बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

जब हामी आकाशमा हेर्छौं, टिमटिमाउने ताराहरूको भीड देखिन्छ। हाम्रा नाङ्गा आँखाले त्यसमा खासै फरक फेला पर्दैन । ती मध्ये केही यस्ता हुन्छन् जसको आकार, शक्ति र जीवनशैलीले वैज्ञानिकहरुलाई तथा खगोल विज्ञानमा रुची राख्नेहरुलाई भने चकित तुल्याउँछ। यस्तै एक तारा हो बेटेल्ज्युस (Betelgeuse) - ओरायन तारामण्डलको काँधमा बसेको विशाल रातो सुपरजायन्ट।

सन् २०१९-२० मा यसको एकाएक घटेको चमक (Great Dimming) ले खगोलशास्त्रको संसारलाई हल्लाइदियो। अहिले पुनः त्यही खालको घट्दो चमक देखिएको छ, जसले फेरि एकपटक यो तारा सुपरनोभा (Supernova) हुने हो कि भन्ने जिज्ञासा जन्माएको छ। बेटेल्ज्युसको रहस्यलाई केलाउनुपूर्व ताराहरूको जन्मदेखि मृत्युसम्मको चक्र पनि सरल भाषामा बुझ्ने प्रयास गरौं ।

ताराहरू कसरी जन्मन्छन्?

ताराहरूको जन्म विशाल अन्तरिक्षीय ग्यास र धूलोका बादलहरूबाट हुन्छ। त्यस्ता अन्तरिक्षीय ग्यास र धूलोका बादलहरुलाई "नेब्युला" भनिन्छ । जब यी बादलहरू गुरुत्वाकर्षणको कारण संकुचित हुन थाल्छन्, त्यहाँ थुप्रिने दबाब र तापक्रमले हाइड्रोजन अणुहरूलाई एक-अर्कासँग गाभिन थाल्छ। यस प्रक्रियालाई नाभिकीय संलयन (nuclear fusion) भनिन्छ। जब संलयन सुरु हुन्छ, तब तारा जन्मिन्छ र त्यसले प्रकाश तथा उर्जा उत्सर्जन गर्न थाल्छ।

ताराहरू किन बुढा हुन्छन्?

ताराहरूको जीवन उनीहरूको आकार (mass) मा भर पर्छ। हाम्रो सूर्यजस्ता साना ताराहरू अरबौं वर्ष बाँच्न सक्छन्। तर बेटेल्ज्युस जस्ता अत्यधिक ठूला ताराहरू छिटो बुढो हुने गर्छन्। यसो हुनुको कारण तीभित्रको उच्च ताप र दबाबले त्यसमा रहेको मूल इन्धन (हाइड्रोजन) छिटो जलाइदिन्छ। हाइड्रोजन सकिएपछि ताराले हिलियम, कार्बन, अक्सिजन हुँदै फलाम (iron) सम्मका भारी तत्त्वहरू बनाउन थाल्छ।

तर फलामको संलयनबाट उर्जा ननिस्कने हुनाले केन्द्रमा फलाम जम्मा हुँदा तब तारा अस्थिर बन्छ। गुरुत्वबलले केन्द्रलाई भित्र तान्न थाल्छ, र बाहिरी भाग एकाएक विस्फोट हुन्छ - यही नै सुपरनोभा हो।

बेटेल्ज्युसमा अहिले के भइरहेको छ?

बेटेल्ज्युस पृथ्वीबाट करिब ६४० प्रकाशवर्ष टाढा छ र खुला आँखाले देख्न सकिने सबैभन्दा उज्यालो ताराहरू मध्येको एक हो। हाल यो तारा सन् २०१९ मा जस्तै गरी  पुनः मन्द हुँदैछ । यस घटनालाई विश्लेषण गर्ने क्रममा वैज्ञानिकहरूले के आँकलन गरेका छन् भने सन् २०१९ मा यसको सतहबाट ठूलो मात्रामा ग्यास बाहिर निस्कियो, जुन पछि चिसिएर धूलो बन्यो र त्यसले प्रकाश छेक्यो। अहिलेको मन्दता पनि त्यही प्रक्रियाको पुनरावृत्ति हुन सक्छ।

तर केही वैज्ञानिकहरू यो घट्दो चमकलाई बेटेल्ज्युसको जीवनको अन्त्य अर्थात् सुपरनोभा विस्फोटको पूर्वसंकेतका रूपमा पनि हेरेका छन्। यसको चमक लगभग ०.५ परिमाणले घटेको छ, जुन सामान्य भन्दा फरक देखिन्छ।

यदि बेटेल्ज्युस विस्फोट भयो भने?

यदि बेटेल्ज्युस आजै सुपरनोभा भयो भने, त्यो तारा हाम्रो पृथ्वीको आकाशमा पूर्णचन्द्र भन्दा पनि उज्यालो देखिनेछ। त्यसलाई खुला आँखाले दिनको समयमा समेत देख्न सकिनेछ। यसको विस्फोटबाट पृथ्वीलाई कुनै सीधा क्षति हुँदैन, किनभने यो तारा धेरै टाढा दूरीमा छ। तर खगोलशास्त्रको इतिहासमा यो सबैभन्दा नजिकको सुपरनोभा अवलोकन हुनेछ।

ताराको मृत्युपछि के हुन्छ?

ताराको अन्त्य पनि तिनको आकारमा भर पर्छ। बेटेल्ज्युस जस्तो ठूलो तारा सुपरनोभा भएपछि यदि बाँकी पदार्थ अत्यधिक भएमा न्युट्रोन तारा (neutron star) बन्न सक्छ, अथवा झन् ठुलो भएमा कालो प्वाल (black hole) मा परिणत हुन्छ। यी तत्त्वहरू ब्रह्माण्डको सबैभन्दा रहस्यमय वस्तुहरूमध्ये पर्दछन्।

निष्कर्ष

बेटेल्ज्युसको घट्दो चमक विज्ञानको लागि रहस्य मात्र होइन, गहिरो खोज र अवलोकनको अवसरसमेत हो। यो तारा कहिले विस्फोट हुन्छ भन्ने ठ्याक्कै अनुमान गर्न सकिन्न । तर खगोल विज्ञानको लागि भने यो निक्कै रोमाञ्चक कुरा हो । त्यसैले वैज्ञानिकहरूले यस ताराका हरेक गतिविधि कडाइका साथ नियालिरहेका छन्। यस घटनाले हामीलाई ताराको जीवन, मृत्यु र ब्रह्माण्डका सूक्ष्म प्रक्रियाहरू बुझ्न मद्दत गर्छ।

जब आकाशमा हेर्दा बेटेल्ज्युसलाई टिमटिमाउँदो देख्नुहुन्छ, सोच्नुहोस् - त्यो तारा कुनै दिन एक यस्तो विस्फोटमा रूपान्तरण हुनेछ,  जसले केही समयको लागि हाम्रो आकाश नै उज्यालो पारिदिनेछ ।

Image source: https://www.sott.net/image/s28/565377/full/betelgeuse_1920x1200.jpg

स्रोतहरू:

NASA (www.nasa.gov)

European Southern Observatory (www.eso.org)

EarthSky.org

Nature Communications, 2023

Sky & Telescope Magazine