भुइमान्छेः नेपालको सबअल्टर्न दृष्टिकोण

सबअल्टर्न अध्ययनको इतिहास २०औं शताब्दीको सुरुमा एन्टोनियो ग्राम्सीको “सबअल्टर्न“ अर्थात् सीमान्तकृत, गैर–आधिपत्य समूहहरूको अवधारणाबाट सुरु हुन्छ। यो अवधारणाले सन् १९६० को दशकको पश्चिमी इतिहास लेखनमा “हिस्ट्री फ्रम बिलो (history from below)” आन्दोलनसँग मिलेर ऐतिहासिक अनुसन्धानका लागि एक परिवर्तनकारी दृष्टिकोणको आधार बनायो। यसले इतिहास लेखनमा सीमान्तकृत समूहहरूको अनुभवलाई प्रकाश पार्न खोजेको थियो। सन् १९७० को दशकको उत्तरार्धमा, रंजीत गुहाको नेतृत्वमा दक्षिण एसियाली विद्वानहरूको एउटा समूहले औपचारिक रूपमा सबअल्टर्न स्टडीज समूह (SSG) को स्थापना गर्यो। उनीहरूको मुख्य उद्देश्य भारतको औपनिवेशिक र राष्ट्रवादी दुवै ऐतिहासिक विवरणहरूमा पाइने अन्तर्निहित “अभिजात वर्गको पूर्वाग्रह“लाई आलोचनात्मक रूपमा चुनौती दिनु थियो। लेखनमा अभिजात वर्गको प्रतिनिधित्वको विकल्पमा किसान, मजदुर र अन्य शक्तिहीन समुदायहरूको चेतनालाई प्रकाश पार्नु थियो।
यो अवधारणा ज्ञान निर्माणको प्रक्रियालाई औपनिवेशिक प्रभावबाट मुक्त गर्न र ऐतिहासिक रूपमा बेवास्ता गरिएका समुदायहरूको आवाज र अनुभवहरूलाई केन्द्रमा राख्नका लागि एक शक्तिशाली र प्रासंगिक बौद्धिक शक्तिको रूपमा कायम छ।
सन् १९८२ मा सबअल्टर्न स्टडीज (Subaltern Studies) को प्रकाशनसँगै यसको औपचारिक सुरुवात भयो। त्यस पश्चात् प्रज्ञिक जगतमा यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो। विशेष गरी सन् १९८० को दशकको उत्तरार्ध र १९९० को दशकमा उत्तर–औपनिवेशिक सिद्धान्तलाई गायत्री चक्रवर्ती स्पिभाक र दिपेश चक्रवर्ती जस्ता विद्वानहरूका मुख्य योगदानहरूले यस अवधारणालाई विश्वव्यापी रूपमा विस्तार गर्यो। यो अवधारणा ज्ञान निर्माणको प्रक्रियालाई औपनिवेशिक प्रभावबाट मुक्त गर्न र ऐतिहासिक रूपमा बेवास्ता गरिएका समुदायहरूको आवाज र अनुभवहरूलाई केन्द्रमा राख्नका लागि एक शक्तिशाली र प्रासंगिक बौद्धिक शक्तिको रूपमा कायम छ।
आधुनिक नेपालमा सबअल्टर्न अध्ययनको इतिहास, औपचारिक रूपमा सन् १९९० पछि देखा परे पनि, निरंकुश शासनहरू विरुद्ध सीमान्तकृत समूहहरूको प्रतिरोधदेखि नै इतिहासमा सिमान्तकृतहरूको हस्तक्षेपको खाका कोर्न सकिन्छ। राणा (१८५३–१९०७) र पञ्चायत (२०१७–२०४६) कालमा विभिन्न “सबअल्टर्न“ आवाजहरू राजनीतिक सक्रियता, साहित्य र भूमिगत प्रकाशनहरू मार्फत अभिव्यक्त हुने गर्दथे। टंकप्रसाद आचार्य, गोपालदास अमात्य, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, बी.पी. कोइराला, पुष्पलाल, पारिजात, मोदनाथ प्रश्रित र प्रदीप नेपालजस्ता लेखकहरूले नेपालमा सिमान्तकृतका लेखनीलाई सतहमा ल्याउने काम गरे।
सिमान्तकृत माथिका प्राज्ञिक योगदानहरूले ऐतिहासिक रूपमा बेवास्ता गरिएका समुदायहरूको अनुभवहरूलाई सतहमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
सन् १९९० मा प्रजातन्त्रको पुनर्स्थापना पछि, विश्वव्यापी सबअल्टर्न स्टडीज समूहको प्रभावसँगै नेपालमा “सबअल्टर्न“ दृष्टिकोणहरू अझ स्पष्टसँग सतहमा आउन थाले। जिफन्ट र मार्टिन चौतारीजस्ता संस्थाहरू “तलबाट इतिहास” को वकालत गर्नमा महत्त्वपूर्ण बने। यस अवधिमा विशेष सीमान्तकृत समूहहरूबाट नै प्राज्ञिक हस्तक्षेपहरू हुन थाले। पद्मलाल विश्वकर्मा, कृष्णबहादुर भट्टचन, महेन्द्र लावती, मीना आचार्य, सेइरा तामाङ, महेशचन्द्र रेग्मी, जगन्नाथ अधिकारी, सी.के. लाल, बाबुराम भट्टराई, प्रत्यूष वन्तजस्ता बुद्धिजीवीहरूले योगदान पुर्याए। सिमान्तकृत माथिका प्राज्ञिक योगदानहरूले ऐतिहासिक रूपमा बेवास्ता गरिएका समुदायहरूको अनुभवहरूलाई सतहमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
डा. बिन्दा पाण्डे नेपालमा सबअल्टर्न लेखनमा एक परिचित नाम हुन्। उनका लेखनी विशेष गरी सीमान्तकृत महिला, राजनीतिज्ञ र श्रमिकहरूको अनुभवमा केन्द्रित छन्। उनका प्रकाशित पुस्तकहरूमा ‘वुमन इन नेपाली पोलिटिक्स’, ‘धर्तिमाथिको दाबी अधिकारको लडाइँ’, ‘समानताका पाइलाहरू’, ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ मुख्य हुन्। हालसालै उनको ‘आश्रय, सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे’ नामक पुस्तक प्रकाशित भएको छ, जसमाथि यस लेखमा संक्षिप्त चर्चा गरिएको छ।
राज्यसत्तामा दशकौँ क्रियाशील रहेर पनि सीमान्तकृतको बारेमा निरन्तर बोल्नु र लेख्नु पाण्डेमा रहेको सुदृढ मार्क्सवादी चिन्तनको प्रमाण हो। सीमान्तकृतको पक्षमा आफ्नो दृढताका कारण हाल उहाँ आफैँले निर्माण गरेको पार्टीबाट निलम्बनको अवस्थामा पुग्नुभएको छ, जसले उहाँलाई मूलधारको राजनीतिबाट केही समयका लागि सीमान्तकृत बनाएको छ।
पाण्डे सन् १९५० पछि नेपालको राजनीतिक जीवनमा मूलतः राज्यसत्ताको संस्थापनमै रहनुभयो, र उहाले नेपाली राज्यसत्ताको एक मुख्य अंशियार नेकपा (एमाले) को एक शक्तिशाली नेतृको रूपमा विभिन्न जिम्मेवारीहरू निर्वाह गर्नुभयो। राज्यसत्तामा दशकौँ क्रियाशील रहेर पनि सीमान्तकृतको बारेमा निरन्तर बोल्नु र लेख्नु पाण्डेमा रहेको सुदृढ मार्क्सवादी चिन्तनको प्रमाण हो। सीमान्तकृतको पक्षमा आफ्नो दृढताका कारण हाल उहाँ आफैँले निर्माण गरेको पार्टीबाट निलम्बनको अवस्थामा पुग्नुभएको छ, जसले उहाँलाई मूलधारको राजनीतिबाट केही समयका लागि सीमान्तकृत बनाएको छ। सक्रिय राजनीतिबाट आफू सीमान्तकृत भएको यही समयको सदुपयोग गर्दै उहाँले सीमान्तकृतको पक्षमा अर्को एउटा पुस्तक प्रकाशन गर्नुभएको छ।
पाण्डेजस्ता राज्यसत्तालाई चिनेका नेताहरूबाट आम मानिसले बौद्धिक रूपमा गर्ने अपेक्षा असंख्य हुने गर्दछ। राज्यसत्ताको स्वरूप, यसलाई सञ्चालन गर्ने शक्तिहरू, यसको दोहनका प्रमाणहरू र यसबाट नागरिकहरू कसरी पिल्सिरहेका छन् भन्ने जस्ता विषयमा पाण्डेजस्ता व्यक्तिहरूबाट निरन्तर प्रकाशनहरूको अपेक्षा हुने गर्दछ। त्यस्ता राज्यसत्ताका सघन विषयहरूमा मौन रहँदासम्म गरिने प्रकाशनहरूले ज्ञानको क्षेत्रमा योगदान गरे तापनि सिमान्तकृतको जीवन उकास्न सक्दैनन्।
सङ्घर्षपश्चात स्थापित व्यवस्थामा भुइँमान्छेहरू प्रत्येकपटक बिर्सिए। सेल्टर लिनेहरू शासक बने भने सेल्टर दिनेहरू सधैँ शासित नै रहिरहे।
भुइँमान्छे जसलाई वर्गीय रूपमा गरिब, लैङ्गिक अल्पसंख्यक, क्षेत्रीय रूपमा पछाडि परेका र जातीय रूपमा दमितहरूको रूपमा परिभाषित गरिएको छ – हरेक आन्दोलनका सारथि र सेल्टरदाता हुन्। चाहे त्यो राणा विरोधी आन्दोलन होस्, पञ्चायत विरोधी आन्दोलन होस्, सशस्त्र युद्ध होस् वा गणतन्त्र र सङ्घीयताका लागि सडक सङ्घर्ष होस्, भुइँमान्छे सधैँ अग्रपङ्तिमा थिए। तर, सङ्घर्षपश्चात स्थापित व्यवस्थामा उनीहरू प्रत्येकपटक बिर्सिए। सेल्टर लिनेहरू शासक बने भने सेल्टर दिनेहरू सधैँ शासित नै रहिरहे। नेपालमा व्यवस्था धेरै परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको यही कारणले गर्दा हो।
पाण्डे सम्बद्ध पार्टीका अधिकांश सहकर्मीहरू राज्यसत्ताको संस्थापन पक्ष बनेपछि भौतिक रूपमा सम्पन्न बने। नेतृत्वले व्यक्तिगत सम्पन्नतालाई प्रमुखता दिँदा उनीहरू भुइँमान्छेका मुद्दाभन्दा सम्भ्रान्तका मुद्दामा बढी केन्द्रित हुन थाले। यस्तो विसंगतिमा पनि पाण्डेलाई भुइँमान्छेकै कथा र मुद्दा लेख्न के कुराले प्रेरित गर्यो भन्ने कौतुहलता जो–कोहीलाई लाग्न सक्छ। लामो समय श्रमिक क्षेत्रमा काम गरेको अनुभव, पार्टीका श्रमिक कार्यकर्ताहरूको निरन्तर सीमान्तकृत अवस्था, र जिफन्टको ‘आफ्नै कथा’ जस्ता प्रकाशनहरूसँगको उनको संलग्नताले यो प्रेरणा दिएको देखिन्छ। सत्तासीन पार्टीको केन्द्रीय स्तरको नेताको भुइँमान्छेप्रतिको यो जिम्मेवारीबोध साँच्चिकै प्रशंसनीय छ।
यो पुस्तक नेपालको राजनीति, विशेष गरी वामपन्थी तथा कम्युनिष्ट राजनीतिमा चासो राख्नेहरूका लागि पढ्नैपर्ने एउटा महत्त्वपूर्ण सन्दर्भ सामग्री हो। पुस्तकमा विभिन्न समय र क्षेत्रका सेल्टरदाताहरूको विवरण समावेश गरिएको छ, जुन अत्यन्तै रोचक र जानकारीमूलक छ। यो पुस्तक नेकपा (एमाले) को संक्षिप्त इतिहास पनि हो र नेपालको समाजशास्त्रीय अध्ययनमा रुचि हुनेहरूका लागि राम्रो स्रोत समेत हो। यो नेपालको राजनीति र वामपन्थी राजनीतिको लागि एउटा गतिलो शब्दकोशको रूपमा पनि हेर्न सकिन्छ।
पुस्तकमा केही अपूर्णताहरू पनि छन्। उदाहरणका लागि, पार्टी विभाजनका प्रसङ्गहरू उल्लेख गरिए पनि, विभाजनका विस्तृत कारणहरू खुलाइएको छैन। वैचारिक इतिहासको दृष्टिकोणबाट पनि यो अपूर्ण देखिन्छ, किनकि विभिन्न कम्युनिष्ट पार्टीहरूले अङ्गीकार गरेका विचार र सिद्धान्तहरूको बारेमा पर्याप्त वर्णन गरिएको छैन। यो कमीले ‘भुइँमान्छे–२’ को आधार तयार गरेको हुन सक्छ।
तत्कालीन नेकपाको विभाजनका सम्बन्धमा पाण्डेको अभिव्यक्ति, “झुपडीमा बसेर बनाएको पार्टीको समस्या पाँचतारे होटलको वार्ताले किन मिल्थ्यो। झुपडीमा नै बसेर छलफल गरेको भए सायद मिल्थ्यो होला,” एक शक्तिशाली सीमान्तकृत अभिव्यक्ति हो।
यो पुस्तकमा वामपन्थी आन्दोलनका पुराना व्यक्तित्वहरूको विवरण, विभिन्न क्षेत्रमा पार्टी स्थापना गर्ने नेता तथा कार्यकर्ताहरूको विवरण, विभिन्न समयमा बनेका कमिटीहरूको विवरण, मुख्य तथा महत्त्वपूर्ण घटनाहरू, केन्द्रीय कमिटीका बैठक तथा तिनले गरेका निर्णयहरू समावेश गरिएका छन्। यसका साथै, पञ्चायतकालमा जनपक्षीय उम्मेदवारहरू र २०४७ सालको नेपाल अधिराज्यको संविधानमाथि नेकपा (माले) द्वारा प्रस्तुत २७ बुँदे आलोचनात्मक विश्लेषणजस्ता महत्त्वपूर्ण विषयहरू पनि यसमा समेटिएका छन्।
तत्कालीन नेकपाको विभाजनका सम्बन्धमा पाण्डेको अभिव्यक्ति, “झुपडीमा बसेर बनाएको पार्टीको समस्या पाँचतारे होटलको वार्ताले किन मिल्थ्यो। झुपडीमा नै बसेर छलफल गरेको भए सायद मिल्थ्यो होला,” एक शक्तिशाली सीमान्तकृत अभिव्यक्ति हो। पाण्डेको पुस्तकले पार्टी विस्तारका घटनाहरू, संलग्न व्यक्तिहरू र उनीहरूको अवस्थाबारे सरल तरिकाले वर्णन गरेको छ। यसले किसान, मजदुर, महिला, जनजाति, मधेसी लगायतका विभिन्न वर्गको भूमिकाको चर्चा गरेको छ। यद्यपि, मधेशजस्तो वामपन्थिको उर्वर भूमिबाट वामपन्थीहरू कसरी विस्थापित हुँदै गए र त्यसको राजनीतिक स्थान क्षेत्रीय पार्टीले लियो भन्ने जस्ता गम्भीर प्रश्नहरूको विस्तृत उत्तर दिनबाट भने पुस्तक चुकेको छ। यो पुस्तक नेपालको राजनीतिक उपलब्धि, आरोह-अवरोह र विकृतिहरूको संग्रह हो।
साङ्ग्रिला मिडिया ग्रुपद्वारा प्रकाशित तथा होम भट्टराईद्वारा सम्पादित यो पुस्तक कुल ४०४ पृष्ठको रहेको छ। यसलाई पाँच भागमा विभाजन गरिएको छ। पुस्तकको पहिलो भाग नेकपाको स्थापना, विकास र विस्तारमा केन्द्रित छ भने दोस्रो भागले कम्युनिष्ट आन्दोलनको पुनर्गठन प्रक्रियाबारे चर्चा गर्दछ। त्यस्तै, तेस्रो भाग नेकपा (माले) को गठन र विकासमा केन्द्रित छ भने चौथो भाग पार्टी निर्माणमा भुइँमान्छेको भूमिका र पाँचौँ भाग पार्टीसँग जोडिएका केही अनुभव तथा अनुभूतिमा केन्द्रित छ।
पाण्डेकै पुस्तकबाट पाण्डेलाई नै सान्दर्भिक हुने गरी नेत्रलाल अभागिको यो कवितासँगै यो लेखको अन्त्य गर्दछुः
आँधी र हुरी नचलेको बेलामा,
वातावरण शान्त र स्तब्ध भएको घडीमा,
एउटा नरकट पनि छाती खोलेर ठिङ्ग उभिन सक्छ।
आँधी र हुरी चलिरहेको बेलामा,
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँगै पैठेजोरी खेल्दै,
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ।
(वर्गसङ्घर्ष १३, २०४३)
प्रतिक्रिया