अमेरिकामा अवैध आप्रवासनविरुद्धको कारबाहीले लस एन्जलसमा झडप चर्कियो

अमेरिकाको लस एन्जलसमा अवैध प्रवासीहरू विरुद्धको कारबाहीको विरोधमा हिंसात्मक प्रदर्शन जारी छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले ती प्रदर्शनकारीहरु विरुद्ध आवश्यक कारबाहीको निर्देशन दिएका छन्। त्यससँगै क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसकी मेयरसँग माफी माग्न भनेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसको स्थिति नियन्त्रणमा ल्याउनका लागि २००० नेशनल गार्ड्स पठाएका छन्। यो पहिलो पटक हो, जब कुनै राज्यको नेशनल गार्डलाई गभर्नरको अनुमति बिना पठाइएको हो। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम र लस एन्जलसकी मेयर क्यारेन बासले ट्रम्पद्वारा पठाइएको नेशनल गार्ड्सको विरोध गरेका छन्।
लस एन्जलसमा विरोध प्रदर्शन तब सुरु भयो, जब आप्रवासन र सीमा शुल्क प्रवर्तन (ICE) विभागले लस एन्जलसमा दुई होम डिपो, एउटा डोनट पसल, र फेसन डिस्ट्रिक्टमा रहेको एउटा कपडाको गोदामसहित धेरै स्थानहरूमा छापा मार्र्यो। शुक्रबार सुरु भएको ती छापा मार्ने कारबाहीमा धेरै स्थानहरूमा शंकास्पद नक्कली कागजात भएका श्रमिकहरूलाई निशाना बनाइएको थियो। एजेन्टहरू भित्र प्रवेश गरेपछि मानिसहरूको भीड जम्मा भइ ICE का सवारीहरू रोकियो र पक्राउ परेकाहरूको रिहाइको माग गरियो।
लस एन्जलसमा शुक्रबार प्रदर्शन त्यतिबेला सुरु भयो जब थाहा भयो कि आप्रवासन सीमा शुल्क प्रवर्तन (ICE) अधिकारीहरू शहरका ती क्षेत्रहरूमा छापा मारिरहेका छन् जहाँ लाटिनो जनसंख्या धेरै छ। BBC का अमेरिकी साझेदार CBS को रिपोर्ट अनुसार यो कारबाही वेस्टलेकसँगै लस एन्जलसको दक्षिणमा पर्ने पैरामाउन्टसम्म पुगेको हो। यहाँको ८२ प्रतिशतभन्दा बढी जनसंख्या हिस्पानिक (मध्य तथा दक्षिण अमेरिकी मुलुकका मानिसहरू) छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आप्रवासन मामिलामा कठोर कारवाही अगाडी बढाइएको छ, जसमा गत महिनामा संघीय एजेन्टहरूलाई प्रतिदिन ३,००० मानिसहरूलाई पक्राउ गर्न आदेश दिइएको थियो। भर्खरै गरिएका छापामारीहरू अमेरिकी इतिहासमा “सबैभन्दा ठूलो निर्वासन अभियान” सञ्चालन गर्ने राष्ट्रपति ट्रम्पको लक्ष्यको हिस्सा हुन्। ICE ले CBS लाई भनेको छ कि शुक्रबारको एक कारबाहीमा एक रोजगारस्थलबाट ४४ अवैध प्रवासीहरूलाई पक्राउ गरिएको छ। त्यही दिन ग्रेटर लस एन्जलस क्षेत्रमा अन्य ७७ मानिसहरूलाई पनि हिरासतमा लिइएको थियो।
यी छापापछि लस एन्जलसस्थित फेडरल भवन प्रदर्शनको केन्द्र बन्यो, किनभने त्यहाँ पक्राउ परेकाहरू राखिएको भन्ने कुरा फैलिएको थियो।
CBS को रिपोर्ट अनुसार त्यसपछि भवनमा क्षति पु¥याउने गरी पर्खालहरूमा चित्र बनाइयो र प्रहरीले फ्यालिएका वस्तुहरू प्रहार गरिएको थियो। त्यसका कारण उक्त प्रदर्शनलाई गैरकानुनी घोषणा गरियो।
अमेरिकाको लस एन्जलसमा शुक्रबार ट्रम्पको निर्वासन नीतिअनुसार अवैध प्रवासीहरू विरुद्ध छापा मार्ने कारबाही गरिएको थियो। यस छापाको विरोधमा त्यहाँ प्रदर्शन सुरु भयो जुन २०२५ जुन ८ मा हिंसात्मक झडपमा परिणत भयो। लस एन्जलस काउन्टी प्रहरी विभाग (LASD) ले जनाएको छ कि शुक्रबारदेखि लस एन्जलसमा फैलिएको अशान्तिका क्रममा हिंसा देखिएको छ। यसका साथै आतिशबाजी गरिएको थियो र बोतलसम्म फालिएको थियो। एउटा कार जलाइएको थियो।
यस क्रममा आप्रवासन विभागले धेरै अवैध प्रवासीहरूलाई हिरासतमा लिएको छ। यस घटनाक्रमपछि लस एन्जलसमा स्थिति निकै तनावपूर्ण छ। धेरै दिनसम्म हिंसात्मक झडपपछि प्रहरीले सार्वजनिक सभाहरूमा प्रतिबन्ध लगाएको छ। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेका छन्। उक्त मुद्दामा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १०औं संशोधन अन्तर्गत राज्य सरकारको अधिकारमा “अतिक्रमण” गरेको आरोप लगाएका छन्।
यसअघि लस एन्जलसकी मेयर क्यारेन बासले एक्स पोस्टमा प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण तरिकाले विरोध गर्न आह्वान गरेकी छन् ताकि उनीहरू “ट्रम्प प्रशासनको जालमा नफसून्। शान्तिपूर्ण तरिकाले विरोध गर्नुहोस्। लुटपाट र बर्बरता सहन सकिँदैन।”
नेशनल गार्डको तैनातीबारे पनि क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम र LA की मेयर क्यारेन बासले उक्त कदमको निन्दा गरेका थिए र भनेका थिए कि उनीहरूको विश्वास छ कि स्थानीय प्रहरीले स्थिति सम्हाल्न सक्छ।
क्यालिफोर्नियाका अटर्नी जनरल रब बोन्टा ले दाबी गरेका छन्, “यो तैनाती संघीय सरकारको अधिकार क्षेत्रभन्दा बाहिरको हो” र १०औं संशोधनको उल्लंघन गर्दछ।
मुद्दालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “तपाईंले म हेरेको जस्तै क्लिप हेर्नुहोस्। गाडीहरू जलिरहेका थिए, मानिसहरू दंगा गरिरहेका थिए, हामीले यसलाई रोकेका थियौं। यदि हामीले काम नगरेका भए त्यो स्थान पनि घरहरू जस्तै जल्ने थियो।”

ट्रम्प र रुबियोले क्युबामाथि फन्दा कस्दै

इरानमाथि इजरायली आक्रमण

इरानका सर्वोच्च नेता खोमेनीद्वारा अमेरिकी आणविक प्रस्ताव अस्वीकार

गाजाका झण्डै आधा बालबालिकाहरू आत्महत्या गर्ने सोचमा छन् !

पीकेकेको बिघटन

छत्तीसगढ–तेलंगाना सीमामा माओवादी बिद्रोही बिरुद्धको अभियान स्थगित

भारतको 'अपरेशन सिन्दूर' पछि पाकिस्तानी प्रतिक्रिया, ट्रम्पद्वारा आलोचना

प्रतिक्रिया