के हुन सक्छ हर्मुजमा नाकाबन्दीले निम्त्याउने संकट ?

इरान–इजरायल युद्धको प्रभावले विश्व ऊर्जा संकटमा  होमिने खतरा

इरान र इजरायलबीच पछिल्ला दिनहरूमा बढ्दै गएको तनाव र सैन्य कारवाहीले पश्चिम एशियाको शक्ति सन्तुलन फेरि संकटमा परेको छ ।  यस संकटको जड अमेरिकाले इजरायलको पक्ष लिएर इरानविरुद्ध प्रत्यक्ष सैन्य कारवाहीमा उत्रिएको घटना बनेको छ । इरानको आणविक केन्द्रहरुमाथि वमवर्षा गर्ने अमेरिकाको यो कदमले परिस्थिति अझै भयावह बन्दै गएको छ। यिनै अन्तर्राष्ट्रिय तनावहरूको घेरामा अहिले सबैभन्दा बढी चर्चा भइरहेको विषय हो — स्ट्रेट अफ हर्मुज अर्थात् हर्मजुको जलडमरू ।

स्ट्रेट अफ हर्मुज इरानको प्रभाव क्षेत्रमा पर्छ । अहिले अमेरिकी आक्रमणको प्रतिक्रयामा इरानले उक्त जलमार्गमा अमेरिका र उसका समर्थक राष्ट्रहरुको जहाजको आवातजावतलाई निषेध गर्ने कुरा आइरहेको छ ।

हालको इरान–इजरायल द्वन्द्वमा अमेरिकाको संलग्नताले हर्मुज जलडमरू क्षेत्र वरिपरि अनिश्चितता उत्पन्न भएको छ। २०२५ जुन २२ मा, इरानी संसदले जलडमरू बन्द गर्ने प्रस्ताव पारित गरिसकेको छ । त्यसो त त्यसबारे इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले अन्तिम निर्णय गर्न भने बाँकी छ।

केही गरी इरानले उक्त जलमार्ग बन्द गरिदियो भने भने त्यसको असर केवल खाडी क्षेत्रको भू-राजनीतिमा सीमित हुनेछैन । त्यसले विश्व अर्थतन्त्रको मेरुदण्डमा नै चोट पुर्‍याउने सम्भावना रहनेछ ।

होरमुज जलडमरूको रणनीतिक र आर्थिक महत्व

होरमुज जलडमरू एक साँघुरो समुद्री मार्ग हो, जुन सबैभन्दा साँघुरो भागमा करिब ३३ किलोमिटर चौडा छ, उत्तरतर्फ इरान र दक्षिणतर्फ ओमानको बीचमा अवस्थित छ, र यसले पर्सियन खाडीलाई ओमान खाडी तथा अरब सागरसँग जोड्छ।

यो जलडमरू साउदी अरेबिया, इरान, संयुक्त अरब इमिरेट्स, कुवेत, कतार र इराकजस्ता प्रमुख तेल तथा ग्यास उत्पादक राष्ट्रहरूका लागि विश्व बजारमा निर्यात गर्ने एकमात्र समुद्री मार्ग हो। अमेरिकी ऊर्जा सूचना प्रशासन (EIA) अनुसार, सन् २०२४ मा औसत दैनिक २० मिलियन ब्यारेल (b/d) तेलयस जलडमरू हुँदै गुज्रिएको थियो। कतारको ग्याँस (Liquefied Natural Gas) पनि प्रायः यही बाटो भएर जापान, दक्षिण कोरिया, चीन, भारतलगायतका देशमा पुग्छ।  यो मार्ग हुँदै संसारको करिब एक-तिहाइ तरल प्राकृतिक ग्यास (LNG) को व्यापार सम्पन्न हुन्छ । EIA ले सन् २०२४ मा उल्लेख गरेको थियो कि चीन, भारत, जापान र दक्षिण कोरियालाई यसमार्फत सबभन्दा धेरै तेल पुग्थ्यो, जसले उनीहरूमा गम्भीर प्रभाव पार्नेछ। अमेरिकामा यसमार्फत आउने तेल आपूर्ति केवल ७% थियो, र कुल पेट्रोलियम तरल उपभोगमा २% मात्र, तर विश्व बजारमा आएको मूल्यवृद्धिको असर प्रत्यक्ष महसुस हुनेछ। विश्वका पेट्रोलियम तरल पदार्थहरूको व्यापारको लगभग २०% हिस्सा ओगट्ने कुराले यो जलडमरू मार्गलाई विश्व ऊर्जा सुरक्षाको एक संवेदनशील बिन्दु (chokepoint) बनाएको छ।

यस जलमार्गको बाटो भएर हुने तेलको व्यापारमा चीन, भारत, जापान, र दक्षिण कोरियाजस्ता देशहरूको निर्भरता अत्यधिक रहेको छ । उदाहरणका लागि, सन् २०२१ मा चीनले यस क्षेत्रका गल्फ राष्ट्रहरूबाट १२८ अर्ब अमेरिकी डलर बराबरको कच्चा तेल आयात गरेको थियो।

नाकाबन्दीको सम्भाव्य असर

यदि जलडमरू बन्द भयो भने, यस्ता आपूर्ति शृंखला भत्किन सक्छन्, जसको प्रभाव ऊर्जा बजारमा मात्र नभई सम्पूर्ण विश्व अर्थतन्त्रमा पर्न सक्छ।

अतिरिक्त आर्थिक असरमा तेल ढुवानीको बीमा शुल्क बढ्नु, वैकल्पिक मार्ग प्रयोग गर्दा लागत वृद्धि, उपभोक्ता मूल्यमा असर, र मुद्राको अस्थिरता समावेश छन्। लगानीकर्ताहरू सुरक्षित बजारमा सर्ने सम्भावना बढ्ने भएकाले यस क्षेत्रको आर्थिक वृद्धिमा नकारात्मक असर पर्न सक्छ।

इरानले हर्मुज बन्द गर्‍यो भने त्यसको प्रत्यक्ष प्रभाव सबैभन्दा पहिले तेल बजारमा ‍भयानक रूपमा देखा पर्नेछ। धेरैजसो ऊर्जा विशेषज्ञहरूले अनुमान गरेका छन् कि यस्तो अवस्थामा पेट्रोलियमको मूल्य २०० अमेरिकी डलरसम्म पुग्न सक्नेछ  । यसको मूल कारण हो आपूर्तिमा आएको गिरावट—किनभने होरमुज जलडमरू हुँदै विश्वको २०–२५% तेल उपभोग सञ्चालित हुन्छ—र विकल्पका रूपमा रहेका पाइपलाइनहरूको क्षमता सीमित छ।

 यसरी त्यो मूल्य वृद्धि हुनुको कारणमा तेल आपूर्ति घट्नु मात्र हैन,  भू-राजनीतिक अनिश्चितताले सिर्जित मनोविज्ञान पनि  हुनेछ। सन् १९७३ को अरब–इजरायल युद्धपछि ओपेक मुलुकहरूले अमेरिका र पश्चिमी देशहरूलाई गरेको तेल बहिष्कार, वा २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछि देखिएको आपूर्ति संकट—यी उदाहरणहरूले हामीलाई देखाउँछन् कि तेल केवल ऊर्जा स्रोत होइन, यो शक्ति, नियन्त्रण र त्रासको  अस्त्र पनि हो।

हर्मुज बन्द भएपछि त्यसको असर तेल उत्पादक र उपभोक्ता राष्ट्रबीच मात्र सीमित रहने वाला छैन। त्यसले सार्वजनिक ढुवानी, निर्माण सामग्री, खाद्यान्न वितरणदेखि लिएर बैंकिङ प्रणालीसम्म पार्ने असरले जटिल र बहुआयामिक श्रृंखलाबद्ध संकट पैदा हुनेछ । विशेष गरी नेपाल जस्ता आयातमा निर्भर थुप्रै मुलुकहरू त्यसको प्रत्यक्ष मारमा पर्न सक्छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि परिवहन महँगो हुनेछ । त्यसको सोझो अर्थ के हो भने प्रत्येक उपभोग्य वस्तु महँगो हुनेछ, प्रत्येक सेवाको लागत बढ्नेछ, र जनताको जीवनस्तर घट्नेछ। त्यसले ल्याउने अर्थशास्त्रीय नतिजा भनेको ‘मन्दी र मुद्रास्फिति’ (stagflation) हो । यो भनेको अर्थतन्त्रको सुस्त वृद्धि र उच्च मुद्रास्फीति एकसाथ सिर्जना हुने अवस्था हो ।

त्यसो त हर्मुज बन्द गर्नु इरानका लागि पनि जोखिमरहित हुनेवाला छैन ।  यो कदम उसकै अर्थतन्त्रका लागि पनि आत्मघाती बन्न सक्छ किनभने इरानले पनि आफ्नो तेल निर्यात यही मार्गमार्फत गर्ने गर्छ। तर परिस्थितिहरू यति सघन र बहुआयामिक दिशातिर होमिने चरणमा गइसकेका छन् कि अब “न्यायोचित प्रतिरोध” मात्र प्रभावहीन देखिन थालेको छ । यस अवस्थामा हर्मुज बन्द गर्नु इरानको लागि एक प्रकारको बाध्यात्मक अवस्था पनि हुनसक्छ । यस उपायबाट इरानले आफ्नो शत्रुहरूलाई अन्तर्राष्ट्रिय व्यापारमै गम्भीर चोट पुर्‍याउने सन्देश दिन सक्छ।

वैकल्पिक मार्ग र न्युनिकरण रणनीति

स्ट्रेट अफ हर्मुज बन्द हुने वा त्यसमा अवरोध आउने अवस्थामा साउदी अरेबियाले लाल सागरमार्फत इस्ट–वेस्ट पाइपलाइनमार्फत तेल आपूर्ति गर्न सक्ने संरचना बनाएको छ। युएईले अबुधाबी–फुजैरा पाइपलाइनबाट पनि हर्मुजको निर्भरतालाई बाइपास गर्ने उपाय बनाएको छ। तर यी सबै पाइपलाइनहरूको क्षमताले हर्मुजबाट दैनिक सञ्चालन हुने २० मिलियन ब्यारेलभन्दा बढी व्यापारको भार थेग्न सक्दैनन्। अर्थात्, विश्वबजारको ठूलो हिस्सा हर्मुजमाथि निर्भर छ । इरानको लागि त्यो निर्भरता पश्चिमा दबदबालाई प्रतिरोध गर्ने अस्त्रमा रूपान्तरण गर्ने अवसर बनेको छ ।

त्यसो लाल सागरको मार्ग आफैं चुनौतीरहित भने हुने छैन । लाल सागरमा इरान समर्थित हुथी विद्रोहीहरुले बलियो प्रतिरोधी आक्रमण गर्ने क्षमता राख्छ । विगतमा उसले पटक पटक त्यो देखाइसकेको छ । पछिल्ला दिनहरुमा इजरायल र अमेरिकाले समेत हुथी विद्रोहीहरुको अड्डा यमनमा भयानक हवाइ हमला गर्दा पनि उनीहरुको त्यो क्षमतामा खासै असर पार्न सकेको छैन । रमाइलो र ध्यानयोग्य कुरा के छ भने, इजरायलले इरान, हमास र हिजबुल्लाहका माथिल्ला तहका सैन्य कमाण्डर तथा वैज्ञानिकहरु, सल्लाहकारहरुलाई हत्या गर्दै आएको छ । तर अमेरिका इजरायलको संयुक्त सैन्य शक्तिले समेत पनि हुथीहरुको नेतृत्वमाथि प्रहार गर्न सकेको छैन । यसले पनि हुथीको सैन्य प्रभावकारितालाई प्रदर्शित गर्छ । 

यस पृष्ठभूमिमा स्ट्रेट अफ हर्मुज अब एक जलमार्ग मात्र रहेन, यो विश्व शक्ति सन्तुलनको नाडी पनि भएको छ। र यदि यो नाडी काटिएको वा थुनिएको खण्डमा, त्यसको कम्पन केवल पश्चिम एशिया नभई समग्र अन्तर्राष्ट्रिय आर्थिक प्रणालीमा महसुस हुनेछ। सायद यही कारण हो कि अमेरिका र युरोपका नौसैनिक शक्तिहरू अहिले हर्मुज वरिपरि व्यापक रुपमा तैनाथ भइरहेका छन् । अमेरिका र पश्चिमा मुलुकहरु यसमा आउने गत्यारोधले वैश्विक पूँजीवादको संरचना मै असर पुग्ने कुरामा सचेत छ । त्यस अवस्थामा स्ट्रेट अफ हर्मुज अर्को युद्ध क्षेत्रमा बदलिने पक्का छ ।

न्युनिकरण रणनीतिमा कूटनीतिक पहलहरू समावेश हुन सक्छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले चीनसँग यो विषयमा पहल गर्न आग्रह गरेका छन्—किनभने चीनको तेल आयात होरमुज जलमार्गमा निर्भर छ। तर हालको द्वन्द्वपुर्ण अवस्थामा यस्ता पहलहरू प्रभावकारी हुने वा नहुने विषय अझ अनिश्चित नै छ।

होरमुज जलडमरू बन्द हुनु भनेको विश्व–व्यापी आर्थिक अस्थिरता, तेलको मूल्यमा तीव्र वृद्धि, आपूर्ति शृंखलामा अवरोध, र क्षेत्रीय असन्तुलन ल्याउने एक गम्भीर घटना हुनेछ। यद्यपि इरानका धम्कीहरू गम्भीर छन्, यसको कार्यान्वयन भने आर्थिक दृष्टिले आफैंलाई घातक हुनसक्ने भएकाले तत्काल कदम चाल्ने सम्भावना कम देखिन्छ।

तर हालको इरान–इजरायल द्वन्द्व, अमेरिकी संलग्नता, र तीव्र हुँदै गइरहेको तनावको पृष्ठभूमिमा यस्तो जोखिम खारिज पनि गर्न सकिँदैन।

अतः कूटनीतिक पहलहरू र बजार प्रतिक्रिया कत्तिको प्रभावकारी हुन्छन् भन्ने कुराको निगरानी आगामी दिनहरूमा अत्यन्त महत्वपूर्ण हुनेछ।

युद्धका मैदानहरू आज सिरियामा छन्, गाजामा छन्, र समुद्री गहिराइमा लुकेर बसेका छन्—तर तिनीहरूको प्रभाव हाम्रो घरसम्म आउनेछ। तेलको मूल्यवृद्धिमा, बजारको उथलपुथलमा, र शायद हाम्रो समाजका दैनिक मूल्यमा पनि। यो केवल हर्मुजको संकट होइन; यो एक आगामी युगको संकेत हो, जहाँ ऊर्जा, रणनीति, र सूचना–प्रभाव सँगै लड्नेछन्।

Image: https://media.cumhuriyet.com.tr/