गुमनाम प्राज्ञको महाप्रस्थान

प्राच्य सभ्यता र दर्शनमा एकान्तको ठूलो महत्व छ; बुद्धले सङ्घं शरणं गच्छामि को उपदेश दिएपनि मिलारेप्पादेखि पद्मसम्भवसम्म गुफा–गुफामा एकान्त तपमा लीन भएकै हुन्; सन्यास ग्रहण पश्चात अवस्थामै रहेपनि वाल्मीकि देखि यसै युगका शिवपुरी बाबासम्म पनि एकान्त सेवनका उदाहरण नै हुन्।
हरेक बस्तुको वैश्य बाजारीकरणको युगमा गुरुकुलदेखि बैराग्यसम्मको प्रचुर प्रचार उदेकलाग्दो छ यो युगमा। आजको सामाजिक डार्विनवादी सर्त हो—तपाई/म को बाजारीकरण हुनै पर्छ, नत्र बनियाँलाई समेत नचिन्ने समाज, देश र कालले अरुलाई चिन्ने त कुरै छैन।
तर अपवाद हरेक युगमा हुन्छन्, र लोकप्रवाहमा नै बग्नुपर्छ भन्ने दबाबबाट मुक्त मनुष्य पनि जगतमा छन् र रहनेछन्। तिनैमध्ये एक हुनुहुन्थ्यो प्रा. तोयानाथ प्रसाई। उहाँको महाप्रस्थानको समयमा म सामाजिक सञ्जालको पहुँच बाहिरको राष्ट्रमा थिएछु। सञ्जालीय श्रद्धाञ्जलि समेत व्यक्त गर्नबाट वञ्चित हुन पुगेँ।
अपवाद हरेक युगमा हुन्छन्, र लोकप्रवाहमा नै बग्नुपर्छ भन्ने दबाबबाट मुक्त मनुष्य पनि जगतमा छन् र रहनेछन्।
धेरैबाट शिक्षा आर्जन गर्न पाइयो—सकारात्मक, नकारात्मक, निष्पृह। त्यसमध्ये धेरैमा शास्वत गुरुपन कमैमा प्राप्त भयो। जसमध्ये उहाँको प्रभाव मेरो जीवनमा सर्वाधिक परेको छ। जीवनप्रतिको दर्शन परिवर्तन गरिदिनु हुने तपाईँप्रति यो श्रद्धाञ्जलि।
पञ्चायतकालमा करियरिस्ट प्राज्ञहरूका कम छिनाझपटी थिएनन्। अहिले कार्यकर्ता प्राज्ञहरूको बिगबिगी छ। त्यसबखत दासता अपरिहार्य सर्त थियो। नागरिक सार्वभौमिकताको किंचित गुण मात्र कसैमा रहे प्राज्ञिकताका पदहरूको लागि त्यस्ता पात्र अयोग्य नै हुने गर्थे, अपवादबाहेक।
उहाँले अयोग्यतालाई स्वीकार गर्नुभयो जीवनभर, तर आफ्नो जीवनमूल्य इतर सम्झौतामा कहिल्यै लाग्नु भएन। बिल्कुल मौन साधक रहनुभयो—फिजिक्स, फिलोसफी र धर्मशास्त्रको। न कहिल्यै क्याम्पस प्रमुखको दौडमा, न कहिल्यै डिन, रेक्टर र भिसीको लाममा। विभागीय प्रमुखमा समेत टाउको फोराफोर हुने कलेशमा एकदम एक्लो र अलग्ग।
राजनीतिप्रति जति निष्पृह रहेपनि नागरिक सार्वभौमिकताप्रति उहाँ सम्झौता गर्न नसक्ने व्यक्ति, किसुनजी र गणेशमान संग राम्रै लगाव थियो। अझ किसुनजीप्रति ठूलो श्रद्धा थियो। यद्यपि राजनीतिका क्रूर वृत्ति प्रति उहाँ असंलग्न नै रहनुभयो। यो केवल उहाँको आस्थाको विषय रह्यो।
आइएसी अध्ययनको कलिलो र उरन्ठेउलो उमेरमा गुरुको गुरुत्वलाई सम्झन सक्ने स्थिति थिएन। तथापि केही विद्यार्थी भित्रको पात्रतालाई उहाँले पर्गेल्नु हुन्थ्यो, र पाठ्यक्रमको दायराबाट बाहिर गएर फिजिक्स, फिलोसफी, धर्मदर्शन र इतिहासको चर्चा गर्नुहुन्थ्यो। सौभाग्यबस, ती विद्यार्थीमध्ये म एक थिएँ।
वहाँ रौद्ररूपमा प्रस्तुत हुनुभयो — "के राजाको परिवार नियोजन? हेर्नुहोस्, यो जनसंख्या नियन्त्रणले एक दिन नेपाल खाली पार्छ। म यसको विरुद्धमा छु र अरुलाई पनि सन्तान धेरै बनाउनुपर्छ भन्छु।"
हामी आइएसीको अन्तिम परीक्षाको पर्खाइमा थियौँ। वहाँको जेठी छोरी र जेठो छोरा पछिको तेस्रो सन्तान जन्मिएको केही दिनमै खेर गयो; वहाँ निक्कै शोकमग्न–भावुक हुनुहुन्थ्यो। स्वस्तिशान्तिको दिन थियो, कोही अग्रजले सल्लाह दिए — एक छोरा र एक छोरी छँदै थिए, परिवार नियोजनको सहायता लिएको भए यो शोक बोक्न पर्दैनथ्यो। वहाँ रौद्ररूपमा प्रस्तुत हुनुभयो — "के राजाको परिवार नियोजन? हेर्नुहोस्, यो जनसंख्या नियन्त्रणले एक दिन नेपाल खाली पार्छ। म यसको विरुद्धमा छु र अरुलाई पनि सन्तान धेरै बनाउनुपर्छ भन्छु।"
यो विषय मेरो लागि अचम्मको थियो र समझ बाहिरको। तर आजसम्म आइपुग्दा म स्वयं जनसंख्या बढाउन र कम्तिमा दुई सन्तान बनाउन युवाहरुलाई बारम्बार आह्वान गरिरहेछु।
मास्टर्सको अध्ययन समाप्तिपछि म धनकुटाको कांग्रेसी राजनीतिमा हेलिएँ। राजनीति आफैमा रुखो, त्यसमाथि धनकुटाको कांग्रेसी राजनीति हार्नेबाजी जस्तो। धनकुटामा त्यसताका ८ बजेपछि सन्नाटा हुनेगर्थ्यो। विद्यार्थीकालको बानीको कारणले गर्दा म अबेलासम्म जागै रहने। यो अप्ठ्यारोमा म के पढ्ने भन्नेमा थिएँ।
स्व. पण्डित अग्निप्रसाद बरालले मलाई उपनिषद् तिर धकेल्नु भयो। प्रा. हेमचन्द्र पोख्रेल, खगेन्द्र प्रधानाङ्गजस्ता व्यक्तिहरूको संगतले मलाई अलिक सहज पनि भयो। जब उपनिषद्मा प्रवेश गरेँ, मलाई धेरै विषय क्वान्टम सिद्धान्तजस्ता लाग्न थाले। त्यसपछि धरान झरेर गुरु तोयानाथ प्रसाई (टिएन सर) सङ्ग ती विषय राख्न पुगेँ।
जसै यी विषयमा प्रवेश गरेँ, उहाँका आँखा अलिक रसाए। उहाँ चुपचाप आफ्नो पुस्तकालयतर्फ पस्नु भयो र चारवटा पुस्तक दिनु भयो—अल्बर्ट आइन्स्टाइनको पत्र र लेखहरूको संग्रह My Views, जयन्त नार्लिकरका दुई पुस्तक Primeval World र Violent Universe, एवम् कृष्णमूर्ति र डेविड बोहमको संवाद। साथै सिफारिस गर्नु भयो ग्यारी जुकाभ र फ्रिटजॉफ काप्रालगायतलाई अध्ययन गर्न।
एउटा किताब थियो—श्रोडिङ्गरको—त्यो चाहिँ दिनु भएन। "आफ्नो जीवनको भौतिक परिग्रहका उत्तराधिकार त सन्तानमा रहन्छ, यी संग्रहित पुस्तकहरूको उत्तराधिकार कसमा रहला मलाई आजसम्म थाहा छैन। तर तिम्रो मार्गले यसको उत्तराधिकार प्राप्त गर्न सक्ने मानिस कोही निस्किने सम्भावना देखे; जाऊ, पढ।" त्यस दिन भोजन त्यहीँ गरेर म छुट्टिएँ भनौँ वा उछुट्टिएँ।
उप्रान्त म क्वान्टम सिद्धान्त, सापेक्षतावाददेखि खगोलशास्त्रका सिद्धान्त र वेदान्तको अध्ययनमा लागे। २०५६ को निर्वाचनसम्म मलाई धनकुटामा यसले जीवनको ठुलो शृङ्खला दियो, र आज म यसप्रति जुन अल्प नै सही बोध राख्दछु, त्यो त्यसै कालखण्डको योगदान हो।
वहाँ आइन्स्टाइनभन्दा रबिन्द्रनाथ टैगोरसँग सहमत भौतिकशास्त्री हुनुहुन्थ्यो त्यो संवादमा; अझ स्टेफेन हकिन्सको त निकै ठूलो आलोचक। त्यसै संवादपछि मैले स्टेफेन हकिन्सलाई पढ्न सुरु गरेँ र आजसम्म पनि असहमति राखी पढिरहेको छु।
धनकुटा बसाइँ समयमा बारम्बार सत्संगको अवसर प्राप्त गरे गुरुसँग। एक दिन 'कस्मिक माइन्ड' बनाम 'बाइलोजिकल माइन्ड' वा धर्मदेशना सुरु भयो। खाना खाएपछि म धनकुटा लाग्नु थियो। तर, त्यस दिन म त्यहीँ बसेँ। त्यो विषय वास्तवमा रबिन्द्रनाथ टैगोर र अल्बर्ट आइन्स्टाइनको संवादलाई एस.एन. बोसले रेकर्ड गरेर ट्रान्सक्राइब गरी प्रकाशित गरेको प्रसंगबारे थियो। वहाँ आइन्स्टाइनभन्दा रबिन्द्रनाथ टैगोरसँग सहमत भौतिकशास्त्री हुनुहुन्थ्यो त्यो संवादमा; अझ स्टेफेन हकिन्सको त निकै ठूलो आलोचक। त्यसै संवादपछि मैले स्टेफेन हकिन्सलाई पढ्न सुरु गरेँ र आजसम्म पनि असहमति राखी पढिरहेको छु। मनुष्य जीवनलाई उपभोग्यताको मानकमा परिवर्तन गर्ने श्रेय निकोला टेस्लालाई दिनुपर्छ। यसर्थ Ease of Human Life को विषयमा आइन्स्टाइनभन्दा टेस्ला र इडिसनमाथि छन्। जहाँसम्म फिलोसफी छ, आइन्स्टाइन पनि परिमार्जित क्लासिकल फिजिसिस्ट नै हुन्। साँच्चै परिवर्तन त हिसेन्बर्ग र श्रोडिङ्गरले दिएका हुन्। वहाँका यी प्रसंगहरू अझसम्म मेरो अर्धसमझको मानसपटलमा यथावत छन्।
तर समयलाई यो क्रम स्वीकार्य भएन। म राजनीति र व्यापारको क्रूर वृत्तिजन्य क्रमको नदीमा हेलिएँ । उहाँले संप्रेषित गरिदिनु भएका बोधहरूलाई एक किसिमले कोल्ड फ्रिजमा राखेर। यो देश र कालको व्यावहारिक बाध्यता पनि थियो।
यो अल्पतामा छोडिएको चाख आजसम्म ममा तरोताजा त छ, तर नित्य अभ्यासमा छैन। केवल गुरुको नासोको रूपमा मस्तिष्कमा घर गरेर बसिरहेछ, र बारम्बार एउटा प्रश्नले घोचिरहन्छ—गुरुको पुस्तकालयमा रहेका पुस्तकका पानाहरू पल्टाउने उत्तराधिकारी उहाँले पाउनु भयो कि छैन?
अन्ततः हार्दिक श्रद्धाञ्जलि, गुरुदेव!

भक्तिपन्थको राजनीतिक पुनर्जागरण: विवेकको लोप र झोलेगिरीको उत्कर्ष

भिजिट भिसाको व्यथा र सिंगापुरमा भ्रष्टाचारको कथा

कान र मुटु नभएको गधाको कथा

पृथ्वीनारायण शाह, गोर्खाको कज्याइँ र नेपाल राष्ट्र बैंकको गभर्नर

फौजदारी न्यायमा नाजीवादको प्रयोग उपभोक्तावादी पुँजीवादले सामाजिक सञ्जालबाट प्…

एउटा सानो सम्झना प्रदीप नेपाल बारेको !

लोकतन्त्रमा जनतालाई उपलब्धि के ?

प्रतिक्रिया