लेनिनको सम्झनामा काठमाडौंमा विशेष सांस्कृतिक साँझ हुने

विश्वप्रसिद्ध सङ्गीतकार पल रब्सन, पिट सिगर, भूपेन हजारिकाका रचनादेखि नेपाली कवि विमल निभा र गोविन्द वर्तमानका गीत समेत कन्सर्टमा प्रस्तुत हुने
लेनिन स्मृति शतवार्षिकी र सुसेला सङ्गीत समूहको संयुक्त आयोजनामा आगामी जेठ ३ गते राष्ट्रिय नाचघर, काठमाडौंमा विशेष कन्सर्ट हुने भएको छ । वामधाराका जनपक्षीय सङ्गीतकर्मीहरुको साझा जमघटका रुपमा उक्त कन्सर्ट हुने शतवार्षिकी समितिले जनाएको छ।
कन्सर्टमा रामेश, रायन, जीवन शर्माका रचनाको प्रत्यक्ष प्रस्तुतिदेखि बितिसकेका सङ्गीतकारहरु खुशीराम पाख्रिन, जेबी टुहुरे, चुनु गुरुङका सङ्गीत–रचनालाई समेत सुसेला ब्यान्डले एउटै मञ्चमा प्रस्तुत गर्ने तयारी गरेको छ । त्यस्तै सामना परिवार, इन्द्रेणी सांस्कृतिक परिवार, रक्तिम सांस्कृतिक परिवार लगायतका प्रगतिशील क्षेत्रका प्रसिद्ध साङ्गीतिक समूहहरुद्वारा बेग्लाबेग्लै गीत तथा नृत्यहरु पनि कार्यक्रममा पेश हुने छन्।
कार्यक्रमको आयोजक समिति लेनिन स्मृति शतवार्षिकीले सन् २०२४ भरि लेनिनको सम्झनामा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । शतवार्षिकी अभियानको समापन साङ्गीतिक कार्यक्रम आयोजनासहित गर्न लागिएको समिति सदस्य तुल्सीदास महर्जनले बताए ।
साङ्गीतिक कार्यक्रममा विश्वप्रसिद्ध साङ्गीतिक रचनादेखि नेपालका प्रख्यात कविका रचना समेत सामेल गरिने जनाइएको छ । पिएरे दे गेतरको अन्तर्राष्ट्रिय गीत, पिट सिगरको वी शल ओभरकम, पल रब्सनको ‘द ओल्ड म्यान सी’ लगायतका गीति–रचनालाई ‘सुसेला’का कलाकारहरुले कन्सर्टमा प्रस्तुत गर्नेछन्।
‘विश्वप्रसिद्ध कतिपय रचनालाई हामीले नेपालीमा रिमेक पनि गरेका छौं,’ सुसेलाका सदस्य ठाकुर सुवेदीले भने, ‘त्यस्तै, नेपालका स्थापित कलाकारका प्रसिद्ध जनगीतहरुको इन्स्ट्रुमेन्टल प्रस्तुति पनि कन्सर्टमा हुनेछ ।’ सुसेला तथा इसासका कलकारद्वारा कविहरु विमल निभा, गोविन्द वर्तमानका रचना पनि सङ्गीतबद्ध रुपमा प्रस्तुत गर्ने तयारी रहेको जनाइएको छ।
लेनिन दिवसका दिन हुने भनिएको ‘२२ अप्रिल सांस्कृतिक साँझ’ नामक उक्त कार्यक्रम प्राविधिक कारण हुन सकेको थिएन । सोही कार्यक्रमलाई सरेर जेठ ३ गते शनिबार गर्न लागिएको हो । कन्सर्टमा थिएटर मलका रङ्गकर्मीहरुको नाट्य प्रस्तुति पनि रहनेछ।
विश्व कम्युनिस्ट आन्दोलनका प्रसिद्ध नेता तथा रुसमा समाजवादी व्यवस्थाका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिमा शताब्दी वर्ष मनाउने उद्देश्यले मार्क्सवादी समालोचक निनु चापागाईंको संयोजकत्वमा गत वर्ष ‘लेनिन स्मृति शतवार्षिकी’ मूल आयोजक समिति गठन भएको थियो । समितिले लेनिनको योगदान, उनको विरासत, उनका शिक्षा तथा समाजवादी व्यवस्थाका विविध आयामबारे नेपालमा वर्षदिनभरि विभिन्न कार्यक्रमसहित शतवार्षिकी अभियान सञ्चालन गरिसकेको छ।
अभियानले गत वर्ष काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय लेनिन सेमिनार सम्पन्न गरेको थियो भने जेठ ३ गते हुने सांस्कृतिक कार्यक्रमसँगै शतवार्षिकी स्मारिकासहित लेनिनका तीन वटा पुस्तक पनि प्रकाशन गर्ने जनाएको छ ।

फासीवादी उत्पीडनलाई दर्शाउने चलचित्र ‘पुतलीको जिब्रो’

दर्शकहरुले हेर्नुपर्ने एउटा सार्थक चलचित्र ‘लाल सलाम’

पाब्लो पिकासोको जीवनसँग जोडिएको एउटा रोचक मिथक

इजरायली अत्याचारका विरुद्ध कलाकारहरुको प्रतिरोध नाटक

‘कति समयसम्म संसारले यो अकारण क्रूरताको दृश्य सहनेछ?’

यौन उत्पीडनविरुद्धको सफल र प्रेरक संघर्ष गाथा: नर्थ कन्ट्री !

कर्पोरेट पूँजीको चपेटामा परेका गरिब किसानको संघर्षगाथा– 'द ग्रेप्स अफ र्याथ'

प्रतिक्रिया