पुतली जीवन

जीवनको गोरेटोमा

 उभिएर हेर्दा

मेरो जीवन

मेरी आमाको जीवन

मेरी बज्यैको जीवन

उस्तै उस्तै रहेछ

 

मेरी बज्यैको जीवन

सिंगो जीवन

घर गोठ मेलापातमा बित्यो

हो, तिनै मेरी बज्यैले

खिच्याउने गोरु बेच्न खोज्दा

ससुराले भनेछन्–

गोठालाले गोरु बेचेर

बेचिन्छ र बेच्छेस् ?

यसरी मेरी बज्यैले

जीवनमा पहिलो चोटि गरेको निर्णय

त्यसै बदर भएछ ।

 

 

उफ ! गाई भए

कहिलेकाहीँ लात हान्थी

पशुभन्दा निम्न स्वामित्वको जीवन

 मेरी बज्यैको जीवन ।

 

मेरी आमा

बर्षा याममा जन्मिएकी

 बर्खी थरुनी

उनको जीवन

भोगबन्धकीमा राखेको खेतजस्तो

कमलरीको जीवन

त्यति मात्र कहाँ हो र ?

 पाठेघर हुनुको सजाय

मालिकहरूका लागि

बग्रेल्ती दास जन्माउने

च्याउ उमार्ने भाँडोजस्तो जीवन

मेरी आमाको जीवन ।

 

मेरो जीवन

सोकेसमा सजिएको पुतलीजस्तो

म कहाँ सजिएकी छैन ?

मधुशालादेखि बेश्यालयसम्म

छाप्रोदेखि महलसम्म

सडकदेखि सदनसम्म

प्रधानमन्त्री नै भएपनि

स्योरोपाभाको पुतलीजस्तो

पितृसत्ताको धरौटी जीवन !

 

हर युगमा

इतिहास सुन्ने

नारी अस्मिताका लागि

कहिले बन्दुक नउठाएको जीवन ।

 

फगत कठपुतली

महिला जीवन

पुतली जीवन ।

 

यिनै जीवन

नारी जीवन

केलाएर हेरें

पछाडिको भूगोल थोरै नापिएछ !

अगाडि लम्बे अभियान बाँकी छ

संघर्ष हो जीवन

संघर्षको निचोड बाँकी छ

महिला मुक्तिका लागि

इन्कलाब बाँकी छ।

मूल्याङ्कन, २०६४ चैतमा प्रकाशित