गाजाका झण्डै आधा बालबालिकाहरू आत्महत्या गर्ने सोचमा छन् !
गाजामा जीवनका आधारहरू- परिवार, स्वास्थ्य र समुदाय-सबै छियाछिया भइसकेका छन् !
मेरो नाम डा. फिरोज सिध्वा हो। म अमेरिकाको क्यालिफोर्नियाको स्टकटनमा आधारित एक ट्रमा र क्रिटिकल केयर सर्जन हुँ। म आज यहाँ तपाईंहरू सामु गाजा पट्टीको विषयमा बोल्न आएको छु । त्यहाँ म अक्टोबर ७ पछि दुईपटक स्वयंसेवकको रूपमा कार्य गरिसकेको छु-पहिलो पटक सन् २०२४ को मार्च २५ देखि अप्रिल ८ सम्म युरोपियन अस्पतालमा, र पछिल्लो पटक सन् २०२५ को मार्च ६ देखि अप्रिल १ सम्म नासेर मेडिकल कम्प्लेक्समा। दुबै अस्पताल खन युनुस सहरमा अवस्थित छन्।
म यहाँ नीतिनिर्माता वा राजनीतिज्ञको हैसियतमा आएको होइन। म एक चिकित्सकको रूपमा उपस्थित भएको हुँ, जसले स्वास्थ्य सेवा प्रणालीको योजनाबद्ध ध्वस्तिकरण, आफ्नै सहकर्मीहरूलाई लक्षित बनाउने कार्य, र एउटा जनसमुदायलाई नै मेटाउने प्रयासलाई प्रत्यक्ष देखेको छ।
मैले गाजामा बिताएको पाँच हप्तामा कुनै पनि लडाकुको उपचार देखिनँ वा गरिनँ। मेरा बिरामीहरू शरीरमा छर्राहरू गाडिएका, दिमागमा गोली लागेको छ वर्षका बालबालिका थिए; गर्भावस्थामै दुई टुक्रा परेका शिशु, र आमाको पेल्भिस चकनाचुर पारिएको गर्भवती महिलाहरू थिए।
विश्व स्वास्थ्य सङ्गठनको संविधानले भनिरहेको छ कि सम्पूर्ण जनताको स्वास्थ्य शान्ति र सुरक्षाको प्राप्तिका लागि मौलिक आधार हो, र यो व्यक्तिहरू र राष्ट्रहरूको पूर्ण सहकार्यमा निर्भर रहन्छ। मैले यो कुरा मनदेखि ग्रहण गरेको छु र यही कारणले म हाइटीदेखि युक्रेन र गाजासम्मका द्वन्द्वग्रस्त क्षेत्रहरूमा स्वयंसेवकको रूपमा सेवा गरेको छु। गाजामा मैले त्यस्ता अस्पतालहरूमा शल्यक्रिया गरें, जहाँ न त स्वच्छता थियो, न विद्युत्, न त एनस्थेसिया नै। शल्यक्रियाहरू भीडभाडयुक्त र फोहोर भुइँमा गरिन्थ्यो। बच्चाहरूको मृत्यु उनीहरुको चोट घातक भएको कारणले भएको थिएन, बरु उनीहरुको मृत्युको कारण- हामीसँग रगत, एन्टिबायोटिक्स र अन्य कुनै पनि ठूलो अस्पतालमा सहजै उपलब्ध हुने आधारभूत सामग्रीहरू नै थिएनन्।
मैले गाजामा बिताएको पाँच हप्तामा कुनै पनि लडाकुको उपचार देखिनँ वा गरिनँ। मेरा बिरामीहरू शरीरमा छर्राहरू गाडिएका, दिमागमा गोली लागेको छ वर्षका बालबालिका थिए; गर्भावस्थामै दुई टुक्रा परेका शिशु, र आमाको पेल्भिस चकनाचुर पारिएको गर्भवती महिलाहरू थिए। त्यो सामुहिक विपतको बेलामा पनि आमाहरूले आपतकालीन विभागमै तातो प्लेटमा रोटी पकाउँदै आफू र आफ्ना बच्चाहरूलाई बचाइरहेकी हुन्थिन् । हामी वरिपरि झरिरहेको आगो र मृत्युसँग जुधिरहेका हुन्थ्यौँ।
अध्यक्षज्यू, गाजामा जीवनका आधारहरू- परिवार, स्वास्थ्य र समुदाय-सबै छियाछिया भइसकेका छन्। यहाँको स्वास्थ्य सेवा प्रणाली असफल भएको होइन।यो स्वास्थ्य सेवा प्रणालीलाई योजनाबद्ध रूपमा एक लामो सैन्य अभियानमार्फत ध्वस्त पारिएको छ, जसले अन्तर्राष्ट्रिय मानवीय कानुनलाई जानाजान उल्लंघन गरेको छ। सर्वसाधारणहरू निरन्तर भइरहेका हवाई आक्रमणहरूबाट मात्र होइन, तीव्र कुपोषण, सेप्सिस, खुला आकाशमा बस्नुपरेको पीडा, र निराशाबाट पनि मरिरहेका छन्। मैले गाजामा गरेका दुई यात्राबीचको समयमा बिरामीहरूको स्वास्थ्यमा तीव्र गिरावट देखेँ । त्यसो हुनुको कारण चोटपटक मात्र थिएन, तर भोक र कुपोषणको चर्किंदो अवस्था थियो, जसले उनीहरूको शरीरलाई अझ कमजोर बनायो, घाउहरू ढिलो निको भए, र उनीहरूको बाँच्ने सम्भावना निकै न्यून रह्यो।
गाजामा जीवनका आधारहरू- परिवार, स्वास्थ्य र समुदाय-सबै छियाछिया भइसकेका छन्। यहाँको स्वास्थ्य सेवा प्रणाली असफल भएको होइन।यो स्वास्थ्य सेवा प्रणालीलाई योजनाबद्ध रूपमा एक लामो सैन्य अभियानमार्फत ध्वस्त पारिएको छ, जसले अन्तर्राष्ट्रिय मानवीय कानुनलाई जानाजान उल्लंघन गरेको छ।
र हामीले यो बिर्सनु हुँदैन कि यो सम्पूर्ण संकट मानव निर्मित हो। यो पूर्ण रूपमा रोक्न सकिने खालको थियो। यसमा सहभागी हुनु वा नहुनु- तर यसको घट्ना स्वीकृत गर्नु पनि एक निर्णय हो। जीवनका लागि आवश्यक शर्तहरू-खाना, बासस्थान, पानी र औषधि-इच्छापूर्वक निषेध गरिनु एक सोचविचारपूर्वक गरिएको अस्वीकार हो। 'नरसंहार रोक्नु'को अर्थ हो- यस्ता अत्याचारहरूलाई सामान्य मान्न अस्वीकार गर्नु। यसको अर्थ हो- प्यालेष्टिनीहरूलाई अमानवीकरण गर्न अस्वीकार गर्नु, उनीहरूलाई केवल क्यालोरी खपत गर्ने वस्तु वा कति ट्रक सहायता पुग्यो भन्ने आँकडामा मात्र सीमित देख्न अस्वीकार गर्नु।
हामी अहिले देखिरहेका छौं कि यस्तै सोचले मानव गरिमामाथि संकट निम्त्याएको छ, जहाँ एक सम्पूर्ण जनसमुदाय अस्तित्वको चरम सीमामा पुगीसकेको छ।
मार्च १८ मा युद्धविरामको उल्लंघन इजरायलद्वारा गरियो।त्यो दिन, मैले मेरो सम्पूर्ण चिकित्सकीय जीवनको सबैभन्दा भीषण सामूहिक घाइतेहरूको घटना नासेर मेडिकल कम्प्लेक्समा देखेँ। केवल एक बिहानमै २२१ जना ट्रमा बिरामीहरू आए। ९० जनाको अस्पताल आइपुग्दासम्मै मृत्यु भइसकेको थियो। तीमध्ये करिब आधा गम्भीर रूपमा घाइते भएका बालबालिका थिए। पृथ्वीको कुनै पनि स्वास्थ्य प्रणालीले यस्तो परिस्थितिको सामना गर्न सक्दैन- झन् नाकाबन्दी गरिएको छ र जसलाई आवश्यक सामग्रीहरूबाट वञ्चित बनाइएको अवस्था झेलिरहेको प्रणालीले त सक्दै सक्दैन । अस्पतालहरू शरणस्थल हुनुपर्ने हो। स्वास्थ्यकर्मीहरू र तत्काल राहत प्रदान गर्ने कर्मचारीहरू सुरक्षित हुनुपर्ने हो। बालबालिकाहरू सुरक्षित हुनुपर्ने हो। तर गाजामा, यी सबै सुरक्षाहरु गुमिसकेका छन्।
हरेक दिन, लडाकु र सर्वसाधारणको बीचको भिन्नता मेटिइरहेको छ। मेरा अधिकांश बिरामीहरू किशोर उमेरभन्दा साना बालबालिका थिए । उनीहरूको शरीर विस्फोटकले छियाछिया पारिएको थियो, उडिरहेका फलामका टुक्राले च्यातिएको थियो। धेरैले ज्यान गुमाए। बाँचेका धेरैजसोले जब होशमा आए, तब थाहा पाए कि उनीहरूको पूरै परिवार अब छैन।
गाजाका झण्डै आधा बालबालिकाहरू आत्महत्या गर्ने सोचमा छन्। उनीहरूले सोध्छन्, "म किन मरिनँ मेरी दिदी/आमा/बाबुसँगै?" यो सोच कुनै उग्रवादको परिणाम होइन, बरु सहनै नसकिने शोकको उपज हो।
गत वर्ष, मैले न्यूयोर्क टाइम्समा गाजामा सेवा गरेका ६५ जना अमेरिकी स्वास्थ्यकर्मीहरूको एउटा सर्वेक्षण प्रकाशित गरें । तीमध्ये ८३% ले टाउकोमा वा छातीमा गोली लागेका बालबालिकाहरू देखेका अनुभव सुनाए। म स्वयंले युरोपियन अस्पतालमा बिताएको दुई साताभरमा यस्ता १३ बिरामीको उपचार गरेँ।
Warchild Alliance का अनुसार, गाजाका झण्डै आधा बालबालिकाहरू आत्महत्या गर्ने सोचमा छन्। उनीहरूले सोध्छन्, "म किन मरिनँ मेरी दिदी/आमा/बाबुसँगै?" यो सोच कुनै उग्रवादको परिणाम होइन, बरु सहनै नसकिने शोकको उपज हो।
म सोच्दछु, के यस परिषद्को कुनै सदस्यले कहिल्यै त्यस्तो पाँच वर्षको बच्चासँग भेट गरेका छन्, जसले अब बाँच्न चाहँदैन? त्यस्तो समाजको कल्पना गर्नुहोस्, जहाँ असंख्य बालबालिकाहरु यस्तो भावनामा बाँचेका छन्।
र मलाई अचम्म लाग्ने कुरा यो होइन कि गाजाका केही बालबालिकाले बाँच्ने चाहना गुमाइसकेका छन्, तर यो हो कि अझै पनि केहीले आशा समातिरहेकै छन्। प्रायः स्वास्थ्यकर्मी रहेका मेरा प्यालेष्टिनी साथीहरू अब लचकता या बाँच्ने सम्भावनाको कुरा गर्दैनन्। बाबुआमाहरूले कदाचित पछि सनाखत गर्नुपर्ला भनेर आफ्ना छोराछोरीका लुगाहरू याद गर्छन्। उनीहरू सुत्नुअघि एक टुक्रा रोटीको प्रार्थना गर्छन्, ताकि राति मारिए भने उनीहरूको बच्चाहरू अलि कम भोकै मरोस्।
मैले गाजामा, विशेषतः बालबालिकाहरूमाथि के भइरहेको छ भन्ने कुरा मैले मेरो आफ्नै आँखाले देखेको छु । मैले नदेखेझैं गर्ने ढोंग गर्न सक्दिनँ।
मेरा इजरायली र अमेरिकी साथीहरू आफूहरूको नाममा भइरहेका कार्यहरू देखेर स्तब्ध छन्। हामीमध्ये धेरैले बुझ्न सकिरहेका छैनौं कि हाम्रो सरकारले कसरी यस्तो निरर्थक विनाशका लागि अझै पनि हतियार आपूर्ति गरिरहन्छ। तर यो सभामा रहेका तपाईंहरू यसलाई रोक्ने शक्ति राख्नुहुन्छ।
म यहाँ छु किनभने मैले गाजामा, विशेषतः बालबालिकाहरूमाथि के भइरहेको छ भन्ने कुरा मैले मेरो आफ्नै आँखाले देखेको छु । मैले नदेखेझैं गर्ने ढोंग गर्न सक्दिनँ। तपाईंहरू पनि अब अज्ञानताको दाबी गर्न सक्नुहुन्न। म यो परिषद् र विशेष गरेर मेरो आफ्नै सरकारलाई यी कार्यान्वयन योग्य उपायहरूबाट तुरुन्त कार्य गर्न आग्रह गर्दछु।
पहिलो, तुरुन्त र स्थायी युद्धविरामको माग गरिनुपर्छ, जसमा सबै पक्षहरूलाई हतियार स्थानान्तरण रोक्ने र इजरायलमाथि लक्षित र वैधानिक प्रतिबन्धहरू लागू गर्ने कुरा समावेश हुनुपर्छ।
दोस्रो, गाजाका सबै नाकाहरू पुन: खोल्न माग गरिनुपर्छ, र पश्चिमी किनारा र पूर्वी यरुशलमका अस्पतालसम्म कुनै रोकावटबिना स्वास्थ्य उद्दार सुनिश्चित गरिनुपर्छ । जहाँ सुरक्षित रूपमा गाजा फर्कन सकून् भन्ने ग्यारेन्टीसहित प्यालेष्टिनी बिरामीहरूलाई प्यालेष्टिनी चिकित्सकहरूले उपचार गर्न सकून् ।
तेस्रो, गाजाभर निरन्तर मानवीय पहुँचको ग्यारेन्टी दिइनुपर्छ, जसले सबै आवश्यक सामग्री-बासस्थान, खाना, पानी, इन्धन र औषधि-सबै पीडित जनतासम्म पुग्न सुनिश्चित गरोस्।
चौथो, सहायतलाई हतियारको रूपमा प्रयोग गर्ने र राजनीतिकरण गर्ने कार्यलाई स्पष्ट र दृढ रूपमा अस्वीकार गरिनुपर्छ । त्यसको एउटा नमूना हो Gaza Humanitarian Foundation । उक्त संस्थाले मानवीय सिद्धान्तहरूको पालना नगरेको सार्वजनिक रूपमा बताउँदै अमेरिकी मरीन कोर्प्सका पूर्व सदस्य समेत रहिसकेका उक्त संस्थाको कार्यकारी निर्देशकले पदत्याग गरेका थिए ।
हामीले संयुक्त राष्ट्रसंघका विद्यमान संयन्त्रहरूलाई समर्थन गर्नुपर्छ, UNRWA लाई समर्थन गर्नुपर्छ, र विशेषज्ञता भएका गैरसरकारी संस्थाहरू (NGOs) लाई अवरोधरहित पूर्ण पहुँच दिनुपर्छ, जसले विशेष हेरचाह आवश्यक परेका मानिसहरूलाई सहायता पुर्याउन सकून्।
पाँचौं, सबै बन्धकहरूको तुरुन्त र बिना सर्त रिहाइ सुनिश्चित गरिनुपर्छ।
यो परिषद् अझै मौन रह्यो र अहिले कार्य गर्न असफल भयो भने, त्यो लेखाजोखा एक ऐतिहासिक प्रमाण हुनेछ-एक विश्वव्यापी असफलताको प्रमाण, जसले आपतकालीन हेरचाह दिन सक्ने अवसर गुमायो र हाम्रो सामूहिक विवेकको पतनलाई उजागर गर्यो।
छैटौं, सबै स्वास्थ्यकर्मीहरूको तुरुन्त र बिना सर्त रिहाइ सुनिश्चित गरिनुपर्छ । त्यसमा हाल इस्राएली हिरासतमा १५० दिनभन्दा बढी समयदेखि राखिनुभएको डा. हुशाम अबु सुफ़ी पनि पर्नुहुन्छ ।
र सातौं, कुनै ढिलाइ नगरी संयुक्त राष्ट्रसंघको चार्टरको संरक्षण गरिनुपर्छ र जातीय नरसंहार (genocide) रोक्न अहिले नै कारबाही गर्नुपर्छ।
एक दिन गाजाका बाँचेकाहरूले यो परिषद्का सदस्यहरूले गरेका ती खोक्रा प्रतिज्ञाहरूको लेखाजोखा राख्नेछन्-जब उनीहरूको घाउ अझ गहिरिँदै र जीवनहरू गुम्दै जानेछ।
यदि यो परिषद् अझै मौन रह्यो र अहिले कार्य गर्न असफल भयो भने, त्यो लेखाजोखा एक ऐतिहासिक प्रमाण हुनेछ-एक विश्वव्यापी असफलताको प्रमाण, जसले आपतकालीन हेरचाह दिन सक्ने अवसर गुमायो र हाम्रो सामूहिक विवेकको पतनलाई उजागर गर्यो।
म तपाईंहरूलाई हार्दिक अनुरोध गर्दैछु- तपाईंहरूलाई दिइएको अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको रक्षा गर्न र अपूरणीय क्षति हुन नदिन जिम्मेवारी पालना गर्ने काम गर्नुहोस्।
मैले उल्लेख गरेका कदमहरू नै सबैभन्दा न्यूनतम आवश्यकताहरू हुन्।
म मेरो आफ्नै सरकारको प्रतिनिधिलाई आग्रह गर्दैछु- बहुसंख्यक अमेरिकी जनताको आवाज सुन्नुहोस्, जो यस्तै माग गरिरहेका छन्।
यो अवस्था यसैगरी जारी रह्यो भने, अब प्यालेष्टिनी डाक्टरहरू बाँकी रहने छैनन्, बिरामी र घाइतेहरूको हेरचाह गर्ने कोही रहने छैन।स्वास्थ्य प्रणाली पुनर्निर्माण गर्न बाँकी रहने कुनै प्यालेष्टिनी रहने छैनन्।
हामी हाम्रै आँखासामु एक पुस्ता गुमाउँदैछौं- मानिसहरूलाई भोक, रोग, र निराशाबाट मृत्युको मुखमा धकेल्दैछौं।जबकि यस्ता मृत्युहरू सजिलै रोक्न सकिन्थ्यो।
राष्ट्रसंघीय सुरक्षा परिषदमा गरेको सम्बोधनको अनुवाद । स्रोत: https://www.youtube.com
अन्तरिम सरकारले बंगलादेशलाई गृहयुद्धतर्फ धकेलिरहेको छ : वर्कर्स पार्टी
“भेनेजुएला फेरि कहिल्यै उपनिवेश बन्ने छैन”
ट्रम्पले भेनेजुएलामा आफ्ना युद्धपोतहरु किन पठाए?
रूस–चीन भिसा-मुक्त यात्रा सम्झौता: नयाँ विश्व व्यवस्थाको प्रतीक
फ्रान्केन्स्टाइनको राक्षसझैँ, तालिबानले पाकिस्तानलाई सताइरहेको छ
पश्चिमा नेतृत्वले कसरी विजयलाई हारमा परिणत गर्यो (१९९०-२०२५)
युरोप अझै पनि युक्रेनको युद्ध जारी राख्न कटिबद्ध छ
प्रतिक्रिया