सादा जीवन, उच्च आदर्श: होसे "पेपे" मुहीकाको जीवन यात्राको अन्त्य

उनले बारम्बार भन्ने गर्थे, "राजनीतिज्ञहरूले जनताजस्तै जीवन बाँच्नुपर्छ-विशेष वर्गजस्तै होइन।"

विश्व राजनीतिमा कतिपय व्यक्तित्वहरू यस्ता हुन्छन्, जसले सत्ताको शीर्ष स्थानमा पुगेर पनि आफूलाई आम जनताको जीवनसँग जोडिराख्न सक्छन्। सत्ताको मातले उनीहरुलाई विचलित तथा पथभ्रष्ट बनाउन सक्दैन । उनीहरु भुँइतहका जनतासँगै आफूलाई जोडेर राखिराख्न तथा बाँच्न सक्छन् । उरुग्वेका पूर्व राष्ट्रपति होसे "पेपे" मुहीका त्यस्तै नाम हुन्, जसले सादा जीवन, उच्च आदर्श, र मानवीय मूल्यहरूको पक्षमा समर्पित रहँदै जनताको मन जिते। अब उनको जीवनको यात्राको पूर्णविराम लागेको छ । तर उनी आफ्ना उच्च आदर्श र नैतिकतावान व्यवहारका कारण विश्व राजनीति र मानवीय नेतृत्वको इतिहासमा सदाको लागि अमर बनेका छन् ।

उरुग्वेका पूर्व राष्ट्रपति तथा प्रख्यात क्रान्तिकारी नेता होसे "पेपे" मुहीका क्यान्सरका कारण ८९ वर्षको उमेरमा निधन भएका छन्। सन् २०१० देखि २०१५ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका मुहीका आफ्ना साधारण जीवनशैलीका कारण विश्वभर चिनिएका थिए। राष्ट्रपतिका रूपमा उनले सरकारी निवासमा बस्न अस्वीकार गरे र राजधानी मोन्तेभिडियोको एक सानो उपनगरमा रहेको सामान्य फूलबारीयुक्त घरमै बस्न रोजे। औपचारिक पोशाक र टाईबाट टाढा रहने उनी प्रायः बिट्ल गाडी चलाउँदै वा साधारण रेस्टुरेन्टमा कार्यालयकर्मीहरूसँग खाना खाँदै गरेको अवस्थामा देखिन्थे, भेटिन्थे।

मे २०२४ मा रोयटरलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, "मैले पुरानो बिट्ल कार अझै पनि राखेको छु, र यो अझै 'अद्भुत' अवस्थामा छ।" उनले हाँस्दै थपेका थिए, "तर मलाई त ट्र्याक्टर चलाउन बढी रमाइलो लाग्छ-कारभन्दा रमाइलो लाग्छ र सोच्न पनि समय पाइन्छ।"

यिनै विशेषताका कारण उनलाई 'विश्वकै सबैभन्दा गरिब राष्ट्रपति' को उपाधिले चिनिन्थ्यो। उनले बारम्बार भन्ने गर्थे, "राजनीतिज्ञहरूले जनताजस्तै जीवन बाँच्नुपर्छ-विशेष वर्गजस्तै होइन।"

राष्ट्रपतिको जिम्मेवारीमा रहँदा मुहीकाले नागरिक स्वतन्त्रताको पक्षमा साहसी र दूरदर्शी दृष्टिकोण प्रस्तुत गरे। उनले समलैंगिक विवाह र प्रारम्भिक गर्भपतनलाई कानुनी मान्यता दिने विधेयकमा हस्ताक्षर गरे, साथै गाँजाको बिक्री वैध बनाउने प्रस्तावको समर्थन गरे। यी कानुनी परिवर्तनहरू क्याथोलिक प्रभावशाली ल्याटिन अमेरिकाका लागि ऐतिहासिक कदम थिए। गाँजालाई वैध बनाउने निर्णय त झन् विश्वमै झण्डै अभूतपूर्व नै मानिएको थियो। उनका अनुसार लागूऔषधलाई "राज्यको कडा नियन्त्रण" अन्तर्गत वैध बनाइनुपर्छ, र कुलतलाई रोगका रूपमा बुझिनु आवश्यक छ।

होसे "पेपे" मुहीका सन् १९६० को दशकमा वामपन्थी विद्रोही संगठन टुपामारोस सँग आबद्ध भएका थिए। यो संगठनले उरुग्वे राज्यसत्ताविरुद्ध सशस्त्र विद्रोह सञ्चालन गरेको थियो। त्यही क्रममा उनी छ वटा गोली लागेर घाइते बनेका थिए । झण्डै १५ वर्षसम्म एकान्त कारावासमा राखिएका उनले यातनाको पीडा समेत सहनुपरेको थियो । रोचक कुरा त के पनि छ भने, एकपटक उनले जेलबाट सुरुङ खनेर भाग्ने प्रयास समेत गरेका थिए ।

सन् १९८५ मा उरुग्वेमा सैन्य शासनको अन्त्य र प्रजातन्त्रको पुनर्स्थापनापछि, मुहीका र उनका सङ्गी विद्रोहीहरू आममाफी ऐनअन्तर्गत रिहा भएका थिए।

जीवनको अन्त्यकालमा मुहीका घाटीको क्यान्सरले ग्रसित थिए । सेप्टेम्बर २०२४ मा विकिरण उपचारले घाँटीको क्यान्सर प्रभावकारी रूपमा नियन्त्रणमा आएको अर्थात निको हुने चरणमा रहेको जानकारी दिइएको थियो । तर  जनवरी २०२५ मा गरिएको परीक्षणमा चिकित्सकहरूले क्यान्सर पुनः फिर्तिएको र कलेजोमा समेत फैलिएको फेला पारेका थिए ।

नोभेम्बर ५, २०१६ मा पोप फ्रान्सिसले मुहीका र उनकी पत्नी लुसिया टोपोलेन्स्कीलाई भेटेका थिए।क्यान्सरले ग्रसित भएर जीवनको अन्त्यकालतिर आइपुग्दा पनि पूर्व विद्रोही र पूर्व राष्ट्रपति मुहीका खासै चिन्तित देखिएनन्। साप्ताहिक पत्रिका Busqueda लाई दिएको अन्तर्वार्तामा उनले भावुक स्वरमा भनेका थिए, "इमान्दारीपूर्वक भन्नुपर्दा, म मर्दैछु। एक योद्धालाई विश्रामको अधिकार हुन्छ।" त्यो नै उनको अन्तिम अन्तर्वार्ता बन्यो ।

जम्मामा भन्दा, होसे मुहीकाको जीवन एक यस्तो उदाहरण हो, जसले सत्ता, संघर्ष, साधापन र सिद्धान्तबीच सन्तुलन कसरी कायम राख्न सकिन्छ भन्ने कुरा सिकाउँछ । उनी न त सत्ता मोहले ललायित भए, न त प्रतिशोधको राजनीतिमा फसे- बरु आदर्श, करुणा र समानताको पक्षमा खडा भए। उनी भौतिक रुपमा यस संसारमा नरहे पनि उनी भुइँतहसँग जोडिइरहने आफ्ना आदर्श जीवनका लागि स्मरणीय रहिरहनेछन् ।

Image source: https://www.aljazeera.com