पृथ्वी तात्दो छ, तर जाडो किन झन् चिसो हुँदै जाँदैछ ?
अबको युग– जलवायु अस्थीरताको युग ! गर्ने के ?

जब हामी 'ग्लोबल वार्मिङ' भन्ने शब्द सुन्छौं, हाम्रो मानसपटलमा उठ्ने पहिलो तस्बिर हो- तातो पृथ्वी, पग्लँदै गरेका हिमनदी, उष्ण जंगलमा लागेको डढेलो, र पसिना पुछ्दै हिँडेका मानिसहरू। तर पछिल्ला केही वर्षमा, हामीले संसारका विभिन्न भूभागमा देखेका छौं- एकपछि अर्को पटक कठोर जाडो बढिरहेको छ । त्यस्तो कठोर जाडो जसले सामान्य जीवनलाई तहसनहस बनाइदिएको छ। अमेरिका, युरोप, जापान, र चीनजस्ता देशहरूले पटक-पटक पोलार भर्टेक्स (polar vortex) को चपेटामा पर्दै आएका छन्।
स्वभाविक रुपमा हाम्रो मनमा प्रश्न उठ्न सक्छ- " पृथ्वी तात्दैछ भने, यत्रो कठोर जाडो कहाँबाट आयो?"
यो प्रश्न स्वाभाविक भए पनि यसको उत्तर सामान्य छैन। किनभने ग्लोबल वार्मिङको प्रभाव केवल तापक्रम वृद्धिमै सीमित छैन । यो वायुमण्डलीय संरचनाहरूको पुनर्संरचनासँग जोडिएको जटिल प्रणाली हो। र त्यही प्रणाली अहिले विश्वव्यापी मौसमलाई अनियमित, अस्थिर, र कहिलेकाहीँ उग्र पनि बनाइरहेछ।
https://images.theconversation.com/ पोलार भर्टेक्स: एक खतरनाक चिसो प्रणालीको वैज्ञानिक व्याख्या 'पोलार भर्टेक्स' भन्ने शब्दावलीले पृथ्वीको ध्रुवीय क्षेत्रमा विशेष गरी उत्तर ध्रुवमाथि रहने अत्यन्त चिसो र निम्न-दाबयुक्त वायुमण्डलीय प्रणालीलाई जनाउँछ। यो प्रणाली पृथ्वीको वायुमण्डलको माथिल्लो तहमा-विशेषतः stratosphere र troposphere को सिमाक्षेत्रमा-पाइन्छ, जहाँ यो वर्षभरि सक्रिय रूपले घुमिरहन्छ। यसको प्रमुख कार्य भनेको चिसो हावालाई ध्रुवीय क्षेत्रमै सीमित राख्नु हो, जसले गर्दा त्यो चिसो मध्य अक्षांश (mid-latitude) सम्म नफैलियोस्। सामान्य अवस्थामा, पोलार भर्टेक्स एक स्थिर र घुम्ने प्रणाली हो । यो घडीको सुईको विपरीत दिशा (counterclockwise) मा घुम्छ। यसले ध्रुवीय क्षेत्रको तापमानलाई सन्तुलित राख्न सहयोग गर्छ। तर जब पृथ्वीको जलवायु प्रणालीमा असन्तुलन आउँछ- जसलाई हामी जलवायु परिवर्तन वा ग्लोबल वार्मिङ भन्छौँ-त्यसको असर पोलार भर्टेक्समा पनि पर्छ। विशेष गरी आर्कटिक क्षेत्र (उत्तर ध्रुवीय भूभाग) विश्वको अन्य भागहरूको तुलनामा झन् छिटो तातिरहेको छ। वैज्ञानिकहरूले यस घटनालाई आर्क्टिक एम्प्लिफिकेसन (Arctic Amplification) भन्छन्। यसकारण त्यहाँको हिउँ पग्लिन्छ, सतहको उज्यालोपन (albedo effect) घट्छ, र त्यसले अझ धेरै गर्मी सोस्न थाल्छ। यस्तो असन्तुलनले पोलार भर्टेक्सलाई कमजोर पार्न थाल्छ। पोलार भर्टेक्स कमजोर भएपछि त्यो स्थिररूपमा ध्रुवमा सीमित रहन सक्दैन। परिणामस्वरूप, त्यसको केही भागहरू 'फाटेर' दक्षिणतिर सर्छन् । त्यस प्रक्रियालाई वैज्ञानिकहरूले पोलार भोर्टेक्स ब्रेकडाउन (polar vortex breakdown) भनिन्छ। यस्ता घटनाले अमेरिका, युरोप, चीन, जापानजस्ता देशहरूमा अनि केही हदसम्म नेपालमा पनि असामान्य रूपमा कठोर जाडो ल्याउन सक्छ। पोलार भर्टेक्सको यो असामान्य व्यवहारको मुख्य कारण भनेकै जलवायु परिवर्तन हो। तापक्रम वृद्धिले पृथ्वीको उच्च अक्षांशहरूमा बहने एक प्रकारको उच्च-गतिका हावा (Jet Stream) लाई कमजोर बनाउँछ। त्यस्तो हावा पोलार भर्टेक्सको स्थिरताका लागि अत्यन्त आवश्यक हुन्छ। त्यो कमजोर बन्दा पोलार भर्टेक्स अस्थिर बन्छ र चिसो हावा मध्य अक्षांशतिर खसाल्न थाल्छ। त्यसैले, जब कहिले काँही अमेरिका, युरोप वा एशियामा अत्यन्तै चिसो अवस्था पैदा गराइदिन्छ । त्यसबेला मानिसहरू "ग्लोबल वार्मिङ कहाँ छ?" भनेर प्रश्न गर्छन् । तर त्यो यथार्थमा ग्लोबल वार्मिङकै कारण सिर्जित पोलार भर्टेक्सको अस्थिरता र त्यसले पैदा गरेको चरम मौसमको परिणाम हो भनेर बुझ्नु जरुरी छ । छोटकरीमा भन्दा, पोलार भर्टेक्स पृथ्वीको जलवायु सन्तुलनमा निर्णायक भूमिका खेल्ने प्रणाली हो। जब जलवायु परिवर्तनका कारण यसको संरचना बिग्रन्छ, तब चिसो हावा असामान्य ठाउँमा पुग्छ। यसैले, ग्लोबल वार्मिङले पृथ्वीलाई सधैँ तातो बनाउँछ भन्ने हाम्रो सामान्य बुझाइ त्रुटिपूर्ण हुन्छ। त्यो असन्तुलनले कतिपय ठाउँमा झनै कठोर चिसो ल्याउन सक्छ। यसबाट पनि हामी बुझ्न सक्छौं कि जलवायु प्रणाली कति जटिल, अन्तरसम्बद्ध र संवेदनशील छ। |
जलवायु स्थायित्वको अन्त्य
पृथ्वीको जलवायु प्रणाली एक प्रकारको 'सन्तुलित प्रणाली' हो । त्यसको सन्तुलन कायम राख्न अनेकौं यन्त्रहरू काम गरिरहेका हुन्छन्। तीमध्ये एउटा महत्त्वपूर्ण यन्त्र हो: जेट स्ट्रिम । यही जेट स्ट्रिमले उत्तरी गोलार्धको तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ। तर जब आर्कटिक क्षेत्र असमान रूपमा तात्न थाल्छ, यो जेट स्ट्रिम कमजोर हुँदै जान्छ।
त्यसको परिणामस्वरूप, उत्तरी ध्रुवमा सीमित रहनुपर्ने चिसो हावा दक्षिणतिर खस्न थाल्छ-अमेरिका, युरोप, र एशिया हुँदै नेपालसम्म। यही प्रक्रियालाई वैज्ञानिकहरूले "Polar Vortex Disruption" भन्छन्, जसले सामान्यभन्दा धेरै चिसो हिउँद निम्त्याउँछ।
तातो महासागर, बढी वाष्प, बढी हिमपात
तथ्यहरू भन्छन्-समुद्रको सतहमा तापक्रमको वृद्धिले वायुमण्डलमा जलवाष्पको मात्रा बढाउँछ। धेरै जलवाष्प भएको वायुमण्डलमा हिमपात अत्यधिक हुन्छ। अर्थात्, 'तातो महासागर' को कारण 'धेरै हिउँ' पर्ने अवस्था सिर्जना हुन सक्छ।
यसबाट एक अर्को अन्तर्विरोधी कुरा पनि देखिन्छ-जलवायु तात्दै जाँदा हिमपात पनि बढी हुनसक्छ। तापक्रम सन्तुलनको यो गडबडीले कुनै ठाउँहरूमा असामयिक डढेलो त कतै भीषण वर्षा र हिउँपात उत्पन्न गराउँछ।
अब अप्रासंगिक बन्दै 'सामान्य' भन्ने शब्द
पछिल्लो दशकमा मौसमका घटनाहरूको आवृत्ति र तीव्रता दुवै बढेका छन्। उदाहरणका लागि, सन् २०२१ मा अमेरिका र क्यानडाको उत्तर-पश्चिमी भूभागमा देखिएको 'हीट डोम' ले तापक्रम ४९.६°C सम्म पुर्याएको थियो। अर्को वर्ष जापानमा १८७५ यताकै सबैभन्दा गर्मी जून महिना थियो।
त्यहीबेला, चीनको हेबेइ प्रान्तमा एकै सातामा ७३ सेण्टिमिटर हिउँ जमेको थियो, जुन विगत चार दशकको रेकर्ड हो। मौसममा यस्ता असन्तुलनहरू सामान्य हुने क्रम बढ्दैछ। त्यसैले अब 'सामान्य मौसम' भन्ने कुरा नै पुनर्विचार गरिनुपर्ने भएको छ ।
नेपालको लागि खतराको घण्टी
नेपालका लागि यो विषय थप गम्भीर छ। हिमाल पग्लिने दर बढ्दै गएको छ। हिउँ पर्ने समय र मात्रा अनियमित बन्दै गएको छ। तराई क्षेत्रमा अत्यधिक गर्मी र लामो खडेरी, पहाडी क्षेत्रहरूमा कुबेलाको वर्षा, वर्षाको तरिकामा आएको परिवर्तन, लगातार पानी पर्नुको सट्टा ह्वात्तै सम्हाल्न नसकिने गरी पानी पर्नु (२४ घण्टामा पर्नुपर्ने पानी ४–५ घण्टामै पर्नु) र भूक्षय-यी सबै जलवायु अस्थिरताका लक्षण हुन्।
नेपालको कृषिप्रणाली मौसममा निर्भर छ। वर्षामा भएको भयानक गडबडी, अत्यधिक चिसो वा अत्यधिक गर्मीले बालीनाली उत्पादनमा प्रतिकूल असर पारिरहेको छ। साना किसान, कमजोर पूर्वाधार, र न्यून पुनर्संरचना क्षमताले गर्दा जलवायु आपत् यहाँ मानव-संकटमा परिणत हुन्छ।
अब के गर्ने?
जलवायु परिवर्तन करिब करिब रोक्न सकिने अवस्था पार भइसकेको छ। तर यसको गति कम गर्न सकिन्छ। त्यसका लागि विश्वव्यापी र स्थानीय दुवै स्तरमा नीतिगत हस्तक्षेप अपरिहार्य छ।
के-के गर्न सकिन्छ?
० नवीकरणीय ऊर्जा (renewable energy) मा तीव्र रूपान्तरण।
० सहरी योजना र पूर्वाधार जलवायु संवेदनशील बनाउने।
० जलवायु शिक्षा र चेतना गाउँ-सहरमा विस्तार।
० कृषिमा जल-हावाको पूर्वानुमान प्रणाली को समावेश।
० अन्तर्राष्ट्रिय सहयोग र हरित प्रविधिको आयात।
नेपाल सरकारको राष्ट्रिय जलवायु नीतिमा यी प्राथमिकताहरू समावेश भए पनि कार्यान्वयनमा गम्भीर कमजोरी छन्। नीतिगत घोषणा मात्र होइन, तिनको कार्यान्वयनमा जवाफदेहीता कायम गर्न आवश्यक छ।
त्यसमाथि थप गर्नै पर्ने कुरा भनेको जलवायु परिवर्तनका असरहरुसँग समन्वय गरेर बाँच्ने कलाहरु सिक्ने । हामीले जलवायु परिवर्तनका असरहरुलाई रोक्न वा परिवर्तन गर्न सक्दैनौं तर त्यसका असरहरुलाई कम गर्नका लागि त्यसका तौरतरिकाहरुलाई बुझेर त्यसअनुकूलका कृषिप्रणालीहरुलाई तालमेल मिलाउने, परम्परागत मौसमप्रणालीमा आधारित बालीप्रथालाई परिवर्तन गर्ने, जलवायु परिवर्तनले ल्याउने जोखिमहरुको पूर्वानुमान गर्ने विधि र कलाको विकास गर्ने तथा त्यसअनुकूल प्रतिरक्षाको तयारी गर्ने जस्ता कामहरुमा विशेष ध्यान दिइनु पनि जरुरी छ ।
बुझ्नुपर्ने कुरा के हो भने तातो पृथ्वीले चिसो ल्याउनु कुनै विरोधाभाषी कुरा होइन- यो प्रकृतिले बजाएको चेतावनीको घण्टी हो। प्रकृतिले अब चेतावनीपूर्ण सन्देश दिइरहेकी छे कि हामीले पृथ्वीको पुननवीकरण गर्ने क्षमताभन्दा बढी हदसम्म यसको स्रोत संशाधनहरुको दोहन गरिसकेका छौं । मानिसको अत्यधिक लोभ र गैरजिम्मेवारीपनका कारण यसले उपलब्ध गराउन सक्ने क्षमता र सीमा नाघेर प्राकृतिक स्रोतहरु खपतको, उत्खननको, र बेपरवाह जीवनशैलीको सीमा पार गरिसकेका छौं।
हामीले चाहे–नचाहे वा स्वीकारे–नस्वीकारे पनि अबको युग जलवायु अस्थिरताको युग हो। र यो अस्थिरता भनेको केवल 'मौसम बद्लियो' भन्ने कुरा होइन, यो सिङ्गो सभ्यता र प्रणालीको पुनःगठनको माग हो। हामीले अहिले नबुझे, भविष्यमा यो बुझाइ शोकमा परिणत हुनेछ।

पृथ्वीमा विचरण गरेका मानव जाति हामी मात्र होइनौं !

ब्रम्हाण्ड सम्बन्धी ठूला प्रश्नहरूको संक्षिप्त उत्तर

मानव समाजलाई निश्चित आकार दिने 'प्रविधि' को ऐतिहासिक विकासक्रम

सभ्यताको गति बदलिदिने आविष्कार पाङ्ग्रा !

सबै चीजको सिद्धान्त - संक्षिप्त अध्ययन

मानिसले कहिलेदेखि खेतीपाती थाले होलान् ?

बृहस्पति– पृथ्वीका रक्षक !

प्रतिक्रिया