खुसीको हर्मोनहरु

हाम्रो शरीरभित्र लुकेका मानसिक स्वास्थ्यका नायकहरू

मानव जीवनको गुणस्तर केवल बाह्य भौतिक उपलब्धिहरूमा मात्र निर्भर हुँदैन। हामीभित्र काम गर्ने सूक्ष्म रसायनिक प्रक्रियाहरूले हाम्रो भावना, व्यवहार र सोच्ने तरिकालाई गहिरो रूपमा निर्धारण गर्छन्। विशेषतः एन्डोर्फिन्स, डोपामिन, अक्सिटोसिन र सेरोटोनिन यी चार न्युरोट्रान्समिटर वा न्युरोहर्मोनहरूले हाम्रो मानसिक स्वास्थ्य र दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेल्छन्। यी रसायनहरुलाई प्रायः "खुसीको हर्मोनहरू" भनेर पनि भनिन्छ ।

एन्डोर्फिन्स (Endorphins): प्राकृतिक दुखाइ निवारक

एन्डोर्फिन्स मानव मस्तिष्कले उत्पादन गर्ने प्राकृतिक रसायन हो । यस रसायनले हामीलाई  दुखाइ कम गर्न र सुखद अनुभूति दिने काम गर्छ ।  यसको नाम ‘endogenous morphine’ बाट आएको हो । त्यसको अर्थ हो— शरीरभित्रै बनाइने मोरफिनजस्तो पदार्थ। हामीले व्यायाम गर्दा, हाँस्दा, संगीत सुन्दा वा कुनै रमाइलो गतिविधिमा संलग्न हुँदा शरीरमा एन्डोर्फिनको उत्पादन बढ्छ। दौडने व्यक्तिहरूले प्रायः ‘runner’s high’ भन्छन्, जुन अत्यधिक एन्डोर्फिनका कारण अनुभव हुने उन्मादयुक्त आनन्द हो। यसले दुखाइको अनुभूति घटाउनुका साथै मानसिक राहत दिन्छ।

डोपामिन (Dopamine): सन्तुष्टि र प्रेरणाको रसायन

डोपामिनलाई ‘रिवार्ड केमिकल’ (reward chemical) पनि भनिन्छ । यसो भन्नुको कारण यस हर्मोनले हामीलाई केही काम सफलतापूर्वक सम्पन्न गर्दा सन्तुष्टि र आनन्द दिलाउने कार्य गर्छ। जब हामी कुनै निश्चित लक्ष्य हासिल गर्छौं, वा कसैले हामीलाई प्रशंसा गर्छ, वा जब हामी स्वादिलो खाना खान्छौं, त्यतिबेला शरीरमा डोपामिनको उत्पादन वा सक्रियता बढ्न जान्छ । यसले हामीमा प्रेरणा, योजना बनाउने क्षमता, निर्णयशक्ति, र आत्मविश्वास बढाउँछ। तर यसका नकारात्मक पक्षहरू पनि छन्— अत्यधिक डोपामिनको उत्पादनले सामाजिक सञ्जाल, भिडियो गेम, वा नशा जस्ता कुराको लत बसाइदिने सम्भावना रहन्छ। सन्तुलित डोपामिन स्तरले हाम्रो मानसिक ऊर्जा र उत्साहलाई सकारात्मक दिशामा डो-याउँछ।

अक्सिटोसिन (Oxytocin): प्रेम, स्नेह र सम्बन्धको सूत्रधार

अक्सिटोसिनलाई "Love hormone" वा "Cuddle hormone" पनि भनिन्छ । यसो भनिनुको कारणमा यो हर्मोन मुख्य गरेर मानव सम्बन्धमा गहिरोपन, विश्वास, र आत्मीयता विकास गर्ने कार्यमा संलग्न हुन्छ। जब हामी कसैलाई अँगालो हाल्छौं, प्रेम दर्शाउँछौं, वा सन्तानसँग समय बिताउँछौं, त्यतिबेला अक्सिटोसिनको उत्पादन बढ्छ । उदाहरणको लागि, आमाले शिशुलाई जन्म दिँदा वा स्तनपान गराउँदा यसको मात्रा अत्यधिक हुने गर्दछ, जसले आमासन्तानबीचको आत्मीय सम्बन्ध सुदृढ गर्छ। अक्सिटोसिनले सामाजिक व्यवहारमा आत्मीयता थप्ने मात्र होइन, मानसिक स्वास्थ्यमा पनि स्थायित्व ल्याउँछ।

सेरोटोनिन (Serotonin): मनोस्थिति सन्तुलन गर्ने रसायन

सेरोटोनिन एक अत्यन्तै महत्त्वपूर्ण न्युरोट्रान्समिटर हो । यसले मानिसको मूड, निद्रा, भोक, स्मृति, पाचन प्रक्रिया, र समग्र मानसिक सन्तुलन नियन्त्रण गर्छ। यसको सन्तुलनमा कमी हुँदा डिप्रेसन, चिडचिडाहट, तनाव जस्ता मानसिक समस्या देखापर्न सक्छ। सेरोटोनिन स्तर बढाउनका लागि सूर्यको प्रकाशमा समय बिताउने, ध्यान वा योग गर्ने, तथा सन्तुलित आहार (विशेष गरी प्रोटिनयुक्त खाना र फाइबरयुक्त फलफूलहरू) सेवन गर्नुपर्छ। सेरोटोनिनले मनोवृत्तिलाई स्थिर राख्दै, आत्मगौरव र आत्मसन्तुष्टि दिलाउने कार्य गर्छ।

यी चार केमिकलबीचको सम्बन्ध: सामूहिक सन्तुलनको शक्ति

एन्डोर्फिन्स, डोपामिन, अक्सिटोसिन र सेरोटोनिन – यी चार रसायनहरू अलग–अलग कार्यका लागि जिम्मेवार भए पनि तिनीहरूबीच घनिष्ठ सम्बन्ध हुन्छ। उदाहरणका लागि, कुनै रमाइलो गतिविधिमा सहभागी हुँदा एन्डोर्फिन र डोपामिन दुबैले एकसाथ सक्रिय भई खुशी दिने काम गर्छन्। प्रेममा परेको व्यक्तिले अक्सिटोसिनका कारण आत्मीयता र विश्वास अनुभव गर्छ भने, सकारात्मक सामाजिक व्यवहारबाट शरीरमा सेरोटोनिनको उत्पादन बढ्छ। जब यी चार रसायनहरू सन्तुलित रुपमा शरीरमा काम गर्छन्, तब व्यक्ति आनन्दित, उत्साही, सन्तुष्ट र मानसिक रुपमा स्थिर रहन्छ।

निष्कर्षमा भन्दा, हाम्रो मानसिक स्वास्थ्य, व्यवहार, र सामाजिक सम्बन्धलाई कायम राख्न यी चार ‘खुसीका हर्मोन’हरू मुख्य रुपमा जिम्मेवार र आवश्यक छ छन्। आधुनिक जीवनशैलीको भागदौडमा हामी प्रायः बाह्य उपलब्धिहरूको पछि लागेर आफ्नै शरीरभित्र लुकेको यो अद्भूत रासायनिक शक्तिलाई बिर्सन्छौं। तर, सन्तुलित आहार, व्यायाम, स्नेहपूर्ण सम्बन्ध, र सकारात्मक सोचमार्फत यी रसायनलाई सक्रिय राख्न सकिन्छ। विज्ञानका यस्ता अद्भुत रसायनिक संरचनालाई बुझेर हामी हाम्रो जीवनमा साँचो अर्थमा मानसिक सुख र सन्तुलन कायम गर्न सक्छौं ।