नसकेका यौटा नेपालीको प्रतिविम्ब‚ प्रतियोगी कवि न्याथान रायनले यसरी देखाएका छन् :

“जेठी खोलाको बगरमा

सूर्यको तापमा

तैरिरहेको डुङ्गामा

माझी दाईको डढेको छाला साँची (साक्षी) छ

देशको आगमनमा झुलिरहेका बालीलाई

हेरिरहेका रित्ता घरहरु छन्

समयको मजधारमा

फाटेको मन सिलाउनलाई

माझी दाइसित

वर्तमान समयमा

सियो छ तर धागो छैन” (माझी दाईको देश‚ पे. ३०३)

माथिको कवितामा कविले अन्यौलबिच नै सामाजिक परिवेशको मसिनो र गहिरो प्रतिविम्ब त देखाए तर समग्र कवितामा विचरण गर्दा उनी आफैँ पनि अलमलिएका हुन् कि भन्ने भान पर्छ। त्यस्तै प्रतियोगिताकी विजेता कवि निलम गुरुङले पनि समाजको नजिकैबाट आफ्ना अनुभूतिहरु बटुल्ने कोशिस गरेकी छिन्। उनलाई रुने मनहरुको खाँचो परेको देखिन्छ :

“भोको पैतालाहरुको छाप बोकेको गोरेटोले

अधबैंसे खरानी बोकेको खोलालाई

सबैभन्दा पहिले सिकाउँछ त्यो गीत

र दुबैले आकाशलाई सुनाउँछन्।

रुखहरुलाई त काँडा उम्रिन्छ नै

बस् अब रुने मनहरुको खाँचो छ।”  (रातो साउती‚ पे. ३०५)

वर्षेनी विदेशिनेहरुको लर्कोले रुने मनहरु पनि घट्दै गइरहेको प्रसंगले पल्लवीबलाई झस्काएको छ। एकातिर पाखुरा र रुने मनहरु रित्तिरहेको पीर अर्कोतिर ठूला शक्तिहरुबाट मिचिँदै साँघुरिन थालेको देशको सीमा प्रति सचेत हुँदै कराउँछन् कवि‚ पोइट आइडलको मञ्चबाटै-

“ओइ देश

हाम्रो बोजुले जतनसँग ल्याएर

“अब यहाँदेखि उता हाम्रो सिमाना” भन्दै

पसिनाको हाँगामा अल्झाएको पच्छ्यौरी खोई ??” (मेरो चिम्से देश‚ पे. ३०८)

कविता पढ्दै गर्दा झसँग पार्छ कविका अभिव्यक्तिहरुले र दुःख लाग्छ देशको अवस्थाको चित्रणले। यस्तो अवस्थामा साहित्यका लागि मात्र साहित्य लेखेर हुँदैन भन्ने बोध भएको हुनुपर्छ पोइट आइडलका प्रतियोगी कविलाई। साहित्यको नरम भाषा‚ साहित्यमा प्रयोग भएका विम्ब र प्रतिकहरुले पनि काम नगरिरहेको अहिलेको हाम्रो परिवेश र विचार समेत अलमलिरहेको अवस्थामा अन्तिम प्रतियोगिताको मञ्चबाटै उदघोष गर्छन् मिल्सन राई :

“वैचारिक कुरा नारा कहलिन्छ भने

म यो जूनी नारा भएरै बाँचिदिन्छु।” (देशको खोज‚ पे. ३०२)

प्रतियोगी कविका कविताका कतिपय हरफहरुले समाज बोलेको छन्। कविहरुले समाजको विश्लेषण गरेका छन् र समाजलाई मसिनोसँग बुझ्न प्रयत्न पनि गरेका छन्। यद्यपि कविताहरुलाई समग्रतामा हेर्दा अलमलिएका र प्रष्टताको अभाव झल्किन्छ। प्रतियोगी कविहरुलाई सुरुवाती चरणका कवि मान्दा यस प्रकारको अलमलाईलाई स्वभाविकै मान्नु पर्ने हुन्छ। तर पनि कविताको सन्दर्भमा कुरा गर्दा कविता कविता नै हुनु पर्ने हुन्छ। कवितामा गरिने नयाँ प्रयोगले कविताको पहिचान नै विगार्ने काम गर्न हुँदैन।

जुन भाषाको माध्यमबाट आफ्नो सिर्जनालाई अभिव्यक्त गर्ने हो वा कविता लेखिने हो त्यही भाषाको समृद्धतालाई सम्मान गर्नै पर्छ। त्यहि भाषाको मौलिकतामाथि खेलबाड गर्न हुँदैन। आफ्नो पकड भएको कुनै पनि भाषालाई माध्यम बनाएर आफ्ना भावनाहरु अभिव्यक्त गर्न कवि तथा साहित्यकारहरु स्वतन्त्र छन्। यस पृष्ठभूमिमा‚ पोइट आइडलका कविताहरुमा जथाभावी प्रयोग गरिएका खासगरी अंग्रेजी शव्द र कहिँ कहिँ वाक्यहरुले भने नेपाली कवि र कविताहरुलाई नराम्ररी गिज्याएको महशुस हुन्छ।पोइट आइडलका त्यस्ता कविताहरु‚ मञ्चमा प्रदर्शनका लागि तयार गरिएका पटकथा हुन् भने पनि सोच्नै पर्ने हुन्छ होला। अन्यथा नेपाली भाषाको कविताको रुपमा स्वीकार गर्न सकिन्छ जस्तो लाग्दैन।  उदाहरणको लागि :

  • नीलम गुरुङको (पेज १७) “Dejavu”।  त्यसैगरी “Post office”, “Home Theatre”, “Iphone”,  (पेज ६४, ६५) आदि।
  • मिल्सन राईको (पेज ६१) कविताको शीर्षक नै अंग्रेजीमा छ- “THE KENTLER EXPERIMENT” । यद्यपि यो कविताले अनुसन्धानमा आधारित नयाँ विषयमा प्रवेश गरेको छ जुन सह्रानीय पनि छ। त्यस्तै “EAST देखि WEST” (पेज १०९) कविताको शीर्षक। शीर्षक नेपाली अक्षरमा लेखेको भए वा नेपाली भाषामा उपयुक्त शीर्षक खोजेको भए के फरक पर्थ्यो होला र ?
  • अनुप न्यौपाने (पेज ७१-७३) ले कविताको शीर्षक “The अ-कविता” राखेका छन्। त्यसपछि कवितामा प्रयुक्त “Content”, “Like”, “Comment”, “Multinational Company” र अर्को कविताको शीर्षक “A + S”  (पेज ११९)।
  • न्याथान रायन (पेज ९४, ९५) को “System”, “This is capital punishment” आदि।
  • पल्लवीब (पेज ९९) को “GDP”  लगायत “Terrace”, “Frame”, “Awkward” आदि।

माथिका उदाहरणले नयाँपन वा नयाँ प्रयोगलाई पनि न्याय गर्छ जस्तो लाग्दैन। माथि प्रस्तुत गरिएको जस्ता शव्दहरुको जथाभावी प्रयोगले नेपाली भाषा बिगार्ने मात्र होइन त्यसले अंग्रजी शव्दकै गरिमामाथि पनि न्याय गर्ने देखिदैन। यसरी कविता पनि बन्दैन, गतिलो रचना पनि बन्दैन। प्रस्तुतीका क्रममा सामान्य प्रहशनको काम गर्ने भए कुन्नी। यहाँनेर “नेपाली गद्यकविताको प्रथम प्रयोग कसले गर्‍यो ?” भन्ने विषयमा चर्चा गर्ने सन्दर्भमा तानासर्माले “यसरी 'गद्यकविता' भनेर उल्लेख गर्दैमा त्यो रचना गद्यकविता हुने र गद्य कविता भनेर उल्लेख नगर्दैमा 'प्रेमको परिणाम' भन्दा अघिका रचनाहरु फास्फुस ठहरिने हुन सक्तैन”[lxv] भनेको संझना हुन्छ। अर्थात् कसैले “आधुनिक” भन्दैमा आधुनिक वा “नयाँ प्रयोग” भन्दैमा नयाँ प्रयोग पनि नहोला। कुनै प्रचलित एवम् स्थापित भाषामाथि जथाभावी खेलवाड गर्नु चाहिँ हेलचेक्र्याइँ वा अवुझपना नै हो भन्ने लाग्छ। यसरी गतिलो रचना सिर्जना हुन सक्दैन।

अन्य भाषाको प्रयोगको सन्दर्भमा लेकाली कान्छा मुक्कुम लिम्बूले नेपाली भाषाको कवितामा प्रयोग गरेको लिम्बू/राई भाषाका शव्दहरु (पे. ३९ र ४०) “सेक्मुरी” (फूल)‚ तुम्बा (बडाबा)‚ “युप्पारुङ” (चाँदीको मोहर/बैना)‚ मेन्छ्‌यायमको ढाप (तीनजुरे‚ मिल्के र जलजले गुराँसको क्षेत्र)‚ नाम्सेमी (घामको उज्ज्यालो)‚ फक्ताङलुङ (लिम्बुहरुको तीर्थस्थल‚ कुम्भकर्ण हिमाल) आदिको प्रयोग रमाईलो लाग्यो। अर्थ खुल्नेगरी प्रयोग हुँदा नेपाली भाषा पनि थप समृद्ध हुन्छ जस्तो लाग्छ र देशभित्रकै अन्य भाषाहरुको ज्ञान र उक्त भाषाप्रतिको आकर्षण पनि बढ्दै जान्छ। यद्यपि‚ नेपाली भाषाको एउटै कवितामा अन्य भाषाका शव्दहरु अलि धेरै प्रयोग हुनु पनि उचित नहोला। नेपाली भाषाको कवितामा प्रयोग गरिएका अन्य भाषाका शव्दहरुको आवश्यक्ता र उपादेयताको बारेमा समालोचक एवम् भाषाविद्हरुले यथासमय चर्चा गर्लान् नै। साथै प्रकाशित पुस्तकमा भाषिक अशुद्धताहरु पनि देखिएका छन्। नेपाली भाषाको पुस्तकले नेपाली भाषाको सन्दर्भ सामग्री बन्ने प्रयत्न गर्नै पर्ने हुन्छ। आकर्षक कभर र गुणस्तरीय छपाई हुँदाहुँदै पनि कवितासङ्ग्रहको सम्पादन पक्ष कमजोर लाग्छ। 

अन्तमा

प्रतियोगितामा प्रस्तुत भएका सबै कविताहरु एकैनासका हुनपर्छ भन्ने आग्रह पनि ठीक होइन। अतः द पोयट आइडल : शीर्ष १४ कविका उत्कृष्ट कविताहरुमा समावेश कविताहरु पनि सबै एकैनासका छैनन् र त्यो स्वभाविकै पनि हो। यस सङ्ग्रहको सबभन्दा राम्रो पक्ष १९ कविका १०० वटा कविताहरु एकै ठाउँमा पढ्न पाइन्छ। यसबाट‚ कविको पहिचान बनाउन प्रयासरत प्रतिभाहरुले देखेको र अनुभूत गरिरहेको समाज र विश्व परिवेशको झलक पाउन सकिन्छ जुन ज्यादै महत्वपूर्ण कुरा हो। यति भन्दा भन्दै पनि आयोजकहरु कविलाई दृष्टि र दृष्टिकोण दिनका लागि पनि प्रतिबद्ध हुन् कि होइनन् र कविलाई दृष्टि र दृष्टिकोण दिनका लागि निर्णायकहरुको पनि केही भूमिका रह्यो कि रहेन भन्ने विनम्र प्रश्न “अब दुनियाँले हेर्ने कविता”को निर्माणमा जुटेको टोली वा समूह समक्ष राख्नु अनुचित चाहिँ नहोला।

प्रतियोगितामा प्रस्तुत हुने कविताहरुको स्तर‚ सहभागी प्रतियोगीहरुको क्षमता र लगनमा भर पर्ने हुँदा कुनै पनि कार्यक्रमले आशा लाग्दा अर्थात् “हुने विरुवाको चिल्लो पातहरु”लाई नै आकर्षण गर्न प्रयत्न गर्ने हुन्। सामान्यतयाः सिर्जनाको गोरेटो समातिसकेका र स्थापितहरु प्रतियोगितामा सहभागी हुने गर्दैनन्। उनीहरुबाट त्यसको अपेक्षा गर्न पनि हुँदैन तर सिर्जनाको गोरेटो समातिसकेका र स्थापित भनिएका कवि साहित्यकारहरु‚ साहित्यिक गतिविधिहरुमा आफ्नो उपस्थिति जनाउन भने खुशी नै हुने गर्छन्‚ आयोजकहरुको विश्वसनीयता र कार्यक्रमको प्रयोजन हेरेर। त्यसैले‚राम्रा कविहरु बाहिर बसेर गाली मात्रै गरिरहने अनि प्रतियोगितामा राम्रा कवि आएनन् भनेर गुनासो गर्ने ? जुन कविहरुले “प्रतियोगितामा राम्रा कवि आएनन्” भनेर गुनासो गरिरहनु भएको छ, उहाँहरूलाई पोइट आइडलमा भाग लिन कसले रोकेको थियो ? तपाईं किन नआउनु भएको भाग लिन ?[lxvi] भनेर समग्रमा सबै कविप्रति टिप्पणी गर्न हतारिन हुँदैनथ्यो कि? भन्ने पनि लाग्छ। किनकि यस्ता कार्यक्रमहरुले राम्रा कवि र राम्रा कविताहरु जन्माउछन् र जन्माउन पर्छ भन्ने मान्यता राख्दै धैर्य गर्नै पर्ने हुन्छ। मोहन कोइराला भन्छन्- “चलिरहेको पुरानो धारामा‚ नयाँ अर्को धारा प्रवेश गर्दा कारण विना सम्भव पनि हुन सक्दैन। कुनै पनि नयाँ सहित्यको प्रयोग सुरुमै सफल बनोस् त्यसको पनि त्यति सारो आवश्यक्ता रहदैन। अँ‚ त्यसरी आउनका कारणमा दीर्घ कालसम्म साहित्य बचाउन र कहीं त केही त्यसमा खोजी गर्नु हो। त्यो विकास समय पाएर सफल साहित्य बन्न पनि सक्छ।”[lxvii]

यहाँनेर “कविताको बजारीकरण हुनु राम्रो हो वा नराम्रो ? कविताका चिन्तकहरूले आफ्नो चिन्तन फर्माऊन्। एउटा कवितालाई ‘कविता’ र कविता कोर्नेलाई ‘कवि’ बन्न कसले छाप लगाइदिनुपर्छ? कविताका विज्ञहरू बोलून्। कवि र कवितालाई प्रविधिसँग जोड्दै बृहत् र सर्वसुलभ बनाउनु नेपाली साहित्यको दुर्भाग्य हो वा वरदान? कविहरूले नै सोचु” भन्ने कृष्ण ढुङ्गेलको[lxviii] भनाईसँग सहमत हुँदै यस्ता विषयहरुमा नेपाली कवि एवम् साहित्यकारहरुको धारणा आओस् भन्ने कामना पनि गर्दछु। समयको माग र प्रविधिको सहयोगमा गरिने 'रियालिटी शो' लगायतका विभिन्न कार्यक्रमहरुलाई विना आधार आलोचना गर्न हतारिनु पनि उचित होइन।

इंडियन आइडल-१५ को २४ नोभेम्बर २०२४ को प्रशारणमा चर्चित भारतीय चलचित्र निर्माता एवम् निर्देशक महेश भट्टले इंडियन आइडलको मञ्चले झूठको यस जमानामा सत्य पस्किरहेको छ भन्ने टिप्पणी गरेका थिए।[lxix] आधुनिक प्रविधिको उपलव्धता र प्रयोगको व्यापकतासँगै बदलिएको आजको समय र समाजको विश्लेषण गर्दै साहित्यिक-साँस्कृतिक विषयवस्तुको बारेमा विचार विमर्श गर्नका लागि महेश भट्टको उल्लिखित भनाई अर्थपूर्ण छ भन्ने लाग्छ। यस अर्थमा 'रियालिटी शो'को रुपमा शुरु भएको द पोयट आइडललाई पनि कम से कम कवितालाई आम दर्शक माझ पुर्‍याउनका लागि गरेको मेहनतको कारण धन्यवाद दिनै पर्ने हुन्छ। स्वस्थ तवरबाट यस्ता कार्यक्रमहरु अगाडि बढुन र व्यावसायिकरुपमा पनि सफल हुन भन्ने कामना गर्न पर्ने हुन्छ। साथै नेपालका “ठूला” देखिएका र “प्रभावशाली” भनिएका साहित्यिक संस्थाहरुलाई नेपाली कविता लगायत समग्र साहित्यको विकास एवम् विस्तारमा समयानुकुल हुने गरी नयाँ कार्यक्रम र नयाँ प्रयोगहरु गर्नका लागि समेत महत्वपूर्ण एवम् प्रभावशाली भूमिका खेल्नका लागि द पोयट आइडल एक कारक तत्व बनोस् भन्ने कामना पनि गर्न पर्ने हुन्छ।

***

 अनुसूची-१

शीर्ष १४ [१९] कवि र कविताहरु

 

क्रम संख्या

कविको नाम

कविता

मिल्सन राई

  1. दाउराको आख्यान
  2. THE KENTLER EXPERIMENT
  3. EAST देखि WEST
  4. शीर्षकः
  5. हेत्छाकुप्पा
  6. अस्तित्व
  7. नाइटो काटिएदेखि
  8. न्यानो एकान्त
  9. चिया
  10. देशको खोज

नीलम गुरुङ

  1. सतरन्जको कोठे कमिज
  2. म आमा बन्न चाहन्न
  3. EVE ले टोकेको जुठो स्याउ
  4. जून, पात अनि पोखरी क
  5. ओ काठमाण्डौ !
  6. डियर फ्यूचर सासू
  7. धुपीको रुख
  8. पृथ्वीले गर्भपात गरेको छोरी
  9. रातो साउती

पिंकी बोहरा

  1. सिनो
  2. घोप्टे युग
  3. साइकिल
  4. प्रेम
  5. मृत्यु शैय्याबाट जुर्मुराएका सपना
  6. बा र उनको संघर्ष

छविना लुङ्गेली मगर

  1. इतिहास
  2. नजर
  3. सहयात्री

गगन लिम्बू (योक्पाङ्देन)

  1. देश प्रेम
  2. हिजोका नानीहरु/ आजका नानीहरु
  3. साइँली सोल्टिनीको बैंस
  4. मेरो पानीको जीवन
  5. एउटा परदेशीले
  6. तिमी गएपछि
  7. स्मृतिका पानाहरु

किरण पुन मगर (युग सर्वनाम)

  1. कुर्सीको अस्थिपञ्जर
  2. स्वाभिमानको फूल

अनुप न्यौपाने (AJ Bob)

  1. टुट् टुट् टुट्
  2. The अ-कविता
  3.  A + S
  4. तस्वीरमा त्यस्तो के देखिन्छ ?
  5. मिति : म रातो गुराँस पनि देखिरहेछु
  6. घाम पर्खिरहेको अँध्यारो
  7. यी-मोजी हरु
  8. अफसोस
  9. नारी (The dead metaphor)
  10. सपना

अव्यग्र अस्मित

  1. जीवनकथा
  2. प्रिय सडक
  3. आमा

 

लेकाली कान्छा मुक्कुम लिम्बू (लक्ष्मीप्रसाद मादेन लिम्बू)

  1. सेक्मुरी
  2. मितेरी
  3. शहरे सडक
  4. पुरानो खाममा नयाँ चिठ्ठी
  5. कविताको ह्याम्मर

१०

महेन्द्र राई

  1. लासहरुको प्रश्‍न र रोइरहेको देश
  2. मित्रता

११

मल्लिका खतिवडा

  1. आर्यघाटको विश्‍वरुप
  2. रङ्गीन गुच्चाहरु
  3. साइँली दिदी
  4. प्रेमाश्रु
  5. खोज
  6. प्रिय बाल्यकाल

१२

मुनु अधिकारी

  1. गर्भ
  2. सडकको दैनिकी
  3. मेरो केशमा तिमीले नसिउरिएको गुराँस
  4. फन्दा
  5. दुई बैनी, एक शहर र जुनेली
  6. मेरो जीवनको पहिलो र अन्तिम पत्र.. मृत्युपत्र
  7. चमेलीको रातो रिबन
  8. वसन्तमा फूलेकी पुष्पा
  9. गर्भ
  10. मेरी आमा जून थिइ
  11. सपना

१३

न्याथान रायन

  1. नेपाली माटो
  2. सरकार हजुरले थाहा पाईबक्सियो ?
  3. मायाको चङ्गा
  4. यथार्थ
  5. मेरो पत्र
  6. एक्लोपन र मेरा “बा”
  7. जिन्दगी Vs बचपन
  8. पासो-पोर्ट
  9. गौंथली र फुलेका फूल
  10. माझी दाइको देश

१४

पल्लवीब

  1. 'कागजको पीलेन'
  2. सूचना! सूचना! सूचना!
  3. ला.. टी (Poetry Series)
  4. 'मुग्लाने शहर पुग्यो !'
  5. सिनेमावाला
  6. परदेश
  7. सुनाखरीलाई महिनावरी भएको छ !!
  8. सपना
  9. मेरो चिम्से देश

१५

आयुष राज मण्डल

  1. बा र उनको संघर्ष

१६

इन्द्र कुमारी

  1. बा र उनको संघर्ष

१७

रविना कंडेल

  1. बा र उनको संघर्ष
  2. सुवर्ण युग
  3. आत्म प्रतिबद्धता

१८

शकुन्तला अधिकारी

  1. बा र उनको संघर्ष

१९

युग सर्वनाम

  1. बा र उनको संघर्ष

(श्रोतः यात्रा पब्लिसिङ हाउस (२०८०)‚ द पोयट आइडल : शीर्ष १४ कविका उत्कृष्ट कविताहरु‚ काठमाडौं)

 

अनुसूची-२

विभिन्न चरण (Round) का लागि तय गरिएको विषय

र सो चरणबाट उत्कृष्टको रुपमा संग्रहमा परेका कविताको संख्या

क्रम संख्या

चरण

तोकिएको विषय

कविताको संख्या

Episode 8

Group ‘A’ Performance Round

सत्ताको लुछाचुँडि [लुछाचुँडी]‚

कुर्सीको तानातान

जनता सधैँ पिडित [पीडित]

Episode 9

Group ‘A’ Elimination Round

आँसु कवि [आशुकवि] राउण्ड

FLEE TO SAFETY

Episode 10

Group ‘B’ Performance Round

बाकसमा फर्किएका श्रमिक

लासहरु प्रश्‍न सोध्छन्

जवाफदेहि को ?

Episode 11

Group ‘B’ Elimination Round

आँसु कवि [आशुकवि] राउण्ड

मित्रता

Episode 12

Group ‘A’ Performance Round

समाजिक सञ्जालः

अभिशाप कि वरदान

Episode 13

Group ‘A’ Elimination Round

आँसु कवि [आशुकवि] राउण्ड

CYCLE

Episode 14

Group ‘B’ Performance Round

सडक र संघर्ष ?

Episode 15

Group ‘B’ Elimination Round

आँसु कवि [आशुकवि] राउण्ड

चिया र आमा

Episode 16

Group ‘A’ Performance Round

प्रेमको पहिलो प्रस्ताव

१०

Episode 17

Group ‘A’ Elimination Round

आँसु कवि [आशुकवि] राउण्ड

घडीको टिक  टिक र अलार्मको आवाज

११

Episode 18

Group ‘B’ Performance Round

प्रेममा धोका

१२

Episode 19

Group ‘B’ Elimination Round

आँसु कवि [आशुकवि] राउण्ड

बन्धन

१३

Episode 21 & 22

Top ‘8’ Performance Round

शहर‚ सपना र संघर्ष

१४

Episode 23

Top ‘8’ Elimination Round

खुलापत्रमा कविता

१५

Episode 24

Wild Card Entry

बा र उनको संघर्ष

१६

Episode 25 & 26

Top ‘8’ Performance (with 2 wildcard entries)

स्वच्छन्द कविता

१७

Episode 27

Elimination Round

आँसु कवि [आशुकवि] राउण्ड

HAPPINESS IS CONTAGIOUS

१८

Episode 27 & 28

Performance Round Top 7 Poets

घरबार अनि माया छोडि [छोडी]‚ विदेशिनुको पीडा

१९

Episode 29

Elimination Round

आँसु कवि [आशुकवि] राउण्ड

स्मृतिका पानाहरु

२०

Episode 29 & 30

Performance Round Top 6 Poets

नारी

२१

Episode 31

Elimination Round: Bottom 4

आँसु कवि [आशुकवि] राउण्ड

सपना

२२

Episode 32

Finalist Performance Round

राष्ट्रियता ?

उत्कृष्टको रुपमा समावेश जम्मा कविता :

१००

(श्रोतः यात्रा पब्लिसिङ हाउस (२०८०)‚ द पोयट आइडल : शीर्ष १४ कविका उत्कृष्ट कविताहरु‚ काठमाडौं)

टिप्पणीहरु :

 

[i] राज सरगम‚ “कवि मनले जन्मिएको 'पोयट आइडल'” २३ पुष २०७९‚ https://nepalsamaya.com/detail/96554

[ii] निर्भीकजंग रायमाझी‚ “कठघरामा कविता 'रियालिटी सो'”‚ अनलाइनखबर‚ ८ असोज २०७९‚ कठघरामा कविता रियालिटी सो’ – Online Khabar

[iii] निर्भीकजंग रायमाझी‚ “कठघरामा कविता 'रियालिटी सो'”‚ अनलाइनखबर‚ ८ असोज २०७९‚ कठघरामा कविता रियालिटी सो’ – Online Khabar

[v] अघिल्लो चरणको प्रक्रिया पुरा नगरेको भए पनि कसैको क्षमता वा योग्यतालाई हेरेर सोझै प्रतियोगितामा समावेश हुन दिइएको अनुमति।

[viii] https://www.hollywoodreporter.com/business/business-news/timeline-60-years-reality-tv-119972/

[ix] https://www.planetspark.in/elements/the-history-of-reality-television

[x] https://www.india.com/webstories/entertainment/10-longest-running-hindi-reality-tv-shows-in-india-6768628/

[xi] भोला अधिकारी‚ रियालिटी शोका विजेता‚ यता न उता‚ उकेरा‚ ५ चैत २०७७;  https://ukeraa.com/news/2021-03-18/3/18/4499/; शन्तबहादुर तमाङ‚ “’दोहोरी आइकन्स’ रियालिटी शो हुँदै‚ विजेतालाई २५ लाख”‚ शैलुङअनलाइन‚ ३१ असार २०८०‚ https://www.sailungonline.com/99263/16/07/2023/

[xii] https://www.youtube.com/watch?v=gvligBg-gsg

[xiii] रियालिटी शोका विजेता‚ यता न उता‚ उकेरा‚ ५ चैत २०७७;

[xv] अनलाईनखबर‚ १९ माघ २०७८‚ https://www.onlinekhabar.com/2022/02/1073451/

[xvi] काठमाडौं पोष्ट‚ २३ सेप्टेम्बर २०१६‚ https://kathmandupost.com/art-entertainment/2016/09/23/reality-game-show-pahunch-launched

[xvii] द नेपाल विक्ली‚ ३१ जनवरी २०२३‚ https://thenepalweekly.com/2023/01/31/14450/

[xviii] https://mysansar.com/2019/12/38469/

[xix] https://www.britannica.com/art/slam-poetry

[xx] https://www.poetryfoundation.org/education/glossary/slam

[xxi] https://ekantipur.com/literature/2016/09/09/20160909152358.html

[xxii] https://kathmandupost.com/art-entertainment/2014/07/15/winners-of-the-first-all-nepali-slam-poetry-declared

[xxiii] “युवा पुस्तामा बढ्दो र्‍यापको क्रेज”‚ १२ श्रावण २०८१‚ कान्तिपुरएचडी‚  https://kantipurtv.com/entertainment/2024/07/27/1722038764.html

[xxiv] कम्युनिष्टका 'जनवादी गीत' भन्दा कम छैनन् र्‍याप गीत”‚ १ फागुन २०७३‚ https://www.onlinekhabar.com/2017/02/541417/

[xxvi] लेखकको आफ्नै टिपोट

[xxvii] https://www.nepalipublic.com/detail/99184

[xxviii] सूचनाभूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद (२०६३), ऐरावती प्रकाशन, काठमाडौं, पे. १७

[xxix] Aesthetics (1985), Progress Publishers, Moscow, P. 232-233

[xxx] https://www.setopati.com/art/art-activity/282191

[xxxi] “द पोइट आइडल : अब दुनियाँले हेर्नेछ तपाईँको कविता”, साहित्यपोस्ट  https://sahityapost.com/prabash/sub-prabash/86358/

[xxxii] नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव-२०८० सम्बन्धी सूचना

[xxxiii] https://www.ratopati.com/story/360561/nepal-poem-mahotsav-dispute

[xxxiv] “Trapped in Reality: Justification and Capitalism in the Discourse of Reality TV Creators in Israel”,   Media Industries, Vol 7, Issue 1 (2020), https://doi.org/10.3998/mij.15031809.0007.101, P. 1-20

 

[xxxv] The Economic Reality of Reality TV Shows, Business Age, 7 June 2022, https://newbusinessage.com/article/the-economic-reality-of-reality-tv-shows

[xxxix] Reality Tv, Routledge (2015), New York. P. 3

[xl] “The Politics of Reality TV”, Media & Society (James Curran and David Hesmondhalgh ed.), Bloomsburry Publishing Inc., (2019), UK, P. 264

[xliv] The Cultural Politics of Affect and Emotion (A Case Study of Chinese Reality TV), Transcript Verlag (2022), Bielefeld, Germany

[xlv] “Commercialization: The Intersection of Economics and Ethics in Reality TV”, The Ethics of Reality TV (Wendy N. Wyatt and Kristie Bunton Ed.) (2012), Bloomsburry Publishing Inc.

[xlvi] गुमनाम छन् रियालिटी शोका विजेता https://nepallive.com/story/283690 ३० जेठ २०७९

[xlvii] रियालिटी शोका विजेता‚ यता न उता‚ उकेरा‚ ५ चैत २०७७; https://ukeraa.com/news/2021-03-18/3/18/4499/

[xlviii] ईश्वर लुईटेल (२०७९)द पोइट आइडल’को चर्चा भारत-पाकिस्तानसम्म पुर्‍याउने लक्ष्य छ : अमनप्रताप अधिकारी शिलापत्र ३ असोज २०७९ https://shilapatra.com/detail/95860

[xlix] रियालिटी शो’ले रित्याएका प्रतिस्पर्धीहरू : डिप्रेसनको सिकारदेखि आत्महत्याको प्रयाससम्म” शिलापत्र १ माघ २०७८ https://shilapatra.com/detail/75273

[l] बाह्रखरी (२०७६)रियालिटी शो’का गुमनाम विजेता ८ पुष २०७६ https://baahrakhari.com/detail/231665

[lii] “'रियालिटी शो'को चमकदमकभित्र छोपिएका बालबालिकाका दारुण कथा शिलापत्र २२ पुष २०७८ 'रियालिटी शो'को चमकदमकभित्र छोपिएका बालबालिकाका दारुण कथा (shilapatra.com)

[liii] सुप्रिया सोगले (२०१७) “रियालिटी शो कर रहे हैं बच्चों से खिलवाड?” बिबिसन्यूज हिन्दी १२ जुलाई २०१७ https://www.bbc.com/hindi/entertainment-40576956

[liv] Juliet B. Schor (2006), When Childhood Gets Commercialized, Can Children Be Protected? यो लेख Carlsson, Ulla and von Feilitzen, Cecilia (eds): In the Service of Young People? Studies and Reflections on Media in the Digital Age. Yearbook 2005/2006. The International Clearinghouse on Children, Youth and Media, Nordicom, Göteborg University 2006 मा पनि प्रकाशित छ।

[lv] नेपाली साहित्य परिचय (२०३२)‚ पूर्ण बुक स्टाँल‚ नेपाल पे. ७०

[lvi]  "Poetry is a vast subject, as old as history and older, present wherever religion is present, possibly—under some definitions—the primal and primary form of languages themselves. Poetry | Definition, Types, Terms, Examples, & Facts | Britannica

[lvii] नेपाली कविताका प्रमुख प्रवृत्ति” (जुलाई २०१०)‚ https://www.samakalinsahitya.com/sahitya/details/2300

[lviii] प्रगतिवादी नेपाली कविता (२०४४)‚ लेकाली प्रकाशन‚ पोखरा‚ पे. (च)

[lix] वनमाली निराकार‚ “सडक कविता क्रान्ती मेरो स्मृतिका झिल्काहरु”‚ गोरखापत्र‚ २५ बैशाख २०८०‚ https://gorkhapatraonline.com/index.php/news/63589

[lx] एलाक (एक लाइने कविता) आन्दोलन घोषणापत्र (२०७६)

[lxi] अमृत सुवेदी (२०७८)‚ “कविहरु शोकेसमा सजिने वस्तु हुन्छौं‚ न कि जीवित प्राणी!” अनलाईनखबर‚ १ माघ २०७८‚ कविहरु शोकेसमा सजिने वस्तु हुन्छौं, न कि जीवित प्राणी ! – Online Khabar

[lxii] यात्रा पब्लिसिङ हाउस (२०८०)‚ द पोयट आइडल : शीर्ष १४ कविका उत्कृष्ट कविताहरु‚ काठमाडौं

[lxiii] तानासर्मा (२०४१)‚ भानुभक्तदेखि तस्रो आयामसम्म‚ साझा प्रकाशन‚ पे. १०९

[lxiv] मोहन कोइराला (२०३५)‚ कविताबारे केही चर्चा‚ नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान‚ काठमाडौं‚ पे ४५

[lxv] भानुभक्तदेखि तेस्रो आयामसम्म (२०४१)‚ साझा प्रकाशन‚ पे. ११३

[lxvii] कविताबारे केही चर्चा‚ नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान (२०३५)‚ काठमाडौं‚ पे ४६

[lxviii] पोइट आइडलका निर्णायक भन्छन् – महान् चिन्तकहरू हुनुहुन्छ, हामीले कवितालाई कति पो बिगारौंला !”‚ साहित्यपोष्ट‚ https://sahityapost.com/top-news/88178/

[lxix] https://www.amarujala.com/entertainment/television/mahesh-bhatt-grace-the-stage-of-indian-idol-15-say-this-show-is-serving-truth-2024-11-24?pageId=1

चितवनबाट प्रकाशित हुने हाम्रो सिर्जनाको २७औं पूर्णाङ्क (माघ २०८१) मा प्रकाशित लेखको पूर्ण अंशको रुपमा साभार प्रकाशित गरिएको हो ।

डा. राजेन्द्रप्रसाद अधिकारी

निर्माण व्यवस्थापन विज्ञ डा. अधिकारी मूलतः कवि हुन् र साहित्यका अरु विधामा पनि कलम चलाउने गर्छन्। उनी पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य-सचिव एवम् पूर्व अध्यक्ष हुन्।