भक्तिपन्थको राजनीतिक पुनर्जागरण: विवेकको लोप र झोलेगिरीको उत्कर्ष

पच्चीस सय वर्ष पहिले दार्शनिक सोक्रेटिसले युवाहरूलाई "प्रश्न गर्नुपर्छ" भन्ने सिकाए, चाहे राज्यसित होस् वा आफ्नै गुरूसित किन नहोस् ! पश्चिमा प्रगतिको जग नै त्यो चेत हो ! आज पनि हामी सोकेटिस मेथड भनेर सोकेटिसको सवाल-जवाफी शैलीलाई लिन्छौं सिकाइ र अनुसन्धानमा ! त्यही अनुशरण गर्छौं !

आज युरोप-अमेरिकाले जुन ज्ञानविज्ञान र भौतिक विकासको चमत्कार गरेको छ, त्यसको आधारशीला "सोक्रेटिस मोडेल"को माईण्ड-सेट हो, जुन युरोपेलीहरूले चौधौं-पन्ध्रौँ शताब्दीबाट पुनर्जागरण गरेर कार्यान्वयन गरे !

विज्ञान वा दर्शनको पहिलो पाईला/शर्त प्रश्न हो ! जिज्ञासा हो ! असहमति हो ! "रूखबाट स्याउ तल किन खस्यो ?" भन्ने न्यूटनको जिज्ञासा/प्रश्न त्यसैको एक जानेमाने उदाहरण हो ! सृजनशीलता वा नवीनताको पहिलो कडी भनेकै प्रश्न गर्नसक्ने र फरक हुन चाहने चेत हो, critical thinking हो !

जति बेला युरोपले समाजका हरेक पहलुमा प्रश्न गरेर, कमजोरी कोट्याएर, सुधारको उपाय खोजिरहेको थियो, त्यो बेला भारत-वर्षमा भक्तिधाराको धार्मिक/आध्यात्मिक चेतना निकै प्रबल बनिरहेको थियो ! प्रश्न गरेर विमर्श मार्फत् सामाजिक चेतनाको दायरा फराकिलो बनाउनुपर्नेमा उल्टो प्रश्नलाई निस्तेज बनाउने काम भयो भक्ति-परम्परामा ! जस्तो कि, गुरूलाई ब्रह्मा-विष्णुसित तुलना गर्ने, अनि राजालाई विष्णुको अवतार र पन्चपिता मध्ये एक पिता मान्ने परम्परा विकसित गरियो ! यसले गर्दा आँखा उठाएर न राजासंग संवाद हुनेभो, न गुरूसित ! यो संस्कारका फाईदा/महत्व पनि होलान्, तर यसको क्षति ठूलो छ ! आदिकालमा महाभारतजस्तो अद्भूत कृति सृजना गर्नेसक्ने भारत वर्षको चेतना भक्तिधाराले निमिट्यान्न पार्यो ! हामीकहाँ चारैतिरबाट अंग्रेज-साम्राज्यले घेरेर नेपाल भन्ने देशै निल्न लागेका बेला भानुभक्त कवि रामभक्तिको रामायण उल्था गरिरहेका थिए ! त्यसको लोकप्रियता त सबैलाई थाह छ ! तर भक्तिधाराको क्षति प्रायले आंकलन गर्दैनन् !

अहिले एक्काइसौँ शताब्दीमा आएर हाम्रो भक्तिधारा झन् जब्बर भएको छ ! यद्यपि त्यसको स्वरूप फेरिएको छ ! भगवान रामको ठाउँ भगवान शेर, भगवान खड्ग, भगवान पुष्पकमल वा अन्यअन्य छन् ! तर भक्तिप्रथा झन् जरा गाड्दै गईरहेको छ ! दलहरू "भक्ति-सम्प्रदाय" भएका छन् ! कार्यकर्ताहरू समर्पित भक्त भएर देखिएका छन् !

भक्तहरू र दासहरू उस्तै उस्तै लागे पनि वास्तवमा फरक छन् ! कुनै पनि मानिस वाध्यताले दास बन्छ, तर स्वेच्छाले भक्त बन्छ ! भक्त बन्नु भनेको आफ्नी निजत्व, आफ्नो आत्मा, आफ्नो स्वाभिमान वा आफ्नो विवेकलाई कुनै निहित स्वार्थका लागि कसैको पाउमा चढाउनु हो ! त्यसैले सबै भक्तहरू दास हुन् ! सबै दासहरू भक्त होईनन् !

कुनै दल वा नेताको "झोले" बन्ने, बनाउने परम्परा भक्तिधाराको पछिल्लो स्वरूप हो ! आफूले सोच्ने, निर्णय गर्ने सबै जिम्मा आफ्ना आराध्य देव नेताज्यूलाई सुम्पिसके पछि मान्छे "झोले" बन्न तयार हुन्छ ! अरु त छोड्दिनुस्, कुनै निश्चित पेशमा दशकौंदेखि लागेको मानिस पनि नेतालाई आफ्ना बाभन्दा बढी श्रध्दा गर्छ, नेतिनीलाई आमाभन्दा बढी सम्मान दिन्छ ! बकाईदा लेख्दिन्छ पनि ! यो झोलेगिरीको जब्बरताको उदाहरण र लक्षण दुवै हो ! !

हामीकहाँ दलको फिलोसफी त व्यवहारमा कोही लागू गर्दैनन् भन्ने जगजाहेर छ ! तर, पनि कुनै निश्चित बिल्लाधारी दलहरू त छन् नि ! अनि तिनका नेताले निरन्तर दिमाग भुटेर, कार्यकर्ताको दिमागमा ढक्कन लाउन सफल भएपछि लाखौँ मानिसहरू हाकाहाकी "म झोले हो" भनेर भन्न तयार हुन्छन् ! एक्काईसौं शताब्दिको उच्च चेतनास्तर भएको ठानिएको युगमा यो निकै अचम्मलाग्दो र लाजलाग्दो घोषणा हो ! मैले चिनेका र मानेका केही बौद्धिक व्यक्तित्वहरूले समेत "म झोले हो" भनेर घोषणा गरिदिनुभएको देखेर म तीनछक परेको छु ! चिन्तित छु !

बाफ रे, झनै अन्धभक्त बनाउने कामलाई यसरी ट्रेण्डिङ् गरिंदैछ, मानौं यो कुनै गौरवशाली घोषणा हो, कुनै बहादुरी हो ! हाम्रो स्वतन्त्र चिन्तन र सोचको दायरालाई यसरी भुत्ते बनाउने काम हुँदैछ ! अचम्म त के भने, मान्छेहरू त्यसैमा गर्व गरिरहेका छन् ! यसले असहमति, प्रश्न-प्रतिप्रश्न, विमर्श सब एकसाथ मार्छ ! अन्तत: समाज पूरै भेडाकरणतर्फ उन्मुख हुन्छ ! अधोगतितर्फ जान्छ ! यो मान्छेहरूको विवेकको सामुहिक आमहत्या हो !

नेताहरू गल्ती गर्नसक्छन् ! दलहरू पनि बाटो बिराउन सक्छन् ! तिनलाई यथोचित खबरदारी गरिरहन जरूरी हुन्छ, प्रश्न तेर्स्याईरहनु पर्छ भन्नेसम्म नसोच्नु, पूर्ण रुपेण त्वम् शरणम् गर्दिनु भनेको विवेकशील समाजमा अनपेक्षित मात्रै होइन, मानसिक बिमारको लक्षण हो ! मानवीय विवेकको यो हदसम्मको दिवालियापन कम से कम मैले त कल्पना पनि गरेको थिइनँ !

म त आफू चाहिँ कसैको पनि झोले बन्ने कुरा सोच्न पनि सक्तिनँ !