कोभिड-१९ फेरि सक्रिय बन्दै : एशियाली देशहरूमा संक्रमण बढ्यो !

२०२५ को मे महिनाबाट हङकङ र सिङ्गापुरमा कोभिड-१९ संक्रमण उल्लेखनीय रूपमा बढ्न थालेको छ। भारतमा पनि नयाँ संक्रमित भेटिएका छन्। केरला, महाराष्ट्र र तमिलनाडु सबैभन्दा प्रभावित राज्यहरू हुन्।

संक्रमणको यो पुनरागमनका सम्भावित कारणमा नयाँ भेरिएन्ट 'JN.1', प्रतिरक्षा क्षय, सावधानीको कमी र अन्तर्राष्ट्रिय आवातजावत रहेका छन्। भारतसँग खुला सीमा भएकाले नेपालमा पनि सतर्कता आवश्यक छ।

कोभिड–१९ महामारी सकिएको घोषणा भए तापनि यसको खतरा पूरै टरिसकेको छैन। जनस्तरमा सावधानी र सरकारी स्तरमा पूर्वतयारी अनिवार्य छन्।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ केही वर्षको नियन्त्रणपछि फेरि सक्रिय रुपमा फर्किन थालेको छ ।  विशेष गरेर हङकङ, सिङ्गापुर र भारत जस्ता एशियाली मुलुकहरूमा संक्रमितको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

भारतमा कोभिड-१९ को पछिल्लो स्थिति

१२ मे २०२५ यतादेखि भारतमा १६४ नयाँ कोभिड संक्रमित भेटिएका छन्। यससँगै देशभर सक्रिय संक्रमितको संख्या २५७ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित केस केरला, महाराष्ट्र र तमिलनाडुमा पाइएका छन्। पछिल्लो सात दिनमा केरला राज्यमा ६९ जना, महाराष्ट्रमा ४४ जना र तमिलनाडुमा ३४ जना नयाँ संक्रमित भेटिएका छन्।

महाराष्ट्रबाट दुईजनाको मृत्यु भएको रिपोर्ट आएको छ । तर चिकित्सकहरूको भनाइमा यी मृत्यु कोभिड-१९ का कारण नभइ अरू कारणबाट भएको हुनसक्छ। तर दुबै मृतकको परीक्षण रिपोर्टमा कोभिड-१९ पोजिटिभ देखिएको छ, जसले स्थिति थप संवेदनशील बनाएको छ।

हङकङ र सिङ्गापुरमा तीव्र वृद्धि

हङकङको स्वास्थ्य सुरक्षा केन्द्रका अनुसार, हङकङमा हाल कोभिड-१९ को संक्रमण "निकै बढी" रहेको छ। २७ अप्रिलदेखि ३ मे २०२५ सम्मको सातामा अनुमानित संक्रमित संख्या १४,२०० पुगेको छ, जुन अघिल्लो हप्ता ११,१०० थियो। यस अवधिमा अस्पतालमा भर्ना हुने संक्रमितको दैनिक औसत संख्या पनि १०२ बाट बढेर १३३ पुगेको छ।

सिङ्गापुरमा पनि यसै गरी संक्रमणमा वृद्धि देखिएको छ। त्यहाँका स्वास्थ्य मन्त्रालयका अनुसार, गत हप्ताको तुलनामा संक्रमण दरमा उल्लेखनीय वृद्धि भएको छ  । नागरिकहरुलाई मास्क लगाउने लगायत कोभिड बचावटका मापदण्डहरुको परिपालना गर्न सल्लाह दिइएको छ ।  

सम्भावित कारणहरू

अहिले आएर कोभिड संक्रमणमा अचानक वृद्धि हुनुका पछाडिको मुख्य कारण  कोभिड-१९ भाइरसको निरन्तर उत्परिवर्तन (mutation) भइरहेकाले नयाँ भेरिएन्टहरूलाई मानिएको छ । यी नयाँ भेरिएन्टहरुले पहिलाको प्रतिरक्षा प्रणालीलाई छल्न सक्छ। पछिल्लो समय 'JN.1' नामक भेरिएन्टबारे विश्व स्वास्थ्य संगठन (WHO) ले पनि सचेत गराइसकेको छ। यस भेरिएन्टको सङ्क्रमण क्षमता अन्यभन्दा बढी देखिएको छ।

अर्को कारण प्रतिरक्षा क्षय (waning immunity) पनि हो । धेरै मानिसहरूले खोप लिएको लामो समय भइसकेकाले शरीरको प्रतिरक्षा क्षमता क्रमशः घट्दै गएकोले पनि संक्रमणको कहर बढेको हुनसक्छ।

नेपालका लागि खतराको घण्टी

भारतसँग खुला सीमा रहेको र जनस्तरको आवाजाही उच्च हुने भएकाले नेपालमा पनि सतर्कता आवश्यक छ। नेपाल सरकारले महामारी समाप्त भएको औपचारिक घोषणा नगरेको भए पनि जनस्तरमा खोपप्रति तथा संक्रमणबाट बच्ने उपायहरुको परिपालना गर्नेबारे चासो घटेको देखिन्छ। यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयले निम्न कदमहरू चाँडै चाल्न जरुरी देखिन्छ-

संक्रमण बढिरहेका देशबाट नेपाल आउने यात्रुहरूको परीक्षण।

अस्पताल र स्वास्थ्यकर्मीहरूको तयारी पुनः सक्रिय पार्ने।

जोखिममा रहेका वर्ग (बृद्ध, दीर्घरोगी, गर्भवती महिला आदि) लाई खोपको बुस्टर डोज सुनिश्चित गर्ने।

परीक्षण सुविधा, PPE र अक्सिजन स्टकजस्ता तयारीहरूमाथि पुनः समीक्षा।

निष्कर्ष

कोभिड-१९ को पुनरागमनको संकेतले स्पष्ट गर्छ कि महामारी सकिएको भए पनि त्यसको जोखिम पूर्ण रूपमा हटेको छैन। हङकङ, सिङ्गापुरजस्ता प्रगतिशील स्वास्थ्य संरचना भएका देशहरूमा समेत वृद्धि देखिएको सन्दर्भले सम्पूर्ण दक्षिण एशियाली मुलुकहरूलाई सतर्क रहनु जरुरी देखिन्छ । वैज्ञानिक अध्ययन, प्रतिरक्षा अध्ययन, जनस्वास्थ्य व्यवहार र नीतिगत तयारीलाई सँगसँगै लैजाँदा मात्रै अर्को संभावित लहरलाई रोकथाम गर्न सकिन्छ।