यहाँ लुटमा छुट छ...

व्यक्तिगत लाभमा चुर्लुम्म डुबेको राज्य,
जहाँ सरकार आफैँ लुटको साझेदार छ ।
सेकेण्ड–सेकेण्डमा छूट छ लुटलाई—
लुटकै छुटमा ननिदाउने तन्त्र !

हे अभागीहरू, हे निरिहहरू,
तिमीहरूका निधारमा थपिएको छ बोझ—
माफियाहरूलाई क्षणक्षणमा माफी,
भ्रष्टाचारका प्रमाणहरू राज्यबाटै बिउझिन नपाउँदै राफसाफ ।

अनियमितताको बियाँ छरिँदैन अब,
यो त रोपिन्छ सावधानीसाथ—
किनभने छर्ने कुरामा ख्याल हुँदैन,
तर रोपिएको त संरक्षणमै पलाउँछ ।

हाय!
मेरो देश, म नागरिक,
तर सरकार आफैले उठाएको छ भ्रष्टाचारको ठेक्का ।
यदि यस्तै चलिरहने हो भने—
त्यो दिन टाढा छैन,
जहाँ
पहुँचवालाहरू
निरिहहरूलाई
भकाभक सेकुवाजस्तो बनाउनेछन् !

त्यो निर्दयी दृश्य सामु,
टुलुटुल हेर्नेहरू
राज्य संलग्नताको अपराधलाई
हावा नलागोस् भनेर चित्रा खोज्दै बेर्ने छन् ।

तिमीहरू—
पापका हिस्सेदार हौ,
आफ्नै घाँटीमा झुन्ड्याएका तरबार हौ !

जाग, जाग नागरिक !
जो अझै पनि लुकेर बस्छ—
उ हो अपराधको ढुकुवा !

अब त
नयाँ स्वरूपमा उठ्नुपर्छ,
स्वाभिमानसाथ आफैँले आफैँलाई पाल्न,
र त्यो
नयाँ रुप–रङ्गको जहानियाँतन्त्रलाई
एकै झटारोमा फाल्न !