इरानको सम्भावित जवाफ: स्ट्रेट अफ हर्मुज नाकाबन्दी र परमाणु बमको परीक्षण?

इरानमाथि गरेको आक्रमणको नतिजा इजरायलले अपेक्षा गरेजस्तो सहज देखिएको छैन । प्रविधिको सर्वोच्चता अनि अमेरिका लगायत पश्चिमाहरुको बलियो समर्थनमा इरानलाई ‘सजिलै धूलो चटाइदिने’ इजरायलको सपना थियो । खासगरी, ‘आणविक हतियार बनाउन लागेको’ बहानामा ‘इरानमा तख्तापलट’ गर्ने उद्देश्यका साथ इजरायलले थालेको यो युद्ध उसैको लागि ‘फलामको च्यूरा’ साबित हुने छाँटकाँट देखिँदैछ । इजरायलको उद्धारका लागि युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता हुन सक्ने सम्भावना बढ्दैछ । तर त्यसको बदलामा इरानले चाल्ने कदम स्ट्रेट अफ हर्मुजमा नाकाबन्दीदेखि परमाणु बमको परीक्षणसम्म हुन सक्ने सम्भावना पैदा भएको छ ।
इरानमाथिको ‘पर्ल हार्बर’
२०२५ जुन १३ देखि इजरायलले इरानमाथि ठूलो आक्रमण गर्यो। 'अपरेशन राइजिङ लायन' नाम दिइएको यस कारबाहीको उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु रहेको बताइएको छ। यस सैन्य कारबाहीको क्रममा इजरायली सेनाले इरानका दर्जनौं स्थानमा २०० भन्दा बढी लडाकु विमानमार्फत हमला गर्यो। यो हवाई हमलासँगै इजरायलको गुप्तचर संस्था मोसादले इरानभित्रै रहेका आफ्ना एजेन्टमार्फत ड्रोन आक्रमण गरेर इरानका शीर्षस्थ सैनिक कमान्डर र आणविक वैज्ञानिकहरूको हत्या गर्यो।
यस क्रममा इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) का कमाण्डर होसेन सलामी, इरानी सशस्त्र बलका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, आणविक वैज्ञानिक फरेयदून अब्बासी र मोहम्मद मेहदी तेहरान्ची आदिको मृत्यु भएको थियो। यसका साथै इजरायलले नातांज, इस्फान र फोर्दोमा रहेका इरानी आणविक संयन्त्रहरूमा समेत भीषण बमबारी गरेको थियो।
इरानको सशक्त प्रतिरोध
इरान आकस्मिक रूपमा आश्चर्यचकित भएको थियो। तर इजरायलले अपेक्षा गरेभन्दा छिट्टै नै इरान आफ्नो "पर्ल हार्बर क्षण" बाट तंग्रिन सफल भयो। इजरायली आक्रमणको जवाफमा इरानले 'अप्रेशन ट्रु प्रॉमिस ३' सुरु गर्यो। इजरायलको आकस्मिक आक्रमण भएको १८ घण्टाभित्रै, इरानले सयौं ब्यालिस्टिक मिसाइलहरू, जसमा हाइपरसोनिक मिसाइलहरू पनि थिए, तेलअवीव र इजरायलभर प्रहार गर्यो। जसका कारण इजरायलको आइरन डोम प्रणाली असफल भयो।
इजरायलले इरानमाथि बिना कुनै खासै प्रतिरोध आफ्नो हवाई दबदबा कायम राख्न सफल भएको छ। उसले चाहेको समयमा राजधानी तेहरान सहित अधिकांश स्थानहरूमा हवाई हमला गर्न सक्छ। इरानको हवाई प्रतिरक्षा प्रणाली लगभग ध्वस्त नै बनेको छ। इजरायली आक्रमणमा अहिलेसम्म सयौं इरानीहरूको मृत्यु भइसकेको छ। तर इजरायलले इरानका आणविक संयन्त्रहरूमाथि गरेका आक्रमणहरू पनि अहिलेसम्म सफल भएको कुनै प्रमाण भेटिएको छैन।
https://cdn.images.express.co.uk
इजरायलको आकस्मिक आक्रमण भएको १८ घण्टाभित्रै, इरानले सयौं ब्यालिस्टिक मिसाइलहरू, जसमा हाइपरसोनिक मिसाइलहरू पनि थिए, तेलअवीव र इजरायलभर प्रहार गर्यो। जसका कारण इजरायलको आइरन डोम प्रणाली असफल भयो।
जमिनबाट करिब २००–३०० फिट मुनि रहेका आणविक संयन्त्रहरूलाई खासै क्षति पुर्याउन इजरायल सफल भएको छैन। आफ्नो उद्देश्य पूरा नभएकै कारण इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू वासिङ्टनसँग अमेरिकी सैनिक हस्तक्षेपको लागि हारगुहार गर्दै छन्।
अमेरिकाको दोग्ला चरित्र
सुरुमा अमेरिकाले इरानमाथिको इजरायली आक्रमणमा आफ्नो कुनै हात नरहेको दाबी गर्यो। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा केही दिन अघि पोस्ट गरेका थिए — इरानमाथिको आक्रमणमा अमेरिकाको कुनै लेनादेना छैन। त्यसपछि उनले अर्को दिन गरेको पोस्टमा इरान र इजरायलले सम्झौता गर्नु पर्ने बताएका थिए। लगत्तै अर्को दिन उनले इरानले सम्झौता नगरेकोमा इरानलाई धिक्कार्दै भने — इरानले आणविक हतियार राख्न पाउनु हुन्न।
अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइले प्रष्ट पार्दछ कि इजरायलले इरानमाथि गरेको आक्रमण उसले अमेरिकी संलग्नता बिना गरेको थिएन। यसको पछाडि पूर्ण रूपमा अमेरिकाको हात थियो।
उनले चेतावनी पनि दिए — तत्काल तेहरान खाली गर। हिजो उनले इजरायलको आक्रमणमा अमेरिकी संलग्नतालाई अप्रत्यक्ष रूपमा स्वीकार गर्दै लेखे — इरानको आकाशमाथि हाम्रो पूर्ण नियन्त्रण छ। त्यसपछि अर्को पोस्टमा उनले इरानका सर्वोच्च नेता खामेनीलाई निशाना बनाउँदै भने — उनी कहाँ लुकेर बसेका छन्, हामीलाई थाहा छ। तर उनी सुरक्षित छन्। अहिलेलाई हामी उनलाई मार्दैनौं। त्यसपछि लगत्तै अर्को पोस्टमा ट्रम्पले लेख्छन् — बिना सर्त आत्मसमर्पण।
अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइले प्रष्ट पार्दछ कि इजरायलले इरानमाथि गरेको आक्रमण उसले अमेरिकी संलग्नता बिना गरेको थिएन। यसको पछाडि पूर्ण रूपमा अमेरिकाको हात थियो। इजरायल आफ्नो सैन्य लक्ष्य प्राप्त गर्न असफल भएपछि अमेरिकाले इरानमाथि आक्रमणको तयारीमा आफ्ना युद्धपोतहरू मध्यपूर्वमा तीव्रताका साथ तैनाथ गर्न थालेको छ।
खाडी क्षेत्रमा पहिलेदेखि नै अमेरिकाका थुप्रै सैन्य अखडा रहेका छन्। तीमध्ये बहराइन, युएई, कुवेत, ओमान, कतार, इराक र सिरियामा गरेर करिब ४० हजार अमेरिकी सैनिकहरू रहेका छन्।
शक्ति सन्तुलनको यो पाटो
देशको आकार र जनसंख्याले पनि सामरिक क्षमतामा ठूलो भूमिका खेल्ने गर्दछ। इरानको क्षेत्रफल १,६४८,१९५ वर्ग किलोमिटर छ भने इजरायलको २२,०७० वर्ग किलोमिटर मात्र छ। त्यस्तै, जनसंख्याको तुलना गर्ने हो भने इरानको करिब ९ करोड छ भने इजरायलको एक करोडभन्दा पनि कम रहेको छ।
इरानको क्षेत्रफल निकै ठूलो भएको हुनाले उसलाई ठूलो रणनैतिक गहिराइ (Strategic depth) को लाभ मिलिरहेको छ। इरानले रणनैतिक महत्वका प्रतिष्ठानहरू देशभर छरेर राखेको छ, जसलाई निशाना बनाउन इजरायललाई मुस्किल भइरहेको छ। यदि यो लडाइँमा अमेरिका पनि सामेल भयो र यो स्थलयुद्धमा परिणत भयो भने, इरानले आफ्नो रणनैतिक गहिराइको भरपुर फाइदा उठाउन सक्छ। तर इजरायललाई भने यो सुविधा छैन। इजरायल इरानभन्दा ७५ गुणा सानो छ।
सानो क्षेत्रफल भएका कारण इजरायलका महत्वपूर्ण रणनैतिक प्रतिष्ठानहरूलाई इरानका मिसाइलहरूले सहजै निशाना बनाउन सक्छन्। क्षेत्रफल र जनसंख्यामा सानो भए पनि इजरायलसँग उन्नत प्रविधि छ, जसको प्रचुर मात्रामा इजरायलले उपयोग गरिरहेको छ। इजरायल सन् १९६० को दशकको अन्त्यतिर नै आणविक शक्ति सम्पन्न देश बनिसकेको थियो। एउटा अनुमान अनुसार इजरायलसँग करिब ८० देखि ९० वटासम्म आणविक हतियारहरू रहेका छन्।
यस पटक इजरायलका बहुचर्चित मिसाइल प्रतिरक्षा प्रणालीहरू समेत इरानको मिसाइल आक्रमणका अगाडि बेकार साबित हुन थालेका छन्।
अहिलेसम्म इजरायलको मिसाइल र रकेट प्रतिरोधी प्रणाली विश्वविख्यात थियो, जसमा आइरन डोम र डेभिड स्लिङ प्रमुख छन्। यसमा अझ अमेरिकी प्याट्रियट र थाड (THAAD) पनि सामेल छन्। यस पटक इजरायलका बहुचर्चित मिसाइल प्रतिरक्षा प्रणालीहरू समेत इरानको मिसाइल आक्रमणका अगाडि बेकार साबित हुन थालेका छन्। इरानले बिस्तारै, पटक–पटक मिसाइल प्रहार गर्दै इजरायली मिसाइल प्रतिरोधी प्रणालीहरूलाई रित्याउँदै गइरहेको छ। एउटा अमेरिकी रिपोर्टअनुसार, इजरायलसँग जम्मा १०–१२ दिनसम्मका लागि मात्र पुग्ने मिसाइल प्रतिरोधी इन्टरसेप्टरहरू बाँकी रहेका छन्।
अमेरिकालाई तान्ने प्रयत्न
यसले देखाउँछ कि इजरायललाई धेरै लामो युद्ध लड्न कठिन हुने गर्छ। सन् १९७३ मा अरब गठबन्धनसँग भएको युद्धपछि इजरायलले कुनै पनि ठूलो युद्ध लडेको छैन। हमास र हेज्बोल्लाह जस्ता गैरसरकारी समूहसँग युद्ध लड्नु एउटा कुरा हो, तर इरानजस्तो शक्तिशाली देशसँग लड्नु अर्को कुरा हो। इजरायलले सन् १९८१ मा इराकको आणविक संयन्त्रमा हवाई हमला गरेर ध्वस्त पारेको थियो। उसका ८ वटा एफ-१६ युद्धक विमानले इराकी आणविक संयन्त्रमा आक्रमण गरेका थिए। त्यसैगरी इजरायलले सन् २०१८ मा सिरियाको आणविक संयन्त्रमा पनि हवाई हमला गरेर ध्वस्त पारेको थियो।
अब इजरायलको एक मात्र आशा भनेको अमेरिकालाई जसरी भए पनि इरानमाथि भइरहेको युद्धमा संलग्न गराउनु हो।
यस पटक पनि इजरायलले इरानमाथि त्यस्तै अप्रत्याशित आक्रमण गरेको छ। तर यो आक्रमण उसको उद्देश्यमा पूर्ण सफल भने भएको छैन। अब इजरायलको एक मात्र आशा भनेको अमेरिकालाई जसरी भए पनि इरानमाथि भइरहेको युद्धमा संलग्न गराउनु हो।
के हुन सक्छ इरानी प्रतिरोधका बाटाहरु ?
इजरायलले चाहे जस्तो यो युद्धमा अमेरिका पनि प्रत्यक्ष संलग्न भयो भने, इरानसँग त्यसलाई जवाफ दिन सक्ने केही सम्भावित परिदृश्यहरु बाँकी देखिन्छन् । तीमध्ये सबैभन्दा प्रभावकारी जवाफ भनेको स्ट्रेट अफ हर्मुज (हर्मुज जलसन्धि) मा नाकाबन्दी लगाउनु हो। फारसको खाडीमा सबैभन्दा साँघुरो स्थान भनेको स्ट्रेट अफ हर्मुज हो। यसको चौडाइ जम्मा ३३ किलोमिटर मात्र छ। यसलाई चाहेमा इरानले जुनसुकै बेला अवरोध गर्न सक्छ।
इरानले स्ट्रेट अफ हर्मुज बन्द गर्यो भने विश्वभर तेलको मूल्य दोब्बर बढ्न सक्छ, जसले गर्दा विश्व अर्थव्यवस्थामा समेत प्रतिकूल असर पर्न सक्छ।
खाडी राष्ट्रमा उत्पादित पेट्रोलियम पदार्थ यही बाटो हुँदै जाने गर्छन्। विश्वको तेल आपूर्तिको कुल २०% भन्दा बढी यही मार्ग भएर जाने गर्छ। यदि इरानले स्ट्रेट अफ हर्मुज बन्द गर्यो भने विश्वभर तेलको मूल्य दोब्बर बढ्न सक्छ, जसले गर्दा विश्व अर्थव्यवस्थामा समेत प्रतिकूल असर पर्न सक्छ। विज्ञहरुले त्यो स्थितिमा आर्थिक मन्दी भोग्ने पर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिँदै आएका छन् । इरानले आफ्ना तेल खानी र रिफाइनरीमा क्षति पुगेमा स्ट्रेट अफ हर्मुज बन्द गरिदिने चेतावनी पटक–पटक दिँदै आएको छ।
त्यस्तै, इरानको अर्को सम्भावित कदम हुन सक्छ परमाणु बमको परीक्षण। इरानसँग विभिन्न चरणमा संवर्धन गरिएको युरेनियमको ठूलो परिमाण छ। एउटा अनुमान अनुसार इरानसँग करिब ९ वटा परमाणु बम बनाउन पुग्ने युरेनियम रहेको छ। यो देशसँग परमाणु बम बनाउन सक्ने प्राविधिक क्षमता छ — सम्भवत: बनाइसकेको पनि हुन सक्छ। यदि इरानले चाहेमा, कुनै पनि बेला परमाणु बम परीक्षण गर्न सक्छ। इरानले आफ्नो अस्तित्व खतरामा परेको महसुस गरेमा, यो कदम कुनै बेला चाल्न सक्छ।
इरानका रणनीतिक पात्रको रुपमा रहेका चीन र रुसले यस घटनामा के कस्तो सक्रिय प्रतिरोधात्मक कदमहरु चाल्ने हो, त्यसले पनि निक्कै अर्थ राख्नेछ । खासगरी, यस युद्धमा इरानको हार हुनु भनेको बहुध्रुवीकृत बन्दै गरेको विश्वमा ‘ग्लोबल साउथ’ र ब्रिक्सको ओरालो लगाइको शुरुवात पनि बन्न सक्छ ।
त्यसमाथि थप, यस युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताले समग्र क्षेत्रमा नयाँ खालको भूराजनीतिक चलखेल सिर्जना हुन सक्छ । यस अवस्थामा विश्वभरि नै अमेरिकी स्वार्थकेन्द्रहरु प्रतिरोधको निशाना बन्न पनि सक्छ । त्यसमाथि थप, इरानका रणनीतिक पात्रको रुपमा रहेका चीन र रुसले यस घटनामा के कस्तो सक्रिय प्रतिरोधात्मक कदमहरु चाल्ने हो, त्यसले पनि निक्कै अर्थ राख्नेछ । खासगरी, यस युद्धमा इरानको हार हुनु भनेको बहुध्रुवीकृत बन्दै गरेको विश्वमा ‘ग्लोबल साउथ’ र ब्रिक्सको ओरालो लगाइको शुरुवात पनि बन्न सक्छ ।
आणविक बहानापछि तख्तापलटको कोशिस
इरानलाई आणविक हतियारबाट निशस्त्रीकरण गर्ने आफ्नो मूल उद्देश्य पूरा नहुने देखेपछि इजरायल अब इरानमा सत्ता परिवर्तनमा जोड दिन थालेको छ — जुन उसको बलबुता र क्षमताभन्दा बाहिरको कुरा हो। इरानविरुद्ध सुरु गरिएको युद्ध जित्ने अब एउटै मात्र बाटो भनेको अमेरिकालाई यसमा संलग्न गराउनु हो। इजरायल यसमा भरमग्दुर प्रयास गरिरहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्प पनि यो दलदलमा बिस्तारै तानिँदै गएका छन्। यदि अमेरिका इजरायलको कुटिल जालमा प-यो भने यो युद्ध धेरै लामो समयसम्म चल्न सक्छ, जसको परिणाम अहिले आकलन गर्न सकिँदैन। जसरी इराक, लिबिया र अफगानिस्तानमा अमेरिकाले गरेको आक्रमण र सत्ता परिवर्तनको खेलले भयानक दुष्परिणाम ल्याएको थियो, त्यस्तै अवस्था इरानमा पनि सिर्जित हुन सक्छ। तर अमेरिकाले इरानसँगको द्वन्द्वको कूटनीतिक समाधान गर्न खोजे, इजरायल एक्लैले यो युद्धलाई धेरै दिन लम्याउन सक्दैन।

पश्चिम एशियामा अमेरिकी उपस्थिति: विश्व शान्तिको पहरेदारी कि साम्राज्यवादको स्वा…

मध्यपूर्वको सङ्कटमा युद्ध र शान्ति : एक विश्वपरक दृष्टिकोण

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

सत्ताको शिखरबाटै गणतन्त्रमाथि खतरा !

गाजा: मानवताको मौन मृत्यु र विश्व व्यवस्थाको डरलाग्दो संकट

प्रतिक्रिया