बन्धक विवेक र अन्धभक्तिको उत्सव

उहिलेको कुरा हो। तिब्बतमा दलाई लामाको दरबारमा उनको लागि शौचालय बनाइएको हुन्न थियो रे ! उनले मलमूत्र एउटा भाडामा त्याग गर्थे। उनको मलमूत्र खेर जाँदैन थियो। त्यसलाई अमूल्य मानिन्थ्यो। बिहानै पोतला दरबारमा दलाई लामाको मलमूत्र थापेर उनका भारदारहरूले त्यसलाई सुनको भाउमा बेच्ने गर्थे रे। उनको दिसा–पिसाब खाएमा वा त्यसबाट बनेको औषधि खाएमा जस्तोसुकै असाध्य रोग पनि निको हुन्छ भन्ने विश्वास थियो। दलाई लामाको मलमूत्र औषधिको रूपमा तिब्बती औषधिशास्त्रमा प्रयोग गरिन्थ्यो। उनको मलमूत्र प्राप्त गर्न हजारौँ मानिसहरूको भीड लाग्ने गर्थ्यो। त्यसलाई पाउन धनीमानी र धार्मिक व्यक्तिहरूको बीचमा होडबाजी पनि चल्थ्यो रे। दलाई लामाको मलमूत्र प्राप्त गर्न नसक्नेहरूले उनीभन्दा तलका अफिसरहरूको मलमूत्र पनि लिएर जान्थे रे, औषधिको रूपमा काम चलाउन !

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू झोले भएको स्वघोषणा गर्दै एउटा अभियान सुरु गरे। उनले जेठ १७ गते एमालेको बुद्धिजीवी परिषद्को महाधिवेशनमा भाषण गर्दै भनेका थिए – “मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ, जनताको हित, राष्ट्रको हित र इज्जतको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ।” यसको दुई दिनपछि उनले आफ्नो फेसबुकमा आफ्नो तस्बिर अंकित फ्लायर्स सार्वजनिक गरे। जसमा लेखिएको थियो –

 म झोले हो।

एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देश परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम चरित्र हो। यो फ्लायर्ससँगै स्ट्याटस पनि लेखिएको थियो – हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ।

प्रधानमन्त्री ओलीले झोले स्वघोषणा गर्ने अभियान सुरु गर्नासाथ एमालेका थुप्रै नेता–कार्यकर्ताहरू समेत त्यसमा तछाडमछाड गर्दै सामेल भएका छन्। उनीहरूले पनि फेसबुकमा त्यही टेम्प्लेटको फ्लायर्समा आफ्नो तस्बिर राखेर आफूलाई सगर्व झोले दाबी गर्न थालेका छन्। यसमा प्रमुख छन्– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, पार्टी महासचिव शंकर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पार्टी उपमहासचिव प्रदीप ज्ञवाली आदिले समेत सामेल छन्।

यो अभियान केन्द्रदेखि जिल्ला तहसम्म पुगेको देखिन्छ। आम मानिसहरूले सामाजिक सञ्जालमार्फत एमालेको झोले अभियानको खिल्ली उडाउन थालेपछि महासचिव शंकर पोखरेलले त्यसलाई वैचारिक जामा पहिराउँदै स्पष्टिकरण स्वरूप “एमालेको झोलामा के छ” भनेर प्रस्ट पार्ने प्रयास गरेका छन्। उनका अनुसार एमालेको झोलामा निम्न सामानहरू हुन्छन्:

१. मार्क्सवादी दर्शन

२. जबजको मौलिक कार्यक्रम र सिद्धान्त

३. विकसित परिपक्व लोकतन्त्रको मान्यता

४. देशहितमा आधारित सन्तुलित, असंलग्न परराष्ट्र नीति

५. पार्टी जीवनमा नयाँ लोकतान्त्रिक अभ्यास

६. जनतासँग घनिष्ठ सम्बन्ध र जीवनशैली

७. समाजवाद निर्माणको नेपाली मार्गचित्र

यतिबेला एमालेको झोले अभियान नेपाली समाजमा व्यापक खिल्ली उडाउने विषय बनेको छ। आम मानिसहरूले यसलाई मज्जाले हाँसो–ठट्टामा उडाइरहेका छन्। गिल्ला पनि किन नगरून्, नेपाली समाजमा "झोले" शब्दलाई राम्रो रूपमा लिइँदैन। ‘कू’तर्कको सहारा लिएर ‘झोले हुनुको अर्थ प्रतिबद्ध र इमान्दार हुनु हो’ भन्ने कुरा साबित गर्न जतिसुकै प्रयत्न किन नगरिउन्, नेपालमा स्थापित मान्यताअनुसार झोले भन्नाले ‘अर्काको झोला बोकेर हिँड्ने, कुनै स्वविवेक नभएको र परआश्रित मान्छे’कै रूपमा बुझिन्छ। आफूलाई झोले भनेर स्वघोषणा गर्नाले जानी–नजानी एमाले नेताहरूले आफ्नो चेतनाको स्तर उदाङ्गो पारेका छन्।

पार्टीका कार्यकर्ताहरू हुनु भनेको कसैको दास अथवा कमारो हुनु होइन। कार्यकर्ताले आफ्नो पार्टीको विचार र नेताको गलत क्रियाकलापको आलोचना गर्न सक्छ। भलै पार्टीमा अनुशासनका विभिन्न कार्यविधिहरू होलान्, तर त्यसले कार्यकर्ताको स्वविवेकलाई बन्धक बनाउन सक्दैन। यहाँ त्यसको बिल्कुल विपरीत दृश्य देखिएको छ। आफ्नो सर्वोच्च नेताको गलत भनाइलाई पुष्टि गर्न सम्पूर्ण पार्टी पंक्ति नै सति जान लागेको भान हुँदैछ।

आजभन्दा २५०० वर्ष अगाडि नेपालकै भूमिमा जन्मेका महामानव बुद्धले भनेका थिए – हरेक कुरामा सन्देह गर। उनले समाजमा चलिआएको विश्वास, कसैको भनाइ, शिक्षा वा ज्ञानलाई अन्धभक्त भएर स्वीकार नगर्नु। त्यस्तो ज्ञानमाथि शंका गर्नु, त्यसमाथि चिन्तन–मनन गर्नु अनि जब त्यो सत्य लाग्छ, त्यसपछि मात्र विश्वास गर्नु भनेका थिए।

त्यस्तै, महान फ्रेन्च दार्शनिक र वैज्ञानिक रेने देकार्टले भनेका थिए – "म सोच्छु, त्यसकारण म छु (I think, therefore I am)।" यसको अर्थ हुन्छ, सोच्नुको अर्थ मानवको अस्तित्वको प्रमाण हो। तर यहाँ आफ्नो विचार र विवेकलाई बन्धक बनाएर नेताले जे भन्यो त्यही पछ्याउने अन्धभक्तहरूको जमात लाम लागेर खडा भएको देखिन्छ।

महापुरुषको शरीरबाट महान विचारहरू मात्र निस्किँदैनन्। उनीहरूको शरीरले पनि विकारहरू विसर्जन गर्ने गर्दछ। नेताको भन्दैमा र्‍याल, सिगान, डकार र मलमूत्र अमूल्य हुँदैन। महापुरुषको भन्दैमा उसको विकारहरूलाई औषधि ठानेर सेवन गर्नु वा निधारमा चन्दनजस्तै दल्नु मूर्खता हो। कुनै व्यक्ति, चाहे त्यो महापुरुष नै किन नहोस्, उसको भनाइलाई वेदवाक्य ठानेर अन्धअनुकरण गर्नु ठूलो मूर्खता हो। यसले जगहँसाइ बाहेक अरू केही निम्त्याउँदैन।

झोले प्रकरणमा अहिले जसरी एमालेभित्र शीर्षासनमा विराजनमान नेताले भनेकै भरमा त्यसलाई बिनाप्रश्न अनुकरण गर्ने चलन देखिएको छ, त्यसले नेपालका कम्युनिष्ट पार्टीहरुको अस्तित्व पार्टीको रुपमा हैन, एउटा सम्प्रदायको रुपमा विकसित भइसकेको प्रतीत हुन्छ । त्यस्तो सम्प्रदाय, जसमा शीर्षासनमा बसेका स्वामीले बोलेका कुरा र दिएका आदेशहरुलाई उनी तलका ‘भक्त’हरुले बिनासन्देह, विनाप्रश्न खुरुखुरु मान्ने गरिन्छ । के साँच्चै नै एमाले त्यस्तो सम्प्रदायको ढाँचामा चल्ने पार्टीमा रुपान्तरण भइसकेकै हो त ?