सार्थक कृतिको आगमन

कोरोना महामारीबाट चार वर्षअघि कीर्तिशेष हुनु भएका प्रा. राजेन्द्र सुवेदीको मरणोपरान्त प्रकाशित पाँचौं कृति हालै पाठकमाझ आएको छ । ‘भूमिका र समालोचना: केही झलक’ नाम दिइएको प्रस्तुत कृति नीलकमलको सम्पादनमा हालै निस्किएको हो । निबन्धका अतिरिक्त समालोचना विधाका नेपाली साहित्यका प्रतिनिधि लेखक सुवेदीको सो कृतिमा सैद्धान्तिक, प्रायोगिक, विषयकेन्द्री, व्यक्तिकेन्द्री र केही गहन भूमिकाहरु सङ्गृहीत छन् ।

तेह्र ओटा समालोचना, दुई ओटा प्रबन्धात्मक आलेख र आठ ओटा अन्य सर्जकहरुका कृतिमाथि लेखिएका विशेष भूमिकाहरु यहाँ सङ्ग्रहीत छन् । समालोचनामा पाश्चात्य परिवेश हुँदै नेपाली साहित्यमा भित्रिएको उत्तरआधुनिकतावाददेखि भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा तथा माधवप्रसाद घिमिरेको लेखकीय दृष्टिकोणको सैद्धान्तिक र वैचारिकसमेत चिरफार गर्दै कृति संरचित छ । यसका अतिरिक्त बालसाहित्य विषयक समालोचनाहरु पनि यहाँ छन् भने पुरानामा भानुभक्तदेखि लिएर नयाँ पुस्ताका अनिल श्रेष्ठसम्ममा कृति विस्तारित रहेको छ । यसरी हेर्दा सुवेदीका बहुविधा र बहुदृष्टिकोणमा आधारित लेखनको नमूना कृति बनेको छ ‘भूमिका र समालोचना: केही झलक’ ।

नेपाली समालोचनाका क्षेत्रमा प्रगतिवादी विचारलाई आत्मसात् गरे पनि सुवेदीको समालोचना लेखन स्वतन्त्र प्राज्ञिक शैलीको नमुना रहेको पाइन्छ । प्राक्संस्कृत साहित्यका ज्ञाता रामानन्द गिरीको लेखनयात्राको विहङ्गावलोकनदेखि नेपाली पत्रसाहित्यको सैद्धान्तिक पक्ष र यसको ऐतिहासिकतासमेत कृतिले समेटेको छ । प्रवन्धात्मक आलेखका रुपमा नेपाली चलचित्रको वर्तमान अवस्था र यसले लिनुपर्ने बाटोदेखि सत्यं, शिवं, सुन्दरं जस्ता दार्शनिक आलेखसमेत यहाँ समावेश रहेका छन् । अनुवाद कलाको समीक्षणदेखि महाकाव्यको विश्लेषसमेत कृतिमा अटाएकाले यसले बृहत् आयाम समेटेको पाइन्छ । कृतिमा सबभन्दा महत्वपूर्ण कुरा सुवेदीले २०३२ मा लेखेको भूमिकासमेत समावेश छ जो भीम खरेलको नाटकमाथि लेखिएको हो ।

विशेष गरी निबन्ध तथा कवितामाथि केन्द्रित समीक्षा समालोचना भूमिका र समालोचना: एक झलक कृतिमा रहेका छन् । गणेशबहादुर प्रसाईँ, रामप्रसाद पन्त तथा बालकृष्ण पोखरेलजस्ता हस्तीको फरक कोणबाट चिरफार गरिनुले पनि कृतिलाई ओजपूर्ण बनाएको छ । कलावादी आन्दोलन प्रभाववादले साहित्यमा पारेको प्रभावको पनि कृतिमा उठान भएको छ भने लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेमाथि दुई दुई ओटा समालोचनात्मक लेख छन् यहाँ । यी समालोचना र प्रवन्धात्मक आलेखहरु सुवेदीको जीवनकालमा लेखिएका र पत्रपत्रिकामा छरिएका फुटकर रचना हुन् जो यो कृतिमार्फत समेटिएका छन् । कृति, व्यक्तित्व तथा बहुलतालाई सङ्केत गर्ने यी आलेखहरु सैद्धान्तिक र प्रायोगिक आवरणमा प्रकाशमा आएका छन् । केही समालोचना इतरका आलेखहरुमा नैबन्धिक समालोचकीय चेत पनि छ भने आधिकांश भूमिकाले भूमिकाको तहभन्दा माथि उठेर बृहत् समालोचनाको आकार ग्रहण गरेका छन् । यो कृतिका भूमिकाकार प्रा. डा. गोविन्दराज भट्टराईले यो कृतिलाई सुवेदीको एउटा मानक ग्रन्थको उपमा दिनु भएको छ जसबाट पनि यसको महत्वलाई आँकलन गर्न सकिन्छ ।

नेपाली साहित्यमा देखापरेका विचारधारा र वादहरुको चर्चादेखि नयाँपुस्ताका सर्जकहरुमाथिको लेखकको उत्खनन कृतिको अर्को उल्लेख्य पक्ष हो । आजको साइबर संस्कृतिको लघु उत्खनन पनि यहाँ भएको छ भने रचनाको सूक्ष्म तन्तुको खोजी गरी त्यसलाई सतहमा ल्याउने शैली यहाँ सङ्गृहीत अधिकांश सामग्रीमा पाइन्छ । लेखकका प्रस्ट सिमा बताएका छन् सुवेदीले हरेक भूमिका र समालोचनामा जसले कृतिभित्रका झिना मसिना कुरालाई पनि पाठकलाई खोतल्न मद्दत गर्दछ । यी लगायत यावत तथ्यहरुले कृतिलाई गह्रुङ्गो बनाएका छन् ।

वरिष्ठ कलाकार तथा प्राज्ञ रविन कोइरालाको आकर्षक आवरण सज्जाले कृतिलाई मनमोहक बनाएको छ भने छपाइ सुन्दर रहेको छ । कीर्तिशेष सुवेदीको ओज र गरिमालाई यो कृति प्रकाशनले थप बढाउने कुराको आकलन गर्न सकिन्छ  । 

कृति: भूमिका र समालोचना: केही झलक

कृतिकार प्रा. राजेन्द्र सुवेदी

सम्पादक: नीलकमल

प्रकाशक नूरगङ्गा प्रतिभा पुरस्कार गुठी

आवरण: प्राज्ञ रविन कोइराला

मूल्य: ५००।–

संस्करण: प्रथम, २०८२