औपनिवेशिक साँस्कृतिक कब्जाविरुद्ध हुङ्कार गर्ने एक बौद्धिक बागी !

मुक्ति र प्रतिरोधको कलम– ङुगी वा थियोङ्गो

अफ्रिकी साहित्यको सबैभन्दा सशक्त स्वर, लेखक र चिन्तक हुन्- ङुगी वा थियोङ्गो । आफ्नो लेखनलाई औपनिवेशिक हिंसा र साँस्कृतिक कब्जाको प्रतिरोधमा समर्पित गरेका थियोङ्गो विश्व बौद्धिक क्षेत्रका विरला कोटीका प्रतिभाहरुमध्येका एक हुन् । उनको साहित्यिक कृतिहरुले सत्ता, भाषा, पहिचान र मुक्तिको गहन विमर्शलाई जन्म दिएको छ।

साहित्य केवल सौन्दर्यबोधको अभ्यास होइन, त्यो समय, सत्ता र समाजसँग जुध्ने चेतनाको अस्त्र पनि हो। यसै चेतनाका एक अग्रदूत हुन्, अफ्रिकी लेखक, नाटककार, निबन्धकार र मार्क्सवादी बौद्धिक क्रान्तिकारी ङुगी वा थियोङ्गो । उनले आफ्नो लेखनीलाई राजनीतिक प्रतिरोधको कर्मभूमि बनाए। अंग्रेजी भाषाको चकाचौंधवाला प्रतिष्ठाको मोहजाललाई त्यागी मातृभाषा गिकुयूमा लेख्न थालेदेखि लिएर जेलको बन्द कोठाभित्र ‘ट्वाइलेट पेपर’मा उपन्यास लेख्दासम्मको उनको साहित्यिक प्रतिरोधी यात्रा कम लोभलाग्दो र प्रेरणादायी छैन । वास्तवमा उनका लेखनीबाट जन्मिएका कृतिहरु केवल एक लेखकको संघर्षगाथा मात्र होइन, त्यो त भाषिक मुक्ति र औपनिवेशिक चेतनाविरुद्ध बौद्धिक युद्धको ऐतिहासिक दस्तावेज हो।

प्रारम्भिक जीवन

ङुगी वा थियोङ्गो को जन्म ५ जनवरी १९३८ मा केन्याको कियाम्बु जिल्लाको लिमुरु (Limuru) नजिकैको कामिरिथु गाउँमा गिकुयु समुदायमा भएको थियो। उनी बुबाका चार श्रीमतीमध्ये तेस्रो श्रीमती वान्जिकु वा न्गुगीबाट जन्मिएका थिए ।   

ब्रिटिश उपनिवेशकालको प्रभावपूर्ण परिवेशमा हुर्केका ङुगीले बाल्यकालमै साम्राज्यवादी शासनको संरचनात्मक अन्याय र शोषणको सामना गर्नुपरेको थियो।  कृषिमा आधारित उनको परिवारको जमीन सन् १९५५ मा ब्रिटिश साम्राज्यले जबरजस्ती लादेको भूमि ऐनले खोसिदिएको थियो ।

 उनको जीवनकालमा केन्यामा बेलायती औपनिवेशिक शासनविरुद्धको सशस्त्र आन्दोलन चर्किएको थियो । त्यसमध्ये माऊ-माऊ विद्रोह (१९५२-१९६०) निक्कै चर्चित  छ । उनका सौतेनी दाजु  म्वाङ्गी ‘केन्या ल्याण्ड एण्ड फ्रिडम आर्मी’मा संलग्न थिए र उनी त्यहीक्रममा मारिएका थिए । उनका अर्का दाजु गोली लागेर घाइते समेत भएका थिए । सोही सिलसिलामा ङुगीका परिवारलाई पनि औपनिवेशिक सत्ताले डिटेन्सन क्याम्पमा राखेको थियो ।

उनले आफ्ना रचनाहरू मार्फत औपनिवेशिक शोषण, सामाजिक असमानता र सांस्कृतिक दमनविरुद्ध आवाज उठाए।

१९५५ मा लिमरुबाट २० किलोमिटर टाढा रहेको एलायन्स हाइस्कुलमा पढ्न गएर एकदिन घर फर्कने क्रममा ब्रिटिशहरुले आफ्नो पूरै गाउँलाई ध्वस्त पारिदिएको दृश्यले उनलाई पूरै विचलित तुल्यायो । ती घटनाहरुले उनमा औपनिवेशिक सत्ता, सांस्कृतिक दमन र अफ्रिकी पहिचानका मुद्दाहरूबारे गहिरो चेतना पैदा गराइदिएको थियो । फलत: उनले आफ्ना रचनाहरू मार्फत औपनिवेशिक शोषण, सामाजिक असमानता र सांस्कृतिक दमनविरुद्ध आवाज उठाए। उनको लेखनले केन्याली जनताको स्वतन्त्रता र पहिचानको सङ्घर्षलाई प्रतिबिम्बित गर्छ।

उनले पहिलोपटक अंग्रेजीमा औपचारिक शिक्षा लिएका थिए । त्यही भाषा नै पछि उनको बौद्धिक द्वन्द्वको एउटा ठूलो कारण बन्यो।उनले मकररेरे विश्वविद्यालय, युगान्डा र त्यसपछि लिड्स विश्वविद्यालय, बेलायतमा अध्ययन गरे। बेलायतमा रहँदा उनले फ्रान्ज फेनन, कार्ल मार्क्स, एन्तोनियो ग्राम्सीजस्ता उपनिवेशविरोधी चिन्तकहरूबाट गहिरो रुपमा प्रभावित बनेका थिए।उनले सन् १९६३ मा मकररेरे विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातक उपाधि प्राप्त गरेका थिए । पछि सन् १९६४ मा उनले उनले युनिभर्सिटी अफ लिड्स (इङ्ल्याण्ड) मा एम.ए. अध्ययनका लागि छात्रवृत्ति जितेका थिए ।  तर उनले युनिभर्सिटी अफ लिड्सको अध्ययन सन् १९६७ मा पूरा नगरी छाडे।

संघर्ष र लेखन: ज्ञानको लोकतान्त्रीकरण

उनको प्रारम्भिक उपन्यासहरू - "Weep Not, Child" (1964), "The River Between" (1965), र "A Grain of Wheat" (1967) - मा गिकुयु समाज, माउ माउ विद्रोह र ब्रिटिश उपनिवेशविरोधी आन्दोलनको चित्रण गरिएको छ। उपनिवेशवादविरोधी चेतना र सामूहिक प्रतिरोधको पक्षमा गहिरो प्रतिबद्धता देखिएको उनको पछिल्लो उपन्यास A Grain of Wheat ले उनलाई मार्क्सवादी विचारका समर्थकको रुपमा स्थापित गर्‍यो । प्रारम्भमा अंग्रेजी भाषामा लेख्ने ङुगीले पछि बुझे- भाषा आफैंमा एउटा शक्ति संरचना हो। अंग्रेजी उपनिवेशवादी शासनको भाषा हो, जसले उपनिवेशितहरूको चेतनालाई कब्जा गर्छ।

प्रारम्भमा अंग्रेजी भाषामा लेख्ने ङुगीले पछि बुझे- भाषा आफैंमा एउटा शक्ति संरचना हो। अंग्रेजी उपनिवेशवादी शासनको भाषा हो, जसले उपनिवेशितहरूको चेतनालाई कब्जा गर्छ।

उनको भनाइ थियो– "भाषा केवल शब्दहरूको तार मात्र होइन। यो संस्कृति, स्मृति र पहिचानको वाहक हो। भाषालाई गुमाउनु भनेको आफ्नो आत्मालाई गुमाउनु हो ।"

""Language is not just a string of words. It is a carrier of culture, memory, and identity. To lose your language is to lose your soul." (Decolonising the Mind, 1986)

ङुगीको बुझाइमा औपनिवेशिक शासनले केवल भूमि मात्र कब्जा गरेन, त्यसले त भाषालाई मूल अस्त्र बनाएर आमजनताको मानसिकता र स्मृति कब्जा गर्ने परियोजना चलायो । त्यसअनुसार विद्यालय र विश्वविद्यालयहरूमा मातृभाषाको साटो अंग्रेजी, फ्रेन्च वा पोर्तुगीज भाषालाई ज्ञानको एकमात्र प्रवेशद्वार बनाइयो। यसले अफ्रिकाका युवाहरूको ‘ब्रेनवास’ गरेर उनीहरुलाई आफ्नै भाषालाई 'हीन' र विदेशी भाषालाई 'श्रेष्ठ' ठान्न बाध्य तुल्यायो।

यस विरुद्धमा ङुगीले क्रान्तिकारी निर्णय गरे – अब उप्रान्त अंग्रेजी भाषामा लेख्दिनँ, आफ्नै मौलिक गिकुयू (Gikuyu) भाषामा लेख्छु, जहाँ जनताको पीडा, लय, सपना, र विद्रोहका कथ्य–लेख्य परम्परा पाइन्छ। उनको यो निर्णय केवल साहित्यिक होइन, राजनीतिक हस्तक्षेप थियो। यस निर्णयले उनलाई अफ्रिकी साहित्यमा बौद्धिक क्रान्तिको पर्याय बनायो।  कतिसम्म भने १९७० को दशकमा उनले आफ्नो वास्तविक नाम जेम्स ङुगीलाई  ‘उपनिवेशवादी अवशेष’ घोषित गर्दै  आदिवासी गिकुयु पहिचानलाई जोड दिने ङुगी वा थियोङ्गो राखेका थिए ।

ङुगी वा थियोङ्गोको प्रष्ट बुझाइ थियो औपनिवेशिक शासनले भू-भाग मात्र कब्जा गरेन, त्यसले त आममानिसको चेतना कब्जा गर्न भाषामार्फत मानसिक उपनिवेश स्थापना गर्‍यो।

ङुगी वा थियोङ्गोका लागि भाषा केवल संप्रेषणको माध्यम थिएन, यो सांस्कृतिक स्मृति, आत्म-चेतना र सत्ता-प्रतिरोधको अस्त्र थियो। उनको प्रष्ट बुझाइ थियो औपनिवेशिक शासनले भू-भाग मात्र कब्जा गरेन, त्यसले त आममानिसको चेतना कब्जा गर्न भाषामार्फत मानसिक उपनिवेश स्थापना गर्‍यो। यसै कारण उनले आफ्नो लेखनलाई अंग्रेजीबाट गिकुयू भाषामा रूपान्तरण गरेका थिए - यो निर्णय आफैँमा एक क्रान्ति थियो।

उनले भनेका छन् – "भाषाले संस्कृति बोकेको हुन्छ, र संस्कृतिले ती सम्पूर्ण मूल्यहरूको सार बोकेको हुन्छ जसका माध्यमबाट हामी आफैँलाई र संसारमा आफ्नो स्थानलाई बुझ्ने गर्छौँ।"

(Language carries culture, and culture carries the entire body of values by which we perceive ourselves and our place in the world.)

ङुगीको विचारमा जब लेखकले औपनिवेशिक भाषालाई आफ्नो अभिव्यक्तिको एकमात्र माध्यम बनाउँछ, तब उसले भित्रभित्रै नदेखिने गरेर औपनिवेशिक चेतना पुनःउत्पादन गर्ने काम गर्छ। उनको बुझाइमा लेखनीमा मातृभाषा प्रयोग गर्नु भनेको जनतासँगको प्रत्यक्ष संवाद हो, ज्ञानको लोकतान्त्रीकरण हो।

नाटक लेखेवापत जेल जीवन र निर्वासन

सन् १९७७ मा ङुगीले केन्याली नाटककार, लेखक तथा सांस्कृतिककर्मी ङुगी वा मिरीईसँगको सहलेखनमा "Ngaahika Ndeenda (I Will Marry When I Want)" नाटक लेखेका थिए । नाटकले गाउँका किसान र मजदुरहरूको कथा बोलेको थियो । गिकुयू भाषामा लेखिएको त्यो नाटक केन्याली सरकारका लागि अपराध भयो ।   केन्याको तानाशाह डानियल अराप मोईले मुद्दा नचलाइकन तथा सुनुवाइको मौका नै नदिइकन उनीहरुलाई एक वर्ष क्याम्पाला जेलमा कैद गरे ।

जेलमा लेखिएको उनको उपन्यास Devil on the Cross  केवल दमनको कथा मात्र होइन, प्रतिरोधको ऐतिहासिक साक्षी बन्यो- सत्ताले शरीरलाई  कैद गर्न सक्छ, चेतनालाई होइन। उनी भन्ने गर्थे–  तिनीहरुले मेरा शरीरलाई कैद गरे तर मेरो विचारलाई कैद गर्न सकेनन् ।

उनीहरुलाई दैनिक एक घण्टा मात्र घाममा बस्न दिइन्थ्यो । तर त्यहीँ, बन्द कोठामा उनले गिकुयू भाषामै उपन्यास Caitaani Mutharaba-Ini (Devil on the Cross) लेखे । रोचक कुरा त के छ भने उनले उक्त उपन्यास ‘ट्वाइलेट पेपर’मा लेखेका थिए।  जेलमा लेखिएको यो उपन्यास केवल दमनको कथा मात्र होइन, प्रतिरोधको ऐतिहासिक साक्षी बन्यो- सत्ताले शरीरलाई  कैद गर्न सक्छ, चेतनालाई होइन। उनी भन्ने गर्थे–  तिनीहरुले मेरा शरीरलाई कैद गरे तर मेरो विचारलाई कैद गर्न सकेनन् । (They locked my body, but they could not lock my mind.) जेलमै उनले आफ्नो आत्मकथा "Detained: A Writer's Prison Diary" पनि लेखे ।

जेल जीवनको कठोर अनुभवले उनको लेखनलाई अझै क्रान्तिकारी बनायो।  उनले जेललाई नै सृजनात्मक प्रयोगशाला बनाइदिए, जहाँ पीडाले प्रतिरोधलाई जन्मायो। उनले पुष्टि गरिदिए– कारावास पनि दमनको अन्तिम सीमारेखा होइन, सत्ताविरोधी चेतनाको बिउ बोकेका लेखकको चेतना त्यहाँबाट अझ बलियो भएर निस्किन्छ।उनले व्यवहारिक रुपमा नै देखाइदिए– साहित्य सत्तासँग मिल्न होइन, त्यसलाई चुनौती दिन जन्मिन्छ।  

एम्नेस्टी इन्टरनेशनलले उनलाई प्रिजनर अफ कन्सियन्स (आफ्ना अन्तरात्माबाट प्रेरित विचार वा पहिचानलाई शान्तिपूर्ण रूपमा अभिव्यक्त गरेकोमा कारावासमा परेको तर हिंसाको प्रयोग वा समर्थन नगरेको व्यक्ति) घोषित गरेको थियो । चौतर्फी विरोध र दवाब बढ्दै गएपछि केन्या सरकारले उनलाई रिहा  जेलबाट मुक्त भएपछि पनि सरकारको नजरमा उनी ‘बागी बौद्धिक’ बनिरहे।  सन् १९६७ मै नैरोवी विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका उनलाई जेलबाट मुक्त भएपछि पुरानो पेशामा काम गर्न दिइएन । उनले केन्यामा भिजिलान्ते सत्ताबाट बारम्बार धम्की र उत्पीडनको सामना गर्नुपर्यो । जेलजीवनबाट मुक्त भएपछि उनको लेखनमाथि प्रतिबन्ध लगाइयो ।  अन्ततः १९८२ मा उनी सपरिवार निर्वासनमा जान बाध्य भए ।  उनी बेलायत हुँदै अमेरिकामा शरणार्थी बने। (ङुगी वा मिरीई चाहिँ जिम्बाबे निर्वासित भएका थिए ।) पछि उनले क्यालिफोर्निया विश्वविद्यालय, इरविनमा तुलनात्मक साहित्य तथा अङ्ग्रेजीका विशिष्ट प्राध्यापकका रूपमा अध्यापन गरेका थिए । त्यसअघि उनले नर्थवेस्टर्न विश्वविद्यालय, येल विश्वविद्यालय र न्यू योर्क विश्वविद्यालयमा अध्यापन गरिसकेका थिए। सन् २००२ मा तानाशाह डानियल अराब मोइले पदत्याग गरेपछि मात्रै उनीहरुले केन्या फर्कन सकेका थिए ।

जेलबाट मुक्त भएपछि पनि सरकारको नजरमा उनी ‘बागी बौद्धिक’ बनिरहे।  सन् १९६७ मै नैरोवी विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका उनलाई जेलबाट मुक्त भएपछि पुरानो पेशामा काम गर्न दिइएन । उनले केन्यामा भिजिलान्ते सत्ताबाट बारम्बार धम्की र उत्पीडनको सामना गर्नुपर्यो ।

स्मरणीय के छ भने, नैरोवी विश्वविद्यालयमा कार्यरत हुँदा उनले अङ्ग्रेजी विभागलाई हटाउन विशेष पहल गरेका थिए । उनले औपनिवेशिक शासन समाप्त भइसकेको अवस्थामा विश्वविद्यालयहरुमा अङ्ग्रेजी साहित्य पढाइनुको सट्टामा  अफ्रिकी भाषाहरूमा आधारित मौलिक र मौखिक साहित्य अध्ययन गरिनुपर्ने कुराको प्रखर वकालत गरेका थिए । उनकै प्रयासहरूले १९६० को दशकको अन्त्यसम्म पुग्दा विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययनको संरचना हटाई अफ्रिकी साहित्य—मौखिक तथा लिखित—केन्द्रित पाठ्यक्रम लागू गरिएको थियो । त्यसलाई अफ्रिकी बौद्धिक स्वतन्त्रता र भाषिक पुनर्जागरणको दिशामा एक ऐतिहासिक मोड मानिन्छ ।

भाषाको राजनीति र बौद्धिक मानक

ङुगी वा थियोङ्गोले आफ्नो कालजयी रचना औपनिवेशिक मानसिकताबाट मुक्ति (Decolonising the Mind) मार्फत् भाषा, चेतना र औपनिवेशिक मानसिकताबीचको सम्बन्धलाई गहिरो विश्लेषण गरे। यो ग्रन्थ केवल साहित्यिक कृति मात्र होइन । यो त शिक्षा, नीतिगत योजना र चिन्तन प्रणालीमा औपनिवेशिक प्रभाव र हस्तक्षेपविरुद्धको गम्भीर प्रहार हो। उनले विश्वसामु ‘अफ्रिकी शिक्षाले विदेशी भाषाको माध्यमबाट आफ्नै मुल्य-मान्यता र संस्कृतिलाई दोस्रो दर्जामा राखेर  ज्ञान निर्माण गरी उपनिवेशीकरणलाई निरन्तर जारी राखेको’ कुरा उद्घाटित गरिदिए । उनी भन्छन्– "The classroom became the battlefield of minds. And we were losing."

औपनिवेशिक शासनले अफ्रिकामा खेलेको सबैभन्दा घातक खेल भनेको शिक्षामा थियो। शिक्षा प्रणालीले विद्यार्थीहरूलाई उपनिवेशवादी दृष्टिकोणबाट सोच्न सिकायो, उनीहरूको भाषा, इतिहास, संस्कृतिप्रति घृणा पैदा गर्यो।

ङुगीले आफ्नो पुस्तक औपनिवेशिक मानसिकताबाट मुक्तिमा औपनिवेशिक शिक्षाको तीन प्रमुख प्रभावहरुलाई यथार्थपूर्ण ढंगले विश्लेषण गरेका छन्:

इतिहासको विकृति: अफ्रिकाको गौरवशाली अतीतलाई नष्ट गर्दै यूरोपलाई सभ्यताको मापन बनाइयो।

सांस्कृतिक विच्छेदन: विद्यार्थीहरू आफ्नै कथा, लोककथा र मिथकहरू बिर्सन थाले - शेक्सपियर पढे तर गिकुयू लोकगाथा होइन।

भाषा-अवमूल्यन: मातृभाषामा लेख्दा "ग्रामीण", "अशिक्षित" भन्ने छाप दिइयो। अंग्रेजी वा फ्रेञ्च नै 'ज्ञानको असली भाषा' बनाइयो।

उनका कृतिहरु भाषिक उपनिवेशिकरणविरुद्धको एउटा साँस्कृतिक आन्दोलन हो । उनले ‘भाषा’लाई केवल सञ्चारको माध्यम हैन, जनसमूहको सांस्कृतिक स्मृति (cultural memory) को वाहक मानेका छन्।

उनको औपनिवेशिक मानसिकता बाट मुक्ति कृतिले औपनिवेशिक शिक्षा र भाषाले अफ्रिकी मनोवृत्तिमा पारेको प्रभावको गहिरो विश्लेषण गर्छ। उनले तर्क गरे कि अफ्रिकी साहित्य आफ्नो मातृभाषामा लेखिनुपर्छ, किनभने भाषा केवल संचारको माध्यम नभई संस्कृति र पहिचानको आधार हो। यो विचारले विश्वभरका साहित्यकारहरूलाई आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्न प्रेरित गर्‍यो।

उनका कृतिहरु भाषिक उपनिवेशिकरणविरुद्धको एउटा साँस्कृतिक आन्दोलन हो । उनले ‘भाषा’लाई केवल सञ्चारको माध्यम हैन, जनसमूहको सांस्कृतिक स्मृति (cultural memory) को वाहक मानेका छन्। उनले अफ्रिकी भाषाहरूको पुनर्जागरणमा जोड दिंदै भाषालाई साम्राज्यवादको उपकरणको रूपमा पनि चित्रण गरेका छन्। यसका लागि उनले Globalectics भन्ने अवधारणा विकास गरेका छन् – जसमा ज्ञानसन्दर्भ दुवैको बहुपरिप्रेक्ष्यीय मूल्याङ्कन गरिन्छ।ङुगी थियोङ्गो बारम्बार भन्ने गर्थे– "भाषा हाम्रो आत्माको घर हो। यसलाई बचाउनु क्रान्तिको पहिलो चरण हो।"

ङुगीको यो दृष्टिकोणले औपनिवेशिक चेतना शिक्षा मार्फत पुनःउत्पादन हुने जोखिमपूर्ण यथार्थतालाई छताछुल्ल पारिदियो ।  स्थानीय ज्ञान, संस्कृति, परम्परा र चेतनाको हत्या गर्ने अंग्रेजी भाषामा आधारित शिक्षालाई "गुणस्तरीय" मानिने  नेपालजस्ता देशमा समेत उनको दृष्टिकोण सान्दर्भिक र मननीय छ ।   

समकालीन सन्दर्भ र योगदान

क्यालिफोर्निया विश्वविद्यालय, इरविनका प्रोफेसर एमेरिटस रहिसकेका थियोङ्गोले  थुप्रै अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरू प्राप्त गरिसकेका छन् ।  उनलाई २०१४ मा अन्तर्राष्ट्रिय साहित्यको नोनिनो पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसैगरी, २०१६ मा उनको कृति "Wizard of the Crow" लाई उल्लेखनीय अफ्रिकी उपन्यास घोषित गरिएको थियो ।

 उनी साहित्यमा नोबेल पुरस्कार हकदारका रुपमा लामो समयदेखि चर्चित रहे । यद्यपि, साम्राज्यवादको विरोध गर्ने र जनतामा क्रान्तिकारी चेतना जागृत गर्ने उनी जस्ता साहित्यकारले उक्त पुरस्कार प्राप्त गर्नु निक्कै परको कुरा हो ।

त्यसो त ङुगीले पाएका सम्मान र पुरस्कारहरुको सूची निक्कै लामो छ । त्यसबाहेक उनले थुप्रै विश्वविद्यालयहरुबाट मानार्थ डिग्रीहरु समेत हासिल गरेका छन् ।

उनका प्रमुख कृतिहरूमा केन्याको स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा रहेको  Weep Not, Child (१९६४), A Grain of Wheat (१९६७), केन्याको नव-औपनिवेशिक शोषणको उजागर गर्ने Petals of Blood (१९७७), र Matigari (१९८६) समावेश छन्। यी रचनाहरूले केन्याको स्वतन्त्रता सङ्घर्ष, सामाजिक असमानता र मार्क्सवादी दृष्टिकोणलाई जोड दिन्छन्। उनको उपन्यास Matigari मा सत्ताको डर, दमन र अन्यायबाट जनता कसरी पीडित हुन्छन् भन्ने कुरालाई गहिरो सांस्कृतिक, ऐतिहासिक र प्रतिरोधात्मक सन्दर्भमा नायकले भन्ने वाक्य, "अत्यधिक डरले देशमा भय उत्पन्न गर्छ’’ (Too much fear breeds misery in the land)*ले देखाएको छ । यसले उनको लेखनको गहिरो दार्शनिक र क्रान्तिकारी भावनालाई प्रतिबिम्बित गर्छ।

* ‘What is going on here? Are you going to let our children be made to eat shit while you stand around nodding in approval? How can you stand there watching the beauty of our land being trodden down by these beasts What is so funny about that? Why do you hide behind a cloak of silence and let yourselves be ruled by fear? Remember the saying that too much fear breeds misery in the land.’

उनका पछिल्ला कृतिहरू जस्तै अफ्रिकी तानाशाहीविरुद्ध व्यंग्यात्मक महाकाव्य "Wizard of the Crow" (२००६), Something Torn and New: An African Renaissance (२००९), अफ्रिकी बालबालिकाको संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गर्ने "Dreams in a Time of War" (२०१०), Globalectics: Theory and the Politics of Knowing (२०१२), In the House of the Interpreter: A Memoir (२०१२) र लेखकको वैचारिक, साहित्यिक र राजनीतिक चेतनाको विकासबारे जानकारी दिने "Birth of a Dream Weaver" (२०१६) उल्लेख्य छन्। उनको अर्को कृति "Secure the Base" (२०१६) ले आजको आतंकवाद, पलायन र गरीबीको गहिरो विश्लेषण गर्छ।

ङुगीको लेखनले मार्क्सवादी विचारधारालाई साहित्यमा एकीकृत गरेर सामाजिक परिवर्तनको लागि बौद्धिक आधार प्रदान गर्यो। उनले साहित्यलाई केवल कला नभई सामाजिक क्रान्तिको हतियार बनाए।

सन् २०१६ मै प्रकाशित उनको लघुकथा The Upright Revolution: Or Why Humans Walk Upright निक्कै प्रसिद्ध छ । शुरुमा गिकुयू भाषामा लेखिएको र ङुगी आफैंले अङ्ग्रेजीमा अनुवाद गरेका यो कृति यो एक सयभन्दा बढी भाषाहरुमा अनुवाद भइसकेको छ ।

ङुगीको लेखनले मार्क्सवादी विचारधारालाई साहित्यमा एकीकृत गरेर सामाजिक परिवर्तनको लागि बौद्धिक आधार प्रदान गर्यो। उनले साहित्यलाई केवल कला नभई सामाजिक क्रान्तिको हतियार बनाए। उनको गिकुयु भाषामा लेखन र सामुदायिक नाटकहरूले साधारण जनताको आवाजलाई साहित्यमा स्थान दियो, जसले विश्व साहित्यमा नयाँ मानक स्थापित गर्यो।

विश्वभरका शोषित समुदायको आवाज

ङुगी वा थियोङ्गो केवल एक लेखक मात्र होइनन्, उनी एक सांस्कृतिक सेनानी, चेतनाको संरचनाकार र औपनिवेशिक मानवशास्त्रविरुद्धको बौद्धिक विद्रोही समेत हुन्। उनको जीवनले देखाउँछ - साहित्य केवल सौन्दर्यशास्त्रीय बौद्धिक अभ्यास मात्र होइन, यो शक्ति संरचना, प्रतिरोध र स्वतन्त्रताको अभियान पनि हो। उनले बौद्धिक रूपमा स्थापित गरेका मानकहरू - मातृभाषामा लेखन, साहित्यको राजनीतिकरण, र सांस्कृतिक स्वराज - केवल अफ्रिकाका लागि मात्र नभई सारा विश्वका उत्पीडित जनसमुदायका लागि समेत प्रेरणादायक छ।

ङुगीले आफ्नो साहित्यमार्फत जे गरिरहे, त्यो आज हाम्रा लागि मार्गनिर्देशन हो - लेखन केवल कलात्मक अभ्यास होइन, सचेतन राजनीतिक कर्म हो। उनी आजको युगका लागि उत्तरऔपनिवेशिक बौद्धिक व्यक्तित्व (Postcolonial Intellectual) मात्र होइनन्, "ग्लोबल साउथ" को साझा आवाज हुन्।

उनले बौद्धिक रूपमा स्थापित गरेका मानकहरू - मातृभाषामा लेखन, साहित्यको राजनीतिकरण, र सांस्कृतिक स्वराज - केवल अफ्रिकाका लागि मात्र नभई सारा विश्वका उत्पीडित जनसमुदायका लागि समेत प्रेरणादायक छ।

ङुगी वा थियोङ्गो केवल लेखक मात्र थिएनन्, उनी एक क्रान्तिकारी योद्धा समेत थिए । उनले आफ्नो लेखन मार्फत औपनिवेशिकता, सांस्कृतिक दमन र सामाजिक अन्यायविरुद्ध लडिरहे। उनले साहित्यलाई हतियार बनाएर अफ्रिकी मानिसहरूको अस्मिता, भाषा, र स्वतन्त्रताको लागि संघर्ष गरे। उनले भोगेका जेलजीवन, निर्वासन र उत्पीडनले उनको दृढ संकल्पलाई कमजोर बनाउन सकेन। उनको लेखनले अफ्रिकी साहित्यमा मातृभाषाको महत्व स्थापित गर्यो र विश्व साहित्यमा एक बौद्धिक क्रान्तिको सूत्रपात गर्यो। उनको योगदानले विश्वभरका साहित्यकार र क्रान्तिकारीहरूलाई प्रेरणा दिइरहनेछ।आज पनि उनको विचारले विश्वभरका शोषित समुदायलाई आवाज प्रदान गर्छ।

ङुगी लामो समयदेखि अस्वस्थ थिए । सन् १९९५ मा, ङुगी वा थियोङ्गोलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लाग्यो । चिकित्सकहरुले उनको आयु तीन महिनामात्र बाँकी रहेको भनेका थिए तर सुखद संयोगको कुरा, उनको त्यो समस्या निको भयो। सन् २०१९ मा उनले मुटुको ‘ट्रिपल बाइपास सर्जरी’ समेत गरेका थिए । तर सोही समय आसपास उनी मिर्गौलाको समस्याबाट पनि ग्रस्त हुन थाले। उनी सन् २०२५ मे २८ मा अमेरिकाको जर्जिया राज्यको बफोर्डमा ८७ वर्षको उमेरमा निधन भयो ।

Image: https://icdn.ensonhaber.com/

क्षमायाचना: यसअघि अङ्ग्रेजीको Ngũgĩ wa Thiong'o को नेपाली उच्चारण रुपान्तरण गर्दा ‘न्युगी वा थ्योंगो’ प्रयोग गरिएकोमा त्यो अशुद्ध रहेको तथ्यलाई मनन गर्दै क्षमायाचनाका साथ सट्टामा शुद्ध उच्चारण ङुगी वा थियोङ्गो बनाइएको जानकारी गराउँदछौं । –दायित्वबोध